ट्रम्पद्वारा पुटिनलाई ‘पागल’ को संज्ञा


बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि भएको अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी हवाई आक्रमणपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति कडा प्रतिक्रिया जनाएका छन् । ट्रम्पले पुटिनलाई ‘पागल’ भन्दै आक्रमणको आलोचना गरेका छन् ।
ट्रम्पले पत्रकारहरूसँग कुरा गर्दै भने, ‘उहाँलाई के भयो ? उहाँ सहरहरूमा रकेट पठाउँदै नागरिकहरू मारिरहनुभएको छ। मलाई यो एकदमै मन परेको छैन। मैले उहाँलाई लामो समयदेखि चिन्छु र सधैं राम्रो सम्बन्ध रहेको थियो, तर अहिले उहाँ जुन काम गरिरहनुभएको छ, त्यो स्वीकार्य छैन।’
ट्रम्पको टिप्पणी रुसले आइतबार राति युक्रेनमाथि ३६७ वटा ड्रोन र मिसाइल प्रहार गरेपछि आएको हो । जसमा कम्तीमा १२ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका छन् ।
यो सन् २०२२ मा सुरु भएको पूर्ण–स्तरीय आक्रमणपछि एकै रातमा भएको सबैभन्दा ठूलो हमला हो । रुसी आक्रमणपछि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अमेरिकाको चुप्पीले पुटिनलाई हौसला दिइरहेको बताएका छन् । उनले वासिङ्टनसँग कडा प्रतिबन्धसहितको दवाव बढाउन आग्रह गरेका छन् ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसल मा लेख्दै भनेका छन्, ‘पुटिन पूर्ण रूपमा पागल भइसकेका छन्। उनले सिंगो युक्रेन कब्जा गर्न चाहन्छन्, जुन रुसकै लागि विनाशकारी हुनेछ।’