समाचार

हुम्ला विपद् : तत्काल राहतका लागि पहल गरिने

NepalOne
५ जेठ २०८२ १८:०७

काठमाडौँ, ५ जेठः हुम्लास्थित नाम्खा गाउँपालिका–६ तिलगाउँमा लेदोसहितको पहिरोबाट पीडितलाई तत्काल राहतका लागि पहल गरिने भएको छ । आज गृहमन्त्री रमेश लेखकको संयोजकत्वमा गृह मन्त्रालयमा बसेको सरोकारवालाको बैठकले तत्काल राहत सामग्री प्रदान तथा उद्धार गर्ने निर्णय गरेको हो ।

बैठकमा सहभागी जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले पहिरो जानुको कारणबारे अध्यायन टोली गठन गर्ने निर्णय भएको जानकारी दिनुभयो । “हिमताल विस्फोट भएको भनिए पनि हिमताल नै विस्फोट भएको हो या हैन भन्ने यकिन छैन । भिडियो, फोटो हेर्दा हिउँ पग्लिएर जमिन भित्रभित्रैबाट पानी बगेको हुन सक्ने अनुमान छ । तर के भएको हो ? भन्ने विस्तृत अध्ययन गरिने आजको निर्णय छ,” उहाँले भन्नुभयो, “यस्तै अन्य हिमाली क्षेत्र पनि जोखिममा छन् । जोखिममा भएका क्षेत्रको पहिचान गर्दै जोखिम मूल्याङ्कन गर्ने निर्णय भएको छ ।”

जलवायुविद् मञ्जित ढकालले हालको अवस्था हेर्दा हिमताल फ्ट्ने खतरा बढिहरहेकाले अनुसन्धानमा ध्यान दिनुपर्ने र पूर्वसुचना प्रणाली जडानमा लगानी गर्नुपर्ने सुझाव दिनुभयो । “हुम्लाको घटनामा अहिले हिमताल विस्फोट भएको हो या होइन भन्ने राम्रोसँग तथ्य बाहिर नआउन्जेल केही भन्न मिल्दैन, तर हिमताल फुट्ने जोखिम हिमाली भेगमा बढ्दो छ । सतर्कता र पूर्वतयारीमा जोड दिनुपर्छ,” उहाँले भन्नुभयो ।


प्रतिक्रिया