आरजु राणा देउवा र निवर्तमान गृहमन्त्रीमाथि अर्बौको चलखेल गरेको महेश बस्नेतको आरोप


काठमाडौं / नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले कांग्रेस सांसद र निवर्तमान गृहमन्त्रीलाई ठूला आयोजनामा अर्बौको चलखेल गरेको आरोप लगाएका छन् । सनिबार रिर्पोटस क्लबमा आयोजित कार्यक्रममा बोल्दै उनले कांग्रेस सांसद आरजु राणा देउवा र निवर्तमान गृहमन्त्री बालकृष्ण खाँणमाथि अर्बौको चलखेल गरेको गम्भीर आरोप लगाएका हुन् ।
देउवा सरकारले विकास निर्माणको केही काम नगरेको बताउदै उनले भने, ‘ठूला–ठूला आयोजनाको सन्दर्भमा चाहे त्यो एनसेलको सन्दर्भ होस, चाहे त्यो सूर्यविनायक–धुलिखेल सडकको सन्दर्भ होस, यी तमाम सनदर्भमा अर्बौको सेटिङ थियो । भाउजुको सरकार अथवा आरजु देउवाज्यू, अथवा बालकृष्ण खाणजीलगायतका साथीहरूको सेटिङमा अब सरकार बन्नेछ र मिलोमतोमा तपाईँहरूलाई ठेक्कालगायत दिन्छौं भनेर ६र७ अर्ब उहाँहरूले लिनुभएको छ र अहिले त्यो पैसा चाहीँ फिर्ता गर्नुपर्ने अवस्थामा पुग्नुभएको छ भन्ने कुरा अहिले चर्चामा आएको छ । विशेष गरेर भन्सार भएका जिल्लाहरूमा सीडीओ, एसपीहरू सबै सुरुवाहरू सेटिङमा हुने गर्दथ्यो । भन्सार प्रमुखहरू सेटिङमा हुने गर्दथे र, वैद्य च्यानलबाट सामानहरू आयात नगरी अवैध च्यानलबाट सामान आयात गर्ने, भन्सार छली गर्ने र राजश्व छली गर्ने काम भएको थियो । एक ढंगले भन्ने हो भने राज्य संस्थागत ठगी धन्दामा संलग्न भएको थियो । जसको कारण हाम्रो अर्थतन्त्र टाँट पल्टिएको थियो । पुँजीगत खर्च न्यून भैरहेको छ । आजको अर्थमन्त्रीलाई समेत चूनौति थपिदिएर उहाँहरू जानुभयो ।’
आरजु र खाँणहरूले निर्वाचनपछि पनि आफूहरूकै सरकार बन्ने भन्दै ठूला आयोजनाको ठेक्का दिने भनेर अग्रिम रूपमा ६ ७ अर्ब रुपैयाँ बुझेको र अहिले सरकारबाट बाहिरिएकोले फिर्ता गर्नुपर्ने अवस्थामा पुगेको बस्नेतको आरोप छ । नेता बस्नेतले यसअघिको देउवा सरकारले मुलुकमा संस्थागत ठगी गरेको गम्भीर आरोप लगाए ।