`

जापानद्वारा अमेरिकासँग स्टिल शुल्कमा छुट माग

टोकियो । जापानले बुधबार अमेरिकासँग स्टिल र एलुमिनियम निर्यातमा राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको शुल्कबाट छुट पाउन अनुरोध गरेको टोकियोका शीर्ष सरकारी प्रवक्ताले बताएका छन् ।

ट्रम्पले मार्च १२ देखि स्टिल र एलुमिनियम आयातमा २५ प्रतिशत शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । यसले क्यानाडा, मेक्सिको र युरोपेली सङ्घ (इयु) लगायत अन्तर्राष्ट्रिय स्तरमा आक्रोशपूर्ण प्रतिक्रिया निम्त्याएको छ ।

“हामीलाई स्टिल र एलुमिनियममा थप शुल्क लगाउने राष्ट्रपतीय आदेश जारी भएको थाहा छ… हामीले अमेरिकी सरकारसँग हाम्रो देशलाई यी उपायहरूबाट बाहिर राख्न अनुरोध गरेका छौँ”, प्रवक्ता योशिमासा हायासीले पत्रकारहरूलाई भने ।

उनका अनुसार यो अनुरोध बुधबार बिहान अमेरिकास्थित जापानी दूतावासमार्फत गरिएको थियो ।

“जापानले यी उपायहरूको विषयवस्तु र हाम्रो देशमा पर्ने प्रभावको बारेमा सावधानीपूर्वक अध्ययन गर्नेछ र आवश्यक नीति अपनाउनेछ”, उनले भने ।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा अमेरिकी उत्पादकहरूलाई अनुचित प्रतिस्पर्धाको सामना गर्नबाट जोगाउन यस्तै शुल्क लगाएका थिए ।

तर उनका पूर्ववर्ती जो बाइडेनले जापानलाई छुट दिएका थिए । उक्त छुटले जापानलाई शुल्क नतिरी वार्षिक १२ लाख ५० हजार टन स्टिल अमेरिकामा निर्यात गर्न दिन्थ्यो ।

“ट्यारिफ कोटा भनिने उक्त छुटलाई ‘खारेज गरिनेछ”, व्यापार मन्त्रालयका एक अधिकारीले भने ।

ट्रम्पको पछिल्लो नीतिअनुसार स्टिलमा २५ प्रतिशत र एलुमिनियममा हालको १० प्रतिशतबाट २५ प्रतिशत कर लगाइनेछ । 

अन्तर्राष्ट्रिय म्याराथनको लागि गैरआवासीय नेपाली संघद्वारा ७ लाख ५० हजार सहयोग प्रदान

काठमाडौं । गैरआवासीय नेपाली संघ (अन्तर्राष्ट्रिय समन्वय परिषद्) द्वारा नेपाल भूतपूर्व खेलाडी मन्चको आयोजनामा हुने अन्तर्राष्ट्रिय म्याराथनको लागि ७ लाख ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ ।

पोखरा महानगरपालिका मेयर धनराज आचार्य र नेपाल भूतपूर्व खेलाडी मञ्चका अध्यक्ष डिलकाजी गुरूङलाई उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो ।

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका महिला सचिव राधिका गुरूड (टीका), आइसीसी सदस्य डिलरास गुरूड र सल्लाहकार सूर्य गुरूडलगायतको उपस्थितिमा उक्त रकम हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा महिला राधिका गुरूड (टीका) ले भनिन्, ‘हामी सबैको साझा उद्देश्य भनेको नेपाली खेलकुदको क्षेत्रमा योगदान पुर्याउनु हो, र यस कार्यक्रमलाई सफल बनाउन हामी प्रत्येकको प्रयास महत्वपूर्ण छ ।’

नेपाल भूतपूर्व खेलाडी मञ्चले आगामी १५ फागुनमा पोखरा अन्तर्राष्ट्रिय म्याराथन आयोजना गर्ने योजनामा रहेको छ, जसले पोखरा र नेपालको खेलकुदको प्रतिष्ठा विश्वभर फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

तमानखोलाको नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको

ढोरपाटन । बागलुङ जिल्लाको विकट तमानखोला गाउँपालिका–६ नर्जाखानीमा विद्युत् आपूर्ति नहुँदा सेवा प्रवाहमा समस्या भएको छ । नर्जाखोलाबाट सञ्चालनमा ल्याइएको लघु जलविद्युत्मा आयोजनाबाट पर्याप्त विद्युत् उत्पादन हुन नसक्दा वडा कार्यालयबाट प्रवाह हुने सेवा प्रभावित बनेको हो ।

हिउँदको समय खोलामा पानीको बहाव घट्ने हुँदा विद्युत् आपूर्ति हुन नसकेको हो । विद्युत् आपूर्ति नहुँदा वडा कार्यालयमा कम्प्युटर, प्रिन्टरदेखि आवश्यक सबै इलेक्ट्रोनिक सामान सञ्चालन गर्न समस्या भइरहेको भन्दै यसले सेवा प्रभाव प्रभावकारी हुन नसकेको तमानखोला–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।

कार्यालयको अधिकांश काम डिजिटल प्रविधिमार्फत गर्न सुरु गरे पनि विद्युत् आपूर्ति हुन नसक्दा हस्तलिखितबाट गर्नुपर्ने बाध्यता रहेको उनले गुनासो पोखे । वडाध्यक्ष छन्त्यालले भने, “विद्युत् नहुँदा कार्यालयको काम सबै ठप्प हुन्छ, गाउँमा रहेको टेलिकमको टावर पनि बन्द भएर फोनसमेत गर्न पाइँदैन, सेवाग्राही आउँछन्, प्रिन्ट गरेर प्रमाणपत्र दिनुपर्ने हुन्छ, घटनाहरू दर्ता गर्नुपर्ने हुन्छ, तर विद्युत् नहुँदा समयमा सेवा दिन गाह्रो हुँदै आएको छ ।”

यस वडामा नर्जाखानी, भित्रिवन र पात्ले गरी तीन वटा बस्ती छन् । तीनवटै बस्तीमा तीनवटै साना लघु जलविद्युत् छन् । हिउँदको समयमा खोलामा पानी कम हुँदा एउटा बत्तीसमेत बाल्न गाह्रो हुने गरेको स्थानीय बताउँछन् ।

नर्जाखानीमा ११ किलोवाटको बराहगोठ खोला लघु जलविद्युत् आयोजना, पात्लेमा तीन किलोवाट खालीखोला लघु जलविद्युत् आयोजना र भित्री वनमा छ किलोवाटको बराहथानखोला लघु जलविद्युत् आयोजना सञ्चालनमा छन् । यी सबै लघु जलविद्युत् आयोजनामा दिनभरि ट्याङ्कीमा पानी जम्मा गर्ने र बिहान बेलुका बत्ती मात्रै बाल्ने गरी व्यवस्थापन गरिएको आयोजना कार्यालयले जनाएका छन् ।

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले केन्द्रीय प्रसारण लाइन विस्तारका लागि विद्युत् प्राधिकरणसँग सहकार्य गरेर अहिले पोल र लाइन तान्ने काम सुरु भएको जानकारी दिए । उक्त वडामा दुई सय ५० घरधुरीका एक हजार पाँच सय जनसङ्ख्या रहेको भन्दै सहज रूपमा विद्युत् आपूर्ति नहुँदा स्थानीयलाई समस्या भइरहेको उनको भनाइ छ । 

एनआरएनएका अध्यक्ष केसी उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन

काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरेका छन् ।

उद्योग वाणिज्य प्रबद्र्धन सम्वाद परिषद् (गठन) आदेश, २०७५ बमोजिम पुस ५ मा भएको निर्णयानुसार अध्यक्ष केसीलाई उद्योग वाणिज्य प्रवद्र्धन सम्वाद परिषदको पदेन सदस्यमा मनोनयन गरिएको हो ।
अध्यक्ष केसीले मनोनयनको लागि प्रधानमन्त्रीप्रति धन्यवाद व्यक्त गरेका छन् ।

उनले भने, ‘गैरआवासीय नेपाली संघको अध्यक्षको हैसियतले मलाई उक्त समितिको सदस्य मनोनयन गरेकोमा प्रधानमन्त्रीज्यूसहित समस्त नेपाल सरकारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।ʼ

सार्वजनिक–निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पुर्याउन २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा परिषद् सञ्चालनमा आएको हो ।

परिषद्को सदस्यमा गैरआवासीय नेपाली संघ, नेपाल उद्योग वाणिज्य महासंघलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को पहिलो बैठक मंगलबार सम्पन्न भएको छ ।

बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरु, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरु, विकास निर्माणमा भएका प्रगतिहरु, स्टार्ट अप र व्यापार सहजीकरणका लागि गरिएका पहलबारे अवगत गराइएको थियो ।

बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।

अध्यक्ष डा केसीले परिषद्को बैठकमा मंगलबार आफ्नो सुझाव पेश गर्दै गैरआवासीय नेपालीहरुलाई लगानीका लागि आकर्षित तथा प्रोत्साहित गर्न संविधान प्रदत्त आर्थिक सामाजिक तथा सांस्कृतिक अधिकार कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

अब नेपालमै बसेर विश्वका राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिन्छः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् शहरीविकास मन्त्री प्रकाशमान सिंहले नेपालमा शिक्षा क्षेत्रमा पहिले भन्दै धेरै सुधार भएको बताएका छन् ।

बुधबार नेविसंघ पाटन संयुक्त क्याम्पस इकाइले आयोजना गरेको कार्यक्रममा उनले अहिले राम्रो विषय पढ्नका लागि नेपालमै सम्भव भएको भन्दै देशभित्रै बसेर पनि विश्वका उत्कृष्ट विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढ्न सकिने बताए ।

उनले आफू विद्यार्थी हुँदा अध्ययनका लागि सीमित विषय मात्र रहेपनि अहिले विद्यार्थीहरूका लागि विषय छनौटमा धेरै विकल्प रहेको पनि बताए ।

‘अहिले शिक्षाको गुणस्तरलाई लिएर प्रश्न गरिन्छ । अहिले तपाईंहरूसँग अध्ययनका लागि यति धेरै मल्टिपल च्वाइसहरू छन् । पहिले त त्यति थिएन,’ उपप्रधानमन्त्री सिंहले भने ।

उनले आफ्नो बेलामा राम्रो विद्यार्थी विज्ञान, त्यसपछि कमर्श र आर्टसको विकल्प नभएको स्मरण गर्दै भने, ‘अहिले संसारका राम्रा राम्रा विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम नेपालकै विश्वविद्यालयमा पढाइ हुने पाठ्यक्रम पढाइ भइरहेको छ ।’

उनले अहिले विद्यार्थीले देशभित्रै धेरै विषय रोजेर पढ्न सक्ने अवस्था बनेको बताउँदै प्राप्त अवसरको देशभित्रै बसेर सदुपयोग गर्नेतर्फ ध्यान दिन पनि सुझाव दिए ।

त्यस्तै उनले आफ्नो अगाडि आएको अवसरलाई अधिकतम उपयोग गरेर आफ्नो लक्ष्य हासिल गर्नेतर्फ ध्यान दिनुपर्नेमन पनि जोड दिए । नभएका कुरामा गुनासो मात्र गर्ने भन्दा भएका कुरालाई उपयोग गर्नुपर्नेमा उनको जोड थियो ।

किन भएन भनेर प्रश्न गर्न पाइने भन्दै उनले आफ्नो भविष्य निर्माणका लागि प्राप्त कुराहरूको अधिकतम सदुपयोग गर्नेतर्फ पनि सोच्न सुझाव दिए ।

उनले भने,‘भइरहेको कुरालाई त्यति महत्व नदिने तर नभएको कुरालाई यसो भएन, किन भएन भनेर मात्र भएन । मेरो भनाई के हो भने करियर बनाउने तपाईहरूको जुन लक्ष्य छ । त्यसलाई पूरा गर्न अध्ययन गरिरहनुभएको छ । यसलाई अधिकतम सदुपयोग गरेर मेहन गरेर आफ्नो करियर स्थापित गर्न लाग्नुहोस्‘ उनले भने ।

क्षतिग्रस्त बिपी राजमार्गको मर्मत सुरु

काठमाडौँ । बाढीबाट क्षतिग्रस्त बिपी राजमार्गको भकुण्डेबेँसीबाट नेपालथोकसम्मका विभिन्न खण्डमा सडक विभागको अगुवाइमा मर्मत थालिएको छ ।

विभागका अनुसार धेरै क्षति भएको राजमार्गको १३ किलोमिटर खण्डमा काम प्रारम्भ भएको हो । क्षतिग्रस्त १३ किलोमिटरमध्ये आठ दशमलव पाँच किलोमिटर सडक पुनःनिर्माण सुरु भएको हो ।

