माओवादी केन्द्रका नेता श्रेष्ठको हृदयघातबाट निधन


भक्तपुर, २६ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ ।
नेपालको कम्युनिष्ट अन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको मध्यपुरथिमि नगरपालिका–४ तछुतोस्थित निवासमा निधन भएको हो ।
उहाँको पार्थिव शरीरमा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टी महासचिव देव गरुङले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गर्नुभयो । यस्तै, केन्द्रीय सदस्य एवं पूर्वमन्त्रीहरू शशी श्रेष्ठ, लिलामणि पोखरेल, केन्द्रीय नेताहरू दिलीपकुमार श्रेष्ठ, प्रतिमा श्रेष्ठ, डिपी ढकाल, देवेन्द्र श्रेष्ठ, रामप्रसाद सापकोटा (दीपशिखा)लगायतले श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो । यस्तै, पार्थिव शरीरमा विराट नेपाल भाषा साहित्य गुथिको झण्डासमेत ओढाइएको थियो ।
नेताहरूले श्रेष्ठको निधनले भक्तपुरमा माओवादी आन्दोलनको एक युगको समाप्त भएको प्रतिक्रिया दिँदै उहाँको योगदानलाई पार्टीले कहिल्य बिर्सन नहुने बताउनुभएको थियो । उहाँको आजै दक्षिणबाराहीस्थित घाटमा दाहसंस्कार गरिएको छ ।