`

कमलपोखरस्थित मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका दुई जनाको मृत्यु

काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित सानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा घाइते भएका मध्ये दुई जनाको मृत्यु भएको छ ।

कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा रविन राई र भीमबहादुर घलेको गएराति मृत्यु भएको काठमाडौं प्रहरी परिसका प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । ग्यास सिलिण्डर विष्फोट हुँदा मःम पसलका ११ कर्मचारी घाइते भएका थिए ।

नौ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । सानदार मःम पसलमा गत बिहीबार विष्फोट भएको थियो ।

अमेरिकाबाट फर्किएर कागती खेतीमा रमाइरहेका सिभिल इन्जिनियर

दाङ । दाङको घोराही उपमहानगरपालिका–१६ तेरौटेका प्रतीक लोहनीले चार बिघा जग्गामा व्यावसायिक कागती खेती गरेका छन् । लामो समय अध्ययन तथा रोजगारीका सिलसिलामा अमेरिका बसेका उनले विगत दुई बर्षदेखि आफ्नै पुर्ख्यौली थलोमा व्यावसायिक कागती खेती गरेका हुन् ।

उनले तीन वर्षमा उत्पादन दिने सुन कागतीका बिरुवा गत वर्ष पर्वतबाट ल्याएर रोपेका थिए । गत वर्ष रोपेका केही बिरुवामा यो वर्षदेखि फल लाग्न सुरु गरेको उनले बताए । ‘सुन कागतीको बिरुवाले सामान्यतया रोपेको तीन वर्षदेखि उत्पादन दिने गरेको भनिन्छ तर यहाँ दुई वर्षमै कतिपय बिरुवामा फल लागेको छ,’ उनले भने ।

बोट सानो भए पनि यो वर्ष लागेका फल परीक्षणका रूपमा रहन दिएको भन्दै उनले आगामी वर्षदेखि बिरुवाले व्यावसायिक रूपमा उत्पादन दिनेमा विश्वस्त रहेको बताए । सुन कागती व्यावसायिक खेतीका लागि राम्रो मानिएकाले आफूले पर्वतबाट ल्याएको उनको भनाइ छ । तेरौटेमा रहेको करिब चार बिघा जग्गा भाडामा लिएर एक हजार पाँच सय ५० बिरुवा रोपेको लोहनी बताउँछन् ।

कागतीखेतीका लागि आवश्यक प्राङ्गारिक मलसमेत आफैँ उत्पादन गर्दै आएका लोहनीले कागतीखेतीमा गोडमेल तथा हेरचाह गर्न दुई जनालाई रोजगारी दिएका छन् । धेरै बिरुवा भएकाले एक्लै हेरचाह गर्न नसकिने र फार्ममा काम भइरहने भएकाले स्थानीय दुई जनालाई रोजगारी दिएको उनले बताए । कागतीलाई बढाउँदै लग्ने सोचमा रहेका उनले प्रतिकट्ठा वार्षिक तीन हजार तिर्ने गरेको बताए ।

सुक्खा ठाउँ भएकाले थोपा सिँचाइ प्रविधिका माध्यमबाट प्रत्येक बोटमा पानी पुर्‍याउने व्यवस्था गरेका छन् । विगत लामो समयदेखि उपभोग हुन नसकेको जमिनलाई खनजोत गरेर व्यावसायिक खेतीमा लागेका लोहनी तेरौटे गाउँलाई ‘ग्रिन भिलेज’का रूपमा विकास गर्नेगरी लागेको बताउँछन् । त्यही सोचअनुसार तेरौटेमा अहिले कागती, टमाटरलगायत व्यावसायिक तरकारीखेती भइरहको उनको भनाइ छ । गाउँलाई ग्रिन भिलेजका रूपमा विकास गर्नका लागि पेसाले सिभिल इन्जिनियर भए पनि गाउँमै बसेर कागतीखेती गर्न थालेको उनले बताए ।

अमेरिकाबाट फर्किएर केही वर्ष काठमाडौंमा अध्यापनसँगै हाइड्रोपावर कम्पनीमा काम गरेका लोहनीले भने, ‘अरुको मात्र कति काम गर्ने आफ्नो पनि केही काम गरौँ भन्ने सोचले कागतीखेतीमा जोडिएको छु’, अन्य तरकारीको तुलनामा कागतीमा रोग सङ्क्रमणको डर कमसँगै उत्पादन बढी लिन सकिने र उत्पादन बिक्रीका लागि समस्या नहुने भएकाले कागतीखेतीमा लागेको उनी बताउँछन् ।

हमासले बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने ट्रम्पको चेतावनी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हमासलाई बन्धक रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएका छन् ।

हमासले बन्धक रिहा नगर्ने घोषणा गरेलगत्तै ट्रम्पले यस्तो चेतावनी दिएका हुन् सन् २०२३ को अक्टोबर ७ मा इजरेलमा हमासले गरेको हमलाका क्रममा बन्धक बनाइएका ७३ जना र एक दशकअघि लगिएका अन्य तीनजना अझै पनि गाजामा बन्धकका रूपमा छन् ।

यदि बन्धकहरू रिहा नभए नसोचिएको अवस्था देखा पर्ने ट्रम्पको चेतावनी थियो । ट्रम्पलाई के त्यसको अर्थ इजरायलले बदला लिनु पर्छ भन्न खोजिएको हो ? भनेर सोधिएको थियो। जसमा उनको जवाफ थियोः ‘तपाईँले पत्ता लगाउनु हुनेछ र उनीहरूले पनि पत्ता लगाउनेछन् । मेरो भनाइको मतलब के हो भनेर हमासले पत्ता लगाउने छ।’

इजरायली रक्षामन्त्री कात्सले आफूले इजराली सेनालाई ‘गाजामा सम्भावित जुनसुकै अवस्था र समुदायहरूको सुरक्षाको लागि सतर्कताको उच्च स्तरमा तयार रहन’ आदेश दिएको बताए । ‘हामी अक्टोबर ७ को वास्तविकता फर्कन दिने छैनौँ,’ उनले थपे ।

इजरायली बन्धक अलोन ओहेलको २४औँ जन्मदिन मनाउन तेल अभिभमा मानिसहरू भेला हुनुभन्दा केहीअघि हमासको त्यस्तो घोषणा आएको हो । उनलाई सन् २०२३ को अक्टोबर ७ मा नोभा फेस्टिभलबाट बन्धक बनाएर लगिएको थियो । संयुक्त राष्ट्रसङ्घका एकजना प्रवक्ता फरहान हकले कमजोर युद्धविराम सम्झौतामा ‘कुनै पनि ढिलाइ’ समस्या बन्न सक्ने भन्दै यसमा संलग्न सबै पक्षहरू तय गरिएका सम्झौता र समयसीमा पालना गर्नु पर्नेमा जोड दिए।