भक्तपुरस्थित सडक डिभिजन कार्यालयका प्रमुख सुमन योगेशले क्षतिग्रस्त १४ स्थानमा मर्मत थालिएको जानकारी दिँदै भने, ‘हाल हामीले बिपी राजमार्गलाई नै पहिलो प्राथमिकता दिएका छौँ, यो मार्गमा यातायात अवरुद्ध हुन नदिने लक्ष्य छ । आवश्यक परे राति पनि काम गर्छौ ।’

गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको टोलीले उक्त राजमार्गको स्थलगत निरीक्षण गरेको थियो । निरीक्षणका क्रममा मन्त्री दाहालले बाटो पुनर्निर्माण गर्न स्रोत अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सुनको मूल्य तोलामा दुई हजार सात सय रुपैयाँले घट्यो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । बुधबार सुन प्रतितोला दुई हजार ७०० रुपैयाँले घटेको हो ।

मङ्गलबार प्रतितोला सुन एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भएकामा बुधबार सोही परिमाणको सुनको मूल्य एक लाख ६७ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला १५ रुपैयाँले घटेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ३० रुपैयाँ निर्धारण गरिएको छ ।

पानीको निकास नहुँदा वीरगञ्जको दुई सय बिघा खेतीयोग्य जमिन डुबानमा

वीरगञ्ज (पर्सा)। वर्षातको पानीको निकास नहुँदा वीरगञ्ज महानगरका चार वडाको दुई सय बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परेको छ । वीरगञ्ज महानगरका वडा नम्बर १७, २४ र २६, २८ का दुई सय बिघा खेतीयोग्य जमिन डुबेको हो ।

वर्षायाममा जमेको पानीले अहिले पनि खेत भरिएका छन् । किसानले बाली लगाउन सकेका छैनन् । वीरगञ्ज महानगर– २६ का किसान भगीरथप्रसाद कुर्मीले विगत छ महिनादेखि खेतीयोग्य जमिन डुबानका कारण बाली लगाउन नपाएको दुखेसो पोखे ।

“वर्षात्देखि खेतीयोग्य जमिनमा पानी जमेको जम्यै छ, पानी जमेकै कारणले धान पनि काट्न परेन । हिउँदयाम सुरु भयो । डुबानले गहुँखेती गर्न पाएका छैनन्”, उनले भने।

किसान कुर्मीको १५ कट्ठा क्षेत्रफलको धान तथा अन्य बाली खेती गर्ने जमिन डुबानका कारण बेकामे भएको छ । “डुबानको समस्या लिएर धेरै निकाय धाइसक्यो । तर, हाम्रो समस्या भने जस्ताको तस्तै छ, कम्तीमा वर्षायामअगावै डुबान समस्या अन्त्य गरिदिए हुन्थ्यो”, उनले बताए।

उनको जस्तै समस्या वीरगञ्ज महानगर–२४ बहुअरीका किसान सुदामाकुमार द्विवेदीले पनि भोग्दै आएका छन् । वर्षायाममा परेको पानीको उचित निकास नहुँदा २१ कट्ठा खेतमा लगाएको धान काट्न नपाएको उनले गुनासो पोखे ।

“असारमा धान रोपेका थियौँ । एकमुठी धान पनि भित्र्याउन पाएनौँ, यस्तै अवस्था रहने होभने बालबच्चा र परिवार कसरी पाल्ने ?”, उनले चिन्ता व्यक्त गरे ।

पछिल्लो समय परवानीपुर–एकीकृत जाँचचौकी छ लेनको सडक, हुलाकी राजमार्ग, अलौँ अठराहा सडक, एकीकृत जाँचचौकी र सुक्खा बन्दरगाहलगायत संरचना निर्माण भएसँगै प्राकृतिक पानीको बहाव रोकिएपछि डुबानको समस्या भएको हो ।

विगतमा अलौँबाट पानीको निकास हुँदै आइरहेको थियो । तर, विभिन्न खालका पूर्वाधार संरचना निर्माण भएपछि प्राकृतिक रूपले पानीको बहाव रोकिएपछि किसानको खेत तथा घरमा डुबानको समस्या परेको हो ।

वीरगञ्ज महानगर–२४ बहुअरीका अनिल तिवारीले खेतीयोग्य जमिन मात्र नभएर चारवटै वडावासीको घरमा पानी जम्ने समस्या रहेको बताए । “चारवटै वडाका विभिन्न घर डुबानमा परेका छन्”, उनले भने, “तीन–चार फिट जमेको पानीमा हिँडेर घर जानुपर्ने समस्याबाट स्थानीय गुज्रिँदै आइरहेका छन् ।” महानगर–२६ मा २०, वडा नं २४ मा ३५ घर र वडा नं २५ मा एक दर्जनभन्दा बढी घर डुबानमा परेको बताइएको छ ।

वीरगञ्ज महानगर–२६ का कार्यवहाक वडाध्यक्ष प्रदीप पटेल सडकलगायत पूर्वाधार निर्माणले प्राकृतिक रूपमा पानीको निकास बन्द हुँदा डुबानको समस्या भएको बताए। “विगतमा यस्तो समस्या थिएन । वर्षात्को पानी असोज–कात्तिकसम्म सुकिसक्थ्यो, अहिले पानीको निकास नहुँदा कहिलेसम्म डुबानको समस्या रहने हो भन्ने शङ्का उत्पन्न भइरहेको छ”, उनले भने ।

वीरगञ्ज महानगरले गत कात्तिकमा खेतीयोग्य जमिनमा डुबानको समस्या देखिएपछि अलौँबाट शिवजी मिलसम्म तीन फिट गहिरो नाली खनेको थियो । तर, स्थानीयवासीले अस्थायी नाली पुरिदिएसँगै सो समस्या यथावत् नै रहेको बताए।

वीरगन्ज महानगरपालिकाका योजना शाखाका सबइन्जिनियर कुन्दन ठाकुरले भने, “गत कात्तिकमा डोजरले तीन फिटको नाली खनेर अस्थायी ढङ्गले पानीको निकास गर्ने प्रयास गरेका थियौँ । तर स्थानीयवासीको अवरोधको कारणले अहिले पानीको निकास हुन सकिरहेको छैन।”

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगञ्ज महानगरको विभिन्न चार वडामा देखिएको डुबानको समस्या समाधान गर्न तीन तहका सरकारसँग समन्वय भइरहेको जानकारी दिए।

“डुबान प्रभावित क्षेत्रमा स्थलगत अनुगमन गरिसकेका छौँ”, उनले भने, “सरोकार भएका निकायसँग समन्वय गरेर समस्याको गाँठो फुकाउने प्रयास जारी छ ।”

हमासविरुद्ध आक्रमण सुरु गर्ने इजरायलको तयारी

बीबीसी । इजरायलले शनिबारसम्म बन्धक रिहा नगरे हमासविरुद्ध आक्रमण सुरु गर्ने चेतावनी दिएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले शनिबार हमासले बन्दी मुक्त नगरे आक्रमण सुरु गर्ने चेतावनी दएिका हुन् । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको आरोप लगाउँदै बन्धक रिहा नगर्ने बताएपछि नेतन्याहुको यस्तो भनाई आएको हो ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि बन्धक रिहा गर्ने  हमासलाई शनिबारसम्मको समय दिएका छन् । उनले शनिबारसम्म बन्धक रिहा नगरे युद्धविराम अन्त्य हुने र त्यो हमासले सोचेभन्दा फरक हुने बताइसेका छन् ।

सन् २०२३ को अक्टोबर ७ मा इजरायलको भूमिमा घुसेर हमासले आक्रमण गरेपछि इजरायलले हमास नियन्त्रित गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो ।

यो युद्धको क्रममा ४६ हजार जनाको ज्यान गएपछि सन् २०२५ को जनवरी १५ मा युद्धविराम सम्झौता भएको थियो । सम्झौतापछि दुवै पक्षले बन्धक आदानप्रदान गरिरहेकोमा गत शनिबार हमासले बन्धक रिहा नगरेपछि फेरि युद्धको अवस्था उत्पन्न हुन लागेको हो ।

पाइलट बन्न छाडेर पर्यटन क्षेत्रमा रमाएका ‘सङ्घर्ष’

काठमाडौं । सङ्घर्ष विष्ट तीस वर्ष अघि पाइलट बन्नका लागि पढाइ गर्न अमेरिका पुगे । पाइलट बनेर देशको सेवा गर्ने उनको सपना थियो । तर, परिस्थितिले उनलाई पाइलट बन्ने भन्दा पनि अन्य क्षेत्रमा लागेर देशको सेवागर्ने अवस्थामा ल्यायो ।

पाइलट बन्ने सपना थाती राखेर विष्ट नेपाल फर्किए । अभिभावक (बुबा–आमा) को चाहना अनुसार विष्टले पाइलटको सपना छाडेर नेपालमा पुख्र्यौली पेसा (पर्यटन व्यवसाय) सम्हाले । उनी आज नेपालमा पर्यटन व्यवसायमा जम्नुभएको छ । सङ्घर्ष सफल पर्यटन व्यवसायीको रुपमा चिनिन्छन् ।

सङ्घर्षको पाइलट बन्ने सपना अब उनकी जेठी छोरी अर्नग्या विष्टले पुरा गर्दैछन् । केही दिनअघि छोरीलाई पाइलट पढ्न अमेरिका बिदा गर्नुभएका विष्टले आफ्नो विगत सम्झिएर निकै भावुक बने । उनले भने, “आजभन्दा ३० वर्षअघि म अमेरिकामा पाइलट तालिम गरिरहेको थिए, बिदामा बुबाआमाको औधी याद आयो । लगत्तै नेपाल फर्किए । त्यही बिचमा आमाबुबाले भने, तँ, पाइलट पढेपछि कता–कता जालास् ! तिमी हामीलाई चाहिन्छौ । यो व्यवसायलाई सम्हाल्नुपर्छ, अभिभावको चाहना अनुरुप विष्ट नेपाल फर्केर पर्यटन व्यवसायमा रमाए ।”

आफ्ना सन्तान चिकित्सक, पाइलट र इञ्जिनिर बनुन् भन्ने अभिभावको पहिलो चाहना हुन्छ । यो पेसा मात्रै नभएर समाजको प्रतिष्ठा पनि बनिरहेको छ । तर, विष्ट परिवारले प्रतिष्ठाभन्दा पनि पुख्र्यौली पेसालाई प्राथमिकता दिएर छोरालाई नेपालमै व्यवसायमा डोर्याउने निधो गरे । सङ्घर्षले अभिभावको चाहनालाई नकार्न सकेनन् । पेसा व्यवसायलाई निरन्तरता दिनुभयो । सङ्घर्षको सपना पाइलट बन्ने नै थियो । तर परिवार र देशप्रतिको मायाले उनी स्वदेश फर्किए ।

नामजस्तै सङघर्षको सङ्घर्षले व्यावसायिक सफलता प्राप्त गर्नुभएको छ । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन (रेबान) का केन्द्रीय अध्यक्ष समेत रहनुभएका विष्टको होटल तथा रेष्टुरेण्ट व्यवसायमा नेतृत्व लोभलाग्दो छ । “सङ्घर्षपछिको सफलताले जीवनलाई आनन्दित तुल्याउछ”, उनी भन्छन्, “आज म असाध्यै खुसी छु । किनकी नेपालमै बसेर केही भए पनि गर्नसकेको छु, मेरो ठूलो सपना छैन । यही देशमा केही गरु भन्ने हुटहुटी छ ।”

सङ्घर्ष स्वदेश फर्कनुमा एउटा गज्जबको संयोग छ । उनको परिवार कोटेश्वरमा बस्छ । परिवारका पाँच सन्तान (चार छोरा र एक छोरी) मध्ये सङ्घर्ष साइलो छोरा हुनुहुन्थो । “म अमेरिका उडेपछि बुबाआमाले सधैँ चित्त दुःखाएर कोटेश्वरमाथि उड्ने विमानलाई सोध्नुहुन्थ्यो रे ‘तैले मेरो छोरालाई अमेरिका लगिस कहिले फिर्तागर्छस्”, उनले भने, “त्यतिमात्रै हैन, दक्षिणकाली मातालाई प्रार्थना गरेर मेरो छोरो चाँडो फिर्ता गरिदिनुस् । फर्केपछि कालो बोको चढाउँछु भनेर भाकल गर्नुभएको रहेछ ।” पछि नेपाल फर्केर दक्षिणकालीमा भाकल पूरा गरेको विष्टले स्मरण गरे ।

