`

अर्थमन्त्री पौडेल र मेयर आचार्यलाई काठमाडौं ल्याइयो, कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुने

काठमाडौं । पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । 

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते भएका थिए ।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए ।

मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एम्बुलेन्सबाट लगिएको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ । 

महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए । महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।

आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते

गण्डकी ।  पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगाको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन् ।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो । बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो ।

महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए ।

उपपप्रधान तथा अर्थमन्त्री पौडेलको पनि उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको र उनलाई सामान्य चोट लागेको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । 

वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएका समस्याहरू क्रमशः सुधार भएका छन्ः अर्थमन्त्री पौडेल

गण्डकी । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले देशको अर्थतन्त्रमा क्रमशः सुधार हुँदै गएको बताएका छन् ।

गण्डकी प्रादेशिक कार्यालय भवनको शनिबार पोखरामा उद्घाटन गर्दै उनले वर्तमान सरकार गठन हुँदा अर्थतन्त्रमा देखिएको समस्याहरू हाल क्रमशः सुधार भएका बताएका हुन् ।

देशको बिग्रँदो आर्थिक अवस्थालगायत विद्यमान समस्या समाधान गर्नेगरी दुई प्रमुख दल सम्मिलित वर्तमान सरकार बनेको उनले उल्लेख गरे ।

देशको अर्थतन्त्रमा सुधार भएको आर्थिक सूचकले पनि देखाइरहेको बताउँदै अर्थमन्त्री पौडेलले वर्तमान सरकार इच्छाशक्ति भएको र समस्याको समाधान गर्न सक्षम रहेको दाबी गरे ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सरकारले निर्माण गरेको उल्लेख गर्दै उनले यसको सञ्चालन गराउनेतर्फ पनि सरकार लागिरहेको बताए । पोखरा र भैरहवा विमानस्थल सञ्चालनका सम्बन्धमा प्रधानमन्त्री स्वयंले पटकपटक बैठक तथा छलफल गरिरहनुभएको उल्लेख गर्दै उनले यसको सञ्चालनमा सरकार गम्भीर रहेको बताए । सरकारी बैंकले सर्वसाधारणलाई आकर्षित गर्नुपर्नेमा उनले जोड थियो ।

झापामा वन अतिक्रमण गरेर बनाइएका टहरा हटाइयो

झापा। वन डिभिजन कार्यालयले मेचीनगर नगरपालिका–१३ चारआलीस्थित प्रगति सामुदायिक वनक्षेत्र अतिक्रमण गरी बनाइएका १८ अस्थायी टहरा हटाएको छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त स्थानमा विगत १८ वर्षदेखि तरकारी र माछामासु बजार सञ्चालन गर्दै आएका १८ परिवारले वनक्षेत्र अतिक्रमण गरी अनधिकृत अस्थायी संरचना बनाएका थिए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी र वन रक्षक टोली परिचालन गरी आज उक्त अतिक्रमण हटाएर वनक्षेत्र खाली गराइएको डिभिजन कार्यालयका प्रमुख मेघराज राईले बताए।

वन डिभिजनको पहलमा डोजर लिएर सुरक्षाकर्मी पुग्दा स्थानीय व्यवसायीसँग केहीबेर विवाद भएको थियो । वन कार्यालयले अतिक्रमण हटाइछाड्ने अडान राखेपछि स्थानीयले अस्थायी टहरा आफैँ हटाएका थिए । तीन पटक सार्वजनिक सूचना र पटकपटक छलफल गर्दासमेत अतिक्रमण नहटाइएपछि बाध्य भएर वनक्षेत्र सुरक्षित राख्न सुरक्षाकर्मी परिचालन गर्नुपरेको राईले बताए।

स्थानीय बासिन्दाले अस्थायी टहरा हटाएर बजार स्थानान्तरण गर्न १० दिनको समय मागेको मेचीनगरका नगरप्रमुख गोपाल बुढाथोकीले बताए। स्थानीयले १० दिनभित्र आफैँ अस्थायी टहरा हटाएर लैजाने भन्दै नगरपालिकामा निवेदन दिएका थिए ।

‘अर्को स्थानमा व्यवसाय सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न समय लाग्छ, १० दिन म्याद दिनुहोस् भनेर वन डिभिजन र प्रमुख जिल्ला अधिकारीसँग आग्रह गर्यौँ’, नगरप्रमुख बुढाथोकीले भने, ‘तर वन डिभिजन कार्यालयले मानेन ।’

चारआली बजारको पश्चिममा रहेको सो स्थान प्रगति सामुदायिक वनअन्तर्गत रहेको छ । सालका रुख रहेको उक्त स्थान दुई दशकयता अतिक्रमणमा पर्दै आएको छ । अतिक्रमित स्थानका सालका रुख सुकेर उजाड बनेका छन् भने बजार क्षेत्रका बासिन्दाले सीमा मिचेर पक्की संरचना बनाएका छन् ।

वन डिभिजन कार्यालयका प्रमुख राईले पहिलो चरणमा अतिक्रमण गरी बनाइएका अस्थायी संरचना हटाइएको जानकारी दिँदै कसैले पक्की संरचना बनाएको रहेछ भने वनक्षेत्रको सीमा अध्ययन गरेर भावी दिनमा म्याद दिएर हटाइने बताए।

पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी छ : प्रवक्ता महत

चितवन । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले शनिबार चितवनको भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा महतले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु जरुरी रहेको बताएका हुन् ।

उनले भने, “पार्टीलाई कसरी बलियो बनाउने भन्नेतर्फ केन्द्रित हुनुपर्छ, पार्टी र हामीभन्दा पनि म भन्ने प्रवृत्ति हाबी हुँदा पार्टी कमजोर हुन्छ ।” व्यक्तिवादी प्रकृतिले पार्टीलाई कमजोर बनाउने उनको भनाइ छ । उनले भने, “पार्टीलाई बलियो बनाउनका लागि व्यक्तिवादी प्रवृत्तिलाई निरुत्साहित गर्नुपर्छ ।” 

माथिबाट तल्लो तहसम्म निर्वाचन हुने प्रक्रियाले निर्वाचित हुनेले आफू भन्ने र हार्नेले असहयोग गर्ने प्रवृत्ति अन्त्य गर्न विधानका कमीकमजोरीलाई सच्याउन आवश्यक रहेको उनको भनाइ छ । एकले अर्कोलाई स्वीकार गर्ने वातावरण तयार गरेर अघि बढ्नु अहिलेको आवश्यकता रहेको उनले बताए ।

फरक प्रसङ्गमा पार्टीको महाधिवेशन २०८२ सालमा सम्भव नरहेको उनले बताए । उनले भने, “पार्टीको १५औँ महाधिवेशन केही समय पछि सर्न सक्छ, तयारी केही पुगेको छैन, तयारीका लागि केही समय थप गर्न सकिन्छ ।” विधानतः एक वर्ष छ महिना थप्न सकिने भए पनि कति समय थप हुन्छ केन्द्रीय समितिको बैठकले निर्णय गर्ने उनको भनाइ छ ।

सरकारले ल्याएको अध्यादेश पास गर्ने विषयमा विपक्षी दलहरुसँग छलफल भइरहेको उनले बताए । उनले भने, “पाँच वटा अध्यादेशमा केही समस्या छैन, भूमिसम्बन्धी अध्यादेशमा देखिएको समस्या प्रतिस्थापन विधेकबाट पास हुन्छ ।”

माङ्सेबुङमा दुई करोडका चार सिँचाइ आयोजना सुरु

फिक्कल (इलाम) । इलामको माङ्सेबुङ गाउँपालिकामा एकैपटक चार सिँचाइ आयोजना सुरु भएका छन् । चालू आर्थिक वर्षमा सम्पन्न हुनेगरी  दुई करोड ८० लाख सात हजार छ सय ७८ को लागतमा उक्त सिँचाइ आयोजना सुरु भएका हुन् ।

सो गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नं १ मा दुई, वडा नं ३ मा एक र वडा नं ४ मा एक सिँचाइ आयोजना सुरु भएको गाउँपालिकाका इञ्जिनियर (अधिकृत छैटौँ) युवराज दाहालले जानकारी दिए । वडा नं १ स्थित नाङरुङ टोलमा रु ७५ लाख ५९ हजार नौ सय ५६ को लागतमा लम्फेवाखोला नाङरुङ कृषि कोलो सिँचाइ योजना र सोही वडाको साङरेम टोलमा रु ८० लाखको लागतमा साङरेम सिँचाइ योजना सुरु भएको छ ।

वडा नं ३ को सिङलाबु टोलमा रु ३८ लाख २७ हजार नौ सय ७२ को लागतमा खोँगीखोला सिङलाबु सिँचाइ योजना सुरु भएको छ । त्यस्तै वडा नं ४ को सिङफेरे र मार्चेबुङ टोलमा रु ८६ लाख १९ हजार सात सय ५० को लागतमा रतुवाखोला बधमारा सिङफेरे मार्चेबुङ सिँचाइ योजना सुरु भएको हो ।

आयोजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत अर्थात् रु ८४ लाख दुई हजार तीन सय तीन तथा संघीय सरकार, प्रदेश सरकार र गाउँपालिकाको २०/२० प्रतिशत अर्थात् रु ५६ लाख एक हजार तीन सय ३५ का दरले र स्थानीय उपभोक्ताको १० प्रतिशत अर्थात् रु २८ लाख सात सय ६७ लागत साझेदारी रहेको छ ।

त्यसैगरी यस वर्ष तीन सिँचाइ योजना मर्मतसम्भारको काम सुरु भएको छ । सोही कार्यक्रमअन्तर्गत वडा नं १ स्थित बयरबोटे टोलमा रु चार लाख ७९ हजारको लागतमा बरबोटे सिँचाइ योजना, सोही वडाको तीनघरे टोलमा रु चार लाख १९ हजार चार सयको लागतमा तीनघरे सिँचाइ योजना र वडा नं ३ को चतुवा बेँसी टोलमा रु १२ लाख १० हजार दुई सयको लागतमा रतुवा चिण्डे ठूलो बेँसी सिँचाइ योजना मर्मतसम्भारको काम भइरहेको गाउँपालिका अध्यक्ष हेमन्त राईले जानकारी दिए ।

यसअघि नै निर्माण भएर प्राकृतिक प्रकोपका कारण क्षति भएका योजनाको मर्मतसम्भारको काम सुरु गरिएको उनले बताए। मर्मतसम्भारमा नयाँ निर्माण झैँ साझेदारी गरिएको उनले जानकारी दिए। गत वर्ष गाउँपालिकामा रु तीन करोड २६ लाख ५३ हजार तीन सय ४९ को लागतमा छ वटा सिँचाइ कूलो निर्माण सम्पन्न भइसकेका छन् । सो योजनाबाट ६६ दशमलव २३ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ ।

सिँचाइ सुविधा पुगेपछि अन्नबाली, नगदेबाली तथा तरकारी बाली उत्पादन र उत्पादकत्वमा वृद्धि हुने अपेक्षा रहेको खोँगीका उपभोक्ता अनिस सुनुवारले बताए । कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कअनुसार यस वर्ष १० हजार तीन सय ४२ हेक्टर क्षेत्रफलमा धानखेती गरिएकामा ३५ हजार ३९ मेट्रिकटन धान उत्पादन भएको छ ।

यस्तै १४ हजार आठ सय १० हेक्टर क्षेत्रमा मात्र धानखेती लगाइएको थियो । इलाममा रञ्जित, राधा ४, चुल्ठे र अन्य स्थानीय जातका धानखेती गरिन्छ । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउन कृषि क्षेत्रमा आकर्षित गरी कृषिको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने तथा कृषि क्षेत्रको व्यावसायीकरणबाट आयआर्जन बढाउने उद्देश्यले स्वीस सरकारको सहयोगमा साना सिँचाइ कार्यक्रम सञ्चालन भइरहेको छ ।

अमेरिकी तेल र ग्यास उत्पादन बढाउन राष्ट्रपति ट्रम्पको निर्देशन

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

अमेरिकी घरेलु तेल र ग्याँस उत्पादनलाई आंशिक रूपमा निर्यातको लागि नेतृत्व लिने जिम्मा दिइएको, राष्ट्रिय ऊर्जा प्रभुत्व परिषदको अध्यक्षता आन्तरिकमामिला मन्त्री डग बर्गमले गर्नेछन् ।

ट्रम्पले राष्ट्रपति कार्यालयभित्र कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा बर्गमले भने, ‘ट्रम्पले शुक्रबार एक लाइसेन्समा हस्ताक्षर गर्नुभएको छ जसले अमेरिकी राज्य लुइसियानामा कमनवेल्थ एलएनजीलाई तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) निर्यात गर्न अनुमति दिनेछ।’

नयाँ निर्देशनसँगै नयाँ अपतटीय तेल र ग्यास ड्रिलिङमा बाइडेनको निर्देशनमा प्रतिबन्ध लगाइएको लगभग ६३५ मिलियन एकड (२.५७ मिलियन वर्ग किलोमिटर) अपतटीय सङ्घीय जल क्षेत्र अब तेल र ग्यास उत्पादनको लागि खुला भएको छ ।

राष्ट्रपति ट्रम्पले भने, “यदि तपाईं यसलाई कम्पनीको दृष्टिकोणबाट हेर्नुहुन्छ भने, तपाईं नेट वर्थको पक्षमा हनुहुन्छ भन्ने बुझिन्छ । उनीहरूले हाम्रो नेटवर्थ नष्ट गरेका छन्। हामी यसलाई फिर्ता गर्दैछौँ।”

सिँचाइले सुक्खा जमिन हराभरा बन्दै

देउखुरी (दाङ) । लामो समयदेखि पानी नपर्दा हिउँदमा जमिन सुक्खा हुने र लगाएको बाली सुक्ने समयमा दाङको घोराही उपमहानगरपालिका–६ का खेतबारी हरियाली छन् । उपमहानगरपलिकाको सहयोगमा वडा कार्यालयले वडाका प्रत्येक गाउँलाई समेट्ने गरी बोरिङ र ‘स्यालो ट्युबवेल’ निर्माण गरेपछि यहाँका खेतबारी हरियाली भएका हुन् । हिउँदमा सुक्खा हुने जमिन हराभरा भएर नागरिकको आम्दानीसमेत वृद्धि भएको छ । 

घोराही–६ का श्रीधर अधिकारीले धान काटेको खेतमा तोरी छरेका छन् । उनको खेतमा आकाशे पानीको भरमा खेती हुने गरेको थियो । गत वर्षदेखि उनले बोरिङको पानीले सिँचाइ गरेर खेती गर्न थालेका छन् । उनले भने, “धान काटेपछि खेत बाँझो हुने गर्दथ्यो, सिँचाइ सुविधा थिएन, तोरी किनेर खानुपर्ने बाध्यता थियो, तर अहिले १० पाथी तोरी बिक्री गर्न पाइयो, बाह्रै महिना खेती हुने गरेको छ ।” 

पानीको सुविधा भएपछि तोरी, मकै र तरकारीखेती गरेर बाह्रै महिना हरियाली हुने गरेको उनले बताए ।  “बोरिङको उपभोक्ता समिति बनाएका छौँ, एक घण्टाको  दुई सय तिरेर सिँचाइ गर्ने गरेका छाँै”, उनले भने । 