इजरायलले आफ्नो दायित्व पालना गरेमा हमासले शनिबार हुने आदानप्रदानको “ढोका खुला रहने“ बताएको समाचार संस्था एएफपीले जनाएको छ । हमास प्रवक्ता अबु ओबेदाले इजरेलले विस्थापित प्यालेस्टिनीहरूलाई उत्तरी गाजामा फिर्ता गर्न ढिलाइ गरेको, मानिसहरूमाथि गोली चलाएको र सहमति अनुसार मानवीय सहायतालाई अनुमति दिन असफल भएको आरोप लगाएका छन्।

सप्तरीमा चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै

सिरहा । सप्तरीको सुरुङ्गा नगरपालिका-३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ । व्यवसायी वीरेन्द्र न्यौपानेका अगुवाइमा दुई वर्षभित्र चार अर्ब लागतमा १४ बिघा क्षेत्रफलमा छवटा उद्योगको निर्माण हुने जनाइएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सोमबार उक्त ‘बिग इन्डस पदमनगर’को शिलान्यास गर्दै यसले देशको उद्योग क्षेत्रमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

“यो एक ऐतिहासिक परियोजना हो । मुलुकलाई माया गर्ने र उद्योगधन्दामार्फत देशलाई समृद्धितर्फ लैजान यस औद्योगिक क्षेत्रले महत्त्वपूर्ण योगदान दिने छ भन्ने मैले विश्वास लिएको छु”, नेता खनालले भन्नुभयो, “निजी क्षेत्रले धेरै काम गर्न सक्छन् र देशभक्त उद्यमीले देशमै उद्योगधन्दा सञ्चालन गरी रोजगार सृजना गर्न सक्षम छन् भन्ने यो एउटा उदाहरण हो ।”

उनले देशभित्रै उद्योगधन्दा सञ्चालन गरी बेरोजगारीको समस्या समाधानसहित युवाहरूको बढ्दो विदेश पलायन रोक्न सकिने विचार व्यक्त गरे।

विभिन्न निर्माण कम्पनी सञ्चालक तथा हाइड्रोपावर व्यवसायीसमेत रहेका ‘बिग इन्डस पदमनगर’का सञ्चालक स्थानीयवासी न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुरले सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई चिरस्थायी बनाउन आफ्नै जन्मभूमिको माटो सुहाउँदो छ उद्योग स्थापना गर्न लागेको जानकारी दिए ।

“देश विदेशमा ठूला प्रोजेक्टमा काम गर्दैगर्दा स्वदेशमा पनि केही गर्ने हुटहुटीका कारण यहाँको माटो सुहाउँदो उद्योग सञ्चालनका लागि सोचेर निर्णय लिएको हुँ । हरेकपटक गाउँ आउँदा स्थानीयले आफ्नो जन्मथलोका लागि पनि कुनै काम गरिदिनुपर्यो भन्नुहुन्थ्यो”, शिलान्यास समारोहमा उनले भने, “यसबाट यहाँका दाजुभाइ दिदीबहिनीलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास लिएको छु ।”

उनका अनुसार आँप, फर्सी, कटहर, तरबुजालगायत फलफूलको जुस प्याकेट बनाउन ‘पल्प’ उद्योग निर्माण गरिने छ । आँपको समयमा किसानले उत्पादन गरेका आँप दिनको १० ट्रकका दरले खरिद गरिने छ । यसबाट यहाँका किसानले आँपको बजार र मूल्य नपाउने समस्या समाधान हुने उनले बताए । त्यसैगरी, दुई हजार मेट्रिक टनको ‘कोल्ड स्टोरेज’ स्थापना गरी किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको बिक्रीका लागि हुने समस्या हटेर जाने सञ्चालक न्यौपानेको भनाइ छ ।

उनका अनुसार भारतीय पेट्रोलियमसँगको सहकार्यमा ‘लुब्रिकेन्ट्स’ उत्पादन गर्ने उद्योगको पनि स्थापना गरिने छ । त्यसैगरी, अन्य उद्योगमा सिसा र बोटल उद्योग, ‘बिटुमिन’का पेन्टस् उद्योग र सौर्य प्लान्टबाट तीन मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय ग्रिडमा जोड्नेगरी उद्योगको संरचना निर्माण र सञ्चालन गर्न करिब दुई वर्षको समय लाग्ने उनले बताए । “त्यसले पाँच सय जनालाई प्रत्यक्ष र पाँच हजार परिवारलाई अप्रत्यक्ष रोजागारीको अवसर सृजना हुन्छ”, सञ्चालक न्यौपानेले भने ।

सोही क्रममा सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरीले उद्योग स्थापनापछि यस क्षेत्रका जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने भन्दै खुसी व्यक्त गरे । उनले यस ठाउँमा उद्योग स्थापनापछि सुरुङ्गाको नाम उचाइमा पुग्ने विश्वास व्यक्त गरे । पालिकाका तर्फबाट उद्योग सञ्चालनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उनले जनाए ।

परियोजनाका प्रबन्धक भीष्म रेग्मीका अनुसार यस यौद्योगिक क्षेत्रको सबै संरचना निर्माणका लागि रु चार अर्ब लागत अनुमान रहेको छ ।

किन सामाजिक संजाल विधेयक फिर्ता लिनुपर्छ ?

-सुमना श्रेष्ठ

दुई वर्षको संसदीय अनुभवमा मैले धेरै नै विधेयकमा संशोधन हाल्ने, संशोधनको प्रस्तावमा विरोधको जनाउने र फरक मतको प्रस्ताव राख्ने – यस्ता प्रकृयात्मक तरिकाले विरोध जनाउने धेरै नै काम गरिसकेकी छु । तर के थाहा भैसक्यो भने, सदनको र संसदको आवरण देखाएर यहाँ पेलेर आफू मनखुशी काम बाहेक केही नहुने रहेछ ।

सार्वजनिक सेवा प्रसारण विधेयकको उदाहरण दिन्छु । त्यसमा सार्वजनिक प्रसार सेवा (रेडियो नेपाल, नेपाल टेलिभिजन, आदि) लाई कानूनमा शुरूमै सरकारको अधीनमा राख्ने भनेर ल्याईयो। त्यही समितिमा छु। छलफलमा कत्ति विरोध गरेँ। सुनेनन्। उल्टै तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्रीज्यू पृथ्वी सुब्बा गुरुङले भन्नुभयो, ‘आज हामी सरकारमा छौं भोलि तपाईँ हुनुहोला, सरकारलाई गाह्रो हुने गरी किन कानून बनाउने’ भनेर सार्वजनिक सञ्चार माध्यममा सरकारकै पूर्ण नियन्त्रण हुनु पर्छ भन्ने आशय व्यक्त गर्नुभयो। सोही व्यक्तिहरू प्राय विभिन्न मञ्चमा गएर बोल्नुहुन्छ, भन्नुहुन्छ – मिडिया स्वायत्त हुनुपर्छ, सरकारको भजन मण्डली बन्नु हुँदैन भनेर। आखिर भन्ने र गर्नेमा आकाश पातालको फरक पर्ने रहेछ।

