जनताको माया र विश्वासबाट माओवादी अझ जिम्मेवार बनेको छ: अध्यक्ष दाहाल

NepalOne १७ जेठ २०८२ २२:१८
प्रमुख खबर

काठमाडौँ, १७ जेठः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलबारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताउनुभएको छ ।

पार्टीको कीर्तिपुर नगर समितिद्वारा आज आयोजित प्रशिक्षण कार्यक्रममा उहाँले अभियानमार्फत उपत्यकावासीसँग पार्टीको सम्बन्धलाई थप सुदृढ बनाएर लैजाने बताउनुभयो । पार्टी व्यवहारमै रूपान्तरण हुने दिशामा अघि बढेको स्पष्ट पार्दै उहाँले यसलाई जनताको सेवकका रुपमा स्थापित गरिने बताउनुभयो । पार्टीले सञ्चालन गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सफल भएको बताउँदै उहाँले जनताले देखाएको माया र विश्वासले थप जिम्मेवारी बोध गराएको विचार व्यक्त गर्नुभयो ।

यसैबीच, आज नुवाकोटमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गणतन्त्रात्मक संविधानभित्र निर्वाचन लडेर सांसद भएको व्यक्तिले यही व्यवस्थाको विरोध गर्न नपाउने बताउनुभयो । “सदनमा यही संविधानअनुसार सपथ पनि खाने, सदनमा बसेर सबै सुविधाहरु लिने अनि यही संविधानविरुद्ध जाने तर्कको हिसाबले पनि नैतिकताको हिसाबाले पनि बिलकुल बेठीक हो,” अध्यक्ष दाहालले भन्नुभयो ।


प्रतिक्रिया