पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

पशुपतिनाथ हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा सम्पन्न

काठमाडौँ-मानस तथा बोलबम परिवार जनकपुरधामको आयोजनामा आज पशुपतिनाथ वनकालीस्थित हंसमण्डपमा पार्थिव शिवलिङ्ग पूजाआजा भएको छ । राष्ट्रिय कल्याणका लागि संस्थाले शिवलिङ्ग निर्माण गरी पूजापाठ, तथा हवन गरेको हो ।बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रममा एक लाख २५ हजार शिवलिङ्ग बनाएर पूजाआजा गरिएको थियो । बनारसबाट आउनुभएका दुईजना पण्डितहरूसहित अन्य सातजना स्वदेशस्थित मधेसी र पहाडी ब्राह्मणको संलग्नतामा चण्डी र रुद्री पाठसहित हवन गरिएको संस्थाका अध्यक्ष ललन ठाकुरले जनाउनुभयो ।

पार्थिव शिवलिङ्ग पूजामा नेपाली कांग्रेसका नेता तथा सांसद विमलेन्द्र निधिले सहभागिता जनाउनुभएको थियो । उहाँले संस्थाले विगतदेखि गरेका कामको प्रशंसा गर्दै काठमाडौँसम्म आएर पूजापाठ, तथा हवन गरेकामा खुसी जनाउनुभयो । लामो समयदेखि संस्थामा ठूलो योगदान पुर्याउनुभएका राजेन्द्र झा, नवराज घिमिरे, उदयकान्त झा, हर्षित मिश्र र द्रवेश ठाकुरलाई सांसद निधिले सम्मान गर्नुभएको थियो ।

संस्थाले यसअघि २०७४ सालमा जनकपुरको रङ्गभूमि बाह्रबिघामा एकै दिन १० हजार भक्तजनको उपस्थितिमा पार्थिव शिवलिङ्ग पूजाआज गरेको थियो । आगामी दिनमा सोही किसिमको पूजा काठमाडौँमा पनि गर्ने योजना रहेको अध्यक्ष ठाकुरले जानकारी दिनुभयो ।

बोलबम परिवार संस्थाले देशभित्र जनकपुरस्थित प्रसिद्ध राम–जानकी मन्दिर, डोलेश्वर, जलेश्वर, छिरेश्वर, सत्तोखर, इटहरवा महादेव मन्दिरसहित विभिन्न धार्मिक मठमन्दिर र छिमेकी मित्रराष्ट्र भारतको अयोध्यासहितका धार्मिक नगरीमा यस किसिमको पार्थिव शिवलिङ्ग पूजाआजासहित धार्मिक अनुष्ठान कार्य सम्पन्न गरको थियो ।

nepal one