यु–१६ क्रिकेट सुदूरपश्चिम छनोट, बझाङद्वारा बैतडी पराजित


बैतडी, ८ जेठ : ‘एसिसी पुरुष यु–१६ इष्ट जोन कप’को सुदूरपश्चिम छनोट आजदेखि बैतडीमा सुरु भएको छ । दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा सुरु भएको उक्त प्रतियोगिताको नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले उद्घाटन गरे ।
उद्घाटन समारोहमा सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका उपाध्यक्ष रमेशबहादुर बोहरा, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष विनोदबहादुर चन्द, सचिव सिद्धराज बोकटीलगायतको उपस्थिति रहेको थियो । उद्घाटन समारोहपश्चात् भएको पहिलो खेलमा बझाङले घरेलु टोली बैतडीमाथि ६ विकेटको जित निकालेको छ ।
बैतडीले दिएको ९६ रनको सामान्य लक्ष्य बझाङले १२ दशमलब ३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि महेन्द्र विष्टले अविजित ३९ र हिमाल दौल्यालले २४ रन बानाए । बलिङतर्फ बैतडीका अमर चन्दले तीन विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गरेको बैतडीले १५ ओभरमा ९५ रन मात्र बनायो । उसका लागि अमर चन्दले सर्वाधिक २१ रन बनाए । बलिङतर्फ बझाङका सुशिल रावल र सागर खड्काले तीन तीन विकेट लिए । सुसिशल खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भएको स्कोरर दीपेन्द्रबहादुर बोहराले जानकारी दिए ।
आजै सम्पन्न अर्को खेलमा डडेल्धुराले डोटीलाई ९ विकेटले पराजित गर्यो । डोटीले दिएको १०९ रनको लक्ष्य डडेल्धुराले ८ दशमलव एक ओभरमा एक विकेटको क्षतिमा पूरा गर्यो । ‘प्लेयर अफ दी म्याच’ लोकेश चन्दले अविजित ४९ तथा यसकुमार कठायतले ३८ रन बनाए ।
यसअघि पहिला ब्याटिङ गरेको डोटीले १५ ओभरमा ५ विकेटको क्षतिमा १०८ रन जोड्यो । उसका लागि महेश देउवाले ३१ र मोहन भट्टले २८ रन बनाए । बलिङतर्फ डडेल्धुराका किरन देउवाले २ विकेट लिए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आवद्ध सुदूरपश्चिमका आठ जिल्ला सहभागी छन् । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’ मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् । छनोट प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले जानकारी दिए ।