सयौँ युरोपेली इजरायलबाट स्वदेश फिर्ता


इरानसँगको द्वन्द्व चर्किरहेका बेला युरोपेली मुलुकहरूले बुधबार इजरायलबाट आफ्ना सयौँ नागरिकलाई स्वदेश फर्काएका छन् ।
जर्मनीको विदेश मन्त्रालयका प्रवक्ता क्रिश्चियन वाग्नरका अनुसार जोर्डनमा चार्टर्ड गरिएको व्यावसायिक उडानमार्फत करिब २०० जनालाई जर्मनीले ल्याउने अपेक्षा गरिएको छ ।
अम्मानबाट दोस्रो उडान बिहीबारका लागि तय भएको उहाँले बताउनुभयो ।
रोममा इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले इजरायल छाड्न चाहने इटालियाली नागरिकका लागि उडान उपलब्ध गराइएको बताउनुभएको छ ।
ग्रीसले आफ्ना १०५ जना नागरिक र केही विदेशी नागरिकलाई स्वदेश फर्काएको जनाएको छ ।
इजिप्टको शर्म अल शेखबाट सी–१३० र सी–२७ ग्रीक वायु सेनाको विमानमार्फत एथेन्स पु¥याइएको दूतावासले जनाएको छ ।
विमानमा ग्रीक नागरिक र उनीहरूका परिवारका साथै अल्बानिया, अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, फ्रान्स, जर्मनी, जर्जिया, हङ्गेरी, इटाली, लिथुआनिया, रोमानिया, स्वीडेन, स्विट्जरल्याण्ड र संयुक्त राज्य अमेरिकाका नागरिकहरू रहेका थिए ।
पोल्याण्डका विदेशमन्त्री राडोस्लाव सिकोरस्कीले पोल्याण्डको पहिलो समूह आफ्नो देश फर्कन सफल भएको र बिहीबारका लागि अर्को उडान तय भएको बताउनुभएको छ ।
सोफियामा ८९ जना बुल्गेरियालीसहित १४८ जनालाई उद्धार गरिएको एउटा निजी विमान बुधबार राति अवतरण गरेको छ ।
गत शुक्रबार इरानको आणविक र सैन्य केन्द्रलाई लक्षित गरी इजरायलले अकस्मात अवाइ आक्रमण चलाएपछि विदेशीहरू देश छोड्न हतारिएका छन् ।
युद्ध सुरु भएदेखि नै दुवै देशका आवासीय क्षेत्रहरूमा घातक आक्रमणहरू भएका छन् र विदेशी सरकारहरूले आफ्ना नागरिकहरूलाई बाहिर निकाल्न कोसिस गरिरहेका छन्।