`

‘रेटिङ’मा विद्युत् प्राधिकरणलाई लगातार तेस्रो पटक ‘डबल ए प्लस’

काठमाडौँ ।  नेपाल विद्युत् प्राधिकरणले यसवर्ष पनि ‘डबल ए प्लस’ रेटिङ पाएको छ । इक्रा नेपाल लिमिटेडले प्राधिकरणले ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको हो । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक ‘डबल ए प्लस रेटिङ’ पाएको छ । 


प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यावसायिक तथा वित्तीय जोखिमको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा बाह्य वातावरणीय तत्वहरूलगायत विषयको विश्लेषण गरी रेटिङ गरिएको इक्रा नेपाल लिमिटेडले जनाएको छ ।


“डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा वहन गर्नसक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा न्यून ऋण भुक्तानी जोखिम हुन्छ । क्रेडिट रेटिङमार्फत कुनै व्यक्ति वा सङ्गठित संस्थाको साखको गुणस्तर सम्बन्धमा मूल्याङ्कन गर्ने तथा राय प्रकट गर्ने काम गरिन्छ । यसमा संस्थाको ऋण दायित्व भुक्तान गर्ने क्षमता सम्बन्धमा निहीत जोखिमबारे सरल र बुझ्न सकिने साङ्केतिक सूचकका रूपमा राय दिइन्छ”, इक्रा नेपाल लिमिटेडले उल्लेख गरेको छ । 


प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रेटिङमा विगत तीन वर्षदेखि निरन्तर डबल ए प्लस प्राप्त गर्न सफल भएको भन्दै यसबाट संस्थाको वित्तीय अवस्था स्वस्थ, ऋण तिर्न सक्ने क्षमता सक्षमता देखिएको बताए । साथै, प्राधिकरण आफ्नो वित्तीय तथा आर्थिक दायित्व ढुक्कसँग वहन गर्नसक्ने क्षमतामा देखिएको उनले उल्लेख गरे  । 


घिसिङले भने, “सर्वसाधारणलाई शेयर निष्काशनका लागि महत्वपूर्ण मापदण्डको रुपमा रहेको संस्थाको रेटिङ सम्पन्न भइसकेको छ, संस्थाको वास्तविक सम्पत्ति मूल्याङ्कन गरिसकेका छौँ, सरकारबाट स्वीकृति पाउनसाथ शेयर निष्काशनको प्रक्रिया अगाडि बढाउन सकिनेछ, शेयर निष्कासनबाट सङ्कलन गरिएको रकमलाई ठूला जलविद्युत् आयोजनाको निर्माणमा लगानी गर्ने योजना बनाएका छौँ ।” 


उनले विद्युत् उत्पादनतर्फका आयोजना निर्माण र विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय तथा सुरक्षित बनाउन प्रणाली सुधार तथा विस्तारका लागि आवश्यक ठूलो पुँजी संस्थाले कमाएको नाफा र शेयर निष्कासनबाट प्राप्त हुने रकमबाट पूरा गर्ने योजना रहेको उल्लेख गरे । प्राधिकरणको चुक्ता पुँजी करिब रु तीन खर्ब कायम गरी त्यसको बढीमा २० प्रतिशतले हुन आउने रकममा प्रिमियम थप गरीे प्राथमिक शेयर सर्वसाधारणलाई निष्काशन प्रस्ताव गरिएको छ । 


“प्रिमियमसहित प्रतिकित्ता मूल्य करिब रु तीन सय कायम गरी शेयर निष्काशनको प्रस्ताव गरिएको हो । प्राधिकरणको वार्षिक आम्दानी रु एक खर्ब १६ अर्ब र सम्पत्ति सात खर्बभन्दा बढीको छ । विद्युत् उत्पादन, प्रसारण र वितरणलाई सक्षम, भरपर्दाे र सर्वसुलभ गरी विद्युत् आपूर्तिको समुचित व्यवस्था गर्न सरकारको पूर्ण स्वामित्वमा प्राधिकरण स्थापना गरिएको हो । प्राधिकरणले देशभित्र विद्युत् उत्पादन, प्रसारण र वितरणका अतिरिक्त आन्तरिक तथा सीमापार विद्युत् व्यापार पनि गरिरहेको छ”, घिसिङले भने । 


सरकारले विद्युत् विकासका आफ्ना कार्यक्रम कार्यान्वयन गर्न वार्षिक रूपमा बजेट विनियोजन, शेयरमा लगानी (नगद वा ब्याज/साँवा पुँजीकरण) र अन्य आवश्यक रकम÷सञ्चालनमार्फत प्राधिकरणमा लगानी गर्दै आएको छ । प्राधिकरण सरकारको पूर्ण स्वामित्वमा रहेको, विद्युत् प्रसारण, वितरण र मुलुकभित्र तथा बाहिरी मुलुकसँग विद्युत् खरिदबिक्रीको एकाधिकार प्राप्त तथा सरकारको रणनीतिक संस्था हो । 


प्राधिकरणले स्वदेशी तथा विदेशी लगानीकर्ताले निर्माण गर्ने जलविद्युत् आयोजनासँग झण्डै ११ हजार मेगावाटको दीर्घकालीन विद्युत् खरिद सम्झौता (पिपिए) गरेको जनाएको छ । रेटिङको नतिजाले त्यस्ता आयोजनाको रकम भुक्तानी गर्न प्राधिकरणसँग उच्चस्तरको वित्तीय क्षमता रहेकाले लगानी जोखिम नरहेको देखाएको कार्यकारी निर्देशक घिसिङले बताए ।  


प्राविधिक र गैरप्राविधिक विद्युत् चुहावट घटाउन, अधिकतम ग्राहकसम्म पहुँच बढाउन, वित्तीय खर्च घटाउन, राजस्व बढाउन, प्रसारण तथा वितरण लाइन र सबस्टेसन विस्तार गर्न संस्थागत सुशासनमा सुधार गर्दै नाफा कमाउनमा प्राधिकरणलाई ठूलो सफलता हात परेको छ । 


आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेकोमा आव २०७३/७४ मा रु एक अर्ब ५० करोड खुद नाफा कमाउँदै प्राधिकरणले नाफाको इतिहास सुरु गरेको थियो । 


प्राधिकरणले गत आवमा रु १४ अर्ब ४६ करोड नाफा कमाएको थियो । आव २०७२/७३ मा रु ३४ अर्ब ६१ करोड सञ्चित घाटामा रहेको प्राधिकरण अहिले रु ४७ अर्ब ४१ करोड सञ्चित नाफामा पुगेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । आव २०७२÷७३ मा प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत् चुहावट भइरहेको थियो ।

जलन अस्पताल बनाउने काम अघि बढाउन सरकारलाई सांसद भण्डारीको आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सरकारलाई नेपालमा जलन अस्पताल बनाउने काम अघि बढाउन आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद भण्डारीले आफू जलनमा परेपछि पटक पटक प्रधानमन्त्री र मन्त्रीहरुसँग यसबारेमा ध्यानाकर्षण गराएपनि कसैको ध्यान नगएको बताएका हुन् ।

उनले भने, ‘जुन दिन म जलनमा परेको थिएँ आजकै दिन नेपाल सरकारले नेपालमा जलन अस्पताल बनाउने निर्णय गरेको थियो । तीन महिना अस्पताल बसेर नेपाल आइसकेपछि मैले धेरै पटक प्रधानमन्त्रीज्यूहरु, मन्त्रीज्युहरु सबैसँग यसको विषयमा लामो छलफल भयो तर कसैलाई पनि यतातिर ध्यान गएन ।’

उनले अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । साथै उनले सानदार मःम मा ग्यास विष्फोटन भई ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरे ।

१२ दिनमा १३ लाख किशोरीले लगाए एचपिभी खोप

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको एचपिभी खोप अभियानअन्तर्गत १२ दिनमा १३ लाखभन्दा बढी किशोरी लाभान्वित भएका छन् ।

अभियानको १२औं दिन अर्थात शनिबारसम्म उल्लिखित परिमाणमा किशोरीहरुले खोप प्राप्त गरेको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा प्रमुख डा विवेककुमार लालले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले हालसम्म अभियानलाई सफल पार्न खटिने सबै स्वास्थ्यकर्मीहरु, स्वयंसेवक, सहयोगी विद्यालयलगायत सहयात्रीहरुलाई अनवरत मेहनतका लागि भन्दै धन्यवाद ज्ञापन गरेका छन् । गत माघ २२ गते सुरु भएको अभियान फागुन ६ गतेसम्म सञ्चालन हुनेछ ।

अभियानका क्रममा कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रा र १० देखि १४ वर्षका किशोरीहरुलाई स्थानीय तहमा रहेका केन्द्रहरुमार्फत खोप प्रदान गरिएको छ ।

अबको अवधिमा छुटेकाको पहिचान गरी खोप प्रदान गरिने मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिए । अभियानका क्रममा करिब १७ लाख किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।

मन्त्री पौडेलले पदभार सम्हालेपछि पहिलो निर्णय राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति स्वीकृत गरेका थिए । त्यसयता क्यान्सरको उपचार सातै प्रदेशमा पुर्याउने निर्णय कार्यान्वयनमा आइसकेको मन्त्रालयको भनाइ छ । क्यान्सरविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने मन्त्री पौडेलले घोषणा गरेको योजना तथा प्राथमिकतामा उल्लेख छ । सोही अनुसार किशोरीहरुलाई खोप दिने कार्यक्रम अघि बढाइएको प्रवक्ता बुढाथोकीले बताए ।

नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण ज्यान जाने महिलाहरुको सङ्ख्या उच्च छ । सानै उमेरमा खोप लगाएर यो समस्या कम गर्ने योजनाअनुसार निरोधात्मक विधिअन्तर्गतका कार्यक्रमसमेत अघि बढिरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ । 

अस्पतालद्वारा अर्थमन्त्री पौडेल र मेयर आचार्यसँगको भेटघाट बन्द

काठमाडौं । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्यमा सुधार आएको छ ।

आइतबार कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण किशोर नकर्मीले विज्ञप्ति जारी गरी अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य सुधारोन्मुख रहेको जानकारी दिएका हुन् ।

निर्देशक नकर्मीले अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था सामान्य भए पनि संक्रमण हुने भएकाले भेटघाट भने बन्द गरिएको बताएका छन् ।

त्रिभुवन विमानस्थलबाट विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ

काठमाडौँ । अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको विदेशी मुद्रासहित अमेरिकी नागरिक ४६ वर्षीया नि यानलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

बाटिक एयरको उडानद्वारा काठमाडौँबाट मलेसिया जान लागेकी उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड ब्यागेज एरियामा पक्राउ गरिएको हो  । 

जाँचका क्रममा उनको झोलाबाट १२ हजार ७४८ अमेरिकी डलर, २४९ सिङ्गापुर डलर, १२ हजार इन्डोनेसियन रूपिया, १०० मलेसियन रिङ्गिट, विभिन्न कम्पनीका मोबाइल १९ थान, सिम कार्ड २८ थान र मेमोरी कार्ड १२२ थान फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको छ ।

युरोपले नाटोमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बेलायतका प्रधानमन्त्री स्टार्मरको भनाइ

लण्डन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि सङ्गठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन् ।

सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको अपेक्षित भेलाको पूर्वसन्ध्यामा उनले यस्तो टिप्पणी गरेका हुन् । यद्यपि, फ्रान्सले बैठकको पुष्टि गरेको छैन।

नाम नबताउने शर्तमा एक बेलायती अधिकारीले भने, “यदि यो बैठक अघि बढ्यो भने स्टार्मर बैठकमा सहभागी हुनेछन् ।”

एक वक्तव्यमा बेलायतका प्रधानमन्त्री स्टार्मरले भने, “यो हाम्रो राष्ट्रिय सुरक्षाको लागि एक पुस्तामा एक पटक गर्नुपर्ने कार्य हो । हामी आज विश्वको वास्तविकता र रूसबाट सामना गरिरहेको खतरासामु छौँ।

उनले भने, “युरोपले नाटोमा व्यापक भूमिका खेल्नुपर्छ यो स्पष्ट छ । हामीले युक्रेनको भविष्य सुरक्षित गर्न र रूसबाट सामना गर्ने खतराको सामना गर्न संयुक्त राज्य अमेरिकासँग मिलेर अघि बढ्नेछौँं।“

वासिङ्टनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग पनि भेट्ने अपेक्षा गरिएका स्टार्मरले बेलायतले अमेरिका र युरोपलाई एकसाथ राख्नका लागि काम गर्ने बताए ।

उनले भने, “हामी नाटो गठबन्धनमा कुनै पनि विभाजनलाई हामीले सामना गरिरहेका बाह्य शत्रुहरूबाट विचलित हुन दिन सक्दैनौँ।”

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले शुक्रबार युरोपले आफ्नो रक्षा खर्च बढाउनुपर्ने चेतावनी दिएपछि स्टार्मरको यो भनाइ आएको हो।

युक्रेनमा रुसको युद्ध अन्त्यका लागि कुनै पनि वार्ताको टेबुलमा आउन युरोपेली नेताहरू कोसिस गरिरहेका बेला पनि यी कदमहरू आएका हुन्।

ट्रम्पले यसै हप्तो चाँडै रूसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने सम्भावना छ र द्वन्द्व अन्त्यको लागि वार्ता सुरु गर्न सकिन्छ भनी दिएको टिप्पणीले यथास्थितिलाई तरङ्गीत पारेको थियो । यूरोपमा अमेरिकी सहयोगीहरू युक्रेनमा कुनै पनि सम्झौतामा उनीहरूको हितलाई किनारा लगाउने चिन्ताबाट गुज्रिरहेका छन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, नेटो प्रमुख मार्क रूट र अमेरिकी उपराष्ट्रपति जेडी भान्सलगायत वरिष्ठ युरोपेली अधिकारीहरू युरोप, युक्रेन र नाटोको भूमिकाका बिषयमा छलफलका लागि म्युनिखमा जुटेका छन् ।

रूटले पेरिसमा हुने प्रस्तावित बैठक ‘रक्षा खर्च र योजना’मा केन्द्रित हुने बताउँदै ‘जब युक्रेनबारे सम्झौता हुन्छ, युरोपले यसमा के योगदान गर्न सक्छ हामी पूर्ण स्पष्ट छौँ’ भनेका छन् ।

फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँको कार्यालयका प्रवक्ताले एएफपीलाई ‘सम्भावित अनौपचारिक बैठक’बारे छलफल भइरहेको बताएका छन् ।

भारतमा रेलवे स्टेसनमा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १८ पुग्यो

नयाँदिल्ली ।  भारतको राजधानी नयाँ दिल्लीस्थित एक रेलवे स्टेसनमा शनिबार राति भएको भागदौडका क्रममा परी मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

विश्वको सबैभन्दा ठूलो धार्मिक जमघट महाकुम्भ मेलामा जान रेल चढ्न भेला भएका धार्मिक पर्यटकबीच रेल चढ्ने क्रममा भागदौड भएको हो । उत्तरी शहर प्रयागराजमा हुने कुम्भ मेलाले प्रत्येक १२ वर्षमा दशौँ लाख हिन्दू धर्मावलम्बीहरूलाई आकर्षित गर्दछ ।

फेब्रुअरी २६ मा समाप्त हुने उक्त कार्यक्रमका लागि रेल चढ्नका लागि भीडले सङ्घर्ष गरिरहेका बेला नयाँ दिल्लीको रेल स्टेसनमा भागदौड भएको हो ।

“अस्पतालमा १५ जनाको मृत्यु भएको म पुष्टि गर्न सक्छु। तिनीहरूलाई कुनै पनि देखिने चोट छैन । हाइपोक्सिया वा कुनै चोटका कारण मृत्यु भएको हुन सक्छ तर शव परीक्षणपछि मात्र यसको पुष्टि हुनेछ,” नयाँ दिल्लीस्थित लोकनायक अस्पतालकी डेपुटी मेडिकल सुपरिटेन्डेन्ट डा. रितु सक्सेनाले एएफपीसँग बताए ।

’घटनामा अन्य ११ जना घाइते भएका छन्। तीमध्ये अधिकांशको अवस्था स्थिर छ र हाडजोर्नीमा चोट लागेको छ,” उनले भने ।

शहरको अर्को अस्पतालका एक अधिकारीलाई उद्धृत गर्दै एनडीटिभीले भागदौडमा परी थप तीन जनाको मृत्यु भएको जनाएको छ । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

“म सन् १९८१ देखि कुल्लीको काम गर्दै आएको छु, तर मैले यसअघि यस्तो भीड कहिल्यै देखेको थिइनँ,” रेलवे स्टेसनका एक पोर्टरलाई उदृत गर्दै ‘टाइम्स अफ इन्डिया’ले लेखेको छ ।

प्रयागराजका लागि छुटेको विशेष रेलको प्लेटफर्म एकाएक सारिएपछि मानिसहरु आपसमा ठोक्किन थाले र एस्केलेटर र सिँढीमा खसेका थिए।

रेलमन्त्री अश्विनी वैष्णवले दुर्घटनाको कारणबारे उच्चस्तरीय छानबिनको आदेश दिइएको बताए । वैष्णवका अनुसार भक्तजनको भीड हटाउन नयाँ दिल्लीबाट थप विशेष रेल सञ्चालन भइरहेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भागदौडबाट आफू मर्माहत भएको बताए ।

“शोकको यस घडीमा म आफ्ना प्रियजनहरू गुमाएका व्यक्तिहरूप्रति समवेदना व्यक्त गर्छु । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,” उनले लेखेका छन् ।

राजधानी क्षेत्र दिल्लीका गभर्नर विनयकुमार सक्सेनाले विपद् व्यवस्थापनका कर्मचारीलाई तैनाथ गर्न भनिएको र सबै अस्पतालहरू सम्बन्धित आपतकालीन अवस्थालाई सम्बोधन गर्न तयार रहेको बताए ।

छ हप्तासम्म चल्ने महाकुम्भ मेला हिन्दू धार्मिक क्यालेन्डरको सबैभन्दा महत्त्वपूर्णमध्येको पर्व हो । अधिकारीहरूले गत महिना देखि नै करिब ५० करोड भक्तजनले यस पर्वको अवलोकन गरिसकेको बताएका छन् ।

निजामती विधेयकलाई पहिलो प्राथमिकता दिएर अगाडि बढाइने

काठमाडौँ । सत्तारुढ दलका संसदीय दलका प्रमुख सचेतकहरूको बैठकले संसद्मा विचाराधीन विधेयकलाई दुवै सदनबाट अघि बढाउन पहल लिने निर्णय गरेको छ । 

सिंहदरबरस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) का मुख्य सचेतक महेशकुमार बर्तौलाको कार्यकक्षमा आइतबार सत्ता साझेदार दलका प्रमुख सचेतकको बैठकले ‘विद्यालय शिक्षासम्बन्धी कानुलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ र ‘सङ्घीय निजामति गठन, सञ्चालन र सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ लाई पहिलो प्राथमिकता दिएर अगाडि बढाउन पहल गर्ने निर्णय गरेको हो । 

मुख्य सचेतक बर्तौलाले भने ‘हामी छ वटै अध्यादेश संसदमा प्रस्तुत गर्ने पक्षमा छौँ, अध्यादेश निर्णयार्थ प्रस्तुत हुँदा सहज ढङ्गले पारित हुन्छ, पारित अध्यादेशको आधारमा प्रतिस्थापन विधेयक ल्याउँछौँ, अध्यादेशमा केही कुरा मिलेको छैन भने प्रतिस्थापन विधेयकमार्फत मिलाउने काम हुन्छ ।’

संसदमा विचाराधीन रहेका कतिपय विधेयकलाई अगाडि बढाउने र संसद्मा टेबुल भएका अध्यादेशलाई अगाडि बढाउनेबारे छलफल भएको जानकारी उनले दिए । 

हालै सरकारले ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ पेस गरेको छ ।

मालीमा सुन खानी दुर्घटनामा कम्तीमा ४८ जनाको मृत्यु

बामाको । पश्चिमी मालीमा गैरकानूनी रूपमा सञ्चालित सुन खानी भत्किँदा कम्तीमा ४८ जनाको मृत्यु भएको अधिकारीहरू र स्थानीय स्रोतहरूले बताएका छन् ।

माली अफ्रिकाको प्रमुख सुन उत्पादक देशहरू मध्ये एक हो र उत्खनन स्थलहरूमा प्रायः घातक पहिरो र दुर्घटनाहरू हुने गर्दछन् । विश्वका सबैभन्दा गरीब देशहरू मध्येको एक यस देशमा बहुमूल्य धातुको अनियमित खनन नियन्त्रण गर्न अधिकारीहरूले सङ्घर्ष गरिरहेका छन् ।

“आज १८ः०० (स्थानीय समय) बजेसम्म भत्किएर मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ”, एक प्रहरी स्रोतले भन्यो, “केही पीडित पानीमा खसे । तिनीहरू मध्ये एक महिला पनि थिइन् जसको पिठ्युँमा बच्चा थियो ।”

एक स्थानीय अधिकारीले खानी भत्किएको पुष्टि गरे भने केनिएबा गोल्ड माइनर्स एसोसिएसनले पनि मृत्यु सङ्ख्या ४८ रहेको जनाएको छ । पीडितहरूको खोजी जारी रहेको वातावरणीय सङ्गठनका प्रमुखले बताए ।

स्रोतहरूका अनुसार शनिबारको दुर्घटना एक चिनियाँ कम्पनीले पहिले सञ्चालन गरेको परित्यक्त स्थलमा भएको थियो । जनवरीमा दक्षिणी मालीको एक सुन खानीमा पहिरो जाँदा कम्तीमा १० जनाको मृत्यु भएको थियो र धेरैजना बेपत्ता भएका थिए । तीमध्ये धेरैजसो महिला थिए ।

ठीक एक वर्षअघि शनिबारको पहिरो गएकै क्षेत्रमा रहेको एक सुन खानी स्थलमा सुरुङ भत्किँदा ७० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

चितवनको गाजर र चुकन्दर जर्मन निर्यात

चितवन । भरतपुर महानगरपालिका–१५ श्रीपुरमा उत्पादित गाजर र चुकन्दर जर्मन निर्यात हुन थालेको छ । १२ बिघामा लगाइएको १०० टन चुकन्दर र १५० टन गाजर जर्मन निर्यात हुन थालेको हो ।

