`

एडिडासलाई १५ हजार डलर जरिवाना

इस्तानबुल ।  टर्कीले जर्मनीको खेल उपकरण कम्पनी एडिडासको एउटा प्रमुख जुत्ताको मोडलमा सुँगुरको छाला भएको जानकारी नदिएको भन्दै १५ हजार अमेरिकी डलरभन्दा बढी जरिवाना गरेको छ।

मुस्लिम बहुल देशको विज्ञापन नियामकले एडिडासले हालैका वर्षहरूमा मोडेल केन्डल जेनर र बेला हदीदले प्रयोग गरेको ‘साम्बा ओजी’ जुत्तामा सुँगुरको छाला प्रयोग भएको, तर अन्य छालाबाट बनाइएको भनी वर्णन गरेकोमा आलोचना गर्दै जरीवाना तोकेको हो।

एडिडासलाई लेखेको र एएफपीलाई जानकारीका लागि प्राप्त रिपोर्टमा भनिएको छ, ‘विज्ञापन र उत्पादन विवरणमा बहुसंख्यक समाजको धार्मिक संवेदनशीलताविपरीत सामग्रीको प्रयोग स्पष्ट रूपमा उल्लेख गरिनुपर्छ।’

नियामकले जवाफमा पाँच लाख ५० हजार ५९ लिरा (१५ हजार २०० अमेरिकी डलर) जरिवाना लगाएको छ। एडिडासलाई प्रतिक्रियाका लागि सम्पर्क गर्दा तत्काल कुनै प्रतिक्रिया नदिएको एएफपीले जनाएको छ।

सन् २०२० मा टर्कीको प्रेसिडेन्सी अफ रिलिजियस अफेयर्सले जुत्ता वा लुगा बनाउँदा ‘सुँगुरको छाला वा रौँको प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो। ‘सुँगुरको छालालाई ट्यानिङ वा यस्तै प्रक्रियाहरूद्वारा शुद्ध बनाउन सकिँदैन भन्ने लगभग सबै मुस्लिम विद्वानहरूको मत रहेको छ,’ विज्ञप्तिमा भनिएको छ।

पर्वतको कुश्मामा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा

पर्वत । कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ ।

बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ

। मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए । उनका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछभने एक पटकमा सातदेखि १२ मिनेटसम्म लाग्छ । यसको गति बढाउन पनि सकिने उनले बताए ।

मेगाट्रोल सञ्चालनका लागि चार करोड लगानी गरिएको कार्कीले बताए । “मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको अनुभव दिन्छ”, उनले भने, “एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालन गरिएको छ ।” दुई साताअघि नै यसको सफल परीक्षण गरिएको थियो ।

‘द क्लिफ’ले भ्यालेनटाइन डेका अवसर जोडी बञ्जीसमेत सञ्चालन गरेको छ । यसअघि एकजना मात्र बञ्जी गर्न मिल्नेमा दुईजना एकैसाथ मिल्नेगरी सञ्चालनमा ल्याइएको अध्यक्ष कार्कीले बताए ।

विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काई साइक्लिङ, गुलेली पिङ, स्काई क्याफेलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि नियमित रुपमा सञ्चालनमा ल्याइएको उनले बताए ।

“कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै मेगाट्रोलको अनुभव लिन सकिन्छ, यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुसी लागेको छ,” उनले भने, “यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ ।”

अध्यक्ष कार्कीले मेगाट्रोल गर्नेका लागि एक जनाको चार हजार र तीनजनाले नै गरेमा नौ हजार ५०० शुल्क निर्धारण गरिएको छ । योसँगै साहसिक स्वीमिङ पुललगायतका संरचनाहरु पनि निर्माण भइरहेको कार्कीले जानकारी दिए । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि यहाँआउने पर्यटकहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ । 

दक्षिण कोरियाको बन्दरगाह सहर बुसानमा आगलागी, चार जनाको मृत्यु

सियोल । दक्षिण कोरियाको दक्षिणी बन्दरगाह सहर बुसानमा शुक्रबार भएको आगलागीमा चार जनाको मृत्यु भएको छ भने चार जना घाइते भएको राष्ट्रिय दमकल निकायले जनाएको छ ।

बन्यान ट्री होटलको निर्माण स्थलमा बिहान ११ः०० बजे (०२०० जिएमटी) अघि आगलागी सुरु भएको अधिकारीहरूले बताए । स्थानीय सञ्चारमाध्यमका अनुसार घटनास्थलमा करिब १० जना कामदार थिए ।

राष्ट्रिय दमकल निकायका एक अधिकारीले तीमध्ये छ जनाले ‘हृदयाघात’ को अनुभव गरेका र तीमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको बताए । अन्य चार जना घाइते भएको र आगो पूर्ण रूपमा नियन्त्रणमा आई नसकेको ती अधिकारीले बताए ।

कामदारहरूले इन्सुलेसन सामग्रीहरू भण्डारण गरेको निर्माण स्थलको पहिलो तल्लामा आगलागी सुरु भएको विश्वास गरिएको दमकल विभागले पत्रकारहरूलाई बताएको छ ।

दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ-मोकले सम्बन्धित मन्त्रालयहरूलाई ‘आगो निभाउनका लागि सबै उपलब्ध कर्मचारी र उपकरणहरू पूर्ण रूपमा परिचालन गर्न’ आदेश दिएको वित्त मन्त्रालयले जनाएको छ ।

“खोज तथा उद्धार कार्यका क्रममा क्षति रोक्न हर सम्भव प्रयास गर्नुका साथै दमकलकर्मीहरूको सुरक्षा पनि सुनिश्चित गर्नुपर्छ”, चोईले भने । यो घटना एयर बुसानको विमानमा गिम्हे अन्तर्राष्ट्रिय विमानस्थलमा आगो लागेको केही हप्तापछि भएको हो । उक्त आगलागीमा १७६ जनाले विमान छोड्नुपरेको थियो र सात जना घाइते भएका थिए ।

नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रोपटक अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको छ । पोखरा पन्छी समाजका अध्यक्ष एवं चराविज्ञ मनशान्त घिमिरे, चराविज्ञहरू हठन चौधरी र गोपी श्रेष्ठको टोलीले अनुगमनका क्रममा उक्त चरालाई धरान फरेष्टमा अभिलेख गरेको हो ।

समाजका अध्यक्ष घिमिरेले यो नेपालका लागि दोस्रो अभिलेख भएको जानकारी दिँदै तीन वर्षअघि नेपालका लागि पहिलो अभिलेख इलाम जिल्लाको दानावारीमा गरिएको बताए । विसं २०७८ फागुन २५ गते चराविज्ञत्रय सञ्जीव आचार्य, क्यारोल इन्स्किप र टिकाराम गिरीको टोलीले त्यसताका चराको अभिलख गरेको जानकारी दिए ।

उनका अनुसार यो चाँचर भारतदेखि पूर्व बङ्गलादेश, भूटान, म्यान्मा, लाओस, थाइल्यान्ड र भियतनामसम्म तथा उत्तरमा चीनदेखि दक्षिण कोरियासम्म पाइन्छ । यसले जाडोमा तल्लो तटीय क्षेत्र र गर्मी मौसममा चीनका पहाडी क्षेत्रहरूमा विचरणसमेत गर्ने गर्दछ । यो चरालाई अङ्ग्रेजीमा ‘ब्ल्याक ब्रेस्टेट थ्रस’ भनिन्छ ।

कोशी प्रदेशको मोरङ र सुनसरीमा अवस्थित समुन्द्री सतहबाट १०० देखि एक हजार ३०० मिटरसम्म करिब ५० हजार हेक्टरमा फैलिएको धरान फरेष्ट चराका लागि महत्वपूर्ण क्षेत्रका रूपमा रहेको चराविज्ञ घिमिरेले बताए । बर्ड लाइफ इन्टरनेसनलले पहिचान गरेको नेपालका ४२ वटा क्षेत्रमध्ये यस वनलाई एक महत्वपूर्ण वनका रूपमा लिइन्छ ।

मानव अधिकार आयोगद्वारा बाल सङ्गठनको जग्गा हिनामिनासम्बन्धी अनुसन्धानको प्रतिलिपि माग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा भएको अनियमिततासम्बन्धी अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन भनेको छ ।

उच्च सरकारी वकिल कार्यालय पाटन र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई निर्णयको प्रतिलिपि तथा केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जलाई अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरिएको आयोगले जनाएको छ । 

आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले उक्त घटनाको स्व–विवेकीय क्षेत्राधिकार प्रयोग गरी छानबिन तथा अनुसन्धान प्रारम्भ गरेको र अनुसन्धान मिसिलको प्रतिलिपि सात दिनभित्र उपलब्ध गराउन पत्राचार गरेको जानकारी दिए ।

आयोगले बाल सङ्गठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यको संलग्नता रहेको तर सत्ता र शक्तिको आडमा निजउपर मुद्दा नचलाउने भनी सरकारी वकिल कार्यालय, काठमाडौँले निर्णय गरेपछि उक्त अनुसन्धान सुरु गरिएको उनले बताए । 

तोलामा चार सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन प्रतितोला चार सय रुपैयाँले बढेको हो ।

बिहीबार प्रतितोला सुन एक लाख ६९ हजार ८०० रुपैयाँमा कारोबार भएकामा शुक्रबार सोही परिमाणको सुनको मूल्य रुएक लाख ७० हजार २०० रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला पाँच रुपैयाँले बढेको छ । शुक्रबारका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको छ ।

संविधान संशोधनको अगुवाइ पनि कांग्रेसले नै गर्नुपर्छः सांसद पौडेल

काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउन सकिएको छैन । त्यसका लागि समयसीमा तोकेर ऐन कानुन तर्जुमा गर्ने तथा प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ हामी क्रियाशील हुनुपर्छ । मुलुकको आर्थिक अवस्थामा केही सुस्तता आएको छ । यसबाट नागरिकमा छाएको निराशालाई चिर्न सक्नुपर्छ । जनताको इच्छा र अपेक्षा पूरा गर्न अर्थतन्त्रलाई गतिशील बनाउनुपर्छ ।

शिक्षा र स्वास्थ्य आमनागरिकको पहुँचमा पुर्याउनुपर्ने जिम्मेवारी छ । शिक्षा क्षेत्रमा भर्नाको पक्षमा उपलब्धि हासिल भए पनि भर्ना भएकालाई टिकाउन र रोजगारीमूलक शिक्षा दिएर रोजगारीका लागि बिकाउन पनि सकिएको अवस्था होइन । खानेपानी देशको कूल जनसङ्ख्याको ९३ प्रतिशतभन्दा माथि पुर्याए पनि त्यो पनि स्वच्छ र गुणस्तरीय छैन । कतिपय अत्यावश्यक र आधारभूत वस्तुमा नागरिकमा पहुँच पुर्याउनपर्ने पक्ष छ भने अर्कातर्फ पहुँच भएका तर गुणस्तरमा प्रश्न उठेको विषयलाई सम्बोधन गर्नुपर्ने अवस्था छ ।

नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको नेतृत्वमा संविधानसभाबाट वर्तमान संविधान घोषणा भएको हो । संविधानको रक्षा र कार्यान्वयन गर्ने जिम्मा पनि मूलतः कांग्रेसमै छ । संविधान कार्यान्वयनका सबल र दुर्बल पक्षको विश्लेषण गरी आमनागरिकले चाहेको समावेशी, समानुपातिक र सहभागितामूलक विषयलाई अझै प्रवद्र्धन गर्दै निर्वाचन प्रणालीलाई सुधार गरी अघि बढ्नुपर्ने आवश्यकता छ । सरकार अस्थिर हुनमा निर्वाचन प्रणाली पनि दोषी छ भन्ने केहीको धारणा छ । त्यो पक्षलाई मनन गरी कांग्रेसले जारी भएका बखतमा जस्तै संशोधन र परिमार्जनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ । संविधान कार्यान्वयनको अभ्यासका क्रममा देखिएका कमीकमजोरीलाई हटाएर अघि बढनुपर्छ ।

खासगरी निर्वाचन प्रणाली, वडादेखि माथिसम्मका जनप्रतिनिधि, पालिका र मन्त्रिपरिषद्का सदस्यको सङ्ख्या घटाउने तथा जनप्रतिनिधिलाई तलबभत्ता होइन, सेवकका रुपमा स्थापित गर्दै गुणस्तरीय र मितव्ययी तुल्याउने बाटोबाट संविधान संशोधन गरिनुपर्छ । निर्वाचन आयोगलाई थप प्रभावकारी र व्यवस्थित तुल्याउँदै कर्मचारीको दक्षतालाई बढाउँदै व्यवस्थापकीय कुशलतामा खरो उतार्ने र अधिकार सम्पन्न गराई निर्वाचनका समयमा हुने खर्च कटौती गर्न आवश्यक छ ।

‘माननीय’लाई पनि समस्या छ । चुनावका बखत मत माग्दा बाटो, पानी, कुलो, धारो बनाइदिन्छु भनेर प्रतिबद्धता जनाएको हुन्छ । त्यो प्रतिबद्धता पूरा नगरे निर्वाचन क्षेत्रमा जनताले कबुल खोइ पूरा गरेको भनी प्रश्न गर्छन् । त्यसका लागि बजेटको जोहो गर्न मन्त्रालय र विभागका कोठाचोटा धाउन पर्ने बाध्यता छ । हामी सबै जनताका सेवक हौँ ।

अहिले संसद् चलिरहेको बेला सम्बन्धित दलले ह्विप जारी गरी एक महिनासम्म लगातार सदन चलाउने ‘माननीय’ बाहिर अरु कुनै काममा जान नपाउने तथा विधि निर्माणमै केन्द्रत भई प्रथम जिम्मेवारी पूरा गर्नुस् भन्नुपर्छ । सांसदलाई नियमितरुपमा संसद् र संसदीय समितिमा उपस्थित गराउने जिम्मेवारी सम्बन्धित राजनीतिक दलकै हो, जनप्रतिनिधिको मुख्य काम ऐन बनाउने नै हो ।सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित कानुन बनाउन नसकिएका कारण नागरिकमा छाएको निराशालाई ‘माननीय’ले पनि हेक्का राख्नुपर्छ ।

