अग्नि सापकोटाको मुद्दालाई संसद खोल्ने सहमतिसँग नजोडियोस्ः माओवादी


काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको विगतको सहकार्य स्मरण गरेका छन् । आगामी आर्थिक वर्षको बजेटमाथि आइतबार संसदमा पार्टीको धारणा राख्दै पुनले केही दिनअघिसम्म संसद अवरोधमा सँगै उभिएको स्मरण गर्दै रास्वपालाई बजेट छलफलमा सहभागी हुन आग्रह गरेका हुन् ।
पुनले भने,‘हामीले आमजनताको भावना र सुझावलाई ध्यानमा राख्दै भिजिट भिसा प्रकरणमा गृहमन्त्रीले राजीनामा दिनुपर्छ भनेका थियौं । तर, राजीनामा दिने नदिने कुरा व्यक्तिको निजी निर्णय हो । गृहमन्त्रीले छानबिनका लागि तयार रहेको प्रतिबद्धता जनाउनुभएको छ ।’
छानबिन प्रक्रिया अगाडि बढाउन ३० दिनभित्र संरचना बनाइने सहमति भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र नेकपा एकीकृत समाजवादीसँग सहमति भएर सदन नियमित गरिएको उनले बताए ।
उनले रास्वपालाई पनि उक्त सहमतिमा समेटिन भन्दै संसदीय प्रक्रिया र अनुभव सन्दर्भमा सहयोगको आग्रह गरे ।
‘रास्वपाका माननीयज्यूहरूलाई पनि अनुरोध गर्दछु । तपाईंहरू नयाँ दल हुनुहुन्छ । संसदीय संघर्षमा अझै अनुभव नपुग्न सक्छ । हामीसँग सिक्न सक्नुहुन्छ, पुनले भने, ‘साथै उनले माओवादी गृहमन्त्रालय सम्हाल्दा डराएको भन्ने केहीको टिप्पणीप्रति आपत्ति जनाउँदै भने, ‘हामी छानविनका लागि तयार छौं । कुनै डर, लेनदेन वा दबाबको विषय होइन ।’
पुनले पूर्वसभामुख अग्नि सापकोटाको मुद्दालाई सहमतिसँग जोडिएको भनी गरिएका टिप्पणीहरूलाई अस्वीकार गर्दै अदालतको आदेशको पूर्णपाठ पर्खिरहेको बताए ।
सत्तापक्षप्रति लक्षित गर्दै उनले संयमता अपनाउन सुझाव दिए । उनले भने,‘प्रमुख प्रतिपक्ष आइसक्यो, अब पेलेर भए पनि हुन्छ भन्ने सोच गलत हो ।’