पुटिन र जेलेन्स्कीबीच सहमतिपछि मात्र भेटवार्ता सम्भव : क्रेमलिन

क्रेमलिनले रूस र युक्रेनबीच युद्धविरामका लागि सहमति भएमा मात्र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच प्रत्यक्ष वार्ता सम्भव हुने बताएको छ ।मस्को र किएभबी तीन वर्षभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष वार्ता भएको एक दिनपछि शनिबार क्रेमलिनले जेलेन्स्कीद्वारा माग गरिएको दुई राष्ट्रपति स्तरीय वार्ताका लागि दुई देशका प्रतिनिधिमण्डलबीच पहिलो चरणको सहमति आवश्यक रहेको बताएको हो ।
वार्ताको भोलिपल्ट बिहान पूर्वी सुमी क्षेत्रमा उद्धार गरिएका सर्वसाधारण बोकेको मिनीबसमा रुसी ड्रोन आक्रमणमा परी नौ जनाको मृत्यु भएको र सोही घटनामा अन्य पाँच जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् ।
“हिजो, यो युद्धको कुनै पनि दिन जस्तै, त्यहाँ पनि युद्धविरामको अवसर थियो,” राष्ट्रपति जेलेन्स्कीले आक्रमणपछि सामाजिक सञ्जालमा लेख्नुभएको छ, “रुसले हत्या जारी राख्ने अवसर मात्र सुरक्षित गरेको छ।”उहाँले युक्रेनका मित्र राष्ट्रहरुलाई मस्कोमाथिको प्रतिबन्ध बढाउन आग्रह गर्नुभएको छ । युक्रेनी राष्ट्रपतिले जेलेन्स्कीले भन्नुभयो, “रुसमाथि कडा दबाब वा कडा प्रतिबन्ध बिना त्यहाँ वास्तविक कूटनीति हुनेछैन।”
सन् २०२२ को वसन्त ऋतुपछि पहिलो पटक इस्तानबुलमा युक्रेन र रुसबीच मस्कोले पूर्ण आक्रमण गरेको केही समयपछि इस्तानबुलमा भएको पहिलो प्रत्यक्ष वार्तामा एक–एक हजार कैदी आदानप्रदान गर्ने ठोस सहमति भएको थियो ।युक्रेनका शीर्ष वार्ताकार रक्षामन्त्री रुस्तम उमरोभले ‘अर्को कदम’ जेलेन्स्की र पुटिनबीच भेटवार्ता हुने बताउनुभएको छ ।
रूसले उक्त अनुरोधलाई ध्यानदिएको बताएको छ ।क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भन्नुभयो, “दुई पक्षबीच सम्झौताको रूपमा निश्चित परिणाम प्राप्त गरेपछि मात्र हामी राष्ट्रपति स्तरको वार्तालाई सम्भव ठान्छौँ ।”
रुसका शीर्ष वार्ताकार भ्लादिमिर मेडिन्स्कीले मस्को र किएभले युद्धबन्दीको आदानप्रदानपछि दुबै देशले भविष्यमा हुने सम्भावित युद्धविरामको आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने बताउनुभएको छ ।क्रेमलिनले भनेको छ, “पहिले युद्धबन्दीको अदलाबदली पूरा गर्नु पर्दछ र दुबै पक्षले अर्को चरणको वार्ता तय गर्नुअघि युद्धविरामको लागि आफ्नो दृष्टिकोण प्रस्तुत गर्नु आवश्यक छ।”
टर्कीएमा प्रवक्ता पेस्कोभले भन्नुभयो, “अहिलेका लागि हामीले प्रतिनिधिमण्डलले हिजो सहमति गरेको एक एक हजार युद्धबन्दीलाई आदानप्रदान गर्ने सहमतिको कार्यान्वयन गर्न आवश्यक छ।”युक्रेनको सैन्य गुप्तचर निकायका प्रमुख किरिलो बुडानोभले प्रसारणकर्ता टीएसएनसँग कुरा गर्दै आगामी हप्ता यो आदानप्रदान हुने अपेक्षा व्यक्त गर्नुभयो ।