राष्ट्रियसभालाई विषयविज्ञ र अग्रजहरु सम्मिलित निकायका रुपमा प्रतिनिधिसभाबाट पारितभएका कानुनलाई विश्लेषण र सुधार गर्न विषय संविधानमा परिकल्पना गरिएको छ । राष्ट्रियसभा मातहतका विषयगत समितिको सङ्ख्या पनि कम रहेको तथा बैठक सञ्चालनका लागि ‘कोरम’को प्रश्न छैन । समस्या कम हुनमा कतिपय माननीयको अन्त घुमफिर गर्न उमेरले साथ नदिएको तथा चुनावी क्षेत्रमा प्रत्यक्ष नजोडिएको कारण हुन सक्छ । राष्ट्रियसभामा समस्या कम छ । तथापि, यो सभाले मात्र फटाफट विधेयक पारित गर्दैमा समस्या निराकरण भइहाल्छ भन्ने होइन । हामीले संसदीय अभ्यास सिक्छ, पढ्न, योगदान दिन धेरै बाँकी छ । राष्ट्रियसभामा आउने व्यक्तिको चयनका सन्दर्भमा संविधानमै भूगोलबाट यति, महिला यति, जातीय जनसङ्ख्याका आधारमा यति चुनिनुपर्छ भन्ने स्पष्ट व्यवस्था रहेको र त्यसै आधारमा निर्वाचनका माध्यमबाट छनोट व्यक्तिलाई अन्यथारुपमा हेरिनु आवश्यक छैन ।

सूचना प्रविधिका कारण विश्व नै एउटा ग्राममा परिणत भएका बेला कुन व्यक्ति विदेश गयो को आयो भन्ने प्रश्नले त्यति महत्व राख्दैन । अर्काे कुरा सत्य हो कि मानिस स्वभाविक रुपमा जहिले पनि राम्रो मौका खोजिरहेकै हुन्छ । म स्याङ्जाको नागरिक हुँ, त्यहीँ बसेको भए शिक्षकमा मात्रै सीमित हुन्थेँ होला, त्यहाँ छाडेर काठमाडौ आएँ । शिक्षक सङ्घ, ट्रेड युनियन हुँदै राजनीतिमा लागेँ अहिले माननीय भएँ । त्यसैले मानिस जहिले पनि नयाँ नयाँ मौकाको खोजी गरिरहेकै हुन्छ । मानिस विदेशिएका भन्दा पनि गएकालाई प्राविधिक ज्ञान दिई धेरै पैसा आयआर्जन गर्न सक्ने बनाउन जरुरी छ । त्यहाँ गरेको आम्दानी नेपालमा उत्पादनका क्षेत्रमा लगाउने परिस्थिति बनाउन सक्नुपर्छ । उनीहरुले विदेशमा रहँदा प्राप्त गरेको ज्ञान सीप, प्रविधि र पुँजीलाई नेपालमा लगानी गर्ने वातावरण र त्यसको सुरक्षाको प्रत्याभूति दिन आवश्यक छ ।

प्रजातन्त्रको पुनःस्थापना हुँदा विसं २०४६ मा विश्वविद्यालय र चिकित्सा शिक्षा कलेज एउटा मात्रै थियो । सञ्चारको राम्रो व्यवस्था थिएन । बाटोघाटो पाँच हजार किलोमिटर पनि पुग–नपुग थियो । खानेपानीको पहुँच न्यून थियो । त्योबीचबाट अघि बढेर यहाँसम्म आइपुगियो । यद्यपि, विकास र समृद्धिको यात्रालाई अझै हामीले तीव्रता दिन सकेका छैनौँ । नागरिकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रप्रति विश्वास र भरोसा दिलाउन राजनीतिक क्षेत्रमा लागेका व्यक्तिले थप मेहनत गर्ने, सुध्रिने र सच्चिने काम गर्नुपर्छ ।

अर्कातर्फ लोकतन्त्रको लडाइँमा योगदान नदिएका व्यक्ति र समूहबाट नेपालमा अब केही भएन भनी गरेको प्रचार र स्थापित गर्न खोजिएको भाष्यलाई गलत साबित गर्नुपर्छ । त्यस्ता अभिव्यक्ति लोकतान्त्रका विरुद्धमा छन् । विश्वमै सहासिक, मेहनती र विश्वासिलो भनी परिचय बनाएका हामी नेपाली एकजुट भई अघि बढ्नुपर्छ । त्यो भएमा समृद्धि प्राप्तिको लक्ष्य छोटो समयमै सम्भव छ ।

सांसद कृष्णप्रसाद पौडेलको परिचय

विसं २०१७ मा स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मिएका कृष्णप्रसाद पौडेल विसं २०३६ मा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भए । तत्कालीन जिल्ला नेता सूर्यप्रसाद रेग्मीको निकट रही बहुदलको पक्षमा चुनावी प्रचारमा त्यसबेला लागेका उनी त्यसको केही समयपछि नेविसङ्घ पिपल्स कलेजको सचिव अनि अध्यक्ष, नेपाल शिक्षक सङ्घको संस्थापक सदस्य, सङ्घको काठमाडौँ जिल्ला सभापति तथा नेपाली कांग्रेस महासमिति सदस्य र महाधिवेशन प्रतिनिधिको जिम्मेवारी सम्हाले । राष्ट्रियसभाको आर्थिक विकास तथा सुशासन समिति सदस्य सांसद पौडेल पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव हुन् ।

-कुराकानीमा आधारित

त्रिदेशीय विद्युत व्यापार सम्झौता नेपालका लागि कोशेढुंगाः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत् व्यापार सम्झौता कोशेढुंगा भएको बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीहरूसँग शुक्रबार भएको भेटमा उनले यस्तो बताएका हुन् ।

‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत् व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो,’ उनले भने, ‘हामीले जलविद्युत् उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौँ ।’

भारत हुँदै बंगलादेशमा विद्युत् निर्यात गर्ने र भारतलाई १० वर्षमा १० हजार मेगावट विद्युत् बिक्री गर्ने सम्झौता तथा चीनमा विद्युत् निर्यात गर्ने समझदारी कार्यान्वयन गरेर अघि बढ्नुको विकल्प नभएको उल्लेख गर्दै उनले यसका लागि विद्युत उत्पादनमा ध्यान दिनुपर्ने बताए ।

तर, अहिले सरकारले विद्युतको विकासभन्दा पनि भएका संरचनालाई प्रभावित गर्ने गरी हस्तक्षेप बढाएको टिप्पणी उनले गरे ।

इप्पानका अध्यक्ष गणेश कार्कीले प्रचण्डको पालामा त्रिदेशीय विद्युत् व्यापार सम्झौता, निजी क्षेत्रसँग २८ हजार मेगावाट विद्युत् उत्पादनको सहमति, लोडसेडिङ अन्त्य ऐतिहासिक कार्य भएको बताए ।

ऊर्जा विधेयक संसदमा छलफल हुन थालेको जानकारी दिँदै उनले पहिले ५० वर्षको लाइसेन्स हुने व्यवस्था रहेकोमा अहिले ३५ वर्ष प्रस्ताव गरिएको र अहिले थुप्रै फाइल थन्किएकाले यसमा प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा सहजीकरण गरिदिन प्रचण्डलाई आग्रह गरेका थिए ।

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट रसुवावासी लाभान्वित

रसुवा । माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाले  रसुवावासीको जीवनस्तरमा सुधार गर्न विविध कार्यक्रम सञ्चालन गरेसँगै त्यसबाट उनीहरू लाभान्वित भएका छन् ।  

आयोजनाले ठूला तथा साना सवारी साधन हाक्ने प्रशिक्षण, विविध सवारीसाधनको मर्मत, ‘वायरिङ, वेल्डिङ’,  सिलाइकटाई, शृङ्गार र कोरियाली तथा जापानी भाषा प्रशिक्षणको व्यवस्था गरेर आयोजना क्षेत्रका स्थानीयको जीवनस्तर सुधारमा सघाइरहेको छ । 

जलविद्युत् आयोजना निर्माण भइरहेको स्थान उत्तरगया – १ का अध्यक्ष मारसिंह तामाङ सीपमूलक तालिमसहित विकास निर्माणका कामबाट रसुवावासी लाभान्वित भएको बताउँछन् ।

जिल्लाको करिब बीच भागमा रहेको सो आयोजनाले शिक्षा, स्वास्थ्य, रोजगार, सडक, बाटो, वातावरणका क्षेत्रमा गरेको सहयोग रसुवावासीले कहिल्यै बिर्सन नसक्ने र रसुवाको विकास निर्माण तथा रोजगारीका क्षेत्रमा आयोजनाबाट सहयोग प्राप्त भइरहने विश्वास उनको छ ।  

अध्यक्ष तामाङले भने, “काठमाडौँबाट नजिक रहे पनि दुर्गम तथा पिछडिएका बासिन्दाका रुपमा सदैव उपेक्षित थियौँ, हाम्रो भाग्य नै भन्नुपर्छ, खै कहाँबाट, कसरी यो प्रोजेक्ट आयो, अपेक्षा नगरेको सहयोग ग¥यो, स्थानीयवासीका तर्फबाट आयोजनालाई सहयोग गर्ने प्रतिबद्धतासहित धन्यवाद भन्न चाहन्छु ।” 

प्रभावित स्थानीय जनतालाई आत्मनिर्भर बनाउने नीति तथा कार्यक्रमअन्तर्गत ८१ लाख ४३ हजार खर्च गरी निर्माण कार्यमा संलग्न मजदूरमध्येबाट एक सय २१ जनालाई सीप एवं रोजगारमूलक तालिम उपलब्ध गराएको आयोजनाले जनाएको छ ।

जलविद्युत् आयोजनाअन्तर्गत करिब एक हजार स्थानीय मजदूर संलग्न रहेकामा अहिले एक सय ५४ जनाले क्षमताअनुसारको काम गरिरहेका छन् । बाँकी जनशक्तिको चहना एवं स्रोत साधनलाई समेत दृष्टिगत गरी सीपमूलक तालिम कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।    

आयोजनाका महाप्रबन्धक गिरिराज अधिकारीले रसुवामा निर्माणाधीन ‘अप्पर त्रिशूली–वान’ ले सामाजिक उत्तरदायित्व वहन कार्यक्रमअन्तर्गत तामाङ बाहुल्य क्षेत्रका प्रभावित जनताको सामाजिक, आर्थिक तथा शैक्षिक अवस्था उकास्न  सक्दो सहयोग गर्दैै आएको बताए ।   

महाप्रबन्धक अधिकारीका अनुसार धार्मिक, संस्कृतिक तथा वातावरण संरक्षण, खानेपानीको व्यवस्था, विद्यालय तथा छात्राबास निर्माण, स्वास्थ्य शिविरसहित चेतनामूलक कार्यक्रम,  सडक–बाटो तथा पुल निर्माण गरी प्रभावित जनताको माग सम्बोधनका पक्षमा अधिकतम प्रयास गरिएको छ ।    

आयोजनाले स्थानीय आदिवासी जनजाति समुदायको जीवनस्तर सुधार कार्यक्रमअन्तर्गत  दुई करोड ५० लाख खर्च भइसकेको र कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

विसं २०७२ को भूकम्पबाट प्रभावित सो जलविद्युत् आयोजना आसपासका स्थानीय बासिन्दालाई आयोजना निर्माण हुनअघि नै राहत सामग्री प्रदान गरी मानवीय सेवा उपलब्ध गराएको जनाएको छ ।  स्थानीयवासीबाटै छनोट भएका कार्यक्रम सञ्चालन गर्ने क्रममा हालसम्म दुई करोड खर्च भइसकेको आयोजनाले स्पष्ट गरेको छ । 

यसैगरी आयोजनाले स्थानीय बासिन्दाको सुविधाका लागि हाकुबेँसीस्थित त्रिशूली नदीमा पहिलो ‘मोटरेवल बेलीब्रिज’ तथा सडकमार्ग, धुञ्चेमा छात्रावास भवन निर्माण गरेको छ भने शान्तिसुरक्षा अमनचयन कायम गर्न सघाउ पु¥याउने उद्देश्यले हाकुबेँसी प्रहरीचौकी भवन निर्माणका लागि शून्य दशमलव १६ हेक्टर आफ्नो स्वामित्वको जमिन उपलब्ध गराएको महाप्रबन्धक अधिकारीले जानकारी दिए ।  

निकुञ्जको आधार इलाका प्रयोग गरेबापत लाङटाङ राष्ट्रिय निकुञ्जलाई एक थान मोटर (जिप) सहित  ५५ लाख रकम उपलब्ध गराएको सो आयोजनाले सुरक्षा व्यवस्था सुनिश्चित गरेबापत जिल्ला प्रहरी कार्यालय रसुवालाई रु चार लाख ९७ हजार, स्थानीय धार्मिक सङ्घसंस्थालाई रु १३ लाख, खानेपानी सुधारमा रु छ लाख १५ हजार, स्थानीय समुदायले छनोट गरेका योजना कार्यान्वयनतर्फ रु दुई करोड ५० लाख, शैक्षिक, सीपमूलकजस्ता जनता केन्द्रित कार्यक्रम सञ्चालनका लागि रु १७ करोड खर्च गरेको जनाएको छ ।
   
कूल ६४ करोड ७३ लाख अमेरिकी डलर लागत अनुमान गरिएको दुई सय १६ मेगावाट क्षमताको सो  आयोजनाको निर्माण २०७८ पुसमा सुरु भएको हो । भूमिगत संरचना निर्माणबाट सुरु भएको आयोजनाको ५२ प्रतिशत प्रगति भएको महाप्रबन्धक अधिकारीले बताए । 

सम्बद्ध प्राविधिकका अनुसार आयोजनाको  नौ दशमलव एक किमी ‘हेडरेस’ सुरुङमध्ये करिब आठ किलोमिटर निर्माण पूरा गरेको छ । त्रिशूली नदीमा बाँधबाँधी मैलुङमा विद्युत उत्पादनगृहको संरचना निर्माण जारी छ ।  विसं २०८३ मङ्सिर महिनाभित्र विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ ।

आयोजनाबाट सुक्खायाममा एक सय चार र वर्षायाममा २१६ मेगावाट विद्युत् उत्पादन हुने महाप्रबन्धक अधिकारीले जानकारी दिए ।

 कोरियाली कम्पनी ‘डुसान’ले  ४५ करोड ३२ लाख अमेरिकी डलर ऋण उपलब्ध गराएको सो आयोजना निर्माणमा नौ वटा अन्तरराष्ट्रिय कम्पनी संलग्न छन् । 

‘डुसान’का कार्यकारी अधिकृत बायङ सु मीनले सरकारी, निजी तथा स्थानीयको  सहयोगमा तोकिएको समयभित्र विद्युत् उत्पादन गरी नेपालको अर्थतन्त्र गतिशील  बनाउन आयोजना सफल हुने विश्वास व्यक्त गरे ।

