चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित


काठमाडौँ – गणतन्त्र दिवसको अवसर पारेर जेठ १५ गतेदेखि प्रदर्शन हुने भनिएको चलचित्र ‘महाभोज’को प्रदर्शन स्थगित गरिएको छ । देशको विषम परिस्थितिका कारण तत्काललाई प्रदर्शन रोकिएको निर्देशक दिनेश राउतले जानकारी दिनुभयो ।
“पछिल्लो समय देशभर फैलिएका विभिन्न आन्दोलन तथा विषम परिस्थितिका कारण आम जनजीवन प्रभावित भइरहेको अवस्थालाई दृष्टिगत गर्दै नेपाल तथा नेपाल बाहिरका सबै देशमा हाललाई प्रदर्शन स्थगित गरेका छौँ । हामीले उपयुक्त समयमा प्रदर्शन गर्ने तयारी गरेका छौँ”, निर्देशक राउतले भन्नुभयो ।
सहकारी संस्थाको रकम अपचलन भएको विषयमा तयार गरिएको चलचित्र ‘महाभोज’मा अभिनेता दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल, मोहन निरौलालगायतका कलाकारले अभिनय गर्नुभएको छ ।
सहकारीको नाममा ठगिएका सर्वसाधारणको पीडा, राजनीतिक पहुँचको आडमा गरिएको दुरुपयोग र सामाजिक असमानताको कुरालाई सशक्तरूपमा उठाइएको चलचित्रको कथा विकास सुवेदीले लेख्नुभएको हो । उक्त चलचित्रलाई ‘क्लकवर्क क्रियशन’ र ‘पिक्चर फ्रेम’ले संयुक्त रूपमा निर्माण गरेको हो ।