“बुबाआमाको चाहना अनुसार पाइलट बन्ने सपना छाडेर यहाँ बसे । मेरो जीवनमा बन्ने इच्छा र सपना नै पाइलट थियो”, विष्टले भने, “मेरो सपना ब्रेकफास्ट नेपालमा, लन्च युरोपमा र डिनर अमेरिकामा गर्ने थियो । तर, बुबाआमाको सपनालाई पहिलो प्राथमिकता थिएर मेरो इच्छालाई त्यत्तिकै थाती राखे ।”

सपना रोकिएकामा केही समय विष्टमा छटपट्टी हुन्थ्यो । सन् २००३ मा बिबाह गरेको एक महिनामा उनी बुबाआमालाई युरोप घुम्न जान्छु भनेर अमेरिका पुगे । यसबारे उनले श्रीमतीलाई मात्रै जानकारी दिए । विष्टले अमेरिकामा प्याराग्लाइडिङको तालिम लिए । करिब नौ महिनाको तालिम सकेर उनी पहिलो प्याराग्लाइडिङको पहिलो लाइसेन्स होल्डर पनि बन्नुभयो । उनीअघि नारायण पराजुली र राजेश बम्जनले प्याराग्लाईडिङको तालिम लिएका थिए तर, लाइसेन्स भने लिएका थिएनन ।

विष्ट भन्छन् “केही हदसम्म मेरो पाइलट बन्ने सपना चाहिँ प्याराग्लाइडिङमा रमाएर सीमित राखे । तर, म गौरब गर्छु किन की नेपाल संसारकै सुन्दर देश हो । जातजाती, भाषाभाषी, सगरमाथा र बुद्धजन्भूमिमा बसेर थोरै भएपनि आत्मनिर्भर भएर पर्यटन व्यवसायलाई चलायमान बनाउन पाउँदा ज्यादै खुशी छु र नेपालमा बस्न पाएकोमा गौरब पनि गर्छु ।”

आफूलाई खुशी राख्न विष्टले निरन्तर मेहेनत र समाजसेवालाई निरन्तरता दिनुभएको छ । उहाँ दैनिक १२ देखि १४ घण्टा श्रम गर्छन् । विष्टको अनुभवमा जीवनमा प्राप्ति मात्रै हैन त्याग र समर्पणको आनन्द पनि बेल्लै छ । “आफ्नै देशमा बसेर केही युवालाई छोटो समय काम सिकाएर सक्षम व्यावसायिक वातावरण बनाउने र नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउन केही हदसम्म योगदान पुगेको छ । यसैबाट मलाई आनन्छ आउँछ”, उनले भने ।

विष्टको सफलतामा जीवनसाथी विश्व कीर्तिमानी नेपाली प्रतिष्ठा अमात्य (विष्ट) को दरिलो साथ छ । प्रतिष्ठा अमात्य सन् २००४ मा स्मरण शक्तिमा गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाउने पहिलो नेपाली हुन् । गीत गायन र रचनामा पनि पोख्त उनका विभिन्न एल्वम सार्वजनिक भएका छन् । अहिले उनी पर्यटन क्षेत्रमा सघाइरहेका छन् । सफल व्यवसायी विष्ट व्यवसायका अतिरिक्त खेलकुद र समाजसेवाको क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । विद्यालय तह देखिनै धावक रहेका विष्ट मार्सल आर्टमा ब्लाकबेल्ट हुनुुहुन्छ । साइक्लिङ सङ्घको पूर्वअध्यक्ष उनले प्याराग्लाइडिङ र स्वीमिङमा पनि विभिन्न रेकर्ड कायम गरेका छन् ।

संस्कृति प्रवर्द्धनमा ‘नेपाली चुल्हो’

लाजिम्पाटमा रहेको ‘नेपाली चुल्हो’ लोकप्रिय भोजन गृहको रुपमा स्थापित छ । पारिवारिक वातावरणमा स्तरीय खानाका परिकारको स्वाद चखाइरहेको नेपाली चुल्होले संस्कृति र पर्यटन प्रवर्द्धन गरिरहेको छ । नेपाली चुल्होका प्रबन्ध निर्देशक विष्ट विभिन्न परिकारको स्वाद ग्राहकमाझ पु¥याइरहेको बताउँछन् ।

“विभिन्न सांस्कृतिक प्रस्तुतिसहित खानाको साथमा नेपाली पर्यटन प्रवर्द्धन गरिरहेका छौँ”, उनले भने । नेपाली चुल्होमा विभिन्न जातजाति र वेषभूषा झल्कने सांस्कृतिक प्रस्तुतिसहित खानाका परिकार लिन सकिन्छ ।

यस्तै विष्टकै नेतृत्वमा रहेको ठमेलमा ३० वर्षदेखि स्थापित ‘नर्थफिल्ड क्याफे’मा भारतीय, अमेरिकन, म्याक्सिकन कन्टिनेन्टल खानाको मज्जा लिन पाइन्छ । ठमेलकै ‘लाबेला क्याफे’मा इटालियन कन्टिनेन्टल खाना पाइन्छ । नर्थफिल्ड पर्यटकको रोजाइमा पर्छ ।

पर्यटन व्यवसायी विष्ट सामाजिक कार्यमार्फत धेरैका लागि भरोसा र आशाका केन्द्र पनि बनेका छन् । उनीमार्फत अवसर पाएका देशका विभिन पेसामा उपलल्लो तहमा कार्यरत छन् । आफूले सहयोग गरेका व्यक्ति उपल्लो पदमा पुग्दा ज्यादै खुसी र आनन्द लाग्ने उनी बताउँछन् । नवौँ राष्ट्रिय खेलमा प्याराग्लाईडिङ प्रशिक्षकको जिम्मेवारी निभाएका विष्ट नेपाल साइक्लिङ एशोसिएशनका पूर्वउपाध्यक्ष हुन । चर्चित बुद्ध वाज बर्न इन नेपाल अभियानका संयोजक विष्ट टुर दी लुम्बिनीको उपाध्यक्ष र ठमेल पर्यटन विकास परिषदका पूर्वउपाध्यक्ष हुन ।

रेष्टुरेण्ट र बारमा गएर खाना खाने संस्कृति विकास भएको धेरै समय भएको छैन । विशेषगरी शहरी क्षेत्रमा रेष्टुरेण्ट तथा बारको व्यवसाय बढ्दो छ । रेष्टुरेण्ट तथा बारमा पुग्ने युवा जनशक्ति धेरै छ । बाह्य र अन्तरिक पर्यटकको भरमा रेष्टुरेण्ट एण्ड बार सञ्चालन भएका छन् । विष्टले रेष्टुरेण्ट एण्ड बारको व्यापार विस्तारको बिकल्प नेपालमा अब विदेशी पर्यटक भित्र्याउने र आन्तरिक पर्यटक प्रवर्द्धनको कार्यक्रम सञ्चालन गर्नु रहेको बताए ।

एलिनाको प्रशंसा गर्दै समीक्षाले भनिन्-बहिनीका रुपमा म सधैं तपाईंको साथमा रहिरहनेछु

काठमाडौं । गायिका समीक्षा अधिकारीले गायिका एलिना चौहानले आफूलाई हिम्मतवाली, सक्षम र साहसी साबित गरेको भन्दै प्रशंसा गरेकी छन् ।

एलिनाले पति विष्णु सापकोटासँग मङ्गलबार सम्बन्ध विच्छेद गरेपछि गायिका अधिकारीले सामाजिक संजालमार्फत एलिनाको प्रंशशा गरेकी हुन् ।

उनले भनेकी छन्, ‘दिदी एलिना, आफूलाई भन्दा बढी माया गरेको, सम्पूर्ण रूपले जीवन नै सुम्पिएको पतिबाट अलग हुनुपर्दाको अकल्पनीय चोट तपाईंले सहनुपरेको छ। जुन एउटी नारीले सर्वस्व गुमाएको क्षण हो। हिजो मलाई अन्यायका विरुद्ध डटेर सामना गर्न उत्प्रेरणा दिनुहुन्थ्यो, मलाई त्यतिबेलै तपाईं साँच्चै साहसी लाग्नुहुन्थ्यो । आज हिंसा र यातनाविरुद्ध जीवनको सारथीबाटै अलग हुने निर्णय गरेर फेरि आफूलाई हिम्मतवाली, सक्षम र साहसिक सावित गरिदिनुभएको छ। सलाम छ । बहिनीका रुपमा म सधै तपाईंको साथमा रहिरहनेछु।’

रूकुम पूर्वको भूमेमा आठ महिने नाबालकसहित दुईको हत्या, आरोपीको पनि भीरबाट लडेर मृत्यु

त्रिवेणी (रूकुम पश्चिम) । रूकुम पूर्वको भूमे गाउँपालिका–४ को साकिममा आठ महिने नाबालकसहित दुई जनाको हत्या भएको छ ।

मङ्गलबार दिउँसो ३ बजेको समयमा एकै घरका आठ महिनाका समीर बुढा र ६० वर्षीय ढाँटी बुढाको हत्या भएको हो । समीर र ढाँटी नाति र हजुरआमा हुन् । सोही ठाउँका ५१ वर्षीय चन्द्रसिंह पुनले उनीहरूको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वका प्रहरी नायब उपरीक्षक माधवराज खरेलले जानकारी दिए ।

खरेलका अनुसार दुवै जनाको खुकुरी प्रहार गरेर हत्या गरिएको छ । स्थानीयले घटनाको बारेमा जानकारी गराएपश्चात् प्रहरी घटनास्थलमा पुगेको थियो । घटनास्थल पुग्दा दुवै जना मृत अवस्थामा फेला परेको उनले जानकारी दिए । घटनामा संलग्न ५१ वर्षीय चन्द्रसिंह पुनको पनि मृत्यु भएको छ ।

हत्या गरेर भाग्ने क्रममा भीरबाट खसेर सोही वडाको खुलखुले खोलामा उनको शव फेला परेको उनले बताए । चन्द्रसिंहले भिरबाट हामफालेर आत्महत्या गरेको अनुमान गरिएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले जनाएको छ ।

सामाजिक सञ्जालसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गर्छौं : सञ्चारमन्त्री गुरूङ

काठमाडौं । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि संसद्बाट पास गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।

सङ्घीय संसदमा छलफलको क्रममा रहेको सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि अलोकतान्त्रिक समूहबाट केही विरोध आएको भए पनि वास्तवमा सामाजिक सद्भाव र सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जाल नियमनसम्बन्धी बन्न लागेको विधेक हितकर रहेको मन्त्री गुरूङले प्रष्ट पारे ।

सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्र्दभमा नेपाल दुरसञ्चार प्राविधिकरणद्वारा मंगलबार आयोजित राष्ट्रिय कार्यशालामा मन्त्री गुरूङले सामाजिक सञ्जालको दुरूपयोग गरी सद्भाव बिथोल्ने कार्य रोक्नुपर्नेमा जोड दिए । यसको लागि आवश्यक नियमन गर्न विधेयक जरूरी रहेको उनको तर्क छ ।

सामाजिक सञ्जाल नियमन गर्नु भनेको बन्द गर्नु र नियन्त्रण गर्नु नभएको प्रष्ट पार्दै मन्त्री गुरूङले सही तरिकाले सभ्य तरिकाले प्रयोग गर्न, सचेत गराउन खोजिएको बताए । संसदमा छलफलको क्रममा रहेको विधेयक जसरी पनि पास गर्ने सरकारको योजना रहेको उनले जानकारी दिए ।

“विधेयक ल्याउने कुरामा अनडेमोक्रेटिक फोर्सेसहरूले हङ्गामा चलाइरहेका छन्”, मन्त्री गुरूङले भने, “नियमन गर्ने भनेको फेसबुक हेर्नै नपाउने भनेर जनमानसमा गलत प्रचार गरिएको छ । जुन ठिक होइन ।” उनले अभिव्यक्ति स्वतन्त्रता मौलिक हक भए पनि कसैलाई गालिगलौच गर्ने अधिकार नरहेको बताए । सामाजिक सञ्जालमा देखिएका अव्यवस्थित अभिव्यक्तिलाई व्यवस्थापन गर्न विधेयक ल्याउनु परेको उनको भनाइ छ ।

मन्त्री गुरूङले आइटिमार्फत कसरी उद्योग फस्ट्याउन सक्छ भन्ने विषयमा मन्त्रालयले गृहकार्य गर्दैआएको बताए । एआइसम्बन्धी नीति, साइबर सुरक्षासम्बन्धी नीति ल्याउनुका साथै विगतका पुराना ऐन कानुन समय सापेक्ष परिमार्जन गर्ने कार्यमा मन्त्रालय लागेको उनले जानकारी दिए ।

