एकीकृत समाजवादीले समान विचारधाराका वामसमूहलाई समाहित गर्ने

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले समान विचारधारा भएका पार्टी तथा स्वतन्त्र वामपन्थी समूहलाई आफ्नो पार्टीमा समाहित गर्ने भएको छ । कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तथा विभिन्न कारणले पार्टी परित्याग गरेका नेताहरूलाई एकीकृत समाजवादीमा फर्कन आह्वान गरेको हो ।
पार्टीका केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले कम्युनिष्ट पार्टी स्थापनादेखि साङ्गठनिक सुदृढीकरणका लागि योगदान गरेका वामदेव गौतम नेतृत्वको राष्ट्रिय एकता अभियानसँग एकताको गृहकार्य अन्तिम चरणमा पुगेको बताउँदै केही नेताहरूको व्यवस्थापन टुङ्गो लगाएपछि यथाशीघ्र समाहित हुने जानकारी दिनुभयो ।
उहाँका अनुसार पार्टीमा माथिल्लो कमिटीदेखि तल्लो तहका कमिटीसम्म नेताहरूको ‘एक पद, एक व्यक्ति’ प्रणालीका आधारमा व्यवस्थापन गरिने समझदारी भएको छ । पार्टीको तेस्रो बरियता क्रममा नेता गौतमलाई व्यवस्थापनको गृहकार्य दिइने पार्टी कार्यालयले जनाएको छ ।
मुलुकमा वामपन्थी धु्रर्वीकरण गरी वैज्ञानिक समाजवाद कार्यान्वयन गर्ने उद्देश्यले पार्टी सङ्गठनलाई देशभर सुदृढीकरण गरी गतिशील बनाउने योजनाअनुरुप पार्टीले मातहतका कमिटीमार्फत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका कार्यक्रम सञ्चालन गरेको छ ।
पार्टी महासचिव घनश्याम भुसाल नेतृत्वको कार्यदलले कम्युनिष्ट सिद्धान्तमा निष्ठावान् भई स्वतन्त्र वामसमूह, आदर्श नेताहरूसँग पनि एकताका लागि छलफल गरेको उपप्रमुख अर्यालले जानकारी दिनुभयो ।