पर्यटन प्रवर्द्धन गर्न ‘ऐनापोखरी महोत्सव’ आयोजना

फिक्कल (इलाम) ।अधिकभन्दा अधिक आन्तरिक पर्यटक आकर्षित गर्ने उद्देश्यले चुलाचुली गाउँपालिका ३ र ४ मा अवस्थित ऐनापोखरीमा महोत्सव आयोजना गरिएको छ ।

दशदिनसम्म जारी रहने महोत्सवको बिहीबार आयोजित विशेष कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङले उद्घाटन गरे ।

त्यस अवसरमा उनले स्थानीय पर्यटकीय क्षेत्रहरुको संरक्षण र विकासमा गाउँपालिका प्रतिबद्ध रहेको बताए । महोत्सवमा खेलकुद प्रतियोगिता,सांस्कृतिक कार्यक्रमका साथै घरेलु उत्पादनको प्रदर्शनी पनि हुनेछ ।

सहज रुपमा ऐना पोखरी पुग्न चुलाचुली गाउँपालिकाले मोटर सञ्चालन हुने सडक निर्माण गरेको छ । चुलाचुली पालिकाले पोखरी आसपासको क्षेत्रमा प्रतीक्षालयलगायत विविध भौतिक संरचना पनि निर्माण गरेको छ ।

ट्रम्पद्वारा दिल्ली थप अमेरिकी तेल र ग्यास किन्न सहमत भएको घोषणा

बीबीसी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई देशबीचको व्यापार असन्तुलन कम गर्न दिल्लीले थप अमेरिकी तेल तथा ग्यास खरिद गर्ने सहमतिको घोषणा गरेका छन् ।

‘उहाँहरूले हाम्रो धेरै तेल तथा ग्यास किन्दै हुनुहुन्छ। वहाँहरूलाई चाहिएको छ। र हामीसँग त्यो छ,’ वाशिङटनमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा ट्रम्पले भने ।

मोदीले ‘भारतको ऊर्जा सुरक्षा सुनिश्चित गर्न हामी तेल र ग्यासको व्यापारमा ध्यान केन्द्रित“ गर्नुका साथै परमाणु ऊर्जामा थप लगानी गर्ने वाचा गरे ।

ट्रम्पले आफ्ना व्यापार साझेदारहरूले पारस्परिक रूपमा आयात शुल्क सामना गर्नुपर्ने बताइरहँदा मोदीको दुई दिने भ्रमण भएको हो । अमेरिकी आयातमा पहिल्यै ती देशले लगाएका भन्सारसँग मिल्ने गरी त्यस्ता जवाफी उपाय ट्रम्पले अघि सारेका छन् ।

व्यापारका विषयमा मतभेद रहँदा रहँदै पनि ट्रम्प र मोदीबीच वर्षौँको व्यक्तिगत सम्बन्ध पाइन्छ । ‘हाम्रो गजबको सम्बन्ध छ,’अमेरिकाको राजधानीमा बिहीवार मोदीलाई स्वागत गर्ने क्रममा ट्रम्पले भने ।

उनले अमेरिकाले भारतलाई सैन्य हार्डवेयरको बिक्री करोडौँ डलरले बढाउने र दिल्लीलाई एफ–३५ लडाकु जेट समेत दिने बताए ।

आप्रवासनको मुद्दा चर्को रूपमा उठेको थियो जसक्रममा ट्रम्पले भारतलाई हजारौँको सङ्ख्यामा कागजातविहीन भारतीयलाई आफ्नो देश फिर्ता लैजान भन्लान् भन्ने ठानिएको थियो । यसअघि मोदीले आफूहरूले अन्तरिक्ष, प्रविधि र अन्वेषणका बारेमा ट्रम्प निकट इलोन मस्कसँग कुरा गरेको बताएका थिए ।

मोदीले भने, ‘ट्रम्पले उनको पहिलो कार्यकालमा काम गरेभन्दा दोबर गतिमा काम गर्न सक्नेमा म दृढ रूपमा विश्वस्त छु।’

आफूहरूबीचको द्विपक्षीय वार्ताअघि ट्रम्पले आफ्ना सल्लाहकारहरूलाई संसारभरका आफ्ना व्यापार साझेदारहरूका लागि व्यापक रूपमा नयाँ आयात शुल्कको हिसाब गर्न आग्रह गरेका थिए जुन उनले अप्रिल १ बाट कार्यान्वयनमा आउन सक्ने बताए । मोदीलाई भेट्नुअघि रिपब्लिकन दलका तर्फबाट निर्वाचित राष्ट्रपतिले ‘हामीसँग निकै अनुचित प्रणाली थियो’ भने। ‘सबैले अमेरिकाको फाइदा उठाए।’

कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको छ । साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

परीक्षा तालिका अनुसार वैशाख ११ देखि परीक्षा सुरु हुनेछ । पहिलो दिन अनिवार्य नियमित तर्फको अनिवार्य अंग्रेजीको परीक्षा हुने बोर्डले जनाएको छ । परीक्षा वैशाख २२ सम्म चल्नेछ ।

परीक्षा सुरु हुनु भन्दा घण्टा उपस्थित हुनु पर्ने र परीक्षा सुरु भएको १५ मिनेट पछि उपस्थित हुने परीक्षार्थीलाई परीक्षामा सहभागी नगराइने बोर्डले नीति लिएको छ ।

जनकपुरधाममा अनधिकृतरुपमा सञ्चालित अस्पतालका सञ्चालक सरकारको अनुगमनविरुद्ध आन्दोलित

जनकपुर । जनकपुरधाममा सञ्चालित अनधिकृत अस्पताल सञ्चालकलाई कारबाही गरिने भएको छ ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंह, स्वास्थ्य अधिकारी सम्मिलित टोलीले बिहीबार विभिन्न अस्पतालको अनुगमन गरेको छ ।

केही दिनअघि मात्र मुख्यमन्त्री सिंहले जनकपुरधामका २१ वटा निजी अस्पतालको अनुगमन गरी सेवा सञ्चालन अनुमति प्राप्त नगरेका र नवीकरण नगराएका अस्पताल बन्द गरी त्यहाँ उपचाररत बिरामीलाई अन्य अस्पतालमा स्थानान्तरण गर्न निर्देशन दिएका थिए ।

तीमध्ये केही अस्पताल सञ्चालकले आफैँले बन्द गरेका छन् भने केही अस्पतालले निर्देशन अटेर गरी सञ्चालन गरिरहेका छन् । निर्देशन अटेर गर्ने एक अस्पताल सञ्चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए । मापदण्ड पूरा गरेका अस्पतालको सेवा सञ्चालन स्वीकृति सङ्घ, प्रदेश र स्थानीय सरकारले दिने कानुनी प्रावधान छ ।

प्रदेश स्वास्थ्य ऐनमा सेवा सञ्चालन अनुमति नलिई अस्पताल सञ्चालन गर्नुलाई दण्डनीय कसुर मानिएको छ । ऐनमा यस्ता अस्पताललाई बन्द गराइ एक लाख जरिवाना गर्ने व्यवस्था छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड दर्ता गराइ सञ्चालनमा रहेका अधिकांश अस्पतालसँग अस्पताल सञ्चालन अनुमति छैन । अनुमति प्राप्त केही अस्पतालले नवीकरण गरेका छैनन् ।

अनधिकृत सञ्चालित अस्पताल सञ्चालकले सरकारको अनुगमन विरुद्ध आन्दोलित हुन दुई दिनअघि प्राइभेट अस्पताल एशोसिएशन गठन गरेका छन् ।

कोशी प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड अन्तिम चारमा

धरान । पाँचथर युनाइटेड धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । समूह ‘ए’को विजेता हुँदै पाँचथर युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको हो ।

धरान रङ्गशालामा बिहीबार भएको खेलमा पाँचथर युनाइटेडले सङ्खुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ दी म्याच भने पाँचथर युनाइटेडका बेघम गुरुङ घोषित भए । उनले रु पाँच हजार पुरस्कार प्राप्त गरे ।

यस्तै समूह ‘सी’ अन्तर्गत भएको खेलमा धनकुटाको देउराली फुटबल क्लबले इलामको रेडहर्ष क्लबलाई २–० गोलअन्तरले पराजित गर्यो । शुक्रबार रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समूह ‘सी’को विजेताको टुङ्गो लाग्ने छ ।

शुक्रबार धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल तथा इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीच दोस्रो खेल हुनेछ ।

कोशी प्रदेश फुटबल सङ्घको आयोजनामा यही फागुन ८ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा कोशी प्रदेशका ११ जिल्लाका फुटबल क्लबको सहभागिता रहेको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले जानकारी दिए ।

प्रतियोगिताको विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख ५० हजार, तेस्रो हुने टोलीले रु एक लाख २५ हजार र चौथो हुनेले रु एक लाख पुरस्कार प्राप्त गर्नेछन् ।

ठमेलमा प्रहरी कुटपिटको आरोप लागेका अखिल नेता कमलराज जोशी पक्राउ

काठमाडौं । ठमेलमा प्रहरीमाथि कुटपिट गरेको आरोपमा अनेरास्ववियुका नेता कमलराज जोशी पक्राउ परेका छन् । प्रहरीले जोशीलाई बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंले नयाँ बानेश्वरबाट जोशीलाई नियन्त्रणमा लिएको जनाएको छ । २४ माघमा ठमेलमा प्रहरी हवल्दार जगुलाल चौधरी र जवान नर्गेन्द्रराज विष्टमाथि जोशीको समूमले कुटपिट गरेको थियो ।

उक्त घटनामा यसअघि ताप्लेजुङका दिनेश सिग्देल र डडेल्धुराका रमेश फुलारा पक्राउ परेका थिए । घटनाका मुख्य योजनाकार जोशीलाई उन्मुक्ति दिएको भन्दै सर्वत्र आलोचना भएको थियो ।

त्यसपछि बुधबार गृहमन्त्री रमेश लेखकले प्रहरी कुटपिटमा संलग्न जोसुकै भएपनि पक्राउ गर्न प्रहरी प्रमुखलाई निर्देशन दिएका थिए । त्यसपछि जोशी पक्राउ परेका हुन् ।

गुणस्तर परिषद्को ११४औँ बैठकद्वारा २१ वस्तुमा नेपाल गुणस्तर कायम

काठमाडौं । नेपाल गुणस्तर परिषद्को ११४औँ बैठक सिंहदरबारमा सम्पन्न भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको अध्यक्षतामा बसेको बैठकले २१ वटा वस्तुमा नेपाल गुणस्तर कायम गरेको छ ।

जसमध्ये पिभिसी इन्सुलेटेड केबुलको दोस्रो संशोधन र त्यसको परीक्षण विधि सम्बन्धी ४ वटा गुणस्तर पारित गरिएको छ भने, कृषि कर्ममा प्रयोग हुने मिनिटिलर र पावर टिलरका साथै ५ वटा घरायसी उपकरणमा नेपाल गुणस्तर पारित गरिएको छ ।

यसै गरी खाद्य सुरक्षा व्यवस्थापन प्रणाली सम्बन्धी ८ बस्तुहरुमा आइएसओको गुणस्तरलाई अङ्गीकार गरिएको छ ।

मन्त्री भण्डारीले यस बाहेकका अन्य सामग्रीहरुमा पनि नेपाल गुणस्तर निर्धारण गर्नुपर्ने बताए । उनले निर्यात प्रवद्र्धन हुने सामग्रीहरूको अध्ययन गरी मापदण्डहरू कायम गर्न निर्देशन दिए ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक ज्योति जोशीको संयोजकत्वमा रहेको प्राविधिक समितिबाट पारित मस्यौदा नेपाल गुणस्तर परिषदबाट स्वीकृत भए पश्चात् नेपाल गुणस्तरको रूपमा मान्यता पाउने व्यवस्था छ ।

परिषद्मा उपाध्यक्षको रूपमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव(उद्योग) र विभागका महानिर्देशक सदस्य सचिव रहने व्यवस्था छ ।

साथै अन्य मन्त्रालयहरू, विश्वविद्यालयका प्रतिनिधिहरू, विज्ञहरू र निजी क्षेत्रका प्रतिनिधिहरू समेत परिषद्मा सदस्य रहने व्यवस्था छ ।

नेत्र चापागाईंलाई ६८८ मतान्तरले हराउँदै नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्षमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन् । नेत्रप्रसाद चापागाईंलाई पराजित गर्दै भट्टराई अध्यक्ष निर्वाचित भएका हुन् । भट्टराईले ७६१ मत प्राप्त गरे भने चापागाईंले ७३ मतमात्रै ल्याएका छन् ।

चापागाईं नेपाल समाजवादी विद्यार्थी युनियनका निवर्तमान अध्यक्ष हुन् । माघ २९ गते मतदान भएकोमा बिहीबार मतपरिणाम आएको हो ।

उपाध्यक्षमा ईश्वर रिजाल, टेकबहादुर बाठा मगर र उमेश साह निर्वाचित भएका छन्। साथै उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका थिए । ९९ सदस्यीय केन्द्रीय समितिमा ७० पदका लागि निर्वाचन भएको थियो।

युक्रेन शान्ति शिखर सम्मेलनपछि अमेरिका र रुसले थप कुरा गरेकोमा चीन खुसी

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन शान्ति वार्ताका लागि आफ्ना रुसी समकक्षीलाई भेट्ने अपेक्षा गरेको बताएपछि चीनले बिहीबार अमेरिका र रुसले ‘सञ्चारलाई बलियो बनाएको’ देखेर ‘खुसी’ भएको बताएको छ ।

ट्रम्पले बुधबार भ्लादिमिर पुटिनसँग ‘लामो र अत्यधिक उत्पादनशील’ कुराकानी गरेको र युद्ध अन्त्य गर्न वार्ता ‘तुरुन्तै’ सुरु गर्न सहमत भएको बताएका थिए । अमेरिकी राष्ट्रपतिको ह्वाइट हाउसमा पुनरागमनपछिको यो उनीहरूको पहिलो पुष्टि भएको सम्पर्क थियो ।

“रूस र संयुक्त राज्य अमेरिका दुवै प्रमुख प्रभावशाली देशहरू हुन् । चीन रूस र अमेरिकाले विभिन्न अन्तर्राष्ट्रिय मुद्दामा सञ्चार र संवाद बलियो बनाएको देखेर खुशी छ”, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले नियमित प्रेस ब्रिफिङमा भने ।

बिहीबार बेइजिङ र वासिङ्टनका नाम नखुलाइएका स्रोतहरूलाई उद्धृत गर्दै वाल स्ट्रिट जर्नलले चिनियाँ अधिकारीहरूले हालै मध्यस्थहरू मार्फत ट्रम्प र पुटिनबीच शिखर सम्मेलनको प्रस्ताव गर्न अमेरिकी प्रशासनसँग सम्पर्क गरेको बताएको थियो ।