जिल्ला प्राङ्गारिक सङ्घ चितवनका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार २ वर्षदेखि यहाँ उत्पादित गाजर र चुकन्दर ‘द अग्र्यानिक भ्याली’ संस्थाले विदेश पठाउन थालेको हो ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गरी कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले अन्तरराष्ट्रियस्तरबाट प्रमाणीकरण गरी कृषि उपज निर्यात गर्न थालिएको उनले बताए । उनका अनुसार यस वर्ष यही फागुन १५ गतेदेखि ती उत्पादन पठाउने तयारी गरिएको छ ।

यहाँको २० बिघा अग्र्यानिक क्षेत्रका रूपमा मान्यता पाएको बताउँदै उनले भने, “१२ बिघामध्ये ६० प्रतिशत क्षेत्रफलमा गाजर र ४० प्रतिशतमा चुकन्दर लगाइएको छ । यहाँको उत्पादनलाई विदेशी उपभोक्ताले विश्वास गरेपछि निर्यात शुरु गरिएको हो ।”

जर्मन जाने गाजरको प्रतिकिलो २० र चुकन्दर प्रतिकिलो ५० मा तोकिएको सङ्घका सदस्य छविलाल न्यौपानेले जानकारी दिए । सङ्घमा आबद्ध १५ जना किसानले लगाएको गाजर र चुकन्दर जर्मन निर्यात हुने गरेको उनले बताए ।

उनले भने, “अग्र्यानिक खेती हुने क्षेत्रमा गाजर र चुकन्दर बाहेक गहुँ, मुसुरो, जौ, घाँस, आलुका साथै अन्य सागसब्जी उत्पादन गरिँदै आइएको छ ।” यहाँ उत्पादित कृषिउपज जर्मनसँगै चितवन, पोखरा, काठमाडौं लगायत अन्य जिल्लामा बिक्री हुँदै आएको छ ।

गाजर र चुकन्दर नेपालको ‘अग्र्यानिक भेन्चर’ नामक संस्थाले खरिद गरी आन्तरिक बजारमा बिक्री गर्दै आएको न्यौपानेले जानकारी दिए ।

प्राङ्गारिक सङ्घलाई कृषि विकास कार्यालय चितवनले शुरुआती समयमा आर्थिक सहयोग गरेकामा पछिल्लो समय प्राविधिक सहयोग मात्रै गर्दै आएको उनले बताए । पहिला ‘प्याकेजिङ’, ‘ग्रेडिङ’ र बजारीकरणमा सहयोग गर्दै आएको थियो ।

झापामा ६१६ नयाँ क्षयरोगी फेला

झापा। झापामा क्षयरोगका ६१६ जना नयाँ बिरामी फेला परेका छन् । जिल्लामा २७ बालबालिकासहित नयाँ क्षयरोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोतव्यक्ति वीरेन्द्र दासले जानकारी दिए । त्यसमा ३७९ पुरुष र २१९ महिला छन् ।

चालु आर्थिक वर्ष छ महिनाको अवधिमा खकारमा कीटाणु देखिएका ३७४, छातीको एक्स–रेबाट पत्ता लागेका ८९ र फोक्सोमा बाहेक अन्य अङ्गमा क्षयरोग देखिएका १५१ नयाँ बिरामी फेला परेको उनले बताए । क्षयरोग पुनः दोहोरिएका ४४ बिरामीसमेत फेला परेको उनले बताए ।

आर्थिक वर्ष २०७९/८० मा एक हजार ४५ र आव २०८०/८१ मा एक हजार २६० नयाँ क्षयरोगका बिरामी फेला परेको जानकारी दिँदै उनले पछिल्लो समय झापामा क्षयरोगीको सङ्ख्या बढ्दै गएको बताए ।

“समुदायस्तरमा गएर बिरामीको खोजी गर्ने हो भने रोगीको सङ्ख्या अझै बढ्छ”, उनले भने, “सरुवा रोग भएकाले विशेष खोजपड्ताल अभियान चलाउनु जरुरी छ ।” नयाँ फेला परेका सबै बिरामीले नियमित औषधि सेवन गरिरहेको उनले बताए ।

जिल्लामा फेला नयाँ क्षयरोगी २५ वर्षदेखि ५५ वर्ष उमेर समूहका धेरै छन् । झापाको दमक र मेचीनगरको धुलाबारीमा क्षयरोगीको सङ्ख्या धेरै रहेको स्रोतव्यक्ति दास बताउँछन् । जिल्लाका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध हुने क्षयरोगको औषधि बिरामीले छ महिनासम्म सेवन गर्नुपर्छ । औषधि सेवनको अवधि पूरा गर्ने विपन्न वर्गका बिरामीलाई मासिक ५०० प्रोत्साहन रकम दिने गरिएको छ ।

सङ्घीय कार्यक्रमअन्तर्गत झापाका तीन पालिका शिवसताक्षी, बिर्तामोड र मेचीनगर नगरपालिकामा क्षयरोगमुक्त अभियानसमेत सञ्चालित छ । सन् २०५० सम्ममा क्षयरोगमुक्त नेपाल घोषणा गर्ने सरकारी लक्ष्य छ ।

क्षयरोग के हो ?

श्वासप्रश्वासको माध्यमबाट सर्ने सरुवा रोग क्षयरोग ‘माइक्रो ब्याक्टेरियम ट्युबरक्लोसिस’ नामक जीवाणुको सङ्क्रमणका कारण हुने गर्दछ । क्षयरोग भएका बिरामीले खोक्दा, हाच्छिउँ गर्दा कीटाणु निरोगी मानिसको सम्पर्कमा आएमा रोग सर्ने जोखिम हुन्छ । क्षयरोगबाट ७२ प्रतिशत फोक्सोलाई सङ्क्रमण गर्छ । यस्तै मुटुको बाहिरी झिल्ली, मासु, जोर्नी, मस्तिष्कमा पनि क्षयरोगले असर गर्दछ ।

कुपोषण भएका, धुमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादकपदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिम पर्ने गर्दछन् । तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् ।

सिरहाको कुसहा–मौवहा–बेल्ही सडक जीर्ण

सिरहा। राष्ट्रिय ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत बनेको कुसहा-मौवहा-बेल्हीसडक जीर्ण हुँदा यात्रु र स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।

कलोपत्र उप्किएर सडक माटो र बालुवामा परिणत भएको सुरुङ्गा नगरपालिका–१० का रोशनकुमार साहको भनाइ छ ।

विसं २०७६ मा बनेको सडकको स्तरोन्नतिका लागि सम्बन्धित निकायले चासो नराख्दा खाल्डाखुल्डी परेर जीर्ण भई सडकमा बालुवा उड्न थालेको छ । त्यसले गर्दा सडक छेउका घर धुलाम्मे देख्न थालेको छ । स्थानीयको स्वास्थ्यमा प्रतिकूल असर हुन थालेको बलानबिहुल गाउँपालिका–१ का स्थानीय रासिन्द्र यादवले बताए ।

बलानबिहुलका अध्यक्ष खेमचन्द्र यादवले चाँडै सम्बन्धित निकायले पुनः सडक कालोपत्र गर्ने वातावरण नमिलाए आन्दोलनमा जान बाध्य हुने बताए । उनले गाउँपालिकाले सो सडक पुनःनिर्माणका लागि सङ्घदेखि प्रदेश सरकारलाई ध्यानाकर्षण गराएको जानकारी दिए । जिल्ला प्राविधिक कार्यालय राजविराज सप्तरीले पप्पु मृत सञ्जीवनी जेभी काठमाडौँलाई रु ११ करोड एक लाख ७९ हजार ५५२ मा ठेक्का दिएको थियो ।

सप्तरीको सुरुङ्गा नगरपालिकाको कुशहा बजारदेखि भारतीय सीमावर्ती क्षेत्रमा पर्ने बलानबिहुल–४ बेल्हीसम्म करिब साढे १६ किलोमिटरसम्मको उक्त सडक योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपण गर्ने भनिए पनि त्यसमा पनि चरम लापरबाही भएको थियो ।

सडको छेउछाउ लामो सयदेखि सफाइ नहुँदा बनमारा झाडी उम्रेर सडक कुरुप देखिन थालेको स्थानीय लक्ष्मीकान्त पासवानको भनाइ छ । स्थानीयका अनुसार सो सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिएको थियो । ठेकेदार कम्पनीले ‘ग्राभेल’को काम सकेर बाँकी काम अलपत्र छाडेको राजाराम यादवको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले विसं २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालयसँग सो सडकको सम्पूर्ण विवरण माग गरी छानबिन थालेपछि ठेकेदार कम्पनीले सडकको काम तीव्र रूपमा अघि बढाएर कालोपत्र गरेको थियो ।

सडक निर्माण कम्पनीको सडकको काम सन्तोषजनक नरहेको भन्दै स्थानीयले तत्कालीन समयमा असन्तुष्टि जनाए पनि जिल्ला पूर्वाधार विकास कार्यालय सिरहाले ध्यान नदिँदा चाँडै सडक जीर्ण भएको स्थानीयको आरोप छ ।

लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारको जीवनरेखाः राष्ट्रपति पौडेल

काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्र नै न्यायपूर्ण समाजको आधारशीला र मौलिक अधिकारहरू यसको जीवनरेखा भएको बताएका छन् ।

आइतबार  पाँचौं ‘ल एशिया’ तथा अन्तर्राष्ट्रिय मानव अधिकार सम्मेलनमा उनले यी अधिकारहरूले प्रत्येक व्यक्तिलाई मर्यादा, स्वतन्त्रता र समानताका साथ बाँच्ने अधिकार सुनिश्चित गर्ने बताए ।

नेपालमा, लोकतन्त्रप्रतिको जनताको लामो समयदेखिको समर्पण र उत्सर्गले  हामीलाई त्यस्तो समाज निर्माणका लागि हरेक दृष्टिबाट प्रेरित गरेको राष्ट्रपति पौडेलको भनाइ थियो । 

उनले नेपालले लोकतन्त्र प्राप्तिका लागि लामो र कठिन यात्रा तय गरेको उल्लेख गरे । राष्ट्रपति पौडेलले लोकतन्त्रको सङ्र्घषमा धेरै साहसी व्यक्तिहरूले अथक सङ्घर्ष गरेको बताउँदै यो सङ्घर्ष नेपालमा लोकतन्त्रको स्थापना पुनस्र्थापना हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न महत्वपूर्ण रहेको उल्लेख गरे । 

राष्ट्रपति पौडेलले भने, “यी प्रयासमार्फत नै हामीले मानव अधिकारको सम्मान गर्ने समाज निर्माण गर्न सक्षम भएका छौं । यसमा नेपालका कानुन व्यवसायीहरूको योगदान अविस्मरणीय छ । जहाँसुकै र जो कोही होस् कानुन व्यवसायीहरू विधिको शासनको पहरेदार हुन् र लोकतन्त्रको रक्षक हुन् भन्ने पनि मेरो ठम्याइ छ ।” 

उनले कुनै पनि किसिमको यातनारहित स्वतन्त्रतापूर्वक बाँच्न पाउने हक, दासतामुक्त जीवन, रङ्गभेद, लिङ्गभेद, विचार तथा अभिव्यक्तिको स्वतत्रता, अनिवार्य रोजगारी र स्तरीय शिक्षा तथा स्वास्थ्य मानवलाई नभई नहुने अधिकार भएको बताए ।