अर्को उदाहरण दिन्छु – विद्युतीय व्यापार विधेयकको। त्यो विधेयक तपाईंहरूलाई कत्तिको याद छ? हामीले कत्ति छलफल गर्यौँ, लेख्यौं, भिडियो बनायौँ तर – अझै पनि साना उद्यमीलाई मर्कामा पर्ने गरी सूचीकरणको प्रावधान अस्पष्ट राखेरै, सबै साना बिजनेसले समेत online redressal mechanism  स्थापित गर्नुपर्ने कुरा राखेरै र आर्थिक अपराधमा समेत जेल कोच्ने प्रावधान राखेरै समितिबाट प्रतिवेदन पास गरिएको छ। हो, यसमा प्रतिनिधि सभा सदस्य गणेश पराजुलीले फरक मत दर्ता पनि गराउनु भएको छ। तर त्यो अर्को दस्तावेजीकरण मात्र भयो।

अर्को उदाहरण – अभिलेख संरक्षण (पहिलो संशोधन) ऐन २०८१ हेर्ने हो भने यदि कुनै कर्मचारीले अभिलेख तोकिएको मान्छे बाहेकलाई हेर्न दिने, सार्ने, नष्ट गर्ने, केरमेट गर्ने, यस्तो केही गरेमा ‘पचास हजारसम्म’ जरिवाना वा कैद वा दुवै भनेको छ। तर कुनै सामाजिक संजालमा लाईक र शेयर गरेकै भरमा पाँच लाखसम्मको जरिवाना छ।

साँच्चै भन्नुपर्दा, यदि यो विधेयक सदनमा गयो भने, फेरी हामी केही सांसद चर्को स्वरमा चिच्याउँला, केही दिन भिडियो भाइरल होला, तर कानून भने निरङ्कुश नै बन्छ। जनता फेरी मारमा नै पर्नेछन्।
अर्को प्रश्न भनेको – के यसरी सदनमा पेश भएका विधेयक फिर्ता लैजान मिल्छ? पक्कै मिल्छ, अस्ती मात्र अर्थ मन्त्रीज्यूले आर्थिक दायित्त्वसम्बन्धी विधेयक, जसमा हामीले संशोधन समेत राखेका थियौँ, त्यसलाई फिर्ता लैजानु भयो।

सरकारले अहिलेसम्म गरेको भनेको जनतालाई थकाउने, अनि जब आवाज सबै सुक्छ, त्यो बेला आफुलाई जे मन लाग्छ, त्यही गर्ने नै हो। अनि यो सबै विषयमा धेरै सरोकारवालाले आफ्ना राय विधेयक तर्जुमाका बखत दिएका पनि हुन्, नदिएका होइनन्। तर पनि कानून भने निरङ्कुश नै आयो। आखिर सरकार विरुद्ध कसैले बोल्ने आँट नगरोस् भन्ने मनशायले आएको विधेयक हो यो पनि। आम मान्छेको दुःखको कुरा गरेर तपाईँहरूलाई छुदैन् – तर मनन योग्य कुरा के छ भने समयचक्र चलिरहन्छ, भोलि कुनै बेला तपाईँ प्रतिपक्षमा रहनुहोला त्यो बेलाको सरकारले यसको दुरुपयोग गरेछ भनेर रोइकराई नगर्नु होला।

त्यसकारण एउटा सांसद भएर पनि, म किन सामाजिक संजालसम्बन्धी विधेयक फिर्ता लैजानुपर्छ भन्दै छु। हो, सामाजिक संजाल प्ल्याटफर्म नेपालमा दर्ता हुनुपर्छ, गुनासो व्यवस्थापन चाहिन्छ – तर पहिले मस्यौदा ल्याउनुहोस्।सार्वजनिक बहस चलाउनुहोस्। जनतासँग अख्तियारी लिएर कानून बनाउनु होस्।
आज अनलाइनमा युवा उत्रिसकेका छन्। यो डिजिटल हस्ताक्षर गरेर उनीहरुले विधेयक फिर्ता हुनुपर्ने माग राख्दै विरोध जनाएका छन्। कि गुठी विधेयकको विरोध जस्तै जबसम्म जनता सडकमा उत्रिदैनन्, सरकारले नसुन्ने हो?

बन्धकहरूको रिहाइ स्थगित गर्ने हमासको घोषणा

बीबीसी । हमासले बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । इजरायलले युद्धविराम सम्झौता उल्लंघन गरेको भन्दै हमासले बन्धक रिहाइ बन्द गर्ने घोषणा गरेको हो ।

हमासले विज्ञप्ति जारी गरी इजरायलले गाजा क्षेत्रका केही स्थानहरुमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरु आफ्नो घर फर्किन ढिलो भइरहेको र मानवीय सहायता पुर्याउन बाधा उत्पन्न गरेको आरोप लगाएको बीबीसीले उल्लेख गरेको छ ।

इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम कार्यान्वयनमा आएको थियो । लगत्तै दुवै पक्षबाट बन्धकहरु रिहा गर्ने क्रम चलिरहेको थियो । हमासले बन्धक रिहाइ रोक्ने घोषणा गरेको विषय इजरायलको तर्फबाट प्रतिक्रिया आएको छैन ।

काठमाडौं विश्वविद्यालयको उपकुलपतिका १० प्रतिस्पर्धीको सूची सार्वजनिक

काठमाडौं । काठमाडौं विश्वविद्यालयको उपकुलपतिका लागि अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरिएको छ ।

छनोट समितिले उपकुलपतिका लागि आवेदन दिएका २० जनामध्येबाट वर्णानुक्रम अनुसार १० जनाको सूची सोमबार सार्वजनिक गरेको हो ।

सूचीमा प्राध्यापक डा. अच्युत वाग्ले, कन्हैया झा, जनार्दन लामिछाने, बालचन्द्र लुइँटेल, विभूति रञ्जन झा, वेदमणी दाहाल, भोला थापा, राजेन्द्र प्रसाद कोजु, श्याम नारायण लाभ र सुबोध शर्मा परेका छन् ।

छनोट समितिले उनीहरुमध्येबाट ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गर्ने छ । उनीहरुको आगामी फागुन २ र ३ गते अन्तर्वार्ता हुनेछ ।

गायिका ईश्वरी बरालको ‘नैना रेशम’

काठमाडौं गायिका ईश्वरी बरालले नयाँ गीत ‘नैना रेशम’ ल्याएकी छन् । गीतको शब्द र संगीत सिर्जना राजकुमार बगरले गरेका हुन् ।

नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडिओ मुस्कान ढकालले निर्देशन गरेका हुन्। जसमा गायिका बरालसँगै स्मारिका ढकाल र सुरेश कोलीको अभिनय देख्न सकिन्छ ।

त्रिभुवन आर्मीलाई पराजित गर्दै चर्च ब्वाइज आहा रारा गोल्डकपको सेमिफाइनलमा

कास्की । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रङ्गशालास्थित फुटबल मैदानमा सोमबार भएको क्वाटरफाइनलको अन्तिम खेलमा डिफेन्डिङ च्याम्पियन त्रिभुवन क्लब माथि १–० को कठिन जित निकाल्दै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिएकामा दोस्रो हाफ पनि सकिन एक मिनेट बाँकी रहँदा चर्चका ब्वाइजका नवीन लामाले प्रहार गरेको कर्नर बललाई राज भुसालले हेडमार्फत गोल गरे । भुसालले गरेको गोलनै खेलको निर्णायक बन्यो । पहिलो तथा दोस्रो हाफमा दुवै टोलीले गोलका केही मौका पाएकामा सदुपयोग गर्न सकेनन् ।

अघिल्लो संस्करणको उपाधि विजेता आर्मी यस वर्ष पहिलो खेलबाट बाहिरिएको छ । आर्मीले सिधै क्वाटरफाइनलमा स्थान बनाउँदा चर्च ब्वाइजले एनआरटीलाई पराजित गरी क्वाटरफाइनलमा स्थान बनाएको थियो ।

चर्च ब्वाइजका प्रशिक्षक चेतनारायण श्रेष्ठले खेलाडीको मेहनतबाटै जीत सम्भव भएको बताए । आर्मीका प्रशिक्षक मेघराज केसीले खेलाडीले राम्रो खेले पनि अवसर सुदपयोग गर्न नसक्दा पराजित हुनुपरेको प्रतिक्रिया दिए ।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १२ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार र उपविजेताले छ लाखसहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् ।

यसैगरी प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाइ स्कुटर पुरस्कार प्रदान गरिने छ । प्रतियोगितामा विधागत रूपमा सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डर, गोलरक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही २५ हजार नगदसँगै ट्रफी पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

पूर्वडीआईजी जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

बुटवल । रुपन्देहीको सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले पूर्वडीआईजी छविलाल जोशीलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

सोमबार जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउने आदेश दिएको हो । यसअघि उनी काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीको मुद्दामा ५० लाख र पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा ८८ लाख धरौटीमा रिहा भएका थिए ।

बुटवलमा पनि सुप्रिम सहकारी ठगीको अभियोग दर्ता भएपछि आफैँ अदालतमा उपस्थित भएका जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको हो ।

उनीविरुद्ध चितवनको सहारा सहकारी ठगीमा पनि मुद्दा दर्ता भइसकेको छ । यही मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रवि लामिछाने भने एक करोड धरौटी बुझाएर रिहा भएका थिए।

एक हप्तामा क्षतिग्रस्त बिपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत सुनिश्चितता हुने

काभ्रेपलाञ्चोक । सरकार क्षतिग्रस्त बीपी राजमार्ग पुनःनिर्माणका लागि स्रोत जुटाउन लागेको छ ।

गत असोज दोस्रो साताको बाढीपहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनःनिर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयले सडक कुन मोडालिटीमा कसरी पुनःनिर्माण गर्ने भन्ने विषयमा निर्क्यौल गर्न निरीक्षण गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा डिभिजन सडक कार्यालय भक्तपुरको टोलीले शनिबार क्षतिग्रस्त सडकको अनुगमनसमेत गरेको छ ।

सडक अनुगमनमा क्रममा मन्त्री दाहालले करिब एक हप्तामा सडक पुनःनिर्माणका लागि स्रोत सुनिश्चितता हुने बताए । “करिब एक हप्तामा सरकारद्वारा क्षतिग्रस्त सडक पुनःनिर्माणको स्रोत सुनिश्चितता हुनेछ, त्यसपछि प्रक्रियामा लाग्नेछौँ”, दाहालको भनाइ उदृत गर्दै कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले भने ।

योगेशकाअनुसार एक हप्तामा क्षतिग्रस्त सडक पुनःनिर्माणको स्रोत सुनिश्चितता भए प्रक्रियागत रूपमा अघि बढ्दा आउँदा वैशाखसम्म ठेक्का लगाइ स्थायी पुनःनिर्माण थालिनेछ । त्यसअघि हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म उचाइ बनाउने तथा अप्ठ्यारो भएको स्थानमा जाली भरेर उचाइ बनाउन सकिने छलफल भएको योगेशले बताए ।

उनले भने, “कुनै अवरोध नभए वैशाखदेखि पुनःनिर्माण सुरु हुन्छ, अन्यथा वर्षामा गाडी सञ्चालन गर्न अस्थायी रूपमा भए सडकलाई उचाइ गर्नुपर्ने देखिएको हो ।”

कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनःनिर्माण गर्न करिब रू साढे नौ अर्ब लाग्ने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार बीपी राजमार्गअन्तर्गत भकुण्डेदेखि नेपाल थोकसम्मको विभिन्न स्थानमा पुनःनिर्माण गर्न नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडकखण्ड पूर्णरूपमा क्षति पुगेको थियो ।

योगेशका अनुसार उक्त सडकमा तीन किसिमका वाल (आरसीसी रिटेनिङ, प्लम र गेभिएन) लगाउनुपर्ने अध्ययनबाट देखिएको छ ।

“अध्ययनबाट केही स्थानमा पहिला पुल बनाउनुपर्ने देखिए पनि पुल बनाउने कि, वाल लगाउने भन्नेबारे थप छलफलपछि निष्कर्ष निस्कने छ”, योगेशले भने । उनकाअनुसार वाल खोला आउन सक्ने ठाउँमा आरसीसी वाल लगाउनुपर्ने देखिएको छ भने कतै प्लम वाल र कतै गेभिएन वाल लगाउनुपर्ने अध्ययनले देखाएको हो । पुनःनिर्मित सडकमा आसपाल्ट कङ्क्रिटसहित दुई लेनको सडक हुने योगेशले बताए । यसअघि ‘इन्टरमिडियट लेन’ को सडक थियो ।

उक्त राजमार्ग पुनःनिर्माणका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुुता युताकासँग सहयोगबारे छलफल गरेका थिए । मन्त्रालयले जाइकासँग उक्त सडकखण्ड पुनःनिर्माणका लागि सहयोगको प्रस्ताव गरिसकेको छ ।

मन्त्रालय जाइकाको प्रतिवेदन र जवाफको पर्खाइमा रहेको बताइन्छ । शर्माकाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् व्यवस्थापन कोषमा रहेको बजेट माग गर्नेसमेत तयारी भइरहेको छ ।

