`

पुनःनिर्माणपछिको बारपाक र लाप्राक

गोरखा । विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ । भूकम्पको केन्द्रविन्दु रहेको वारपाक क्षेत्रका अधिकांश स्थानीयको घर पूर्णरूपमा भत्किएर करिब ७० जनाभन्दा बढी स्थानीयवासीको ज्यान गएको थियो । भूकम्प गएको आज १० वर्ष पूरा भएको छ ।

त्यस्तै लाप्राक क्षेत्रको धार्चे गाउँपालिका–४ स्थित गुप्सीपाखामा अवस्थित लाप्राक नमुना बस्ती । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) र नेपाल सरकारको सहयोगमा निर्माण गरिएको यो बस्तीमा जम्मा ६ सय ४ घरधुरी रहेको छ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

तीन दिनभित्र शिक्षकलाई विद्यालय फर्कन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकलाई तीन दिनभित्र विद्यालय फर्किन आदेश दिएको छ । अधिवक्ता श्रवणकुमार चौधरीले दायर गरेको रिटमा न्यायाधीश डा. नहकुल सुवेदीको इजलासले यस्तो आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’

विद्यालय शिक्षा ऐन जारी गर्नुपर्नेलगायत माग राखी देशभरका शिक्षक चैत २० देखि काठमाडौं केन्द्रित आन्दोलनमा छन् ।

वैशाख २० देखि हिमालयन जाभा बास्केटबल लिग हुने

काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) ले हिमालयन जाभासँगको सहकार्यमा हिमालयन जाभा बास्केटबल लिग (एचजेबीएल) आयोजना गर्ने भएको छ ।

पहिलो पटक आयोजना हुन लागेको हिमालयन जाभा बास्केटबल लिग यही बैशाख २० गतेदेखि हुने नेपाल बास्केटबल संघले बिहीबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहने नेबाका अध्यक्ष भिमसिंह गुरुङले जानकारी दिए । जसमा टाइम्स क्लब, हाउण्ड्स क्लब, गोल्डेनगेट इन्टरनेसनल क्लब, रोएल्स, कीर्तिपुर बास्केटबल क्लब र सामाखुशी क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

हिमालयन जाभा बास्केटबल लिग ६ साता चल्नेछ भने खेलहरु विकेण्डमा खेलाइनेछ । जस अन्गर्त हरेक शनिवार र आइतबार खेल हुनेछ । यस्तै मौसमको अवस्था हेरेर मंगलबार र बुधबार पनि खेल खेलाउने नेबा अध्यक्ष गुरुङले जानकारी दिए । प्रतियोगिताको खेलतालिका छिटै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।

लिग डबल राउण्ड रोविनको फम्र्याटमा हुनेछ । जसमा हरेक टिमले अर्को टिमसँग दुई–दुई पटक खेल्नेछ । लिगका खेलहरु राखेपस्थित आउटडोर भलिबल कोर्टमा हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

‘होम एण्ड अवे फम्र्याटमा खेल्ने योजना भएपनि मौसमको अवस्थाले गर्दा सिंगल भेन्युमै खेलाउन लागेका हौँ । हामीले राखेपको कभर्डहल र कीर्तिपुरको कभर्डहललाई पनि विकल्पमा राखेका छौँ ।’ अध्यक्ष गुरुङले भने ।

प्रतियोगितामा डबल राउण्ड रोविनमा ३० खेल हुनेछ भने त्यसपछि फाइनल खेल हुनेछ । फाइनल खेलमा दुई प्लेअफ खेल हुनेछ ।

बास्केटबल लिग आयोजनाका लागि यसअघि नै नेपाल बास्केटबल संघ र हिमालयन जाभाबीच सम्झौता भइसकेको छ ।
नेपाली बास्केटबल खेल र खेलाडीको विकासका लागि यो लिग आयोजना गर्न लागेको नेबा अध्यक्ष गुरुङले बताए ।

‘हामीले पहिलो पटक परिक्षण स्वरुप विकेण्ड लिग आयोजना गर्न लागेका छौँ । यसलाई पहिलो पटक राम्रोसँग सफल पार्न सके आगामी वर्षहरुमा अझ बृहत रुपमा आयोजना गर्नेछौँ । यसले खेलाडी र बास्केटबल समर्थकहरुका लागि खेल हेर्न राम्रो अवसर सिर्जना गर्ने विश्वास लिएका छौँ ।’ नेबा अध्यक्ष गुरुङले भने ।

प्रतियोगिताको लागि १५ लाख अनुमानित बजेट रहेको र यो अझै बढ्न सक्ने आयोजकले जनाएको छ । निजी क्षेत्रबाट नभई संघले नै यो प्रतियोगिता गर्न लागेकोले बजेट थोरै देखिएको नेबा अध्यक्ष गुरुङले जानकारी दिए ।

मुख्य प्रायोजक हिमालयन जाभा बाहेक अन्य प्रायोजकहरुसँग पनि छलफल भइरहेको र लिगको पुरस्कार राशी पनि केही समयपछि सार्वजनिक गर्ने उनको भनाई थियो ।

सुन्धारामा सर्वसाधारणमाथि निर्घात कुटपिट गर्ने चार जना ट्राफिक प्रहरी कारबाहीमा तानिए

काठमाडौं । एक व्यक्तिमाथि कुटपिट गर्ने चार जना ट्राफिक प्रहरीमाथि अनुसन्धान सुरु गरेको छ । ट्राफिक प्रहरीले एक व्यक्तिलाई कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई अनुसन्धान सुरु गरेको हो।

प्रहरीले उक्त घटना २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुल मुनि भएको जनाएको छ ।

आगामी निर्वाचनको चिन्ता गर्नुस्, सरकारको होइनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेता कार्यकर्तालाई सरकारका बारेमा चिन्ता नगर्न आग्रह गरेका छन् ।

लोकतन्त्र दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘युथ सेलिब्रेसन’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारको नभई ०८४ को निर्वाचनको चिन्ता गर्न आग्रह गरेका हुन् ।

यो सरकार स्थिरताका लागि बनेको भन्दै प्रधानमन्त्रीले सरकारका बारेमा धेरै चिन्ता नगर्न आग्रह गरे । उनले भने, ‘एमालेले सरकार हेर्ने होइन, ढुक्कले मिसन ८४ मा लाग्नुस् ।’

उनले राष्ट्रवादी अडानका कारण एमालेमाथि विभिन्न पक्ष खनिएको दाबी गरे । प्रधानमन्त्रीले जनताको बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रात्मक उपलब्धिको रक्षा गर्दै युवा अघि बढ्नुपर्ने र युवाले देश बनाउने सङ्कल्प गरी त्यसलाई साकार पार्नुपर्ने बताए ।

उनले भने, ‘देशमा अराजकता मच्चाउने र विभाजन गर्ने तत्वसँग सचेत हुनुपर्छ । ढुक्क हुनुुस्, यसको नेतृत्व एमालेले बाटो नबिराइ गर्नेछ ।’

युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले नेपाली जनतालाई खुसी बनाउने र राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा रहेको बताएका छन् ।

एमालेले लोकतन्त्र दिवसका अवसरमा बिहीबार भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेसन’ कार्यक्रममा महासचिव पोखरेलले विदेश गएका युवालाई पनि काम सिकेर देश निर्माण गर्न स्वदेश नै फर्कन आह्वान गर्दै राष्ट्र निर्माणको जिम्मेवारी युवाको काँधमा भएको बताए ।

“तपाईंहरू निराशामा होइन, आशाको बाटोमा अग्रसर हुनुपर्दछ”, महासचिव पोखरेलले भने । देशमा राजनीतिक अस्थिरता हुँदा पनि मुलुक निर्माणले गति लिन नसकेको उल्लेख गर्दै उनले देशलाई अब राजनीतिक स्थायित्वको दिशामा अघि बढाउन बलिया राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक रहेको बताए ।

“युवा निराश हुन आवश्यक छैन, यो देशमा नेकपा एमाले छ”, उनले भने, “युवाको भविष्य सुरक्षित गर्दछ ।”

आगामी आर्थिक वर्षको बजेट र सरकारको नीति तथा कार्यक्रम युवामैत्री हुने जानकारी दिँदै उनले वर्तमान प्रधानमन्त्रीको युवाप्रतिको अगाध स्नेह रहेको बताए ।

देश र विकासका पक्षमा उभिएका कारण एमालेमाथि आक्रमण भएको उल्लेख गर्दै उनले भने, “एमाले सरकारबाट हटेपछि रोकिएका विकासका काम एमाले सरकारमा आएपछि अहिले धमाधम अघि बढेका छन् ।”

सरकारबाट बाहिरिने गगन थापाको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनताको कुरा गर्दा वेवास्ता गरे कांग्रेस सरकारबाट बाहिरिने बताएका छन् ।

लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले सरकारले आधारभूत कुरा पूरा गर्न नसके सरकारबाट बाहिरिने बताएका हुन् ।

महामन्त्री थापाले भने, ‘यो वा त्यो सरकारबाट मात्रै होइन हाम्रा कुराहरू सम्बोधन नहुने, जनताको कुरा उठाउँदा वास्ता नगर्ने हो भने जुनसुकै सरकारबाट बाहिरिन्छौँ।’

उनले पुराना नेताका काण देशमा बेचैनी बढिरहेकोसमेत बताए । उनले भने, ‘असन्तुष्टि र बेचैनी के कारणले बढिरहेको छ भने– जसको कारणले बेचैनी भएको छ उसैलाई ड्राइभिङ सिटमा देखिरहेका छन् । अब यो गाडी तिम्ले चलाएर हुँदैन भनिरहेका छौँ। यसका लागि काम गरिरहेका छौँ।’

उनले पार्टीमा गुटभन्दा पनि गिरोह बनेको भन्दै आपत्ति जनाए । उनले भने, ‘पार्टीमा गुट होइन गिरोह बनेको छ। तल्लो तहसम्म बनेको छ। गुट भए आफू हुने, नभए नहुने भइसक्यो।’

तोडफोडमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले तोडफोडमा संलग्न भएको आरोपमा काभ्रेको धुलिखेलका मिनोज थापालाई पक्राउ गरेको हो । उनलाई अदालतबाट तीन दिन म्याद थप गरी अनुसन्धान गरिरहेको परिसरले जनाएको छ ।

लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी छः शशांक कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लोकतन्त्र सुदृढिकरणका लागि सबै एकजुट हुनु जरुरी रहेको बताएका छन् ।

लोकतन्त्र दिवस र नयाँ वर्ष २०८२ को अवसर पारेर आज आफ्नो निवास महाराजगञ्जमा आयोजित चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र सुदृढिकरणका लागि सबै राजनीतिक दल, सरोकार भएका निकाय, जनता एकजुट हुनुपर्नेमा जोड दिए ।

लोकतन्त्रलाई संरक्षण गर्दै प्रभावकारी कार्यान्वयनका लागि नेपाली कांग्रेस बलियो हुनुपर्ने बताउँदै उनले त्यसका लागि कांग्रेसमा गुटउपगुट नभई एक ढिक्का हुनुपर्ने आवश्यकता औँल्याए ।

नेता डा कोइरालाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने बताउँदै यसको रक्षार्थ सबै सजग र सचेत रहनुपर्नेमा जोड दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री दिपक खडका, नेताहरू कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ, एनपी साउद, प्रवक्ता डा प्रकाशशरण महत, महेश आचार्य, दिपक गिरी, पार्टीका केन्द्रीय सदस्यहरू, विभिन्न भ्रातृ र शुभेच्छुक संस्थाका नेता, कार्यकर्तालगायतको उपस्थिति थियो ।

स्टन्ट गरेर देश बन्दैन, देश बनाउने हो भने काम गर्नुपर्छः उपमेयर डंगोल

काठमाडौँ । युवाहरुमा एकता हुँदा सधैँ देश विकासमा टेवा पुग्ने एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिहीबार लोकतन्त्र दिवसका अवसरमा भृकुटीमण्डपमा आयोजना गरेको ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरुले आफ्ना प्रतिभा प्रस्तुत गर्दै विचार राखेका थिए ।

काठमाडौँ महानगरपािलकाकी उपप्रमुख सुनिता डङ्गोलले राम्रा कामका प्रचार गर्न एमालेले युवा शक्तिको सदुपयोग गर्ने बताइन् । उनले स्टन्ट गरेर देश नबन्ने र देश बन्नका लागि काम गर्नुपर्नेमा जोड दिइन् । “स्टन्ट गरेर देश बन्दैन देश बनाउने हो भने काम गर्नुपर्छ,” उनले भनिन् ।

डा आनन्द सिंहले फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार नेपालीलाई एकतामा बाँध्ने सुत्र भएका बताए ।

उनले मुलुक एकतामा बाँधेर राख्दा विचार, बौद्धिकता र समावेशिताका क्षेत्रमा सकारात्मक अभ्यास हुने धारणा राखे । “फरक भूगोल, संस्कृति, भाषा, आचरण र संस्कार भएका हामी नेपालीलाई एकताले एउटै डोरीमा बाँधेर राखेको छ”, उनले भने, “एकता सधैँ कायम भएमा देश बन्नुका साथै अन्तर्राष्ट्रिय जगतमा सकारात्मक सन्देश जान्छ । एकता भावनामा मात्र होइन विचार, बौद्धिकता र समावेशितामा पनि हुनुपर्छ ।”

शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले शपथ लिएका छन् । बिहीबार राष्ट्रपति निवास शीतलनिवासमा आयोजित समारोहमा मन्त्री पन्तले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले बुधबार पन्तलाई शिक्षा मन्त्री नियुक्त गरेका थिए । विद्या भट्टराईले शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

