समाचार

‘जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टीबिच गठबन्धन’ : महासचिव पोखरेल

NepalOne
५ जेठ २०८२ २२:००

काठमाडौँ, ५ जेठ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनतामा रहेको नैराश्यता चिर्न दुई ठूला पार्टी मिल्नुपरेको बताउनुभएको छ ।नेपाल उत्पीडित जातीय मुक्ति समाजको सातौँ राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले २०८४ सालको निर्वाचनसम्म एमाले र नेपाली कांग्रेसबीचको गठबन्धन नटुट्ने बताउनुभयो ।

महासचिव पोखरेलले समाजमा विखण्डनको प्रयास भइरहेको बताउँदै एमाले त्यसका विरुद्ध स्पष्टताका साथ उभिनुपर्नेमा जोड दिनुभयो । उहाँले एमालेमाथि प्रहार भयो भनेर खुट्टा कमाउने नभई आँट र हिम्मतका साथ खुट्टा टेक्नुपर्ने बताउनुभयो । “एमाले माथि जुन प्रकारको घेराबन्दी र प्रहार भइरहेको छ । त्यो प्रहार र घेराबन्दीलाई सामाना गर्ने क्षमता एमालेमा छ”, उहाँले भन्नुभयो, “एमालेका सामु ठूला ठूला सङ्कट आउँदा एमालेले ती सबै सङ्कटको सामना गर्दै आएको छ । सबै खालका सङ्कट सामना गर्दै एमाले बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुँदै आएको छ ।”

एमालेका स्थायी कमिटी सदस्य तथा जनसङ्गठन समन्वयका संयोजक भानुभक्त ढकालले पार्टीमा दलितको प्रतिनिधित्व सुनिश्चित गरिएको बताउनुभयो । समाजका अध्यक्ष मनोहर विश्वकर्मा पौडेलले दलित समुदायको सशक्तिकरणमा राज्य गम्भीर बन्नुपर्नेम जोड दिनुभयो । यही जेठ ७ गतेसम्म सञ्चालन हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ ।


प्रतिक्रिया