यू-१६ सुदूरपश्चिम छनोटः बैतडीका भास्करको शतक

NepalOne
१० जेठ २०८२ २०:४६
खेलकुद

बैतडी, १० जेठः बैतडीमा जारी एसिसी मेन्स यू-१६ इस्ट जोन कप-२०२५ को सुदूरपश्चिम छनोटमा बैतडीका भास्कर जोशीले शतक हिर्काएका छन् । भास्करले डोटीविरुद्धको खेलमा ६२ बलमा शतक प्रहार गरेका हुन् । उनको शतकमा बैतडीले डोटीमाथि ९४ रनको शानदार जित निकालेको छ ।

जारी प्रतियोगितामा शतक बनाउने भास्कर पहिलो खेलाडी बनेका छन् । उनले १२ चौका र पाँच छक्का प्रहार गर्दै शतक बनाएका हुन् । घरेलु मैदान दशरथचन्द क्रिकेट रङ्गशाला सुन्दरखालीमा पहिला ब्याटिङ गरेको बैतडीले निर्धारित २० ओभरमा एक विकेटको क्षतिमा दुई सय १० रन बनाएको छ । जसमा भास्कर एक सय रनमा अविजित रहे । यस्तै विक्रम बोहराले ४७ र कप्तान सचिन भट्टले अविजित ४६ रनको योगदान गरे ।

भास्कर र विक्रमबीच एक सय पाँच रनको ओपनिङ शतकीय साझेदारी भयो । त्यसपछि आएका कप्तान सचिनले पनि भास्करसँग एक सय पाँच रनकै साझेदारी गरे । भास्कर प्लेयर अफ द म्याच समेत चुनिएका छन् ।

डोटीका सुमन मल्लले एक विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको डोटीले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय १६ रन मात्रै बनाउन सक्यो । डोटीका महेश देउवाले अर्धशतकीय पारी खेल्दै ६० रन बनाएपनि जित हुन सकेन । बलिङतर्फ बैतडीका अमर चन्द र जयबहादुर नाथले दुई/दुई विकेट निकाले ।

प्रतियोगिताबाट बैतडी र बझाङ बाहिरिसेकेका छन् । आजै भएको पहिलो खेलमा बझाङले डडेल्धुरालाई ३३ रनले हराएको छ । आजको खेलमा पराजित भए पनि डडेल्धुरा नेट रनरेटका आधारमा बझाङलाई पछि पार्दै समूह ‘ए’ को विजेताको रूपमा फाइनलमा सुरक्षित भयो ।

जितका लागि पाएको एक सय ७४ रनको लक्ष्य पछ्याएको डडेल्धुरा निर्धारित २० ओभरमा एक सय ४० रनमा समेटियो । जसमा मान साउँदले सर्वाधिक २२ रन बनाएपनि हार टार्न सकेनन् । बझाङका हिमाल दौल्यालले तीन विकेट झारे । यसअघि बझाङले २० ओभरमा खाठ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो ।

बझाङका इशान दौल्यालले अर्धशतकीय पारी खेल्दै ५१ रनको पारी खेले । उनी प्लेयर अफ द म्याच समेत चुनिएका छन् । डडेल्धुराका तपेन्द्र बोहरा र किरन देउवाले दुई/दुई विकेट हात पारे ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना र बैतडी जिल्ला क्रिकेट सङ्घको आयोजनामा यही जेठ ८ गतेदेखि सुरु प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा आवद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता छ । सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला रहेका छन् । दुवै समूहका विजेताबीच यही जेठ १४ गते उपाधिका लागि भिडन्त हुनेछ । छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रशिक्षक दीपेन्द्रबहादुर चन्दले बताएका छन् ।एसियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले एसिसी मेन्स यू-१६ इस्ट जोन कपको छनोटका लागि जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।


प्रतिक्रिया