ब्ल्याक बुल्स एफसी आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

पोखरा । पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा सिक्किमको क्लब थन्डरबोल्ट नर्थ युनाइटेडलाई हराउँदै ब्ल्याक बुल्स एफसी उज्वेकिस्तान सेमिफाइनल प्रवेश गरेको छ ।

मंगलबार पोखरा रंगशालामा भएको खेलमा ब्ल्याक बुल्सले थन्डरबोल्ट नर्थलाई ३–० गोल अन्तरले हरायो । ब्ल्याक बुल्सको जितका लागि इस्लोम्जन, सयदज्मोल र शाब्कात्जोनले १/१ गोलको योगदान दिए । खेलको ३८ औं मिनेटमा ब्ल्याक बुल्सले पहिलो गोल गर्दै खाता खोलेको थियो ।

टिमका लागि पहिलो गोल इस्लोम्जनले गरे । उनले साभकात्जोनले मिलाएको पासलाई सदुपयोग गर्दै पेनाल्टी बक्सको बायाँ भागबाट गोल गरे । त्यस्तै खेलको ७३ औं मिनेटमा सयदज्मोलले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका उनले आकर्षक गोल गर्दै अग्रता दोब्बर पारेका हुन् । उनले साभकातले दायाँ साइडबाट दिएको पासमा गोल गरेका हुन् ।त्यसको केहीबेर पछि नै शाब्कात्जोनले गोल गर्दै टिमलाई ३–० को सहज स्थितिमा ल्याए ।

उनले खेलको ७५ औं मिनेटमा डि बक्स बाहिरबाट हानेको प्रहार सिधै गोलमा परिणत भएको थियो । अब ब्ल्याक बुल्सले बिहीबार थ्रीस्टार सगँ खेल्ने छ । सेमिफाइनलअन्तर्गत बुधबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

मुलुकमा अब दुईथरी कानुनको आवश्यकता भयोः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मुलुकमा अब दुईथरी कानुनको आवश्यकता भएको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा शाहीले एउटा नेपालको र अर्को प्रधनमन्त्री केपी शर्मा ओलीको भनेर कानुन निर्माण गर्नुपर्ने बताएका छन् ।

उनले कानुनजस्तै सभामुख, प्रहरी, सरकारी वकिल र न्यायाधीश पनि एउटा ओली नेतृत्वको र अर्को देशको बनाउनुपर्ने बताए ।

उनले भने, ‘म अनुरोध गर्न चाहन्छु, कानुन दुई वटा बनाउनुस् अब। एउटा ओली सरकारको कानुन, ओली सरकारको ट्याग लाग्यो भने बलात्कार गरेपनि यो देशमा खुलमखुला हिँड्न पाइन्छ। अर्को नेपालको कानुन बनाऔँ । जो सर्वसाधारण जनतालाई लगेर थुन्न पाइन्छ। बोलेकै आधारमा कुट्न पाइन्छ। माननीय मन्त्री जस्तो पदमा बसेका अहिले मन्त्रीले आईजीपीको जिब्रो थुत्छु भन्दा मन्त्री पद भिराएर गल्ली गल्लीमा हिँडाइन्छ, यही हो विधिको शासन?’

पुराना दलले संसदीय अभ्यास बिर्सिएका सांसद झाको आरोप

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले पुराना दलले नै संसदीय अभ्यास बिर्सेको आरोप लगाएका छन् ।


प्रतिनिधिसभाको मंगलबारको बैठकमा दलगत रूपमा धारणा राख्ने क्रममा सांसद झाले संसद्लाई प्रभावकारी बनाउन नसक्नुमा सत्तारुढ दलकै कमजोरी रहेको बताएका हुन् ।


‘आज संसदमा नयाँ योजना, नीतिबारे छलफल होस् र आफ्ना विचार राख्न पाइयोस् भन्ने चाहना थियो तर पुराना दलहरूको शैलीका कारण संसद्कै प्रभावकारिता माथि प्रश्न छन्’, उनले भने, ‘सदनको आफ्नै विशिष्ट महत्व र गरिमा छ । यहाँ सङ्ख्या होइन सिद्धान्त महत्वपूर्ण हो । तपाईहरू हामीलाई सदनमा अराजक नहोउ भन्नुहुन्छ, हामी भएका छैनौँ । हामीले सदन अवरोध गरेका छैनौँ ।’


भ्रष्टाचार निवारण र सुशासन कायम गर्ने सवालमा नेपाल थप कमजोर हुँदै गएको पनि उनले बताए ।

रुग्ण उद्योग पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रुग्ण उद्योगहरू साझेदारीको ढाँचामा पुनः सञ्चालनका लागि ठोस प्रस्ताव ल्याउन निजी क्षेत्रलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा मंगलबार उद्योग–वाणिज्य प्रवर्द्धन संवाद परिषद्को बैठकमा प्रधानमन्त्री ओलीले सरकार र निजी क्षेत्रको साझेदारीको ढाँचामा जान सरकार तयार रहेकाले पुनः सञ्चालनका लागि ठोस प्रस्ताव भएमा यथाशीघ्र ल्याउन आग्रह गरेका हुन् ।

उनले मुलुकमा कानुनहरु सम्बन्धित क्षेत्रको सहजीकरण र आवश्यकताका लागि निर्माण र संशोधन गरिने जनाउँदै आर्थिक समृद्धिका लागि सरकार निजी क्षेत्रलाई के सहयोग गर्न आवश्यक पर्छ, त्यो गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री ओलीले भन्सार र राजस्वमा कुनै छली र अनियमिता पाइएका निर्ममताका साथ कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको पनि जानकारी गराए । उनले मुलुकमा पैसा भएर मात्रै विकास नहुने भएकाले पैसा आर्जनका लागि विकास गर्नुपर्ने सोचका साथ लाग्नुपर्नेमा जोड दिए ।

परिषद्का सदस्यहरूले सार्वजनिक–निजी साझेदारीमा सहलगानी तथा सहकार्य, सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग वृद्धि, व्यापार घाटा कम गर्ने, अध्यादेशहरूको कार्यान्वयन, निर्माण व्यवसाय र आयोजना छिटो सम्पन्न गर्ने विषयमा आफ्ना राय–सुझाव दिएका थिए ।

सार्वजनिक-निजी क्षेत्रबीच नियमित संवाद गरी आर्थिक विकासमा सहयोग पुर्‍याउन २०७५ असोज ५ गतेको मन्त्रिपरिषद्को निर्णयबमोजिम जारी भएको गठन आदेशका आधारमा उक्त परिषद् सञ्चालनमा आएको हो । परिषद्को सदस्यमा नेपाल उद्योग वाणिज्य महासंघलगायत राष्ट्रिय संस्था र व्यावसायिक प्रतिनिधिलाई प्रधानमन्त्रीले हालै मनोनयन गरेपछि परिषद्को बैठक भएको हो ।

बैठकमा सरकारका तर्फबाट भएका आर्थिक एवं प्रशासनिक सुधारका प्रयासहरू, अध्यादेशमार्फत २९ कानुनमा गरिएको संशोधन र त्यसका सकारात्मक प्रभावहरू, विकास निर्माणमा भएका प्रगतिहरू, स्टार्ट अप र व्यापार सहजीकरणको लागि गरिएका पहलबारे अवगत गराइएको थियो ।

बैठकले उत्पादन, पूर्वाधार, सामाजिक, व्यापार, निर्यात र शासकीय तथा प्रशासनिक गरी विभिन्न क्षेत्रमा परिषद्अन्तर्गतको समिति गठन गर्ने निर्णय गरेको छ । ती समितिले क्षेत्रगत समस्या र समाधानका विषयमा छलफल गरी परिषद्लाई सुझाव दिनेछन् ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डे, उद्योगमन्त्री दामोदर भण्डारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारी, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललगायत सहभागी थिए ।

‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले, नआत्तिनु, समय आउनेछ’

काठमाडौं । काठमाडौं महानरपालिकाका मेयर बालेन साहले घरेलु बाल श्रमिक राखेको आरोप लागेकी लुम्बिनी प्रदेश सभाकी सांसद रेखाकुमारी शर्मालाई मुद्दा नचलाई उन्मुक्ति दिन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार सामाजिक संजालमार्फत मेयर साहले सरकारले अहिले उन्मुक्ति दिएपनि त्यसको समय आउने बताएका हुन् ।

उनले लेखेका छन्, ‘सरी नानु, तिम्रा पीडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउनेछ । यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।’

एमालेकी प्रदेश सांसद शर्मालाई मुद्दा चलाउन नपर्ने राय सहित जिल्ला सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ताको कार्यालयमा फाइल पुर्याएको छ ।

सांसद शर्माको घरमा ६ वर्षदेखि काम गरिरहेकी एक नाबालिकाले आफूमाथि कुटपिट हुने गरेको बताएकी थिइन् । त्यसपछि काठमाडौं महानगरको टोलीले उनको उद्दार गरेको थियो ।

शक्तिशाली आयोग गठन गरेर भ्रष्टाचारको छानबिन गर्न जनार्दन शर्माको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले भ्रष्टाचारको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न माग गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा उपमहासचिव शर्माले शक्तिशाली आयोग गठन गरी भ्रष्टाचारको छानबिन गर्न माग गरेका हुन् ।

अहिले सदनमा एकले अर्कालाई दोषी करार गर्नुभन्दा पनि शक्तिशाली आयोग बनाएर सबै भ्रष्टाचारको छानबिन गर्न माग गरे । उनले क्यान्टोनमेन्टको होस् वा अरु कुनै कुराको सबैको छानबिन गर्न आग्रह गरे ।

उनले भने, ‘शक्तिशाली आयोग बनाऔं । कसले गरेको भन्ने कुरा त्यहाँ पुष्टि हुन्छ । यो गर्न किन आँट नगर्ने ? क्यान्टोनमेन्टको होस् वा अरु कुनै कुराको होस्, छानिबन गरेर अघि बढौं । छानबिनको लागि कसैले छेकेको छैन।’

उनले सरकारले अध्यादेश ल्याएर जनतामा आतंक मच्याएको आरोप लगाए । उनले विपक्षी दलहरुसँग छलफल नगरी अध्यादेश ल्याएकाले यसको विरोध भएको बताए ।

उनले भने, ‘अध्यादेश घाँटीमा अड्केको हड्डीजस्तै भएको छ। त्यसलाई निकाल्नुपर्यो। हाम्रा कुराहरू छँदैछन्। यहाँ छलफल गरौँला नि। राम्रोलाई राम्रो भनौंला, नराम्रोलाई नराम्रो भनौंला।’

मुख्यमन्त्री आचार्यद्वारा प्रादेशिक अस्पतालको भवन अनुगमन

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको अनुगमन गरेका छन् ।

मुख्यमन्त्री आचार्यले भवन अनुगमन गर्दै आज कामको प्रगतिबारे जानकारी लिए । “यो प्रदेशको गौरवको आयोजना हो । प्रदेशले यसलाई उच्च प्राथमिकतामा राखेको छ, यसले समग्र प्रदेशको विकासमा महत्वपूर्ण योगदान पुर्याउनेछ”, उनले भने, “कुनै पनि अवस्थामा काममा समस्या नआओस् ।”

प्रदेश सरकारले चालु आर्थिक वर्षमा सो भवन निर्माण गर्न एक अर्ब ८० करोड विनियोजन गरेको छ । अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले काम सन्तोषजनक देखिएको बताए । उनले यही आवमा २८ प्रतिशतसम्म काम सम्पन्न गर्ने जानकारी प्राप्त भएको बताए ।

प्रदेश पूर्वाधार विकास प्राधिकरणमार्फत छ अर्ब १८ करोड ७५ लाखमा भवन निर्माण थालिएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले भारतीय निर्माण कम्पनी क्याप साइट आशिष रेलिग्रेट भेन्चर र नेपाली कम्पनी आशिष रेलिगसनसँग गतवर्षको पुस २६ गते भवन निर्माणको ठेक्का सम्झौता गरेको थियो ।

निर्माण सुरु भएको पाँच महिनामा १३ प्रतिशत भौतिक प्रगति भएको प्रदेश पूर्वाधार विकास प्राधिकरणका ‘साइट इन्चार्ज इन्जिनियर’ शङ्कर सुवेदीले जानकारी दिए । सम्झौताअनुसार १२ तले सो भवन आगामी २०८५ सालको पुस मसान्तसम्ममा सम्पन्न गर्नुपर्ने छ । 

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा

काठमाडौँ । काठमाडौँमा फागुन पहिलो साता हुने चार देश सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको प्रारम्भिक‌ जानकारी दिएको हो ।

