देउवालाई नेविसंघको ध्यानाकर्षण पत्रः दुजाङ शेर्पा नेतृत्वको तदर्थ समिति विघटन गर्न माग


काठमाडौं । नेपाल विद्यार्थी संघले अहिलेको नेतृत्वबाट महाधिवेशन सम्भव नभएको भन्दै पार्टी सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएको छ ।
आइतबार शेखर कोइरालानिकट नेविसंघका केन्द्रीय सदस्यहरूले सभापति देउवालाई भेटेर अहिलेको नेतृत्वबाट नेविसंघको १२ औं महाधिवेशन सम्भव नदेखिएकोले विकल्प खोज्न माग गरेका हुन् ।
केन्द्रीय सदस्य प्रेमिका राना मगरको नेतृत्वमा गएको नेविसंघको टोलीले महाधिवेशन सुनिश्चित गर्न माग गरेको छ । ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘नेविसंघ केन्द्रीय तदर्थ समितिका अध्यक्ष दुजाङ शेर्पाले पार्टीले दिएको मुख्य जिम्मेवारि छोडेर संगठनको हित विपरित, व्यक्तिगत स्वार्थमा लागेर संगठनको अस्तित्व संकटमा पार्ने, संगठनभित्र द्वन्द्व सिजना गर्ने, अधिवेशन भन्दा तदर्थवादमा रमाउने गतिविधिमा लाग्नु गलत र निन्दनीय छ । वर्तमान अवस्थामा ने.वि.संघलाई महाधिवेशन उन्मुख गराउने कुनै गतिविधिमा संगठनको नेतृत्वको ध्यान नहुनु, पार्टीले जिम्मेवारी दिएको ३ वर्ष समय वितिसक्दा पनि देशभरको कुनै एउटा जिल्ला, क्याम्पसमा विधिवत रुपमा लोकतान्त्रिक प्रक्रियावाट अधिवेशन नहुनु सांगठनिक गतिविधि छोडेर गैरसांगठनिक क्रियाकलापमा स्वयं ने.वि.संघ अध्यक्ष तल्लिन हुनु संगठनका तल्ला संरचनामा विवाद, द्वन्द्व बढ्दै जानुले संगठनलाई अधिवेश उन्मुख गराउन नसकिने र यसले सिंगो सगठनको जीवनमा हित नगर्ने कुरामा हामी प्रस्ट रहेको आदरणीय सभापतिज्यूलाई नेविसंघ केन्द्रीय तदर्थ समितका सदस्यहरुको तर्फवाट जानकारी सहित ध्यानाकर्षण गराउँदछौं।’
साथै उनीहरूले दुजाङ शेर्पा नेतृत्वको नेविसंघ तदर्थ समितिको म्याद पार्टी केन्द्रीय समितिबाट थप भएका खण्डमा विरोध गर्ने र सामूहिक रूपमा राजीनामा दिने चेतावनी दिएका छन् ।