माओवादीले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान जेठ २१ बाट पुनः सुरु गर्ने


काठमाडौं । नेकपा माओवादी केन्द्रले मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान पुनः सुरू गर्ने भएको छ । शुक्रबार बिहान बसेको पदाधिकारी बैठकले केही दिनअघि पोखरामा पुगेर रोकिएको अभियानलाई जेठ २१ गतेपछि पुनः सुरु गर्ने निर्णय गरेको हो ।
अभियानले पार्टीप्रति आकर्षण बढेको निष्कर्षसहित जेठ २१ गतेदेखि फेरि सुरू गर्ने निर्णय गरेको सचिव लीलामणि पोखरेलले जानकारी दिए । माओवादीले यसअघि जेठ २ गतेदेखि १० गतेसम्म अभियान चलाएको थियो । दोस्रो चरण लमजुङबाट सुरू हुनेछ ।
यसैबीच संसद्मा प्रतिपक्षको भूमिकालाई थप प्रभावकारी बनाउन माओवादीले संसदीय दलको बैठक बोलाएको छ । बैठकले विज्ञसहितको संसदीय दलको बैठक बोलाउने निर्णय भएको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
जेठ १९ गते संसदीय दलको कार्यालयमा बैठक बस्नेछ । संसद्मा अवरोध जारी राख्ने कि विकल्पमा जाने भन्ने विषयमा विज्ञहरूको रायबाट थप निर्णय लिने माओवादीको तयारी छ ।