शैक्षिक संस्थाआसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग

भक्तपुर, ६ जेठः नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले शैक्षिक संस्था आसपासका क्षेत्रमा सुर्तीजन्य पदार्थ र मदिरा बेचबिखनमा रोक लगाउनुपर्ने बताउनुभएको छ ।
आज यहाँ आयोजित भक्तपुर नगरपालिकाका जनप्रतिनिधिको तीन वर्षे कार्यकालको उपलब्धि कार्यक्रममा उहाँले शैक्षिक संस्था आसपासका त्यस्ता पसल तत्काल सञ्चालनमा रोक लगाउनुपर्ने बताउनुभएको हो । नगरपालिकालाई आत्मनिर्भर बनाउनेतर्फ लाग्नुपर्ने औल्याउँदै सांसद सुवालले विद्यालय शिक्षा राम्रो भए विश्वविद्यालय शिक्षा स्वतः राम्रो हुने बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०८१/८२ मा नगरपालिकाले संविधान र कानुनले दिएको अधिकारभित्र रहेर विभिन्न विकास निर्माण र अतिरिक्त क्रियाकलाप बाहेक हरेक वर्ष नगरस्तरीय महत्त्वपूर्ण योजना सम्पन्न गर्दै आएको जानकारी दिनुभयो । उहाँले स्थानीय तह प्रजातन्त्रको जग भएको चर्चा गर्दै स्थानीय तह अधिकार सम्पन्न भए मात्र प्रजातन्त्र बलियो हुने विचार व्यक्त गर्नुभयो । नगरपालिकाले भक्तपुरको शिक्षा, स्वास्थ्य, सरसफाइ, सम्पदा संरक्षण, विकास निर्माणलगायतलाई उच्च प्राथमिकतामा राखेको प्रमुख प्रजापतिको भनाइ छ ।
कार्यक्रममा भक्तपुर नपाकी उपप्रमुख रजनी जोशीले जनताको साथ र सहयोगबिना भक्तपुरको विकास सम्भव नभएको बताउनुभयो । उहाँले जनतालाई निर्वाचना गरेको वाचाअनुसार घोषणापत्रलाई आधार बनाइ काम गर्दै आएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नगरपालिकाले प्रवाह गर्दै आएको शिक्षा र स्वास्थ्य क्षेत्रको प्रगतिबारे प्रतिवेदन प्रस्तुत गरिएको थियो । मापदण्ड अनुसार भवन निर्माण गरी सम्पन्न प्रमाणपत्र लिएका वडाबासीलाई रु १४ लाख ७५ हजार १४४ बराबरको काठ, इँटा र झिँगटी अनुदान प्रदान गरेको जानकारी गराइयो । नगरपालिकामा कार्यरत उत्कृष्ट कर्मचारी र ३० वर्ष सेवा गर्ने कर्मचारीलाई कदरपत्र तथा दीर्घ सेवाबाट सम्मान गरिएको थियो ।