मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली घोषणा

NepalOne
९ जेठ २०८२ १९:४९
खेलकुद

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले थाइल्याण्डसँगको दुईवटा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोलीको घोषणा गरेका छन् ।

यो टोलीले थाइल्याण्डको राजधानी बैंककमा हुने खेलहरूमा सहभागिता जनाउनेछ । यी खेलहरू एएफसी महिला एशियन कप छनोटको तयारीका लागि आयोजना गरिएको हो ।

नेपाल र थाइल्याण्डबीच दुई मैत्रीपूर्ण खेलहरू तय भएका छन् । पहिलो खेल मे ३०, २०२५ मा बैंककको बन्द रङ्गशालामा हुनेछ भने दोस्रो खेल जुन २, २०२५ मा आयोजना हुनेछ।

यी खेलहरूले नेपाली टोलीलाई एएफसी महिला एशियन कप छनोटका लागि अभ्यासको रुपमा रहने छ । नेपाल एएफसी महिला एशियन कप छनोटको समूह ‘एफ’ मा रहेको छ।

यो समूहमा नेपालसहित लाओस, श्रीलङ्का र उज्बेकिस्तान छन् । मैत्रीपूर्ण खेलहरूले नेपाललाई छनोट चरणका लागि आवश्यक अनुभव र आत्मविश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ । प्रशिक्षक तामाङले अनुभवी र युवा खेलाडीहरूको मिश्रणसहितको २३ सदस्यीय टोली छनोट गरेका छन्।

– गोलकिपरः अञ्जिला तुम्बा पोसुब्बा, अञ्जना रानामगर, उषा नाथ

– डिफेन्डरः गीता राना, निशा थोकर, अमृता जैसी, पूजा राना, विमला विक, मनमाया दमाई, समीक्षा घिमिरे

– मिडफिल्डरः रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बू, सरस्वती हमाल, विमला चौधरी, अनिता बस्नेत, सविता रानामगर, सुष्मा तामाङ

– फरवार्डः सावित्रा भण्डारी, रेखा पौडेल, रश्मीकुमारी घिसिङ, अनिता केसी, चन्द्रा भण्डारी


प्रतिक्रिया