त्रिवि क्रिकेट रङ्गशालाको प्यारापिट ढलान सुरु

NepalOne
१३ जेठ २०८२ २१:५५
खेलकुद

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालाको प्यारापिट ढलान मंगलबारदेखि सुरु भएको छ । यही जेठ महिनाभित्र सम्पन्न गर्नेगरी सबै कार्य अगाडि बढाइएका सहरी विकास मन्त्रालयका सहसचिव चक्रवर्ती कन्ठले बताए।

रंगशालालाई अन्तरराष्ट्रियस्तरको बनाउने कार्यक्रमअन्तर्गत पहिलो चरणमा पश्चिमी र पूर्वी भागतर्फ गरी कूल १० हजार जना दर्शक अट्ने गरी प्यारापिट बनाउन लागिएको छ । पहिलो चरणमा निर्माण गर्नुपर्ने प्यारापिटलाई १२ भागमा विभाजन गरिएको र त्यसमध्ये आज पहिलो भागको ढलान सुरु भएको कण्ठले जानकारी दिए।

“प्रयोगशालामा गुणस्तर नियन्त्रण गरिएका कङ्क्रिटमाथि उच्चस्तरको ‘फ्लोर हार्डनर’ प्रयोग गरिएको छ । रंगशालाको कङ्क्रिट सतह अत्यधिक घोटिने भएकाले यसको प्रयोग गरिएको हो’, उनले भने,“ रङ्गशालाको भूबनोटअनुसार पश्चिमी र दक्षिणी भागको जमिन मैदानभन्दा अग्लो भएका कारण जमिनकै सतहमाथि पिसिसी गरी ढलान गरिएको छ । पूर्वी भागको जमिन भने मैदान सरहकै भएका कारण पिलर उठाएर आवश्यक स्लोप कायम गरिएको छ । सबै कार्य जेठ महिनाको अन्त्यसम्म सम्पन्न गर्ने लक्ष्य छ ।”

प्यारापिटबाहेक रातिको समयमा खेल सञ्चालन गर्न आठ वटा फ्लडलाइटसमेत जडान हुँदैछन् । यी सबै कार्यको निरीक्षण गर्न त्यहाँ पुगेका सहरी विकास सचिव गोपालप्रसाद सिग्देलले गुणस्तरमा ध्यान दिन र निर्धारित समयमै कार्य सम्पन्न गर्न निर्देशन दिएका थिए ।


प्रतिक्रिया