उनले भने, “लोकतन्त्रमा नागरिकका यी अधिकार राज्यबाट प्रत्याभूत भए, नभएको अनुगमन गर्ने र नभएको भए त्यसमा आवाज उठाउने व्यवसायिक धर्म पनि कानुन व्यवसायीको हो भन्ने मेरो बुझाइ छ ।”

राष्ट्रपति पौडेलले लोकतन्त्रप्रति नेपालको प्रतिबद्धताले आफूहरूलाई विश्वव्यापी रूपमा मानव अधिकार र न्यायको वकालत गर्दै अन्तर्राष्ट्रिय मञ्चमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्षम बनाएको बताए । 

राष्ट्रपति पौडेलले हिमालयको मुटुमा अवस्थित नेपाल प्राकृतिक सौन्दर्य र स्रोतसाधनले भरिपूर्ण देश नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारण हाम्रा समुदायहरूमा गहिरो प्रभाव पर्न थालेको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण नेपालमा  प्राकृतिक प्रकोप, जैविक विविधताको क्षति र कृषिमा आधारित जीविकोपार्जनमा समेत खतराहरू बढ्दै गएको बताए । 

उनले भने, “विकसित देशहरूको कार्यबाट उत्पन्न वातावरणीय ह्रासको परिणाम नेपालले भोगेको छ । हामी यी वातावरणीय प्रकोपका निर्दाेष पीडित हौँ । यी अन्यायहरूलाई सम्बोधन गर्न र दिगो र समतामूलक भविष्यतर्फ काम गर्न हामीले ल एशिया र अन्तरराष्ट्रिय समुदायबाट समेत जलवायु न्यायका लागि एउटा सशक्त अभियानको अपेक्षा गरेका छौँ ।”

अस्पताल पुगेर राष्ट्रपति पौडेलले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यबारे जानकारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

आइतबार कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगेर राष्ट्रपति पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् । बर्न अस्पतालको सघन उपचारकक्षमा अर्थमन्त्री पौडेल र मेयर आचार्य उपचाररत छन् ।

शनिबार पोखरामा ‘पोखरा भ्रमण वर्ष, २०२५’ घोषणा कार्यक्रममा बेलुन पड्कँदा उनीहरू घाइते भएका हुन् ।

तोलामा दुई हजार सात सयले घट्यो सुनको मूल्य

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आइतबार सुन प्रतितोला दुई हजार ७०० रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।

गत शुक्रबार प्रतितोला सुन एक लाख ७० हजार २०० मा कारोबार भएकामा आइतबार सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आइतबारका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ५५ रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

हुलाकी सडक निर्माणमा एमाले अध्यक्षको योगदानलाई मधेसी जनताले महसुस गरेका छन्ः महासचिव पोखरेल

शंकर पोखरेल ।
हुलाकी सडक तराईका सदरमुकामहरुलाई आधार बनाएर निर्माण गरिएको सूचनासंचारको परम्परागत मार्ग हो । त्यतिबेला हुलाक नै सूचना र संचारको सबैभन्दा प्रभावकारी माध्यम थियो । त्यही परम्परागत हुलाकी मार्ग पछि गएर कच्ची सड़क संजालका रुपमा विकास भयो । उक्त हुलाकी सडकलाई मधेसी जनताको लाईफ लाईन मानिन्थ्यो । विकासको क्रममा धेरैतिर पक्की सड़कहरु बने । तर तराइ मधेसमा जनताको सघन वसोवास भएर गुज्रने हुलाकी सडक बन्न सकेन ।

मधेसी जनताको गुनासो रहने नै भो । खर्च धेरै लाग्ने भएर माधव नेपाल प्रधानमन्त्री हुँदा त्यसको निर्माणको जिम्मा भारत सरकारलाई लगाइयो । तर पनि लामो समयसम्म उक्त सडक बन्न सकेन । हुलाकी सडकका नाममा भारतीय सहयोगमा राजनीतिक स्वार्थ आधारित उत्तर दक्षिणका स्थानीय सडक बने । त्यसमा पनि स्थानीय जनताको गुनासो हुने नै भयो ।

संविधानसभावाट नयाँ संविधान जारी भएपछि मधेसमा त्यसका विरुद्धमा आन्दोलन भयो । नाकाबन्दीको समेत नेपालले सामना गर्नुपर्यो । त्यस कुरालाई नेकपा(एमाले) नेतृत्वले गम्भीरतापूर्वक लियो । केपी शर्मा ओली प्रधानमन्त्री भएपछि हुलाकी सडक लगायत मधेसको असन्तुष्टि सम्बोधनमा अग्रसरता लिनु भो । भारत सरकारबाट प्राप्तहुने अनुदानको निरन्तरता रहनेगरी नेपाल सरकारले आफैंले सडक बनाउने संकल्प गर्नुभो । भारत सरकारलाई सहमत गराउनुभयो । आज मधेसको लाईफलाईको रुपमा विकास हुँदै गरेको हुलाकी सडक निर्माणमा नेकपा(एमाले)का अध्यक्षको महत्वपूर्ण योगदानलाई मधेसी जनताले महसुस गरेका छन् ।

हिजो एमाले र एमाले अध्यक्षलाई निषेध गर्छौं भनिएको मधेस प्रदेशमा आज नेकपा(एमाले) सबैभन्दा ठूलो दल बनेको छ । हुलाकी सडक यतिबेला नेपालको सडक संजालको महत्वपूर्ण हिस्सा बनेको छ ।

शानदार मःम पसलमा आगलागी प्रकरणः मृतकको संख्या चार पुग्यो

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित शान्दार मःम पसलमा भएको ग्यास विस्फोटका थप एक घाइतेको मृत्यु भएको छ ।

काभ्रे बेथानचोक गाउँपालिका धुनखर्कका २५ वर्षीय छिरिङ लामाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । उनको उपचारका क्रममा मृत्यु गएराति मृत्यु भएको हो । लामासहित मृत्यु हुनेको संख्या चार पुगेको छ ।

ग्यास सिलिण्डर विष्फोटमा परी ११ जना घाइते भएका थिए । अन्य घाइतेको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । अभियन्ता उज्वल विक्रम थापाले घाइते साता जनाको अवस्था अझै गम्भीर रहेको जानकारी दिएका छन् ।

नयाँदिल्लीस्थित रेल स्टेशनमा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

बीबीसी । भारतको राजधानी दिल्लीस्थित नई दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रक्षामन्त्री राजनाथ सिंहले दुर्घटनामा परी मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

रेलमन्त्री अश्विनी वैष्णवले रेलवे स्टेशनमा भागदौड भएको पुष्टि गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै रेलमन्त्री अश्विनी वैष्णवले रेलवे स्टेशनमा भएको भागदौडले आफूलाई स्तब्ध पारेको उल्लेख गरेका छन् । उनले ज्यान गुमाउनेका परिवारलाई समवेदना दिँदै उद्धार टोलीले दुर्घटनामा परेकाहरूलाई मद्दत गरिरहेको बताएका छन् ।

एकजना प्रहरी अधिकारी केपीएस मलहोत्रका अनुसार १० देखि १५ मिनेटसम्म अत्यधिक भिड भएकाले अवस्था नियन्त्रणबाहिर गएको थियो । प्रयागराजमा चलिरहेको कुम्भमेलामा भएको भागदौडमा दर्जनौँ मानिसको ज्यान गएको केही सातापछि दिल्लीको यो घटना भएको हो ।

प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद संविधान संशोधनको मिलनविन्दु हुनसक्छ: उपमहासचिव पुन(अन्तरवार्ता)

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् नै संविधान संशोधनको मिलनविन्दु हुनसक्ने बताएका छन् । उनले शासकीय स्वरुप र निर्वाचन प्रणालीको परिवर्तनसँगै एकसाथ राजनीतिक स्थिरता र समावेशितामा फड्को मार्न सकिने विश्वास व्यक्त गरे । 

विसं २०५३ का नेकपा (माओवादी) रोल्पा र प्यूठानको सचिव, २०५५ सालमा माओवादीको केन्द्रीय सदस्य, २०५९ मा पोलिटब्युरो सदस्य, २०६३ मा सचिवालय सदस्य हुँदै हाल पार्टीको उपमहासचिव रहनुभएका नेता पुनले शान्ति तथा पुननिर्माण, अर्थ र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । नेता पुनसँग ‘सांसदसँग रासस संवाद’ का लागि राससका सम्पादक हरि लामिछाने र समाचारदाता अशोक घिमिरेले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

–मुलुक अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा छ । तैपनि देश र जनताको अवस्थामा सोचेजति सुधार हुन सकिरहेको छैन । मुलुकको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका यहाँले पछिल्लो राजनीतिक अवस्थालाई कसरी मूल्याङ्कन गरिरहनुभएको छ ?


नेपालको राजनीति अहिले अलि फरक कोर्सबाट अघि बढिरहेको छ । वैकल्पिक शक्ति र धारका कुरा पनि आएका छन् । लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय, धर्मनिरपेक्षता, सङ्घीयता नेपालको हकमा सान्दर्भिक र सही मुद्दा हुन् । तथापी, यस संवैधानिक व्यवस्थालाई अझ परिमार्जित र फराकिलो बनाएर लैजानुपर्छ । त्यसो गर्न सकिएन भने राम्रो हुँदाहुँदै पनि व्यवस्था नटिक्न सक्छ । हामीले यस व्यवस्थालाई समाजवादी कार्यक्रमसँग जोडेर अगाडि लैजानुपर्छ । यसमा केही राजनीतिक पार्टी यथास्थितिमा रहने तथा माओवादी केन्द्र यसलाई ‘सर्भिसिङ’ गरेर अगाडि जाने भन्ने मुख्य दृष्टिकोण भेटिन्छ । अरु बैकल्पिक भन्ने राजनीतिक शक्तिहरुमा पनि भनाइमा नयाँ तर सोच र चिन्तन पुरानै देखिएका छन् । नेपालको राजनीति अहिलेको व्यवस्थालाई परिमार्जन गर्ने वा यथास्थितिमै रहने भन्ने बीचमा एकखालको ध्रुवीकरण भएको छ । सडक र सदन तथा जनताको आवाजमा पनि त्यही देखिएका छन् । 


–यहाँले व्यवस्थाको ‘सर्भिसिङ’ को खाँचो औँल्याइरहँदा अहिले संविधान संशोधनको चर्चा भइरहेको छ । अहिलेको आवश्यकता संविधानको समीक्षा हो कि संशोधन ?

