प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक : मन्त्री रिजाल

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक : मन्त्री रिजाल

धनुषा – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण नेपालको आर्थिक विकासका लागि निक्कै उपलब्धिमूलक भएको बताउनुभएको छ ।

उद्योगमन्त्री रिजालले जनकपुरधाम उद्योग वाणिज्य सङ्घद्वारा आज सङ्घको राजर्षी सभाहलमा आयोजना गरिएको व्यापारिक अन्तरक्रिया कार्यक्रममा भारत भ्रमणका क्रममा नेपालको जलविद्युत्, पर्यटन तथा व्यापारको क्षेत्रमा पनि उपलब्धिमूलक भएको बताउनुभयो ।

उहाँले वर्तमान सरकार मुलुकको विकासका लागि सम्भावित सबै क्षेत्रलाई चलायमान बनाउन चाहेको उल्लेख गर्दै गरिखानेलाई सरकारले सबै प्रकारका समस्याको समाधान तथा सहयोग गर्नका लागि तयार भएको र त्यसअनुसारको नीति तथा कार्यक्रम ल्याएको बताउनुभयो ।

उहाँले जनकपुरधाम क्षेत्रमा रहेको जनकपुर चुरोट कारखाना सरकारले चलाउने पक्षमा नभएको स्पष्ट पार्नुभयो । चुरोट उत्पादन गर्ने सरकारको काम पनि नभएको स्पष्ट पार्दै यस ठाउँको प्रयोग अन्य काममा लगाउनका लागि सङ्घीय सरकार सहयोग गर्न तयार भएको बताउनुभयो ।

उद्योगमन्त्री रिजालले मुलुकको समृद्धि र विकासका लागि औद्योगिक विकास आवश्यक भएकोमा जोड दिँदै सरकारको काम आफैँले उद्योग चलाउने नभई निजी क्षेत्रलाई उद्योग र व्यापार गर्नका लागि प्रोत्साहन गर्ने भएको बताउनुभयो ।

सरकारले व्यापार गर्ने नभई व्यापारका लागि सहजीकरण गरिदिने उहाँको भनाइ थियो । उहाँले व्यापार निजी क्षेत्रले गर्ने भएकाले सरकारले निजी क्षेत्रलाई व्यापारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

मन्त्री रिजालले वर्तमान सत्ता गठबन्धन पाँच वर्ष नै टिक्ने जिकिर गर्दै उद्योग क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार तयार रहेको बताउनुभयो ।

उहाँले बजेटको परम्परागत प्रणाली पञ्चायतकालदेखि नै रही आएकाले यसलाई परिवर्तन नगरेसम्म देश र उद्योगी सुखी हुन नसक्ने बताउनुभयो । देश बनाउनका लागि सङ्घीय सरकारलाई मात्रै कराएर नहुने बरु सबै मिलेर सहकार्य गरी काम गरे देश विकास गर्न समय नलाग्ने उहाँको भनाइ थियो । मन्त्री रिजालले पहाडबाट बगेर जाने बालुवाको उत्खनन गरी बिक्री गर्दा विरोध भइरहेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले मुलुकमा केही काम गर्न चाहनेका लागि लाइसेन्स प्रदान गर्ने प्रक्रियालाई सरल बनाइएको बताउनुभयो । मुलुकको आर्थिक अवस्था अहिले ठीक नभएको भन्दै उहाँले आर्थिक अवस्थामा सुधार गर्न सरकार स्थानीय उत्पादनमा जोड दिने पक्षमा रहेको बताउनुभयो ।

मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कृष्णप्रसाद यादवले औद्योगिक विकासबिना समृद्ध नेपाल तथा सुखी नेपालीको लक्ष्य हासिल गर्न कठिन भएको उल्लेख गर्दै युवालाई रोजगारीमा नलगाएसम्म मुलुकलाई अगाडि बढाउन कठिन भएको बताउनुभयो ।

उहाँले मधेस प्रदेशमा कृषि तथा कृषिमा आधारित उद्योगको सम्भावना व्यापक भएको बताउँदै कृषिको विकासका लागि सिँचाइ तथा रासायनिक मलको आपूर्ति सहज बनाउन आवश्यक रहेको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष जितेन्द्र महासेठले जनकपुर क्षेत्रको औद्योगिक, व्यापारिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आवश्यक सुझावसहितको पाँच बुँदे ज्ञापनपत्र बुझाउनुभयो ।

सो अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना, जनकपुरधाम उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं जनकपुरधाम उपमहानगरपालिकाका पूर्वप्रमुख बजरङ्गप्रसाद साहसहितका वक्ताहरूले बोल्नुभएको थियो ।

nepalone