यस्तै दातृ निकायहरू एसियाली विकास बैङ्क (एडीबी) र विश्व बैङ्कको सहुलियतपूर्ण ऋण लिएर भएपनि राजमार्गको पुनःनिर्माणको तयारीमा मन्त्रालय रहेको जनाइयो । पुनःनिर्माणका लागि स्रोत सुनिश्चित लम्बिए आउने वर्षको वर्षामा यातायात सञ्चालनमा निकै कठिनाइ व्यहोर्नुपर्ने योगेशले बताए । उनले भने, “हाल स्रोत सुनिश्चितता भएको भए काम सुरू गर्थ्यौँ, अब ढिला भयो भने वर्षाभरि यातायात सञ्चालन नहुन सक्छ ।” उनकाअनुसार पूर्णरूपमा सडक पुनःनिर्माण गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने अध्ययनले देखाएको छ ।

राजमार्गको भत्किएको खण्ड पुनःनिर्माणका विषयमा जापान सरकारले सहयोग गर्ने सङ्केत देखिएको छ । जापानको अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले पनि कात्तिक दोस्रो सातामा क्षतिग्रस्त सडकको अध्ययन गरिसकेको छ ।

यद्यपि, जाइकाले यस विषयमा कुनै हालसम्म प्रतिवेदन प्रस्तुत गरेको छैन । तर, जाइकाको प्रतिनिधिसँग मन्त्रालय तथा डिभिजन सडकका अधिकारीसँगको छलफलमा भने एक दुई स्थानमा जाइकाले क्षतिग्रस्त सडकको पुनःनिर्माण गर्ने सङ्केत दिएको योगेशले जानकारी दिए । उनले भने, “नेपालस्थित जाइकाको अधिकारीसँग औपचारिक रूपमा भएका छलफलमा क्षतिग्रस्त सबै सडक पुनःनिर्माण नभए पनि एक/दुई स्थानमा पुनःनिर्माण गर्ने सङ्केत दिइएको छ ।”

जापानका सम्राटको ६५औं शुभजन्मोत्सव तथा जापानको राष्ट्रिय दिवसका अवसरमा नेपालका लागि जापानका नवनियुक्त राजदूत माएदा तोरूले ताहाचलस्थित आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपाल–जापान सम्बन्धका विविध पक्षबारे चर्चा गर्दै अघिल्लो वर्षायाममा आएको बाढीपहिराले क्षतिग्रस्त बीपी राजमार्ग मर्मतका लागि जापानले पहल गर्ने बताएका थिए ।

बीपी रानमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) अन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको वर्खेखोलासम्मको सडकखण्डको अधिकांश सडक क्षतिग्रस्त अवस्थामा छ ।

बाढीपहिरोले अवरूद्ध राजमार्ग दुई हप्तापछि सञ्चालनमा ल्याइएको उक्त राजमार्ग केन्द्रीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने छोटो मार्गका रूपमा रहेको उक्त राजमार्ग कतै एकतर्फी तथा कतै दुईतर्फी हुने गरी सञ्चालनमा ल्याइएको हो ।

जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास एक सय ६० किमी सडक) निर्माण कार्य सुरु गरिएको थियो । खण्डखण्ड विभाजन गरी विसं २०७२ असार १८ गते निर्माण सम्पन्न गरी औपचारिक रूपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

तत्कालीन अवस्थामा २६ बिलियन जापानी येन र नेपाल सरकारको १ दशमलव १ बिलियन (जापानी येन) लागतमा उक्त राजमार्ग निर्माण भएको थियो । जाइकाद्वारा निर्मित उक्त राजमार्ग सडक निर्माण गर्दा प्रति किमी  ३५ करोड लागत थियो । उक्त रकम हालको हिसाबमा प्रति किमी रू ५० करोडभन्दा माथि पर्नेछ ।

अदालतको आदेश कार्यान्वयनमा अवरोध गरेको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता भएको छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले गिरीबन्धीसम्बन्धी सर्वोच्चको फैसला कार्यान्वयनमा अवरोध गरेको भन्दै सोमबार प्रधानमन्त्री ओलीविरुद्ध अवहेलनाको मुद्दा दर्ता गराएका हुन् ।

अर्यालले भूमीसम्बन्धी अध्यादेश जारी गर्ने कदमलाई पनि अदालतको अवहेलनामा कारबाही हुने आधारका रुपमा प्रस्तुत गरेका छन् ।

सर्वोच्च प्रशासनले उक्त निवेदन दर्ता गरी फागुन ४ गते पेसी तोकिदिएको छ । अर्यालले सर्वोच्च अदालत, संवैधानिक इजलासबाट गत वर्ष माघ २४ मा जारी भएको परमादेशको कार्यान्वयनमा प्रधानमन्त्री ओलीले अनवरत रूपमा अवरोध सिर्जना गरेको निवेदनमा उल्लेख गरेका छन् ।

उनले निवेदनमा भनेका छन्, ‘सम्मानित सर्वोच्च अदालत, संवैधानिक इजलासबाट परमादेश कार्यान्वयनमा विगत कम्तीमा ७ महिनादेखि अनवरत रुपमा अवरोध गर्दै आउनु भएको छ । यसैबीच निज सम्माननीय प्रधानमन्त्रीज्यू तथा माननीय मन्त्रीज्यूको प्रत्यक्ष पहल तथा संलग्नतामा २०८१।१०।२ मा सम्माननीय राष्ट्रपतिज्यूमार्फत कपटपूर्ण अध्यादेश जारी समेत गराई फैसलाको प्रकरण नं. ३० मा उल्लिखित परमादेशको अवज्ञा गरी, गर्न लगाई सोको कार्यान्वयन नगर्ने, गर्न नदिने तथा प्रत्यक्ष अवरोध सृजना गर्ने गरी सर्वथा अनुचित, गैरकानुनी तथा गैरसंवैधानिक कार्य भएको छ। नेपाल सरकारको नाममा प्राप्त गर्नुपर्ने अवस्थाका हदबन्दी छुटका जग्गासमेत बिक्री गरी निजीरूपमा हक हस्तान्तरण गर्न पाउने व्यवस्था गर्दा फैसलाको अवज्ञा भएको छ। उक्त कार्य प्रथम दृष्टिबाटै अदालतको अवहेलनायुक्त कसुरजन्य रहेको स्पष्ट देखिन्छ।’

अर्यालले अदालतको अवहेलनामा संलग्न कसुरदार प्रधानमन्त्री ओलीलाई गर्न माग गरेका छन् । यसअघि गिरीबन्धुको हदबन्दी छुटको जग्गा प्रकरणको रिट पनि अर्यालले नै दायर गरेका थिए ।

राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको निधन

काठमाडौँ । राष्ट्रिय पञ्चायत सदस्य नानीमैयाँ दाहालको ९२ वर्षको उमेरमा निधन भएको छ ।

