डोल्पामा इन्स्पेक्टरले कुटे हवल्दार

सुर्खेत / जिल्ला प्रहरी कार्यालय डोल्पामा कार्यरत प्रहरी निरीक्षक नवीन चापागाईंले विनाकारण प्रहरी हवल्दारलाई कुटपिट गरेका छन्। उनले शनिबार बिदामा रहेका हवल्दार हरि आरसीलाई कार्यालयमा बोलाई कुटेका हुन्।

जिल्ला कारागार,  डोल्पामा कार्यरत सल्यान सिद्धकुमाख गाउँपालिका-३ घर भएका ३७ वर्षीय आरसीको बायाँ आँखा, नाक र मुखमा गहिरो चोट लागेको छ। उनको जिल्ला अस्पताल, डोल्पामा उपचार भइरहेको छ। थप उपचारका लागि उनलाई नेपालगञ्ज पठाउन लागिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक शिवबहादुर बुढाथोकीले आफू कार्यालय बाहिर रहेकाले घटनाको बारेमा विस्तृत थाहा नभएको बताउँदै अनुसन्धान भइरहेको बताए। अनुसन्धानपछि दोषीलाई कारबाहीको दायरामा ल्याउने पनि उनले बताए।

Reporter