उक्त प्रस्तावले कथित रूपमा ‘सम्भावित युद्धविरामपछि शान्ति स्थापना प्रयासहरूलाई सहज बनाउने’ तर विशेष गरी युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई समावेश नगर्ने अमेरिकी दैनिकले जनाएको छ ।

ह्वाइट हाउसका एक अधिकारीले बेइजिङको प्रस्तावलाई ‘पूर्णतया अव्यावहारिक’ भन्दै खारेज गरेको जर्नलले जनाएको छ ।

प्रेस ब्रिफिङमा यस रिपोर्टको बारेमा सोधिएको प्रश्नमा, गुओले आफूसँग कुनै जानकारी नभएको बताए ।

अस्थिर सम्बन्धको इतिहास भएका लामो समयदेखिका समाजवादी मित्रराष्ट्रहरू चीन र रूस हालका वर्षहरूमा कूटनीतिक, सैन्य र आर्थिक क्षेत्रहरूमा नजिक आएका छन् ।

सन् २०२२ मा मस्कोले युक्रेनमाथि पूर्ण–स्तरको आक्रमण सुरु गरेदेखि बेइजिङले द्वन्द्वमा आफूलाई तटस्थ पक्षको रूपमा चित्रण गर्न खोजेको छ ।

अमेरिकासहितका पश्चिमी राष्ट्रहरूले युक्रेनलाई समर्थन गरेका छन् र रुसको निन्दा गर्न अस्वीकार गरेको चीनको आलोचना गरेका छन्, तर ट्रम्प सत्तामा फर्किएपछि वासिङ्टनको स्थितिमा शङ्का उत्पन्न भएको छ ।

गुओले बिहीबार भने, “चीनले सधैँ विश्वास गरेको छ कि संवाद र वार्ता नै सङ्कट समाधान गर्ने एकमात्र व्यवहारिक तरिका हो र सधैँ शान्ति वार्ता प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको छ ।” 

ताइवानको फुड कोर्टमा ग्यास विस्फोट हुँदा ४ जनाको मृत्यु, २६ घाइते

ताइपेई । ताइवानको एउटा डिपार्टमेन्टल स्टोरमा बिहीबार भएको ग्यास विस्फोटमा चार जनाको मृत्यु भएको र २६ जना घाइते भएको अग्नि नियन्त्रण अधिकारीहरूले बताएका छन्।

ताइचुङ सहरको सिन कङ मित्सुकोसी डिपार्टमेन्ट स्टोरको १२औँ तलाको फुड कोर्टमा विस्फोट भएको ताइचुङ फायर ब्युरोले जनाएको छ।

मृतकहरूमध्ये दुई जना मकाउबाट आएका पर्यटक रहेको मकाउको पर्यटन कार्यालयले बिहीबार पुष्टि गरेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार उनीहरू पर्यटनका लागि आएका सात जनाको परिवारका सदस्य थिए। अन्य पाँच जना घाइते भएका छन् र हाल ताइचुङका स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

स्थानीय समयानुसार बिहान करिब ११ः३० बजे घटनास्थलमा दर्जनौँ दमकलकर्मी परिचालित गरिएका थिए। भवनको बाहिरी भाग क्षतिग्रस्त भएको र छरिएका टुक्राहरू सडकमा छरिएका थिए।

ताइचुङकी मेयर लु शिओ–येनले घटनास्थलमा पत्रकारहरूलाई उनले नजिकैको आफ्नो कार्यालयमा धक्का महसुस गरेको बताए। उनका अनुसार फायर ब्युरोले पहिले उद्धार कार्यमा ध्यान केन्द्रित गर्नेछ तर अनुसन्धान पनि जारी छ। अधिकारीहरूले अन्य खतराका स्रोतहरू छन् कि छैनन् भनेर जाँच गरिरहेका छन्।

ताइवानका राष्ट्रपति लाई चिङ–तेले दुर्घटनाको कारण अनुसन्धान गर्न सम्बन्धित सबै सरकारी निकायलाई निर्देशन दिएको बताए।

प्रधानमन्त्रीसँग नेपालका लागि फ्रान्सका राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कोर्टेभालले बिहीबार शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विविधि विषयका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका अवसरमा  परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसहितको सहभागिता थियो ।

ललिता निवास जग्गा प्रकरणमा नेपाल र भट्टराईविरुद्धको मुद्दाको सुनुवाइ पूर्ण इजलासमा हुने

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध परेको मुद्दाको सुनुवाइ अब पूर्ण इजलासमा हुने भएको छ ।

बिहीबार सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले मुद्दाको सुनुवाइ पूर्ण इजलासमा पेस गर्न आदेश दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास प्रकरणमा तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले उक्त निर्णय बदरको माग गर्दै रिट दायर गरेका थिए ।

न्यौपानेले २९ माघ २०७६ मा सर्वोच्च अदालतमा उनीहरु विरुद्ध रिट दायर गरेका हुन् । निवेदकले नेपाल र भट्टराईलाई ललिता निवासको सरकारी जग्गा व्यक्तिको बनाउने कार्यमा संलग्न रहेको दाबीसहित भ्रष्टाचार मुद्दा चलाउन आदेश माग गरेका छन् ।

थ्रीस्टारलाई हराउदै ब्ल्याक बुल्स उज्वेकिस्तान आहा ! रारा गोल्डकपको फाइनलमा

पोखरा । पोखरामा जारी २४ औ आहा रारा पोखरा गोल्डकपमा पाहुना टोली ब्ल्याक बुल्स फाइनलमा प्रवेश गरेको छ । पाँच पटकको च्याम्पियन टोली थ्रीस्टार क्लबलाई ब्ल्याक बुल्स एफसी उज्वेकिस्तानले ४–० गोलअन्तरले हराएउदै फाइनल प्रवेश गरेको हो ।

ब्ल्याक बुल्सका लागि कुभोनचेक ओलिमोभ, असिलबेक ओरिफजोनोभ, सात्तोरोभ र सइदजमोल दाभ्लातिनोभले एक–एक गोल गरे ।

खेलको २४ औं मिनेटमा कुभोनचेक ओलिमोभ, ६३ औ मिनेटमा सात्तोरोभ, ५८ औं मिनेट असिलबेकल र सइदजमोलले ८७ औ मिनेट गोल गरेका थिए ।

ब्ल्याक बुल्सले अब उपाधिका लागि शनिबार नेपाल पुलिस क्लबसँग खेल्ने छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार नगद राशीको पुरस्कार प्राप्त गर्नेछन् । पुलिस ६ पटका विजेता हो भने ब्लयाक बुल्स पहिलो पटक सहभागी हो ।

बबरमहलको क्षतिग्रस्त सडक यथाशिघ्र पुनस्थापना गरिदिन केयूकेएललाई सडक डिभिजनको आग्रह

काठमाडौं । डिभिजन सडक कार्यालय काठमाडौंले बुधबार काठमाडौंको बबरमहलमा खानेपानीको पाइप फुटेर क्षतिग्रस्त भएको सडक पुनर्निर्माण गर्न काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई आग्रह गरेको छ ।

डिभिजन सडकले बिहीबार केयूकेएललाई पत्र लेख्दै क्षतिग्रस्त सडक पुनर्निर्माण गरी जस्ताको तस्तै बनाउन आग्रह गरेको हो ।

बुधबार पानीको पाइप फुटेर सडक क्षतिग्रस्त भएको थियो भने बबरमहल क्षेत्र डुबानमा परेको थियो । काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि बिहीबार मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

कैलाली । धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आएका छन् ।

जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उनले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहेका छन् ।

धनगढी–८ बुद्धचोक बसोबास गर्दै आएका विश्वकर्माले काठमाडौंको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी कामको अनुभव लिएका थिए । अनुभवपछि उनले गाउँ फर्किएर नर्सरी व्यवसाय सुरु गरेका हुन् ।

विश्वकर्माले वार्षिक एक लाख ५० हजार रुपैयाँ तिर्नेगरी चार कट्टा जमिन भाडामा लिई व्यवसाय गर्दै आएका छन् । विगत १३ वर्षदेखि नर्सरी व्यवसायसम्बन्धी कामको अनुभव लिएकामा पछिल्लो पाँच वर्षदेखि धनगढीको बोराडाँडीमा ५० लाख रुपैयाँ लगानी व्यवसाय सञ्चालन गरेको उनले बताए ।

मासिक ४० हजार रुपैयाँ बचत हुँदै आएको विश्वकर्माले जानकारी दिए । छ जना परिवारको सम्पूर्ण खर्च, छोराछोरीको शिक्षामा खर्च पनि यही आम्दानीबाट हुने गरेको उनले बताए । तीन जनालाई रोजगारी समेत दिएको बताउँदै उनले तलबबापत मासिक ३६ हजार रुपैयाँ खर्च लाग्ने उल्लेख गरे ।

‘अन्य भन्दा यो व्यवसायमा जोखिम बढी पनि छ । कहिलेकाही प्रतिकूल वातावरणका कारण बिरुवामा विभिन्न सङ्क्रमण देखा परी बिरुवा बिग्रने, कुहिने, रोग लाग्ने पनि गर्दछ, जसले गर्दा घाटा पनि व्यवहोर्नुपर्ने हुन्छ’, उनले भने, ‘व्यवसायमा कहिले घाटा, कहिले नाफा हुन्छ । धैर्यताका साथ मेहनत गर्न छाड्नु हुँदैन । यही व्यवसायले सन्तुष्ट दिएको छ, अहिलेसम्म पैसाका लागि कसैसँग माग्नु परेको छैन ।’

नेपालको झापा, विराटनगर, इटहरी र कञ्चनपुरलगायत स्थानबाट विभिन्न जातिका फलफूल, सो–प्यान्टसहित विभिन्न बिरुवा आयात गरेर बिक्री गर्दै आएको विश्वकर्माले जानकारी दिए । केही बिरुवा भने नर्सरीमा आफैँ उत्पादन गरेर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । नर्सरीमा हाल विभिन्न जातका फलफूल, सो–प्यान्टलगायत बिरुवा उपलब्ध छन् । 

खानी खन्ने काम वर्षौँदेखि रोकिएपछि पुरिन थाले म्याग्दीका तामाखानीका सुरुङ

म्याग्दी  । म्याग्दी  जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने काम वर्षौँदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो ।

पुरानो गाउँन नजिक चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको स्थानी बताउँछन् । यस ठाउँमा परम्परागत रूपमा तामाखानीका दुई वटा सुरुङ रहेपनि अहिले एउटा पुरिएको र अर्को पनि पुरिने अवस्थामा पुगेको स्थानीय मन छन्त्यालले बताए ।

“गाउँ वरपर तामाखानीका धेरै भग्नावशेष छन्, सुरुङ वरपर प्रशस्त मात्रामा तामाका धाउ फेला पर्छन्, तर खानी खन्ने पेसा बन्द भएसँगै अहिले खानीको अवशेषसमेत मेटिने जोखिम बढेको छ”, उनले भने । उनका अनुसार ठाँडाखानी गाउँको शिरमा पर्ने रुमाले गाउँको भीर, इच्छिमाझ भीरलगायत ठाउँमा तामाखानीका दर्जनबढी सुरुङ रहेका छन् ।

अधिकांश ठाउँका सुरुङमा अहिले पनि तामाका धाउ प्रशस्त मात्रामा देखिने बताउँदै छन्त्यालले सुरुङको संरक्षण नहुँदा पहिरो र भलबाढीका कारण पुरिन थालेका उल्लेख गरे । “तत्कालीन समयमा तामाखानी उत्खनन गरेबापत सरकारलाई बुझाउनुपर्ने भेजा (कर) बढाएपछि यस क्षेत्रमा खानी उत्खनन गर्न छाडेर कतिपयले बस्ती अन्यत्र सारे भने कतिपयले पेसा परिवर्तन गरेका थिए”, उनले भने ।

ठाँडाखानीको पुरानो गाउँमा हुने खानी उत्खनन सरकारले बन्द गराएपछि कृषि पेसालाई अङ्गाल्न बस्ती स्थानान्तरण भएको पाइएको रघुगङ्गा गाउँपालिका–६ का वडासदस्य टेकजीत छन्त्यालले बताए । “हाम्रो पुर्खाको इतिहास खेती पाती गर्ने र पशुपालन गर्ने होइन, जहाँ खानी छ, त्यही गएर बस्ने र खानी खनेर जीविका चलाउने हो, तर पछि सरकारले कर लगाउन थालेपछि स्थानीयले कर तिर्नसक्ने अवस्था नबनेपछि खानी खन्ने पेसा सङ्कटमा परेको हो”, उनले भने ।

गाउँमा रहेका घरका भग्नावशेषसँगै खानीबाट ल्याइएका धातु पगालेर तामा निकालेपछि फालिएका तामाका धाउ पाखैभरि अहिले पनि देख्न सकिन्छ । परम्परागत आरनमा आगोले धातु पगालेर धाउलाई पाखामा छाडेकाले पुरानो गाउँमा खेतीपाती हुँदैन भने रुखबिरुवा पनि उम्रन मुस्किल पर्ने स्थानीयको भनाइ छ ।

आफ्नो पुख्र्यौली पेसा बन्द भएको र खेती किसानी गर्नुपर्ने भएपछि पुरानो गाउँबाट करिब १५ मिनेटकोे दूरीमा रहेको हालको ठाँडाखानीमा करिब एक सयवर्ष अघि सिङ्गो गाउँ सरेर आएको स्थानीयबासी बताउँछन् ।

तत्कालीन समयमा छन्त्याल समुदायले माटो र भिरको ढुङ्गा सुँघेर धातु भए÷नभएको पत्ता लगाउने गर्दथे । औजार र उपकरणसमेतको विकास नभएको अवस्थामा कुटो, कोदालो, घन, टुकटुके र छिनाजस्ता घरेलु औजारले पहाडभित्र सुरुङ बनाउने र सुरुङ भित्र निङ्गालाको भाङ बालेर धातु खन्ने काम गरिने स्थानीय ज्येष्ठ नागरिक बताउँछन् ।

छन्त्याल समुदायको पुख्र्यौली पेसा खानी खन्ने भएपनि सरकारले कर बढाएपछि उक्त पेसा छाडेर अन्य पेसामा लाग्नुपरेको ठाँडाखानीस्थित मालिका आधारभूत विद्यालयका पूर्वप्रधानाध्यापक खिममाया छन्त्यालले बताए ।