आगामी फागुन ५ देखि एन्फाको आयोजनामा दशरथ रंगशालामा नेपाल, म्यानमार, लेबनान र कीर्गिस्तान सम्मिलित महिला फुटबल प्रतियोगिता हुँदै छ । नेपालमा पहिलो पटक चार देशीय महिला फुटबल प्रतियोगिता हुन लागेको हो ।

प्रतियोगितामा सहभागी हुन कीर्गिस्तान फागुन १ गते तथा बाँकी‌ दुई टोली फागुन २ गते नेपाल आइपुग्ने छन् । टोलीहरूलाई एन्फा कम्प्लेक्स र नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा प्रशिक्षणको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको लागि ब्रोडकास्टिङ तथा टिकेटिङ र डिजिटल अधिकार ब्रान्ड लजिकलाई प्रदान गरिएको छ । १ करोड ३५ लाख टिकटिङ अधिकार तथा ६६ लाखमा ब्रोडकास्टिङ अधिकार बिक्री गरेको एन्फाले जनाएको छ ।

साधारणतर्फ १० हजार ५ सय टिकट मात्र बिक्री गरिने र ७ सय ५० वटा भीआईपी टिकट बिक्री गरिने एन्फाले जनाएको छ । टिकट मूल्य साधारणतर्फ ५ सय तथा भिआइपीतर्फ एक हजार रुपैयाँ तोकिएको छ ।

हट्यो सदनको अवरोध, असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत दलका सांसदले प्रतिनिधिसभाको बैठक विधि र प्रक्रियाअनुसार सञ्चालन गर्न माग गर्दै अवरोध गरेपछि स्थगन भएको बैठक केही बेरअघि पुनः सुरु भएको छ ।

सभामुख देवराज घिमिरेले समय व्यवस्थापनमा भएको असमझदारीका सन्दर्भमा आवश्यक अध्ययन गरेर निर्णय गरिने बताएपछि बैठक सुरु भएको हो ।

सत्तापक्षका सांसदलाई बोल्न दिइएको विषयमा विपक्षीको अवरोधपछि सभामुखले आवश्यक अध्ययन गरेर निष्कर्ष सुनाइने बताए ।

आकस्मिक र शून्य समयको कारबाही सकिएपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा रानामगरले कार्यसूचीमा प्रवेश नगरी सत्तापक्षका सांसद रामहरि खतिवडालाई बोल्न समय दिएकी थिइन् । त्यसको माओवादी केन्द्र र रास्वपाले विरोध गरेका हुन् ।

गायिका एलिना चौहानले गरिन् पतिसँग सम्बन्धविच्छेद

काठमाडौं । गायिका एलिना चौहानले श्रीमान् विष्णु सापकोटासँग सम्बन्धविच्छेद गरेकी छन् । एलिनाले सम्बन्धविच्छेदका लागि हालेको मुद्दामा जिल्ला अदालत काठमाडौंबाट मंगलबार निर्णय गरेको हो ।

एलिना र विष्णुबीच गत वैशाख ५ गते विवाह भएको थियो । विवाह भएको १० महिना नबित्दै उनीहरूको सम्बन्धविच्छेद हुन पुग्यो । सम्बन्धविच्छेदपछि उनले आजदेखि स्वतन्त्र भएर कानुनी रुपमै आ–आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको उल्लेख गरेकी छन् ।

उनले सामाजिक संजालमा यस्तो लेखेकी छन्ः

प्रिय विष्णु,

अग्निलाई साक्षी राखेर सात फेरा लगाउँदा गलेका खुट्टाहरू अझै उस्तै छन् । तिम्रो हातले रंगिएको मेरो सिउँदो अनि सिन्दुरका डोबहरू अझै उस्तै छन् । तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन् । हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ । वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ । तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होइन रहेछ । भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ । जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पूर्णविराम लागेको छ । यो रहरले होइन। जुन बाध्यता तिमी, मलाई र भगवानलाई मात्र थाहा छ । आजदेखि स्वतन्त्र भएर कानुनी रूपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ । पत्नीका रूपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेकी छु । तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना विष्णु । 

विश्व स्वास्थ्य सङ्गठनद्वारा बाल क्यान्सरको निःशुल्क औषधिको योजना सार्वजनिक

जेनेभा ।  विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जीवन दर बढाउने प्रयासमा मङ्गलबार निम्न र मध्यम आय भएका देशहरूमा बसोबास गर्ने हजारौँ बालबालिकाका लागि निःशुल्क क्यान्सर औषधि प्रदान गर्ने नयाँ प्लेटफर्म सुरु गरेको छ।

सङ्गठनका अनुसार पहिलो औषधिहरू मङ्गोलिया र उज्बेकिस्तानमा पुर्‍याइँदैछ र परियोजनाको पाइलट चरणका रूपमा इक्वेडर, जोर्डन, नेपाल र जाम्बियामा थप ढुवानीको योजना बनाइएको छ।

यी छ देशका कम्तीमा ३० वटा अस्पतालमा यस वर्ष क्यान्सर भएका करिब पाँच हजार बालबालिकासम्म उपचार पुग्ने अपेक्षा गरिएको छ।

“पाइलट चरणका देशहरूले गुणस्तर सुनिश्चित गरिएका बाल क्यान्सर औषधिहरूको निरन्तर आपूर्ति निःशुल्क प्राप्त गर्नेछन्”, संयुक्त राष्ट्र स्वास्थ्य निकायले विज्ञप्तिमा भनेको छ।

डब्लुएचओका अनुसार न्यून तथा मध्यम आय भएका देशहरूमा बाल क्यान्सर जीवित रहने दर प्रायः ३० प्रतिशतभन्दा कम छ भने उच्च आय भएका देशहरूमा यो करिब ८० प्रतिशत छ।

“धेरै लामो समयदेखि क्यान्सर भएका बालबालिकाहरूको जीवन बचाउने औषधिमा पहुँच थिएन”, डब्लुएचओ प्रमुख टेड्रोस अधानोम घेब्रेयेससले भन्नुभयो।

प्लेटफर्ममा सामेल हुन थप छ देशलाई आमन्त्रित गरिएको छ। यसबाट आगामी पाँचदेखि सात वर्षमा ५० देशमा पुग्ने आशा गर्दछ र करिब एक लाख २० हजार बालबालिकालाई औषधि उपलब्ध गराउने लक्ष्य राखिएको छ।

डब्लुएचओका अनुसार विश्वभर हरेक वर्ष अनुमानित चार लाख बालबालिकामा क्यान्सर विकसित हुन्छ। तीमध्ये अधिकांश सीमित स्रोत भएका वातावरणमा बस्छन्।

“यस्ता वातावरणका ७० प्रतिशत बालबालिका उपयुक्त उपचारको अभाव, उपचारमा अवरोध वा कम गुणस्तरको औषधि जस्ता कारणले क्यान्सरबाट मर्ने अनुमान गरिएको छ”, डब्लुएचओले भनेको छ।

डब्लुएचओले निःशुल्क प्रावधान पायलट चरणभन्दा पनि पछि जारी रहने र प्लेटफर्मले लामो समयसम्म यसको दिगोपन विकास गर्न काम गरिरहेको बताएको छ।

प्लेटफर्म स्थापना गर्ने योजना पहिलो पटक सन् २०२१ डिसेम्बरमा घोषणा गरिएको थियो। यो संयुक्त राज्य अमेरिकाको टेनेसीको मेम्फिसमा रहेको सेन्ट जुड चिल्ड्रेन्स रिसर्च हस्पिटल र डब्लुएचओ बीचको संयुक्त उद्यम हो।

गैर–नाफामूलक बाल चिकित्सा उपचार र अनुसन्धान संस्थाले यसको प्रक्षेपणका लागि २० करोड डलर प्रतिबद्ध गरेको डब्लुएचओले जनाएको छ।

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सबै स्टिल र एल्मुनियममा २५ प्रतिशत आयात कर लगाउने घोषणा गरेका छन्।

उनको यो घोषणाले विश्वका धेरै देश प्रभावित हुने र त्यसमध्ये पनि छिमेकी देश क्यानडा सबैभन्दा बढी प्रभावित हुने जनाइएको छ।

ट्रम्पले यसै हप्ता आयातमा कर लगाउने राष्ट्रहरूमाथि समान प्रतिशोधात्मक कर लागु गर्ने घोषणा गरिने बताएका छन्। तर उनले कुन देशहरूलाई लक्षित गरिनेछ वा कुन देशलाई छुट हुनेछ भन्ने विषय स्पष्ट गरेका छैनन्।

ट्रम्पले कर लगाउने घोषणा गर्दै भने, ‘यदि उनीहरूले हामीलाई कर लगाउँछन् भने हामी पनि उनीहरूलाई कर लगाउँछौँ,’ ट्रम्पले भने।

आइतबार फ्लोरिडामा हुने एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनले पत्रकारहरूलाई आफ्नो योजनाबारे बताएका थिए। क्यानडा र मेक्सिको अमेरिकाका दुई ठूला स्टिल व्यापार साझेदार हुन्, जसमा क्यानडा अमेरिकी बजारमा एल्मुनियम धातु आपूर्ति गर्ने सबैभन्दा ठूलो देश हो।

ट्रम्पले आफ्नो पहिलो कार्यकालमा क्यानडा, मेक्सिको र युरोपेली संघबाट आयात हुने स्टिलमा २५ प्रतिशत र एल्मुनियममा १० प्रतिशत कर लगाएका थिए। तर एक वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोबीच सम्झौता भई ती कर हटाइएका थिए, जबकी युरोपेली संघमाथिको कर २०२१ सम्म यथावत् रहेको थियो।

ट्रम्पले एक घोषणा गर्दै अब स्टिल र एल्मुनियममा सबैलाई कर लगाउने घोषणा गर्ने बताए। ‘अमेरिकामा आउने कुनै पनि स्टिलमा अब २५ प्रतिशत कर लाग्नेछ,’ उनले भने।

यसको प्रतिक्रियास्वरूप ओन्टारियो प्रान्तका सरकार प्रमुख डग फोर्डले ट्रम्पले ‘नियम परिवर्तन गर्दै निरन्तर अराजकता सिर्जना गरेको’ भन्दै यसले अर्थतन्त्रलाई जोखिममा पार्ने बताए। क्यानडाको स्टिल उत्पादन मुख्य रूपमा ओन्टारियोमै केन्द्रित छ।

ट्रम्पको यो आदेशपछि अमेरिका निर्यात हुने विश्वभरका स्टिल र गाडी कम्पनीहरुको सेयरमा पुनः एकपटक गिरावट आएको छ। ट्रम्पको अभिव्यक्तिपछि दक्षिण कोरियाली स्टिल र गाडी कम्पनीहरूको सेयरमा गिरावट आयो। दक्षिण कोरिया अमेरिकी बजारमा स्टिल आपूर्ति गर्ने प्रमुख निर्यातकर्तामध्ये एक हो।

त्यस्तै, अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आफ्नो सरकार अमेरिकासँग अस्ट्रेलियालाई कर छुट दिन आग्रह गर्ने बताएका छन्। ट्रम्पको पहिलो कार्यकालमा अस्ट्रेलियाले छुट पाएको भन्दै उनले दोस्रो कार्यकालमा पनि छुट हुने विश्वास व्यक्त गरे।

चिनियाँ कूटनीतिज्ञ तथा अर्थशास्त्री भिक्टर गाओले यो व्यापार युद्धका लागि अमेरिका नै जिम्मेवार रहेको आरोप लगाए। तर उनले अमेरिकी उपभोक्ताको सस्तो चिनियाँ सामानप्रतिको मागका कारण चीनलाई धेरै ठूलो असर नपर्ने धारणा व्यक्त गरे।

ट्रम्पको आर्थिक दृष्टिकोणमा कर (ट्यारिफ) प्रमुख भूमिका राख्दै आएको छ। उनले यसलाई अमेरिकी अर्थतन्त्र वृद्धिको माध्यम, रोजगारीको संरक्षण गर्ने उपाय र कर राजस्व बढाउने साधनका रूपमा व्याख्या गर्दै आएका छन्।

यस महिनाको सुरुमा ट्रम्पले क्यानडा र मेक्सिकोबाट आउने सामानमा २५ प्रतिशत आयात कर लगाउने चेतावनी दिएका थिए। तर दुवै देशका नेताहरूसँगको छलफलपछि उनले यो योजना ३० दिन (मार्चको सुरुआतसम्म) का लागि स्थगित गरे।

उनले अमेरिकामा आयात हुने सबै चिनियाँ सामानमा १० प्रतिशत नयाँ कर पनि लागू गरेका छन्। यसको प्रतिक्रियास्वरूप बेइजिङले पनि आफ्नै कर प्रणाली ल्याएको छ, जुन सोमबारबाट कार्यान्वयनमा आएको छ।

