सार्वजनिक सवारी अवरोधप्रति नाट्टाको ध्यानाकर्षण


काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ ।
विज्ञप्ति जारी गर्दै नाट्टाले देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,’ नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
‘यस्ता कार्यले नेपालप्रति अन्तरराष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवद्र्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवद्र्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,’ जारी विज्ञप्तिमा भनिएको छ ।