घोराही–६ गुरगैका प्रेम चौधरीले १० कट्ठा खेतमा काउली, बन्दा र प्याजखेती गर्नुभएको छ । खेतीपातीबाटै उहाँले वार्षिक सात लाख आम्दानी गर्ने गरेको बताए । तरकारी, आलु, प्याजलगायत बिक्री गर्ने गरेको उनको भनाइ छ । उनले भने, “सिँचाइको समस्या छैन, तीन वर्षअघिसम्म खानेपानीकोसमेत समस्या हुने गरेको थियो, वडा कार्यालयले प्रत्येक टोलमा बोरिङको व्यवस्था गरेपछि खेतबारीमा सिँचाइ गरेको पानीले खानेपानीको मुहान पनि ‘चार्ज’ भएर इनार तथा कुवामा पनि प्रशस्त पानी हुने गरेको छ ।” 

घोराही–६ का वडाध्यक्ष विष्णुराम आचार्यले सिँचाइका लागि वडा भरमा १० बोरिङ र चार स्यालो ट्युबवेल सञ्चालनमा आएको बताए । उनका अनुसार एउटा बोरिङले ३० बिघा जमिन सिँचाइ गर्ने गरेको र स्यालो ट्युबवेलले चार बिघा जमिनमा सिँचाइ हुने गरेको छ ।

खेतीपाती गर्ने किसानलाई आत्मनिर्भर गराउन र बाँझो जमिन नराख्ने उद्देश्यले काम गरेको उनले बताए । “वडा नं ६ को चार सय बिघा जमिनलाई सिँचाइ सुविधा पुगेको छ”, उनले भने, “केही पानीका योजना सम्पन्न हुने क्रममा छन्, ती सम्पन्न भएपछि वडाका सबै जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।”

खार्मीका ३६ कृषकलाई आधुनिक मौरीका घार

खोटाङ । डिभिजन वन कार्यालयले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ घरका स्थानीय कृषकलाई मौरीका आधुनिक घार उपलब्ध गराएको छ । 

जलाधारमा आधारित जलवायु उत्थानशिल जीविकोपार्जन आयोजना (डिसिआरएल)सँगको सहकार्यमा सञ्चालित ‘वनमा आधारित उद्यम प्रवद्र्धन’ कार्यक्रमअन्तर्गत खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध कृषकलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको हो । 

वनमा आधारित उद्यम प्रवद्र्धनका लागि खार्मीस्थित डाँडाखर्क–खिसापत्रे सामुदायिक वन उपभोक्ता समितिमा आबद्ध कृषकलाई मौरीका आधुनिक घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका प्रमुख उदिमप्रसाद राईले जानकारी दिए ।

“खार्मीमा व्यावसायिक मौरीपालनका लागि ८० आधुनिक घार वितरण गर्ने कार्यक्रम छ, पहिलो चरणमा ७४ वटा उपलब्ध गराएका छौँ”, उनले भने, “बाँकी छ वटा केही दिनभित्रै उपलब्ध गराउछौँ, मौरीका घार प्राप्त गर्ने कृषकलाई व्यावसायिक मौरीपालनसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ ।”

व्यावसायिक मौरीपालनका लागि डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घार निःशुल्क पाएपछि खार्मीका स्थानीय कृषक उत्साहित भएका छन् ।

मौरीको खाली घार प्रतिगोटा रु पाँच हजार दुई सयका दरले खरिद गरेर खार्मीका स्थानीय उपभोक्तालाई दुई/दुई घार निःशुल्क उपलब्ध गराइएको डिभिजन वन कार्यालयका वन रक्षक विनोद गजमेरले जानकारी दिए । 

मौरीको घार निःशुल्क प्राप्त गर्ने कृषकलाई डिभिजन वन कार्यालयले झिकाएको मौरीपालक कृषक छविलाल मगरले व्यावसायिक मौरीपालनसम्बन्धी एकदिने प्रशिक्षणसमेत दिएको जनाइएको छ । डिभिजन वन कार्यालयले उपलब्ध गराएको मौरीका घार खार्मीका वडाध्यक्ष इखबहादुर राईको उपस्थितिमा वन उपभोक्ता महासङ्घ खार्मीका अध्यक्ष हर्कराज राईले कृषकलाई वितरण गरे । 

व्यावसायिक मौरीपालनसम्बन्धी विनियोजित पाँच लाख ६३ हजार बजेटबाट खरिद गरिएका ७४ घारमध्ये चारमा परीक्षणका लागि स्थानीय सेरेना जातको मौरीसमेत उपलब्ध गराइएको सवडिभिजन वन कार्यालय दिक्तेलका वन अधिकृत कुमारप्रसाद फुयाँलले जानकारी दिए । डिभिजन वन कार्यालयले उपलब्ध गराएका मौरीका आधुनिक घारमा स्थानीय सेरेना जातको मौरी राखेर व्यावसायिक रुपमा पालन गर्न सकिने प्रशिक्षक मगरले बताए ।

डिभिजन वन कार्यालयले यसअघि वडा नं १२ जालपामा गठित मधुश्री मौरीपालन तथा विषादिरहित फलफूल उत्पादक कृषक समूहमा आबद्ध १७ घरका स्थानीय उपभोक्तालाई एक÷एक घार मौरीसहितका तथा चार÷चार खाली घार उपलब्ध गराएको थियो । जालपामा उपलब्ध गराइएका घारमा पालिएका मौरीले अहिले राम्रो उत्पादन दिइरहेको कृषकले बताएका छन् । 

डिसिआरएलसँगको सहकार्यमा यस वर्ष वनमा आधारित उद्यम प्रवद्र्धन कार्यक्रमअन्तर्गत अल्लो कपडा तथा सुगन्धित तेल उत्पादनसम्बन्धी कार्यक्रमसमेत सञ्चालन भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । तीनवटै शीर्षक (मौरीपालन, अल्लो कपडा तथा सुगन्धित तेल उत्पादन)का योजनाका लागि प्रतियोजना  पाँच लाख ६३ हजारका दरले उपभोक्तालाई बजेट उपलब्ध गराएको जनाइएको छ । 

डिभिजन वन कार्यालयले डिसिआरएलसँगकै सहकार्यमा यस वर्ष जिल्लाका विभिन्न १० सामुदायिक वनमा रिचार्ज पोखरीसमेत निर्माण गरेको छ । डिभिजन वन कार्यालयले निर्माण गर्ने रिचार्ज पोखरीका लागि प्रतिपोखरी दुई लाख ५० हजार तथा डिसिआरएलले निर्माण गर्ने पोखरीका लागि  दुई लाख ३५ हजार बजेट उपलब्ध गराएको छ ।

लेवनानको राजधानी बेरुतमा नेपाली सेनामाथि आक्रमण

काठमाडौँ।  युनिफिल लेवनानमा शान्ति सेनामाथि आक्रमण भएको छ । लेवनानको राजधानी बेरुतमा शान्ति सेनाका डेपुटी फोर्स कमाण्डर नेपाली सेनाका उपरथी चोकबहादुर ढकाललगायत सुरक्षाकर्मी सवार सवारी साधनमा उत्तेजित भीडले आक्रमण गरेको हो । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका उपरथी ढकाललाई ‘यूएन लेभल–३’ अस्पतालमा पुर्याइएको थियो । अस्पतालले उनको स्वास्थ्य जोखिममुक्त रहेको जनाएको छ । उपरथी ढकाल कार्यकाल पूरा गरी स्वदेश फर्कने क्रममा थिए ।

घटनाका सम्बन्धमा युनिफिल मिसन मुख्यालयले विज्ञप्ति जारी गर्दै दक्षिणी लेवनानमा सुरक्षा र स्थिरता स्थापना गर्न सेवा गरिरहेका शान्ति सैनिकमाथि भएको आक्रमणबाट स्तब्ध भएको जनाएको छ ।

शान्ति सैनिकमाथि भएको आक्रमणको निन्दा गर्दै संयुक्त राष्ट्र सङ्घले लेवनान सरकारलाई घटनाको तत्काल अनुसन्धान गरी आवश्यक कारबाहीको माग गरेको छ । 

लेवनानका प्रधानमन्त्री र लेवनिज आर्मड फोर्सले तत्काल अनुसन्धान गरी संलग्न व्यक्ति तथा समूहलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

रुपन्देहीमा गाँजा र चसेससहित सात जना पक्राउ

लुम्बिनी । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले ठूलो परिणामको  गाँजा र चरेससहित सातजना व्यक्तिलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो भैरहवाबाट खटिएको संयुक्त टोलीले २० किलोग्राम चरेश र २१ किलोग्राम गाँजासहित त्यसमा संलग्न सात जनालाई पक्राउ गरेको हो । 

प्रहरीले रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४, वडा नम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नम्बर १५ मा लागु औषध कारोबार हुँदैगरेको भन्ने गोप्य सूचनाका आधारमा लागु औषध र कारोबारमा सङ्लग्नलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख रञ्जितसिंह राठोरले जानकारी दिए । 

प्रहरीले धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने ३३ वर्षिय दीपक तामाङ, सोही स्थानका ३६ वर्षिय सुनबहादुर तामाङ, ३१ वर्षिय नक्कलबहादुर तामाङ, ४१ वर्षिय प्रेमलाल तामाङलाई पक्राउ गरेको छ ।

त्यसैगरी रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ आदर्शनगर बस्ने २५ वर्षिय जीवन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नम्बर १४ बस्ने २३ वर्षिय २३ दीलिप केवट र स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नम्बर १ बस्ने ३८ वर्षिय जीवनाथ पाण्डे रहेका छन् । प्रहरीले लागुऔषध कारोबारमा संलग्न उनीहरुको थप अनुसन्धान भइरहेको जनाएको छ ।

मन्त्री, सांसद आफैँले संसद्को रोस्ट्रममा उभिएर बोलेको कुरा त कार्यान्वयन हुँदैन, अनि भाषण मात्र गरेर के काम ?

काठमाडौं ।  प्रतिनिधिसभामा आएको दुई वर्षभयो । यो दुई वर्षको कार्यकाल मेरो लागि अत्यन्त चुनौतीपूर्ण नै रह्यो । किन भने म करिब ११ वर्ष अगाडि तेजाब आक्रमणबाट पीडित भएको व्यक्ति हुँ । त्यसपछि दुई वर्ष जति कुमारी बैंकमा काम गरेँ । मलाई पहिला राजनीतिक क्षेत्र मन पर्दैनथ्यो । मन नपराइनपराइ पनि केही नयाँ गर्नुपर्छ भन्ने उद्देश्यले राजनीतिमा आएको हो । राजनीतिमा आएपछि धेरै कुरा सिक्ने अवसर पाएँ । हिजोको दिनमा सडकमा आन्दोलन गरेर हरेक कुराको लागि आवाज उठाइरहेकी थिएँ । त्यही आवाज मैले आज सदनमा उठाइरहेको छु । सदनमा बसेर जनताको काम गर्न पाइरहेको छु । हिजो म जस्तै एसिड आक्रमणमा परेकाहरूको लागि आवाज उठाइरहेको हुन्थे भने आज सम्पूर्ण देश र जनताका लागि आवाज उठाइरहेको छु । जनताको पक्षमा कानुन निर्माणका लागि पहल गरिरहेको छु ।

संविधान जारी भएको करिब १० वर्ष भएको छ । यो १० वर्षको अवधिलाई हेर्ने हो भने संविधान पूर्ण रूपमा कार्यान्वयन भएको छ भन्ने त होइन, तर केही कार्यान्वयन भएको छ । तर जब कानुन बन्छ, त्यो कानुन व्यावहारिक रूपमा हेर्दा अदालती प्रक्रियासम्म मात्र रहन्छ । कानुन बनाउने मात्रै होइन कि सांसद भएपछि त्यसलाई कार्यान्वयन गर्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ । विसं २०७७ तिर तेजाबसम्बन्धी अध्यादेश आयो । त्यसका लागि कानुन पनि बनेको छ । कानुन बनिसकेपछि अदालती प्रक्रिया मात्रै भयो । जस्तो, ८ वर्षदेखि २० वर्षसम्म कैद भन्ने कुरा आएको थियो । अदालतले फैसला सुनायो, कैद पनि तोकियो तर पीडितले पाउनुपर्ने क्षतिपूर्ति भएन । आज पनि तेजाब खुलेआम बिक्री वितरण भइरहेको छ । तेजाब लिनका लागि हामी सामान्य परिचयपत्र वा कुनै पनि कागजात लिएर जाँदैनौँ । तर अध्यादेश र कानुनअनुसार आफ्नो परिचय नखुलाई तेजाब किन्न पाउनुहुन्न । तेजाब बेच्नेले पनि किन्ने मान्छेको पूरा विवरण लिएर मात्रै किन्न पाउँछ । कानुन यति कडा बनाइएको छ । तर कार्यान्वयन फितलो छ ।

संसद्मा जनताको सवाल अधिकतम उठाइएको छ । तर जनताको विषयवस्तु उठाएर मात्रै के नै हुन्छ र ? कानुन पनि चाहिन्छ । जनताका समस्या समाधन गर्नेतर्फ कानुनले ध्यान दिनुपर्छ । विषयवस्तु उठाउने मात्रै भन्दा पनि कार्यान्वयन हुनुपर्छ । मुलुकको सुशासन र समृद्धिको निम्ति कानुन बनाएर लागू गर्नुपर्छ । निर्वाचनको समयमा राजनीतिक दलका नेताले जनतासमक्ष जुन प्रतिबद्धता जनाएका हुन्छन्, अधिकांश अवस्थामा त्यसको कार्यान्वयन भएकै हुँदैन । केही समयअघि सरकारले नेपाललाई डिजिटल नेपाल बनाउने भनेको थियो । तर आज पनि बैंकबाट रकम ट्रान्सफर गर्दा ११-१२ रूपैयाँ काटेको हुन्छ । मन्त्री, सांसद आफैँले संसद्को रोस्ट्रममा उभिएर बोलेको कुरा कार्यान्वयन हुँदैन । त्यसैले मुलुकलाई सुशासन दिँदै समृद्धितर्फ लैजाने हो भने राजनीतिक दलका नेताले भाषण मात्रै गरेर हुँदैन । कार्यान्वयन मुख्य कुरा हो ।

युवालाई रोजगारीको कुरा गर्दा मैले पटकपटक संसद्मा हेटौँडा सिमेन्ट उद्योग सञ्चालन गर्नका लागि कुरा उठाउँदै आएकी छु । यो उद्योग बन्द भएको छ महिना भयो । देशमा चल्दाचल्दै बन्द भएका धेरै उद्योगहरू अहिले पनि बन्द भएका छन् । ती उद्योगलाई सरकारले फेरि सञ्चालन गरेर युवालाई रोजगारीको व्यवस्था गर्नुपर्छ । निजी उद्योगहरू चलि नै रहेका छन् । तर सरकारले सञ्चालन गरेका उद्योग किन बन्द भइरहेका छन् ? त्यसबारेमा सरकारले समीक्षा गरेर अगाडि बढ्नुपर्छ । सरकारहरूले नै भएका कलकारखाना र उद्योगहरू बन्द गरेर युवालाई विदेश जान बाध्य बनाउँदै छन् । एकातिर सरकारले युवालाई रोजगारी दिन्छौँ भनिरहेको हुन्छ, अर्कोतिर भएका उद्योगहरू धमाधम बन्द गर्दै गएको पाइन्छ । यसरी त युवालाई रोजगारी दिन सकिँदैन, देशभित्रै युवालाई राख्न सकिन्न । रोजगारीका लागि सरकारले उत्पादनमा जोड दिनुपर्छ । हेटौँडा कपडा उद्योग, रबर उद्योग, नेपालको गलैँचा विश्वमै प्रसिद्ध छ । रोजगारी सिर्जना गर्न गाह्रो छैन । तर सरकारसँग गर्ने तत्परता छैन ।