तेह्र बुँदे घोषणापत्र जारी गर्दै हिमाली संवाद सम्पन्न

काठमाडौं । संघीय सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म गर्ने सगरमाथा संवादको पूर्वतयारीका रूपमा आयोजना गरिएको हिमाली संवाद १३ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ।

यही वैशाख ९ र १० गते जुम्लाको खलङ्गामा सम्पन्न हिमाली संवादमा कर्णालीका बालबालिका र सीमान्तकृत समूहहरूको आवाज प्रस्फूटन गराउने विषयमा विभिन्न सुझाव दिइएको हो।

सगरमाथा संवादको सचिवालयसँगको समन्वयमा सेभ द चिल्ड्रेन, युथ एलाइन्स फर इन्भायरोन्मेन्ट (वाइएई), कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (क्रिडाक)लगायत विकास साझेदारसँगको सहयोग र सहकार्यमा संवाद सम्पन्न भएको सचिवालयले जनाएको छ।

सीमान्तीकरणबाट प्रभावित बालबालिका, युवा र हिमाली समुदायका अनुभव आदानप्रदान, बाल–संवेदनशील जलवायु समाधानका लागि वकालतलगायत विषय उजागर गरिएको वाइएईका अध्यक्ष सनोत अधिकारीले जानकारी दिए। घोषणापत्र तीन तहका सरकार, सगरमाथा संवाद सचिवालय र विश्व समुदायलाई हस्तान्तरण गर्दै ध्यानाकर्षण गरिने उनले बताए।

संवादमा कर्णाली प्रदेशका हिमाली समुदायका बालबालिका, आदिवासी र सीमान्तकृत समुदाय, महिला र किशोरी, हिमाली क्षेत्रमा कार्यरत नागरिक समाज, विभिन्न सङ्गठन, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, सरकारीतर्फका प्रतिनिधि, स्थानीय सरकारका प्रतिनिधि र नीति निर्माता, प्रदेश र संघीय सरकारका प्रतिनिधि गरी एक सय ५० जनाको सहभागिता थियो।

घोषणापत्रमा हिमाली क्षेत्रका बालबालिका, युवा र समुदायमा जलवायु संकटले पारेको असरलाई सम्बोधन गर्न सगरमाथा संवादमा यस विषयलाई प्राथमिकताका साथ छलफल गरी समाधानका उपायको खोजी गर्न माग गरिएको छ।

त्यस्तै सगरमाथा संवादमा बालबालिकाहरूका आफ्ना भोगाइ, अनुभव र आवाज उठाउन विशेष सत्रको व्यवस्था गर्न आग्रहसहित सुझाव आएको वाइएईका कार्यक्रम संयोजक अञ्जु पोखरेलले जानकारी दिइन्।

उनका अनुसार जलवायुसम्बन्धी शिक्षा र सचेतनालाई सबै समुदायमा सञ्चालन गर्न, जलवायु सङ्कटको समाधानका लागि सिमान्तकृत र सामाजिक रूपमा पछाडि पारिएका समुदायका जीवन्त भोगाइलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम लागू गर्न घोषणापत्रमा आग्रह गरिएको छ।

हिमाल बचाउन नेपालको प्रयास मात्र पर्याप्त नहुने भएकाले छिमेकी मुलुकदेखि समग्र विश्वसमुदायको सहकार्य र अन्तरराष्ट्रिय तहमा साझेदारी बढाउनका लागि पहल गर्न आग्रह गरिएको क्रिडाकका कार्यकारी निर्देशक गोविन्दबहादुर शाहीले जानकारी दिए।

समुदायले भोगेका हानिनोक्सानीको क्षतिपूर्ति प्रदान गर्न सगरमाथा संवादमा यो मुद्दालाई प्राथमिकतामा राख्दै हानिनोक्सानी कोषमा समुदायको पहुँच सुनिश्चित गर्न आग्रह गरिएको उनले उल्लेख गरे।

हिमाली संवादले जलवायु परिवर्तनले तल्लो तटीय क्षेत्रमा गम्भीर असर परेकाले उक्त क्षेत्रका समुदाय र बासिन्दामा पर्न गएको नकारात्मक असर सम्बोधन गर्नुपर्ने, पर्वतीय र सामुद्रिक अर्थतन्त्रलाई जोड्नुपर्ने, कर्णालीलगायत हिमाली क्षेत्रमा हुने परम्परागत रैथाने बालीको संरक्षण गर्न प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने, हिमाली क्षेत्रमा सञ्चालित जलवायु परिवर्तनको असरलाई सम्बोधन गर्न एकीकृत बस्ती विकास र अनुकूलनका असल अभ्यास प्रवर्द्धनका लागि सञ्चालित कार्यक्रमहरूलाई निरन्तरता दिन सुझाव दिइएको छ। 

नेप्से  दुई अङ्कले बढ्यो

काठमाडौँ । अघिल्ला चार कारोबार दिन लगातार घटेको शेयर बजार बिहीबार दुई दशमलव शून्य आठ अङ्क बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दशमलव शून्य आठ अङ्कले बढेर दुई हजार ६५८ दशमलव शून्य दुईको विन्दुमा कायम भएको हो ।

आज तीन सय आठ कम्पनीको एक करोड ९७ लाख ५४ हजार २४५ कित्ता शेयर ७० हजार ७०३ पटक खरिदबिक्री हुँदा रु सात अर्ब ८७ करोड ९३ लाख ८१ हजार २६८ दशमलव २८ को कारोबार भएको छ । कूल ८३ कम्पनीको शेयर मूल्य बढ्दा एक सय ६१ को घटेको छ भने एउटाको स्थिर रहेको नेप्सेले जनाएको छ । 

आज लगानी समूह सबैभन्दा बढी दुई दशमलव चार प्रतिशतले बढ्दा हाइड्रोपावर शून्य दशमलव २२, व्यापार शून्य दशमलव ३९ र बैंकिङ शून्य दशमलव शून्य तीन प्रतिशतले बढेका छन् । 

विकास बैंक शून्य दशमलव ७६, फाइनान्स शून्य दशमलव ८३, होटल तथा पर्यटन एक दशमलव १६, जीवन बिमा शून्य दशमलव ३२, उत्पादन शून्य दशमलव १७, माइक्रोफाइनान्स शून्य दशमलव ४६, निर्जीवन बिमा शून्य दशमलव २८ र अन्य समूह शून्य दशमलव १३ प्रतिशतले घटेका नेप्सेले जनाएको छ ।

काठमाडौं टावरमा अर्बौँको नीतिगत भ्रष्टाचार भएको बालेनको दाबी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौँ टावरको निर्माणको नक्सापासको विषयमा धेरै कुरा रहेको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत मेयर साहले कसरी महानगरलाई एक अर्ब भन्दाबढी ठूलो क्षति हुन्थ्यो भन्ने कुरा उल्लेख गरेका हुन् । उनले भवनको स्वीकृति दिँदा आर्थिक चलखेल भएको विषय अध्ययनको विषय भएको पनि बताएका छन् ।

यस्तो छ मेयर साहको भनाई

कसरी महानगरलाई १ अर्ब भन्दा ठूलो क्षति हुन्थ्यो यदि यो काम भयो भने ! कहिले यस्तो Partnership देख्नु भएको छ, जहाँ ठूलो लगानीकर्ताले ३ कमाउदा सानो लगानीकर्ताले १०० कमाउने ? काठमाडौँ टावरमा काठमाडौँ महानगर ठूलो लगानीकर्ता हो।

यसको पूर्ण जानकारी नपाउँदा तपाईंलाई लाग्न सक्छ, जाबो नक्सापासकै कुरा त हो, कति लम्ब्याएको ! तर यो त्यति सामान्य छैन। यो भवन र नक्सापासको पछाडि धेरै कुरा छन्। कुनै एक घोटलाका लागि कसरी नीतिगत भ्रष्टाचार हुन्छ, कसरी कर्मचारीहरू परिचालन हुन्छन् र कसरी जनप्रतिनिधिहरू पनि प्रभावित बन्छन् भन्ने यो एक नक्सापासको विगत, वर्तमान र उद्देष्यले देखाउन सक्छ।

२०७३ मा १२ तलासम्मको स्वीकृति दिँदा तत्कालिन महानगर नेतृत्वले बार्षिक चौथो वर्षसम्म रू. ९८,३३,३३३ का दरले र पाचौ बर्ष रू. १,४३,७०,८३३ हुदै ३०औ बर्ष रू. ३,९०,१४,६६३ महानगरले प्राप्त गर्ने गरि सम्झौता गरेको थियो। जुन २ तला पार्किङ्ग सहित १२ तलासम्मको थियो। काठमाडौँको मुटुमा रहेको व्यवसायीक कम्प्लेक्सबाट महानगरले प्राप्त गर्ने आर्थिक लाभ त्यति न्यून कसरी हुन पुग्यो, त्यसमा के कस्ता चलखेल भए भन्ने आफैमा अध्ययनको बिषय हो। सम्बन्धित निकायले अध्ययन गर्छ भने सम्पूर्ण सहयोग गर्न तयार छु।
त्यसमाथि १२ तलालाई १९ तला बनाउँदा थपिने ७ तलाको क्षेत्रफल करिब १ लाख २८ हजार वर्गफुट हो। प्रतिवर्गफुट रू. १५० मात्र मानेर हिसाब गर्ने हो भने पनि ७ तलाबाट मात्रै न्यूनतम रू. १ करोड ९२ लाख भाडा हुन आउँछ, जुन बार्षिक २३ करोड भन्दा बढि हो। सोच्नुहोस् त, अबको ३० बर्षपछिसम्म त्यसको भाडा कति हुन्छ होला ? २ बर्षमा १०% भाडा बढ्नु त सामान्य नै हो, त्यति मात्रले नि ३० वर्षमा प्रतिवर्ग फुट रू. ६७० भन्दा माथि हुन आउछ। यसबाट १ अर्ब भन्दा बढी त थपिएको ७ तल्लाको भाडाबाट मात्र आउनु पर्ने हो। यत्तिकै नक्सा पास भएमा महानगरले लिने भनेको त त्यो बेलाको सम्झौता बमोजिमकै रकम हो ३ करोड।

यसबाट महानगरलाई कति आर्थिक हानी हुन्छ र ठेकेदारलाई कति फाइदा पुग्छ भन्ने हिसाब गर्नुहोला। यो सबै नीतिगतरूपमा नै मिलाउनका लागि, त्यसबाट हुने अर्बौँको फाइदाका लागि ठेकेदारले कसैलाई ५ करोड दिनु उसका लागि आर्थिक नोक्सानी होइन। देखिने लगानीकर्ता केहि व्यक्ति भए पनि त्यसको पछि को को छन्, आफै बुझ्न सक्नुहुन्छ।

र रह्यो अर्को कुरा, ठेकेदारलाई आर्थिक क्षति गरिदिनकै लागि १९ तला बनाउँन आपत्ति प्रकट गरेको होइन। सो भवन निर्माणमा धेरै कुराहरूमा लापरवाही, जबरजस्ति र अवैधानिक कामहरू भएको छ जसले कानूनी प्रक्रियामात्र मिचिदैन, भवनबाट जोखिम पनि बढाएको छ।

जानकारीका लागि केही बुँदाहरू :

१.⁠ ⁠भवन निर्माणको मापदण्ड र नेपाल सरकारको निर्माण संहिताअनुसार सबै कुरा मिल्ने भए वैधानिकरूपमा १२ तलालाई बढाएर १९ तला बनाउन पनि सकिन्छ। त्यसका लागि सम्झौता पुनरावलोकन हुन पर्छ, आर्थिक विश्लेषण गरि सम्झौता रकम समायोजन गर्नु पर्छ। वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मुल्यांकन हुनु पर्छ। यसको लागि आर्थिक, प्राविधिक तथा सामाजिक विश्लेषणको काम PPP मार्फत हुँदै थियो। ति सबैकुरालाई वेवास्ता गरेर अवैधानिक किसिमले नक्सापास गरिएको छ।

२.⁠ ⁠टावर निर्माण सुरु गर्नुभन्दा पहिला मिति २०७२।०३।२२ गते काठमाडौँ उपत्यका विकास प्राधिकरणले फार बढीमा २.४१ भन्दा माथि जान नमिल्ने अर्थात् १२ तल्ला भन्दा माथि जान नमिल्ने गरि योजनाको अनुमति (planning permit) दिएको थियो। तर तला थप प्रक्रियामा काठमाडौँ उपत्यका विकास प्राधिकरणबाट कुनै पनि राय अनुमति लिएको पाइएन। १२ तलालाई १९ तला बनाउदा पुन: planning permit लिनु नपर्ने हो ? तल्ला थप हुदै गर्दा वातावरणीय प्रभाव, सामाजिक तथा आर्थिक प्रभाव मुल्यांकन गर्नु नपर्ने हो ? हो भने नेपाल सरकारले नै बनाएको नियम मापदण्ड संसोधन कागजमा लेख्नमात्र बनाइएको हो, व्यवहारमा लागू गर्न होइन भनेर नेपाल सरकारले बोल्नु पर्यो।

३.⁠ ⁠म आफै Structural Engineer हुँ। Seismic Design Structural Analysis गर्दा NBC 105:2020 Standard मा १९ तला निर्माण गर्दा अध्ययनले भन्छ, ७०% भन्दा धेरै column fail हुन्छ। २०७८ साल पछि निर्माण हुने भवनका हकमा एनबीसी १०५:२०२० अनिवार्य गरिएको छ। यसैले नियमअनुसार structure design approve नहुँदा सम्म नक्सा पास प्रक्रिया अगाडि बढ्न सक्दैन। Structure analysis fail हुँदा हुँदै पनि नक्सा पास गर्नु गम्भीर त्रुटि हो।

