सङ्घीय निजामती सेवासम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

NepalOne १ असार २०८२ १६:५६
प्रमुख खबर

काठमाडौँ । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवासम्बन्धी समितिको प्रतिवेदन, २०८२’ प्रतिनिधिसभामा प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा विधेयक पेस गर्दै उनले सांसद दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा उपसमिति गठन गरेर लामो छलफलपछि विधेयकलाई अन्तिम रुप दिइएको बताए ।

‘दुई वर्षको ‘कुलिङ अफ पिरियड’ राखेर समितिबाट सर्वसम्मतिका साथ विधेयक पारित गरी ल्याइएको छ’, सभापति खतिवडाले भने ।

प्रतिनिधिसभाको २०८१ जेठ १५ गतेको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवासर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि संशोधनसहित दफावार छलफलका लागि प्रतिनिधि सभा नियमावली, २०७९ बमोजिम सम्बन्धित समितिमा पठाउने निर्णय गरेको थियो ।

विधेयकमा १५३० वटा संशोधन प्रस्ताव परेको थियो । विधेयक प्रतिवेदन समितिबाट पारित गर्दासम्म समिति र उपसमिति गरी ४७ वटा बैठक सञ्चालन भएको सभापति खतिवडाले जानकारी दिए । यो विधेयक संविधानपछिको सबैभन्दा महत्वपूर्ण विधेयक रहेको पनि उनले बताए ।


प्रतिक्रिया