निमोनियाँ रोगले पीडित दाहालको सोमबार दीर्घायु अस्पताल काठमाडौँमा निधन भएको गोकर्णेश्वर नगरपालिका–६ का पूर्वअध्यक्ष रमेश अर्यालले जानकारी दिए ।

पञ्चायतकालमा जोगमेहर श्रेष्ठलाई दोब्बर बढी मतान्तरले हराएर दाहाल राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भएकी थिइन् । श्रेष्ठलाई हराएपछि उनी चर्चामा आएकी थिइन् । सानैदेखि विद्रोही स्वभावकी दाहाल विसं २०२९ मा उपप्रधानपञ्च निर्वाचित भएकी थिइन् ।

उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने पारिवारले जनाएको छ ।

सीवाईसी अत्तरियालाई अर्जुन ट्रफीको उपाधि

धनगढी । फ्रेन्डस् युथ क्लब डडेल्धुरालाई हराउँदै सीवाईसी अत्तरियाले अर्जुन ट्रफी राष्ट्रिय टी–२० प्रतियोगिताको उपाधि जितेको छ ।

सोमबार अत्तरियाले डडेल्धुरालाई ३४ रनले हराएको हो । अत्तरियाले दिएको एक सय ११९ रनको लक्ष्य पछ्याएको डडेल्धुरा १८ ओभरमा ८४ रनमा अलआउट भयो । डडेल्धुराका लागि गजेन्द्र बोहोराले २४ रन र कुशल भुर्तेलले २० बनाए ।

अत्तरियाका शाहब आलमले तीन विकेट लिए । यस्तै दिपेश कँडेल, कमल गुप्ता र विवेक यादवले समान दुई विकेट लिए । त्यसअघि धनगढीको फाप्ला क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अत्तरियाले नौ विकेट गुमाएर ११८ रन बनायो ।

प्रतियोगिताको विजेता अत्तरियाले १० लाख र उपविजेता बनेको डडेल्धुराले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

सुरक्षित कारोबारसम्बन्धी विधेयक प्रतिनिधिसभाबाट पारित

काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ सर्वसम्मतिले पारित भएको छ ।

सोमबारको प्रतिनिधिसभाको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावउपर सांसदहरुले छलफल गरेका थिए। अर्थमन्त्री पौडेलले सांसदले उठाएका प्रश्नको जवाफ दिइसकेपछि सभासमक्ष सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरे । जसमा संसदले सर्वम्मतिले संसदबाट पारित भएको सभामुख देवराज घिमिरेले घोषणा गरे ।

राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित

काठमाडौँ । राष्ट्रियसभाको सोमबारको बैठकले ‘मिडिया काउन्सिल विधेयक–२०८०’ पारित गरेको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रस्तुत गरेको विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘मिडिया काउन्सिल विधेयक, २०८० पारित गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि उक्त विधेयकको दफावार छलफलमा सांसद राजेन्द्रलक्ष्मी गैरेले भाग लिएकी थिइन् । छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै सञ्चारमन्त्री गुरुङले विधायन व्यवस्थापन समितिमा लामो समय छलफल भइ पारित भएर राष्ट्रियसभामा आएको भन्दै मिडिया काउन्सिल विधेयकलाई बढी स्वायत्त बनाउन यस क्षेत्रको नियमन र स्वनियमन गर्ने सम्पूर्ण अधिकार दिएर कसरी मर्यादित, पृथक तथा स्वायत्त निकाय बनाउन सकिन्छ भनेर धेरै विषय उठाइसकेकाले सो विधेयकलाई सर्वसम्मतिले पारित गर्न अनुरोध गरेका थिए ।

मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने हेतुले तत्कालीन सञ्चारमन्त्री रेखा शर्माले २०८१ वैशाख १२ गते मिडिया काउन्सिल विधेयक दर्ता गराएका थिए । उक्त विधेयक गत जेठ १३ गते राष्ट्रियसभामा प्रस्तुत भएको थियो ।

पत्रकारिता क्षेत्रमा पेसागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवद्र्धन गरी स्वच्छ, स्वतन्त्र र जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि स्वायत्त नियामक निकायको रुपमा स्थापित गर्ने उद्देश्यले मिडिया काउन्सिल विधेयक ल्याइएको हो ।

स्वायत्त नियामक निकायको रुपमा स्थापना र सञ्चालन सम्बन्धमा नयाँ कानुनको मस्यौदा आवश्यक रहेकाले राष्ट्रिय आमसञ्चार नीति, २०७३ लागू भई प्रेस काउन्सिललाई पत्रकारिता क्षेत्रको आचारसंहिता उलङ्घन सम्बन्धी उजुरी सुनुवाई गर्ने स्वतन्त्र, स्वायत्त र सक्षम निकायको रुपमा विकास गर्न तथा पत्रकारिताको क्षेत्रमा आएका परिवर्तन एवं प्रविधिमा भएको विकासको प्रयोगलाई आत्मसात गरी प्रेस काउन्सिलललाई मिडिया काउन्सिलमा रुपान्तरण गरी सक्षम निकायको रुपमा विकास गर्न विधेयक ल्याइएको जनाइएको छ ।

समय सापेक्ष विद्युतीय अनलाइन र छापा पत्रकारिता पेशलालाई मर्यादित, उत्तरदायी, जिम्मेवार एवं विश्वसनीय बनाई स्वच्छ तथा स्वतन्त्र रुपमा पत्रकारिताको विकास, संरक्षण तथा नियमनलाई व्यवस्थित बनाउन कानुन निर्माण गर्नु आवश्यक भएकाले सो विधेयक ल्याइएको उल्लेख गरिएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव डा सुरेन्द्र अर्यालले राष्ट्रियसभाबाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘विधायन सम्बन्धी विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष जानकारी गराई टेबुल गरेका थिए ।

बहुमतका आधारमा संसदीय अभ्यासमा हस्तक्षेप गरेको प्रतिपक्षीको आरोप

काठमाडौँ । प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरुले बहुमतका आधारमा संसदीय अभ्यास र प्रक्रिया मिच्ने काम भएको आरोप लगाएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा उनीहरुले संसदीय समितिले सर्वसम्मतिबाट पारित गरेको विधेयकलाई बेवास्ता गरी बहुमतका आधारमा पारित गरेको भन्दै आपत्ति जनाए ।

विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भए पनि संशोधन हाल्नुले गलत नजिर स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले आपत्ति जनाए । बैठकको शून्य समयमा नेकपा (माओवादी केन्द्र) का संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले विधायन विधेयक, २०८१ मा सङ्ख्याको बलमा विधेयक पारित गरेर संसद्लाई नै कमजोर बनाएको आरोप लगाए ।

