डा. अमृत थापाको कविताञ्जली लोकार्पण

डा. अमृत थापाको कविताञ्जली लोकार्पण

काठमाडौं – डा. अमृत थापाले कविताञ्जली कविता कृति बजारमा ल्याएका छन् । प्रकृति, जीवन र जागरणसँग नजिक रहेर थापाले कविता लेखेका छन् । कविताञ्जलीमा थापाका ४५ ओटा कविता सङ्ग्रहित रहेका छन् ।

थापाले आफ्नो बाल मनसपटलबाट निस्किएका भावनालाई सङ्‌हित गरेर राखेको र परिमार्जित गरेर कविता कृतिका रूपमा ल्याएको बताए ।

वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले जीवनमा एक पटक जोकोहिले कविता कोर्ने भए पनि असली कविलेमात्र सङ्‍ग्रहका रूपमा बजारमा ल्याउन सक्ने बताए । ‘अमृतले विद्यार्थी जीवनमा कोरिएका भने पनि कविताको भाव उच्च छ । प्रकृति, जीवन र जागरणसँग कविता निकै नजिक छन् । कविले जीवनमा जे देखेका त्यसलाई नजिकबाट लेखेका छन्,’ उनले भने । कविता जीवन र दर्शनसँग निकै नजिक रहेको श्रेष्ठ बताउँछन् ।

उनले पछिल्लो समय कवि, साहित्यकारहरूले सिर्जनामा आदर्शका कुरा गर्ने गरेको भए पनि व्यवहारिक जीवनमा त्यो लागू नगर्ने गरेको गुनासो गरे । तर, डा. अमृतले भने जीवनमा पनि आदर्शलाई अंकालेको आफूले पाएको श्रेष्ठको भनाइ छ ।

अमृतको मिहिनेतले कृति सकारात्मक र सार्थक बन्न पुगेको बताउँदै उनले कविको निरन्तरताका लागि शुभवकामनासमेत व्यक्त गरेका छन् ।

यस्तै डा. चिन्तामणिनाथ योगीले आफ्नो विद्यार्थीलाई बहुआयामीक व्यक्तित्वका रूपमा पाउँदा निकै खुसी लागेको बताए । ‘म आफ्नो विद्यार्थीले लेखेको कविताका बारेमा धेरै विमर्श गर्न सक्दिनँ। किनकि मैले उनका कविता पढ्दा केवल कोमलता र सरलता पाउँछु। उच्च मानवीय पक्षा र नैतिकता पाउँछु,’ उनले भने ।

यस्तै भरतबहादुर थापाले अमृतका कविता निकै उत्कृष्ठ भएको बताए । उनले कविले आफ्नै बाल्यकालीन अनुभव, अनुभूति र श्रद्धामा टेकेर कविता कोरेको बताए ।

कोलम्बिया विश्वविद्यालय अमेरिकाबाट शिक्षा र अर्थशास्त्रमा पिएचडी गरेका थापाले ऐश्वर्य प्रकाशन प्रालिबाट पुस्तक प्रकाशन गरेका हुन् । उनी हाल पेन्सलभेनिया विश्वविद्यालय फिलाडेल्फिया संयुक्त राज्य अमेरिकामा लेक्चररको रुपमा कार्यरत छन् ।

nepal one