राष्ट्रियसभा उपाध्यक्ष घिमिरे चीन उडिन्, अरू को-को छन् सहभागी ?

काठमाडौँ, ६ जेठः राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे छदिने औपचारिक भ्रमणका लागि चीनको शान्सी प्रान्तको सियान सहरतर्फ प्रस्थान गर्नुभएको छ । उहाँ आठ सदस्यीय संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
सियान सहरमा यही यही जेठ १० गतेसम्म आयोजना हुने शाङ्घाई सहयोग सङ्गठन गरिबी न्यूनीकरण र दिगो विकास मञ्च तथा नवौँ सिल्क रोड अन्तरराष्ट्रिय प्रदर्शनी र पूर्व–पश्चिम चीनबीच सहयोगका लागि लगानी तथा व्यापार मञ्च कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । दुवै कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्नुहुनेछ ।
उहाँसँगै प्रतिनिधिसभाका सांसदद्वय दिनेशकुमार यादव र उर्मिला माझी, राष्ट्रियसभाका सांसदद्वय वेदुराम भुसाल र सुमित्रा विसी, संसद् सचिवालयका उपसचिव पुष्पप्रकाश मल्ल, शाखा अधिकृत नवीन भट्टराई र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंहसहितको प्रतिनिधिमण्डल सहभागी हुनुहुन्छ । चीन भ्रमण सकेर जेठ १० गते उक्त प्रतिनिधिमण्डल स्वदेश फर्कने कार्यक्रम छ ।