ट्रम्पले मंगलबार वा बुधबार थप प्रतिशोधात्मक करहरूको घोषणा गर्ने बताएका छन्, जसले घोषणा भएको लगभग तुरुन्तै प्रभाव पार्नेछ। ‘अमेरिकाको फाइदा उठाउनेहरूमाथि हामी समान रूपमा कर लगाउने छौँ,’ उनले भने।

न्यु ओरलिन्स यात्राका क्रममा ट्रम्पले ९ फेब्रुअरीलाई ‘गल्फ अफ अमेरिका दिवस’ को रूपमा घोषणा गर्ने आदेशमा हस्ताक्षर गरे। उनले मेक्सिको खाडीको नाम परिवर्तन गरेर ‘गल्फ अफ अमेरिका’ राख्ने निर्णयको सम्मानमा यो दिवस मनाउने बताए।

तर मेक्सिकोले अमेरिकाले एकतर्फी रूपमा खाडीको नाम परिवर्तन गर्न नसक्ने दाबी गरेको छ। संयुक्त राष्ट्रसंघका नियमअनुसार कुनै पनि देशको सार्वभौमिक क्षेत्र तटरेखाबाट केवल १२ नटिकल माइलसम्म मात्र मान्यता प्राप्त हुन्छ।

ट्रम्पले उक्त मौकामा फेरि एकपटक आफूले क्यानडा र गाजापट्टीलाई अमेरिकामा समाहित गर्ने चाहना व्यक्त गरेका थिए। ‘क्यानडाले अमेरिकाको ५१औँ राज्यको रूपमा अझ राम्रो प्रगति गर्नेछ।’

त्यस्तै, उनले गाजापट्टीबारे पनि भने, ‘म यसलाई किन्न र आफ्नो बनाउन प्रतिबद्ध छु।’

जब प्रतिनिधिसभा बैठकमा रामहरिले रविविरुद्ध बोले…

काठमाडौं । मंगलबार प्रतिनिधिसभाको बैठक राम्रैसँग चलिरहेको थियो । आकस्मिक र शून्य समय सकिएर विशेष समय सुरु हुन लाग्दै थियो नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले उठेर समय मागे ।

सभामुखको अध्यक्षता उपसभामुख इन्दिरा रानाले गरिरहेकी थिइन् । खतिवडाले हात उठाएपछि रानाले उनलाई बोल्न समय दिइन् । खतिवडाले रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री हुँदा नेपाल प्रहरीको दुरुपयोग गरेको भन्दै फेहरिस्त प्रस्तुत गर्न थाले । त्यसमा सुरुमा रास्वपाले आपत्ति जनायो । त्यसपछि माओवादीले पनि आपत्ति जनायो । त्यसपछि प्रतिनिधिसभा बैठक नै स्थगित गर्नुपर्ने अवस्था आयो । आखिर खतिवडो के बोलेका थिए त ?

खतिवडाले रवि गृहमन्त्री हुँदा एक नम्बरलाई नबनाएर १५ नम्बरलाई बढुवा गरेको बताए । उनले भने, ‘नेपाल प्रहरीलाई दुरुपयोग गरियो भन्ने कुरा सुन्नमा आयो । तर, हामीले को गृहमन्त्री हुँदा देखेका थियौँ– एक नम्बरलाई नबनाएर १५ नम्बरलाई प्रोमोसन गरेको । आईजीलाई समितिमा बोलाएर निर्दोष छ भनेर कानेखुसी गरेको पनि सुन्यौँ । कसले दुरुपयोग गर्यो ? हामीले हेर्नुपर्ने बेला भएको छ । प्रहरीमा हाइजम्प, लङजम्प गरियो । दुई ब्याच पछाडिकोलाई प्रोमोसन गरियो । त्यति मात्र होइन, प्रहरीमा ५२ दिन नपुगी सरुवा गरेर आफ्नो मान्छे लगियो, त्यसको जवाफ चाहियो ।’

त्यस्तै खतिवडाले बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात गरेको भन्दै रास्वपाप्रति कटाक्ष गरे । उनले भने, ‘बहस गर्ने वकिललाई झ्यामझ्याम गालामा हान्दै सडकमा घिस्याउने कामको सुरुवात भयो । अदालत मुद्दा चलिरहँदा बाहिर जिन्दावाद र मुर्दावाद भन्ने प्रचलन सुरु भयो । यो कसले गरेको सभामुख महोदय ?’

खतिवडाको भनाइप्रति रास्वपाका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए र उनको अभिव्यक्ति रेकर्डबाट हटाउन माग गरे । तर उपसभामुख रानाले अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइन् । यसपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले पनि नियमापत्ति जनाए ।

उनले संसद नियमावली अनुसार नचलेको भन्दै आपत्ति जनाए । त्यसपछि प्रतिपक्षी सांसदहरुले उठेर विरोध जनाइरहे । यसैबीचमा सभामुख देवराज घिमिरे आइपुगे र प्रतिपक्षी सांसदहरुलाई बस्न आग्रह गरे । प्रतिपक्षी सांसदले बोल्न माग गर्दा सभामुखले समय नदिएपछि उनीहरुले उभिएर विरोध गरिरहे । त्यसपछि बैकठ १५ मिनेटका लागि स्थगित भयो ।

नेप्सेमा सामान्य अंकको वृद्धि

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्से सामान्य बढेको छ । मंगलबार नेप्से ६.५४ अङ्कले बढेर २ हजार ६ सय ८३.८६ विन्दुमा पुगेको छ ।

आज बैंक, फाइनान्स, होटल, बीमा, माइक्रोफाइनान्स, अन्य र व्यापार बाहेक सबै समूहको शेयर बढेको छ । आज विकास बैंक समूहको शेयर २ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज सिकलेस हाइड्रोपावर, भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, रसुवागढी हाइड्रोपावर कम्पनी र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ । आज २९९ वटा कम्पनीका १ करोड ३९ लाख कित्ता शेयर ७ अर्ब २४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।

मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न सांसद शाहको माग

काठमाडौँ । प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा रास्वपाका सांसद असिम शाहले सरकारमा रहेका मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘सरकारले अहिलेसम्म सम्पत्ति विवरण सार्वजनिक गरेन। पारदर्शिताको नारा घन्काउनेहरू किन मौन छन् ? मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक नगर्ने सरकारबाट भ्रष्टाचारको फाइल खुल्ने आश गर्नु बेकार हो त ? तुरुन्त सम्पत्ति विवरण सार्वजनिक गरोस् ।’

स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई यथाशीघ्र न्याय प्रदान आग्रह

काठमाडौँ । नेपाली कांग्रेसका सांसद दीपक गिरीले आन्दोलनरत स्वर्गद्वारी गुठी पीडित किसानहरुलाई सरकारले यथाशीघ्र न्याय प्रदान गर्न अनुरोध गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समयमा बोल्दै उनले वास्तविक मोही किसानको पक्षमा भएको सहमतिअनुसार सरकारले यथाशीघ्र न्याय प्रदान गर्न आग्रह गरेका हुन्।

उनले भने, “स्वर्गद्वारी आस्थाको धरोहरका रुपमा रहेको छ । यसको संवर्द्धन र प्रवर्द्धनका लागि सरकारको चासो रहनुपर्छ ।” सरकारले आफूसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै केही समयदेखि स्वर्गद्वारी गुठी पीडितहरु आन्दोलनरत छन् । मोही किसानहरुलाई मोही पुर्जा प्राप्त भए पनि जमिन प्राप्त हुन नसकेकाले आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

“स्वर्गद्वारी आश्रमको दाङ देउखुरी र घोराही लगायतमा रहेको जग्गा यदि कुनै सङ्घसंस्थाले वा गैरमोही किसानका नाममा भोगचलन भइरहेको छभने त्यसको पनि राज्यले खोजतलास राज्यले गरोस्”, उनले भने ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का हितराज पाण्डेले सरकारले संसद्का समग्र क्रियाकलापमा अवहेलना गरेको र जनताको प्रतिनिधिको आवाज ठीक ढङ्गले सुन्न नचाहिरहेको बताए ।

उनले भने, “छलफल गर्ने भनिएको विषयसूची हटाइएको छ । पटक पटक सम्भावित कार्यक्रम हटाइएका छन् । संसद्ले सधैँ सरकारले जे भन्ने हो त्यही अनुसार गर्ने हो कि जनताका प्रतिनिधि भएको संस्थाले बनाएका विषयवस्तु सरकारले पनि पालना गर्ने ?”

नेकपा (एमाले)का मुख्य सचेतक महेश बर्तौलाले संसद्को नियमावलीमा नै सम्भावित सूचीमा तलमाथि हुन सक्ने भनिएकाले यसमा आपत्ति जनाउनुपर्ने कारण नरहेको धारणा राखे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका अनेरास्ववियुका नेतालाई नेपाल प्रहरीले अनुसन्धान नगर्ने तर अभद्र व्यवहार गरेको भनी आशिका तामाङलाई १५ दिनसम्म हतकडी लगाएर डुलाएको भनी प्रश्न गरे ।

उनले भने, “यो सदनमा नेपालका युवाहरु विदेश गए भनेर धेरै नेताहरु चिन्तित भएको सुन्छु । तर एउटा पक्षलाई संरक्षण गरेर दलीय विद्यार्थी सङ्गठनका विद्यार्थीलाई मात्रै यो देश सुरक्षित छ भनेर युवाहरुलाई ‘मेसेज’ दिएको हो त ? गृहमन्त्रीले आफैँले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको अनुहार हेरेर यो देशमा बसिदिनुपर्ने ?”

आकस्मिक समयमा सांसद गणेश पराजुली, सीता मिजार, सुशीला सिर्पाली ठकुरी र दिक्पालकुमार शाहीले समसामयिक विषयमा आफ्ना धारणाहरु प्रस्तुत गरेका थिए। 

प्रतिपक्षीको विरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने माग राख्दै प्रतिपक्षी दलका सांसदहरुले विरोध जनाएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा आकस्मिक समय र शून्य समयको प्रक्रिया पूरा भइसकेपछि सभामुखको आसनमा रहेकी उपसभामुख इन्दिरा राना मगरले नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न समय दिइन् । 

सांसद खतिवडाले अदालत परिसरमा कानुन व्यवसायी कुटिएकोलगायतका विषयमा आफ्नो धारणा राखे । सांसद खतिवडाले आफ्नो मन्तव्य राखेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले नियमापत्ति जनाए ।

उनले सत्तापक्षीय सांसदलाई कुन नियममा रहेर आकस्मिक र शून्य समय सकिएपछि बोल्न दिइयो भन्दै प्रश्न गरे । सभामुखको आसनमा रहेकी उपसभामुखले सांसद खतिवडाले आकस्मिक समयमा नै नाम टिपाउनु भएको भए पनि छुटेका कारणले बोल्न दिइएको बताइन् ।

नेकपा (माओवादी केन्द्र)लगायतका विपक्षी दलका सांसदले कुन विधि र प्रक्रियाका आधारमा सत्तापक्षीय सांसदलाई पटक पटक बोल्न दिइएको हो भन्दै प्रश्न उठाएपछि उपसभामुख रानाले यसमा के भएको हो अध्ययन गर्न सचिवालयलाई निर्देशन दिइसकिएको बताइन् । तर पनि विपक्षी दलका सांसदहरुले चित्त बुझाएनन् ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकलाई विधि र प्रक्रियाअनुसार चलाउनुपर्ने बताए । विपक्षी दलको लगातारको विरोधपछि सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको जानकारी गराए । 

भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने जसपा नेपालको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ । मंगलबार बसेको पार्टी संसदीय दलको बैठकले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको हो ।

अन्य ५ अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने बैठकले निर्णय गरेको सांसद प्रकाश अधिकारीले जानकारी दिए ।

जसपाले अध्यादेशबारे अध्ययन गर्न राजकिशोर यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो । कार्यदलले भूमिसम्बन्धी अध्यादेश स्वीकार्न नसक्ने उल्लेख गरेको थियो ।

सरकारले संसदको अपहेलना गरेको प्रमुख सचेतक पाण्डेको आरोप

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदको अपहेलना गरिरहेको बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा पाण्डेले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका हुन् ।

उनले भने, ‘समग्र क्रियाकलापमा सरकारले संसदलाई मिनीमाइज गरिरहेको छ । अपहेलना गरिरहेको छ । र सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन । आजको विषयसूचीमा नियमावलीको व्यवस्था अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं । त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो । तर आज सरकारले समय छैन । त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो । के सरकारले नियम पालना गर्नु पर्दैन् ?’