४.⁠ ⁠प्लिन्थ लेबलसम्मको अनुमति लिई superstructure नै नलिई १२ तल्ला बनाइरहेको भन्ने आधार देखाई तत्कालिन प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले सोहि बमोजिम briefing समेत गरेको हुँदा अनुमति भन्दा हरेरफेर गरेकाले स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम रू. ५ लाख जरिवाना तोकेको हो। यो जरिवानाले नक्सापास गर्ने अनुमति दिएको भन्ने अर्थ कदापि लाग्न सक्दैन किनभने नक्सापासको अधिकार स्थानिय सरकार संचालन ऐन २०७४ ले मेयरलाइ हैन, प्रमुख प्रशासकीय अधिकृतलाई दिएको छ। बनिसकेको भवनलाई जरिवाना गरिसकेपछि १२ तलासम्मका लागि मात्रै नक्सा स्वीकृतिको प्रक्रिया अगाडी बढेको हो। १९ तलासम्म बढाउनका लागि के के प्रक्रिया गर्नु पर्थ्यो भन्ने कुरा माथिका बुँदाहरू १ र २ पुन: पढ्नु भए थप स्पष्ट हुन पुग्छ।

सो बिषयलाई विभागीय प्रमुखहरूको रायमा पनि लेखिएको छ, ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ३५ बमोजिम प्लिन्थ लेभल भन्दा माथि (Super Structure) को नक्सा स्वीकृत गर्न प्रमुख प्रशासकीय अधिकृत समक्ष पेश भएकोमा नक्सा पास विना बनेको प्लिन्थ लेभल भन्दा माथि ( Super Structure) को भवनलाई जरिवाना गर्न ऐ. ऐनको दफा ३९ को उपदफा (५) को व्यवस्था बमोजिम प्रमुख प्रशासकीय अधिकृतले प्रमुख समक्ष पेश गरेकोमा मिति २०८०।९।३ मा श्रीमान् प्रमुखज्यूबाट ५ लाख रुपैया जरिवाना तोकिएको देखिन्छ।’ यसमा ध्यान दिएर पढ्ने हो भने बुझ्न सकिन्छ कि प्रमुख प्रशासकीय अधिकृत समक्ष नक्सापासका लागि फाइल पेश भयो तर त्यो मलाई पेश भएको कुरा नक्सापासका लागि थिएन, नक्सापास विना बनेको प्लिन्थ लेभल भन्दा माथि (Super Structure) को भवनलाई जरिवाना गर्न चै थियो। जुन मात्रै मेयरको अधिकारक्षेत्रभित्र पर्थ्यो। त्यही  बमोजिम हुनेसम्मको सबै भन्दा बढी कारबाही मैले गरेको हुँ।

शब्दहरू घुमाएका ‘सरकारी टिप्पणी’हरूले कतिपयलाई समाचार बनाउँन र धारणा बनाउँन गलत दिशामा डोहोर्याएको छ। यसबारेमा प्रस्ट भइ सही धारणा र समाचार बनाउन तथा यसअगाडि प्रसारण भएका मेयरले ५ लाख जरिवाना लिएर नक्सापास गराएको भन्ने समाचारहरू सच्याउन अनुरोध गर्दछु।

५.⁠ ⁠‘काठमाडौँ महानगरपालिकाको भवन निर्माण सम्बन्धी कार्यविधि २०८०’जुन मैले मात्रै बनाएको होइन, कार्यपालिकाले बनाएको हो। जसअनुसार नक्सा पास प्रक्रिया तथा स्वीकृति अनिवार्य रूपमा EBPS प्रणाली (अनलाइन) मार्फत गर्नुपर्नेछ भन्ने व्यवस्था रहेको छ। EBPS प्रणालीमा हेर्दा आज पनि उक्त नक्सापास भएको छैन। कि संघीय सरकारले रूचाएर पठाइएको सहसचिवले महानगरको कार्यविधि पछ्याउन पर्दैन ? त्यसको विपरित गरे पनि हुने हो ? यो प्रश्न गर्नु पर्नेमा काठमाडौँका जनप्रतिनिधिज्युहरू, तपाईहरू नै आफैले बनाएको कानुन पालना नगरी चलखेल गर्ने कर्मचारीकै पछाडी कुद्नु पर्ने कारण के हो ? यो ठूलो नीतिगत र आर्थिक घोटालाको अंश थिएन भने ढोका फोरी फोरी हाजिर गराउनु पर्ने वाध्यता के थियो ? यसको जवाफ आफै दिनुहोस्। तपाईहरूलाई माथिको आदेशको पालना गर्नु पर्ने होला तर महानगरको नियम पालना गराउनु र त्यसको जानकारी सर्वसाधारणसम्म पुर्याउनु मेरो कर्तव्य हो।

६.⁠ ⁠छानविन समितिले थप गरिएको समयभित्र प्रतिवेदन बुझाएन या बुझाउन दिइएन भन्ने पनि खोजीको बिषय बन्न पर्छ। त्यसको सट्टा सम्बधित विभागीय प्रमुख, पूर्वविभागीय प्रमुख तथा कानुन विभागका विभागीय प्रमुखहरूले अध्ययन गरि नक्सापास गर्न नसकिने राय दिए के त्यो पनि गलत थियो ? उहाँबाट आफ्नो अधिकारक्षेत्रमा पर्ने भुमिका अनुसार राय आयो। कसैलाई कारबाही नै गर्नु पर्छ भन्ने राय दिने अधिकार उहाँहरूमा थियो कि थिएन र उहाँहरूबाट आएको राय बमोजिम सुशासनका लागि, आर्थिक तथा नीतिगत भ्रष्टाचार निमिट्यान्न पार्नको लागि अगाडि बढ्न आँट गर्ने नैतिकता हामीसँग थियो कि थिएन भन्ने प्रश्न गम्भिर छ। त्यो समयमा हामी को कुन कित्तामा उभियौँ भन्ने कुरा जगजाहेर भइसकेको छ।

७.⁠ तत्कालिन प्रमुख प्रशासकीय अधिकृतले प्रक्रिया पुगेन नक्सा पास गर्न सकिदैन भनि २-२ पटक फिर्ता पठाएको नक्सा फाइल सरोज गुरागाई हाजिर भएको दोश्रो दिन मै आधिकारिक प्रणाली प्रयोग नगरी, सम्बन्धित विभागीय प्रमुखलाई समेत थाहा नदिई नक्सा पास गरिदिनु पर्ने के थियो कारण ? महानगरको अरु महत्वपूर्ण नगरी नहुने काम के कति गर्नुभयो आएको २ दिन मै ? केहि त पक्कै थियो होइन भने त लुकाएर गर्नु हुन्थेन होला। नगर प्रमुख र कार्यपालिका अनि PPP Bord सँग प्रत्यक्ष जोडिएको बिषयमा पनि ३ महिना पछि अरु कसैले उजुरी दिएर मात्र थाहा पाउनु पर्ने ? यति बिधि गोप्य तरिकाले काम गर्नु पर्ने के थियो कारण ?

८.⁠ ⁠नियमित काम गरिरहेका प्रमुख प्रशासकीय अधिकृतलाई सरकार फेरिने बित्तिकै हटाइयो। उहाँ आएको जम्मा ७ महिनामात्र हुँदै थियो। उनको ठाउँमा संघीय सरकारले रोजेर सरोज गुरागाईलाई पठायो। जो आए पनि कामै गर्ने हो भनेर हामीले सहकार्य गरिरहेका नै थियौँ, तर ३ महिनापछि कर्तुत थाहा भयो। उहाँले गलत गर्नु भयो, उहाँसँग अब विश्वास रहेन कि उहाँलाई महानगरको त्यति ठूलो जिम्मेवारी दिन सकियोस्, यसैले उहाँलाई फिर्ता गराएर अर्को पठाइदिनुस् भनेर सरकारलाई पटक पटक पत्राचार तथा संवाद गरियो तर नतिजा ! सबैले देख्नु भएकै छ। अघिल्लोलाई बिनासमय हटाइदिँन सक्ने तर सरोज गुरागाईँलाई नसक्ने किन थियो ? सरकारले उनलाई केहि विशेष mandate दिएर पठाएको छ ?

सबैको जानकारीका लागि, सरोज गुरागाईले कहाँ बसेर के कुरा गर्नु हुन्छ, कुन कागजमा हस्ताक्षर गर्ने अभ्यास गर्नु हुन्छ भन्ने हाम्रो चासोको बिषय होइन, हामीले जान्ने यति हो कि महानगरको आधिकारिक EBPS प्रणालीमा अहिले पनि नक्सापास भएको छैन। महानगरले आधिकारिक प्रक्रिया र प्रणालीबाट स्वीकृत नभएको कागजलाई नक्सापास मान्दैन । यस बाहेक अहिलेसम्म पनि हामीलाई थाहा नभएका कति गल्ति गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला।

अन्त्यमा, सो भवनको नक्सापासको प्रक्रियामा धेरै गम्भीर त्रुटीहरू भेटिएका छन्। महानगरलाई आर्थिक क्षति पुर्याइ केहि सीमित व्यक्तिहरूको नाफाका लागि नीतिगत भ्रष्टाचार भएका छन्। विभिन्न प्रमाणहरू महानगरमा सुरक्षित छन्। चाहिएमा सूचनाको हक छ हरेक नागरिकलाई, प्रक्रिया पुर्याएर लिन सक्नुहुन्छ। अनि अर्को कुरा हिल्टनको नक्सापास पनि उहाँले नै उही दिन गर्नु भएको हो। यसमा पनि सचिवालयले अध्ययन गर्दै छ। यसबाहेक थाहा नभएका कति गल्ति गर्नु भएको छ, त्यो पनि बिस्तारै खुल्दै जाला। तपाईंहरु पनि कसैले महानगरमा यस्ता अनियमितता देख्नु भएको छ भने हामीलाई सुचना दिनुहोस्। तपाईंको परिचय हामी गोप्य राख्ने छौँ। गल्ति गर्ने कसैलाई पनि छुट छैन महानगरमा। अन्त्यमा, लोकतन्त्र दिवस भ्रष्टाचाररहित समाज भएर मनाउन पाइयोस्। सबैलाई यहि शुभकामना।

निजी मेडिकल कलेजलाई चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गर्न स्वाथ्यमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय कार्यान्वयन गरिछाड्ने बताएको छ ।

बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिबीच स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आयोगको निर्णय कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका हुन् ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने चेतावनी दिए ।

उनले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न समेत चिकित्सकलाई आग्रह गरेका छन् ।

गत माघ २५ गते बसेको आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता मासिक ४८ हजार ७०० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका छन् ।

लोकतन्त्र दिवसमा एमालेको ‘युथ सेलिब्रेशन'(फोटोफिचर)

काठमाडौँ । लोकतन्त्र दिवसका अवसरमा बिहीबार नेकपा (एमाले)ले काठमाडौँको भृकुटीमण्डपमा युवा उत्सव (युथ सेलिब्रेशन)को आयोजना गरेको छ ।

जनआन्दोलनको बलमा निरङ्कुश राजतन्त्रको अन्त्य भई जनताले जितेको दिनको रूपमा एमालेले यो उत्सव मनाएको छ । स्वदेशमा रोजगारी र समृद्धिका लागि युवाहरुका लागि अवसर छ भन्ने सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू काठमाडौँमा भेला भएका छन् । एमालेनिकट युवा सङ्घ नेपालका अध्यक्ष क्षितिज थेबेले कार्यक्रममा ४० वर्ष मुनीका करिब एक लाख युवा सहभागी हुने बताए ।

कार्यक्रम स्थलमा कन्सर्ट, विभिन्न नाचगानका साथै सांस्कृतिक झाँकी प्रदर्शन हुनेछन् । कार्यक्रम स्थलमा कफीसप, फुडसपहरु तथा युवाले उत्पादन गरेका सामानको स्टलसमेत राखिएको छ ।

क्रिकेटर लोहनीको उपचारका लागि क्यानले पाँच लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सिद्धान्त लोहनीको उपचारका लागि पाँच लाख रुपैयाँ दिने भएको छ ।

२०२३ मा महेन्द्रनारायण निधि राष्ट्रिय क्रिकेट प्रतियोगिताका क्रममा लोहनी घाइते भएका थिए । त्यसयता लगातार अस्पतालमा रहेका लोहनीको उपचारमा क्यानले सहयोग नगरेको गुनासो उनले गरेका थिए ।

काभ्रेमा रगतको चरम अभाव, बिरामी समस्यामा

काभ्रे । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । विरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज केन्द्रमा पुग्दा केन्द्रले एक यूनिट रगतसमेत दिन नसकेको जनाइएको छ ।

केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । ‘केन्द्रमा एक यूनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ’, केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने। उनका अनुसार रगतका लागि बिहीबार विहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ ।

रगतको मुख्य बैंकका रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय यूनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ ।

जिल्लामा नियमित रूपमा रक्तदाता नहुँनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाव हुन थालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्नथालेपछि रगत अभाव हुनथालेको केन्द्रले जनाएको हो। रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ ।

केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाई भइरहेको छ । ‘कहिलेकाही सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ’, उनले भने। उनका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’, ‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुनथालेपछि बिरामीहरू समस्यामा परेका छन्।

काभ्रेपमा रगत अभाब भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौंबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहेपनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए ।

जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् । जिल्लाक सबै अस्पतालमा सामान्यदेखि बिशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यता पर्ने गु्रपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाईसमेत समस्या हुने गरेको पाइएको छ ।

काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो ।

राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गरिनुपर्छःअध्यक्ष दाहाल(अन्तरवार्ता)

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा प्रबुद्ध वर्गको समूह भएकाले राजनीतिक, वैचारिक र सिद्धान्तको निकाससहित नयाँ सन्देश दिन सक्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
उनले सभा सञ्चालन वैचारिक र सैद्धान्तिकरूपले प्रक्रियागत र कामकाजी भएका कारण जनतामा अन्यौल र वितृष्णा देखिएको बताउँदै संसद् सञ्चालन विधि, प्रक्रिया, प्रणालीलाई अझ परिस्कृत, फरक र सक्रिय बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

अध्यक्ष दाहालले भने, “मेरो हुटहुटी भनेको विगतका अभ्यास र अनुभवबाट पाठ सिक्दै, समस्या पहिचान गरी आगामी दिनमा राष्ट्रियसभालाई प्रभावकारी बनाएर लैजानुपर्छ भन्नेमै केन्द्रित छ ।”

अध्यक्ष दाहालले राष्ट्रियसभाको नेतृत्वको जिम्मेवारी समालेको चौध महिना भएको छ । भोलि वैशाख १२ गते शुक्रबारदेखि सङ्घीय संसद्को वर्षे अधिवेशन सुरु हुँदैछ ।

राष्ट्रियसभाको गतिविधि, अबको योजना, संविधान कार्यान्वयन र संशोधनलगायत सदनमा जनसरोकारका विषयको उठान तथा कार्यान्वयनको अवस्थालगायत समसायिक विषयमा अध्यक्ष दाहालसँग राससका प्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः


राष्ट्रियसभाका गतिविधि के विषयमा केन्द्रित छन् ? अहिले के, कस्ता विषयमा व्यस्त हुनुहुन्छ ?

