गृहमन्त्रीको निर्देशनः विपद् व्यवस्थापनका लागि चौबिसै घण्टा तयार रहनु


काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद्को पूर्वसूचना अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको सम्बन्धित युनिटलाई तत्काल परिचालन गर्न निर्देशन दिएका छन् ।
सोमबार सशस्त्र प्रहरीसँग विपद् पूर्वतयारीबारे ब्रिफिङ लिँदै गृहमन्त्री लेखकले मनसुन सुरु नहुँदै तयारी अवस्थामा बस्नुपर्ने बताएका हुन् ।
उनले विपद व्यवस्थापन गर्ने जिम्मेवारी सशस्त्र प्रहरीलाई तोकेको भन्दै विपद व्यवस्थापनको पूर्व तयारीमा लाग्न निर्देशन दिए । उनले भने, ‘मनसुनजन्य विपद्को तयारीमा आजैदेखि लाग्नुहोस् । पूर्वानुमान र पूर्वानुमान बेगर हुने विपद्का लागि तयार रहनु होला । पूर्वसूचना अनुसार जोखिम कुन कुन ठाउँमा छ भन्ने अनुमान गर्न सकिन्छ । त्यो बस्तीमा हामीले पूर्वसूचना दिनुपर्यो । मान्छेलाई उद्धार गरेर सुरक्षित ठाउँमा पुर्याउने गर्नुपर्यो ।’
विपद् जोखिम देखिएको ठाउँमा परिचालित भएर सम्भावित घटना हुन चनाखो हुनुपर्ने उनको भनाइ छ । यस्तै गृहमन्त्री लेखकले सशस्त्र प्रहरी बललाई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा काम गर्न सुझाव दिए ।
गृहमन्त्री लेखकले राष्ट्रिय आपतकालीन कार्यसंचालन केन्द्र (एनइओसी)को एउटा शाखा राख्नुपर्ने बताए । ‘त्यसमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका अधिकारी बसेर काम गर्नुपर्यो । कुनै पनि ठाउँमा विपद् आइलाग्दा आ–आफ्ना क्षेत्रलाई समन्वय गर्न सजिलो हुन्छ । यसले विपद् व्यवस्थापनमा चाडो काम गर्न सकिन्छ,’ उनले भने ।
मनसुनजन्य विपद्का खतरा देखिएको ठाउँमा राति गाडी चलाउन रोक्ने कुरालाई गम्भीरतापूर्वक लागु गर्नुपर्ने गृहमन्त्री लेखकको भनाइ थियो । यो वर्ष विगतको भन्दा बढी मनसुन हुने अनुमान गरिएको भन्दै बाढी–पहिरोले निम्त्याउने खतराको पूर्वतयारी थाल्नुपर्ने उनले बताए ।
‘कुनै ठाउँबाट पनि गुनासो नआउने गरी, कुनै पनि ठाउँमा हाम्रो यो कमजोरी भयो भन्ने अवस्था आउनु भएन । चौबिसै घण्टा तयारी अवस्थामा रहनुपर्यो,’ उनले भने ।
छलफलमा सशस्त्र प्रहरीले विपद्को पूर्वतयारीबारे विस्तृतमा ब्रिफिङ गरेको थियो । साथै भर्चुल माध्यमबाट सातै प्रदेशका सशस्त्र प्रहरीका बाहिनीपतिहरुले समेत आ–आफ्नो क्षेत्रको अवस्थाबारे ब्रिफिङ गरेका थिए ।