रास्वपाका सांसद सोविता गौतमले समितिबाट आएका हरेक प्रतिवेदनमाथि सरकारले फेरि संशोधन राख्न पाउने नजिर स्थापना भएकामा आपत्ति जनाइन् ।

“विधायन सम्बन्धमा व्यवस्था गरिएको विधेयक यो सदनबाट पारित गर्दै गर्दा, कानुन समितिले विस्तृत रूपमा छलफल गरी, कानुनमन्त्रीकै उपस्थितिमा छलफल गर्दै सर्वसम्मतिमा पारित गरेको प्रतिवेदनमाथि सरकारले संशोधन प्रस्ताव ग¥यो”, उनले भनिन् ।

शून्य समयमा सांसदहरुले सडक निर्माणमा भइरहेको ढिलाइ, सडक सुरक्षा, कृषकको समस्या, जलवायु परिवर्तनको प्रभाव, सुरक्षा व्यवस्था, तटबन्धको व्यवस्था र सामाजिक सञ्जालमा महिलामाथिको हिंसालगायत विषयमा सरकारको ध्यानाकर्षण गराए । सांसद बिना लामाले जनताको समस्या सरकारले नसुनेको गुनासो गरिन् ।

सांसद वीरबहादुर बलायरले सुदूरपश्चिम प्रदेशको राजधानी किन नतोकिएको भन्दै सरकारसँग जवाफ माग गरे । सांसद विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी विधेयकप्रति असन्तुष्टि व्यक्त गरे ।

सांसद शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई अस्थायी बसोबासका लागि तत्काल रकम भुक्तानी गर्न सरकारसँग माग गरे ।

सांसद शान्ति विकले नेपाल प्रहरी विधि विज्ञान प्रयोगशालाको क्षमता अभिवृद्धि गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद शिशिर खनालले कुवेतमा घरेलु कामदारका रुपमा कार्यरत महिलाले भोग्नु परेका समस्याप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद शेरबहादुर कँवरले पशुपति क्षेत्र विकास कोषका सरसफाइ कर्मचारीलाई बिनाकारण कामबाट निकालिएको भन्दै उनीहरुलाई पुनर्बहाली गर्न माग गरे ।

सांसद शोभा ज्ञवालीले बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा रहेको सुकुम्बासी बस्तीलाई समयमै स्थानान्तरण गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

सांसद सरस्वती बजिमयले मध्यपहाडी लोकमार्गअन्तर्गतको सेखुवा–चखेवा सडक निर्माणका लागि स्रोत सुनिश्चितताको माग गरिन् ।

सांसद सरस्वती सुब्बाले नयाँ गुठी ऐनको आवश्यकता औँल्याउँदै विधेयक ल्याउन माग गरिन् ।

सांसद सराजअहमद फारुकीले कपिलवस्तु क्षेत्र नं ३ मा नदी कटानको समस्याप्रति सरकारको ध्यानाकर्षण गराए ।

सांसद सरिता प्रसाईंले झापामा हात्ती आतङ्क नियन्त्रण गर्न सरकारसँग माग गरिन् । सांसद सरिता भुसालले हुलाकी मार्ग निर्माण समयमै सम्पन्न गर्न आग्रह गरिन् ।

सांसद स्वर्णिम वाग्लेले आँबुखैरेनी–पोखरा सडक विस्तारसँगै सडक दुर्घटना बढिरहेकोतर्फ सचेत गराए ।

सांसद शान्ती चौधरीले कृषकलाई समयमै मल र पानी उपलब्ध गराउन माग गरिन् । सांसदहरु सीताकुमारी राना, सीता मिजार, सुनिता बराल, सुशीला सिर्पाली ठकुरी, सुरेन्द्रराज आचार्य, सुशीला श्रेष्ठ, सूर्यकुमारी श्रेष्ठ, सूर्यप्रसाद ढकाल, सूर्यमान तामाङ दोङ, सङ्गीता मण्डल धानुक, सञ्जयकुमार गौतम, हर्कमाया विश्वकर्मा, हरि ढकाल, हितबहादुर तामाङ, हेमराज राई, ज्ञानेन्द्रबहादुर कार्की, ज्ञानु बस्नेत सुवेदी र शिव नेपालीले जनसरोकारका विभिन्न विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

काठमाडौंको चाबहिलमा एक युवको हत्या, तीन जना पक्राउ

काठमाडौं । काठमाडौंमा एक युवकको हत्या भएको छ । काठमाडौंको कुमारीगालमा गएराति एक युवकको हत्या भएको हो ।

दुई पक्षबीच झडप हुँदा एक युवकमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट काभ्रेका २२ वर्षीय अमृत कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न तीन जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जानकारी दिएको छ ।

११ अंकले घट्यो शेयर बजार

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार नेप्से घटेको छ । सोमबार नेप्से १० दशमलव ९८ अङ्कले घटेर दुई हजार छ सय ७७ दशमलव ३२ विन्दुमा झरेको छ ।

बोटलर्स नेपाल बालाजु र उपकार लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन आज न्यादी जलविद्युत् र गार्डियन माइक्रो लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज एक करोड ४४ लाख ४३ हजार कित्ता शेयर ६ अर्ब ९६ करोड दुई लाख रुपैयाँमा कारोबार भएका छन् ।

विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्छः सांसद केसी

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले विद्यालयमा प्रयोग भएका सवारीसाधनको अनुगमन हुनुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा सांसद केसीले आइतबार दक्षिणकाली नगरपालिका–३ भन्ज्याङ्मा भएको विद्यालय बस दुर्घटनाको प्रसङ्ग उल्लेख गर्दै ग्रामीण क्षेत्रका विद्यालयमा प्रयोग हुने सवारीसाधनको अवस्था जाँच गर्न सभामुख देवराज घिमिरेमार्फत सम्बन्धीत मन्त्रालयको ध्यानार्कषण गराए । उनले उक्त दुर्घटनामा घाइते भएका ३५ विद्यार्थीको निःशुल्क उपचार गर्न आग्रह गरे ।

“विशेषतः ग्रामिण क्षेत्रका विद्यालयमा पुुराना सवारीसाधन प्रयोग भएको पाइएको छ । थोत्रो भएपछि चलाउँदा पनि त्यसको जाँच र अनुगमन हुँदैन”, सांसद केसीले भने ।

सन् २०२४ मा चीनमा विवाहको सङ्ख्यामा २० प्रतिशतले कमी

बेइजिङ। निरन्तर जनसाङ्ख्यिकीय चुनौतीको पछिल्लो सङ्केतलाई पछ्याउँदै गत वर्ष चीनमा विवाहमा २० प्रतिशतको गिरावट देखिएको सरकारी तथ्याङ्कले देखाएको छ ।