यसबीचमा अलि नयाँ ढङ्गको योजना बनाइएको थियो । यही वैशाख १० गते सबै प्रदेशबाट प्रतिनिधित्व गर्ने ‘माननीय’ आ–आफ्नो निर्वाचन क्षेत्रको प्रदेशमा जाने र निर्वाचन मण्डलसँग भेटघाट गर्ने कार्यक्रम थियो । तर अघिल्लो पटक प्रतिस्थापन विधेयकमाथिको छलफल लम्बियो भने यो पटक अनुमान गरिएभन्दा केही दिन पहिले सदन आह्वान भयो । त्यसकारण प्रदेश, जिल्ला र स्थानीय तह जाने कार्यक्रम हुन सकेन । अर्काेतर्फ अहिले बजेट तयारीको चटारो छ । सासद्सहित हामी पदाधिकारी र प्रशासनिक कर्मचारी त्यसमै केन्द्रित भई छलफलमा व्यस्त छौँ । संसदीय गतिविधि र भैपरि आउने समस्याको समाधान तथा सम्भावनाको खोजीमा लागि परेको छु । मेरो हुटहुटी भनेको विगतका अभ्यास र अनुभवबाट पाठ सिक्दै, समस्या पहिचान गरी आगामी दिनमा राष्ट्रियसभालाई प्रभावकारी बनाएर लैजानुपर्छ भन्नेमा केन्द्रित भइ छलफलमा जुटिरहेको छु ।

सङ्घीय संसद्को अधिवेशन भोलि वैशाख १२ गतेदेखि सुरु हुँदैछ, यसलाई अलि भिन्न र विशेष बनाउने कार्यक्रम छ ?

हो, सभालाई अलि नयाँ ढङ्गले लैजानुपर्छ भनेर आन्तरिक तयारी गरिरहेका छौँ । यो राष्ट्रियसभाको १८औँ अधिवेशन हो । अधिवेशनमा ‘विजनेश’कारूपमा प्रस्तुत गर्नुपर्ने केही विधेयक समितिमा छलफलमा छन् भने कुनै दर्ता र टेबुल मात्रै भएका छन् । राष्ट्रियसभाबाट पास भई प्रतिनिधिसभाबाट सन्देशसहित आउनुपर्ने सात वटा विधेयक थाँती छन्, दुई वटा विधेयक विधायन समितिमा छलफलकै क्रममा छ । ती विधेयकलाई अब संसद् चल्नासाथ प्रक्रिया अगाडि बढाइनेछ । यो बाह्य पक्ष भयो । आन्तरिक भनेको अहिलेको सदनलाई व्यवस्थित कसरी गर्न सकिन्छ भन्ने नै हो । राष्ट्रियसभाप्रतिको बुझाइभन्दा अलि फरक गर्नुपर्नेछ । वैचारिक र सैद्धान्तिकरूपले अलि प्रक्रियागत र कामकाजी भएका कारण जनतामा अन्यौल र वितृष्णा देखिएको छ । संसद्ले अहिले सडकमा देखिएका विषयवस्तुलाई पनि सम्बोधन गर्नुपर्नेछ । हाम्रा त्रुटी कहाँनिर हो, कसरी पत्ता लगाउने भन्ने मूल प्रश्न छ । राष्ट्रियसभा बौद्धिक जमात भएकाले नयाँ सन्देश दिन सक्नुपर्छ । अहिलेसम्मको मूल्याङ्कनबाट वेतिथि भएर सभा चलेको छैन । विभिन्न दलको प्रतिनिधित्व हुने भएकाले यो सभा राष्ट्रिय राजनीतिबाट अछुत पनि रहन सक्दैन । सभालाई अलि नयाँ ढङ्गले लैजानुपर्छ भन्ने उद्देश्यले आन्तरिक तयारीमा सचिवालय जुटिरहेको छ ।

सभालाई थप प्रभावकारी कसरी बनाउँदै हुनुहुन्छ ?

विगतमा कहाँनिर त्रुटि भयो भनी खोज्ने काम भइरहेको छ । त्यसलाई सच्याउनतर्फ भरपुर कोशिस हुने छ । अहिलेसम्म आइपुग्दा प्रभावकारी ढङ्गले अगाडि बढेको छ भन्ने नै अनुभूति छ । सम्माननीय राष्ट्रपति र प्रधानमन्त्री तथा अरु बौद्धिक जमातसँगको कुराकानीबाट राष्ट्रियसभाले एउटा गति लिएको छ । तपार्इँलाई धन्यवाद र बधाई छ भनेकाले संसद् सञ्चालन विधि, प्रक्रिया, प्रणालीलाई अझै फरक र सक्रिय बनाउँदै लगिएको भन्ने पुष्टि भएको छ । विगतका अभ्यासमा केही परिवर्तन गरी विशेष समय र शून्य समय दैनिक चलाउने अभ्यास सुरु भएको छ । यसले एउटा खालको रौनक आएको अनुभूति भएको छ । अहिले ‘माननीय’ सदस्यहरूले बोल्न पाइएन भन्ने चिन्ता लिनुपर्ने अवस्था छैन । शून्य समयमा दिनदिनै एक मिनेटमा धेरै कुरा बोलिन्छ । विगतमा माननीयले बोल्न पाइएन भन्ने गुनासो अध्यक्षले धेरै नै सुन्नुपथ्र्याे । त्यो झन्झटबाट अहिले मुक्त भएको छु । शून्य समय एक मिनेटले पुग्दैन भने पनि कार्यव्यवस्थामा छलफल गरौँ समय बढाइदिन्छु पनि भनेको छु । अर्कोतर्फ आकस्मिक समयमा पनि सदस्यलाई बोल्न भनिएकै छ ।

राष्ट्रियसभाले प्रादेशिक समय निर्धारण गरी छलफल सुरु गरेको छ, त्यो कसरी अघि बढेको छ ?
राष्ट्रियसभामा आकस्मिक, शून्य, विशेष र प्रादेशिक समयको अभ्यास छ । यो अभ्यासबाट सबै सदस्यलाई बोल्ने समय प्राप्त हुन्छ । हामी कार्यव्यवस्था समितिको बैठकमा ‘माइन्युट’ कम तर, छलफल बढी गर्छौँ । सभा सदस्यहरुकै हो । मेरो सदन चलाउने जिम्मेवारी मात्र हो । त्यो भएर माननीयज्यूलाई नै समय दिन्छु । राष्ट्रियसभा सञ्चालनमा उहाँहरुबाट बधाई पाइरहेकै छु । नियमावलीमा भएको प्रावधानअनुरूप अध्यक्षको जिम्मेवारीमा आएपछि ‘प्रादेशिक समय’ सुरुवात भयो । त्यसलाई अलि नयाँ ढङ्गबाट अभ्यासमा लैजान सोच्दै छु । अघिल्लो अधिवेशनबाट ‘मन्त्री’सँगको प्रश्न–उत्तर सुरु भएको छ । अब प्रधानमन्त्रीसँग प्रश्न आयो भने त्यो व्यवस्था पनि गर्ने योजना छ । राष्ट्रियसभा अध्यक्ष भएर काम गर्दै गर्दा अहिले भएका अभ्यासबाट सन्तुष्ट छु ।

राष्ट्रियसभाको नेतृत्व सम्हालेपछिको संसदीय अनुभव र अभ्यास कस्तो रह्यो ?

राष्ट्रियसभा प्रतिनिधि सभाको छायाँ नहोस् भन्नेमा म सतर्क छु । राष्ट्रियसभाबारे संविधानले जे परिभाषा गरेको छ, जनताले जे अपेक्षा गरेका छन्, बाहिर जे आँकलन छ, यसलाई प्रभावकारी र नतिजामुखी तुल्याउन अझ धेरै मेहनत गर्नुपर्छ भन्नेमा छु । राष्ट्रियसभा भनेको जनताका दैनिकीसँग भन्दापनि सैद्धान्तिक रूपमा विकास र संसदीय निकासको निम्ति हुनुपर्छ भन्ने हो । अघिल्लो अधिवेशनमा प्रवेश पाएका अध्यादेश र प्रतिस्थापन विधेयक त्यो राष्ट्रियसभामा रोकियो । प्रधानमन्त्री, सभामुख र प्रतिपक्ष दलका नेतासँगको छलफलपछि पाँच वटै विधेयक सर्वसम्मतिले पारित पनि भयो । जे–जस्ता समस्या भएपनि राष्ट्रियसभाले राजनीतिक, सैद्धान्तिक र वैचारिक निकास दिन्छ । त्यही दिशातिर सोचिरहेको छु ।

कतिपय घटनाले राष्ट्रियसभा राजनीतिक आचरण र व्यवहारमा प्रतिनिधिसभा भन्दा भिन्न देखिएन भन्ने आरोप्रति यहाँको धारणा के छ ?

राष्ट्रियसभा समस्या निम्त्याउने होइन, समाधान दिने थलो हो । प्रतिनिधिसभामा सबै सांसद एकैचोटी उठेर बोल्न खोज्नुहुन्छ, तर यो सभामा भने एक जना बोलेपछि मात्रै अर्को माननीय बोल्ने चलन छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विरोध जनाउने शैली फरक छ । यहाँ विरोध जनाउन र आफ्ना विचार तथा विषयवस्तु राख्न पाइन्छ । सदन भएपछि विरोध र राजनीतिक कुरा हुन्छ नै । तर राष्ट्रियसभालाई निकास दिने थलोका रूपमा विकास गर्नुपर्छ । देशमा आएका राजनीतिक समस्याहरु, संविधानमा देखापरेका अस्पष्टताहरु, नेपाली जनताको भावनाहरुलाई राष्ट्रियसभाले निकास दिने हो । पछिल्लो समयमा राष्ट्रियसभामा आएका कुनैपनि विधेयक अड्किएको छैन । बरु राष्ट्रियसभाबाट पास भएर गएका सात वटा विधेयक प्रतिनिधि सभामा थन्किएका छन । तर, हामीले प्रतिनिधि सभाबाट आएका एउटा पनि विधेयक राखेका छैनौँ । अध्यादेशमार्फत् प्रतिस्थापन विधेयक अड्किने हो कि भन्ने डर थियो तर पास भयो । अहिले राष्ट्रियसभाका समितिमा पानी जहाज र विज्ञान प्रविधिसँग सम्वन्धित विधेयकमाथि घनिभूत छलफल भइरहेको छ । थप अरु दुई वटा विधेयक सचिवालयमा दर्ता भएका छन् । सामाजिक सञ्चालनसँग सम्वन्धीत विधेयक अगाडि बढाउँदै छौँ । यो विधेयकमा सबैको चासो छ । राष्ट्रियसभामा बामदेव गौतम, कृष्णप्रसाद सिटौला, डा वेदुराम भुषाल, नारायणकाजी श्रेष्ठ जस्ता लामो समय राजनीतिमा संलग्न अनुभवी नेता हुनुहुन्छ । त्यसैले पनि यो सभालाई संविधान अनुसार नै अलि फरक ढङ्गले लैजानुपर्छ भन्ने छ । अझै सयौँको सङ्ख्यामा कानून बन्न बाँकी नै छ । जनभावना अनुरूप यो सभालाई विचारमाथिको मन्थन शिष्ट, भद्र र निकास दिने गरी जानुपर्छ भन्नेमा म सचेत र सतर्क छु । जनताबाट कानुन बनाउन ढिला भयो भन्ने आरोपबाट बच्न जरुरी छ । प्रतितिनिधिसभाले निकास दिन नसकेर लामो समयदेखि अड्किएका विधेयक यो सभालाई प्राप्त भएमा त्यसलाई हल गरेर पठाउन सक्षम छौँ ।

सञ्चालन विधि, राजनीतिक विषयस्तु, कार्यसूची लगायत विषयमा प्रतिनिधि सभाभन्दा यो सभा भिन्न देखिएन, यसमा कहाँनिर सुधारको खाँचो देख्नुभएको छ ?