“यस्ता भिर तथा पहाडमा कुनै प्रविधिको प्रयोग र खोज अनुसन्धान नगरी धातुका खानी पत्ता लगाउनुले हाम्रो पुर्खाको विज्ञतालाई झल्काउँछ, अहिले पनि यस क्षेत्रमा खोज अनुसन्धान गर्ने हो भने प्रशस्त मात्रामा खानी पाउन सकिन्छ भन्ने हाम्रो विश्वास हो । पुराना खानी भग्नावशेष भइसकेका छन्, उत्खननका लागि सरकारी स्तरबाट कुनै पहल भएको छैन”, पूर्व प्रअ छन्त्यालले भने ।

ठाँडाखानीसँगै म्याग्दीमा छन्त्याल समुदायको परम्परागत बसोबास रहेका कुइनेखानी, चौरखानी, मङ्गलेखानी, गुर्जा खानी, मल्कबाङ, मच्छिम, ओखर बोटलगायत बस्ती नजिक प्रशस्त मात्रामा तामाखानीका सुरुङ छन् । खानी बन्द भएलगत्तै तत्कालीन समयमा छन्त्याल समुदायका युवा भारतीय र बेलायती सैनिकमा भर्ती हुनेक्रम उच्च रहेको थियो भन्दै अहिले वैदेशिक रोजगारीदेखि व्यापार व्यवसायको क्षेत्रमा आबद्ध भएको उनले बताए ।

रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले परम्परागत खानी आर्थिक विकासको महत्वपूर्ण आधार बनेको बताउँदै खानी उत्खनन गर्न सकेमा राज्यलाई आम्दानी हुने र स्थानीयलाई रोजगारी सिर्जना हुने बताए ।

“सरकारले पुराना खानी उत्खनन गर्ने नीति लिएको छ, तर अहिलेसम्म स्थानीय सरकारले कस्तो भूमिका खेल्ने स्पष्ट भइसकेको छैन । सङ्घ र प्रदेश सरकारले खानी उत्खननका लागि स्पष्ट अवधारणसहित स्थानीय सरकारलाई अधिकार दिने हो भने बन्द भएका खानीलाई पुनःसञ्चालन गर्न सकिन्छ”, उनले भने । 

‘एमगज’ हात्तीको जङ्गलमा उपचार

चन्द्रपुर (रौतहट) । लामो समयदेखि बिरामी भएर रौतहटको वन क्षेत्रमा घुमिरहेको पर्सा राष्ट्रिय निकुन्जको ‘एमगज’ नामक हात्तीको बिहीबार जङ्गलमा उपचार गरिएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका डा अमिर सडौलाको नेतृत्वमा आएको टोलीले आज बिहान बिरामी हात्तीको उपचार गरेका जिल्लास्थित डिभिजन वन कार्यालयका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिए ।

उनका अनुसार हिलेखोला वन क्षेत्रमा हात्ती देखिएको खबर पाएपछि डा सडौलाको टोलीसहित सशस्त्र वन रक्षकको टोली, वन कर्मचारी सो क्षेत्रमा पुगेर हात्तीको उपचार गरेका हुन् ।

हात्तीको दाया खुट्टामा चोट लागेको भन्दै गोली वा भाला प्रहारबाट घाइते भएको हुनसक्ने डा सडौलाले बताए । “हात्तीलाई बेहोस बनाएर उपचार गरिएको हो । उपचारपछि पुन होसमा ल्याएर सोही जङ्गलमा छाडिएको छ”, उनले भने ।

हात्ती बिरामी भएको खबर पाएपछि उपचारका लागि आएको उक्त टोलीले करिब दुई घण्टा लगाएर हात्तीको उपचार गरेको थियो ।

एमगज केही दिनअघि रौतहटको चन्द्रपुर–२ जुडिबेला गाउँमा घुमिरहेको थियो । स्थानीयले हात्ती बिरामी भएको खबर समाजिक सञ्जालमा हालेका थिए । हात्तीले रौतहटको उत्तरी भेगमा दर्जनौँको घर भत्काएको छ भने लाखौँको अन्न बालीमा क्षति पुर्‍याएको छ । 

यस्तो छ ‘मायाबी’ को ट्रेलर

काठमाडौं । फागुनको १४ गतेबाट प्रदर्शन हुने फिल्म ‘मायाबी’ को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक गरिएको ट्रेलरमा पल शाह र दीपिका प्रसाईंबीचको प्रेम र वियोगको कथालाई समेटिएको छ ।

पल र दीपिकासहित सुशील सिटौला, करिष्मा श्रेष्ठ र नव–नायक समिम खानलाई पनि ट्रेलरमा मुख्य स्थान दिइएको छ ।

दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको यस फिल्ममा ध्रुव न्यौपाने, राज कटुवाल र चन्द्र पन्तको लगानी छ ।

रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले किसानलाई रासायनिक मलको अभाव हुन नदिन र कालोबजारी रोक्न ठोस कार्ययोजना अघि बढाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।

बिहीबार मन्त्रालयसँग सम्बन्धित विभिन्न विषयमा बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटोछरितो र पारदर्शी बनाउँदै किसानलाई सँधै समस्या हुने अवस्था अन्त्य गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले कुनै देशलाई नभई नेपाली जनतालाई खुसी पार्ने गरी स्वदेशमै मल उद्योग स्थापनाको तयारी र प्राङ्गारिक मलको प्रयोगमा पनि प्राथमिकता दिने नीति ल्याउन आग्रह गरे । उनले रासायनिक मलका लागि समयमै बोलपत्र गर्न, तराईमा १० दिन, पहाडमा १५ दिनभन्दा बढी समय नलगाइ वितरण गरिसक्न पनि आग्रह गरे ।

मन्त्रालयका अनुसार वार्षिक पाँच लाख ५० हजार मेट्रिक टन मलका लागि २७ अर्ब ९५ करोड रकम विनियोजन गरिएको छ ।

हालसम्म दुई लाख ४० हजार मेट्रिक टन मल आयात भएको छ भने गत वर्षको मौज्जादसमेत गरी दुई लाख ६३ हजार मेट्रिक टन बिक्री भइसकेको छ । यस्तै हाल ३० हजार मेट्रिक टन युरिया मल आयात हुने क्रममा रहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा युरिया मलको मूल्य बढ्दै गएकाले आयातकर्तासँग सम्झौता भइसकेको मल आपूर्ति हुन समस्या हुने र ग्लोबल टेण्डरका लागि ४५ दिनसम्मको अवधि दिनुपर्ने कानुनी व्यवस्थाले समस्या हुने गरेको मन्त्रालयले ब्रिफिङ गरेको छ ।

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउने खालको कृषि नीति बनाउन र विद्यमान रूपमा अनावश्यक भएका संरचनाहरू थप गरी स्रोत साधनको उपयोगिता बढाउन आग्रह गरे ।

यस्तै आगामी २०८१ चैत २६ र २७ गते काठमाडौंमा हुने बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहकार्यका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कृषिमन्त्रीस्तरीय बैठकको तयारी भव्य रूपमा गर्न छलफल भएको छ । प्रधानमन्त्री ओलीले यस्ता मञ्चमा सहभागिता प्रभावकारी र वस्तुगत बनाउन तथा नेपालको समृद्धिको अपेक्षा पूरा गर्ने योजनामा सहयोग पुग्ने गरी प्रस्तुत हुन निर्देशन दिए ।

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, मुख्यसचिव एकनारायण अर्याल, कृषि मन्त्रालयका सचिवद्वय डा गोविन्द शर्मा र डा राजेन्द्रप्रसाद मिश्रसमेत सहभागी बैठकमा कृषि लगानी दशक (२०८१–२०९१), राष्ट्रिय कृषि नीति र कृषि विधेयक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, नेपाल कृषि अनुसन्धान परिषद्को पुनः संरचना, मासु निर्यातका लागि भैँसी पाडापालन कार्यक्रम, उखु किसानको अनुदान र सहुलियत कृषि कर्जालगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट प्रधानमन्त्रीको नाम हटाउन पनि स्मरण गराए ।

सुख्खा हिउँद: न हिमपात, न वर्षा

ध्रुवसागर शर्मा, म्याग्दी । हिउँदको समय सकिन अब करिब तीन साता मात्रै बाँकी छ । बितेको हिउँदे पाँच महिनामा हिमपात र वर्षा नहुँदा गम्भीर वातावरणीय असर देखिन थालेका छन् । हिउँदमा हिमपात नभएपछि सेता हिमालहरू फुस्रा बन्दै गएका छन् भने पानी नपर्दा खेतबारीमा लगाएका खाद्यान्न लगायत तरकारी बाली ओइलाउन थालेका कृषकले बताएका छन् । माघ नसकिदै गर्मी बढेको र विगतका वर्षको तुलनामा जाडो कम भएको म्याग्दीको बेनी नगरपालिका–२ का ८९ वर्षिय बेदप्रसाद उपाध्यायले बताए ।

जल तथा मौसम विज्ञान विभागले मङ्सिर १५ देखि फागुन १६ सम्मको हावापानी आकलन गर्दा औसतभन्दा कम पानी पर्ने र न्यूनतम्देखि अधिकतम तापक्रम बढ्ने पूर्वानुमान यस अघि नै गरेको थियो । हिउँदमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण जल तथा मौसम विभागको थियो । तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नदेखिएपछि हिउँदे खडेरी पर्ने भन्दै विज्ञहरूले कृषि, जल, वन, ऊर्जालगायत क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता विभूति पोखरेलले यही अवस्था रहिरहने हो भने तत्काल पानी पर्ने र हिमपात हुने सम्भावना नरहेको बताइन् । ‘अहिलेको अवस्थामा वर्षा र हिमपात भइहाल्ने लक्षण देखिदैन । सुख्खा खडेरीको लक्षण देखिएको छ । यद्यपि फेब्रुअरी नसकिएसम्म समग्र यो हिउँद कस्तो भयो भन्न मिल्दैन’, प्रवक्ता पोखरेलले भनिन् ।

हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण पर्यावरणीय सङ्कट देखिन थालेको भन्दै विज्ञले चिन्ता व्यक्त गरेका छन् । हिमालमा हिउँको मात्रा घट्दै गएको छ । हिमालमा हिउँ कम जम्मा भएको र त्यसको स्तर (हिउँरेखा) तल–माथि हुने गरेकोले पर्यावरणीय सङ्कट बढ्दै जान थालेको अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्रका (इसिमोड)का वैज्ञानिकहरूले बताएका छन् ।

नेपालमा मुख्यालय रहेको इसिमोडले हालै सार्वजनिक गरेको हिउँ अध्ययन अध्यावधिक रिपोर्ट २०२४ अनुसार हिमालय क्षेत्रमा सन् २०२४ को जाडो याममा सरदरभन्दा कम हिउँ पर्ने र जमिनमा हिउँ रहिरहने समय अवधि पनि घट्ने जनाएको थियो ।

हिमालमा हिमस्खलन हुने क्रम बढ्दै जाने तर समयमा हिमपात नहुने र भए पनि अत्यन्त कम मात्रामा हुने गरेकोले केही वर्ष अघिसम्म चाँदी जस्तै टल्कने सेता हिमाल पछिल्ला केही वर्षयता काला पहाडमा परिणत हुँदै जान थालेका इसिमोडमा कार्यरत वैज्ञानिक शेर मोहम्मद बताउँछन् । ‘पानीको बहावको समय र तीव्रतामा व्यापक फेरबदलको सङ्केत देखिएको छ । यो शोधकर्ता, नीति निर्माता र तल्लो तटीय क्षेत्रमा रहने समुदायका लागि खतराको घण्टी हो’ वैज्ञानिक मोहम्मदले भने ।

इसिमोडका वैज्ञानिकले पानी अभाव, बाढी, खडेरीजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सक्रिय कदम उठाउनुपर्ने र हरितगृह ग्यास उत्सर्जन घटाउनुपर्नेमा जोड दिएका छन् । हिउँद याममा हिउँ पर्ने क्रम घटेको र हिमालय क्षेत्रको जमिनमा हिउँ धेरै समयसम्म रहिरहन नसक्ने समस्या देखिन थालेको वैज्ञानिकको भनाइ रहेको छ ।

म्याग्दीको मुदीमा रहेको संसारको सातौँ अग्लो धौलागिरि हिमालमा हिउँको मात्रा घट्दै गएको छ । आठ हजार १६७ मिटर अग्लो धौलागिरि हिमाल पहिले बाह्रै महिना पूरै हिउँले ढाकिने गरेको भए पनि विगत केही वर्षयता हिमालको तल्लो भाग हिउँविहीन देखिने गरेको म्याग्दीका पर्यटन व्यवसायी चक्रबहादुर तिलिजा पुनले जानकारी दिए ।

हिउँदेयाममा समेत हिउँ नपरेपछि डाँडाकाँडा रूखा र सुक्खा देखिनथालेका छन् भने हिमालहरू कालापत्थरमा परिणत भएका छन् । ‘पहिले धौलागिरि हिमशृङ्खला पूरै हिउँले ढाकिएको हुन्थ्यो, पछिल्ला केही वर्षयता हिमालका तल्लो भाग काला पहाडजस्ता देखिन थालेको छ, जाडो याममा समेत हिमालहरू नाङ्गिएको देखिन्छ,’ तिलिजाले भने ।

पहिले चाँदीझैँ टल्कने हिमाल अहिले उराठलाग्दा देखिनथालेका डिभिजन वन कार्यालय म्याग्दीका वन अधिकृत चन्द्रमणी सापकोटा बताउँछन् । असोज र कात्तिकमा अत्यधिक वर्षा हुनु, मङ्सिर, पुस र माघ महिनामा पनि कम हिउँ पर्नु, जलवायु परिवर्तनको प्रभाव मान्न सकिने सापकोटाको भनाइ छ ।

सुख्खा खडेरी बढ्ने सङ्केत

विभागको पूर्वानुमान महाशाखाले हिउँदको बाँकी रहेको तीन साताको समयमा पनि वर्षा र हिमपातको मौसमी प्रणाली नरहेको बताएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले तत्कालै हिउँदे वर्षा र हिमपात हुने लक्षण नदेखिएकाले सुख्खा खडेरी बढ्न सक्ने बताए । उनका अनुसार जलवायु परिवर्तन र तापक्रम वृद्धिका अब्जरभेसन आइरहेकाले मौसमी प्रणालीमा पनि परिवर्तन देखिएको हो ।