जनताका प्रतिनिधिले बनाएको विषयवस्तु सरकारले पनि पालना गर्नुपर्ने बताए ।

ड्युटीमा रहेका प्रहरीलाई कुट्ने विद्यार्थी नेतालाई अनुसन्धान गर्न नसक्नु दुःखदः सांसद खनाल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले नेपाल प्रहरीको सुरक्षा गर्न नसकेको भन्दै गृहमन्त्री रमेश लेखकको आलोचना गरेका छन् ।

मंगलबारको प्रतिनिधिसभाको बैठकमा सांसद खनालले ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई अनुसन्धान गर्ने पनि हिम्मत नगरेको भन्दै गृहमन्त्रीको आलोचना गरेका हुन् ।

उनले आफूले कमाण्ड गरेको प्रहरीकै सुरक्षा दिन नसक्ने गृहमन्त्रीले कुर्सीमा बस्नु अनैतिक हुने बताए । उनले भने, ‘ड्युटीमा रहेका प्रहरीलाई कुट्ने अस्कल क्याम्पसका नेतालाई पक्राउ गर्ने हिम्मत प्रहरीले गर्न सकेन । यो क्षेत्र मेरो हो । यो क्षेत्रको प्रतिनिधित्व गर्ने सांसदको रूपमा मलाई त्यहाँका धेरै विद्यार्थीहरूले मेसेज गर्नुभएको छ । उहाँहरुले क्याम्पसको कक्षा कोठामा सधैँ उहाँहरूको दादागिरी चल्थ्यो । तर, अब पुलिसले पनि आँट नगरेपछि कसरी क्याम्पसमा पढ्ने वातावरण होला र ? कृपया यसको बारे बोलिदिनु न ।’

उनले प्रहरी कुट्ने विद्यार्थी नेतालाई कारबाही नगरेर गलत सन्देश गएको बताए । उनले सदनमा युवाहरू देश छाडेर गए भनेर धेरै नेताहरूले चिन्ता व्यक्त गरे पनि व्यवहारमा दलीय आधारमा एउटा पक्षको विद्यार्थीहरूलाई मात्र देश सुरक्षित छ भनेर नेपाली युवाहरूलाई सन्देश दिइरहेको बताए ।

उनले भने, ‘दुई तिहाइको तपाईँहरूको बहुमत छ, गृहमन्त्रीले आफैंले कमान्ड गरेको प्रहरीको सुरक्षा दिन सक्दैन भने नेपाली युवा कसको युवाको देशमा किन बस्ने ? तपाईंहरूलाई भोट हाल्न मात्र बस्ने ?’

गत बिहीबार अनेरास्ववियुका स्थायी कमिटी सदस्य कमलराज जोशीसहितको समूहले काठमाडौंको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि कुटपिट गरेको थियो । यो घटनामा संलग्न रहेको आरोपमा अन्य पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी हुँदा जोशीलाई भने उन्मुक्ति दिइएको छ । जोशीलाई उन्मुक्ति दिइएको भन्दै सरकारको आलोचना भइरहेको छ ।

सुपारीको पातबाट बनेका थाल, बटुका युरोप निर्यात

२९ माघ, झापा । किसानको बारीमा खेर गइरहेको सुपारीको पातबाट बनेका थाल, बटुकालगायतका सामान युरोपको बजारसम्म बिक्री हुन थालेको छ । बजारमा माग बढेपछि झापामा सुपारीको पातका सामान बनाउन आधा दर्जन उद्योग स्थापना भएका छन् ।

तीमध्ये मेचीनगर–१३ मा सञ्चालनमा रहेको लिफ प्लस प्रालिले सुपारीको पातबाट निर्मित थाल, बटुका, चम्चा, दुना, पालालगायतका सामग्री जर्मनी, फिनल्यान्ड र अमेरिकामा निर्यात भइरहेको जनाएको छ । प्रालिका प्रबन्ध निर्देशक कोविदसिंह बानियाँले सुपारीको पातबाट बनेका सामान वातावरणमैत्री र रसायनमुक्त हुने भएकाले स्वदेशी सुपरमार्केटदेखि विदेशका पार्टी प्यालेस र रेस्टुरेन्टहरुमा लोकप्रिय बनेको बताए ।

आर्थिक वर्ष २०८०/८१ मा एक करोड ६० लाख रुपैयाँको सुपारीका थाल बटुकालगायतका सामान बिक्री भएको बताए । त्यसमा ६० प्रतिशत अर्थात् एक करोडका सामग्री युरोप र अमेरिका निर्यात भएको बताए ।

सुपारीको राजधानी मानिएको झापामा २०७४ सालमा नयाँ सोचका साथ अघि बढ्न चाहने युवा व्यवसायीको एउटा समूहले मेचीनगर–९ मा सुपारीको पातबाट घरायसी सामान उत्पादन गर्ने उद्योग ‘लिफ प्लस प्रालि’ स्थापना गरेको थियो ।

मकवानपुरका कोविदसिंह बानियाँ, दाङका स्वाभिमान आचार्य, झापाका हरि दाहालको संयुक्त लगानीमा एक करोड ५० लाख रुपैयाँ लगानीमा स्थापना भएको उद्योगमा हालसम्म चार करोड रुपैयाँ लगानी भइसकेको छ । दुई वर्षअघि आगलागी भएर ठूलो क्षति भएपछि उद्योगलाई मेचीनगर–९ बाट १३ मा स्थानान्तरण गरिएको छ ।

आगलागीबाट पुरानो मेसिन काम नलाग्ने बनेपछि भारतबाट नयाँ मेसिन ल्याइएको बानियाँले बताए । ‘सालको पातबाट जस्तै सुपारीको पातबाट दुना टपरी बनाउन सकिन्छ भन्ने लागेर यसको व्यावसायिक उत्पादन गर्ने योजना बनायौँ,’ उद्योगका संस्थापकमध्येका बानियाँले भने, ‘सुरुमा स्थानीय बजारमा यसलाई चिनाउन केही समय लाग्यो । पछि विदेशमा बजार प्रवद्र्धन गर्दै युरोपर अमेरिकाको बजारसम्म यसलाई पुर्याउन सफल भएका छौँ ।’

माइक्रोवेभमा तताउन मिल्ने, रेफ्रिजेरेटरमा चिस्याउन मिल्ने, वातावरणमैत्री, नचुहिने र प्राकृतिक रुपमै विसर्जन गर्न सकिने विशेषताका कारण विदेशी बजारमा नेपालमा निर्मित सुपारीको थाल, बटुकालगायतका सामान छिट्टै लोकप्रिय बनेको उनको भनाइ छ ।

सुरिलो बोटको टुप्पामा झुप्प भएर सुपारीका पात हुर्किने गर्छन् । सुपारी खेतीको भुइँमा किसानहरुले अन्य बाली लगाउने गर्छन् । ठूलो आकारका पात खेतीमा झरेर बाली नोक्सान नहोस् भनेर विगतमा किसानहरु यसलाई खेताला लगाएर बारीबाट हटाउने गर्थे ।

तर अहिले बोटबाट आफैँ झरेका पात बिक्री भएपछि किसानहरुले अतिरिक्त आम्दानी पाउन थालेका छन् । एउटा पात ४ रुपैयाँका दरले बिक्री हुने गरेको छ ।

झापामा दुई हजार ६०० हेक्टरभन्दा बढी क्षेत्रफलमा ३५ लाख वटा सुपारीका बोट रहेको छ । एउटा बोटबाट बर्सेनि पाँचदेखि आठवटा पात छिप्पिएर खस्ने गर्छन् । यस हिसाबबाट बर्सेनि दुई करोड ५० लाखभन्दा बढी पात खेर गइरहेको छ । उद्योगहरुले त्यही खेर जान लागेको पातलाई उपयोग गरेर सामान उत्पादन गर्दछन् । यसबाट सुपारी किसानले फलबाहेक पातको मूल्य पाउने अवस्था सिर्जना भएको छ ।

स्वदेशभित्र मठमन्दिरमा हुने पूजा, विवाह, व्रतबन्ध र सार्वजनिक समारोहको भोजभतेरमा सुपारीको पातबाट बनेका सामान प्रयोग हुने गरेको छ । भाटभटेनी, सेल्सबेरी, होटल सोल्टीलगायतका राजधानीका ठूला होटल र रेस्टुरेन्टमा यी सामग्री प्रयोग हुँदै आएको उद्योगका सञ्चालक बानियाँ बताउँछन् ।

झापाको बाहुनडाँगी, शान्तिनगर र बुधबारेबाट सुपारीका पात सङ्कलन हुँदै आएको उद्योगले जनाएको छ । ती क्षेत्रका अरू उद्योगबाट उत्पादित सामान उद्योगले किनिदिने गरेको छ । लिफ प्लस प्रालिमा १९ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

मेसिन सञ्चालन र पात सङ्कलनमा रोजगारी पाउने अधिकांश महिला श्रमिक छन् । उद्योगमा जडान गरिएको सातवटा मेसिनले दैनिक १२ हजार वटा थाल, बटुकालगायतका सामान उत्पादन गर्दै आएको छ ।

अर्जुनधारा नगरपालिका–२ मा इनर्जी क्रप्स नाम उद्योगले पनि सुपारीको पातबाट दुना टपरीलगायतका सामान उत्पादन गर्दै आएको छ । सञ्चालक दीपक ढुंगानाले सञ्चालकहरु आफैँ सुपारीको पात खोज्न किसानका बगानमा पुग्ने र भने उत्पादित सामान बिक्रीका लागि आफैँ खटिने बताए ।

सुपारीको सुकेका पातलाई सङ्कलन गरेर सजिलैसँग उद्योगको कच्चापदार्थ बनाउने गरिएको छ । सुरुमा पातलाई सरसफाइ गरिन्छ र सफा पानीमा धुने काम हुन्छ । धोइसकेपछि चिसोपना हटाउन घाममा सुकाइन्छ । त्यसपछि मात्र कम्प्रेसर मेसिनमा राखेर दुना टपरीको आकार दिइन्छ ।

प्लास्टिकबाट बनेका थाल बटुकाको विकल्पका रुपमा सुपारीका पातबाट बनेका थाल, बटुकाहरु प्रयोग गर्न सकिने उल्लेख गर्दै उद्योगी ढुङ्गानाले ठूलो आकारको सुपारीको एउटा पातबाट पाँच वटासम्म थाल बनाउन सकिने बताए ।

मेचीनगर–४ बाहुनडाँगीका राजेन्द्र मिश्र सुपारीखेतीबाट धानखेतीको तुलनामा दशौँ गुणा बढी आम्दानी हुने बताउँछन् । अढाई बिगाहामा सुपारीखेती गरेका उनले सुपारीको फलबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी भइरहेको बताए ।

सुपारीको बिरुवा रोपेको ६ वर्षपछि दाना फल्न थाल्छ । तर फल फल्नुभन्दा अघि नै यसको बोटले पातमार्फत आम्दानी दिन सुरु गर्छ । सुपारी बगानभित्र तोरी, फिलुङ्गे, आलस, पान, मरिच, कागती, निम्बु, बेसार, अदुवा आदिको खेती सँगसँगै गर्न सकिन्छ ।

मेचीनगर–६ मा याम निरौलाले मल्टी प्रोडक्सन कम्पनी प्रालि स्थापना गरेर बाहुनडाँगी क्षेत्रका सुपारीको पात संकलन गरेर थाल, बटुका, चम्चा आदि सामान उत्पादन गर्दै आएका छन् । स्थानीय क्षेत्रमै आफ्ना सामान बिक्री हुने गरेको जनाउँदै उनले वातावरणीय स्वच्छताका लागि प्लास्टिकका थाल बटुका निषेध गरेर सुपारीका पातको सामान प्रयोग बढाउन स्थानीय तहका सरकारहरुको भूमिका हुनुपर्ने बताए ।

यही माघमा विर्तामोडमा सञ्चालित अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा विक्री कक्ष राख्दा मुलुक बाहिरका अवलोकनकर्ताले समेत सुपारीका पातको सामानबारे निकै चासो राखेको उनले जानकारी दिए ।

‘बिक्री भएन भने घाटा व्यहोर्नुपर्ने हुन्छ भनेर उद्योगहरुले थोरै मात्रामा सामान उत्पादन गर्छन्,’ उनी भन्छन्, ‘बजार प्रवद्र्धनमा सरकारले सघाइदिने हो भने झापामा सुपारीको पातबाट चल्ने उद्योगबाटै हजारौँले रोजगारी र जीविकोपार्जन गर्नसक्ने सम्भावना छ ।’

मेचीनगर, बुद्धशान्ति र अर्जुनधारामा सुपारीको पातबाट उत्पादन हुने दुना–टपरी उद्योग सञ्चालनमा रहेकाले उद्योगले किसानको घरमा पुगेर सुपारीको पात किनेर लैजाने गरेको सुपारी जोनका पूर्वअध्यक्ष नीलकण्ठ तिवारीले बताए ।