संसदीय अभ्यासमा सुधार गर्नुपर्ने धेरै विषय छन् । हालको सदन सञ्चालन गर्ने विधि र प्रक्रियाप्रति नै म सन्तुुष्ट छैन । पाँच मिनेट जनाउ घण्टी बजाउने, हुन्छ र हुन्न, हुन्छ भन्नेले हुन्छ भन्नुहोस, हुन्न भन्नेले हुन्न भन्नुहोस भन्ने प्रक्रियाप्रति म सन्तुष्ट छैन । यो विषय एकै पटकमा गर्न सकिन्छ । एउटै विधेयक पास गर्न कम्तिमा ५÷६ पटक सम्म हुन्छ कि हुन्न भन्नुपर्छ । यो विधि र प्रक्रिया छोट्याउनुपर्छ । परिवर्तन गर्नुपर्छ । त्यसको लागि जमर्काे पनि गरियो । अझै पनि कतिपय ‘माननीय’ अलमलमा परेर विगतको अभ्यास र परम्परा तोड्नु हुन्न भन्नुभयो । यस्ता विषय हटाउन सर्वसम्मत नभइ परिवर्तन गर्न सकिँदैन । अर्को सैद्धन्तिक छलफलमा सहभागि हुन नाम टिपाउने समयलाई घटाएर दुई मिनेटमा झारिएको छ । त्यसमा अझै सुधारको खाँचो छ । यस्ता श्राद्धमा विरालो बाँध्ने चलनलाई समयानुकूल बनाउँदै लैजानुपर्छ । पञ्चायतकालीन र उसबेलाका बेलायती सदनको अभ्यास र चलनलाई सुधार गरी अघि बढ्नुपर्छ । त्यस्ता प्रक्रिया संविधानसँग भने बाझिनु हुँदैन भन्ने पक्षलाई पनि त्यत्तिकै ख्याल गर्नुपर्छ ।

राष्ट्रियसभाले जनसरोकारका विषयलाई कसरी सम्बोधन गरिरहेको छ ?

राष्ट्रियसभा प्रदेश र पलिकाप्रति उत्तरदायी हुनुपर्छ । यो सभाले समग्र जनप्रतिनिधिको प्रतिनिधित्व गर्छ । त्यहाँका आफना् मतदातालाई भेटेर सङ्घीयता कार्यान्वयनको अवस्था, कानून निर्माण, सङ्घ, प्रदेश र स्थनीय तहबीचमा देखिएका कानूनी जटिलता, बजेट निर्माण प्रक्रियामा बुझ्ने योजना थियो । तर विविध कारणले यस पटक त्यसको अनुगमन गर्न अनुकूल भएन । त्यहाँ तर्जूमा गरेको बजेट, छनोट गरेका योजनाको कार्यान्वयनको अवस्थाको बारे पनि हामीले बुझ्नुपर्छ । प्रदेश र सङ्घबीचको मतभिन्नता लगायतका विषयमा छलफल गर्ने र सम्बोधन गर्न पहल गर्ने भनिएको थियो । कम्तीमा वर्षको दुई पटक आफ्ना मतदातासँग भेटेर समस्या सुन्ने र समाधान गर्नेतर्फ लाग्ने कार्ययोजना थियो । तर अहिले तत्काल गर्न नसकेपनि अब आउँदो आर्थिक वर्ष त्यो हुन्छ । यो हाम्रा लागि नयाँ र रचनात्मक काम हुनेछ ।

राज्यप्रतिको विश्वास घटेको, युवाको विदेश पलायनको सङ्ख्या बढेको तथा सुशासन लगायतका यावत् प्रश्न उठ्नुलाई यहाँले कसरी हेर्नुभएको छ ?

हाम्रो अनुभवमा नेपाल संविधान निर्माण गर्न र राम्राराम्रा नारा बनाउने मामिलामा सिपालु र धनी छ । प्रत्येक सरकारले जनहितका लागि भनी नयाँ र मिठा नारा दिन्छन् । तर कार्यान्वयन र जिम्मेवारी लिनेमा कमजोर छौँ । रोजगारी, विदेश पलायन, शिक्षा र स्वास्थ्यको सवालमा अहिलेसम्म बनेका सरकारले दिएका ‘गाउँगाउँ सहकारी, घरघरमा भकारी’, ‘समृद्ध नेपाल सुखी नेपाली’, ‘गाउँगाउँमा सिंहदरबार’ जस्ता राम्रा नारा र मिठा नारा कार्यान्वयन भएनन् । यी सुन्दा राम्रो लाग्छ, तर कार्यान्वयन हुँदैन । त्यसको कार्यान्वयन गर्न सरकार र राजनीतिक नेतृत्वमा दृढ इच्छाशक्ति चाहिन्छ ।

युवालाई विदेश पठाउने मामिलामा पनि नेपाल अगाडि नै छ, जुन गलत हो । संविधानले हामीलाई त्यो छुट दिँदैन । संविधानमा लेखिएका रोजगारी, शिक्षा, र स्वास्थ्यलगायत मौलिक हकका विषयमा राज्यले गम्भीर हुनुपर्छ । हामी जनताको सवालमा गम्भीर नहुँदा निरंकुश चरित्र भएका पक्षबाट धमिलो पानीमा माछा मार्ने काम भइरहेको छ । हामी जनताप्रति जिम्मेवार र उत्तरदायी भइदिएको भए अस्ताएका र सिद्धिएका शक्ति फेरि उठ्ने मौका पाउने थिएनन् । राजनीतिक दलहरुले गम्भीरता र एकताबद्ध भएर काम गर्नुपर्ने बेला आएको छ । ठूला दल र शक्तिशाली सरकार मात्र भएर हुँदो रहेनछ भन्ने कुरा विस २०७४ सालमा नेकपाको दुई तिहाइको सरकार गठन भएर के भयो त भन्ने उदाहरण दिन सकिन्छ । त्यसकारण राजनीतिक अस्थिरताका कारण समस्या सिर्जना भएको भनने विषय पनि गलत सावित भइसकेको छ । अहिले पनि झन्डै दुई तिहाईको सरकार छ, काम फटाफट हुन सकिरहेको छैन । स्थिरताका निम्ति राजनीतिक दलले जनतासामु गरेका प्रतिबद्धता पूरा गर्ने इच्छाशक्ति हुनुपर्यो  । त्यसतर्फ सबै राजनीतिक दलको ध्यान जान आवश्यक छ ।

पछिल्लो समय संविधान संशोधनको चर्चा छ, यस सन्दर्भमा उपराष्ट्रपतिलाई राष्ट्रियसभा अध्यक्ष बनाउनुपर्छ भन्ने मत पनि अघि सारिएको छ नि ?

उपराष्ट्रपतिलाई नै राष्ट्रियसभाको अध्यक्ष बनाउने कुराले सिङ्गो राष्ट्रलाई फाइदा हुन्छ भने मेरो कुनै आपत्ति छैन । तर त्यसको लागि पनि संविधान नै संशोधन गर्नुपर्छ । यदि राजनीतिक खेतीका लागि मात्रै यो विषय उठाइएको हो भने त्यो आफ्नो ठाउँमा भयो । नेपालले अहिले गरिरहेको अभ्यास र उपराष्ट्रपतिलाई अध्यक्ष बनाउने दुवै विषय विश्वमा भएकै अभ्यास हुन् ।

कानुन निर्माणमा सरकारको सहयोग कस्तो छ, सभाले कतिको बिजनेस प्राप्त गरिरहेको छ ?

सरकारले सदनलाई पर्याप्त बिजनेस दिनुपर्छ । कानून बनाउने प्रक्रियाको सुरुआत सरकारले गर्ने हो । सदनले होइन । पहिला सरकारले कानूनको विधेयक ल्याउनुपर्यो  । त्यसलाई राष्ट्रियसभामा दर्ता गर्नुपर्यो  । त्यसको आधारमा प्रक्रियागतरूपमा छलफल अगाडी जाने हाम्रो विधि र पद्धति हो । मैले सरकारलाई जतिसक्छौँ त्यति विधेयक राष्ट्रियसभामा दर्ता गर्नुस् हामीले अगाडि बढाउँछौँ, रोक्दैनौ भनेको छु । कहिलेकाहीँ त बिजनेस नपाएर बैठक यत्तिकै स्थगन गर्नुपर्छ । कानून निर्माण गर्ने आवश्यकता खड्किएको छ । संविधान बनेको दश वर्ष भयो । संविधानमा उल्लेख भएका विषय व्यवहारमा कार्यान्वयनमा लैजान कानून बनाउनु पर्नमा आवश्यक प्रगति हुन सकेको छैन । समग्रमा २०–२२ वटा यतिकै ‘पेन्डिङ’ मा छन । कानूनको अभावमा जनताका अपेक्षा पूरा गर्न सकिएको छैन । अब कानून निर्माण प्रक्रियमा हामी अलि बढी गम्भीर बन्नुपर्छ ।

‘राष्ट्रियसभामा जनताका जल्दाबल्दा सवाल उठ्छ, तर कार्यान्वयनमा समस्या छ’ भन्नेहरूप्रति यहाँको धारणा के छ ?

राष्ट्रियसभाले जनताका जल्दाबल्दा समस्या उठाएर कार्यान्वयनका लागि सरकारलाई ध्यानाकर्षण गरिरहेको छ । गएको एक वर्षमा जरुरी सार्वजनिक महत्व र सङ्कल्प उठाइएका गम्भीर विषयमा नौ पटक ‘रुलिङ’ गरेको छु । सदनमा उठेका विषयवस्तुसँग सम्बन्धित मन्त्री, सम्वन्धित मन्न्त्रालय र सम्वन्धित विभागले तत्काल जवाफ दिनुपर्ने भनी रुलिङ भएको छ । सदनले गर्ने भनेको त्यही हो । मन्त्री उपस्थित नभएसम्म वैठक चल्दैन भन्ने मान्यता छ । सभामा सदस्यले उठाएका विषय सम्बन्धित मन्त्रीले सात दिन भित्रमा जवाफ दिनुपर्छ भन्ने नियमावलीमा व्यवस्था छ । जनताप्रति जिम्मेवारी बोधका साथ संसदमा कुरा उठाइएको छ । सदन र संसदीय समितिमार्फत् अनुगमन र मूल्याङ्कनसहित कार्यान्वयन गर्न प्रयत्नहरु भएका छन । त्यसमा चुकेका छौँ भन्ने लाग्दैन । तर पनि हामी सरकारले गरेन भनी चुप लागेर बस्दैनौं । नयाँ तरिकाले त्यसलाई बाध्यकारी बनाउने दिशातर्फ पनि लागेका छौँ । जनताको पक्षमा काम होस् भन्ने विषयमा हामी केहीँकतै चुकेका छैनौँ ।

मुलुकमा भ्रष्टाचार बढेको तथा सुशासन प्रवद्र्धन हुन नसकेको पक्षमा यहाँको दृष्टिकोण के हो ?

नेपाल लोकतान्त्रिक, गणतान्त्रिक मुलुक हो । जनतालाई अभिव्यक्ति स्वतन्त्रता छ । जनतालाई सूचना हक प्रयोग गर्ने अधिकार पनि छ । संविधानमा मौलिक हक भनी सुनिश्चित गरिएको छ । त्यो पूरा नभएको कारण जनतामा कुशासनले घर पर्यो  कि भन्ने आशङ्का छ । भ्रष्टाचारको विषय आइरहेकै छ । अहिले भ्रष्टाचारसँग सम्बन्धित थुप्रै विषय उठिरहेका छन् । यी विषयमा सरकार आफैँ गम्भीर हुनुपर्यो  । होइन भने प्रमाणसहित जनतालाई आश्वस्त पार्नुपर्यो  । यदि हो भने कारवाही गर्नुप¥यो । यो एउटा सांसद् वा राष्ट्रियसभाको मात्र विषय होइन । महिला हिंसा, छाउपडी, दलितमाथिको विभेद, बलात्कार, हत्याजस्ता जनताको अधिकारसँग जोडिएका अरु सबै विषयमा राष्ट्रियसभाले उठाइ रहेको छ । यो विषयमा सरकार जिम्मेवार बन्नुपर्यो  । जुनसुकै सरकार किन नहोस् जनताको आवाज सुनिरहने तर कार्यान्वयन नगर्ने हो भने व्यथिति र भ्रष्टाचार छैन भन्ने आधार हुँदैन । ७५ बर्षको ज्येष्ठ नागरिक चार हजार रुपैँया भत्ताको लागि दुई दिनको बाटो हिँडेर जानुपर्ने अवस्थाले सुशासनमाथि प्रश्न उठाइरहेको छ । त्यो सामाजिक सुरक्षा हो कि सजायँ भन्ने प्रश्न हो ।

प्रधानमन्त्रीले शुक्रबार संसदमा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार संसदमा सम्बोधन गर्ने भएका छन् । शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशनको पहिलो दिन नै प्रधानमन्त्रीले संसद्मा सम्बोधन गर्न लागेका हुन् ।

नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले शुक्रबारको संसद बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तय भएको जानकारी दिए । प्रधानमन्त्रीले समसामयिक विषयमा सम्बोधन गर्ने उनले बताए ।

शुक्लाफाँटाका दुई हजार ५५२ किसान सूचिकृत

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाका दुई हजार ५५२ घरधुरीका किसानलाई सूचिकरण गरिएको छ । कृषि पेशा व्यवसायमा संलग्न किसानलाई उपलव्ध हुने अनुदान र सहायता प्राप्त गर्नका लागि किसानलाई सूचिकरण गरिएको हो ।

किसान सूचिकरण संकेत नम्बर भएका किसानलाई मात्रै अनुदानलगायतका कार्यक्रममा समावेश गरिने भएकाले सूचिकरणको कार्य अगाडि बढाइएको नगरपालिकाको कृषि विकास शाखाका प्रमुख करन बुढाऐरले बताए।