जलवायुविज्ञ डा धर्मराज उप्रेती पनि हिउँदको बाँकी अवधिमा पानी पर्ने सम्भावना न्यून देखिएको बताउँछन् । ‘गत वर्ष पनि ८० प्रतिशत कम वर्षा भएको थियो । यसपटक पछिल्ला दुई वर्षको रेकर्ड तोडिने अवस्था भइरहेको छ,’ डा उप्रेतीले भने, ‘कम वर्षा भएको यो लगातार तेस्रो हिउँद हो । फेब्रुअरी २८ पछि हिउँदे अवधि सकिएर प्रि–मनसुन सुरु हुन्छ, अब बाँकी तीन हप्ता हिउँदमा पानी पर्ने सम्भावना न्यून छ ।’

डा उप्रेतीका अनुसार भूमध्य सागरको सतहको तापक्रममा आएको परिवर्तन र त्यसले सिर्जना गर्ने पश्चिमी वायु कमजोर भएसँगै अरब सागर र बंगालको खाडीमा पनि समुद्री सतहको तापक्रममा आएको परिवर्तनले पश्चिमी वायु कमजोर देखिएको छ । पश्चिमी वायु सक्रिय भएन भने वर्षा हुन नसक्ने उनको भनाइ छ । ‘यसपटक पश्चिमी वायु सक्रिय हुन सकेन । त्यसै कारणले यसपालि कर्णाली र सुदूरपश्चिमका केही भूभागमा बाहेक अन्यत्र वर्षा र हिमपात हुन सकेन’, उप्रेतीले भने । उनका अनुसार अहिलेसम्म ९.२ प्रतिशत मात्रै वर्षा भएको छ । ‘हिउँदे अवधिमा औसतमा ६१ मिलिमिटर पानी पर्नुपर्ने हो तर ५.५ मिलिमिटर मात्रै परेको छ, त्यो पनि पश्चिमी भागमा मात्रै’ डा.उप्रेतीले भने ।

पारिस्थितिकीय प्रणालीमा असर

जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण समग्र पारिस्थितिकीय प्रणालीमा असर पर्दै जान थालेको जानकारहरूले बताएका छन् । कृषि वैज्ञानिकहरूका अनुसार हिउँदमा पानी नपर्दा कृषि–खेती प्रणाली, वन प्रणाली, ऊर्जा प्रणालीमा नराम्रो प्रभाव पर्दै गएको छ । पानीका स्रोतहरू सुक्दै गएका छन् । सिँचाइको प्रवन्ध नभएका ठाउँहरूमा खडेरीले खाद्यान्न उत्पादन घटेको छ ।

‘हिमाली क्षेत्रका जमिनमा माटोको अम्लिएपना बढ्दै जाँदा रैथाने बालीहरू लोप हुँदै गएका छन् । जङ्गली फलफूलको पाक्ने समय परिवर्तन भएको छ । कैयौं वनस्पति र जङ्गली पशुपंक्षीहरू देखिन छोडेका छन् । खोला तथा नदीहरूमा पानीमा मात्रा कम हुँदै गएको छ’हिमाली क्षेत्रको वातावरणीय अध्ययनमा सक्रिय प्रत्युष वाग्लेले भने, ‘हिमाली क्षेत्रको पर्यावरणमा गम्भीर चुनाैती उत्पन्न भएको छ ।’ उनका अनुसार वनमा जंगली जनावरले पानी नपाउनेलगायत समस्या बढेका छन् । जङ्गली जनावरहरू जंगल छोडेर गाउँ बस्तीतिर पस्न थालेका छन् । सुक्खा बढेका कारण वनमा आगलागी घटना भइरहेका छन् । शहरहरूमा प्रदूषण खतराको तहसम्म पुगेको छ ।

पानी नपर्दा हिमालमा हिउँसँगै तल्लो भेगमा पानीलाई असर गरिरहेको वाग्लेको भनाइ छ । ‘हिउँ नपर्दा हिमाल नाङ्गा देखिएको, काला पत्थर देखिएको, ठाउँ–ठाउँमा उजाड भएको छ, यसको सीधै प्रभाव तल आएर पानीमा देखिन्छ । पानीका मुहान, स्रोत सुक्न थालेका छन् जसले गर्दा पिउने पानीको समेत संकट आउन सक्छ‚’ वाग्लेले भने ।

यस वर्ष (सन् २०२४ मा हिउँको मात्रा विगत २० वर्षको औसतको तुलनामा १८.५ प्रतिशतले कमी आएको इसिमोडले जनाएको छ । सन् २०१८ मा हिउँको मात्रा सर्वाधिक कम थियो भने यसवर्ष २०१८ को तुलनामा ०.५ प्रतिशतले मात्रै बढेको इसिमोडको तथ्याङ्कमा उल्लेख छ ।

गर्मी ठाउँमा मात्र पाइने लामखुट्टे हाल उच्च पहाडी र हिमाली भू–भागमा पनि पाइन थालेका छन् । जलवायु परिवर्तनकै कारण महत्वपूर्ण जडीबुटी तथा वनस्पति लोप भइसकेका छन् । साथै पृथ्वीमा समयमै पानी नपर्ने, परे पनि कहिले लगातार परिरहने त कहिले पानी नै नपर्ने भइरहेको छ । यसरी कहिले अत्याधिक वर्षा भई धनजनको विनास हुने त कहिले पानी नै नपरी खेतीबाली तथा वनजङ्गलनै सुक्ने अवस्था आइरहेको छ ।

जलवायु परिवर्तनका कारण मानव स्वास्थ्यमा समेत गम्भिर असरहरू देखिन थालेका चिकित्सक तथा वातावरण विज्ञहरूले बताएका छन् । जलवायु परिवर्तनकै कारण नयाँ–नयाँ रोगको देखिएका छन् । यसको असर बढ्दै जाँदा नेपालको हिमाली क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी यार्सागुम्बालगायतका वनस्पति पनि लोप हुने खतरा रहेको विभिन्न अध्ययनहरूले पनि पुष्टि गरेका छन् ।

शेयर बजारमा सात अंकको गिरावट

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से ओरोलो लागेको छ । बिहीबार नेप्से ७.२६ अङ्कले घटेर २ हजार ६ सय ७८.४७ विन्दुमा झरेको छ । आज फाइनान्स, लगानी र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर घटेको छ ।

आज विकास बैंक र जलविद्युत् समूहको शेयर झन्डै १ प्रतिशतले ओरालो लागेको छ । आज न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन मातृभूमि लघुवित्त, कुमारी सबल योजना र गार्डियन माइक्रो लाइफ इन्सुरेन्सको शेयर १० प्रतिशतले बढेको छ । आज कारोबार रकम पनि घटेको छ ।

आज ३ सय २ वटा कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ७ अर्ब ९२ लाख रुपैयाँमा किनबेच भएको छ ।

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत सम्पन्न, परीक्षण सम्पन्न हुनासाथ पानी वितरण सुरु गरिने

काठमाडौँ। नेपाल विद्युत् प्राधिकरणद्वारा विद्युत्का तार अण्डरग्राउण्ड गर्न ‘होरिजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत सम्पन्न भएको छ।

खानेपानीमन्त्री प्रदीप यादवको निर्देशनपछि काठमाडौँमा वितरण गरिने थोक प्रणालीको उक्त पाइप करिब २० घण्टापछि मर्मत सम्पन्न भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

उनले भने, ‘पाइप फुटेपछि खानेपानी मन्त्रीको निर्देशन पश्चात् गएरातिदेखि मर्मतको सुरु गरिएको हो। करिब २० घण्टापछि मर्मत सकिएको छ। अहिले पानी परीक्षण गर्न थालिएकाले परीक्षण सम्पन्न हुनासाथ पानी वितरण प्रक्रिया सुरु गर्नेछौँ।’

विद्युत् प्राधिकरणले मन्त्रालय तथा मातहतका निकायसँग आवश्यक समन्वय गरी काम गर्नुपर्नेमा मन्त्री यादवले जोड दिँदै आएका छन्। बुधबार बबरमहलस्थित खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि सो क्षेत्र जलमग्न भएको थियो भने विषेश अदालतसहित आसपासका सरकारी कार्यालयमा पानी पसेको थियो।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि २३ सदस्यीय नेपाली टोली घोषणा

काठमाडौं । नेपाल फुटबल संघ (एन्फा) ले आगामी सातादेखि काठमाडौंमा हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । बिहीबार प्रशिक्षक राजेन्द्र तामाङले २३ सदस्यीय टोली घोषणा गरेका हुन् ।

एन्जिला तुम्बापो सुब्बाको कप्तानीमा टोली घोषणा गरिएको छ । २३ सदस्यीय टोलीमा दुई जना नयाँ खेलाडीले मौका पाएका छन् । कप्तान एन्जिला, अन्जना राना मगर र उषा नाथ गोल किपर हुन् ।

त्यस्तै डिफेन्डरमा अमृता जैसी, गीता राना, बिमला बिक, पुजा राना, निशा थोकर, समीक्षा घिमिरे, बिमला चौधरी र मनमाया दमाइ चयन भएका छन् । मिडिफिल्डरमा अनिता बस्नेत, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सबिता रानामगर, रेनुका हमाल र सुष्मा तामाङ छन् ।

फरवार्डमा साबित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी छन् । डिफेन्डर मनमाया दमाइ र मिडफिल्डर सुष्मा तामाङ पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन् ।

फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदैछ ।

काश्मीर सीमामा भारत र पाकिस्तानबीच गोली हानाहान

श्रीनगर । भारतीय र पाकिस्तानी सैनिकहरूले दुई चिरपरिचित प्रतिद्वन्द्वीलाई विभाजन गर्ने अत्यधिक सैन्यीकृत काश्मीर सीमामा गोलीबारी गरेका छन् । पाकिस्तानी पक्षले बिहीबार कम्तीमा चार जनाको ज्यान गएको बताएको छ ।

सन् १९४७ मा बेलायती औपनिवेशिक शासनको अन्त्यमा एसियाली उपमहाद्वीपबाट विभाजन भएयता काश्मीर दुई छिमेकी देशबीच विभाजित छ ।

दुवै राष्ट्रले यसमाथि पूर्ण दाबी गर्छन् र यस हिमालय क्षेत्रको नियन्त्रणका लागि दुई युद्ध र थुप्रै साना लडाइँ लडेका छन् ।

पाकिस्तानी सरकारी प्रसारक पिटिभीले अज्ञात सुरक्षा स्रोतहरूलाई उद्धृत गर्दै बुधबारको घटनामा त्यस देशका दुई सैनिक र दुई सर्वसाधारण घाइते भएको जनाएको छ ।

अज्ञात भारतीय सुरक्षा अधिकारीहरूले प्रसारणकर्ता एनडिटिभीलाई पाकिस्तानी सेनाले बिना कुनै उक्साहट गोली चलाएपछि भारतीय सेनाले जवाफमा गोली चलाएको बताएका छन् ।

एएफपीले सोध्दा पाकिस्तानी सेनाले टिप्पणी गर्न अस्वीकार गर्यो । भारतीय सेनाका अधिकारीहरूले टिप्पणीको अनुरोधमा जवाफ दिएनन् ।

यो घटना त्यस क्षेत्रमा दुई दिनअघि एक विस्फोटक उपकरणबाट दुई भारतीय सैनिक मारिएको घटनापछि भएको हो ।

सन् २००३ मा दुवै छिमेकीले हस्ताक्षर गरेको सीमा युद्धविराम सम्झौता त्यसयताका दशकहरूमा मोटामोटी कायम रहेको छ तर दुवैले एक अर्कालाई यसको उल्लङ्घन गरेको बारम्बार आरोप लगाउँछन् ।

गत महिना भारतीय सेनाले भारत प्रशासित क्षेत्रमा प्रवेश गर्ने प्रयास गर्दा काश्मीर सीमामा आफ्ना सैनिकहरूले दुई विद्रोही लडाकूलाई मारेको बताएको थियो ।

धेरै विद्रोही समूहले मुस्लिम बहुल क्षेत्रको स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै त्यस क्षेत्रमा तैनाथ भारतीय सेनासँग लडेका छन् ।

द्वन्द्वमा दशौँ हजार मानिसको मृत्यु भएको छ । तीमध्ये अधिकांश सर्वसाधारण छन् ।

सन् २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले आंशिक स्वायत्तता रद्द गरेर नयाँदिल्लीबाट क्षेत्रको प्रत्यक्ष नियन्त्रण लागू गरेपछि लडाइँ घटेको छ ।

तर गत वर्ष तीन वर्षमा ५० भन्दा बढी सैनिकको ज्यान लिने घातक विद्रोही आक्रमणहरूको शृङ्खलापछि दक्षिणी पहाडी क्षेत्रहरूमा हजारौँ थप सैनिक तैनाथ गरिएका थियो ।

भारतले नियमित रूपमा पाकिस्तानलाई भारतीय सेनामाथि आक्रमण गर्न विद्रोहीहरूलाई साझा सीमा पार गराएर पठाएको आरोप लगाउँछ ।

पाकिस्तानले यो आरोप अस्वीकार गर्दै आफूले काश्मीरको आत्मनिर्णयको सङ्घर्षलाई मात्र समर्थन गर्ने बताउँछ ।

बालविवाह सामाजिक समस्या र कानुनी अपराध होः मुख्यमन्त्री कार्की

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बालविवाह सामाजिक समस्या र कानुनी अपराधका रूपमा रहेकाले सबैले यसका विरुद्ध ऐक्यबद्धता जनाउनुपर्ने बताएका छन् ।

जस्ट राईट फर चिल्डेन इन नेपालद्वारा मुख्यमन्त्री एवं मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा बिहीबार आयोजित ‘बालविवाह विरुद्ध प्रतिबद्धतापत्र’मा हस्ताक्षर गर्दै उनले बालविवाहका कारण बालिकाको मानसिक एवं शाररिक स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले यसको नियन्त्रणमा समाजका सबै व्यक्ति जिम्मेवारपूर्वक लाग्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकार बालविवाहको अन्त्य र नियन्त्रण गर्न अभियानका रूपमा नीति तथा कानुनी निर्माण गरी अगाडि बढेको जानकारी दिए ।

उनले प्रदेशमा बालविवाह निषेध गरिएको भन्दै कतिपय दुर्गमस्थान तथा पछाडि परेका वर्गमा यो समस्या विद्यमान रहेकाले यसको नियन्त्रण गर्न सुरक्षा निकाय, समाजका सरोकार भएका निकाय एकजुट भएर लाग्नुपर्ने आवश्यकता औँल्याए ।

