आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्छः गृहमन्त्री लेखक


जनकपुरधाम । गृहमन्त्री रमेश लेखकले शान्तिसुरक्षमा कुनै सम्झौता नगर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
शुक्रबार जनकपुरमा मधेश प्रदेशस्तरीय सुरक्षा गोष्ठी उद्घाटन गर्दै गृहमन्त्री लेखकले शान्तिसुरक्षा नभए मुलुकमा सुशासन कायम हुन नसक्ने भएकाले सबै सुरक्षा निकायहरूलाई जिम्मेवारीपूर्वक र अनुशासित रूपमा कार्य गर्न निर्देशन दिएका हुन् ।
उनले विकास र समृद्धिका साथै आर्थिक गतिविधि चलायमान बनाउन मुलुकमा शान्ति सुरक्षा कायम हुनुपर्ने बताए । उनले १० वर्षको सशस्त्र द्वन्द्वका समयमा शान्ति सुरक्षाको स्थीति कमजोर भएकाले विकासका काम अवरुद्ध भएको बताए ।
सीमानाकाबाट हुने चोरीपैठारीले राजस्व घटिरहेको,आन्तरिक व्यापार कमजोर भएको र सीमामा अपराध बढिरहेको भन्दै गृहमन्त्री लेखकले यसलाई नियन्त्रणका लागि मेहनतका साथ लाग्न आग्रह गरे।
गृहमन्त्री लेखकले राष्ट्रसेवक कर्मचारीहरूले कानुनविपरीत आर्थिक लोभ र लाभमा नपरी इमान्दारी एवं निष्पक्ष भई छिटो, सरल र सहज तरिकाले सेवा प्रवाह गर्न निर्देशन दिए ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारलाई शान्तिसुरक्षाका काम गर्न समस्या भएको गुनासो गरे । उनले प्रदेशअन्तर्गत रहेका सुरक्षा निकायलाई आफ्नो सीमित साधनस्रोतका बाबजुद सक्दो सहयोग गरिरहेको भन्दै तत्काल प्रहरी समायोजनको काम अगाडि बढाउन आग्रह गरे ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले छिमेकी देशमा बलिरहेको द्वन्द्व र असमझदारीले नेपालको सीमाक्षेत्रमा सुरक्षा चुनौती थपिँदै जाने अवस्थातर्फ सतर्क तथा सचेत रहन सुरक्षा निकायलाई आग्रह गरे ।
गोष्ठीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रदेश तथा जिल्ला प्रमुख, आठवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायतको सहभागिता रहेको छ ।