भलिबलमा गण्डकीको विजयी शुरुवात

NepalOne
८ जेठ २०८२ २२:०६
खेलकुद

पोखरा । नवौं पिएम कप एनभिए भलिबल लिगको पुरुषतर्फ डिफेन्डिङ च्याम्पियन हेल्प नेपालले विजयी शुरुवात गरेको छ । बिहीबार हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराउदै विजयी शुरुवात गरेको हो ।

अर्को खेलमा गण्डकी प्रदेशले प्रतिस्पर्धात्मक खेलमा कोशी प्रदेशलाई ३–१ ले पराजित गर्यो । गण्डकीले २५–१५, २५–२१, २५–२२ र २५–२० ले हराउँदै कोशीलाई हरायो । त्यसअघि बिहीबारै भएको पुरुषतर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो । त्यसअघि महिलातर्फ एभरेष्ट भलिबल क्लब र एपिएफले विजयी सुरुवात गरेका छन् । एभरेष्टले पुनरागमन जित निकाल्ने क्रममा त्रिभुवन आर्मी क्लबलाई ३–१ ले हराएको छ ।

पोखरा रंगशालास्थित कभर्ड हलमा पहिलो सेट २२–२५ ले गुमाएको एभरेष्टले त्यसपछि लगातार २५–१९, २५–१७,२५–१३ ले सेट आफ्नो पक्षमा पारेको हो । राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको नेतृत्वमा रहेको एभरेष्टमा ३ थाइल्याण्डका खेलाडी सहित मैदान उत्रिएको थियो ।

त्यसअघि एपिएफ क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले जितबाट लिगको यात्रा सुरु गरेको हो । एपिएफले २५–१०, २५–१०, २५–१५ को सहज जित निकालेको हो । नेपाल भलिबल संघको आयोजनामा एक साता चल्ने प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ टोलीको सहभागिता छ ।

सबैले एकअर्कासँग खेलेपछि अंक तालिकाको शीर्ष ४ मा रहने टोलीले सेमिफाइनल खेल्ने छन् । दुवैतर्फको विजेताले ८ लाख, दोस्रो टोलीले ४ लाख र तेस्रो टोलीले २ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

सर्वोत्कृष्ट खेलाडीले समान ५० हजार तथा विधागत उत्कृष्टमा समान २५ हजार रुपैयाँ पाउनेछन् । लिगका विजेता २ टोलीले नेपालको प्रतिनिधित्व गर्दै काभा क्लब च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको खेलकुद मन्त्री तेजुलाल चौधरीले उद्घाटन गरेका थिए ।


प्रतिक्रिया