संविधान संशोधन गरेरै जानुपर्छ । एउटा दृष्टिकोण अहिले प्राप्त उपलब्धिबाट पछाडि फर्कने भन्नेजस्तो छ । अर्को, अहिलेको सत्ता गठबन्धन सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्याय, समानुपातिक समावेशीजस्ता आधारभूत विषयबाट पछि हट्न खोजेको हो कि भन्ने आशंका हामीलाई भइरहेको छ । माओवादी केन्द्र भने यसलाई अगाडि बढेर संशोधन गर्नुपर्छ भन्नेमा छ । समावेशितामा अझ परिमार्जन गरौँ । सङ्घीयता पर्याप्त छैन, यसलाई थप अधिकार सम्पन्न बनाऔँ । सामाजिक न्याय जुन वर्ग, समुदाय र क्षेत्रमा पुग्नुपर्ने हो त्यता पुग्न सकिरहेको छैन । भ्रष्टाचार, अनियमितता, राज्य दोहनजस्ता कुरा मौलाएका छन्, यसलाई नियन्त्रण गर्नुपर्छ । सुशासन पहिलो सर्त हुनुपर्छ । समृद्धि सबै वर्ग, समुदाय र क्षेत्रका लागि हुनुपर्छ । सामाजिक न्यायसहितको समृद्धि मूल मुद्दा हुनुुपर्छ । आर्थिक समृद्धि लक्ष्य हो, त्यसमा पुग्नका लागि सुशासन आवश्यक छ । यी तीन विषयलाई सँगसँगै लगेर राज्यको पुनर्ताजगी गर्न संविधान संशोधन गर्नुपर्छ । संविधान जारी भएको १० वर्ष पुग्नै लागेको छ । संविधान कार्यान्वयनमा देखिएका जटिलतालाई फुकाएर जनताको आकाङ्क्षालाई शान्तिपूर्ण रुपले सम्बोधन गर्नुपर्छ । फेरि विद्रोह, क्रान्ति र अशान्तिबाट होइन कि जनमतबाटै । जनमतले के भन्छ, अहिलेको व्यवस्था परिमार्जन गर्नुपर्छ भन्ने आवाज आए, त्यो जनमतअनुसार अगाडि बढेर संशोधन गर्नुपर्छ । 


– राजनीतिक दलहरुबीचको सहमतिको दस्तावेजका रुपमा संविधानसभाबाट संविधान जारी भएको हो । संविधान संशोधनको मिलनविन्दु कहाँनेर खोज्न सकिन्छ ?


अहिले राजनीतिक अस्थिरता र सङ्क्रमण बढी भयो भन्ने छ । त्यही भएर हामीले विगतमा प्रत्यक्ष निर्वाचित कार्यकारी शासकीय स्वरुप हुनुपर्छ भन्यौँ । त्यो एउटा मिलनविन्दु हुनसक्छ । जसबाट सरकार पाँच वर्ष एउटा जनमतअनुसार चल्छ । अहिले समावेशिताले सरकार गठन र राजनीतिक स्थिरतामा समस्या पैदा ग¥यो भनिएको छ, संसद्लाई पूर्ण समानुपातिक गर्न सकिन्छ । यसो गर्दा नीति निर्माण तहमा सबै वर्ग, समुदाय र राजनीतिक दलहरुको सहभागिता हुनसक्छ । कोही पनि बहिष्करणमा पर्दैन । तर कार्यकारी भूमिकामा जो लोकप्रिय छ, उसले सरकार सञ्चालन गर्छ । यसबाट एकैसाथ राजनीतिक स्थिरता र समावेशिता हुन्छ । प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसद् संविधान संशोधनको मिलनविन्दु हुनसक्छ । 


– अहिले संसद्को हिउँदे अधिवेशन चलिरहेको छ । अझै पनि सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित निजामती, प्रहरी समायोजनलगायत महत्वपूर्ण कानुन बन्न सकेका छैनन् । यसबाट थुप्रै प्रश्न उब्जिएका छन् । यस्ता कानुन निर्माण गर्न माओवादीले कस्तो भूमिका खेल्छ ?


सङ्घीयतालाई बलियो बनाउन अहिले त्यति रुची देखिँदैन । स्थानीय तहले पाएको सबै अधिकार प्रयोग गर्न नसक्ने र प्रदेशसँग अधिकार नै नभएको जस्तो भएको छ । हामीले स्थानीय सरकारको अधिकार कटौती भनेको होइनौँ, प्रदेश र स्थानीयको साझा अधिकार कार्यान्वयनमा प्रदेशको भूमिका बढ्ने गरी कानुन बनाउनुपर्छ । त्यसो हुँदा मात्रै प्रदेशले काम गर्न सक्छ । प्रदेशहरु क्रियाशील भइसकेपछि मात्रै सीमाहरु देखिन्छन् । अहिले त संविधानले भनेका कुराहरु पनि व्यवस्था गर्न सकेका छैनौँ । प्रदेश निजामती, प्रहरी र अन्य व्यवस्थाको अभ्यास नै हुन सकेका छैनन् । अर्कोतर्फ सङ्घ, प्रदेश र स्थानीय तहका साझा अधिकारका सूची छन् । धेरै अधिकार केन्द्रमा केन्द्रित होइन कि खासमा विकाससम्बन्धी काम प्रदेश सरकारले गर्ने हो । यसले विकासमा क्षेत्रीय सन्तुलन कायम गर्छ । यसले जनतको सहभागिता पनि बढाउँछ । सेवाप्रवाहको काम स्थानीय तहमार्फत गर्नुपर्छ । विकास निर्माण र पूर्वाधार प्रदेशबाट, नीति निर्देशन, मापदण्ड र रणनीतिक महत्वका रुपान्तरणकारी आयोजना सङ्घबाट सञ्चालन गर्नुपर्छ । अहिले सङ्घले प्रदेश र स्थानीयको काम पनि गरिरहेको छ । त्यसो नगरेर एक पटक सङ्घीयताको पूर्ण अभ्यास गर्यो भने हाम्रा अनुभवले राम्रै देखाएका छन् । तर यसमा अधिकार पूरै नदिने, पूर्णरुपमा कार्यान्वयनमा नलैजाने र सङ्घीयतालाई दोष दिने जस्तो देखिएको छ । यो प्रवृत्ति राम्रो होइन । संविधान अनुसारका कानुन बनाउँदा, जनताको अपेक्षा अनुसारको समसामयिक परिमार्जन गर्न हामी संसद्मा अल्पमत, बहुमत र पक्षविपक्ष भन्दा पनि सहयोग गर्ने गर्छौँ । त्यो भन्दा नाघेर जान मिलेन । संविधान विपरीतको काम गर्न पाइँदैन । त्यसो हुन लाग्यो भने सदनमा सङ्घर्ष गर्छौँ र जनतालाई अधिकार खोसिन लाग्यो भन्छौँ । जनता आफ्नो अधिकारका लागि आफैँ लड्छन् । 


–तत्कालीन विद्रोही नेकपा (माओवादी) र राज्यपक्षबीच विस्तृत शान्ति सम्झौता भएको पनि यतिका वर्ष बिते । अझै शान्ति प्रक्रिया टुङ्गिन सकेको छैन । समस्या कहाँनेर छ ?


पछिल्लो समय सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित कानुन सर्वसम्मत रुपमा संशोधन भयो । यो अत्यन्त सकारात्मक छ । तर विगतमा पनि कानुन थियो, तर त्यो कानुन परिमार्जन गर्नु भन्ने न्यायालयको निर्देशनात्मक फैसला थियो । यसपटक सर्वसम्मत कानुन निर्माण भयो । ती कानुन बमोजिम गठन हुने आयोगका पदाधिकारीको छनौटका लागि सिफारिस गर्न अघिल्लो सरकारले एक समिति गठन गरेको थियो । त्योअनुसार सिफारिस हुनुपर्ने, सिफारिस पनि मोटोमोटी भयो, तर वर्तमान सरकरको अलि फरक खालको चासो जस्तो भयो र अन्ततः समितिले सिफारिस गर्न सकेन । आरोप नै चाहिँ होइन, तर वर्तमान सरकार यसलाई टुङ्ग्याउन त्यति इच्छुक होइन कि भन्ने लाग्छ । विगत सरकारले शान्ति प्रक्रियासम्बन्धी अलग्गै कोषको व्यवस्था पनि गरेको छ । अन्तर्राष्ट्रिय दातृ निकायले पनि सहयोग गर्छु भनेका छन् । पीडितले न्याय पाउने कुरा मुख्य हो । यसमा कसैले पनि अवरोध गर्नु हुँदैन । 


–यहाँले अर्थ मन्त्रालयको नेतृत्व गर्नुभयो । पछिल्लो आर्थिक सूचकलाई यहाँले कसरी नियाल्नुभएको छ ?


अर्थतन्त्र यतिबेलासम्म एउटा लयमा आइसक्नुपर्ने थियो । ट्रेन्डले त्यस्तो देखाउँछ । चार वर्षअघि वृद्धिदर ऋणात्मक थियो । अघिल्ला तीन वर्ष एक प्रतिशत थियो । गतवर्ष झन्डै चार प्रतिशत पुगेको हो । थोरै पनि मेहिनत गर्दा यसवर्ष छ प्रतिशतको वृद्धि हुन्छ । सुशासन प्रवर्द्धन, अनावश्यक खर्च कटौती, निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउँदा छ प्रतिशत आर्थिक वृद्धि हुन्छ भन्ने आधार छन् । त्यसैले मैले नै बजेटमा यसवर्ष छ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेषण गरेको थिएँ । तर अझै पनि सुधार देखिन्न । केही क्षेत्रमा मात्रै अर्थतन्त्र चलायमान छ । अर्थतन्त्र अझै पनि लयमा आउन सकेको छैन । समग्र अर्थतन्त्र गतिहीन अवस्थामा रहेजस्तो देखिन्छ । आशा जगाउन सकिन्छ । सरकारले फराकिलो दृष्टिकोण राख्न सके अर्थतन्त्रमा सुधार आउनेमा म विश्वस्त छु । 


–अर्थतन्त्रको बाह्य क्षेत्र राम्रो छ तर आन्तरिक क्षेत्रमा समस्या देखिए । लगानी बढ्न सकेको छैन । सरकारको खर्च अत्यन्त न्यून छ । अर्थतन्त्र साँच्चिकै कहाँनेर रुमलियो ?


