तातो हावा (लु) को जोखिम न्यूनीकरण प्रयास

NepalOne १३ जेठ २०८२ १८:५६
जीवनशैली/स्वास्थ्य

खजुरा (बाँके), १३ जेठः तातो हावा (लु) को जोखिम न्यूनीकरण तथा व्यवस्थापनसहित पूर्व तयारी गर्न चुनौती र अवसर आँकलन गर्न सर्वसाधारणसँग परामर्श लिइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा तयार हुन लागेको मार्ग चित्रमा यसअघि कार्यक्रम सञ्चालन गरिएका विराटनगर, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीमा अन्तरक्रिया गरी प्राप्त सुझाव समावेश गरिने परामर्शदाता बुद्धि कुमालले बताउनुभयो ।

स्वास्थ्य, शिक्षा, कृषि, पशुपालन, उद्योग, व्यवसाय, जीविकोपार्जन, यातायात तथा भौतिक संरचना, जलस्रोत, ऊर्जा, सिँचाइ, वन तथा वातावरणको क्षेत्रमा तातो हावा (लु) ले पु¥याएको असर र आगामी दिनमा चाल्नुपर्ने कदमका बारेमा सुझाव लिइएको छ ।

नेपालगञ्ज सहर र आसपासका बस्तीमा ट्युवेलबाट पानी आउन छोडेको, इनार, पोखरी, तालतलैया सुक्दै गएको, बोटबिरुवा विनाश भइरहेको, जथाभावी बोरिङ जडान भएको, भवन र सडक वातावरणमैत्री निर्माण नभएको, कृषि उत्पादनमा ह्रास आइरहेको, दिनप्रतिदिन तापक्रम वृद्धि भइरहेको, मानव स्वास्थ्यमा प्रत्यक्ष असर हुनुका साथै मृत्युसमेत भएको तथ्य सरोकारवालाले औँल्याएका थिए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले विगतका वर्षदेखि नेपालगञ्जको केही वडामा नमूनाका रुपमा तातो हावा (लु)को लहरबाट हुनसक्ने जोखिम न्यूनीकरणका गतिविधि सञ्चालन भएको बताउनुभयो । उहाँले मन्त्रालयबाट प्राप्त हुने बजेट सशर्त हुने भएकाले चाहेर पनि लुसम्बन्धी गतिविधि व्यापक गर्न नसकेको उल्लेख गर्नुभयो ।

नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिका संयोजक समिरप्रताप सिंहले तातो हावाको लहरबाट बच्न नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा प्रचारप्रसार, नमूनाका रुपमा जस्तापाताबाट निर्माण भएको घरको छानामा सेतो रङगले पेन्टिङ गरिएको र बसपार्कमा कुलिङ सेन्टर निर्माण जारी रहेकोलगायत जानकारी गराउनुभयो ।


प्रतिक्रिया