राजनितिक चेतनाको आधारमा मधेश समृद्ध भूमि : गृहमन्त्री लेखक


जनकपुर । गृहमन्त्री रमेश लेखकले मधेश प्रदेश सभ्यता, संस्कृति र राजनितिक केन्द्रको आधारमा समृद्ध भूमि भएको उल्लेख गरेका छन् ।शनिबार नेपाली कांग्रेस मधेश प्रदेश, कार्यसमितिद्वारा जनकपुरधाममा आयोजित विशेष बैठकमा बोल्दै गृहमन्त्री लेखकले मधेश प्रदेश राजनितिक रुपले सर्वाधिक चेतनशिल ठाउँ रहेको बताएका हुन् ।
उनले मुलुकमा लोकतन्त्र स्थापना, गणतन्त्र स्थापना, संघियताको सुनिश्चितताका निम्ति, समावेशी चरित्रको राज्य निर्माण गर्न लगायत हरेक राजनितिक परिर्वतनको आन्दोलनमा मधेश प्रदेशको सबै भन्दा ठूलो भूमिका रहेको बताए ।
गृहमन्त्री लेखकले संविधानको कार्यान्वयन र संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माण गर्ने संविधानका मुल तत्वहरुको सुदृढिकरण नै सबै भन्दा राम्रो बाटो र उपाय भएको बताए । उनले मधेश प्रदेशले यी कुराहरुलाई गम्भिरतापूर्वक राम्ररी बुझेको उल्लेख गरे ।
अहिले संविधान र संघियतालाई समाप्त गर्न संविधान विरोधी गतिविधिहरु भइरहेकाले मधेश र मधेशी जनताले यो कुरा बुझ्न जरुरी रहेको उनले धारणा राखे ।विशेष बैठकमा प्रदेशका नेता, कार्यकर्ताहरुले गृहमन्त्री लेखकलाई प्रदेशका गतिविधि र राजनितिक अवस्थाबारे जानकारी गराउनुका साथै आफ्ना समस्याहरु सुनाएका थिए ।