अप्रिय सुनिन सक्छ– अर्थतन्त्र केही स्वार्थ समूहको घेरामा गएको देखिँदैछ । विगतमा विदेशी मुद्राको सञ्चिती कम भएपछि केही वस्तुको आयातमा प्रतिबन्ध लगाइयो । त्यसपछि ओरालो लागेको लाग्यै भयो । अर्थतन्त्रलाई छिटो पुनर्जीवित गर्नेतर्फ कामहरु भए । अहिले त्यो गति रोकिएको छ । निजी क्षेत्र रक्षात्मक अवस्थामा पुगेपछि सरकारले माग सिर्जना र खर्च बढाउन सक्नुपर्ने हो । पूँजीगत खर्च बढाउँदै खासखास क्षेत्र चलायमान बनाउनुपर्नेमा त्यसो हुन सकेन । लघुवित्त र सहकारी नै तल्लो तहमा अर्थतन्त्रलाई चलायमान बनाउने माध्यम थिए । त्यहाँ सङ्कट आयो । 


केही ठूला सहकारी र लघुवित्तमा समस्या आउँदा मुद्रा परिचालन नै अवरुद्ध भयो । सहकारी र लघुवित्तको पैसा बैंकमा गएर थुप्रियो । बजारमा लगानी नभएको पैसा पनि बैङ्कमा गयो । केही दिनअघिको तथ्याङ्क अनुसार रु १३ खर्ब बराबरको रकम बैंकमा सञ्चिती छ । अर्थतन्त्रको चक्र नै बिग्रेको छ । अब छिटोभन्दा छिटो लघुवित्त र सहकारीका समस्या समाधान गर्ने, नागरिकमा विश्वास जगाउने काम गर्नुपर्छ । अर्कोतर्फ जलविद्युत्, पर्यटन र सूचना प्रविधि क्षेत्र अर्थतन्त्रका नयाँ आधारस्तम्भ हुन् । सरकारले सहजीकरण गर्ने हो भने यी क्षेत्रले अर्थतन्त्रमा ठूलो योगदान गर्न सक्छन् । स्टार्टअपलाई प्रवद्र्धन गर्नुपर्छ । सरकारप्रति विश्वास हुनेबित्तिकै बाँकी काम जनता आफैँले गर्छन् । अहिले नागरिकमा उत्पन्न निराशाले समग्र अर्थतन्त्रमा असर परिरहेको छ । यसलाई सुल्झाउन सरकारले तत्परता देखाउनुको विकल्प छैन । 

बर्दियामा चितुवाको आक्रमणबाट साढे दुईवर्षका बालकको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको छ । शनिबार साँझ ७ बजे बर्दियाको मधुवन नगरपालिका–९ भाटचोकमा चितुवाको आक्रमणबाट साढे २ वर्षीय रिहान चलाउनेको मृत्यु भएको हो । प्रहरीकाअनुसार आगनमा खेलिरहेका बालकलाई चितुवाले टिपेर लगेको थियो ।

बाहिर छोरा नदेखेपछि रिहानका आमा रचनाले हार गुहार गरेकी थिइन् । प्रहरीसहितको टोलीले खोजी गर्दा राति सवा ९ बजे घरबाट झन्डै ५ सय मिटर पर बालकको शव भेटिएको थियो । रचना शनिबार मात्रै छोरालाई लिएर बर्दियास्थित सानीआमा जमुना कँडेलको घर गएकी थिइन् ।

प्रतिनिधिसभा बैठक बस्दै, बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको कार्यसूची छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम संसदमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिनेछन् ।

यस्तै, बैठकमा सभुमख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट कार्यभार थपसम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

यसैगरी, बैठकमा गृहमन्त्री रमेश लेखकले ’नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक,२०८१ माथि सामान्य छलफल गरियोस्,’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ’मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सामान्य छलफल गरियोस्,’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

सात दिन, सातै प्रदेश, सात म्याराथन सुरु

कास्की । नेपालमा उच्च पर्वतीय ट्रेनिङ सेन्टरको स्थापनामा सघाउने उद्देश्यले नेपाल रन युकेले ‘सेभेन सेभेन सेभेन नेपाल म्याराथन च्यालेञ्ज’ शनिबारदेखि सुरु गरेको छ । 

बेलायतमा हरेक वर्ष ‘नर्थल्ट १० के रन’ गर्दै आएको उक्त संस्थाले नेपालका सात प्रदेशमा सात दिनमा सात म्याराथन सम्पन्न गर्ने गरी सो कार्यक्रम सुरु गरेको हो ।  

पोखरामा आज आयोजना गरिएको पोखरा अन्तरराष्ट्रिय म्याराथनबाट सुरु भएको यो कार्यक्रम आगामी फागुन १० गते धरानमा पुगेर समापन हुनेछ । 

“आज हामी पोखरा म्याराथन दौडियौँ । भोली बुटबलमा दौडिने छौँ । यसरी सात दिनमा धरानमा पुगेर सातै प्रदेशको सम्पन्न गर्नेछौँ”, आयोजक संस्थाका सदस्य पृथ्वी खड्काले भने । उनका अनुसार सातै प्रदेशको म्याराथनमा गरी धावकहरूले दुई सय ९६ किमी दौडने छन् ।

खड्काले भने, “नेपालमा पहिलो पटक यस किसिमको कार्यक्रम ल्याउनुको उद्देश्य खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्नु हो । नेपालको पर्वतारोहण र पदयात्राका लागि केही गर्न सकिन्छ भनेर लागिपरेका छौँ । छ घण्टामा म्याराथन भ्याउनुपर्ने बाध्यता छ । नभ्याए उहाँहरूले मेडल पाउनुहुँदैन ।”

म्याराथनको आम्दानीबाट जुम्लामा निर्माणाधीन हाइअल्टिच्युड ट्रेनिङ क्याम्पका लागि सहयोग गरिने खड्काले जानकारी दिए ।

“बेलायतमा नेपाली समुदायमा स्वास्थ्य सचेतना र नेपालका खेलाडीको आर्थिक सहयोगमा समर्पित यस संस्थाले ‘सेभेन म्यारान च्यालेन्ज इन’ गरेको हो । यो एउटा ‘च्यारिटी इभेन्ट’ हो, म्याराथनका लागि विभिन्न सहयोगदाताबाट प्राप्त हुने आम्दानीबाट बचत भएको रकम नेपालको खेलकुद विकासमा खर्च गर्नेछौँ,” उनले भने । 

उनका अनुसार आज गण्डकी प्रदेशमा पोखरा म्याराथन, फेब्रुअरी १६ मा लुम्बिनीको बुटवलमा, फेब्रुअरी १७ मा सुदूरपश्चिमको धनगढीमा, फेब्रुअरी १८ मा कर्णालीको सुर्खेतमा, फेब्रुअरी १९ मा बागमतीको हेटौँडामा, फेब्रुअरी २० मा मधेशको जनकपुरमा र फेब्रुअरी २१ मा कोशीको धरानमा एकसाथ म्याराथन र हाफ म्याराथन हुनेछ ।

प्रत्येक दिनका दौडहरूमा राजन खत्री नेतृत्वको एथ्लेटिक्स परिवार नेपालले व्यवस्थापन तथा सहयोगी भूमिका निर्वाह गर्ने र प्रत्येक प्रदेशमा स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने उनको भनाइ छ ।

म्याराथनमा बेलायतबाट सन्तोष राई, रुदेन भुटिया, पृथ्वी खड्का, पाण्डे महतो र नेपालबाट सफल लामा, अर्जुन कुलुङ र विक्रम खनाल सहभागी छन् ।

यसैगरी, हाफ म्याराथनमा नेपालबाट सङ्गीता थापा, रमेश शाक्य, दीपककुमार रञ्जित, बहादुर तामाङ र राकेश महर्जन छन् । यसमा बेलायतबाट होमा पुन र मकाउबाट सुवास भुजेल छन् ।

“पोखरामा पहिलो पटक दौडन पाउँदा खुसी लाग्यो । बच्चाहरू पनि उत्साहसहित सहभागी हुनुभयो । यसमा छिटो सकाएर छिटो जित्ने भन्ने हुँदैन, छ घण्टामा सकाएर अर्को प्रदेशमा गएर छ घण्टामा सम्पन्न गर्नुपर्दछ त्यसैले चुनौतीपूर्ण छ”, खड्काले भने ।

गोरखाको चुमनुब्री क्षेत्रमा हिमपात

गोरखा । गोरखाको सामागाउँलगायत क्षेत्रमा हिमपात पर्न थालेको  छ । जिल्लाको चुमनुब्री गाउँपालिकाको ल्हो, सामागाउँ, साम्दो र आसपासका क्षेत्रमा शनिबार दिउँसोदेखि हिमपात पर्न सुरु भएको स्थानीयवासी वीरबहादुर लामाले जानकारी दिए ।

चुमनुब्री गाउँपालिका–१, स्थित सामागाउँ, साम्दो र वडा नं २ मा पर्ने स्याल्ला र ल्हो क्षेत्रमा भारी हिमपात भएको उनले बताए । हिमपातका कारण स्थानीयवासीलाई घरबाहिर निस्कन समस्या परेको छ । “दिउँसोदेखि नै लगातार हिमपात भइरहेको छ । हिमपातका कारण चिसो अत्यधिक बढेकाले जनजीवन प्रभावित हुन थालेको छ”, लामाले भने ।

हिमपातका कारण लार्केपास जान लागेका पर्यटकहरू सामागाउँमा नै रोकिएका पथप्रदर्शक सूर्य खनालले जानकारी दिए । “यत्तिकै हिमपात परिरहे लार्केपासतर्फ अघि बढ्नेसक्ने अवस्था हुँदैन । आइतबार बिहानसम्मको अवस्था हेरेर मात्र अघि बढ्ने वा फर्कने भन्ने निश्चित हुन्छ”, उनले भने ।

हिमपातले लार्केपासको पदमार्ग पूरै ढाकेको छ ।

पेट्रोलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार मध्यरातिदेखि हुने गरी पेट्रोलको एक रुपैयाँ मूल्य बढेको छ भने डिजेल र मट्टीतेलको चार रुपैयाँ मूल्य घटेको छ ।

मैत्रीपूर्ण खेलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित

काठमाडौं । नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको मैत्रीपूर्ण फुटबलमा युनान युथले नेपालको युवा टोलीलाई २–० गोलले पराजित गरेको हो ।

चिनियाँ नयाँवर्षको उपलक्ष्यमा नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल सङ्घ र नेपाल ओभरसिज चिनियाँ सङ्घले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका हुन् ।

पद ओगटेर बसेर र गफ गरेर पार्टी अघि बढ्दैनः अध्यक्ष नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले केपी ओलीको निजी आदेश चल्ने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा बागमती प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले एमाले ‘केपी बा’को पार्टी भएको र त्यहाँ उनको मात्र आदेश चल्ने भन्दै कम्युनिष्ट पार्टीको चरित्र गुमाएको बताए ।

उनले भने, ‘एमालेमा केपी बा को निजी आदेशमात्रै चल्छ । उहाँको निर्देशन र आदेश पालना गर्नेबाहेक अरु टिक्न सक्दैनन् । त्यो पार्टी होइन ।’

उनले एमालेबाट विद्रोह गर्नुको औचित्य भीम रावल र वामदेव गौतमलाई हेरे पुग्ने बताए ।  उनले भने, ‘हामीले विद्रोह गरेको भन्दै प्रश्न उठाउने गरिन्छ । भीम रावल र वामदेव गौतमलाई हेर्दा हुन्छ । हामीले विद्रोह नगरेको भए त्यस्तै हालत हुन्थ्यो ।’

उनले पद ओगटेर बसेर र गफ गरेर पार्टी नबढ्ने भन्दै गाँउ गाँउमा गएर जनताको समस्या उजागर गर्ने काममा लाग्न पनि नेता कार्यकर्तालाई आग्रह गरे ।

राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि क्यानले माग्यो आवेदन

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षकका लागि आवेदन माग गरेको छ । क्यानले शनिबार राष्ट्रिय पुरुष टोलीको लागि मुख्य प्रशिक्षकको आवेदन माग गरेको हो ।

२०७९ मा नियुक्त भएका मोन्टी देसाईको कार्यकाल सकिएसँगै क्यानले नयाँ प्रशिक्षकको आवेदन खुलाएको हो । फेब्रुअरी २८ सम्म आवेदन दिन सकिनेछ ।

प्रारम्भिक मूल्यांकनअनुसार अर्थमन्त्री पौडेल र मेयर आचार्यको ५-६ प्रतिशत जलन

काठमाडौँ । आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले दुबै जनाको पाँचदेखि ६ प्रतिशत जलन भएकाले स्वासनली र फोक्सोमा असर पर्न सक्ने भएकाले उच्च निगरानीमा राखेर उपचार भइरहेको जनाएको छ ।