उनका अनुसार नगरपालिकाको–१, ११ र १२ मा किसान सूचिकरण गरिएको छ । जसअनुसार वडा नं १ मा ४६८, वडा नं ११ मा एक हजार २१ र वडा नं १२ मा एक हजार ६३ गरी दुई हजार पाँच सय ५२ घरधुरीलाई सूचिकरण गरिएको छ ।

आगामी आबमा नगरपालिका–२, ३, ४, १० र ५ मा किसान सूचिकरण कार्य गरिने उनले बताए। कृषि विषय अध्ययन गर्ने अभ्यार्थीलाई परिचालन गरी सूचिकरण कार्य गरिएको उनको भनाइ रहेको छ ।

‘सूचिकरणले किसान परिचयपत्र दिन सजिलो हुने, किसानलाई खेतीका आधारमा ठुलो सानो गरी बर्गीकरण सकिने र त्यही आधारमा अनुदानका कार्यक्रम सञ्चालन गर्न मद्दत पुग्छ’ उनले भने, ‘सूचिकरणकै आधारमा आवश्यक बजेट विनियोजन गरी कार्यक्रम तर्जुमा गरी कार्यअगाडि बढाउन सकिन्छ ।’

राष्ट्रको आवश्यकता र जनताको माग अनुसारका विकासमा जोड दिनुपर्छः उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले इञ्जिनीयरलाई राष्ट्रको आवश्यकता र जनताको माग अनुसारको विकास, निर्माणमा जोड दिनुपर्ने भन्दै सोही अनुसार काम गर्न आग्रह गरेका छन् ।

सेन्टर फर डेमोक्रेटिक इञ्जिनीयर्स एसोसियसन (सिडेन)को आज ललितपुरमा आयोजित दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले निर्माण हुने संरचना र विकासका आयोजनासम्बन्धी योजना बनाउँदा राष्ट्र र जनताका आवश्यकता बुझेर सकारात्मक परिवर्तनमा लाग्नुपर्ने बताए ।

उनले नवप्रवर्तन र प्रविधिमा आधारित योजना कार्यान्वयन गरेमा उल्लेख्य प्रतिफल आउने धारणा राखेका छन् ।

“लोकतान्त्रिक मूल्य, मान्यता अनुसार शासन प्रणाली स्थापित नभएसम्म नेपालीको भविष्य सुनिश्चित हुँदैन भनेर २०४६ र २०६२र६३ को परिवर्तन ल्याएका हौँ । प्राप्त अधिकारलाई सुरक्षित गर्दै राजनीतिक स्थायित्व र स्थिरताका लागि आर्थिक समृद्धितर्फ सबैले ध्यान दिनु जरुरी छ र यसका सबै सबै राजनीतिक दलले आ–आफ्नो कमजोरी सुधार गर्दै अगाडि बढ्नुपर्छ, कानुनी रूपमा भएका समस्या छलफलबाट समाधान गरौँ । प्राप्त गणतन्त्रको अधिकारलाई सुरक्षित गर्दै दिगो विकास र जिम्मेवारीपूर्ण कामका लागि ध्यान दिनुपर्छ”, उनले भने ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गुणस्तरीय पूर्वाधार निर्माणमा सरोकार भएका सबैले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । यसका लागि समयसापेक्ष कानुन बनाउँदै समस्या समाधान गर्नुपर्ने भन्दै सरकार आवश्यकताका आधारमा छलफलबाट बाधक भएका कानुन संशोधन गर्न तयार रहेको बताए ।

“मुलुकको आवश्यकतालाई मूल्यांकन गरेर काम गर्छौँ, समृद्धि हासिल गर्न १५ हजार मेगावाट विद्युत् भारतमा व्यापार गर्ने बाटो खुलेको छ, बूढी गण्डकीको सुरुवात गर्दा १७ हजार रोजगारी सिर्जना हुन्छ, यसलाई महसुस गरेर हामीले काम गरिरहेका छौँ”, उनले भने ।

सिडेनका केन्द्रीय अध्यक्ष सुवासचन्द्र बरालले विकास निर्माणसँग जोडिएका विषयमा आधारित रहेर दिगो विकासका लागि सबैले सहकार्य गर्नुपर्ने बताए ।

यो कार्यक्रमले दिगो विकासका क्षेत्रमा काम गर्ने सबैलाई सकारात्मक ऊर्जा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले दिगो विकासका लागि राजनीतिक प्रतिबद्धता आवश्यक रहेको धारणा राखे । बरालले सिडेनको यो सम्मेलनले यस क्षेत्रमा रहेका चुनौतीलाई समाधान गर्न सहयोग पुग्ने बताए ।

सिडेनका अध्यक्ष एवं इन्जिनियर लक्ष्मण केसीले यस क्षेत्रमा भएका प्रशस्त सम्भावनाको छलफल गरेर प्रविधिको विकास अनुरूप दिगो विकासमा रहेका बाधा हटाउन नीतिगत व्यवस्थाका लागि सरकार र संसद्लाई सुझाव दिन सम्मेलन आयोजना गरिएको बताए ।

सिडेनका महासचिव एवं इन्जिनियर थमनबहादुर खड्काले संस्थामा हाल नौ हजार ६४६ जना इन्जिनियर सदस्य रहेका जानकारी गराए। उनका अनुसार यीमध्ये बागमतीमा मात्रै छ हजार ७०० सय भन्दा बढी छन् ।

माओवादी अध्यक्ष प्रचण्ड गोरखामा, सहिद परिवारसँग भेटघाट र भूकम्प स्मृति कार्यक्रममा सहभागी हुने

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार गोरखा नगरपालिका–१२, कुन्दुटारस्थित १० किलोमा आइपुगेका छन् । अध्यक्ष प्रचण्डले यहाँ सहिद तथा बेपत्ता परिवारसँग भेटघाट गर्नेछन् ।

बैशाख १२ गते बारपाकमा २०७२ सालमा गएको विनाशकारी भूकम्पको १० वर्ष पुग्दाको अवसरमा आयोजना गरिने भूकम्प स्मृति कार्यक्रममा अध्यक्ष प्रचण्ड सहभागी हुने कार्यक्रम रहेको छ।

अमेरिका र युक्रेनले ‘जतिसक्दो चाँडो’ खनिज सम्झौतामा हस्ताक्षर गर्नुपर्छः अर्थमन्त्री बेसेन्ट

वासिङटन । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले वासिङ्टनमा भएको बैठकमा युक्रेनका प्रधानमन्त्रीलाई दुवै मुलुकले महत्त्वपूर्ण स्रोत निष्कासन सम्झौतामा ‘जतिसक्दो चाँडो’ हस्ताक्षर गर्नुपर्ने बताएका छन् ।


प्रधानमन्त्री डेनिस स्मिहल शनिबारसम्म संयुक्त राज्य अमेरिकाको भ्रमणमा थिए । उनको उद्देश्य अमेरिकालाई युक्रेनी स्रोत र दुर्लभ खनिजको खनन मुनाफाबाट रोयल्टी भुक्तानी दिन एक सम्झौता गर्नु थियो ।


सन् २०२२ मा रुसले युक्रेनमा आक्रमण गरेपछि आफ्ना पूर्ववर्ती जो बाइडेनले युक्रेनलाई दिएको सहायताको क्षतिपूर्तिका रूपमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यो सम्झौता चाहन्छन् ।


तर, फेब्रुअरीमा ट्रम्प र उनका युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीबीचको टकरावले सम्झौताको काममा अवरोध सिर्जना गरेको थियो ।


अर्थ मन्त्रालयको संक्षिप्त विवरण अनुसार बेसेन्टले  स्मिहललाई ‘प्राविधिक वार्ता समाप्त गर्ने र संयुक्त राज्य अमेरिका र युक्रेनबीच आर्थिक साझेदारीमा जतिसक्दो चाँडो हस्ताक्षर गर्ने आवश्यकता’ बारे बताए ।


विवरण अनुसार बेसेन्टले दुई पक्षबीचको वार्तालाई ‘अत्यधिक फलदायी’ भएको बताए । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई शान्ति सम्झौता स्वीकार गर्न हप्तौँदेखि दबाब दिएको छ । उक्त सम्झौताले अहिले रुसको कब्जामा रहेको आफ्नो केही क्षेत्र छोड्न किएभलाई बाध्य पार्न सक्छ ।


वासिङ्टनले रुस र युक्रेनबीच चाँडै सहमति नभए शान्ति वार्ताबाट बाहिरिने धम्की दिएको छ ।


बिहीबार बिहानै मस्कोले किएभमा क्षेप्यास्त्र आक्रमण गर्नुभन्दा केही घण्टाअघि ट्रम्पले बुधबार उनको विश्वासमा रुसले शान्ति सम्झौताको आफ्नो भाग स्वीकार गरेको बताएका थिए ।

मार्को रुबियोद्वारा रुसी प्रतिबन्धहरू हटाउनुपर्ने समाचारको  खण्डन 

वासिङन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले युक्रेन सम्झौतासँग सम्बन्धित रुसमाथिको प्रतिबन्ध हटाउनेबारे छलफल भएको भनी अमेरिकी मिडियामा हालै आएको एक रिपोर्टको खण्डन गरेका छन् । उनले उक्त रिपोर्टलाई ‘स्पष्ट रूपमा झूटो’  भनेका छन् ।

 पोलिटिको प्रकाशनलाई ‘पत्रकारिता दुरुपयोग’ को आरोप लगाउँदै रुबियोले एक्समा एक पोस्टमा भनेका छन् “यो स्पष्ट रूपमा झूटो हो । न त स्टिभ विटकफ (अमेरिकी मध्यपूर्व विशेष दूत) न मैले युक्रेनसँगको सम्झौताको हिस्साका रूपमा रुसविरुद्धको प्रतिबन्ध हटाउनेबारे कुनै वार्ता गरेका छौँ । यो पत्रकारिताको दुरुपयोग हो । यदि पोलिटिकोमा एक औँस अखण्डता छ भने उनीहरूले यो काल्पनिक कथालाई पूर्ण रूपमा फिर्ता लिनुपर्दछ ।”

पोलिटिकोले स्रोतलाई उदृत गर्दै एक रिपोर्टमा ह्वाइट हाउसले रुस र युक्रेनबीचको युद्ध अन्त्य गर्ने छलफलको एक हिस्साका रूपमा रुसको नोर्ड स्ट्रिम२ प्राकृतिक ग्यास पाइपलाइन र युरोपमा सम्भावित अन्य रूसी सम्पत्तिहरूमा प्रतिबन्ध हटाउनेबारे छलफल गरिरहेको बताएको छ ।

रुसको प्राकृतिक ग्यास क्षेत्रलाई पश्चिमी युरोपसँग जोड्ने मुख्य पाइपलाइनहरू मध्ये एकमा हाल लगाइएको प्रतिबन्ध हटाउने कुरा राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा पहिलो पटक राखिएको अमेरिकी नीतिमा तीव्र परिवर्तन हुने पोलिटिकोले रिपोर्ट गरेको छ । 

पूर्वराष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको सुरुमा ती प्रतिबन्धहरू हटाएका थिए तर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ मा युक्रेनमा आक्रमण सुरु गरेपछि तिनीहरूलाई पुनः लागू गरे ।

पोलिटिकोले उदृत गरेको स्रोतका अनुसार ह्वाइट हाउसका विशेष दूत स्टिभ विटकफले रुसविरुद्ध प्रतिबन्धहरू कम गर्नका लागि प्रमुख वकालत गर्दै आएका छन् ।

मस्कोका लागि डोनाल्ड ट्रम्पका दूतको रूपमा आफ्नो कार्यकालमा भ्लादिमिर पुटिनसँग मित्रता बनाएका विटकफले आफ्नो टोलीलाई जारी छलफलको एक हिस्साको रूपमा रुसमाथि लगाइएको अमेरिकी ऊर्जा प्रतिबन्धहरूको विस्तृत सूची सङ्कलन गर्न निर्देशन दिएका छन् ।

बाल्टिक सागर हुँदै जर्मनीमा ग्यास ढुवानी गर्न निर्माण गरिएको दुई नर्ड स्ट्रिम २ पाइपलाइनहरू मध्ये एउटा सन् २०२२ मा भएको विस्फोटको बावजुद कार्यशील रहेको छ ।

यसले नजिकैको नर्ड स्ट्रिम१ को दुवै पाइपलाइनहरूसहित यसको एउटा लाइनलाई क्षति पुर्याएको छ । सन् २०२२ सेप्टेम्बरको विस्फोटले ग्यास आपूर्ति अवरुद्ध गरेको थियो र यसको अझै अनुसन्धानमा जारी छ । केही रिपोर्टले युक्रेनी नागरिकहरूको सम्भावित संलग्नताको सुझाव दिएका छन् ।

भूकम्पले ढलेर उठेको बारपाक(फोटोफिचर)

विसं २०७२ को भूकम्पछि पुनःनिर्माण भएको गोरखाको उत्तरी भेगमा पर्ने वारपाक गाउँ । भूकम्पको केन्द्रविन्दु रहेको वारपाक क्षेत्रका अधिकांश स्थानीयको घर पूर्णरूपमा भत्किएर करिब ७० जनाभन्दा बढी स्थानीयवासीको ज्यान गएको थियो । भूकम्प गएको भोलि १० वर्ष पूरा हुँदैछ ।

तस्बिरः रत्न श्रेष्ठ/रासस

सरकारी सरह भत्ता माग गर्दै आवासीय चिकित्सकहरु पनि सडक आन्दोलनमा(फोटोफिचर)

