पर्यटन व्यवसाय फस्टाउँदै जान थालेपछि बागलुङमा होटलमा लगानी थपियो


गलकोट (बागलुङ), १० जेठः पर्यटन व्यवसाय फस्टाउँदै जान थालेपछि बागलुङमा होटलमा लगानी बढेको छ । आन्तरिक र बाह्य पर्यटक वृद्धि हुन थालेपछि यहाँ होटलमा लगानी थपिँदै जान थालेको हो ।
अन्तरराष्ट्रिय मापदण्डको होटल ‘इला कम्फर्ट’ रु ३० करोड लागतमा निर्माण गरी सञ्चालनमा ल्याइएको छ । व्यवसायी चन्द्रप्रसाद ढकालले गृह जिल्लामा ३१ कोठाको सुविधासम्पन्न होटल सञ्चालनमा ल्याउनुभएको हो । आइएमई ग्रुपअन्तर्गत रहेर अन्तरराष्ट्रिय मापदण्डको होटल बागलुङमा पहिलोपटक सञ्चालनमा आएको हो ।
जिल्लामा आउने विशिष्ट तथा अतिविशष्टि पर्यटकलाई लक्षित गरी सुविधासम्पन्न होटल सञ्चालनमा ल्याइएको हो । बागलुङ कालिका मन्दिर, विश्वकै दोस्रो लामो झोलुङ्गे पुल, बन्जी पुल, पञ्चकोट, शालग्राम सङ्ग्रहालयलगायत पर्यटकीय गन्तव्यका कारण पछिल्लो समय बागलुङका होटल भरिभराउ हुन थालेपछि यस क्षेत्रमा लगानी थपिँदै गएको ढकालले बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष ढकालका अनुसार होटललाई अन्तरराष्ट्रिय मापदण्डअनुसार ‘इला कम्फर्ट’ नामाकरण गरिएको हो । “होटलमा पर्याप्त पार्किङको सुविधा छ । ढोरपाटन सिकार आरक्ष र लोकमार्गका कारण पछिल्लो समय यहाँको पर्यटन व्यवसाय फस्टाउँदै गएको हो”, उहाँले भन्नुभयो । केही महिनाअघि रु दुई करोड लागतमा २४ कोठासहितको होटल शीतल सञ्चालनमा आएको थियो ।
शिक्षक पेसा छोडेर होटल व्यवसायमा लागेका काठेखोला गाउँपालिका–७ रेशका तालबहादुर कुँवरले २० वर्षको होटल व्यवसायको अनुभवपछि बागलुङ नगरपालिका–४ उपल्लाचौरमा हार्ट शीतल सञ्चालनमा ल्याउनुभएको हो ।सानो घरबाट होटल व्यवसाय थाल्नुभएका कुँवर अहिले बागलुङ बजारको उपल्लाचौरबाट विशिष्टिकृत होटलबाट सेवा दिन थाल्नुभएको छ । चार कोठाबाट सुरु गरेको होटल व्यवसाय बढ्दै २४ कोठामा पुगिसकेको उहाँको भनाइ छ ।
कुँवरले रु दुई करोड खर्चेर होटललाई नयाँ व्यवस्थापनका साथ सुविधासम्पन्न पाँचतले घरबाट सेवा दिन थाल्नुभएको छ । उहाँका अनुसार उक्त भवनको मासिक भाडा मात्रै रु एक लाख पर्दछ ।
बागलुङ नगरपालिकाका प्रमुखसमेत रहनुभएका वसन्तकुमार श्रेष्ठले उपल्लाचौरस्थित आफ्नै जग्गामा संरचना तयार पारेर होटल ‘रेड एप्पल’ सञ्चालनमा ल्याउनुभएको छ । उहाँले बागलुङमा आउने पर्यटकले सुविधासम्पन्न होटल नभएको गुनासो गरेपछि उहाँहरूको समस्या सम्बोधन गर्न होटल सञ्चालनमा ल्याइएको बाताउनुभयो ।
यहाँ अन्तरराष्ट्रिय मापदण्डको होटल सञ्चालनमा आएपछि विदेशी पर्यटकलाई सहज भएको छभने यहाँबाट मुस्ताङ हिँडेका पर्यटकलाई पनि सहज हुने अपेक्षा गरिएको छ । पाँच वर्षयता बागलुङमा होटल दी राजन, सगुन होटल र कालिका मन्दिर गेटमा कालिका मल्टिप्यालेसलगायत सुविधासम्पन्न होटल सञ्चालनमा आइसकेका छन् ।