जलेपछि उनीहरुलाई शनिबार दिउँसो ३ बजेतिर अस्पताल ल्याइको थियो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ ।

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरुको शरीरमा आगो सल्किएको थियो । दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो ।

वैदेशिक रोजगारीको प्रलोभन पारेर एक करोड भन्दाबढी ठगेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी संयुक्त अधिराज्य, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानाडा, अजरबैजान र मरिसस पठाइदिन्छु भन्दै ठगेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–३ का दिनेश अधिकारीले एक युवकलाई संयुक्त अधिराज्य पठाउने भनेर ३२ लाख ५७ हजार ठगेको उजुरी परेपछि उनलाई पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।

यसैगरी, सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–७ का ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोकका ३९ वर्षीय दिनेश प्रसाद अधिकारीले क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार लिएर सम्पर्कविहीन भएको पीडितहरूको उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई गत बुधबार पक्राउ गरेको समाचारकक्षको आजको समाचार बुलेटिनमा उल्लेख छ ।

पुलिसलाई हराउँदै उज्बेकिस्तानको ब्ल्याकबुल्स एफसीलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । नेपाल पुलिस क्लबलाई पराजित गर्दै उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसीले २४औं संस्करणको आहा ! रारा पोखरा गोल्डकप फुटबलको उपाधि जितेको छ ।

पोखरा रङ्गशालामा शनिबार भएको फाइनल खेलमा ब्ल्याक बुल्सले पुलिसलाई ३–१ गोलले हराएको हो । ब्ल्याक बुल्स पहिलो सहभागितामै विजेता बन्यो । ब्ल्याक बुल्सका जाखोन्गिर अख्मदोभ, असिल्बेक ओरिफ्जोनोभ र साभ्कत्जोन सात्तोरोभले गोल गरे ।

पुलिसले एक गोल आत्मघाती उपहार पायो । सेमिफाइनलमा पुलिसले ‘ए’ डिभिजन लिगको विजेता चर्च ब्वाइजलाई र ब्ल्याक बुल्सले ५ पटकको विजेता थ्री स्टारलाई हराएको थियो ।

ब्ल्याक बुल्सले उपाधिसँगै १२ लाख १ हजार र उपविजेता बनेको पुलिसले ६ लाख १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । प्रतियोगितामा १२ वटा टोली सहभागी थिए ।

भूमिसम्बन्धी अध्यादेश जस्ताको तस्तै पारित हुने अवस्था छैन : मीन विश्वकर्मा

काठमाडाैँ । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले सरकारले सत्तारुढ दलहरुसँग छलफल नै नगरी हतारमा भूमिसम्बन्धी अध्यादेश ल्याउँदा अहिलेको परिस्थिति उत्पन्न भएको बताएका छन् ।

रिपोटर्स क्लव नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा उनले सरकारले हतार गरेकै कारण अहिले अध्यादेश जस्ताकोतस्तै पारित हुने अवस्था नबनेको बताए ।

संघीय संसद्को दुवै सदनबाट अध्यादेश स्वीकृत गराउने सन्दर्भमा भने सत्तारुढ दलहरु फराकिलो छलफलमा रहेको नेता विश्वकर्माले बताए । उनले प्रतिस्थापन विधेयकमार्फत अध्यादेशमा रहेका विषयहरु संशोधन गर्नेगरी अगाडि बढ्न सरकार लचिलो र फराकिलो बनिरहेको र त्यससन्दर्भमा मिहिन ढंगबाट छलफल भइरहेको जानकारी दिए । अध्यादेश ल्याउन पाउने कुरामा कुनै विमति नरहेको र यो प्रक्रिया संविधानसम्मत नै रहेको उनको भनाइ छ ।

साक्षात्कारमा नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष जगन्नाथ खतिवडाले भूमिसम्बन्धी अध्यादेश स्वीकृत गराउने सन्दर्भमा आफ्नो दलको समर्थन नरहने बताए । कांग्रेस लुरुलुरु प्रधानमन्त्रीको पछाडि हिँड्न बाध्य भएको हो कि भन्ने आफू र आफ्नो पार्टीको आशंका रहको उनले बताए ।

खतिवडाले अध्यादेशको प्रक्रियालाई समाप्त गरेर विधेयकमार्फत कानुन निर्माणको प्रक्रिया अगाडि बढाउन सरकारसँग आग्रह गरे ।

फिलिपिन्समा डेङ्गुको प्रकोप

मनिला । फिलिपिन्सको राजधानी मनिलाको सबैभन्दा बढी जनसङ्ख्या भएको क्वेजोन नगरमा डेङ्गुको प्रकोप फैलिएको छ ।

क्वेजोनका नगर प्रमुखले शनिबार डेङ्गुको प्रकोप फैलिएको घोषणा गर्दै नागरिकहरूलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका हुन् ।

क्वेजोन शहरका प्रमुख जोय बेलमोन्टका अनुसार जनवरी १ देखि फेब्रुअरी १४ सम्मको अवधिमा शहरको स्वास्थ्य विभागले एक हजार ७६९ बिरामीहरूमा डेङ्गु सङ्क्रमण भएको पुष्टि गरेको छ । यो सङ्क्रमण दर गत वर्षको तुलनामा लगभग २०० प्रतिशत बढी हो।

बेलमोन्टका अनुसार यो वर्ष आठ नाबालकसहित १० जनाको यस रोगका कारण मृत्यु भएको छ ।

बेलमोन्टले भने, “डेङ्गुको प्रकोपको हाम्रो घोषणा सङ्क्रमणको स्थितिको शीर्ष अवस्थामा रहेको जानकारी गराउन भएको हो।”

उनले भने, “हामी हाम्रा बासिन्दाहरूलाई यस घातक रोगबाट, विशेष गरी हाम्रा बच्चाहरूलाई बचाउन सक्दो प्रयास गरिरहेका छौं भन्ने सुनिश्चित गर्दछ।”

सङुक्रमितमध्ये ५८ प्रतिशत पाँचदेखि १७ वर्ष उमेर समूहका विद्यालय जाने उमेरका बालबालिका रहेका छन् भने ४४ प्रतिशत एकदेखि १० वर्ष उमेर समूहका बालबालिका रहेका छन् ।

“डेङ्गुको निदानलाई सम्बोधन गर्ने कार्यका लागि प्राथमिक समाधानको रूपमा सबै ६६ शहर स्वास्थ्य केन्द्रहरू सप्ताहन्तमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछन्,” बेलमोन्टले भने ।

फिलिपिन्सको स्वास्थ्य विभागले पानी र खानाबाट सर्ने रोग, इन्फ्लुएन्जाजस्ता रोग, लेप्टोस्पायरोसिस र डेङ्गुजस्ता रोग बढेको उल्लेख गरेको एक दिनपछि यो शहरमा डेङ्गुको प्रकोप घोषणा भएको हो ।

सरकारी तथ्याङ्कअनुसार सन् २०२० सम्ममा क्वेजोन शहरको जनसङ्ख्या करिब ३० लाख रहेको थियो ।

‘सार्वभौमिकता सुरक्षित’ भएमा मात्र युक्रेनमा शान्ति सम्भवः जर्मन चान्सलर स्कोल्ज

म्यूनिख । जर्मनीका चान्सलर ओलाफ स्कोल्जले युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र युक्रेन र रूसबीचको युद्ध वास्तवमै शान्तिका साथ अन्त्य हुने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै हप्ता युक्रेनका लागि वासिङ्टनको सहयोगको अवस्थालाई निरन्तरता दिइराख्न असम्भव हुने भन्दै चाँडै नै युद्धविराम वार्ता सुरु गर्न रुसी नेता भ्लादिमिर पुटिनलाई भेट्ने घोषणा गरेका थिए ।

‘युक्रेनको सार्वभौमिकता सुरक्षित भएमा मात्र शान्ति कायम हुनेछ’, स्कोल्जले म्युनिख सुरक्षा सम्मेलनमा भने, त्यसैले निर्धारित शान्तिले कहिल्यै पनि हाम्रो समर्थन पाउन सक्दैन।’

उनले भने, ‘हामी रूसी राष्ट्रपति पुटिन मात्र लाभान्वित हुने र युरोपेली र अमेरिकी सुरक्षालाई विघटित गर्ने कुनै पनि समाधानलाई स्वीकार गर्ने छैनौँं ।’

‘हामी युरोपेलीहरूले आगामी वार्तामा यी चासोहरूलाई आत्मविश्वासका साथ र एकताबद्ध रूपमा प्रतिनिधित्व गर्नेछौं,’ स्कोल्जले भने ।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जर्मनीमा युरोपेली नेता र नीति निर्माताहरूको भेलालाई सम्बोधन गर्नुभन्दा केही समयअघि स्कोल्जले उक्त कुरा बताएका थिए ।

अमेरिकी उपराष्ट्रपति जेडी भान्ससँग मस्कोसँग युद्धविराम सम्झौताका लागि ट्रम्प प्रशासनको प्रयासबारे छलफल गर्न भेटेपछि जेलेन्स्कीले शुक्रबार आफूले युक्रेनी ‘सुरक्षा सुनिश्चतता’ चाहेको बताएका थिए ।

स्कोल्जले भने, ‘यदि शान्ति कायम भयो भने रुसले फेरि आक्रमण नगरोस् भनेर किएभका समर्थकहरूले भविष्यमा युक्रेनको सशस्त्र बल निर्माण गर्न आवश्यक छ। युद्धपछिको समयमा युरोप, संयुक्त राज्य अमेरिका र युक्रेनका अन्तर्राष्ट्रिय साझेदार र मित्रहरूका लागि यो सम्भव तुल्याउने जिम्मेवारी हुनेछ र सबै प्रकारका सुरक्षाका प्रत्याभूतिहरू यसै आधारमा बनाइनुपर्छ ।’

माओवादीका पक्षमा देशव्यापी जनमत बढ्दै गएको प्रचण्डको दाबी

मकवानपुर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र समृद्धिका पक्षमा देशव्यापी जनमत बढ्दै गएको बताएका छन् ।

शनिबार मकवानपुरको बागमती गाउँपालिकाले निर्माण गरेको सहिद स्मृति रंगशाला तथा सातौं बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रयोगिताको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

‘जबसम्म देशबाट भ्रष्टाचारको अन्त्य गरिदैन र सामाजिक न्याय स्थापित गरिदैन, त्यतिबेलासम्म राष्ट्रिय एकता कायम हुन सक्दैन र देश अघि बढ्न सक्दैन भन्नेमा देशव्यापी जनमत बलियो बन्दै गएको छ’ अध्यक्ष प्रचण्डले भने, ‘मैले देशैभरि नयाँ राष्ट्रिय एकता निर्माणको अभियान थालेको छु । हाम्रो अभियान सफल बन्दै गएको छ।’

भ्रष्टाचारका विरुद्ध सुशासनका पक्षमा, राष्ट्रिय स्वाधीनताको पक्षमा, सामाजिक न्यायको पक्षमा र आर्थिक समृद्धिको पक्षमा देशैभरि देखिएको चेतनाको लहर नयाँ आशाको किरण भएको पनि उनले स्पष्ट गरे । उनले भने, ‘यो सचेतना निकै महत्वपूर्ण छ। हामी सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाई गर्ने छौं। यसमा सबै लामबद्ध हुन पनि आह्वान गर्न चाहन्छु।’

नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापीरुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्दै उनले स्थानीय सरकारले यसमा ध्यान दिनु थप महत्वपूर्ण भएको बताए ।

त्यसअघि अध्यक्ष प्रचण्डले पार्टीको बागमती गाउँपालिकामा कार्यलयमा स्थानीय नेता कार्यकर्तासँग भेटघाट गर्दै देशव्यापीरुपमा पार्टीप्रति आकर्षणको लहर सुरु भएकाले यसलाई संस्थागत गर्दै अघि बढाउन आग्रह गरेका थिए ।

जे भन्छ, त्यो गर्ने माओवादी नै रहेछ भन्ने जनतामा विश्वास बढ्दै गएको उल्लेख गर्दै उनले जनताको आशा र विश्वासमा कमी आउन नदिने गरी योजना र कार्यक्रम अघि बढाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । पार्टीका लागि आएको यो महत्वपूर्ण अवसर भएकाले अब पार्टीका लागि दायाँबायाँ गर्ने छुट नभएको उनले बताए ।

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुर बर्न अस्पतालमा उपचार सुरु

काठमाडैँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको उपचार सुरु भएको छ ।

दुवैको काठमाडौं कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको हो । अर्थमन्त्री पौडेलको हातमा र मेयर आचार्यको अनुहारको केही भाग तथा कपालको केही भाग जलेको छ ।

पोखरामा आयोजित ‘पोखरा भ्रमण वर्ष’ उद्घाटन गर्ने क्रममा बेलुन फुटेर आगो लागेपछि जलेर दुवै घाइते भएका छन् ।

अर्थमन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज र मेयर आचार्यलाई फिस्टेल अस्पताल पठाइएको थियो । त्यहाँ प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको कास्की जिल्ला प्रहरी कार्यालयका एसपी श्यामनाथ ओलियाले जानकारी दिए ।

सहमतिमै अध्यादेश पारित हुन्छ : महासचिव पोखरेल

काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले जारी गरेको अध्यादेश सवै राजनीतिक दलकै सहमतिमा पारित हुने दाबी गरेका छन् ।

शनिबार विराटनगरमा सञ्चारकर्मीसंग कुरा गर्दै पोखरेलले सबै राजनैतिक दलहरूले घोषणापत्रमा समावेश गरेको आर्थिक लगायतका क्षेत्रको सुधार गर्न अध्यादेश ल्याइएको भन्दै सबै राजनीतिक दलकै सहमतिमा अध्यादेश पारित हुने दाबी गरेका हुन् ।

महासचिव पोखरेलले सरकारले आवश्यकताका आधारमा ल्याएको अध्यादेशमा सबै राजनैतिक दलको सहमति हुने जिकिर गरे । उनले अध्यादेशविरुद्ध रहेका असहमतिका विषयहरूलाई छलफल गरेर अघि बढ्ने बताए । त्यस्तै महासचिव पोखरेलले सबै राजनैतिक दलहरूको सहमतिमा नै संविधान संशोधन गरिने स्पष्ट पारे ।

फरक प्रसङ्गमा एमाले महासचिव पोखरेलले पूर्व राष्ट्रपतिको सामाजिक सक्रियतालाई स्वाभाविक नै ठानेको र अहिले सम्म राजनैतिक सहभागिता बारे निर्णय नभएको बताए ।

अमेरिका र रूसबीच आर्थिक साझेदारी हुने, उच्चस्तरीय वार्ता टोली खटाइयो

काठमाडौँ । रूसले युक्रेनसँग जारी युद्ध अन्त्य गर्न संयुक्त राज्य अमेरिकासँग प्रत्यक्ष वार्तामा संलग्न हुन उच्च स्तरीय वार्ता टोलीले काम गरिरहेको खुलेको छ ।

क्रेमलिन टोलीका सदस्यहरू नाम सार्वजनिक रूपमा घोषणा गरिएको छैन तर सिएनएनका अनुसार यस वार्ताका लागि रूसका शीर्ष स्तरको राजनीतिक, खुफिया र आर्थिक व्यक्तित्वहरू समावेश रहेका छन्।

उनीहरूले अमेरिकाका राष्ट्रपति ट्रम्प र रूसी समकक्षी भ्लादिमर पुटिन बिच टेलिफोन वार्ता हुनु अघि देखी नै काम गरिरहेका थिए । जस अनुसार ती रूसी अधिकारीले हालैको अमेरिकी कैदी रिहाइ सम्झौतामा पर्दा पछाडिको भूमिका खेलेका समेत थिए ।

पुटिनका नजिकका सल्लाहकार किरिल दिमित्रीभका अनुसार अब अमेरिका र रुसबीचको आर्थिक सम्बन्ध पुनर्स्थापनामा ध्यान केन्द्रित गरिनेछ किनभने दुई पक्षले रुस–युक्रेन शान्ति सम्झौता बनाउने प्रयास गरिरहेका छन् ।

हालै, दिमित्रीभले अमेरिकी मध्यपूर्व राजदूत स्टीभ विटकफ र साउदी अरेबियाका क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँग मिलेर काम गरेका थिए । अमेरिकी शिक्षक मार्क फोगेलको हालै भएको रसियाबाट रिहाइ सुरक्षित गर्न र सम्झौतासँग परिचित स्रोतहरूले जनाएका छन् ।

‘रसियाबाट एकजना सज्जन हुनुहुन्छ। उसको नाम किरिल हो र उहाँसँग यो गर्न धेरै थियो। उहाँ महत्त्वपूर्ण हुनुहुन्थ्यो। उहाँ एक महत्त्वपूर्ण वार्ताकार हुनुहुन्थ्यो, जसले दुई पक्षलाई जोड्दै थियो,’ विटकफले भनेका छन् ।

रुसको स्वीकृत सार्वभौम सम्पत्ति कोषका प्रमुख दिमित्रीभ रसियाको राजनीतिक अभिजात वर्गबाट ​​ट्रम्पको स्पष्ट समर्थन पाएका छन् । उनले भनेका छन् कि, ‘ट्रम्पको अमेरिकी राष्ट्रपति चुनावको विजयले सामान्य अमेरिकीहरू बाइडेन प्रशासनको अभूतपूर्व झूट, अक्षमता र द्वेषबाट थाकेको देखाउँछ।’

उनले अगाडी भने, ‘ट्रम्पको जितले रूस र संयुक्त राज्य अमेरिका बीच सम्बन्ध पुनर्स्थापित गर्न नयाँ अवसरहरू खोल्छ।’

सोभियत युगको युक्रेनमा जन्मेका र अमेरिकाको हार्वर्ड र स्ट्यानफोर्डमा शिक्षा हासिल गरेका दिमित्रीभले अमेरिकी परामर्श फर्म म्याकिन्सेमा सल्लाहकारको रूपमा र गोल्डम्यान साक्समा लगानी बैंकरको रूपमा काम गरेका थिए।

क्रेमलिनको दिमित्रीभको समावेशले संकेत गर्दछ कि रूसको वार्ताको रणनीतिको मुख्य फोकस प्रतिबन्धहरू घटाउनुका साथै पश्चिमसँग बिग्रिएको आर्थिक सम्बन्धलाई सुधार गर्नमा केन्द्रित गरिनेछ।

दिमित्रिभ पहिलो र वर्तमान दुवै कार्यकालमा ट्रम्प प्रशासनसँग एक प्रमुख रूसी सम्पर्क बिन्दुको रूपमा रहेका छन् । लगातार रूस र अमेरिका बिच सम्बन्ध घनिष्ठ सबन्धका लागि लागी उनले काम गरिरहेका छन् ।

फेब्रुअरी २०२२ मा युक्रेनमा रूसको पूर्ण मात्रामा आक्रमण पछि दिमित्रीभलाई अमेरिकी ट्रेजरी विभागले उनको नाम अनुमोदन गरेको थियो । किनभने, उनलाई पुटिनको नजिकको सहयोगी र उनको परिवारका सदस्यको हैसियतमा रहन सक्ने जनाइएको थियो ।

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाललाई चयन

काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठनले अध्यक्षमा भवानी दाहाललाई चयन गरेको छ । जारी अधिवेशनमा अध्यक्ष पदमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । लामो समयको छलफलपछि दाहाल अध्यक्षमा चुनिन सफल भएकी हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम वरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाएका छन् । निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो ।

हमासले रिहा गर्‍यो थप ३ इजरायली बन्धक

गाजस्थित इस्लामिक लडाकु समूह (हमास)ले शनिबार थप तीन जना इजरायली बन्धकलाई रिहा गरेको छ ।

हमासले शनिबार रुसी-इजरायली अलेक्ज्यान्डर ट्रोफानोभ, अर्जेन्टिना-इजरायली यायर हर्न र अमेरिकी-इजरायली सागुई डेकेल-चेनलाई रिहा गरेको हो।

रिहा गरिएका उनीहरुलाई रेडक्रसको जिम्मा लगाएको छ। बदलामा शनिबार नै इजरायली हिरासतबाट ३६९ जना प्यालेस्टिनीलाई रिहा गरिनेछ।

रेडक्रसलाई हस्तान्तरण गर्नुअघि हमासका नकाबधारी लडाकुले गाजाको दक्षिणी शहर खान युनिसको एक मञ्चमा बन्धकलाई परेड गराएर सम्बोधन गर्न भनिएका थिए।

अपहरणकारीले दिएको उपहारको झोला र कैद अन्त्यको प्रमाणपत्र समातेर लडाकुको साथमा उभिएका तीनै जनाले युद्धविराम सम्झौताअन्तर्गत थप बन्धक आदानप्रदान पूरा गर्न आह्वान गरेका थिए।

इजरायलले गाजामा भएको युद्धविराम भंग गर्ने चेतावनी दिएपछि हमासले आज थप तीन बन्धक छाड्न राजी भएको हो।

यसअघि उसले इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा रोक्ने बताएको थियो।

फागुन ६ गते अध्यादेश पास गराउने सत्तारूढ दलबिच सहमति

काठमाडौं । सत्तारुढ दलहरुको शीर्ष नेताहरुको बैठकमा सरकारले ल्याएको अध्यादेश पारित गर्ने सहमति भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संयुक्त बैठकले अन्य दलहरुसँग छलफल गरेर अध्यादेश फागुन ६ गते बस्ने राष्ट्रियसभाको बैठकबाट पारित गर्ने सहमति हो ।

बैठकमा उपस्थित गृहमन्त्री रमेश लेखकले भने, ‘सदनमा दर्ता भएका अध्यादेशका बारेमा छलफल भएको छ, छलफल सकारात्मक छ, अध्यादेश अघि बढाउन सबै सहमत भएका छौं ।’ उनका अनुसार फागुन ६ गते बस्ने बैठकवाट सो अध्यादेश पारित गरिनेछ ।

सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलका शीर्ष नेतासहितको बैठक प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानलगायत सहभागी रहेका थिए ।

बैठकमा सरकार र संसद्का कामको प्रभावकारिता र विचाराधीन विभिन्न अध्यादेशहरुलगायत विषयमा छलफल भएको थियो ।

यसअघि शुक्रबार एमाले र काँग्रेसका नेताहरु सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले सत्तारूढ दलको संयुक्त बैठक बोलाएको हो ।