हस्ताक्षर कार्यक्रममा सामाजिक अभिन्ता बालकृष्ण पाण्डे, डा गङ्गाधर अधिकारीलगायतले अन्य प्रदेशमा पनि बालविवाहविरुद्ध प्रतिवद्धता हस्ताक्षर अभियान सञ्चालन गरिसकेको जानकारी दिए  । कार्यक्रममा प्रदेशका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको उपस्थिति थियो ।

ट्रम्प र पुटिनले युक्रेनको विषयमा साउदी अरेबियामा वार्ता गर्ने

वासिङटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुई नेताबीच आश्चर्यजनक टेलिफोन वार्तापछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन शान्ति वार्ताका लागि साउदी अरेबियामा भेट्ने अपेक्षा गरेको खुलासा गरेका छन्  ।

ह्वाइट हाउसमा ट्रम्पको फिर्तीपछिको पहिलो पुष्टि गरिएको सम्पर्कमा अमेरिकी राष्ट्रपतिले युक्रेनमा सन् २०२२ को रक्तपातपूर्ण आक्रमणको आदेश दिने रुसी समकक्षीसँग ‘लामो र अत्यन्त फलदायी’ कुराकानी गरेको बताए ।

तर ट्रम्पले किएभको नाटोमा सामेल हुने चाहना ‘व्यावहारिक’ नभएको बताउनुभएपछि यो कदमले युक्रेनलाई आफ्नै भविष्यको वार्तामा बाहिर राखिने चिन्ता जगाएको छ । किएभलाई नाटोमा संलग्न गराउन नहुने मस्कोको प्रमुख माग हो ।

लगभग तीन वर्षको युद्धको छिटो अन्त्यका लागि दबाब दिइरहेका ट्रम्पले दुई आणविक–सशस्त्र महाशक्तिबीचको प्रत्यक्ष वार्ताबाट युक्रेनलाई बाहिर राखिएको कुरा अस्वीकार गरेका छन् ।

“हामी अपेक्षा गर्छौं कि उहाँ यहाँ आउनुहुनेछ र म त्यहाँ जानेछु – र हामी सम्भवतः पहिलो पटक साउदी अरेबियामा भेट्नेछौँ”, ट्रम्पले पुटिनसँग भेट्ने योजनाबारे ओभल अफिसमा पत्रकारहरूलाई भने ।

ट्रम्पले यो ‘धेरै टाढा नभएको भविष्यमा’ हुने अपेक्षा गरेको र साउदी युवराज मोहम्मद बिन सलमान पनि संलग्न हुने बताए । साउदी युवराजले यस हप्ता रुस–अमेरिका कैदी आदान–प्रदानमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

क्रेमलिनले फोन वार्ता डेढ घन्टा जति चलेको बताएको छ । दुई नेताले ‘एकसाथ काम गर्ने समय आएको’ सहमति गरेको र पुटिनले ट्रम्पलाई मस्को भ्रमणको निम्तो दिएको बताइएको छ ।

जनवरी २० मा पदभार ग्रहण गर्नुअघि ट्रम्पले युक्रेन युद्ध ‘२४ घन्टा भित्र’ अन्त्य गर्ने वाचा गरेका थिए । 

नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्छः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । । संस्कृति,पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले नदी संरक्षणको विषयलाई गम्भीरताका साथ लिनुपर्ने बताएका छन् ।

उनले फिल्म सेरिङ सिस्टर रिभर कर्णाली तथा सन् २०१६ मा सुरु गरिएको ‘ह्यासट्याग फोटो नेपाल’ पुनः सुरु भइ नवीन बरालको ‘कर्णाली नदीः तीन देशका तस्बिरहरु’ प्रदर्शन कार्यक्रममा मन्त्री पाण्डेले यस्तो बताएका हुन् ।

मन्त्री पाण्डेले भने,कर्णाली नदीको संरक्षण गर्ने, नदीहरुको दोहन नगर्ने गरी गरिएको छलफललाई गम्भीरताका साथ लिनुपर्छ । नदीको किनारमा क्रसर उद्योग खोल्ने, हाइड्रोपावर निर्माणका कार्यले नदीको प्राकृतिक स्वरुपमा आँच आइरहेको छ । मानवका रक्त नली जस्तै नदीहरुको सम्बन्ध पनि भूगर्भसम्म रहने गर्छ ।’

उनले विकास निर्माणका कार्य गर्दा नदीको प्राकृतिक सौन्दर्य नबिग्रने गरि पूर्वाधार तथा भौतिक संरचना बनाउनु पर्नेमा जोड दिए ।

उनले विकसित राष्ट्रहरुबाट असन्तुलित रुपमा भएको प्राकृतिक दोहनका कारण जलवायु परिवर्तनको असर बढ्दै गएको बताउँदै अन्नपूर्ण वेशक्याम्प लगायतका हिमालहरुमा समेत हिउँ नभएको प्रति चिन्ता व्यक्त गरे ।
मन्त्री पाण्डेले हिमालको हिउँ पग्लेर हिमाल, पहाड र समुन्द्री तट हुँदै समग्र विश्वमा असर परिरहेको बताए । उनले  नेपाल जस्ता अल्पविसित मुलुकहरुले विविध संस्कृति र प्रकृतिको संरक्षणका निम्ति दबाबको आवश्यकता औल्याए ।

शंखरापुर दुर्घटनाका २७ घाइते ‘डिस्चार्ज’, चालक नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस बुधबार अपराह्न भएको दुर्घटनामा घाइते भएका ४३ मध्ये आज २७ जना उपचारपछि घर फर्किएका छन् । 

उनीहरु उपचारपछि बिहीबार घर फर्किएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनका अनुसार नगरकोटमा ‘पिकनिक’ खाएर आउने क्रममा सत्यसाई एकेडेमीका विद्यार्थी चढेको बस दुर्घटनामा परेको हो ।

सडकबाट २० फिट तल खसेर भएको उक्त दुर्घटनामा बुधबार बसमा सवार मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौँ बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसाङ्क डोटेलको मृत्यु भएको थियो । उनीहरु तीनै जना विद्यार्थी हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका क्रिस्चलको शिक्षण अस्पताल महाराजगञ्जमा, सुरेशको नेपाल मेडिकल कलेजमा र शुसाङ्कको शङ्खरापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

अहिले दुईको केएमसी अस्पतालमा, नौको एनएमसी अस्पतालमा, एकको मेडिसिटी अस्पतालमा, दुईको शिक्षण अस्पताल महाराजगञ्जमा, एकको हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा र एक जनाको पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता बोहराले जानकारी दिए । बस चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको पनि उनले बताए

गहुँमा उत्पादनअनुसारको अनुदान

कैलाली ।  कैलालीको जानकी गाउँपालिका– ४ का शेरबहादुर थारूले गत वर्ष १० कठ्ठा जग्गामा २० क्विन्टल गहुँ उत्पादन गरे । गाउँपालिकाले उत्पादनका आधारमा अनुदान दिन थालेपछि खेतीमा निकै मिहिनेत गरेका उनले यस वर्ष त्यही जग्गामा २५ क्विन्टल उत्पादन गर्ने लक्ष्य लिएका छन् । गत वर्ष शेरबहादुरले उत्पादनका आधारमा ६ हजार चार सय अनुदान पाएका थिए।

‘कुनै झन्झट छैन, गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिनुहुन्छ, खेतमै पुगेर गहुँको तौल गरेर उत्पादनका आधारमा खातामा पैसा आउँछ,’ उनले भने, ‘यसले किसानलाई मिहिनेती बनाएको छ, उत्पादनमा पनि प्रतिस्पर्धा बढाएको छ।’

सोही वडाका सन्तलाल कठरिया पनि गाउँपालिकाको कृषि अनुदानबाट निकै प्रभावित भएका छन्। गाउँपालिकाले उपलब्ध गराएको अनुदान रकमले खेतीका लागि आवश्यक मलखाद खरिद गर्न पुगेको उनले सुनाए । किसानलाई उत्पादनमा आधारित अनुदानले प्रोत्साहित गरेको उनको बुझाइ छ । ‘अनुदान पाउन कति कठिन छ, त्यो सबैलाई थाहा भएको कुरा हो। सामान्य व्यक्ति सायद सरकारले वितरण गर्ने अनुदानको पहुँचमा पुग्न सकेको छैन,’ उनले भने, ‘यहाँ न कसैको शक्ति लाग्छ, न पहुँचमा नै हुनुपर्छ, उत्पादन भयो भने अनुदान रकम खातामा आउँछ ।’

किसान मोतीलाल चौधरीले गत वर्ष दुई बिघा पाँच कठ्ठामा गहुँखेती गरे। उक्त जग्गामा मोतीलालले ९० क्विन्टल गहुँ उत्पादन गरे। उत्पादनका आधारमा उनले गाउँपालिकाबाट रु. ४१ हजार अनुदान प्राप्त गरेको बताए। ‘गत वर्षभन्दा यस वर्ष बढी मिहिनेत गरेर तीन बिघामा गहुँखेती गरेको छु, अनुदान पनि बढ्नेछ,’ उनले भने, ‘पाएको अनुदानले बिउ र मलखादका लागि पुग्छ।’

यस्तै, किसान सविता कठरियाले चार बिघा क्षेत्रफलमा गहुँखेती गरेकी छिन्। उनी उत्पादनका आधारमा अनुदान पाउनेभन्दा पनि गाउँपालिकाबाट प्राविधिक खेतमै पुगेर सल्लाह दिँदा बढी खुसी छिन्। उनले अनुदानका साथमा प्राविधिक सहयोग पनि पाइरहेकी छिन्। ‘हामी गाउँपालिकाको कामबाट निकै उत्साहित छौँ, बालीमा रोग लाग्दा समयमा उपचार पाएका छौँ, उत्पादन राम्रो हुँदा नगद अनुदान पाएका छौँ,’ उनले भनिन्, ‘गहुँजस्तै अन्य बालीमा पनि अनुदान दिन सक्यो भने कृषि प्रति अझै आकर्षण बढ्दै जाने देखिन्छ ।’

गत वर्ष गाउँपालिकाले ६५ किसानलाई झन्डै रु. नौ लाख अनुदान दिएको थियो । अनुदानका लागि ७२ जनाले आवेदन दिएका थिए । यस वर्ष त्यो संख्या बढेर २०५ पुगेको कृषि शाखा प्रमुख लालवीर चौधरी बताउँछन्। उनका अनुसार किसानले खेती गरेको जग्गाको क्षेत्रफल नापजाँच गरेर बाली काटेपछि उत्पादनका आधारमा अनुदान रकम वितरण गरिँदै आएको छ।

‘गाउँपालिकाबाट प्राविधिकलाई किसानको खेतमै खटाएर त्यसको लगत ल्याउने काम गर्छँ, त्यसैका आधारमा किसानलाई अनुदान रकम दिने गरेका छौँ,’ उनी भन्छन्, ‘किसान यसबाट उत्साहित भएको हामीले पाएका छौँ, फेरि वास्तविक किसानले अनुदान पाएका छन्।’ यस वर्ष गाउँपालिकाले अनुदानका लागि रु. १४ लाख बजेट विनियोजन गरेको छ।

उत्पादनका आधारमा किसानलाई अनुदान वितरण गर्न गाउँपालिकाले कार्यविधि नै ल्याएको छ । कार्यविधिअनुसार अहिले गहुँ बालीमा दिइँदै आएको अनुदान अन्य बालीमा पनि विस्तार गर्दै लैजाने गाउँपालिकाको तयारी छ । ‘बिउ तथा मलखाद वितरण गरेर त्यसबाट कसले कति उत्पादन गर्न सक्यो त्यसको लेखाजोखा नहुने भएपछि नयाँ तरिका अपनाएका हौँ,’ गाउँपालिका अध्यक्ष गणेश चौधरीले भने, ‘यसले किसानलाई उत्पादनसँग जोडेको छ भने किसान आफैँ उत्पादनका लागि प्रतिस्पर्धी बन्नुभएको छ।’ उनका अनुसार किसानले खेतीमा राम्रो मिहिनेत गर्दै आएका छन्।

गाउँपालिकाले कृषिजस्तै शिक्षामा पनि नतिजाको आधारमा विद्यालयलाई अनुदान दिन थालेको छ । कक्षा ५, ८ र १० का विद्यार्थीको वार्षिक पीक्षाको नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन थालेसँगै विद्यालयबिचमा पनि प्रतिस्पर्धा हुन थालेको छ । यो कार्यक्रमले शैक्षिक गुणस्तरमा टेवा पुग्ने विश्वास गाउँपालिकाले लिएको छ। 

वनक्षेत्रबाट विस्थापित हुँदै आदिवासी समुदाय

कुम्भराज राई, काठमाडौँ । विसं २०७७ साउन ३ गते चितवनको माडी नगरपालिका–९ कुसुमखोलामा बसोबास गर्दै आएका १० भन्दाबढी चेपाङ समुदायको घर हात्ती लगाएर भत्काउँदै जलाइयो । उक्त कार्यमा चितवन राष्ट्रिय निकुञ्जका सहायक वार्डेनको टोलीसहित सेनाको सङ्लग्नता थियो । निकुञ्जको जग्गा मिचेको आरोपसहित उनीहरुको बस्तीमा आगो लगाइएको थियो ।

सो घटनापश्चात विभिन्न मानवअधिकारवादी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाले आपत्ति जनाए । माडी नगरपालिकाले एक सय ६० घरधुरी चेपाङलाई नयाँ बस्तीमा स्थानान्तरण गरे पनि अझै केही घर पुरानै क्षेत्रमा छन् । “चेपाङहरु जङ्गल आसपास बस्न मन पराउने भएकाले केही घरधुरीलाई हामीले अनुरोध गर्दा पनि सर्न मान्नुभएको छैन”, सो वडाका वडाध्यक्ष घनश्याम दवाडीले भने, “अहिले पनि वर्षमा एक–दुई पटक निकुञ्जले हात्ती लैजाने, हटाउने प्रयास गरिरहेको छ ।” सो घटनामा दूधे बालक र वृद्धवृद्धासहित ५२ जनाको बिल्लीबाठ भएको थियो ।

त्यस्तै २०७७ साउन १ मा चितवनको राप्ती नगरपालिका–२ का २४ वर्षीय राजकुमार चेपाङसहित सातजना घोंगी टिप्न निकुञ्ज प्रवेश गरेका थिए । उनीहरुलाई नेपाली सेनाले पक्राउ गरी कुटपिट गर्दा त्यसको सात दिनपछि राजकुमारको मृत्यु भयो । अम्बा, निबुवाजस्ता जङ््गली फलफूल र घोंगी टिप्न निकुञ्ज क्षेत्र प्रवेश गरेका उनीहरुलाई निकुञ्जको सुरक्षार्थ खटिएका सेनाले अमानवीय यातना दिएका थिए ।

