ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु


रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. १ मंगलपुरमा बुधबार ट्रक र विद्युतीय गाडी ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।सर्लाहीको बरहथवाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ज ०४५२ नम्बरको विद्युतीय गाडी र विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०३–००१ ख ८६०० नम्बरको मालवाहक ट्रक साइडपट्टी ठोक्किँदा दुर्घटना भएको हो।दुर्घटनामा परेर विद्युतीय गाडीमा सवार सर्लाही रामनगर १ खैरवाका ३० वर्षीय धिरेन्द्र ठाकुर र ३६ वर्षीया भगिया देविको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
गाडिमा सवार रहेकामध्ये दुई जना अवस्था सामान्य रहेको र स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।उनका अनुसार विद्युतीय गाडीमा सवार १८ वर्षीय रानी कुमारी यादव (रामनगर) र १९ वर्षीय सरोज ठाकुर (दुर्गाभगवती गाउँपालिका–५, बडहर्वा) घाइते छन् ।
दुर्घटनापछि ट्रक चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका–१३ निवासी ३२ वर्षीय ग्यालसेन थोकर र ईभी हाईस चालक सर्लाही रामनगर–३ निवासी २१ वर्षीय आकाश सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।