‘अभ्यास हातेमालो–५’ आज सम्पन्न

NepalOne २९ जेठ २०८० २०:२०
प्रशासन

मोरङ – कोशी प्रदेशका १४ जिल्लामा हुने बाढी, पहिरो, भूकम्प लगायतका विपद्को समयमा जनधनको क्षति न्यूनीकरण, एवं उद्धार र राहत परिचालनका लागि ‘अभ्यास हातेमालो–५’ आज सम्पन्न भएको छ ।

कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाली सेनाको पूर्वी पृतना हेडक्वाटर सुनसरीद्वारा इटहरीमा आज आयोजित प्रदेशस्तरीय एकीकृत विपद् व्यवस्थापन अभ्यास हातेमालो–५ कार्यक्रममा सहभागीहरूलाई विपद् पूर्वको तयारी र योजना र विपद्को दौरान र पश्चात् विभिन्न तहमा गर्नुपर्ने कार्य योजना, कार्यान्वलयनबारे ज्ञान तथा अभ्यास सम्बन्धमा जानकारी गराइएको थियो ।

यस्तै, सहभागीहरूलाई मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना कार्यान्वयनमा स्पष्टता, प्रदेश र जिल्ला र स्थानीयको भूमिका र जिम्मेवारीबारे जानकारी गराईएको थियो । सहभागीबीच विपद् प्रतिकार्य र मानवीय सहयोगको अवस्थामा सरकारी र गैरसरकारी सङ्घसंस्थासँग विभिन्न तहमा गर्नुपर्ने समन्वय र सहकार्य एवं संयन्त्रको विषयमा छलफल गराइएको थियो ।

विपद्को दौरान र विपद्पश्चात् जनशक्ति, स्रोत तथा साधनको परिचालनसम्बन्धी सम्बन्धित सबैको कर्तव्य, जिम्मेवारी र प्रदेश जिल्ला तथा स्थानीय तहमा विपद् प्रतिकार्यका लागि आवश्यक योजना तयार गरी विभिन्न तहमा हुनसक्ने समस्या चुनौतीबारे जानकारी र समाधान उपायहरूको पहिचान गर्नुपर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको छ ।

सो अवसरमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जनधनको क्षति हुन नदिन उद्धारमा खटिने नेपाली सेनालगायत सुरक्षा निकायको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै यसका लागि सरकारले आवश्यक नीतिगत प्रबन्ध र आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सङ्घ, प्रदेश र स्थानीय निकायबीचको सहकार्यबाट विपद् व्यवस्थापनमा नागरिकको उद्धारमा महत्वपूर्ण सफलता प्राप्त गर्न सकिने धारणा राख्नुभयो ।

मुख्यमन्त्री कार्कीले विपद्का समयमा स्थानीय जनताका सहयोगमा गरिने उद्धार, राहतले यस क्षेत्रमा हुने जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पछिल्लो समयमा प्राकृतिक प्रकोपभन्दा सडक दुर्घटनाबाट मानिसको मृत्यु र अपाङ्गताको सङ्ख्यामा वृद्धि भइरहेकामा चिन्ता व्यक्त गर्दै यसको रोकथामका लागि जनतामा ट्राफिक नियम सम्बन्धमा जनचेतना वृद्धि गर्नुपर्नेुमा जोड दिनुभयो ।

पूर्वी पृतनापति उपरथी डा आशबहादुर तामाङले अभ्यासको पूर्वतयारीले विपद् व्यवस्थापनमा सहयोग पुग्ने धारणा राख्नुभयो । सेनाका विपद् व्यवस्थापन विभागका सहायकरथी रवीन्द्र खत्रीले विपद् व्यवस्थापनका समयमा गर्नुपर्ने कार्यका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने धनकुटाका गणपति सुमन थापाले अभ्यास–५ का विषयमा जानकारी गराउनुभएको थियो ।

अभ्यास–५ मा नेपाली सेना, सशस्त्र प्रहरी, तीन तहका कर्मचारी, विभिन्न गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । यसअघि सेनाको पृतना कार्यालय अन्तर्गतका १४ जिल्लामा जेठ १३ देखि २० गतेसम्म अभ्यास मनसुन–३ सञ्चालन भएको थियो ।


प्रतिक्रिया