मैले केही समय अगाडि जलनसम्बन्धी गैरसरकारी विधेयक संसद्मा दर्ता गरेकी छु । त्योभन्दा पछि सरकारले ल्याएको विधेयक प्रतिनिधिसभामा लगिएको छ । जलनसम्बन्धी विधेयकका लागि मैले मात्र आवाज उठाएर हुँदैन । सबैले आवाज उठाउन जरूरी छ । जलनसम्बन्धी विधेयक अतिआवश्यक विधेयक हो । यसलाई ल्याउनका लागि देशका सचेत नागरिकले सकारात्मक दबाब दिन जरूरी छ । केही दिन अघि काठमाडौँकै एक पसलमा आगलागी हुँदा ११ जना मानिस घाइते भएका छन् । दुई जनाको निधन भयो । त्यतिमात्रै होइन विभिन्न समयमा गर्मी वा जाडोको बेलामा मानिस जलनमा परेका हुन्छन ।

नेपालको तथ्याङ्क हेर्ने हो भने बर्सेनि ६० देखि ६५ हजार मानिस जलनको समस्यामा परेका छन् । उहाँहरूलाई न कुनै उपचार छ, न सरकारले कुनै राहत नै दिएको छ । धेरै आवाज उठिसकेपछि अहिले सरकारले सातै प्रदेशमा जलन अस्पताल बनाउने निर्णय गरेको छ । तर कार्यान्वयन हुन्छ वा हुँदैन भन्ने मात्रै हो । नेपालको जुनसुकै ठाउँमा जलन भए पनि आउने भनेको काठमाडौँको कीर्तिपुर अस्पताल नै हो । तर त्यहाँ पनि पर्याप्त बेड छैन ।

(राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य विन्दबासिनी कंसाकार प्रतिनिधिसभाको सांसद हुन् । १० वर्ष अगाडि ९ वैशाख २०७० मा उनीमाथि तेजाब (एसिड) आक्रमण भएको थियो । उनले मकवानपुर जिल्लाबाट संसद्मा प्रतिनिधित्व गर्छिन् ।)

कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट

चितवन । कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको नतिजामा देशभरिका अन्य छ महानगरपालिकालाई उछिन्दै भरतपुर उत्कृष्ट भएको हो ।

यो आर्थिक वर्षसहित भरतपुर महानगर लगातार तीन वर्षसम्म उत्कृष्ट भएको छ । महानगरका उपनिर्देशक जगन्नाथ अर्यालका अनुसार आगामी आर्थिक वर्ष २०८२–०८३ मा सङ्घीय सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदान (कार्यसम्पादनमा आधारित) अनुदान वृद्धि भएर जानेछ ।

आयोगले विभिन्न १७ वटा सूचकको आधारमा मूल्याङ्कन गर्दा महानगरपालिका अगाडि आएको हो । ती सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ ।

समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएकोलगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा अङ्क प्राप्त गर्ने प्रावधान छ ।

अर्यालका अनुसार भरतपुर महानगरले ७६ दशमलव २ प्रतिशत, विराटनगर महानगरले ७३ दशमलव ५ प्रतिशत, ललितपुर महानगरले ६६ दशमलव ७ प्रतिशत, काठमाडौँ महानगरले ५४ दशमलव ३ प्रतिशत, पोखरा महानगरले ५१ दशमलव ५ प्रतिशत र वीरगञ्ज महानगरले ४३ दशमलव १ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

चितवन जिल्लाका सात पालिकामध्ये पनि भरतपुर महानगर पहिलो स्थानमा छ । महानगरले ७६ दशमलव २९ प्रतिशत अङ्क पाउँदा ईच्छाकामना गाँउपालिकाले ७२ प्रतिशत, रत्ननगर नगरपालिकाले ७० दशमलव १ प्रतिशत, माडी नगरपालिकाले ६९ दशमलव १ प्रतिशत, खैरहनी नगरपालिकाले ६६ दशमलव ८ प्रतिशत, कालिका नगरपालिकाले ६४ दशमलव ३ प्रतिशत र राप्तीले ४३ दशमलव ३ प्रतिशत अङ्क प्राप्त गरेका छन् ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले देशभरका सात सय ५३ पालिकामध्ये भरतपुर महानगरले सहरी पूर्वाधार, खेलकुद, न्यायिक समितिमार्फत मुद्दा फछ्र्योटलगायतका विषयमा सधैँ उत्कृष्ट बन्दै आइरहेको दाबी गरिन् । महानगरलाई उत्कृष्ट सावित गर्न खटिने जनप्रतिनिधि एवं कर्मचारी परिवारलाई धन्यवाद दिँदै उनले आम महानगरवासीको लागि यो गौरवको विषय भएको बताइन् ।

पर्सामा बाघको निगरानी गर्न क्यामेरा ‘ट्रयापिङ’

वीरगञ्ज । पर्सा जिल्लाको साझेदारी वनमा बाघको निगरानी गर्न अत्याधुनिक क्यामेरा ट्रयापिङ गरिएको छ । जिल्लाको साझेदारी वनबाट बस्तीमा बाघको गतिविधि बढेसँगै बाघको गतिविधि नियाल्नका लागि क्यामेरा ट्रयापिङ गर्न लागिएको हो ।डिभिजन वन कार्यालय पर्साका डिभिजन वन अधिकृत मञ्जुर अहमदले पर्सा जिल्लाको साझेदारी वनमा बाघको गणना गर्नका लागि विभिन्न १२ स्थानमा क्यामेरा ट्रयापिङ गर्न थालेको जानकारी दिए ।

‘माघ २९ गतेदेखि पर्साको विभिन्न साझेदारी वनमा पनि बाघको गणनाका लागि क्यामेरा ट्रयापिङ सुरूआत गरेका छौँ । यसले सामुदायिक वनमा बाघ, चितुवालगायतका जङ्गली जनावरको गतिविधि अध्ययन र अनुसन्धानका लागि उपयोगी हुने अपेक्षा राखेका छौं’, उनले भने, ‘राष्ट्रिय निकुञ्जभित्र क्यामेरा ट्रयापिङ सामान्यजस्तै भए पनि साझेदारी वनमा भने जिल्लामै पहिलोपटक जडान गरिएको हो ।’

पर्सा जिल्लामा सबैया, बढनिहार र मानवा सवडिभिजन कार्यालय मातहतका क्षेत्रमा तीन–तीन वटा क्यामेरा क्यामेरा ट्रयापिङ जडान गर्न लागिएको हो । त्यस्तै रङ्गपुर, भतौडामा पनि एक–एक र अन्य एक ठाउँमा पनि क्यामेरा ट्रयापिङ जडान कार्य भइरहेको छ । क्यामेरा ट्रयापिङले २४ औँ घण्टा बाघलगायतका जङ्गली जनावरको गतिविधिलाई फोटो खिच्नेछ । सो क्यामेराको दैनिक १६ जिपीको क्षमताको तस्बिर खिच्न सक्ने क्षमता रहेको छ ।

रङ्गपुर सबडिभिजन कार्यालयका फरेष्टर पुरूषोत्तमप्रसाद पटेलले क्यामेरा ट्रयापिङले बाघ, चितुवालगायतको गतिविधि विश्लेषण गर्न पनि मद्दत पुर्‍याउने विश्वास व्यक्त गरे । डब्लुडब्लुएफको सहयोगमा सो क्यामेरा जडान गरिएको हो ।

धनी हुनु भनेको ‘हामी’बाट ‘म’ हुनु रहेछ !

नारायण गाउँले ।
धेरै नपढेको र जागीर नखानुभएको हजुरबुबा–आमाले बनाउनुभएको घर ‘पक्की’ थिएन तर त्यहाँ दश पन्ध्रजना पाहुना आउँदा बस्ने ठाउँ थियो । गाउँभरका आफन्त र इष्टमित्र जम्मा हुँदा पनि त्यहाँ अटिन्थ्यो । चियादेखि एक छाक खाना ‘क्याटरिङ्’बाट अर्डर गर्न पर्दैनथ्यो । व्रतबन्धदेखि विवाहसम्मका पूजाआजा र भोजभतेर पनि त्यही घरले धान्थ्यो । त्यहाँ हुर्किने नातिनातिनालाई खेल्ने ठाउँ थियो । बिस्कुन सुकाउने आँगन र तरकारी लगाउने करेसाबारी थियो ।

घरमा सटर थिएन । आधा घर भाडामा थिएन । दाजुभाइका छोराछोरी या भान्जाभान्जी आउँदा महिनौंसम्म अटाउन सक्ने ठूलो छाती थियो त्यस्तो घरसँग । स्टोरेजको कुरो छोड्नुस्, आठदश जना केटाकेटीले लुकामारी खेल्न पुग्ने ठाउँ थियो । र सबैभन्दा ठूलो कुरा ‘मोर्गेज’ अर्थात् ब्याङ्कलाई बुझाउनपर्ने मासिक किस्ताबाट अपरिचित थियो त्यो । जे थियो आफ्नो थियो । चाडबाड आउँदा, पूजाआजा हुँदा कमेरो र रातो माटोको जोड़ले घर नयाँजस्तै देखिन्थ्यो !

अदुवा, बेसार, खुर्सानी, अमिलो, साग र काउली आफ्नै बारीमा फल्थ्यो । आफ्नै खेतबारीको धान, मकै, कोदो र फापरको छाक पाक्थ्यो ! सिजनका फलफूल हातैले टिपेर खाइन्थ्यो । दूध, दही, मोही, नौनी, घिउदेखि तरकारीबारीलाई चाहिने प्राङ्गारिक मलसम्म आफ्नै गोठबाट आउँथ्यो !

छोराको बिहे गर्दा, नातिनातिनालाई उच्च शिक्षा या विदेश पठाउँदा अथवा कुनै असाध्य रोगको शहर पसेर उपचार गर्नुपर्दाबाहेक हजुरबुबाले कसैसँग ऋण माग्न परेन । अँ, साधनको नाममा पछिल्लो समय घरमा साइकल थियो । त्यसले गाउँका धेरै मान्छेलाई पछाडिको सिटमा राखेर बजार  पुर्यायो होला । कतिको सामान बोकेर घरसम्म पुर्याइदियो  होला । कति बिरामी हुँदा एम्बुलेन्स बनेर त्यो स्वास्थ चौकी या गाड़ी पाइने ठाउँसम्म पुग्यो होला । एउटा साइकलमा कति नै रस होला र, तर त्यसले अलिअलि धेरैलाई भिजाएको थियो ।

त्यो घरको सबैभन्दा ठूलो विशेषता भनेको चाहिँ त्यहाँ तीन पुस्ता अटाउनु थियो र सबै सँगै हुनु थियो । साँझ भात पस्किँदा भान्सा एक्लो कहिल्यै हुँदैनथ्यो । सबै जना जम्मा नभई भान्सा खुल्दैनथ्यो ।
मलाई त्यो जीवन गरिब जीवन हो भन्ने कताबाट लाग्यो कुन्नि, धनी बन्न म शहर पसेँ । डिग्रीसम्म पढेँ । शहरमा आधा जीवन त एक्लो कोठा या कोठासमूहको फ्ल्याटमा बित्यो । त्यहाँ मेरो आफ्नै खुट्टा फैलाउन पुग्ने ठाउँ थिएन, मैलाई पेट भर्न सजिलो थिएन । आफन्त र इष्टमित्र एक हप्तालाई आउँदा मसँग कहाँको ‘स्पेस’ होस् । न त्यहाँ केही उब्जन्थ्यो, न पाइतालाले माटो छुन पाउँथ्यो । खै कस्तो खाले सम्पन्नता थियो त्यो, त्यहाँ भान्सा प्रायः जसो एक्लो हुन्थ्यो । चिसो हुन्थ्यो ।

शहरबाट म अझै धनी बन्न विदेश पसेँ । कमाएँ । आज दुई–तीन बेडरूमको घर भयो । मैले छोडेर आएको गरिब घरमा कहिले काहीँ फर्केला भनेर सबैभन्दा राम्रो कोठामा अझै ताला लागेको छ । खाली छ त्यो । तर मैले आजीवन डिग्री घोटेर कमाएको धनी घरमा हजुरबुबा या बुबाआमा आउनुभयो भने कहाँ सुताउने होला भनेर घरसल्लाह गर्न पर्छ । दश जना इष्टमित्र आउने हो भने मेरो घरले स्वागत गर्न सक्दैन । मेरो पनि के भन्नु र । ब्याङ्कको नियमित किस्ता बुझाउनुपर्छ । बुझाउन ‘एक्स्ट्रा’ काम गर्नुपर्छ । कामै काम गरेपछि सँगै भन्ने भएन । घरभरि तीन पुस्ताको आवाज त के हुन्थ्यो र, फोटो मात्रै छ । कतिबेला त त्यही फोटो पनि राख्न भ्याइन्न । आफ्नो राखे पुगिहाल्यो नि ! फोहोर फाल्ने ठाउँ त छैन, केही फल्ने र टिपेर खाने कुरो परको भयो । साइकलको ठाउँमा गाडी त छ तर त्यसको रस मैंबाहेक अरूलाई पुगेको छैन । त्यो पनि अरू कुरा जस्तै ब्याङ्कको ऋणमैँ छ ।

त्यो घरमा हुँदा कोही कहिल्यै एक्लै अस्पताल गएन । म स्वास्थ्यचौकी जाँदा सिङ्गो परिवार पछिपछि थियो । आज हजुरबुबा अस्पताल जाँदा मसँग समय छैन । हजुरबुबा हुनुको रस सिङ्गो गाउँमा थियो । त्यसको दुःखसुखमा थियो । म हुनुको रस मैलाई मात्रै छ । हजुरबुबासँग मावली, बुढो मावली, फूपू, सानोबा, सानीआमा, दाजुभाइ, जेठान, साली, ससुराली, भान्जाभान्जी, नातिनातिना, गुरु, शिष्य, इष्टमित्र र छरछिमेकको ठूलो संसार थियो । मसँग एकदुई थान नयाँ अङ्कल र सरहरू मात्रै छन् ।हजुरबुबाको त्यो गरिबी र आजको मेरो सम्पन्नता हेरेर के लाग्यो भने, धनी हुनु भनेको हामीबाट ‘म’ हुनु रहेछ । राम्रो म ! के हाम्रो हजुरबुबा साँच्चिकै गरिब हुनुहुन्थ्यो ? के तपाईं साँच्चिकै सम्पन्न हुनुहुन्छ ? के घर पनि पक्की र कच्ची हुन्छ र ?