पछि उच्च अदालत हेटौँडाले कुटपिटमा सङ्लग्न नेपाली सेनाको तत्कालीन सिद्धिबक्स गणका हुद्दा चिरणकुमार बुढालाई जन्मकैदको फैसला गरे पनि घटनामा सङ्लग्न अन्य सेनाले छुट पाए । तर जीविकाकै लागि निकुञ्ज प्रवेश गरेका राजकुमारले ज्यान गुमाए । यस्ता घटना धेरै छन्, कमै मात्र सार्वजनिक हुने गर्दछन् ।

चेपाङलगायत अधिकांश आदिवासी जनजाति समुदाय जल, जमिन र जङ्गलसँग निकट मानिन्छन् । प्राकृतिक स्रोत साधनमा निर्भर यो समुदायले विज्ञान प्रविधिभन्दा रैथाने ज्ञान, प्रथा, परम्परालाई बढी महत्व दिन्छन् ।

अन्तर्राष्ट्रिय सन्धि, महासन्धिसमेतले आदिवासी समुदायको जल, जमिन र जङ्गल उपयोग गर्न पाउने अधिकार सुनिश्चित गरेको छ । नेपालले त्यस्ता महासन्धिमा पक्ष राष्ट्रको रूपमा हस्ताक्षर गरेको छ । तर, नेपालकै ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ले वर्षौँदेखिको आदिवासी समुदायको अधिकार हनन् गर्दै आएको छ ।

विसं २०७८ को जनगणनाअनुसार कूल जनसङ्ख्याको ३५ दशमलव ०४ प्रतिशत रहेको आदिवासी जनजातिको अधिकार पटकपटक खोसिरहेका छन् । कतिपय कानुनमै समस्या रहेको छ भने कतिपय अवस्थामा त्यसको कार्यान्वयन फितलो हुँदा पीडितले न्याय पाउन सकेका छैनन् ।

शिकार आरक्षमा झनै समस्या

मुलुकको एकमात्र शिकार आरक्ष हो ढोरपाटन शिकार आरक्ष । २०३९ सालमा यो आरक्ष स्थापना गरिँदा त्यहाँका आदिवासी जनजाति मगर समुदायको भूमि कब्जा गरिएको थियो । त्यतिखेर पञ्चायतकालीन समयमा असन्तुष्टि व्यक्त भए पनि आन्दोलनको रूप लिन सकेन ।

त्यहाँ बाग्लुङको चार, रुकुमको सात र म्याग्दीको तीन वटा गरी १४ वटा गाविस हडप्ने काम गरियो । यसका कारण स्थानीयले समस्या भोग्न थाले । उनीहरुले शिकार आरक्षप्रति असन्तुष्टि जनाउँदै ढोरपाटन शिकार आरक्षको खारेज गरी सामुदायिक स्व–व्यवस्थापनमा रूपान्तरण गर्न, आरक्षको सुरक्षार्थ नाममा नेपाली सेनाको क्याम्प स्थापना गर्ने सरकारी निर्णय खारेजको माग राख्दै आएका छन् ।

आदिवासीहरुको मानव अधिकारको सम्मानलगायतका मागसहित स्थानीयवासीले २०७२ सालपछि विभिन्न आन्दोलन गर्दै आएका छन् । सो क्षेत्रमा मध्यवर्ती क्षेत्र स्थापना गर्ने भनिए पनि स्थानीयवासीले सिधै शिकार आरक्ष खारेजीको माग गरेका छन् ।

केही समयअघि प्राकृतिक स्रोत संरक्षणविज्ञ डा कमल थापा र अधिवक्ता इन्दिराकुमारी श्रीस मगरले गरेको एक अध्ययनले पनि यसक्षेत्रको पारिस्थितिकीय प्रणाली सुधार गर्न पुराना संरक्षणका रणनीति तथा अभ्यासहरू काम नलाग्ने निष्कर्ष निकालिएको थियो । आदिवासी रैथाने ज्ञानलाई मिचेर बनाइएको शिकार आरक्ष क्षेत्रले आम्दानीको तुलनामा घाटा बढी व्यहोरेको छ भने जङ्गली जनावरको सङ्ख्यामा पनि उत्साहजनक वृद्धि देखिएको छैन ।

इन्डिजिनियस वुमन लिगल अवेयरनेस ग्रुप (इनोल्याग)की अध्यक्षसमेत रहेकी अधिवक्ता इन्दिरा श्रीस मगर भन्छिन्, “राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन नै संशोधन हुनुपर्छ । आदिवासी अधिकारको पक्षबाट हेर्दा भूमीको पुनःव्यवस्थापन हुनुपथ्र्यो, त्यो भएन । हामीसँग जग्गा प्राप्ति ऐनहरु पनि छन् । निकुञ्ज गठन गर्दा स्थानीयको जग्गा चाहिएमा उनीहरुलाई छुट्टै जग्गा दिनुपर्ने व्यवस्था छ तर कतै कार्यान्वयन भएको छैन ।”

उनले नियमावली, निर्देशिका बनाएर सानोतिनो काम भएपनि मुख्य समस्या ऐनमै रहेको बताइन् । “संरक्षणको नाममा आदिवासी समुदायलाई विस्थापित गर्नु हुँदैन,” उनले भनिन्, “कम्तिमा नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय महासन्धि आइएलओ १६९, युनड्रिप धारा २८ लगायतको कार्यान्वयन गर्नुपर्छ ।”

हालै मात्र इनोल्यागले ढोरपाटन शिकार आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, कोशी टप्पु वन्यजन्तु आरक्ष, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज गरी चार ठाउँमा अध्ययन गरेको छ । उक्त संस्थाले ती चारवटै क्षेत्रमा आदिवासी महिला मानवअधिकार रक्षक समूहसमेत गठन गरेको छ । ती क्षेत्रमा बस्ने आदिवासी महिलाहरुले घाँस, दाउरा, गोठालालगायतका जीविकासँग सम्बन्धित क्रियाकलापमा संलग्न हुँदा विभिन्न हिंसा भोग्दै आएकाले अधिकारका लागि रक्षक समूह गठन गरेको संस्थाले जनाएको छ ।

उपेक्षामा आदिवासी

समाजशास्त्री डा मीना पौडेल करिब २५ वर्षअघि नवलपरासीको नारायणी नदी किनार क्षेत्रमा बसोबास गर्ने बोटे समुदायमा पुगेकी थिइन् । त्यतिखेर उनीहरु भर्खरै चितवन राष्ट्रिय निकुञ्जबाट विस्थापित भएपछि नारायणी नदी किनारमा बसोबास गरेका थिए । “उनीहरुको एउटै माग थियो । हामीलाई जहाँ सारिए पनि नदी खोलामा माछा मार्नु पाउनुप¥यो । हामी अरू काम गर्न जान्दैनौँ”, ती दिन स्मरण गर्दै पौडेलले भनिन्, “तर पछि विभिन्न ऐन कानुन देखाएर उनीहरुलाई माछा मार्न प्रतिबन्ध लगाइयो ।” तिनै बोटे समुदायका अधिकांश युवा अहिले वैदेशिक रोजगारीमा पुगेको उनी बताउँछिन् । “गाउँमा भएका केहीले त्यहीँ नजिकै स्थापना भएको चाउचाउ उद्योगमा काम गर्छन्”, उनले भनिन्, “राज्यले आदिवासीलाई हेर्ने दृष्टिकोण सधैँ उपेक्षित देखिन्छ ।”

मेरापिकमा महासङ्घको आपत्ति

सरकारले सोलुखुम्बुको महाकुलुङ, सोताङ र माप्य दूधकोशी गाउँपालिकालाई समेटेर मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको छ । उक्त कार्य सरोकारवाला आदिवासी जनजाति समुदायसँगको परामर्शबिना हुन लागेको महासङ्घले जनाएको छ । महासङ्घले गत कात्तिक २३ गते उक्त प्रस्ताव कार्यान्वयन नगर्न माग गर्दै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीलाई ज्ञापनपत्र बुझाएको थियो ।

नेपालको संविधानको धारा ५१(ञ) को ८, जैविक विविधता महासन्धि १९९२, आइएलओ महासन्धि १६९ लगायतमा उल्लेख भए विपरीत सरकारले एकलौटी ढङ्गबाट मेरापिक राष्ट्रिय निकुञ्ज घोषणा गर्ने तयारी गरेको आदिवासी जनजाति महासङ्घका नेताहरु बताउँछन् ।

“आदिवासी जनजातिहरूको प्रथा जनित अभ्यास र परम्परागत जीवनपद्धतिलाई उपेक्षा गर्दै आदिवासी जनजातिहरुको प्राकृतिक स्रोत साधनको उपयोगमा बन्देज लगाउँदै राज्यले राष्ट्रिय निकुञ्ज, आरक्ष, संरक्षित क्षेत्र र शिकार क्षेत्रहरु घोषणा गरिरहने र आदिवासी जनजातिहरुको मानवअधिकार उल्लङ्घन गर्ने काम भइरहेको छ”, महासङ्घका महासचिव दिवस राईले भने, “हाल सोलुखुम्बुमा घोषणा गर्न लागिएको राष्ट्रिय निकुञ्जले हामी आदिवासी जनजातिको थातथलो खोसिन लागेकोप्रति सशङ्कित र आतङ्कित बनाएको छ ।”

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक रामचन्द्र कँडेलले भने नयाँ निकुञ्ज गठन नभएर त्यसक्षेत्रको व्यवस्थापनमा कठिनाइ भएकाले त्यसलाई निकुञ्ज क्षेत्र जसरी व्यवस्थित गर्न खोजिएको मात्र बताए । त्यसक्षेत्रको पर्यटकीय सम्भावनालाई उजागर गर्न विभागले प्रस्ताव गरेको उनको भनाइ छ ।

महानिर्देशक रामचन्द्र कँडेल आवश्यक भएमा ‘राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९’ परिमार्जन गर्न सकिने बताउँछन्। “ऐनमा केले अप्ठ्यारो पारेको छ, त्यो विषय प्राप्त भएमा हामी संशोधन गर्न तयार छौँ” उनले भने, “हामीले जनताको सर्वोच्चतालाई कायम गरेर काम गरिरहेका छौँ ।

नेपालमा १२ राष्ट्रिय निकुञ्ज, १ वन्यजन्तु आरक्ष, १ शिकार आरक्ष, ६ संरक्षण क्षेत्र तथा १३ मध्यवर्ती क्षेत्र छन् । ती सबै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग मातहत सञ्चालित छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार विभागले काम गर्दै आएको छ ।

मानवअधिकार तथा नेपाली आदिवासी समुदायका कानुन व्यवसायीहरुको संगठन (लाहुर्निप) का अध्यक्ष दिनेशकुमार घले नेपालको संविधानअनुसार मुलुक सङ्घीय संरचनामा गए पनि २०८९ सालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनका प्रावधान परिवर्तन नभएको बताउँछन् ।

“कतिपय ऐनका प्रावधानहरु संविधानभन्दा माथि छन्, समयसापेक्ष ढङ्गले विकासका अवधारणाहरु परिवर्तन हुँदै आए”, उनले भने, “विश्वव्यापीकरण र मानवअधिकारका दृष्टिकोणलाई समावेश गरेर परिमार्जन गर्न जरुरी छ । त्यस्ता ऐनहरु अत्यन्तै केन्द्रिकृत र निरकुंश छ ।”संविधानले सुनिश्चित गरेको हकहरु, अन्तर्राष्टिय कानुनलाई ती ऐनले सम्बोधन नगरेको उनको ठम्याइ छ । ती ऐन परिमार्जन गर्ने कुरामा सरकार गम्भीर नभएको उनी बताउँछन् । अन्तर्राष्टिय कानुनले दिएका अधिकारहरु कार्यान्वयन गर्दा आदिवासी समुदायको सांस्कृतिक, आध्यात्मिक, भाषिक, पहिचानको कुरालाई पनि ख्याल गर्नुपर्ने उनले बताए ।

लाहुर्निपकै उपाध्यक्ष शंकर लिम्बू नेपालका अधिकांश राष्ट्रिय निकुञ्जहरु आदिवासी जनजाति समुदायलाई विस्थापित गरी स्थापना गरिएको बताउँछन् । विगतमा चितवन राष्ट्रिय निकुञ्ज लगायतमा घटेका घटनालाई उनी नेपाल पक्ष रहेको ‘सबै प्रकारको नश्लीय विभेद उन्मूलन गर्ने महासन्धि १९६५ को धारा १’ अनुसार यो नश्लीय विभेद भएको बताउँछन् । उनले आदिवासीहरुको अधिकार सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र २००७ को धारा ८ अनुसार व्यक्ति हत्या तथा घर जलाउने कार्य जनजातीय संहारको परिभाषा भित्र पर्नेसमेत जिकिर गरे ।

के छ अन्तर्राष्ट्रिय कानुनमा ?

नेपालले विभिन्न संयुक्त राष्ट्रसङ्घीय घोषणापत्रहरुमा पक्ष राष्ट्रको रूपमा हस्ताक्षर गरेको छ । त्यसरी पक्ष राष्ट्रको रूपमा हस्ताक्षर गर्नुको अर्थ ती अन्तर्राष्ट्रिय कानुनहरुको पालना गर्छु भन्नु हो । आदिवासी समुदायका अधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय घोषणापत्र (युएन ड्रिप) को धारा २८ आदिवासी समुदायलाई कुनै कारणले विस्थापित गरिएमा उनीहरुको जग्गा वा भूमि कब्जा गर्दा पूर्व जानकारी गराउनुपर्ने वा सहमति लिनुपर्ने र न्यायोचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, त्यसरी राज्यले क्षतिपूर्ति उपलब्ध गराउँदा उनीहरुको परम्परामा ख्याल गरी भएको क्षति पूर्ति हुने किसिमको उपलब्ध गराउनुपर्ने उल्लेख छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन महासन्धि नं. १६९ मा आदिवासी तथा जनजातिका अधिकार, चाहना र आकांक्षालाई राज्यको नीति, कानुन र संरचनामा सम्बोधन गर्ने, मुलुकका अन्य समुदायसँग समान अधिकार उपयोग गर्ने व्यवस्था सुनिश्चित गर्ने, आदिवासी तथा जनजातिका सामाजिक, आर्थिक र सांस्कृतिक अधिकार पूर्णरूपमा उपयोग गर्नका लागि प्रवद्र्धन गर्नेलगायत उल्लेख छन् । 

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मतको काम सुरु

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ ।

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए ।

उनले भने,’पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो । पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ । मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौं ।’

विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालत सहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो ।