‘राजसंस्था कहिल्यै जनताको पक्षमा थिएन’ : महासचिव पोखरेल

देउखुरी (दाङ), ६ जेठः नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा राजसंस्था कहिल्यै जनताको पक्षमा नभएको बताउनुभएको छ । कम्युनिष्ट नेता नेत्रलाल अभागीको ४१औँ स्मृति दिवसका अवसरमा यहाँ आयोजित कार्यक्रममा उहाँले पूर्वराजाका समर्थकहरुले गर्ने भनेको आन्दोलन जनताका विरूद्ध हुने बताउनुभयो ।
युवाहरुले विदेशमा पसिना बगाएर आफ्नो देश नबन्ने उहाँको तर्क छ । “देश बनाउन आफ्नै देशमा पसिना बगाउनुपर्छ । विदेश जानु केहीको बाध्यता भए पनि धेरै रहरले विदेश जाने गरेका छन्”, उहाँले भन्नुभयो ।
दाङमा कम्युनिष्ट पार्टी स्थापना हुनुमा नेत्रलाल अभागीको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “अभागी विद्यालयको प्राध्यानाध्यापकको जागिर छोडेर कम्युनिष्ट पार्टीको सङ्गठन विस्तारमा लाग्नु भएको थियो । उहाँ कुसल शिक्षक र कुसल साहित्यकार हुनुहुन्थ्यो ।” लोभ लालचा नभएको इमान्दार नेता नेत्रलालको जीवनीबाट सबैले पाठ सिक्नुपर्नेमा उहाँले जोड दिनुभयो ।