काठमाडौं । सरकारी सरह भत्ता माग गर्दै निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरु पनि सडक आन्दोलनमा उत्रिएका छन् ।

बिहीबार उनीहरुले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा दिन निजी मेडिकल कलेजलाई निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेका छन् ।

निर्णय कार्यान्वयन नभएपछि चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । नेपाल चिकित्सक संघले निर्णय कार्यान्वयनका लागि दबाब दिन सरकारलाई अल्टिमेटम समेत दिइसकेको छ । संघले माग पूरा नभए शुक्रबार देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी दिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण २० प्रतिशत सम्पन्न

चितवन। चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम २० प्रतिशत सम्पन्न भएको छ ।

भरतपुर महानगरपालिका– १५ स्थित सङ्घ र प्रदेश सरकारको सहकार्यमा महानगरपालिकाले रङ्गशाला निर्माण गरिरहेको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिइ काम अघि बढाएको थियो ।

हिमालयन कालिञ्चोक बीबीआर जेभीले बोलपत्र सकारेर काम गरिरहेको छ । महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार चार वटा ‘प्याराफिट’मध्ये एउटाको ढलाई सम्पन्न गरिएको छ । अर्को ढलानको तयारीमा छ ।

दुवै टावरको पहिलो तल्लाको ढलानको तयारी हुँदैछ । अहिले दैनिक १७० जनाभन्दा बढी कामदारले बिहान ८ बजेदेखि बेलुका ९ बजेसम्म काम गरिरहेको आचार्यले बताए । छड र सिमेन्ट सहज उपलब्धता नहुँदा काममा केही कठिनाइ भए पनि सामग्री जुटाएर काम भइरहेको उनको भनाइ छ ।

गत साउनमा बीबीआर जेभीले निर्माण सुरु गरेको हो । विसं २०८३ पुस २२ गतेसम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी ७८ करोड ५० लाख ९१ हजार १८९ मा ठेक्का लगाइएको हो ।

गत असार २३ मा ठेक्का सम्झौता गरी काम सुरु गरिएको हो । रङ्गशाला निर्माणका लागि सङ्घीय सरकारले २५ करोड र प्रदेश सरकारले १० करोड उपलब्ध गराइसकेका छन् ।

प्रदेश सरकारले ७० प्रतिशत र सङ्घीय सरकारले ३० प्रतिशत उपलब्ध गराउने सहमतिअनुसार रङ्गशालाको काम अघि बढेको हो ।

अन्तर्राष्ट्रियस्तरको मापदण्डअनुसार रङ्गशाला निर्माण भइरहेको छ । पहिलो चरणको यो काम सम्पन्न भएसँगै अन्तराष्ट्रियस्तरका खेल यहाँ आयोजना गर्न सकिने छ ।

त्रिभुवन विश्व विद्यालयको नाममा रहेर कृषि तथा वन विज्ञान विश्व विद्यालयले उपयोग गरिरहेको २० बिघा १९ कठ्ठा जमिनमा रङ्गशाला निर्माण भइरहेको छ ।

गर्मी भएकाले साँझ र रात्रिकालीन समयमा समेत खेल खेलाउन बत्तिको व्यवस्था गर्न महानगरपालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सम्झौताअनुसार तालिकामा काम भइरहेको बताए । महानगरबाट गर्नुपर्ने आवश्यक सहजीकरण महानगरले गरिरहेको उनले जानकारी दिइन् ।

एनआरएनए अस्ट्रेलियाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

जाजरकोट। गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अष्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित श्री शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मितको भवनको आज हस्तान्तरण गरिएको छ। अष्ट्रेलियामा बस्ने नेपालीहरूबाट संकलित २५ हजार अस्ट्रेलियन डलरको सहयोगमा उक्त भवन निर्माण गरिएको एनआरएनए अष्ट्रेलियाले जनाएको छ।

उक्त भवनको एनआरएनए अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले आज आयोजित एक कार्यक्रममा उद्घाटन गरे । विसं २०७९ मा जाजरकोट भूकम्पका कारण क्षतिग्रस्त भवनको पुनःनिमार्णका लागि एनआरएन अष्ट्रेलियाको आर्थिक सहयोग र यार्सन जाजरकोटको प्राविधिक सहजीकरणमा भवन निर्माण गरिएको हो ।

अध्यक्ष पोखरेलले विद्यालयको भवन निर्माणमा सहयोग गर्न पाउँदा खुसी लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यसप्रकारको सहयोगलाई निरन्तरता दिने बताए।

‘अष्ट्रेलियामा रहेका नेपाली समुदायका तर्फबाट भूकम्प गएको समयमा राहत वितरण समेत गरिएको थियो’, उनले भने, ‘पछि विद्यालय निर्माणका लागि पनि सहयोग संकलन गरिएको थियो ।’

विद्यालय भवन निर्माण आठ महिना अघि सुरु भएको हो । उक्त भवनमा चालु शैक्षिक सत्रबाट भवनमा पठनपाठन पनि सुरु भइसकेको छ । ‘यो सहयोगका लागि अष्ट्रेलियामा रहेको विभिन्न सङ्घसंस्था र व्यक्तिगरुको योगदान छ, आगामी दिनमा पनि यसप्रकारको सहयोग जारी रहनेछ’, उनले भने।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्यप्रकाश सिंहले विद्यालय भवन निर्माणमा आर्थिक सहयोगका लागि एनआरएनए अष्ट्रेलियालाई धन्यवाद दिए। त्यसअवसरमा एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष शम्भु गाइसी, एनआरएनए ओसियानाका क्षेत्रीय संयोजक दिनेश पोखरेललगायत विद्यार्थी र स्थानीयको उपस्थिति थियो ।

कश्मीर आक्रमणपछि पाकिस्तानप्रति भारत आक्रोशित

नयाँदिल्ली । भारतले जम्मु-कश्मीरमा सर्वसाधारणमाथि भएको जघन्य आक्रमणपछि पाकिस्तानमाथि गम्भीर आरोप लगाउँदै विभिन्न कडा कूटनीतिक कदमहरू सार्वजनिक गरेको छ। भारतले पाकिस्तानले (सिमा-पार आतङ्कवाद) लाई समर्थन गरिरहेको आरोप लगाउँदै यो प्रतिक्रिया दिएको हो।

विदेश सचिव विक्रम मिस्रीले पत्रकार सम्मेलनमा बताएअनुसार भारतले सन् १९६० मा गरिएको (इन्डस जल सम्झौता) तत्काल स्थगित गर्ने निर्णय गरेको छ। उनले भने, “जबसम्म पाकिस्तानले सिमा-पार आतङ्कवादप्रति समर्थन परित्याग गर्दैन, तबसम्म यो सम्झौता स्थगित रहनेछ।”

इन्डस जल सम्झौताले भारत र पाकिस्तानलाई तीन-तीन वटा हिमाली नदीहरूको अधिकार प्रदान गर्दै जल उपयोग तथा सिँचाइका लागि व्यवस्था मिलाएको थियो।

सम्झौता कार्यान्वयन गर्न इन्डस आयोग पनि स्थापना गरिएको थियो, जसले उत्पन्न हुने समस्याहरू समाधान गर्ने जिम्मेवारी लिएको थियो।

साथै, भारतले पाकिस्तानसँगको मुख्य स्थल सीमा अटारी–वाघा नाका तत्काल बन्द गर्ने निर्णय गरेको छ। यद्यपि, वैध यात्रा कागजात भएका व्यक्तिहरूलाई मे १ अगाडि फर्किन छुट दिइएको छ। यो सीमा नाका प्रतीकात्मक रूपमा निकै महत्वपूर्ण मानिन्छ, जहाँ हरेक साँझ भारत–पाकिस्तानका सैनिकहरूबीच हुने परेडले दुई देशबीचको प्रतिस्पर्धालाई दर्शाउने गर्छ।

भारतले थप रूपमा नयाँ दिल्लीस्थित पाकिस्तान दूतावासका रक्षा सल्लाहकार र अन्य सैन्य अधिकारीहरूलाई एक साताभित्र भारत छोड्न निर्देशन दिएको छ। यस्तै, भारतले पाकिस्तानमा रहेका आफ्ना रक्षा, नौसेना र वायुसेना सल्लाहकारहरूलाई पनि फिर्ता बोलाउने निर्णय गरेको छ।

कश्मीरको मुस्लिम बहुल क्षेत्रमा मंगलबार भएको आक्रमणमा २६ जनाको ज्यान गएको थियो। घटनाको जिम्मा हालसम्म कुनै पनि समूहले लिएको छैन। सन् १९८९ यता विद्रोहीहरूले कश्मीरमा भारतविरुद्ध स्वतन्त्रता वा पाकिस्तानसँगको मिलनको माग गर्दै आन्दोलन गरिरहेका छन्।

भारत र पाकिस्तान दुवैले कश्मीर क्षेत्रमा पूर्ण दाबी गर्दै आएका छन्, जसमा पाकिस्तान सानो भागमा नियन्त्रणमा छ। इन्डस नदी एशियाकै सबैभन्दा लामो नदीहरूमध्ये एक हो । यस घटनासँगै भारत–पाकिस्तान सम्बन्ध झनै चिसिने देखिएको छ।

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली ।  हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी भारतीय पुरुष मारिएपछि भारत प्रशासित काश्मीरका विद्यार्थीहरूले भारतमा उत्पीडन र धम्कीको सामना गरेको रिपोर्ट गरेको एक विद्यार्थी सङ्गठनले बिहीबार जनाएको छ।

मङ्गलबार पर्यटकीय स्थल पहलगाममा बन्दुकधारीहरूले एक नेपाली र २५ भारतीय गरी २६ जना मानिसको हत्या गरेका थिए। सन् २००० पछि विवादित मुस्लिम बहुल क्षेत्रमा नागरिकहरूमाथि भएको यो सबैभन्दा घातक आक्रमण हो।

बचेका व्यक्तिहरूले बन्दुकधारीहरूले पुरुषहरूलाई लक्षित गरेको र इस्लामिक आस्थाको घोषणा दिन सक्नेहरूलाई छाडेको भारतीय मिडियाले जनाएको छ।

यी हत्याले विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देश भारतलाई स्तब्ध पारेको छ र हिन्दू राष्ट्रवादी समूहहरूलाई आक्रोशित बनाएको छ।

उत्तराखण्ड, उत्तर प्रदेश र हिमाचल प्रदेश लगायत राज्यमा काश्मीरी विद्यार्थीहरूलाई बुधबार भाडाको अपार्टमेन्ट वा विश्वविद्यालयको होस्टल छोड्न भनिएको जम्मू कश्मीर विद्यार्थी सङ्गठनका संयोजक नासिर खुहेमीले बताए।

हिमाचल प्रदेशको एउटा विश्वविद्यालयमा छात्रावासको ढोका तोडेपछि विद्यार्थीहरूलाई उत्पीडन र शारीरिक आक्रमण गरिएको खुहेमीले जानकारी दिए।

उनका अनुसार ती विद्यार्थीलाई ‘आतङ्कवादी’ भनिएको थियो। ‘यो केवल सुरक्षाको मुद्दा मात्र होइन’, उनले भने, ‘यो एक विशेष क्षेत्र र पहिचानका विद्यार्थीहरू विरुद्ध घृणा र निन्दा गर्ने जानाजानी र लक्षित अभियान हो।’

उत्तराखण्डको राजधानी सहर देहरादुनमा दक्षिणपन्थी समूह हिन्दू रक्षा दलको चेतावनीपछि करिब २० जना विद्यार्थी बुधबार विमानस्थलतर्फ भागेका छन्।

विद्यार्थीहरूका अनुसार समूहले काश्मीरी मुस्लिम विद्यार्थीहरूलाई चाँडै सहर नछोडेमा गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिएको थियो।

सन् १९४७ मा स्वतन्त्र भएदेखि नै काश्मीर भारत र पाकिस्तानबीच विभाजित भएको छ। दुवै मुलुकले उच्च–उचाइको यस क्षेत्रलाई पूर्ण रूपमा दावी गर्छन्, तर यसको अलग–अलग भागलाई शासन गर्छन्।

विद्रोही समूहहरूले स्वतन्त्रता वा पाकिस्तानसँग विलयको माग गर्दै सन् १९८९ देखि भारत नियन्त्रित काश्मीरमा विद्रोह गर्दै आएका छन्।

भारतीय सुरक्षा बलले आक्रमणकारीहरूका लागि काश्मीरमा ठूलो खोजी सुरु गरेको छ र यस कारबाहीमा ठूलो सङ्ख्यामा मानिसहरूलाई हिरासतमा लिइएको छ।

बुधबार भारतले इस्लामाबादलाई ‘सीमापार आतङ्कवाद’ लाई समर्थन गरेको आरोप लगाएको थियो र कूटनीतिक उपायहरूका साथ आफ्नो छिमेकीसँगको सम्बन्धलाई घटाएको थियो। पाकिस्तानले पहलगाम आक्रमणमा कुनै पनि भूमिकालाई अस्वीकार गरेको छ।

१२१ जना डीएसपीको सरुवा(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका १२१ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गरी १२१ जना डीएसपीको सरुवा गरेको जानकारी दिएको हो ।

‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक

काठमाडौं । दिवाकर भट्टराईको निर्देशनमा बनेको फिल्म ‘नरसिंहाः अवतार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

जेठको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्मको पोस्टरमा यसमा अभिनय गरेका सबैजसो कलाकारहरूलाई स्थान दिइएको छ।

यो फिल्मको ‘अच्छा लेकिन लण्डनको चिसोले समाउला’ गीतको चर्चासँगै टिमले यो पोस्टर ल्याएको हो। केही दिनअघि सार्वजनिक उक्त गीतलाई युट्युबमा दर्शकले निकै रुचाएका छन्।

पोस्टरमा राजेश हमाल, राज कटुवाल, नीति शाह, सनिशा भट्टराई, सरोज खनाल, नीर शाह, प्रशान्त ताम्राकार, उषा खड्गी, अर्जुन श्रेष्ठ, रमेश चन्द सोडारी, दीपा शाही, प्रकाश कुँवर, राजिव जंग बस्नेत, राजिव मानन्धर (टार्जन) लगायतका कलाकारहरूलाई स्थान दिइएको छ।

चन्द्र पन्तको कथा रहेको फिल्ममा राजु तामाङको एक्सन, कविराज गहतराज र माइकल चन्दको कोरियोग्राफी, राजु विक्रम थापाको डीओपी, समीर मियाको भिएफक्स, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, राकेश दाहालको पोस्टर डिजाइन छ ।

क्रियटिभ सिने आर्टस्का लागि नेम महर्जन निर्माता रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ।

लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविकः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्रमा कुनै पनि प्रकारको अतिवाद हुन नसक्ने बताएका छन् । लोकतन्त्र दिवसमा शुभकामना दिँदै महामन्त्री थापाले लोकतन्त्र शब्दमा नभई आचरणमा हुनुपर्ने बताएका हुन् ।

उनले भनेका छन्, ‘लोकतन्त्र व्यवस्था अनुरूप अवस्था बदलिन नसक्दा आम असन्तुष्टि स्वाभाविक भए पनि यसको विकल्प कुनै पनि प्रकारको अतिवाद हुन सक्दैन । लोकतन्त्र शब्दमा होइन, हाम्रो आचरण, सोच र कार्यशैलीमा देखिनु पर्छ । समावेशी, उत्तरदायी र समुन्नत लोकतन्त्र निर्माणका लागि आजको दिनले हामी सबैलाई थप प्रतिबद्ध र प्रेरित बनाओस्। लोकतन्त्र दिवसको सबैमा हार्दिक शुभकामना !’

