अष्ट्रेलियाको हरितगृह उत्सर्जनमा वृद्धि, नवीकरणीय ऊर्जामा सुधार

NepalOne १७ जेठ २०८२ २१:४९
विश्व

अष्ट्रेलियाको सङ्घीय सरकारले सार्वजनिक गरेको एक प्रतिवेदन अनुसार सन् २०२४ मा देशको हरितगृह ग्यास उत्सर्जनमा सामान्य वृद्धि देखिएको छ ।

जलवायु परिवर्तन, ऊर्जा, वातावरण तथा पानी मन्त्रालयद्वारा शुक्रबार प्रकाशित प्रतिवेदनअनुसार सन् २०२४ मा अष्ट्रेलियाबाट जम्मा ४४६ दशमलव चार लाख टन बराबरको कार्बन डाइअक्साइड ग्यास उत्सर्जन भएको छ, जुन सन् २०२३ मा ४४६ दशमलव दुई लाख टन थियो । यो वृद्धि करिब शुन्य दशमलव ०५ प्रतिशतको हो ।

उद्योग र उत्पादनसम्बन्धी प्रक्रियाबाट उत्सर्जन सन् २०२३ को तुलनामा पाँच प्रतिशतले घटेको छ भने कृषिक्षेत्रबाट हुने उत्सर्जनमा पनि दुई प्रतिशतले कमी आएको छ ।

तर, विद्युत् उत्पादन र यातायातका साधनहरूमार्फत उत्सर्जन बढेको उल्लेख गरिएको छ । विद्युत् क्षेत्रबाट उत्सर्जन दुई दशमलव दुई प्रतिशतले र यातायात क्षेत्रबाट उत्सर्जन एक दशमलव नौ प्रतिशतले बढेको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार सन् २००५ को तुलनामा अष्ट्रेलियाको कुल उत्सर्जन २७ प्रतिशतले घटिसकेको छ भने प्रतिव्यक्ति उत्सर्जनमा ४६ दशमलव तीन प्रतिशतको कमी आएको छ ।

सरकारले सन् २०३० सम्ममा सन् २००५ को तुलनामा कम्तीमा ४३ प्रतिशत उत्सर्जन घटाउने लक्ष्य राखेको छ ।

जलवायु परिवर्तन तथा ऊर्जा मन्त्री क्रिस बोवेनले उक्त प्रतिवेदनबारे प्रतिक्रिया दिँदै सरकार उक्त लक्ष्य प्राप्त गर्ने दिशामा अगाडि बढिरहेको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, “हामीले निरन्तर प्रयास गर्न जरुरी छ, ताकि सम्पूर्ण अर्थतन्त्रभर हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउन सकियोस् ।”

मन्त्रालयद्वारा प्रस्तुत अद्यावधिक विवरणअनुसार सन् २०२४ मा नवीकरणीय ऊर्जाबाट उत्पादन पाँच दशमलव ६ प्रतिशतले बढेको छ । तर, तास्मानिया राज्यमा परेको खडेरीका कारण जलविद्युत् उत्पादनमा कमी आएको र त्यसको भरपर्दा कोइला तथा ग्यासबाट उत्पादनमा केही वृद्धि भएको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ को मार्च सम्मको १२ महिनाको अवधिमा अष्ट्रेलियाबाट हुने उत्सर्जन ४४२ लाख टन बराबर रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन अघिल्लो वर्षको तुलनामा करिब एक दशमलव दुई प्रतिशतले कम हो ।


प्रतिक्रिया