कोशी प्रदेश प्रिमियर लिगको सुपर लिग समीकरण पूरा

धरान । धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग समीरण पूरा भएको छ । प्रदेशका ११ जिल्लाका च्याम्पियन क्लबबीच भएको समूह चरणको लिगमा समूह विजेता टिम सुपर लिग (अन्तिम चार) मा प्रवेश गरेका छन् । 

समूह ‘ए’ बाट पाँचथर युनाइटेड, ‘बि’ बाट उदयपुरको गाईघाट फुटबल क्लब, ‘सि’ बाट धनकुटाको देउराली युथ क्लब र समूह ‘डि’ बाट खोटाङको बुइपा–११ क्लब सुपर लिगमा प्रवेश गरेका हुन् ।

शुक्रबार धरान रङ्गशालामा भएको खेलमा धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समुह विजेता बनेको हो । यसअघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी तीन अङ्क बटुल्न सफल भएको थियोे ।

कूल चार अङ्क भएको बुइपा समूह विजेता हुँदा धरान फुटबल क्लबले एक अङ्क र प्रगतिशीलले भने कुनै अङ्क जोड्न सकेन । बुइपाका लागि डिकेन राई र मिलन राईले गोल गरेका थिए । एक गोल र एक असिस्ट गरेका बुइपाका डिकेन आजको खेलको म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

समूह ‘सि’ अन्तर्गत आज भएको अन्तिम खेलमा इलामको रेडहर्ष क्लब र झापाको धाइजन क्लबको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेल बराबरीमा सकिएपछि दुवै समूह सुपर लिगबाट बाहिर भएका हुन् । धाइजनका लागि सागर रसाइली र पुजन थापाले गोल गरेका थिए भने रेडहर्षका लागि विनोद धमला र साँगे शेर्पाले गोल गरे । रेडहर्षका विनोद धमला म्यान अफ दी म्याच घोषित हुँदै नगद रु पाँच हजार पुरस्कार प्रदान गरिएको छ ।

फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत लिगको विजेता र उपविजेता समूह राष्ट्रिय लिगको छनोटका लागि हुने अन्तरप्रादेशिक लिग खेल्नेछन् । लिग विजेताले  दुई लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले  एक लाख ५० हजार, तेस्रो हुनेले रु एक लाख २५ हजार र चौथो हुने समूहले एक लाख नगद पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

अन्तर पालिकास्तरीय महिला फुटबलमा कन्काई विजयी

झापा । झापाको विर्तामोडस्थित डोमालाल रङ्गशालामा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कन्काई नगरपालिका विजयी बनेको छ । शुक्रबार भएको पहिलो सेमिफाइनलमा मेचीनगर नगरपालिकालाई सडनडेथमा ४–३ गोलले पराजित गर्दै कन्काई विजयी बनेसँगै फाइनल पुगेको हो ।

निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरतर्फ धकेलिएको थियो । टाइब्रेकरमा पनि २–२ गोलको बराबरी भएपछि नतिजा सडन डेथमार्फत निकालिएको हो ।

कन्काइका लागि एलेक्स चौधरी, वर्षा मगर, सुशीला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

खेलको प्लेयर अफ दी म्याच कन्काइकी सुशीला चौधरी घोषित हुँदै नगद रु  पाँच हजार पाउन सफल भइन् । शनिबार अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।

फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद तीन लाखसहित आकर्षक ट्रफी पाउने छ । उपविजेताले नगद  एक लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।

दीपेन्द्र शिखर इलामले जित्यो पवित्रहाङमा गोल्डकपको उपाधि

फिक्कल (इलाम) । दीपेन्द्र शिखर फुटबल क्लब इलामले जिल्लाको माङसेबुङ गाउँपालिकामा सञ्चालित १५औँ संस्करणको पवित्रहाङमा गोल्डकप महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

शुक्रबार प्रस्तावित आत्मानन्द रङ्शालामा भएको फाइनल खेलमा कनकाई नगरपालिका झापालाई १–० गोलको अन्तरमा रोक्दै दीपेन्द्र शिखरले उपाधि जितेको हो । सोस्तिमा विश्वकर्माले खेलको ४५औँ मिनेटमा गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक बनेको थियो ।

सुरुवाती अग्रतासँगै रक्षात्मक खेल खेलेको दीपेन्द्र शिखर उपाधि पाउन सफल भयो । उता कनकाईले खेलको उत्तरार्धमा पाएको केही अवसरलाई सदुपयोग गर्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो ।

उपाधिसँगै विजेता दीपेन्द्र शिखरले नगद  तीन लाख एक सय ६९ सहित ट्रफी हात पार्यो । उपविजेता बनेको कनकाईले नगद दुई लाख एक सय ६९ मा चित्त बुझायो ।

फाइनल खेलको उत्कृष्ट खेलाडी विजेता दीपेन्द्र शिखरकी सोस्तिमा विश्वकर्मा घोषित हुँदै नगद  पाँच हजार ६९ प्राप्त गरिन् । प्रतियोगिताको उत्कृष्ट गोलकिपर विजेता दीपेन्द्र शिखरकी झरना नरकोटी, उत्कृष्ट डिफेन्डर दीपेन्द्र शिखरकी सजिना कोइराला, उदयीमान खेलाडी ताप्लेजुङ फुटबल सङ्घकी प्रजिता राई र सर्वाधिक गोलकर्ता उपविजेता कनकाईकी समीक्षा मगर (५ गोल) घोषित भइन् ।

उनीहरूले जनही नगद पाँच हजार ६९ प्राप्त गरेका आयोजक आत्मा–पवित्र खेलकुद समिति अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए । विजेता र उपविजेता टिम र खेलाडीलाई माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङले पुरस्कार हस्तान्तरण गरे ।

स्थानीय धर्मगुरु आत्मानन्द लिङ्देन पत्नी पवित्रहाङमा साँवा (लिङदेन) को ६९औँ जन्मोत्सवको अवसरमा माघ २५ गतेदेखि सञ्चालित प्रतियोगितामा इलाम, पाँचथर, ताप्लेजुङ, झापा, मोरङ र भारत दार्जिलिङका गरी ८ महिला टोलिको सहभागिता थियो ।

मधेसको कथामा चलचित्र ‘राजागंज’

धनुषाधाम । चर्चित निर्देशक, लेखक तथा निर्माता दीपक रौनियारको नयाँ फिल्म ‘राजागंज’ आगामी चैत १ गतेदेखि प्रदर्शनको तयारीमा छ ।

प्रणय दिवसका अवसर पारेर चलचित्रका दुईवटा पोस्टर निर्माण पक्षले शुक्रबार सार्वजनिक गरेको छ । राजागंज निर्माण पक्षका अनुसार यो पहिलो नेपाली चलचित्र हो, जसमा मधेसको कथा, व्यथा र आन्दोलनलाई प्रमुख विषयवस्तु बनाइएको छ ।

चलचित्रमा मधेसकै पात्रहरुको बाहूल्यता देखिन्छन् । प्रमुख पात्रहरूकै रूपमा इन्द्रकुमार मधेसानन्द र सरोज मास (सरोज मिश्र)ले अभिनय गरेका छन् । 

त्यसैगरी पत्रकार घनश्याम मिश्र र आरती मण्डलले पनि उक्त चलचित्रमा अभिनय गरेका छन् । नेपाल पत्रकार महासङ्घका निवर्तमान केन्द्रीय सदस्य रिङ्कु मिश्र एक नेतृको भूमिकामा चलचित्रमा देख्न पाइने जनाइएको छ । उनकी छोरी अतिथि प्रियाले पनि बाल कलाकारको रूपमा अभिनय गरेका छन् ।

चलचित्रका प्रमुख पात्रका रुपमा चर्चित अभिनेता दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पूर्वमिस नेपाल निकिता चण्डक, पशुपति राई तथा जनकपुरका ख्यातिप्राप्त रङ्गकर्मी मदन ठाकुर र परमेश्वर झाले समेत अभिनय गरेका छन् ।

निर्देशक रौनियारले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ जस्ता चलचित्र निर्देशन गरिसकेका छन् । निर्देशक रौनियारका अनुसार यो चलचित्र मधेसको मात्र कथा नभएर सम्पूर्ण नेपाली समाजको ऐना हो ।

उनले भने,“फिल्ममा हामीले मधेस आन्दोलनको पृष्ठभूमि मात्र होइन, त्यहाँका जनताको मनोविज्ञान, सांस्कृतिक विविधता र महिलाका चुनौतीलाई यथार्थपरक रूपमा प्रस्तुत गरेका छौँ ।”

निर्देशक रौनियारले यो फिल्म मधेस र पहाडबीचको पुल बन्ने विश्वास व्यक्त गरे । नेपाली चलचित्रमा महिलालाई जहिल्यै सहायक पात्रमा देखाइने परिपाटी तोड्दै, मुख्य भूमिकामा प्रस्तुत गरिएको छ । अभिनेत्री रिचा शर्माले सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोमा भनेका छन्, “यो त ‘राजागंज’ नभएर ‘रानीगंज’ हुनुपर्ने हो ।”

नेपालमा सार्वजनिक प्रदर्शन हुनुअघि ‘पूजा सर’ नामबाट राजागंजले महिला सशक्तीकरणको सन्देशसहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा सहभागिता जनाइसकेको छ ।

फागुन १४ देखि लुम्बिनीमा प्रवज्या र अन्तर्राष्ट्रिय त्रिपिटक पाठ हुने

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीमा प्रत्येक वर्ष हुने कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) कार्यक्रम र चौथौ लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह यही फागुन १४ गतेदेखि हुनेभएको छ ।

अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घ र लुम्बिनी विकास कोषको संयुक्त आयोजनामा यही फागनु १४ गतेदेखि चैत ३ गतेसम्म पाँच सय जनाको बृहत् श्रामणेर कुलपुत्र प्रवज्या (अल्पकालीन भिक्षु) हुने जनाइएको छ ।

यसैगरी अखिल नेपाल भिक्षु महासङ्घको आयोजनामा यही फागुन २० देखि २५ गतेसम्म चौथो लुम्बिनी अन्तरराष्ट्रिय त्रिपिटक पाठ समारोह हुनेछ ।

त्रिपिटक वाचन समारोहमा महास्थविर, भिक्षु भिक्षुणी, उपासक–उपासिकासहित अल्पकालीन श्रामणेरहरुको सहभागिता रहने आयोजकले जनाएको छ । चौथो अन्तरराष्ट्रिय त्रिपिटक पाठमा सुत्रपिटक, विनयपिटक, अभिधर्मपिटकको देशना गरिने आयोजकको भनाइ छ ।

गत वर्षझैँ यसवर्ष पनि दुई ठूला कार्यक्रम हुन लागेको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनले फागुन १४ देखि चैत ३ गतेसम्म हुने कार्यक्रमबाट बुद्धका उपदेशहरुलाई व्यवहारिक रुपमा ग्रहण गर्न पाउने भएकाले यसबाट लाभ लिन आग्रह गरे ।

यसैगरी फागुन १४ गतेसम्म अल्पकालीन भिक्षु बन्न चाहनेहरुले नाम दर्ता गराउन सक्ने अखिल नेपाल भिक्षु महासङ्घले जनाएको छ ।

भिक्षु तेछावरले पाँच सय जनाको प्रवज्या कुलपुत्रको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । भगवान बुद्धको शिक्षा अनुसरण गर्ने पवित्र प्रवज्यामा सहभागी भएर लाभ लिन  विशेष गरी स्थानीयलाई भिक्षु तेछावरको आग्रह छ ।

बुद्धका उपदेशलाई व्यवहारमा पालना गर्न प्रवज्या कुलपुत्र कार्यक्रम राखिएको हो । यही फागनु २० गते प्रवज्या, २२ गते लुम्बिनी हलमा भिक्षाटन, २४ गते दीप प्रज्ज्वलन, चैत २ गते देवदह, बुटवल, रामग्रामसम्म धम्मयात्रा गराइ चैत ३ गते प्रमाणपत्र वितरण गरी समापन गर्ने गरी कार्यतालिका छ । प्रमाणपत्र वितरणपछि चैत ४ र ५ गते विभिन्न नगरमा भिक्षाटन गराइने आयोजकले जनाएका छन् ।

कार्यसम्पादनमा सुदूरपश्चिम उत्कृष्ट, मधेस कमजोर

काठमाडौँ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा प्रदेश र स्थानीय तहले गरेका कार्यसम्पादनलाई विभिन्न सूचकका आधारमा मूल्यांकन गरी अंक प्रदान गरिएको आयोगले जनाएको छ।

आयोगले सार्वजनिक गरेको नतिजाअनुसार कार्यसम्पादन मूल्यांकनमा सबैभन्दा बढी अंक सुदूरपश्चिम प्रदेशले पाएको छ। सुदूरपश्चिमको ५१.६ अंक छ। त्यसैगरी, कोशीले ५०.९, बागमतीले ४५.६, कर्णालीले ४१.६, गण्डकीले ४०.८ र लुम्बिनीले ३५.९ अंक प्राप्त गरेको छ। कार्यसम्पादनमा सबैभन्दा कमजोर मधेस प्रदेश देखिएको छ। मधेस प्रदेशले ३० अंकमात्र पाएको छ।

आयोगले प्रदेशहरूलाई विभिन्न १९ वटा सूचकका आधारमा कार्यसम्पादनको अंक दिएको हो। जसमा लेखापरीक्षण भएको रकम, कायम भएको बेरुजु, प्रदेशले स्थानीय तहलाई सशर्त अनुदान उपलब्ध गराए÷नगराएको अवस्था, सवारीसाधन करबापत रकम सम्बन्धित स्थानीय सरकारको सञ्चित कोषमा दाखिला गरे/नगरेकोलगायत विषय छन्।

वार्षिक बजेट विनियोज तथा खर्चको स्थिति, पुँजीगत बजेट र त्यसको खर्च, राजस्व संकलनको अवस्था, स्थानीय तहलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान, तोकिएको समयमा वार्षिक बजेट समीक्षा, प्रदेशको वायुको गुणस्तर, समुदायमा आधारित वन व्यवस्थापनलगायत सूचक तयार पारी मूल्यांकन गरिएको आयोगले जनाएको छ।

सबै प्रदेशले सूचक–२ मा शून्य अंक पाएको आयोगले जनाएको छ। यो सूचकमा प्रदेश र स्थानीय तहलाई प्रदेश कानुनबमोजिम आयोगले तोकेको आधारमा सशर्त अनुदान प्रदान गरे÷नगरेको विषय उल्लेख छ।

आयोगले यही कार्यसम्पादनका आधारमा प्रदेश र स्थानीय तहका लागि राजस्व बाँडफाँट, वित्तीय समानीकरण अनुदान तथा रोयल्टी बाँडफाँट, सशर्त अनुदानको आधार एवं आन्तरिक ऋणको सीमा निर्धारण गर्ने गर्छ। कार्यसम्पादन चित्त नबुझेमा एक हप्ताभित्र पुनरावलोकनका लागि निवेदन दिन पनि आयोगले आग्रह गरेको छ।

स्थानीय तहहरूमा भने स्याङ्जाको कालीगण्डकी गाउँपालिका, धादिङको नेत्रावती डबजोङ गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकालगायत कार्यसम्पादन उत्कृष्ट देखिएका छन्।

स्वर्गद्वारी गुठी किसानहरूको समस्या समाधानका लागि कानुन बनाउन संसदीय समितिको निर्देशन

काठमाडौँ । स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा समस्या समाधानका लागि आवश्यक कानुनी व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । 

शुक्रबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले गर्न वास्तविक किसान पहिचान गरी उनीहरूले जग्गाधनी प्रमाणपत्र प्राप्त गर्ने गरी व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको हो ।

सभापति कुसुमदेवी थापाले स्वर्गद्वारी गुठी किसानहरूलाई जग्गाधनी प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कानुनी व्यवस्थाका लागि गुठी संस्थानसहितको आवश्यक समन्वयमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिइएको बताइन् । उनले भनिन्, “स्वर्गद्वारी गुठी किसानहरूको वास्तविक पहिचानका आधारमा जग्गाधनी प्रमाणपत्र प्राप्त गर्न आवश्यक पर्ने कानुन तर्जुमा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन छ ।”

समितिले यस सम्बन्धमा परेका समस्या र विशेष कार्यप्रगति फागुन महिनाभित्र संसदीय समितिलाई जानकारी गराउनसमेत निर्देशन दिएको छ ।

कुनै पनि विकल्प प्रयोग गरेर अध्यादेश पारित गर्छौंः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सरकारले ल्याएका अध्यादेश कसैले विरोध गर्दैमा नरोकिने बताएका छन् ।

एमाले विज्ञान तथा प्रविधि विभागले शुक्रबार आयोजना गरेको ‘नेपालका लागि सूचना प्रविधिमा आधारित उद्यमशीलताः आर्थिक समृद्धिको नयाँ बाटो’ विषयक अन्तरक्रियामा पोखरेलले मुलुकमा सुशासनका लागि अध्यादेश ल्याइएको भन्दै कसैले  विरोध गर्दैमा नरोकिन जिकिर गरे । 

महासचिव पोखरेलले हरेक विषयको विकल्प हुने र अध्यादेश पारित गर्न पनि उपयुक्त विकल्प प्रयोग गरिने बताए ।

‘अध्यादेशको विरोध गर्दैमा त्यो कोसिस असफल हुन्छ भन्ने नठाने हुन्छ किनकि प्रमुख पार्टीले सोचेरै यो काम गरिएको हो । त्यस अर्थमा विधेयकलाई जसरी पनि टुग्याउँछौँ’, उनले भने, ‘कसैले विरोध गर्दैमा विधेयक रोकिनेवाला छैन । कुनै पनि विकल्प प्रयोग गरेर त्यसलाई पारित गर्छौं ।’

सरकारले अध्यादेशका माध्यमबाट सूचना प्रविधि क्षेत्रलाई पनि सम्बोधन गरिएको भन्दै महासचिव पोखरेलले अध्यादेशमा कानुनको स्पष्ट व्याख्या गरिएकाले नियमावली आवश्यक नपर्ने र आवश्यक परे सरकारले चाँडै त्यो काम पनि अगाडि बढाउने बताए ।

‘मुलुकमा उत्पादनको सम्भावना हेरेर सूचना प्रविधिमा मात्र विदेशमा लगानी गर्न दिएको हो । सूचना प्रविधि क्षेत्रमा कानुन अभावले केही समस्या भए पार्टीमार्फत सरकारसमक्ष सुधारको प्रक्रिया अगाडि बढाउँछौँ । अध्यादेशले सुधारका लागि पहल गरेको छ’, उनले भने ।  

जनताका अधिकार खोस्न खोजे लाखौं जनतालाई सडकमा उतार्छौंः प्रचण्ड

चरिकोट । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताका अधिकार उल्ट्याउनमा केन्द्रित रहेको आरोप लगाएका छन् ।

३०औं जनयुद्ध दिवस तथा माओवादी केन्द्र जिरी नगरपालिका दोलखाको शुक्रबार तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सरकार संविधान संशोधन गर्नेमा नभई संविधान च्यात्ने काममा लागेको आरोप लगाएका हुन् ।

उनले कुनै पनि बहाना गरेर यो संविधान उल्ट्याउनेमा नै सरकारको ध्यान रहेको बताए । उनले भने, ‘मलाई सरकारबाट हटाउँदा संविधान संशोधनलाई मुख्य एजेण्डाको रुपमा अघि सारिएको थियो तर अहिले आएर प्रधानमन्त्रीले नै २०८७ मा मात्रै संविधान संशोधन हुने भन्न थालेका छन् । यसबाट उनीहरु संविधान संशोधनमा इमान्दार छैनन् भन्ने देखिन्छ ।’

उनले संविधान संशोधनका नाममा जनताका अधिकार खोस्न खोजे लाखौं जनतालाई सडकमा उतार्ने बताए । अध्यक्ष प्रचण्डले अब प्रत्यक्ष कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेण्डा अघि बढाउने बताए ।

उनले यसबाट मात्रै राजनीतिक स्थायित्व कायम हुने सबै वर्ग र समुदायले पनि थप राजनीतिक अधिकार प्राप्त गर्ने बताए ।

रोगले सुकेर उजाडिए पाल्पामा सुन्तला बगैँचा

पाल्पा ।  सुन्तलाखेतीबाट राम्रो उत्पादन लिइरहेका समाचार यत्रतत्र सुनिन्छन्। पाखो तथा बाँझो जमिनलाई सदुपयोग गर्दै सुन्तला फलाएर यसैबाट धेरैले आयआर्जनको बलियो माध्यम बनाइरहेका छन्। पाल्पामा पनि यस वर्ष सुन्तलाको उत्पादन बढेको छ।

विशेषगरी जिल्लाको पश्चिमी भेगका किसान सुन्तलाबाट मनग्य आम्दानी गर्न सफल भएका छन्। पाल्पाकै निस्दी गाउँपालिका–५ बहपुरका किसानलाई भने सुन्तलाको आम्दानी हात लाग्यो शून्य जस्तै बनेको छ।

‘यही सुन्तलाको बोटबाट कुनै वर्ष रु चार लाखसम्म आम्दानी लिए, अहिले भने बोट यिनै हुन्, आम्दानी शून्य छ,’ सुन्तला बगैँचा देखाउँदै तेजन सुनारीले आफ्नो समस्या सुनाए।

सुन्तलाखेती उहाँको परिवारको गुजारा हो। सुन्तला फलाएर आम्दानी बटुल्नु भएका सुनारीलाई अहिले केही आम्दानी नहुँदा चिन्तित छन्।

‘सुन्तला पाक्ने बेला हुन थालेपछि व्यापारी घरमै आएर किन्नुहुन्थ्यो, घरबाटै बिक्री हुन थालेपछि सजिलो भयो, आम्दानी राम्रै भइरहँदा हर्षिएर क्षेत्र विस्तार गर्दै गए, राम्रै फल दिने क्रममा बोटमा विभिन्न समस्या देखिने र एक्कासि उत्पादन घट्न थाल्यो,’ सुनारीले भने, ‘सुन्तला बेचेर आम्दानी लिइरहेको मनमा झलझली छ, के गर्नु विगत सम्झेर मनमा पीडा लुकाएर बस्नु परेको छ।’

फेदको जराको बोक्रा कुहिने, बोट पहेलिँदै जाने, बोक्रा नै नहुने, विस्तारै खानेकुरा सोस्न कम हुँदै जाँदा बोटको टुप्पोबाट सुक्दै जाने समस्या देखिएको उनले बताए।

खाद्य तत्व नपुगेपछि फल लागेता पनि दाना स्वादिलो नहुने उनले जनाए। उनको घरवरपर रहेका बगैँचामा साना ठूला गरेर एक हजार २०० बोट छन्। फल्न लाग्दा सबै बोट अनुत्पादक बनेका छन्। आम्दानीकै हिस्सा गुमेको उनी बताउँछन्।

‘उत्पादनको सुरुआती अवस्था अत्यन्तै उत्साहजनक नै थियो, पछिल्ला वर्षमा प्रकोप महामारीका कारण आम्दानी शून्य बनेको छ, प्रकोप फैलिएपछि नयाँ बिरुवा लगाएको छैन, घर वरपर, आँगनका डिल, बारीमा लटरम्म सुन्तला फल्ने हरियाली बोट अहिले रोगले सुकेर उजाडिएको छ,’ सुनारीले भने।

घरमा दुई–चार बोट घरायसी प्रयोजनका लागि लगाइने गरेकामा व्यावसायिक खेती भने सुनारीले २०६२/६३ देखि थालनी गरेका हुन्।

करिब ५० बोटबाट व्यावसायिक खेती सुरु गरेका उनले आम्दानी भने २०६७/६८ देखि लिएको बताए। सुनारीले सुन्तला बिक्रीबाट २०७४/७५ सम्म आम्दानी राम्रै लिए। त्यसयता भने क्रमिक रुपमा बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दो क्रममा रहेको उनले जानकारी दिए।

वार्षिक ‍चार लाखसम्म आम्दानी गर्न सफल सुनारी विगत तीन वर्षयता भने आम्दानीविहीन नै बनेका छन्।

सुन्तला बगैँचामा अहिले मकै, सिमी, अदुवाजस्ता बाली लगाउन थालेका छन्। कुनैबेला गाउँमा सबैभन्दा धेरै सुन्तला बेच्ने किसानका रुपमा पहिचान दिएका सुनारी अहिले घरायसी प्रयोजनका लागि उत्पादनन हुँदा सुन्तलाको पहिचान गुम्छ कि भन्ने चिन्तामा परेका छन्।

बहपुर गाउँमा १७ घरको बासोबास छ। यहाँका किसानले सुन्तलाबाट राम्रै आयआर्जन हुने सम्भावना देखेपछि व्यावसायिक रुपमा खेती गर्न थालेका हुन्। पहिला सबैका घरमा सुन्तला राम्रै उत्पादन हुन्थे भने अहिले रोग लागेपछि दुई घरमा मात्रै उत्पादन सीमित बनेको छ। यहाँ पछिल्लो पाँच वर्षयता बोटमा समस्या देखिन थालेपछि उत्पादन घट्दै गएको हो।

सडक सुविधा पुगेसँगै बजारीकरणमा सहज हुँदा सुन्तला व्यवसायमा हौसिएका किसान उत्पादन लिन नपाउँदा निराश बनेका छन्।

बहपुर गाउँमा २०७५ अघिसम्म २२५ रोपनी जमिनमा तीन हजार ६०० सुन्तलाका बोट थिए। सुन्तला पकेट कार्यक्रम लागू भएपछि अन्नबाली फल्ने बारीलाई बगैँचाका रूपमा विस्तार गरेर करिब सात हजारसम्म बोट पुर्‍याएको थियो।

त्यसमध्ये अधिकांश बोट मरिसकेका छन्। समस्याबारे विभिन्न निकायलाई जानकारी गराइएको छ। अहिलेसम्म समाधानका उपाय भने कुनै पनि निकायबाट नआउँदा व्यवसाय गर्ने कि नगर्नेमा किसान अन्यौलमा परेका छन्। अहिले बिरुवा हटाएर चार/पाँच वर्षपछि नयाँ बिरुवा लगाउने निष्कर्षमा किसान पुगेका छन्।

मलजल, सिँचाइ व्यवस्थापन नपुग्दा पछि विस्तारै खाद्य तत्वको कमीले विभिन्न समस्या देखापरेको हुनसक्ने कृषि ज्ञानकेन्द्रका प्रमुख सन्तोषलाल चौधरी बताउँछन्। यो रोग पत्ता लगाउन माटो परीक्षण नै गर्नुपर्ने उनले बताए।

‘समस्या देखिएका स्थानको माटो परीक्षण गरेर मात्रै बगैँचा सुधार गरी नयाँ बिरुवा लगाउनुपर्ने हुन्छ, त्यसका लागि कार्यालयले सम्बन्धित क्षेत्रको स्थलगत अवलोकन गरेर माटो परीक्षण शिविर राख्ने, सुन्तलाको व्यावसायिक खेती गर्न इच्छुक किसानबाट माग आएमा कार्यालयबाट निःशुल्क बिरुवा उपलब्ध गराउन सकिन्छ,’ उनले भने।

जिल्लामा यस वर्ष ५२ करोड ७६ लाख ८४ हजार बराबरको सुन्तला बिक्री भएको कृषि ज्ञानकेन्द्रले जनाएको छ।

गत वर्ष ४६ करोड सात लाख ७२ हजार बराबरको सुन्तला बिक्री भएको कार्यालयको तथ्यांक छ। ६ करोड ६९ लाख १२ हजार बराबरको रकम अघिल्लो वर्षभन्दा बढी यस वर्ष सुन्तला बिक्रीबाट जिल्लामा भित्रिएको प्रमुख चौधरी बताउँछन्।

गत वर्ष आठ हजार ८६१ मेट्रिकटन उत्पादन भएकामा यस वर्ष बढेर नौ हजार ९८ मेट्रिकटन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। अघिल्लो वर्षभन्दा यसपटक करिब ३३७ मेट्रिकटन उत्पादन बढेको पाइएको छ।

सुन्तला उत्पादनका लागि जिल्लाभित्र एक हजार १९६ हेक्टर क्षेत्रफल रहे पनि एक हजार १३० हेक्टर क्षेत्रफल उत्पादनशील क्षेत्र हो।

यहाँका १० पालिकामध्ये ६ वटा पालिकामा व्यावसायिक हिसाबले सुन्तलाखेती हुने गरेको छ। सुन्तला खेतीलाई व्यवसायीकरणमा जोड दिँदा किसानले आम्दानी राम्रो लिन थालेका छन्। सडक सुविधा तथा बजार सहज हुँदा किसानले क्षेत्रफल विस्तार गर्दै गएका छन्। अन्नबालीको तुलनामा सुन्तलाबाट धेरै आयस्रोत लिन पाइने सम्बद्ध किसान बताउँछन्।

यस वर्ष रैनादेवी छहरा गाउँपालिकामा ४५२ हेक्टर क्षेत्रफलमा तीन हजार ६३९ मेट्रिकटन, रिब्दिकोट गाउँपालिकामा ३९६ क्षेत्रफलमा तीन हजार १८४ मेट्रिकटन, बगनासकाली गाउँपालिकामा ११३ हेक्टरमा ९१० मेट्रिकटन, पूर्वखोला गाउँपालिकामा ९० हेक्टरमा ७२८ मेट्रिकटन, तानसेन नगरपालिकामा ६८ हेक्टरमा ५४६ मेट्रिकटन र माथागढी गाउँपालिकामा ११ हेक्टरमा ९१ मेट्रिकटन सुन्तला उत्पादन भएको छ।

गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु

गुल्मी । जिल्ला सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गरिएको छ । विश्व स्वास्थ्य संगठनद्वारा लुम्बिनी प्रदेशअन्तर्गतको सो अस्पतालमा पहिलो पटक उक्त अभिलेख प्रणाली सुरु गरिएको हो ।

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु भएसँगै अस्पतालबाट उपलब्ध हुने सबै प्रकारका सेवा डिजिटल प्रविधिका माध्यममा स्पष्ट देखिने भएको छ । विश्व स्वास्थ्य संगठन नेपालका डा एलीसन गोकोटना र लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले गुल्मी अस्पताललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

विद्युतीय चिकित्सा अभिलेख प्रणाली सुरु गर्दै विश्व स्वास्थ्य संगठन नेपालका डा. गोकोटनाले यो सेवाबाट नागरिकलाई धेरै सहजता पुर्‍याउने भन्दै जिल्लावासीले यसको अधिकतम प्रयोग गरेर सेवा लिन आग्रह गरे । यस अभिलेख प्रणालीबाट बिलिङ, टिकटिङ, डाक्टरको उपलब्धता, औषधिलगायत विवरण अभिलेख प्रणालीमार्फत जानकारी पाउन सकिने अस्पतालका निमित्त कार्यालय प्रमुख वैभव बस्यालले जानकारी दिए । यसबाट बिरामीलाई विगतदेखि वर्तमानसम्मका विवरण सहजै रूपमा उपलब्ध हुने बताइएको छ ।

विद्युतीय चिकित्सा अभिलेख प्रणालीको शुभारम्भ गर्दै लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले यो सेवा सञ्चालन भएसँगै बिरामीलाई कागजी प्रक्रियाको झन्झट नहुने बताए । उनले स्वास्थ्य मन्त्रालय मातहतमा रहेका सबै सवारी साधनमा जिपिएस जडान गर्ने, शुल्कसहितको नागरिक बडापत्र राख्ने, सरकारी अस्पतालमा काम गर्ने चिकित्सकको नाम देखिने गरी राख्नेलगायत काम सुरु गरेको बताए ।

विश्व स्वास्थ्य संगठन नेपालका अधिकृत सुदन ज्ञवालीले विद्युतीय चिकित्सा अभिलेख प्रणालीमार्फत बिरामीको समय, खर्चको बचत हुनुका साथै परीक्षणमा हुने दोहोरोपनको अन्त्यका अतिरिक्त स्वास्थ्यसम्बन्धी नीति निर्माणमा एकीकृत तथ्यांक प्राप्त हुने बताए ।

यसबाट सेवा प्रवाह द्रुत, चुस्त र प्रभावकारी हुने उनको भनाइ छ । यो प्रणाली सुरु गर्नेमा गुल्मी अस्पताल लुम्बिनी प्रदेशमा पहिलो हो । पचास शय्या रहेको गुल्मी अस्पतालमा अर्घाखाँची, प्युठान, बागलुङलगायत जिल्लाका नागरिकले सेवा लिँदै आइरहेका छन् ।

मझगाउँ विमानस्थलको निर्माण कार्य तत्काल अगाडी बढाउने सहमति

काठमाडौँ । कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल निर्माणको अवरुद्ध निर्माण तत्काल अघि बढ्ने सहमति भएको छ ।

गृहमन्त्री रमेश लेखकको पहलमा शुक्रबार गृह मन्त्रालयमा भएको सम्बद्ध निकायका मन्त्री, सचिव र प्रधान सेनापति सहितको उच्च स्तरीय बैठकबाट मझगाउँ विमानस्थलको विषय सुल्झिएको हो ।

बैठकमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको नाममा रहेको ६ बिघा विमानस्थल निर्माणका लागि उपयोग गर्ने दिन, सेनाको फुटबल मैदान र सो स्थानमा रहेका सैनिक आवासीय भवन निकुञ्ज क्षेत्रमै बनाइने विषयमा सहमतिपछि लामो समयदेखि असहमती देखिएको विमानस्थल निर्माणको विषय सुल्झिएको हो ।

बैठकमा बोल्दै गृहमन्त्री लेखकले लामो समयदेखि विमानस्थल निर्माणको विषय थाती रहेको र सुल्झाउन आग्रह गर्नुभएको थियो । सो क्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी, रक्षामन्त्री मानवीर राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ, नेपाली सेनाका प्रधानसेनापति महारथी अशोकराज सिग्देल र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायत मन्त्रालयका सचिवहरूले आ-आफ्नो धारणा राखेका थिए ।

२०७८ माघमा विमानस्थल पुनर्निर्माणका लागि ठेक्का भएको थियो भने हाल एक हजार तीन सय मिटर विमानस्थलको रनवे कालोपत्रे हुने चरणमा पुगिसकेको छ ।

विमानस्थल विस्तारका क्रममा विमानस्थलको दक्षिणतर्फ सेनाको ६ बिघा जग्गा विमानस्थलले लिने विषयमा यसअघि सहमति हुन नसक्दा निर्माण प्रभावित हुँदै आएको थियो । शुक्रबारको बैठकमा सम्बद्ध सबै निकाय सम्मिलित टिम महेन्द्रनगर पठाउनुका साथै रनवे निर्माणको काम तत्काल सुरु गर्ने सहमति भएको गृहमन्त्री लेखकले जानकारी दिए।

“यसअघि पनि छुट्टा/छुट्टै धेरै चरणमा सहमति र निकासका लागि छलफल भए तर निकास निस्केको थिएन ।” उनले भने,“ आज सम्बद्ध निकायको संयुक्त बसाइले सहमति भएर विमानस्थलको निर्माण तत्काल अघि बढ्यो भयो ।”

विमानस्थल निर्माणका क्रममा वन क्षेत्रको पर्ने जग्गाको वातावरणीय प्रभाव मूल्यांकन पनि सँगै गर्दै जाने विषयमा सहमति भएको छ ।

“ विमानस्थलका चाहिने सेनाको जग्गा (फुटबल मैदान र आवास भएको स्थान)मा सेनाको सहमति भएकाले तत्काल काम अघि बढ्ने भयो ।” मन्त्री लेखकले भने,“ विमानस्थलका लागि आवश्यक पर्ने सोही क्षेत्रको बाँकी जग्गाको विषयमा ईआइएपनि सँगसँगै गर्दै अघि बढ्ने भयो ।”

बैठकमा प्रधानसेनापति अशोकराज सिग्देलले सेनाको जग्गा विमानस्थल निर्माणमा पर्दा कुनै असहमती नरहेको, सो क्रममा मिचिने फुटबल मैदान निकुञ्ज क्षेत्रकै खाली जमिनमा बनाउन पाउनुपर्ने र आवास निर्माणमा जोड दिएका थिए । सेनाले राखेको मागका विषयमा सम्बद्ध मन्त्रालयका मन्त्री र पदाधीकारीहरुले सैनिक संरचना र फुटबल मैदानका विषयमा सकारात्मक रहेको बताएका छन् ।

गाजाबारे अरब समुदायको विचार सुन्न अमेरिका इच्छुक

वासिङटन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिका गाजाका विषयमा अरब राष्ट्रहरूको नयाँ प्रस्ताव सुन्न आतुर रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाको सम्पूर्ण जनसङ्ख्यालाई विस्थापित गर्ने योजना सार्वजनिक गरेपछि अरब समुदायबाट यसको व्यापक विरोध भएको थियो ।

विदेशमन्त्री रुवियोले इजिप्ट र जोर्डनसँग वासिङ्टनमा भएको वार्तापछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई) का साथै इजरायलमा रहँदा आफूले उनीहरूका विचारबारे छलफल गर्ने विश्वास व्यक्त गरेका छन् ।

रुबियोले अरब राष्ट्रहरूका बारेमा भने, “आशा छ, उनीहरूसँग राष्ट्रपतिलाई प्रस्तुत गर्ने वास्तवमै राम्रो योजना हुनेछ ।”

“अहिले गाजाको सम्बन्धमा एक मात्र योजना ट्रम्पको योजना हो तर यो उनीहरू (अरब समुदाय)लाई मन परेको छैन । त्यसैले, यदि उनीहरूसँग राम्रो योजना छ भने, अब यसलाई प्रस्तुत गर्ने समय हो,” उनले परम्परावादी ‘होस्ट’हरू क्ले ट्राभिस र बक सेक्सटनको रेडियो शोसँगको कुराकानीमा भने ।

अमेरिकी राष्ट्रपति ट्रम्पले आफू सत्तामा आएसँगै गाजाका छिमेकी इजिप्ट र जोर्डनले गाजामा २० लाखभन्दा बढी प्यालेस्टिनीलाई स्वीकार नगरे त्यसको परिणाम उनीहरूले नै भोग्नुपर्ने चेतावनी दिएका थिए ।

रुबियोले भने, “यी सबै देशहरूले प्यालेस्टिनीहरूको ख्याल राखोको देखाउन चाहन्छन् तर उनीहरूमध्ये कोही पनि प्यालेस्टिनीलाई लिन चाहँदैनन्। तीमध्ये कसैले पनि गाजाका लागि केही गरेको इतिहास छैन ।”

जोर्डनले २० लाखभन्दा बढी प्यालेस्टिनी शरणार्थीलाई आश्रय दिइसकेको छ ।

कूटनीतिज्ञहरूका अनुसार इजिप्टले केही हप्ताभित्र ट्रम्पलाई विकल्प प्रस्तुत गर्ने प्रयासको नेतृत्व गरिरहेको छ ।

इजिप्टको प्रस्तावमा गाजामा नयाँ सुरक्षा बललाई प्रशिक्षण दिने र स्थानीय प्यालेस्टिनी नेताहरूको पहिचान गर्ने बिषय समावेश छ ।

अरब राष्ट्रहरूले ‘असल नियतका साथ काम गरिरहेका छन्’ भन्ने आफूलाई विश्वास रहेको बताउँदै रुबियोले भने, “प्यालेष्टिनी भूमिमा भविष्यमा हमासको कुनै पनि प्रशासनिक भूमिका हुन नहुने इजरायल र अमेरिकाको धारणा रहेको छ ।”

उनले भने, “यदि यस क्षेत्रका देशहरूले यो टुक्रा पत्ता लगाउन सक्दैनन् भने, इजरायलले यो गर्नुपर्नेछ, र त्यसपछि हामी जहाँ थियौँ त्यहाँ फर्कनेछौँ।”

रुबियोका पूर्ववर्ती एन्टोनी ब्लिन्केनले प्यालेस्टिनी प्राधिकरणले गाजालाई आफ्नो नियन्त्रणमा लिन नसकेसम्म अन्तर्राष्ट्रिय शक्ति र संयुक्त राष्ट्रसङ्घले गाजामा अस्थायी भूमिका निर्वाह गर्ने योजना अघि सारेका थिए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले कट्टर दक्षिणपन्थी सरकारको नेतृत्व गर्दै लामो समयदेखि प्यालेस्टिनी राज्यको विरोधको एक भागको रूपमा वेस्ट बैङ्कमा आधारित प्यालेस्टिनी प्राधिकरणलाई कमजोर पार्न खोजेका छन् ।

दक्षिणपश्चिम पाकिस्तानमा बम विस्फोटबाट १० मजदुरको मृत्यु

क्वेटा ।  दक्षिणपश्चिम पाकिस्तानमा शुक्रबार इम्प्रोभाइज्ड एक्सप्लोसिभ डिभाइस (आइइडी) बाट भएको विस्फोटमा १० जना मजदुरको मृत्यु भएको एक अधिकारीले बताएका छन् ।

विपन्न बलुचिस्तानमा सुरक्षा बलहरूले पृथकतावादी समूहहरूसँग दशकौँदेखि विद्रोहको सामना गरिरहेका छन् । सीमावर्ती क्षेत्रहरूमा विगत तीन वर्षमा हिंसा बढेको छ ।

शुक्रबार मजदुरहरूको एक समूह हर्नाई जिल्लाको बजारतर्फ जाँदै गर्दा विस्फोटको चपेटामा परेको स्थानीय सरकारी अधिकारी सलिम तारीनले बताए । उनले ‘आइइडी विस्फोट’ भएको बताए ।

‘हर्नाई जिल्लामा भएको आक्रमणमा १० खानी मजदुरको मृत्यु भयो’, अर्का वरिष्ठ सरकारी अधिकारी शहजाद जहरीले भने ।

हर्नाई दक्षिणपश्चिम पाकिस्तानको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाबाट १६० किलोमिटरभन्दा टाढा छ ।

एक वक्तव्यमा प्रधानमन्त्री शाहबाज सरिफले ‘देशबाट आतङ्कवादको खतरालाई उन्मूलन गर्न सक्रिय रूपमा काम गर्ने’ आफ्नो प्रतिबद्धता दोहोर्‍याए ।

कुनै पनि समूहले आक्रमणको दाबी गरेको छैन । यद्यपि बलुच लिबरेसन आर्मी (बिएलए) यस क्षेत्रको सबैभन्दा सक्रिय समूह हो र प्रायः यो समूहले सुरक्षा बल वा अन्य प्रान्तका पाकिस्तानीहरू विरुद्ध घातक आक्रमण गर्दछ ।

बाहिरीहरूले पाकिस्तानको सबैभन्दा गरीब भागका बासिन्दाहरूलाई बाहिर राख्दै स्रोत–समृद्ध क्षेत्रको शोषण गरेको आरोप लगाउँदै समूहले विशेषगरी चीनबाट विदेशी लगानीका ऊर्जा परियोजनाहरूलाई लक्षित गरेको छ ।

यस महिनाको सुरुमा बलुचिस्तानको एक सहरमा सैनिक बोकेको सवारी साधनमाथि सडक अवरुद्ध गरेका ७० देखि ८० आक्रमणकारीले गोली प्रहार गरेका थिए ।

जनवरीमा भएको अर्को आक्रमणमा पाकिस्तानी अर्धसैनिक बलसहित कम्तीमा छ जनाका मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । दुवै आक्रमणको दाबी बिएलएले गरेको थियो ।

विश्लेषकहरूका अनुसार गत वर्ष यस क्षेत्रमा भएका सबैभन्दा घातक आक्रमणहरूमध्ये एकमा बिएलए पृथकतावादी लडाकूहरूले जातीय पञ्जाबीहरूलाई लक्षित गरी ‘समन्वित’ आक्रमणहरूमा कम्तीमा ३९ जनाको हत्या गरेका थिए ।

सन् २०२१ मा काबुलमा अफगान तालिबान सत्तामा फर्केपछि पाकिस्तानको सीमावर्ती क्षेत्रहरूमा हिंसा बढेको छ ।

पाकिस्तानले तालिबान सरकारलाई अफगान भूमिबाट आक्रमण गर्ने आतङ्कवादीहरूलाई नष्ट गर्न असफल भएको आरोप लगाएको छ । उक्त आरोपलाई अफगानिस्तानले अस्वीकार गरेको छ ।

इस्लामावादस्थित विश्लेषण समूह सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिजका अनुसार गत वर्ष पाकिस्तानका लागि एक दशकमा सबैभन्दा घातक थियो । उक्त वर्ष प्रहरी वा सुरक्षा बलका छ सय ८५ सदस्यसहित एक हजार पाँच सयभन्दा बढी मानिस मारिएका थिए । 

कलैयास्थित सुधार केन्द्रमा कुटपिटबाठ एक युवकको मृत्यु

बारा । बाराको एक सुधार केन्द्रमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । गएराति बाराको कलैया उपमहानगरपालिका–१ भवानीपुरस्थित नवजन्म सुधार केन्द्रमा कलैया रामपुर टोलका ३७ वर्षीय धीरेन्द्र भनिने प्रदीपप्रसाद मण्डलको हत्या भएको हो ।

केन्द्रमा विवाद हुँदा मण्डलमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले जानकारी दिए ।

प्रहरीकाअनुसार मण्डल दुई सातादेखि सुधार केन्द्रमा बस्दै आएका थिए । राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी तामाङले बताए । प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन्।

बन्दीपुरमा तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । तनहुँ जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।

पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच हजार ७९३ जनाले प्रहरीमा अभिलेखका लागि नाम दर्ता गराएको जानकारी दिए । यस्तै, केबलकारका महाप्रबन्धक रोमनमान श्रेष्ठले केबलकार प्रयोग गरी आउने विदेशी पर्यटकको सङ्ख्या दुई हजार तीन सय ५२ जना रहेका जानकारी दिए ।
यसैगरी क्षेत्रीय होटल सङ्घ बन्दीपुरका अध्यक्ष फुलमती थापाका अनुसार पर्यटन प्रहरीको ड्युटीबाहेक अन्य समयमा नाम दर्ता गरेका तर विभिन्न होटलको तथ्याङ्कअनुसार थप एक हजार ९८१ जना विदेशी पर्यटक बन्दीपुर पुगेका छन् ।

प्रमुख पर्यटकीय गन्तव्यहरू काठमाडौँ र पोखरा तथा चितवन र पोखराको बीचमा पर्ने बन्दीपुरमा विदेशी पर्यटकहरु प्राकृतिक सौन्दर्य र यहाँको प्राचीन कलासंस्कृति हेर्न आउने गरेका छन् ।

बन्दीपुरमा आउने विदेशी पर्यटकहरूमध्ये सबैभन्दा धेरै चीनका रहेका छन् । चीनबाट माघ महिनामा मात्रै एक हजार ५०० पर्यटकहरू आएका छन् । त्यसपछि जर्मनी, स्पेन, इटाली, फ्रान्स, अमेरिका र नेदरल्यान्डबाट आएका पर्यटकहरू छन् ।

बन्दीपुरबाट सुन्दर हिमाल, विभिन्न खोला, नदी तथा फाँटहरू सजिलै देखिन्छन् । यहाँ प्राचीन काठकलाले भरिएका घरहरूसमेत हेर्न पर्यटकहरू लालायित हुने गर्दछन् । बन्दीपुर गाउँपालिकासहितका अन्य सरोकारवाला पक्षहरूले सन् २०२५ लाई बन्दीपुर भ्रमण वर्षका रूपमा घोषणा गरेर विभिन्न पर्यटकीय गतिविधि गरिरहेका छन् ।

सन् २०२५ भरि नै स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न पर्यटकीय गतिविधि गर्ने गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले सन् २०२५ मा एक लाख बाह्य तथा दुई लाख आन्तरिक पर्यटन भित्राउने योजना रहेको बताए । यस्तै, सन् २०२५ सहित २०२७ सम्म आठ लाख पर्यटक भित्राउने योजनासहित विभिन्न कार्यक्रम तय गरिने उनले जानकारी दिए ।

फेब्रुअरी १४ को अवसरमा आज यहाँ पर्यटक लक्षित विशेष कार्यक्रम आयोजना गरिएको बन्दीपुर भ्रमण वर्षका संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । ।

क्षेत्रीय होटल सङ्घ बन्दीपुर इकाइ सभापति फुलमती थापाले हाल आन्तरिक पर्यटकहरू पनि बढेको बताइन् । पछिल्लो समय यहाँ दैनिक करिब पाँच सय आन्तरिक पर्यटकहरू आउने गरेका उनले जानकारी दिइन् ।

यहाँ प्राचीन पुरातात्विक महत्वको बन्दीपुर बजार, टुँडिखेल सहिद स्मारक, थानीमाई मन्दिर, खड्गमाई मन्दिर, बिन्दवासिनी मन्दिर, मणिमुकुन्देश्वरी पदमार्ग (मिनी ग्रेट वाल), रानीवन, तीनधारा, पिकनिक स्पोर्ट, गुम्बा, रामकोट, धरमपानी, कोरीखाका ‘होमस्टे’, राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, मौरीपालन र च्याउ उत्पादनका लागि कीट विकास कार्यक्रमलगायत पर्यटकीय केन्द्रका रूपमा परिचित छ ।

नेवारी, मगर, गुरुङलगायत जातजातिका विभिन्न सांस्कृतिक वेशभूषा र रीतिरिवाज पनि यहाँका आकर्ष हुन् । बन्दीपुरबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छ्रे, मनास्लुलगायत हिमशृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । हिमालहरूको लामो रेन्ज एकै ‘फ्रेम’ मा देखिने भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरू रमाउने गरेका छन् ।

पर्यटकलाई लक्षित गरी यहाँ होटलको विकास पनि निरन्तर भइरहेको छ । बन्दीपुर होटल सङ्घमा आबद्ध करिब ८० वटा होटल र एक दर्जन घरबास सञ्चालनमा छन् ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रेबजारबाट एक किलोमिटर अगाडि बढेपछि बन्दीपुर गेटबाट आठ किलोमिटर यात्रा गर्दै बन्दीपुर बजार पुग्न सकिन्छ । हाल यहाँको ठूलढुङ्गाबाट बरालथोकसम्म केबलकारसमेत सञ्चालनमा छ । केबलकारबाट आउँदा सात मिनेटमा नै बन्दीपुर पुग्न सकिने हुँदा पर्यटकलाई थप सहज भएको छ ।

सात महिनामा सरकारको आम्दानी ४४ र खर्च ४० प्रतिशत, विकास खर्च १९ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को माघ मसान्तसम्ममा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार वार्षिक लक्ष्यको तुलनामा यो अवधिसम्म सरकारको आम्दानी ४४ दशमलव ८३ प्रतिशत र खर्च ४० दशमलव ५८ प्रतिशत छ ।


सरकारले चालु आर्थिक वर्षका लागि  १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो भने  १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो ।


तर आयव्यय दुवै कमजोर भएपछि सरकारले अर्धवार्षिक समीक्षामार्फत् सुरुवाती विनियोजनको तुलनामा ९० दशमलव ९९ प्रतिशत मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान गरेको छ । अर्थात् चालु आर्थिक वर्षमा रू १६ खर्ब ९२ अर्ब ७३ करोड २५ लाख बराबर मात्रै बजेट खर्च गर्ने संशोधित अनुमान छ ।


सुरुवाती विनियोजनको तुलनामा माघ मसान्तसम्म सरकारको चालु खर्च ४५ दशमलव ८२ प्रतिशत छ । चालुगत शीर्षकमा रू ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख विनियोजन भएकोमा सात महिनामा रू पाँच खर्ब २२ अर्ब ६२ करोड ५३ लाख खर्च भएको छ ।


त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख बजेट विनियोजन भएकोमा रू ६८ अर्ब ४१ करोड ५९ लाख मात्रै खर्च भएको छ । अर्थात् सुरुवाती विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च १९ दशमलव ४२ प्रतिशत हो ।


सार्वजनिक ऋणको साँवा र ब्याज तिर्नका लागि प्रयोग हुने वित्तीय व्यवस्था शीर्षकको हालसम्मको खर्च ४४ दशमलव छ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षका लागि वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख बजेट रहेकोमा हालसम्म सुरुवाती विनियोजनको ४४ दशमलव ६ प्रतिशत खर्च भएको छ ।


सरकारको बजेट खर्च मात्र नभइ राजस्व सङ्कलन पनि कमजोर छ । कूल रू १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको सरकारले माघ मसान्तसम्ममा रू छ खर्ब ५९ अर्ब ७३ करोड ५७ लाख राजस्व असुली गरेको छ । सात महिनाको राजस्व सङ्कलन सुरुवाती लक्ष्यको ४४ दशमलव ८३ प्रतिशत हो ।


यो अवधिमा कर राजस्व ४४ दशमलव ०५ प्रतिशत र गैरकर राजस्व ५७ दशमलव १५ प्रतिशत उठेको छ । कर राजस्वतर्फ रू १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख असुली गर्ने सरकारको लक्ष्य रहेकोमा हालसम्म रू पाँच खर्ब ६५ अर्ब ६४ करोड ३६ लाख बराबर उठेको छ ।


त्यस्तै, गैरकरतर्फ रू एक खर्ब ३५ अर्ब नौ करोड ३४ लाख राजस्व उठाउने वार्षिक लक्ष्य रहेकोमा माघ मसान्तसम्ममा सुरुवाती लक्ष्यको ५७ दशमलव १५ प्रतिशत अर्थात् रू ७७ अर्ब २१ करोड तीन लाख बराबर असुली भएको छ ।


चालु आर्थिक वर्षका लागि रू ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान लिन लक्ष्य राखेको सरकारले हालसम्म रू आठ अर्ब ८२ करोड ६० लाख बराबर मात्रै उठाएको छ । यो वार्षिक लक्ष्यको १६ दशमलव ८७ प्रतिशत हो ।

डिभाइडरमा ठोक्किएर मोटरसाइकल दुर्घटना, चालक त्रिशूलीमा बेपत्ता

मुग्लिन । चितवनको कालीखोलामा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशूलीमा खसेका छन् । इच्छाकामना गाउँपालिका–५ कालिखोला पुल नजिक मोटरसाइकल दुर्घटनामा हुँदा चालक त्रिशूलीमा खसेका हुन् । प्रहरीकाअनुसार मोटरसाइकल सडकछेउको बारमा ठोक्किएको थियो ।

चालक त्रिशूलीमा खसेको र उनको खोजी उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । सडक छेउबाट लमजुङ चन्देश्वर घर भई चितवन भरतपुर महानगरपालिका–१ रामनगरका २७ वर्षीय भारतीय सेनामा काम गर्ने रोहित रानाको परिचय पत्र फेला परेको छ।

त्रिविले ‘ट्रान्सक्रिप्ट’ लगायत प्रमाणपत्रका लागि अनलाइन फाराम भर्ने व्यवस्था गर्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले कार्यालयबाट उपलब्ध हुने सबै प्रमाणपत्रको फाराम अब ‘अनलाइन’ बाटै भर्ने व्यवस्था गर्न थलेको छ ।

ट्रान्सक्रिप्टलगायतका सबै प्रमाणपत्रका लागि घरबाटै नै फाराम भर्ने व्यवस्था गर्न थालिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । आगामी चैतदेखि कुनै पनि प्रमाणपत्रका लागि कार्यालय नआउने गरी अनलाइन फाराम भर्ने व्यवस्था गर्न थालिएको उनले बताए ।

त्रिवि पनिकाले यसअघि पनि ट्रान्सक्रिप्टका लागि अनलाइन फाराम भर्ने व्यवस्था गरे पनि सफल हुन सकेको थिएन । “अनलाइन फारामका लागि नयाँ सर्भर बनाएर सफ्टवेयर जोड्दै छौँ, अबको दुई हप्तामा यो काम हुन्छ । त्यसपछि विद्यार्थीले जहाँसुकैबाट अनलाइनमार्फत सेवा लिन सक्नेछन्”, परीक्षा नियन्त्रक जोशीले भने ।

यो व्यवस्था भएमा ट्रान्सक्रिप्ट, पुनर्योग, चारित्रिक प्रमाणपत्रलगायत काम अनलाइनमार्फत हुनेछन् । जोशीले अनलाइन फाराम भरेका विद्यार्थीका प्रमाणपत्र पनिकाका क्षेत्रीय कार्यालयमा पठाउनेसमेत बताए ।

“अब विद्यार्थीले सबै प्रमाणपत्रको फाराम भर्नेदेखि प्रमाण लिनेसम्मका कामकै लागि काठमाडौँ आउनु पर्दैन”, उनले भने, “अनलाइनमार्फत फाराम प्राप्त भएपछि विद्यार्थीलाई पायक पर्ने क्षेत्रीय कार्यालयमा प्रमाणपत्र पठाउने छौँ ।”

पनिकाले यसअघि सम्बन्धित क्याम्पसबाट लब्धांक पत्र (मार्क सिट) प्रिन्ट गर्ने व्यवस्था गरिसकेको छ । गत भदौबाट सबै क्षेत्रीय कार्यालयबाट उत्तर पुस्तिका परीक्षणको कामसमेत सुरु भइसकेको छ । अब बिस्तारै क्षेत्रीय कार्यालयबाट नै प्रमाणपत्र प्रिन्ट गरेर विद्यार्थीलाई दिने व्यवस्थासमेत गरिने पनिकाले जनाएको छ ।

अमेरिका–रूस वार्ताअघि ‘रूसलाई रोक्ने’ योजना बनाउँदै युक्रेनी राष्ट्रपति जेलेन्स्की

ब्रसेल्स । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोसँग वार्ता सुरु गर्नुअघि रूसलाई रोक्ने संयुक्त योजनामा अमेरिका सहमत हुनुपर्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्ति वार्ता सुरु गर्ने घोषणा गरेको भोलिपल्ट नाटोका साझेदारसँगको भेटमा पेन्टागनका प्रमुख पीट हेगसेथले यसको अर्थ किएभको तीन वर्षे सङ्घर्षको प्रयासमाथि विश्वासघात भएको बताएका छन् ।

ट्रम्पको यो कदमले युक्रेन र युरोपेली सहयोगीहरूलाई स्तब्ध तुल्याएको छ र अमेरिकाका युरोपेली साझेदारहरूमध्ये धेरैले खुलेआम उनको रणनीतिमाथि प्रश्न उठाएका थिए ।

ट्रम्पले आफूसँग कुरा गर्नुअघि पुटिनलाई फोन गर्नु ‘सुखद नभएको’ जेलेन्स्कीले शुक्रबार बताए । उनले अमेरिकी राष्ट्रपतिले आफू दुवै नेतासँग मिलेर कुरा गर्न चाहेको बताए ।

शुक्रबार म्युनिखमा अमेरिकी उपराष्ट्रपति जेडी भान्सलाई भेट्ने तयारीमा रहेका युक्रेनी नेताले कुनै पनि वार्ता हुनुअघि नै अमेरिकालाई ‘पुटिनसँगको वार्ताबाट रोक्ने योजना’ बनाउन चाहेको बताए ।

बुधबार पुटिनसँग ९० मिनेट लामो टेलिफोन वार्तापछि अमेरिकी राष्ट्रपति ट्रम्पले युक्रेनशान्ति वार्ताका लागि साउदी अरबमा रूसी नेतासँग भेट्ने अपेक्षा गरेको बताएका थिए ।

व्यापक युरोपेली सुरक्षालाई एजेन्डामा राख्न चाहेको क्रेमलिनले वार्तामा ‘कुनै न कुनै तरिकाले’ किएभ सहभागी हुने तर रूसी–अमेरिकी द्विपक्षीय मार्ग पनि हुने बताएको छ ।

युक्रेनका युरोपेली समर्थकहरूले किएभमा सम्झौता गर्न बाध्य पार्ने कुनै पनि कदमलाई अस्वीकार गरे र मस्कोलाई आफ्ना सबै कार्डहरू दिन वासिङ्टनको स्पष्ट इच्छाको आलोचना गरे ।

जर्मनीका चान्सलर ओलाफ स्कोल्जले कुनै पनि प्रकारको ‘निर्देशित शान्ति’ लाई अस्वीकार गरेका छन् । उनका रक्षामन्त्रीले वासिङ्टनले क्रेमलिनलाई पहिले नै ‘सहुलियत’ दिइरहेको कुरा ‘खेदजनक’ भएको बताए ।

ब्रसेल्समा नेटो वार्तामा पत्रकारहरूलाई सम्बोधन गर्दै इयूका शीर्ष कूटनीतिज्ञ काजा कल्लासले वासिङ्टनले रूसप्रति ‘तुष्टीकरण’ गरेको आरोप लगाउँदै यस्तो अवस्थामा कुनै पनि सम्झौताले काम गर्न नसक्ने बताए ।
उनले भने, “वार्ता सुरु हुनुअघि नै हामीले कुनै पनि कुरा टेबलबाट हटाउनु हुँदैन किनभने यो रूसको अनुकुल हुन जान्छ र उनीहरूले चाहेको कुरा पनि यही हो।”