शिक्षक आन्दोलनप्रति सरकार गैरजिम्मेवार बनेको माओवादीको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकार आन्दोलनरत पक्षका माग सम्बोधन गर्नुको सट्टा उल्टो बाटोमा हिँडेको निष्कर्ष निकालेको छ ।

बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकले सरकार समाधानतर्फ नगई जटिलता बढाउनेतर्फ अघि बढेको निष्कर्ष निकालेको हो ।

बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षक, चिकित्सक तथा लघुवित्त पीडितहरूसँग संवाद भइरहेको जनाउँदै सरकार समस्याको समाधानतर्फ नगई उल्टै जटिलता बढाउने दिशामा गएको आरोप लगाए । उनले प्रधानमन्त्रीले आन्दोलनरत शिक्षकहरूसँगको संवादमा आफ्नो नाम जोडेर टिप्पणी गर्नु दुर्भाग्यपूर्ण रहेको बताए ।

संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उनले ती विधेयक संसद्बाट पारित गराउन सबै सांसदहरूलाई सक्रिय हुन निर्देशन दिए ।

शिक्षा मन्त्रीको राजीनामापछि शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको भन्दै अध्यक्ष प्रचण्डले संसदबाटै शिक्षकका मागहरू सम्बोधन गर्न सांसदहरूलाई जिम्मेवार भूमिका निर्वाह गर्न निर्देशन दिए ।

बैठकमा अध्यक्ष प्रचण्डले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको दाबी गरेका छन् ।

प्रचण्डले अघिल्लो संसद अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गरे । उनले यसलाई लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजयको रुपमा बैठकमा व्याख्या गरेका थिए ।

आतंकवादी हमलामा मारिएका सुदीपको शव परिवारलाई हस्तान्तरण

बुटवल । भारतको काश्मिरमा मङ्गलबार भएको आतंकवादी आक्रमणमा मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको शव बुटवलस्थित घरमा ल्याइएको छ ।

आमा बहिनी र ज्वाइँसहित घुमघामका लागि काश्मिर गएका बुटवलका सुदीप न्यौपानेको मङ्गलबार आतंकवादी हमलामा ज्यान गएको थियो ।

आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै आक्रमण गरेका थिए । सुदीपको पार्थिव शरीर बिहीबार बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो । परिवारका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिने छ ।

‘अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ’

सुवास दर्नाल, सोलुखुम्बु ।  विश्वको सर्वोच्च शिखर सगरमाथाको काखमा उभिएर कतारकी राजकुमारी तथा सगरमाथा आरोही आश्मा अलथानीले हिमाली क्षेत्रमा द्रुत रूपमा भइरहेको परिवर्तनप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छन् ।

सोलुखुम्बुको सानो तर जलवायु असरले गहिरो प्रभावमा परेको थामे गाउँ साथसाथै फाउन्डेसनद्वारा आयोजित हिमाली आरोही सम्मेलनलाई सम्बोधन गर्दै राजकुमारी थानीले भनिन्, ‘सगरमाथा जस्ता हिमालहरूमा हिउँ रित्तिदै जानु केवल नेपालका लागि मात्रै होइन, सम्पूर्ण विश्व समुदायका लागि खतरा हो ।’

सन् २०१९ मा पहिलोपटक नेपाल आएकी र त्यसै वर्ष सफल सगरमाथा आरोहण गरेकी राजकुमारीले यसपटकका हिमालहरूमा जीवन छैने यात्रालाई निकै भिन्न अनुभवका रूपमा लिएको बताइन् । ‘पहिलोपटक आएँ, त्यसबेला हिमाल उज्यालो, आकर्षक र जीवन्त लाग्यो । अहिले फर्किंदा ती हिमालहरूमा जीवन छैन जस्तो अनुभूत गरेँ । हिउँ हराउँदै गएको छ, चट्टानहरू खुला र काला देखिएका छन् । मौसम परिवर्तन भएको छ । यो सबै परिवर्तन एकदमै गम्भीर छ’, उनले भनिन् ।

जलवायु परिवर्तनको प्रत्यक्ष मारमा थामे बस्ती

हिमाली वातावरणमा आएको परिवर्तनको सबैभन्दा ठूलो असर थामेजस्ता बस्तीहरूले झेलिरहेका छन् । गएको वर्ष सगरमाथा क्षेत्रमा अवस्थित एक हिमताल फुट्दा आएको बाढीले थामे बस्तीमा व्यापक क्षति पुर्‍याएको थियो । त्यसबाट दर्जनौँ घर विस्थापित भए । विद्युत् संरचना ध्वस्त भयो । सडक सञ्जाल टुट्यो । बस्तीका बालबालिकाको शिक्षामा समेत बाधा पुग्यो ।

राजकुमारी थानीले यस्ता घटना जलवायु परिवर्तनको प्रत्यक्ष परिणाम भएको बताउँदै भनिन्, ‘यस्ता हिमाली बस्तीको पुनःनिर्माणमा केवल नेपाल सरकारको प्रयास मात्रै काफी हुँदैन । यो सङ्कटसँगै लड्न सम्पूर्ण अन्तर्राष्ट्रिय समुदायले हातेमालो गर्नुपर्छ ।’

बाढीपहिरो, हिमताल विस्फोट, र हिउँपहिरोजस्ता विपद्बाट बच्न पूर्वसूचना प्रणाली जडान गर्नुपर्नेमा राजकुमारीको विशेष जोड थियो । ‘हिमाली क्षेत्रहरू संवेदनशील छन् । यहाँ यस्ता प्रणाली भए यथासमयमा सूचना प्रवाह भएर जनजीवन जोगिन सक्छ । प्रविधिको सदुपयोग जरूरी छ,’ उनले भनिन् ।

सगरमाथाको संरक्षणमा विश्वको दायित्व

राजकुमारी थानीले सगरमाथा केवल नेपालको सम्पत्ति नभई सम्पूर्ण मानवजातिको साझा धरोहर भएको उल्लेख गरिन् । ‘हामी जस्ता आरोहीहरूले सगरमाथा चढ्दा मात्र गौरवको कुरा मान्दैनौँ, हामी त्यसको रक्षा पनि हाम्रो कर्तव्य ठान्छौँ । अब हरेक विकास योजनामा हिमालको अस्तित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ, होइन भने भोलि सगरमाथा फोटोमा मात्र सीमित हुनेछ,’ उनले चेतावनी दिइन् । राजकुमारीको भनाइलाई समर्थन गर्दै सम्मेलनमा सहभागी अन्य पर्यावरणविज्ञ, आरोही र स्थानीय प्रतिनिधिहरूले हिमालय संरक्षणका लागि वैश्विक सहकार्य आवश्यक भएकामा एकमत जनाए ।

सम्मेलनमा नेपाल सरकार, स्थानीय निकाय, गैरसरकारी संस्था तथा विदेशी पर्वतारोहण समुदायबीच सहकार्य गर्नुपर्नेमा जोड दिइएको छ । थामेमा आयोजित सम्मेलन केवल हिमाली आरोहीहरूको जमघट मात्रै थिएन, यो जलवायु चेतना, हिमाली सङ्कट र समाधानको विमर्शको थलो बन्यो । सम्मेलनमा प्रस्तुत गरिएका तथ्याङ्कअनुसार सगरमाथा क्षेत्रको औसत तापक्रम हरेक दशकमा बढ्दै गएको छ । जसको प्रत्यक्ष असर हिमनदीमा परेको छ । राजकुमारी थानीको चेतावनी, अनुभव र भावनात्मक अपिलले सम्मेलनमा गहिरो प्रभाव पारेको थियो । उनको अन्तिम सन्देश थियो, ‘हिमाल हाम्रो शिर हो, हाम्रो आत्मा हो । यदि हिउँ हरायो भने हामीले पृथ्वीको भविष्य गुमाउँछौँ । सगरमाथा बचाउन हामी सबैको साझा दायित्व हो ।’

उक्त सम्मेलनको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश पनि सार्वजनिक गरिएको थियो । उनले सम्मेलनले सगरमाथा संवादको औपचारिक तयारीमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री ओलीले वातावरणीय सङ्कटबारे जागरुकता फैलाउन आवश्यक रहेको उल्लेख गरे । साथसाथै फाउन्डेसनले तिनै तहका सरकारसँगको समन्वयमा मङ्गलबार थामेमा आयोजना गरेको सम्मेलनलाई नेपाल सरकारले आगामी जेठ २ गतेदेखि आयोजना हुने सगरमाथा संवादको पूर्वकार्यक्रमका रूपमा अपनत्व लिएको छ ।

पहलगाम आक्रमणपछि भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सन्धि स्थगित

नयाँदिल्ली । भारतले पहलगाम आक्रमणपछि पाकिस्तानविरुद्ध कडा कदम चालेको छ । बुधबार बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् बैठकले पाकिस्तानसँगको सिन्धु जल सन्धि स्थगित गर्ने, भारतमा रहेका सबै पाकिस्तानी सैन्य सल्लाहकारहरूलाई एक हप्ता भित्र भारत छोड्न निर्देशन दिने र भारतले पनि आफ्ना सल्लाहकारहरूलाई फिर्ता बोलाउने निर्णय गरेका छ ।

त्यसैगरी बैठकले पाकिस्तानीहरूको भिसा रद्द गर्ने र अटारी सीमा चौकी बन्द गर्ने निर्णय गरेको छ । सरकारले बिहीबार सर्वदलीय बैठक बोलाएको छ। पहलगाम आक्रमणमा २६ जनाको मृत्यु भएको छ। तीमध्ये एक जना नेपाली नागरिक छन् ।

२० भन्दा बढी घाइते भएका छन्। अप्रिल २२ मा बैसरन उपत्यकामा ठूलो संख्यामा पर्यटकहरू उपस्थित भएको बेला आक्रमण गरिएको थियो । यसैबीच, सुरक्षा र गुप्तचर निकायहरूले पहलगाम आक्रमणका संदिग्ध आतंककारीहरूको स्केच जारी गरेका छन्।

उनीहरूको नाम आसिफ फौजी, सुलेमान शाह र अबु तल्हा दिइएको छ । गुप्तचर स्रोतहरूले आक्रमणको मास्टरमाइन्ड लश्कर–ए तैयबाका उपप्रमुख सैफुल्लाह खालिद रहेको बताएका छन् ।

पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा

काठमाडौं । पोखरा थण्डर्स नेपाल सुपर लिगको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा धनगढी एफसीलाई क्वालिफायर टु मा १–० ले पराजित गर्दै पोखरा थण्डर्स लिगको फाइनलमा पुगेको हो ।

पोखराका लागि जित दिलाउन स्टेफेन समिर विनोङले इन्जुरी टाइममा गोल गरेका थिए । पोखरा पहिलो पटक एनएसएलको फाइनल पुगेको हो । उपाधिका अब पोखराले शनिबार साविक विजेता ललितपुर सिटीसँग प्रतिस्पर्धा गर्नेछ ।

एलिमिनेटर खेलमा पोखराले चितवनलाई ३–० को फराकिलो गोलअन्तरले हराउँदै दोस्रो क्वालिफायर्समा स्थान बनाएको थियो।

रविन्द्र मिश्रलाई थप तीन दिन थुनामा राख्न अनुमति

काठमाडौं । चैत १५ गते काठमाडौंको तीनकुनेमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्क्ष रविन्द्र मिश्र, प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंलगायतलाई तीन दिनको म्याद थप भएको छ ।

जिल्ला अदालत काठमाडौंले बुधबार उनीहरूलाई थप तीन दिन हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

चैत १५ मा तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा दुई जनाको मृत्यु भएको थियो भने विभिन्न स्थानमा आगजनी र लुटपाट गरिएको थियो ।