गाजामा हमास नेताको मृत्यु भएको इजरायलको दाबी

NepalOne १४ जेठ २०८२ २१:३०
विश्व

इजरायलले गाजायुद्ध भड्काउने अक्टोबर २०२३ मा भएको आक्रमणका मुख्य योजनाकार तथा हमासका कथित गाजा नेता तथा याह्याका भाइ मोहम्मद सिनवारको मृत्यु भएको बुधबार जनाएको छ ।

सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणपछि सुरु भएको युद्ध ६०० औँ दिनमा प्रवेश गरेको दिन नेतान्याहुले आफ्नो सेनाको उपलब्धिको प्रशंसा गर्दै उक्त घोषणा गर्नुभएको हो ।

“‘पुनरुत्थानको युद्ध’को ६०० दिनमा हामीले वास्तवमै मध्यपूर्वको मुहार परिवर्तन गरेका छौँ,” उहाँले संसदमा भन्नुभयो ।

प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इजरायली संसदलाई सम्बोधन गर्दै भन्नुभयो, “हामी गाजा पट्टीमा बलपूर्वक प्रवेश गर्यौँ र ‘आतङ्ककारी’हरूलाई हाम्रो भूमिबाट बाहिर निकाल्यौँ । दशौँ हजार ‘आतङ्कवादी’हरूको सफाया ग¥यौँ । हमासका कथित नेता मोहम्मद सिनवारको अन्त्य ग¥यौँ ।”

यसै महिनाको सुरुमा दक्षिणी गाजामा इजरायली हवाई आक्रमणमा सिनवारलाई निशाना बनाइएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२४ को अक्टोबरमा उहाँका दाजुको इजरायली आक्रमणमा मृत्यु भएको थियो ।

संयुक्त राष्ट्रसङ्घले गाजामा खाद्यान्न वितरण स्थलमा इजरायली आक्रमण भएका कारण दर्जनौं मानिस घाइते भएका भन्दै अमेरिका र इजरायलसमर्थित सहायता प्रणालीको आलोचना गरिरहेका समय बुधबार सिनवारको मृत्युको घोषणा आएको हो ।

इजरायली सेनाले आफ्नो सेनाले भीडमाथि गोली चलाएको भन्ने आरोपको खण्डन गरेको छ ।

‘गाजा ह्युमेनिटेरियन फाउन्डेसन (जीएचएफ)’ को तीव्र आलोचनासहित भोकमरीको सङ्कटका बीच सहायताको मुद्दा तीव्र रूपमा चर्चामा आएको छ । फाउन्डेसनले यस क्षेत्रमा लामो समयदेखि संयुक्त राष्ट्रसङ्घको नेतृत्वमा रहेको प्रणालीलाई बेवास्ता गरेको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार हजारौँ प्यालेस्टिनीहरू जीएचएफ सहायता वितरण स्थलमा पुगेका बेला मङ्गलबार भएको हिंसात्मक झडपमा परी ४७ जना घाइते भएका थिए भने कम्तीमा एक जनाको मृत्यु भएको प्यालेस्टाइनको एक मेडिकल स्रोतले जनाएको छ ।

प्यालेस्टाइनी क्षेत्रमा संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार कार्यालयका प्रमुख अजित सुङ्घेले अधिकांश इजरायली सेनाको गोलीबाट घाइते भएको बताए ।

सेनाका प्रवक्ता कर्नेल ओलिभर राफोविचले इजरायली सेनाले राफा वितरण केन्द्रबाहिरको क्षेत्रमा हवाइ फाएर भएको र सर्वसाधारणमाथि कुनै पनि हालतमा आक्रमण नभएको बताउनुभएको छ ।

जीएचएफले सहायताको पर्खाइमा रहेको भीडलाई गोली हानेको पनि अस्वीकार गरेको छ। यसले आफ्नो सञ्चालन जारी राखेको र ‘बिना कुनै घटना’ नयाँ वितरणस्थल खोलेको र आगामी हप्ताहरूमा गाजामा थप योजनाहरू बनाएको बताएको छ।

संस्थाका अनुसार चारमध्ये दुई स्थल ‘पूर्ण रुपमा सञ्चालनमा’ रहेकाले यसका कर्मचारीले बुधबार आठ ट्रक सहायता र आठ लाख ४० हजारभन्दा बढीका लागि खाना वितरण गरेको छ।

मध्यपूर्वका लागि संयुक्त राष्ट्रसङ्घका दूत सिग्रिड कागले बुधबार सुरक्षा परिषद्मा गाजामा बसोबास गर्ने प्यालेस्टिनीहरू ‘बाँच्न मात्रैभन्दा बढी कुराका लागि हकदार’ भएको बताउनुभएको छ ।

“गाजामा इजरायली आक्रमण पुनः सुरु भएदेखि नै नागरिकको अस्तित्व भयावह अवस्थामा पुगेको छ,” उहाँले भन्नुभयो ।

उहाँले भन्नुभयो, “यो मानव निर्मित हो मृत्यु उनीहरूको साथी हो। यो जीवन होइन, आशा पनि होइन । गाजाका मानिसहरू बाँच्नुभन्दा बढी कुराका लागि हकदार छन्। तिनीहरू आफ्नो भविष्यको लागि हकदार छन्।”


प्रतिक्रिया