अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलोपटक सिरहाका दुई खेलाडी


सिरहा । जारी त्रिदेशीय टी–२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गतको प्रतियोगितामा सिरहाका दुई खेलाडी एकै पटक सहभागी हुन सफल भएका छन् ।
स्कटल्यान्डको टिटउट रङ्गशालामा सोमबार राति भएको नेदरल्यान्डस् विरुद्धको खेलमा सिरहाको बरियारपट्टि गाउँपालिका–४ का नन्दन यादव र औरही गाउँपालिका–३ ईंटाटारका रुपेशकुमार सिंह सहभागी भएका हुन् ।
तेस्रो सुपर ओभरमा नेपाल पराजित भएको उक्त प्रतियोगितामा ‘डेब्यु’ गरेका नन्दन र रुपेश दुवैले राम्रो प्रभाव छोड्न सफल भएका छन् । नन्दनले २.५ ओभर बलिङमा १८ रन दिएर महत्त्वपूर्ण दुई विकेट लिए ।
उनको इकोनोमी ६.३५ रहेको थियो । त्यसैगरी रुपेशले ३ ओभर बलिङ गरेर ३१ रन खर्चिए । नन्दनले ब्याटिङतर्फ ‘नटआउट’ चार बलमा १२ रन बटुल्न सफल भए । खेललाई सुपर ओभरमा धकेल्न उहाँको महत्वपूर्ण योगदान रह्यो ।
नन्दन डिभिजन टूअन्तर्गतका एक दिवसीय खेलमा उम्दा प्रदर्शन गरेका खेलाडी हुन् भने रुपेश यसअघि हङकङ सिरिजमा नेपाली टोलीमा थिए । अन्तर्राष्ट्रिय क्रिकेटमा दुई खेलाडीको सहभागितासँगै जिल्लाका क्रिकेटप्रेमीहरु उत्साहित भएका छन् ।
नेदरल्यान्डस्सँग निर्धारित २० ओभरको खेलमा १५३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५२ रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो । घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्डस्बीचको त्रिकोणीय टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज नेपालले घरेलु टोली स्कटल्यान्डको सामना गर्नेछ ।