बजेट यथार्थपरक रहेको अर्थमन्त्री पौडेलको दाबी


काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वयन हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् । बिहीबार संसदमा प्रस्तुत गरेको बजेटबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका निम्ति व्यवहारिक र वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि तत्पर रहेको बताएका हुन् ।
उनले बजेट यथार्थपरक ल्याएका दाबी पनि गरे । उनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ ।’
चालु खर्चलाई सीमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको आकारलाई वृद्धि गरिएको छ ।’ उनले यस पटक बजेटको आकारको विषयमा त्यति टिप्पणी नभएको बताए ।
उनले भने, ‘बजेट आम्दानी र खर्चको यथार्थपरक छ । आम्दानी र खर्च दुवैको प्रश्नमा बजेट यथार्थपरक छ । होटेल, रिसार्ट, सूचना प्रविधि उद्योगबाट हुने आयमा विशेष उद्योग सरह सुविधा दिने प्रवन्ध गरिएको छ ।’
अर्थमन्त्री पौडेलले प्रदेश र स्थानीय सरकारले पनि सन्तुलित बजेट निर्माण गर्न सक्ने गरी सङ्घीय सरकारको बजेट आएको दाबी गरे ।
उनले स्वास्थ्य बीमालाई व्यवस्थित बनाउने गरी बजेट आएको दाबी समेत गरे । उनले विदेशी लगानी प्रवद्र्धनको लागि नीतिगत सुधार गर्ने प्रयास गरिएको बताए ।
उनले भने, ‘विदेशी लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा सरकारले लिएको छ । डिजिटल भुक्तानीमा लाग्ने १३ प्रतिशत कर खारेज गरिएको छ । भन्सार बिन्दुमा लाग्दै आएको अग्रिम भन्सार कर पनि हटाएका छौँ ।’
अर्थममन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याएका थिए ।