“कुनै पनि द्रूत समाधान गलत सम्झौता हो र यसले दीर्घकालीन शान्तिका पक्षमा काम गर्दैन,” उनले भने ।

ट्रम्प प्रशासनले युक्रेनको सम्पूर्ण भूभाग पुनः प्राप्त गर्ने र नाटोमा सामेल हुने लक्ष्यमा तुषारापात गर्दै अघि बढेपछि यो कदम चालिएको हो ।

हेगसेथले युरोपले अब युक्रेनलाई सहयोगको ‘ठूलो हिस्सा’ उपलब्ध गराउन थाल्नुपर्ने र अमेरिकाले कुनै पनि सम्झौताअन्तर्गत सुरक्षा प्रत्याभूतिका रूपमा सेना नपठाउने बताए ।

नेटोको बैठकमा बोल्दै अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका प्रमुखले भने, “त्यहाँ कुनै विश्वासघात छैन। शान्तिस्थापनाका लागि सिङ्गो विश्व र संयुक्त राज्य अमेरिकाको लगानी र चासो छ भन्ने मान्यता छ ।”

यसका लागि दुवै पक्षले आफ्ना मागबाट लचक हुन आवश्यक छ। उनले ट्रम्पले पुटिनलाई फाइदा पुर्याइसकेको कुरा अस्वीकार गर्दै वार्तामा रुसी नेता र जेलेन्स्की दुवै सहभागी हुने बताए ।

जेलेन्स्की र भान्सबीच म्युनिखमा हुने भेटवार्ता ट्रम्पका उच्च अधिकारीका लागि युरोपका उच्चस्तरीय मुठभेडको पछिल्लो भेट हुनेछ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सुरक्षा सहयोगको बदलामा युक्रेनको दुर्लभ जमिनमा वासिङ्टनलाई ‘पहुँच प्रदान’ गर्ने विषयमा बुधबार किएभमा वार्ता गरेका थिए । 

ट्रम्पद्वारा भारतलाई उच्चस्तरीय लडाकू जेट र व्यापार सम्झौता प्रस्ताव

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई अत्याधुनिक लडाकू जेटहरू बिक्री गर्ने प्रस्ताव गरेका छन् ।

साथै ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वका धेरै जसो क्षेत्रमा नयाँ अमेरिकी प्रशासनको दण्डात्मक दृष्टिकोणलाई अस्वीकार गर्ने बन्धनलाई पुनर्जीवित गर्दै व्यापार बढाउने वाचा गरेका छन् ।

ट्रम्पको पुनरागमनपछि ह्वाइट हाउस भ्रमण गर्ने चौथो विश्व नेता मोदीले समान विचारधाराका ट्रम्पलाई मित्रका रूपमा वर्णन गरे र उनको ‘मेक अमेरिका ग्रेट अगेन’ नारालाई अपनाइरहेको बताए ।

ट्रम्पले मोदी र भारतसँग ‘विशेष सम्बन्ध’ पाएको बताउनुभयो र असामान्य तर व्यङ्ग्यात्मक विनम्रता प्रदर्शन गर्दै मोदीलाई आफूभन्दा ‘धेरै कडा वार्ताकार’ भएकामा प्रशंसा गरे ।

लगातारका अमेरिकी प्रशासनहरूले बढ्दो चीनको सन्दर्भमा भारतलाई समान विचारधारा भएको प्रमुख साझेदारका रूपमा हेरेका छन् र ट्रम्पले नयाँ प्रशासन अमेरिकी सैन्य पुरस्कारहरूमध्ये एक एफ–३५ लडाकू जेटहरू बिक्री गर्न तयार रहेको घोषणा गरे ।

“यस वर्षदेखि हामी भारतलाई सैन्य बिक्री धेरै अर्ब डलरले बढाउँदैछौँ”, ट्रम्पले मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा भने, “हामी अन्ततः भारतलाई एफ–३५ स्टेल्थ लडाकू जेटहरू प्रदान गर्ने बाटो पनि खोल्दैछौँ ।

भारत नाटो सहयोगी इजरायल र जापानसहितका विशिष्ट देशहरूको समूहमा सामेल हुनेछ जसलाई सुपरसोनिक गतिमा पत्ता नलाग्ने गरी सञ्चालन गर्नसक्ने एफ–३५ किन्न अनुमति दिइनेछ ।

आफ्ना पूर्ववर्ती जो बाइडेनको प्रयासलाई निरन्तरता दिँदै ट्रम्पले दुई देशले बन्दरगाह, रेलमार्ग र पानीमुनिको केबलमा लगानी गरेर ‘सम्पूर्ण इतिहासकै सबैभन्दा महान व्यापार मार्गहरूमध्ये एक’ निर्माण गर्ने योजना बनाएको बताउनुभयो । यो भारतदेखि इजरायल हुँदै युरोप र त्यसभन्दा पर चल्नेछ ।

रानीमहल पुग्दै प्रेमिल जोडी

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी १४ मा यो दिवस मनाउने गरिन्छ । विशेष गरी आजको दिन पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहलमा प्रेमिल जोडीहरुको भीडभाड लाग्ने गर्दछ ।

कालीगण्डकी नदी किनारमा रहेको रानीमहललाई प्रेमको प्रतीकका रूपमा अथ्र्याइने गरेका कारण पनि त्यहाँ प्रेमिल जोडीहरु पुग्ने गरेको पाइन्छ । तत्कालीन जनरल खड्गशमशेरले आफ्नी रानी ‘तेजकुमारी’ को सम्झनामा यहाँ महल बनाएका थिए । यहाँ हरेक वर्ष प्रेम दिवसका दिन युगल जोडी पुगेर एकापसमा प्रेम साटासाट गर्दछन् । स्थानीय बासिन्दाका अनुसार प्रेम दिवसका अवसरमा यहाँ हजारौंको संख्यामा युवा–युवती आउँछन् ।

पहिला–पहिला मानिस रानीमहल घुमफिरका लागि आउने गरे पनि अहिले युवापुस्ताको बाक्लो उपस्थिति रहने गरेको स्थानीय दीपक पाण्डेले बताए । यहाँ पाल्पा, रूपन्देही, स्याङ्जा, नवलपरासी, कपिलवस्तु, गुल्मी क्षेत्रबाट मानिसहरु आउने गरेको पाण्डेको भनाइ छ ।

कालीगण्डकीको किनारमा बनाइएको रानीमहल जिल्ला सदरमुकाम तानसेनदेखि १३ किलोमिटर उत्तरमा छ । विसं १९५० मा शिलान्यास गरी १९५४ सालमा निर्माण गरिएको हो ।

सामूहिक रूपमा गहुँखेती

दमौली (तनहुँ) । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ घलडाँडामा १५ वर्षअगाडि व्यावसायिक रूपमा गहुँखेती हुन्थ्यो । उपयुक्त भूगोल भए पनि बीउ र प्रविधिको अभावमा त्यहाँका कृषक गहुँखेतीबाट विस्थापित हुँदै गएका थिए । पछिल्लो समय गाउँपालिकाले पुनः गहुँखेतीको व्यावसायिक विकासका लागि कृषकलाई जागरुक बनाउन थालेको छ ।

यसैक्रममा गाउँपालिकाकै प्रेरणाबाट यहाँका कृषक १५ वर्षपछि पुनः गहुँखेती गर्न जुटेका छन् । स्थानीय बटुमाया गुरुङले कृषक समूह गठन गरी सामूहिक गहुँखेती गर्न थालिएको जानकारी दिए । घलडाँडा कृषक समूहमा आबद्ध भई कृषकले व्यावसायिक रूपमा गहुँखेती सुरु गरेको उनले बताए ।

हाल २० रोपनी जग्गामा सामूहिक खेती गरिएको छ । गुरुङले भने, “विगतमा गहुँखेतीका लागि राम्रो बीउ पाउन पनि समस्या हुन्थ्यो । कतैबाट सहयोग नपाएपछि कृषकहरू यसबाट विस्थापित भए तर पछिल्लो समय गाउँपालिकाले प्रोत्साहित गरेको छ । बीउ र प्रविधिमा सहयोग गरेपछि हामी पुनः यसतर्फ आकर्षित भएका छौँ ।”

स्थानीय गङ्गा गुरुङले पनि गाउँपालिकाको प्रेरणाबाट आफूहरू गहुँखेतीमा लागेको बताए । उनले प्रविधि र बीउ सहयोग भएपछि सामूहिक गहुँखेती सुरु गरिएको बताए । स्थानीय धनबहादुर गुरुङ, लक्ष्मण गुरुङ, डम्बर गुरुङ, मीना गुरुङ, सुष्मा गुरुङलगायतले सामूहिक रुपमा गहुँखेती गरिरहेका हुन् ।

गाउँपालिका कृषि शाखाप्रमुख सन्तोष केसीले यहाँका कृषकहरू उत्साहका साथ गहुँखेती गर्न थालेको जानकारी दिए । “यो ठाउँ गहुँखेतीका लागि उपयुक्त छ तर विगतमा बीउ र प्रविधिमा पछि पर्दा धेरैले खेती गर्न छाडेका थिए । हाल गाउँपालिकाले बीउ र प्रविधिमा जोडेपछि कृषकहरूले सामूहिक खेती गर्न थाल्नुभएको छ”, उनले भने । यसलाई निरन्तरता दिन पालिकाले निरन्तर सहयोग गर्ने केसीले बताए ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानले यहाँ उत्पादित गहुँ बजारीकरणका लागि गाउँपालिकाले सहयोग गर्ने बताए । उनले भने, “गाउँपालिकाभित्रका विभिन्न ठाउँमा उत्पादित कृषि सामग्री बिक्री वितरणका लागि पालिकाले हाटबजार नै चलाएको छ । हाटबजारबाट स्थानीय उत्पादन सहज रूपमा बिक्री वितरण भइरहेको छ ।”

गाउँको बाझो जमिनको उपयोगका लागि सामूहिक खेती प्रणालीको विकास र विस्तरमा आफूहरूले योजना बनाइरहेको अध्यक्ष चुमानले जानकारी दिए ।

सिन्धुलीमा यही फागुन ५ गतेदेखि प्रथम खेलकुद महोत्सव हुने

सिन्धुली । जिल्ला खेलकुद विकास समिति, सिन्धुलीको आयोजनामा यही फागुन ५ देखि १३ गतेसम्म प्रथम खेलकुद महोत्सव, २०८१ हुने भएको छ ।

खेलकुदको माध्यमबाट सामूहिक भावनाको विकास गराई स्थानीय स्तरबाट खेल र खेलाडीको विकासमा सहयोग पु¥याउने उद्देश्यले खेलकुद महोत्सव आयोजना गर्न लागिएको खेलकुद विकास समिति, सिन्धुलीका अध्यक्ष वीरबहादुर थिङ तामाङले जानकारी दिए ।

यसैगरी, जिल्लाको खेलकुदसहित समग्र विकास गर्न र खेलकुदमार्फत जिल्लाको पहिचान स्थापित गर्न महोत्सवले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा आयोजक पक्षले गरेको छ ।

अध्यक्ष तामाङले भने, “जिल्लाका स्थानीय तहमा हरेक वर्ष वार्षिक रुपमा खेलकुदका क्षेत्रमा उल्लेख्य बजेट खर्च हुने गरेको छ । तर खेलाडी टिकाउन भने सकिएको छैन । अब अभ्यासमा मात्र सीमित नभई खेलाडीको दिगो व्यवस्थापनमा ध्यान जान आवश्यक छ, हामी त्यसतर्फ लागेका छौँ ।”

जिल्लाका हरेक पालिकामा तामझामका साथ खेलकुद प्रतियोगिता भइरहेका छन् तर खेलाडी टिकेका छैनन् भन्ने यथार्थलाई दृष्टिगत गरी खेलकुद महोत्सव आयोजना गर्न लागेको उनले स्पष्ट गरे ।

प्रथम खेलकुद महोत्सवमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, कबड्डी, कराते, तेकान्दो, एथलेटिक्स, म्याराथन दोड र बक्सिङ गरी १० वटा खेल आयोजना हुने भएको छ ।

प्रतियोगितामा सिन्धुली जिल्लाका ३५ वर्षमुनिका खेलाडीले मात्र भाग लिन पाउने व्यवस्था गरिएको छ । प्रतियोगितामा भाग लिने क्रममा खेलाडीलाई चोटपटक लागेमा रु एक लाखको बिमा गरिएको समितिले जनाएको छ ।

प्रतियोगितामा कमलामाई नगरपालिकाबाट २००, दुधौली नगरपालिकाबाट १७५, गोलञ्जोर गाउँपालिकाबाट १३६, फिक्कल गाउँपालिकाबाट ११२, हरिहरपुरगढी गाउँपालिकाबाट १३७, मरिण गाउँपालिकाबाट १५१, घ्याङलेख गाउँपालिकाबाट ११२, सुनकोशी गाउँपालिकाबाट १३७ र तीनपाटन गाउँपालिकाबाट १३७ गरी एक हजार ३४३ खेलाडी सहभागी हुनेछन् ।

अध्यक्ष तामाङका अनुसार करातेमा १२३, एथ्लेटिक्समा १९८, भलिवलमा १९८, फुटबलमा ३२४, कबड्डीमा १९८, तेक्वान्दोमा ७२, क्रिकेटमा ५४, ब्याडमिन्टनमा ९०, म्याराथन दौडमा ३६ र बक्सिङ प्रतियोगितातर्फ ५० खेलाडी सहभागी हुने भएका छन् ।

प्रथम खेलकुद महोत्सवसँगै जिल्लास्तरीय राष्ट्रिपति रनिङ शिल्ड प्रतियोगिता पनि सञ्चालन हुने भएकाले सहभागी समग्र टोलीलाई ‘मेडल’का आधारमा प्रथम, द्वितीय र तृतीय पालिका घोषणा गरी उत्कृष्टलाई ट्रफी प्रदान गरिने समितिले जनाएको छ । 

अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक लाग्दैनः वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

भरतपुर । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र रहेको गुटवाद र व्यक्तिवादका समस्या रुपान्तरण अभियानबाट समाधान गर्ने बताएका छन् ।

चितवनको भरतपुरमा शुक्रबार प्रेस सेन्टर नेपालले गरेको पत्रकार भेटघाटमा श्रेष्ठले पार्टीभित्र गुटवाद र व्यक्तिवादको समस्या रहेको स्वीकार गर्दै त्यसलाई रुपान्तरण अभियानबाट समाधान गर्ने बताएका हुन् ।

अहिले नै पार्टीभित्रको समस्या पुरै समाधन भइनसकेको उनले बताए । उनले अध्यक्ष प्रचण्डले चालेका अभियानमा ब्रेक नलाग्ने भन्दै प्रचण्डको नेतृत्वमा नै पार्टीलाई रुपान्तरण र पुनगर्ठन गर्न एकतावद्ध ढंगले अघि बढाउने बताए ।

उनले सरकारको गतिविधि सबैलाई जगजाहेर भएको भन्दै सरकारको टिप्पणी गरेर शब्द खेर नफाल्ने बताए ।