जंगली हात्तीको उपद्रो बढी भएको बाहुनडाँगी क्षेत्रका किसानले हात्तीले नखाने बालीका रूपमा सुपारीखेती गर्दै आएको उनी बताउँछन् । ‘सुपारीखेती र यसको पातबाट बनेका सामानको बजारीकणमा सरकारले सघाउनुपर्छ,’ तिवारी भन्छन्, ‘तेस्रो मुलुकबाट आयातित सुपारीका कारण स्थानीय उत्पादनले बजार नपाइरहेको अवस्था छ । सुपारीको खेती गर्ने किसान, दाना प्रशोधन गर्ने र पातबाट सामान बनाउने उद्योगीहरुलाई प्रोत्साहित गर्नसके मुलुककै अर्थतन्त्रमा ठूलो टेवा पुग्ने निश्चित छ ।’

सुपारीको पातबाट बनेका सामानको विश्व बजारमा भारतीयले ९० प्रतिशत प्रभुत्व जमाएको र सुपारीको पातबाट बनेका सामान निर्यात हुँदा भारतको सरकारले त्यहाँका उद्योगीलाई नौ प्रतिशत प्रोत्साहन अनुदान प्रदान गर्दै आएको लिफ प्लस प्रालिका सञ्चालक बानियाँले बताए ।

सुपारीको पातबाट बनेका सामान विदेश निर्यात गर्ने मुलुककै पहिलो उद्योग भए तापनि राज्यबाट प्रोत्साहन नपाएको उनको गुनासो छ । उत्पादित सामान मानव उपभोगयोग्य रहेको भनेर भारतीय प्रयोगशालामा प्रमाणीकरण गर्नुपर्ने बाध्यता रहेको बानियाँले बताए ।

‘स्वदेश र विदेशको बजारमा माग भए जति आपूर्ति गर्न सकिरहेका छैनौँ,’ उनले भने, ‘बजारको कुनै चिन्ता छैन । बरु, वातावरणमैत्री सामान उत्पादन गरेर विदेश निर्यात गरिरहँदा राज्यबाट कुनै प्रोत्साहन पाएका छैनौँ भन्नु पर्दा दुःख लाग्छ ।’

युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ : ट्रम्प

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स यस हप्ताको अन्त्यमा युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसँग भेट्ने तयारीमा रहेका बेला युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’ भन्ने विचार व्यक्त गरेका छन् ।

रुससँगको करिब तीन वर्ष लामो युद्धको अन्त्यका लागि दबाब दिँदै ट्रम्पले सोमबार प्रसारण गरिएको प्रसारणकर्ता फक्स न्युजसँगको अन्तर्वार्तामा द्वन्द्वका बारेमा छलफल गरे ।

“उनीहरूले सम्झौता गर्न सक्छन्, उनीहरूले सम्झौता नगर्न पनि सक्छन् । उनीहरू कुनै दिन रुसी हुन सक्छन् वा नहुन पनि सक्छन्”, उनले भने ।

किएभको प्राकृतिक स्रोतहरू जस्ता दुर्लभ खनिजहरूका लागि व्यापारको सुझाव दिँदै उनले युक्रेनलाई दिइएको अमेरिकी सहयोगमा लगानी फिर्ताको कुरामा जोड दिए ।

“हामीसँग यो सबै पैसा त्यहाँ हुनेछ र म भन्छु कि मलाई यो फिर्ता चाहिन्छ, र मैले उनीहरूलाई मलाई पाँच खर्ब डलर मूल्यको दुर्लभ खनिजको बराबर चाहिन्छ भनेँ”, ट्रम्पले भने “र उनीहरूले अनिवार्य रूपमा त्यसो गर्न सहमति जनाएका छन्, त्यसैले कम्तीमा हामीले मूर्ख भएको महसुस गर्दैनौँ ।”

ट्रम्पले सोमबार पनि चाँडै युक्रेनमा आफ्ना विशेष दूत किथ केलोगलाई पठाउने पुष्टि गरे । केलोगलाई लडाइँ रोक्नका लागि प्रस्ताव तयार गर्ने काम दिइएको छ ।

ट्रम्पले द्वन्द्वको छिटो अन्त्यका लागि दबाब दिइरहेका छन भने जेलेन्स्कीले रुससँगको कुनै पनि सम्झौताको हिस्साका रूपमा वासिङ्टनबाट कडा सुरक्षा ग्यारेन्टीको माग गरिरहेका छन् ।

नाटो सदस्यता वा शान्तिरक्षा सेनाको तैनाती जस्ता कडा सैन्य प्रतिबद्धताहरू समावेश नगर्ने कुनै पनि सम्झौताले क्रेमलिनलाई पुनः समूहबद्ध हुन र नयाँ आक्रमणका लागि पुनः हतियार बनाउन अनुमति दिनेछ भन्ने डर किएभलाई छ ।

जेलेन्स्कीका प्रवक्ता सेर्गी निकिफोरोभले युक्रेनी राष्ट्रपतिले यस शुक्रबार म्युनिख सुरक्षा सम्मेलनको ‘साइडलाइन’ मा भान्ससँग भेट्ने बताए ।

जेलेन्स्कीको कार्यालयका एक स्रोतका अनुसार केलोग फेब्रुअरी २० मा युक्रेन आइपुग्नेछन तर देशको कुन भागमा उनले भ्रमण गर्नुहुनेछ भन्ने विवरण दिइएको छैन । उनको भ्रमण फेब्रुअरी २४ मा रुसी आक्रमणको तीन वर्षे वार्षिकीको केही दिनअघि हुनेछ ।

जेलेन्स्कीले सोमबार युक्रेनका लागि ‘वास्तविक शान्ति र प्रभावकारी सुरक्षा ग्यारेन्टी’ को आह्वान गरे ।

“जनताको सुरक्षा, हाम्रो राज्यको सुरक्षा, आर्थिक सम्बन्धको सुरक्षा र निस्सन्देह, हाम्रो स्रोतको दिगोपन स् युक्रेनका लागि मात्र होइन, सम्पूर्ण स्वतन्त्र विश्वका लागि”, जेलेन्स्कीले सामाजिक सञ्जालमा प्रकाशित एक भिडियो सम्बोधनमा भने, “यी सबैबारे अहिले निर्णय भइरहेको छ ।”

राष्ट्रपतिद्वारा वलीलाई लाओको राजदूत नियुक्त

काठमाडौं । थाइल्याण्डका लागि नेपालको आवासीय राजदूत धनबहादुर वलीलाई लाओको पनि जिम्मेवारी दिइएको छ । संविधानको धारा २८२ को उपधारा (१) बमोजिम वलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले लाओको पनि जिम्मेवारी दिएका हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार उनलाई राजदूत नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको पालना गर्दै संयुक्त राज्य अमेरिकाभित्र यसको नक्सा प्लेटफर्म प्रयोग गर्नेहरूका लागि ‘गल्फ अफ मेक्सिको’ को नाम ‘गल्फ अफ अमेरिका’ मा परिवर्तन गरेको छ ।

संयुक्त राज्य अमेरिका बाहिरका प्रयोगकर्ताहरूले अन्य विवादित स्थानहरूको जस्तै ‘गल्फ अफ मेक्सिको’ को मौलिक र नयाँ दुवै नाम देख्नसक्ने गुगलले एक ब्लग पोस्टमा लेखेको छ ।

‘अमेरिकामा नक्सा प्रयोग गर्ने मानिसहरूले ‘गल्फ अफ अमेरिका’ देख्नेछन् र मेक्सिकोका मानिसहरूले ‘गल्फ अफ मेक्सिको’ देख्नेछन् । अरू सबैले दुवै नाम देख्नेछन्’, गुगलले लेखेको छ ।

गुगलले भौगोलिक नाम सूचना प्रणालीमार्फत आधिकारिक अमेरिकी सरकारी भौगोलिक पदनामहरूको पालना गर्ने आफ्नो नीतिसँग यो परिवर्तन मेल खाने बताएको छ ।

पद सम्हालेपछि ट्रम्पले ‘गल्फ अफ मेक्सिको’ को नाम परिवर्तन गर्ने मात्र नभई अमेरिकाको सबैभन्दा अग्लो शिखर डेनालीको नाम पूर्ववत् माउन्ट म्याकिन्ले गर्ने कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका थिए ।

सन् २०१५ मा तत्कालीन राष्ट्रपति बाराक ओबामाले अलास्का पर्वतलाई डेनालीको रूपमा आधिकारिक मान्यता दिएका थिए । यो नाम अलास्काका आदिवासीहरूले शताब्दीयौँदेखि प्रयोग गर्दै आएका थिए ।

ट्रम्पको पुनःनामकरणले डेनाली नाम कायम राख्न लामो समयदेखि वकालत गर्दै आएका अलास्काका आदिवासी समूहहरूको आलोचना र मेक्सिकोसँग कूटनीतिक चिन्ता उब्जाएको छ ।

मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सन् १८४८ मा संयुक्त राज्य अमेरिकाले आफ्नो देशको एक तिहाइ भाग कब्जा गर्नुभन्दा पहिलेको नक्सातिर औँल्याउँदै संयुक्त राज्यलाई ‘मेक्सिकन अमेरिका’ भन्न सुझाव दिएका छन् ।

भ्रष्टाचार हुने देशको सूचीमा नेपाल ३४ अंकसहित १०७ औं स्थानमा

 काठमाडौं । नेपाल भ्रष्टाचारको सूचकांकमा एक स्थान खस्किएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार विश्वव्यापी रुपमा सार्वजनिक गरेको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल एक स्थान खस्किएको छ ।

गतवर्ष नेपाल ३५ अंक सहित १०८ औं स्थानमा थियो भने यसवर्ष ३४ अंकसहित १०७ औं स्थानमा झरेको छ । यस नतिजाले भ्रष्टाचारविरुद्ध नेपालमा प्रभावकारी रूपले काम कारबाही अगाडि बढाउन आवश्यक देखिएको ट्रान्सपरेन्सीले औँल्याएको छ ।

डेनमार्क विश्वकै कम भ्रष्टाचार हुने देशमा परेको छ । डेनमार्कले कुल १०० मध्ये ९० अंक प्राप्त गरेको छ । ५० भन्दा कम अंक पाउनेहरु भ्रष्टाचारले व्याप्त मुलुककै सूचीमा पर्छन् ।

साउथ सुडान विश्वकै भ्रष्टाचार हुने देशको एक नम्बरमा परेको छ । कुल १०० अंकमा साउथ सुडानले जम्मा ८ अंक प्राप्त गरेको छ । ट्रान्सपरेन्सीका अनुसार सूचकांकमा १०० अंकले अति स्वच्छ र शून्य अंकले अतिभ्रष्ट भन्ने जनाउँछ ।

सुनको मूल्य बढ्दा चाँदीको घट्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

सोमबार प्रतितोला एक लाख ६९ हजार छ सयमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७० हजार दुई सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य भने प्रतितोला ३० रुपैयाँ घटेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ४५ रुपैयाँ निर्धारण गरिएको छ ।

नेपाल समाजवादी पार्टीको महिला उपाध्यक्षमा मानुषी निर्विरोध निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई निर्विरोध निर्वाचित भएकी छन् ।

दलित उपाध्यक्षमा दुर्गा सोब निर्विरोध निर्वाचित भएको पार्टीको प्रचारप्रसार विभागले जानकारी गराएको छ । उनीहरूसहित केही सदस्य पदमा पनि निर्विरोध निर्वाचित भएका प्रचारप्रसार विभागले जनाएको छ ।

केन्द्रीय सदस्यतर्फ कोशी प्रदेश (खुल्ला) मणि राई, महिला केन्द्रीय सदस्यमा तारा बास्तोला दवाडी निर्वाचित भएका छन् ।

मधेस प्रदेशमा(महिला) बिबि समिना खातुन, बागमती प्रदेश केन्द्रीय सदस्य (महिला) वसुन्धरा सापकोटा, गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) चित्र सापकोटा निर्वाचित भएका छन् ।

यसैगरी गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) नारायणी अधिकारी, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला) कमल खनाल, लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) सुनिता काफ्ले, कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला) लक्ष्मी प्रसाद भट्टराई र सोही प्रदेशबाट केन्द्रीय सदस्य(महिला) मिराकुमारी मल्ला निर्वाचित भएकी छिन् ।

सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुला) मा रतनबहादुर टमटा, सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) मा सत्यदेवी चापागाईं तथा भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुला) मा लोकेन्द्रबहादुर सुनार निर्विरोध निर्वाचित भएका छन् ।