अष्ट्रेलियाको मौद्रिक नीतिमा फेरबदल, केन्द्रीय बैंकको नयाँ निर्णय

अष्ट्रेलियाको केन्द्रीय बैंकले हालै मौद्रिक नीतिमा परिवर्तन गर्दै आफ्नो औपचारिक नगद दर २५ आधार बिन्दुले घटाएर ३.८५ प्रतिशतमा ल्याएको छ। यो सन् २०२५ को दोस्रो ब्याजदर कटौती हो, जुन निर्णय मंगलबार बैंकको सञ्चालक समितिको बैठकपछि सार्वजनिक गरिएको हो।
बैंकले जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धि (मुद्रास्फीति) लाई स्थिर र नियन्त्रणमा राख्ने उद्देश्यसहित ब्याजदर घटाइएको उल्लेख गरिएको छ। सन् २०२२ मा अष्ट्रेलियामा मुद्रास्फीति अत्यन्त उच्च विन्दुमा पुगेको थियो, जसले गर्दा त्यतिबेला केन्द्रीय बैंकले निरन्तर रूपमा ब्याजदर बढाउँदै आएको थियो। ती नीतिहरूले समग्र माग र आपूर्तिबीच सन्तुलन ल्याउन केही हदसम्म सफलता पाएको बैंकले जनाएको छ। हालको स्थितिमा मूल्यवृद्धि केही ह्रास भएको देखिएको र आर्थिक गतिशीलता बढाउन ब्याजदर घटाउने निर्णय गरिएको हो।
साथै, बैंकले पछिल्ला तीन महिनामा विश्वभर आर्थिक अनिश्चितता बढेको र यसको असर अष्ट्रेलियाली अर्थतन्त्रमा पनि पर्ने भएकाले सावधानीपूर्वक नीति बनाइरहेको जनाएको छ। घरेलु बजारको अवस्था अझै स्पष्ट नभएको र उपभोक्ता तथा व्यवसायीहरूको व्यवहार कसरी परिवर्तन हुन्छ भन्ने कुराले आगामी निर्णयहरूलाई प्रभावित पार्ने बैंकको भनाइ छ।
यस परिवर्तनले ऋण लिनेहरूलाई राहत मिल्ने र लगानी प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। तर, आर्थिक वातावरण अझै पूर्ण रूपमा स्थिर नभएकाले केन्द्रीय बैंकले आगामी महिनाहरूमा पनि परिस्थिति अनुसार कदम चाल्ने जनाएको छ।