बेइजिङले युवा परिवारहरूको लागि अनिश्चित आर्थिक दृष्टिकोणसहित जन्मदर वृद्धिलाई प्रोत्साहित गर्न काम गरिरहेको छ । सन् २०२४ मा ६१ लाख दम्पतीले विवाहका लागि दर्ता गराएका र यो अघिल्लो वर्षको तुलनामा ७७ लाखले कम हो ।

सन् २०२३ मा विश्वको सबैभन्दा बढी जनसङ्ख्या भएको देशको रूपमा रहेको चीनलाई भारतले उछिनेको । सन् २०२३ मा चीनको कुल जनसङ्ख्या लगातार तेस्रो वर्ष २०.५ प्रतिशतले घटेको थियो ।

चीनको एक अर्ब ४० करोड जनसङ्ख्या अहिले तीव्र गतिमा बुढ््यौली जनसङ्ख्या हुँदै गएको छ र गत वर्षको अन्त्यसम्ममा चीनमा ६० वर्ष वा सोभन्दा माथिको जनसङ्ख्या करिब एक चौथाई रहेको छ।

जनसाङ्ख्यिकीय प्रवृत्तिहरूले देशका अधिकारीहरूका लागि नयाँ चुनौतीहरू प्रस्तुत गर्दछ । यसले लामो समयदेखि आर्थिक विकासको चालकको रूपमा आफ्नो विशाल कार्यबलमा भरोसा गरेको छ ।

हालैका वर्षहरूमा बेइजिङले सुरु गरेको परिवारसमर्थक अभियानको बावजुद विवाहमा गिरावट आएको छ । अभियानमा विभिन्न अनुदानहरू र सन्देशमार्फत् मानिसहरूलाई धेरै (दुई वा सो भन्दा बढी) बच्चा जन्माउन प्रोत्साहित गर्दछ।

तर विशेषज्ञहरूका अनुसार विशेष गरी शिक्षा र बच्चाको हेरचाहको लागि हुने उच्च लागत र नयाँ स्नातकहरूको पर्खाइमा चुनौतीपूर्ण रोजगार बजार आमाबाबुलाई धेरै बच्चा बनाउन निरुत्साहित गर्ने कारकहरूमध्ये एक हो।

चिनियाँ ‘माइक्रोब्लगिङ साइट (वेइबो)’ का एक सेवाग्राहीले भने, “यदि म आफ्ना आमाबाबुमा भर पर्दिनँ भने म घर किन्न सक्दिनँ र विवाह गर्नु पनि ठूलो खर्च लाग्छ ।”

“यो वर्ष मलाई अचानक महसुस भयो कि अविवाहित हुनु पनि धेरै राम्रो छ। त्यति धेरै दबाब छैन, म कमाउँछु र आफ्नै पैसा खर्च गर्छु,” उनले भने ।

सन् १९८० को दशकमा जनसङ्ख्या वृद्धिद् उच्च बनेपछि बेइजिङले ‘एक सन्तान नीति’ लागू गरेको थियो। यो नियम सन् २०१६ मा मात्र अन्त्य भएको हो ।

दम्पतीलाई सन् २०२१ मा तीन सन्तान जन्माउन अनुमति दिइएको थियो तर चीनको जनसाङ्ख्यिकीय परिवर्तनको सङ्केत देखिन थालिसकेको थियो ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा घट्दो विवाहले आगामी वर्षहरूमा पेन्सन र सार्वजनिक स्वास्थ्य प्रणालीमा दबाब बढाउने खतरा छ।

बेइजिङले सेप्टेम्बरमा लामो समयदेखि निरन्तरता पाएको ६० वर्षको वैधानिक सेवा निवृत्तिको उमेर क्रमशः बढाउने घोषणा गरिसकेको छ । यसलाई प्रत्याशित कदम भनिएको छ ।

गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले संकटमा पर्योः सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल विधेयकका नाममा सरकार आलोचकहरू र नागरिकलाई जेलमा हाल्ने अभियानमा रहेको आरोप लगाएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद श्रेष्ठले सरकार खुद्रे कुरामा लागेको भन्दै आपत्ति जनाए । उनले सरकारलाई सामाजिक संजाल विधेयक पास गर्नुअघि जेल बनाउन सुझाव दिए ।

उनले भने, ‘के हामीसँग यति धेरै जेल छन्, जहाँ सामाजिक सञ्जाल विधेयक पास भएपछि थुनेर राख्न सकियोस् । सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिवानाको मेन्यू ल्याउँदैछ ।’

उनले झुठो आश्वासन दिनेलाई जेल हाल्नुपर्नेमा जनतालाई जेल देखाएर तर्साउने काम नगर्न आग्रह गरे ।

उनले भने, ‘सरकार नागरिकलाई बढ्ता बोल्दै हुनुहुन्छ भनेर धम्की दिइरहेको छ । के झुटो आश्वासन दिने, भ्रम फैल्याउने असम्भव कुरालाई पूरा हुन्छ भनेर वाचा गर्नेहरूलाई चाहिँ उन्मुक्ति दिने हो ? के यो विधेयक साँच्चिकै न्यायका लागि हो कि के का लागि हो ? यो विधेयक सरकारको आलोचक दमन गर्ने हतियार हुन सक्छ यदि कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झूट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा हुनुपर्छ ।’

उनले गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले संकटमा पर्न लागेको बताए । उनले भने, ‘गंगालाल र धर्मभक्तले लडेको अभिव्यक्ति स्वतन्त्रताको लडाइँ अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो ? मैले बुझ्न सकेको छैन । सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोज्दैछ । उता नागरिकहरू कृष्णसेन इच्छुकको कविता गुन्गुनाइरहेका छन् ।’

चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री राणा

कैलाली । परराष्ट्रमन्त्री आरजु राणाले पूर्वपश्चिम महेन्द्र राजमार्गको चिसापानी–गड्डाचौकी सडकखण्ड ६ लेनको बनाउन छिट्टै काम सुरु हुने बताएकी छिन् ।

कैलालीको लम्कीचुहा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको सोमबार उद्घाटन गर्दै मन्त्री देउवाले सवारीको चापलाई मध्यनजर गर्दै कैलालीको चिसापानीबाट कञ्चनपुरको गड्डाचौकीसम्म ६ लेनको बनाउन सर्वेक्षण गर्ने काम भइरहेको बताएकी हुन् ।

‘राजमार्गलाई ६ लेन बनाउन सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पहल गरिरहनुभएको छ । राजमार्गको अहिले सर्भे गर्ने काम भइरहेको छ । छ लेनको सड्क निर्माणका लागि छिट्टै काम सुरु हुन्छ,’ उनले भने ।

मन्त्री देउवाले लम्कीचुहा नगरपालिकाको प्रशासकीय भवनले नगरवासीलाई एकीकृत सेवा लिन सहज हुने विश्वास व्यक्त गरिन् । उनले यस क्षेत्रको कृषि क्षेत्रको समग्र विकासको लागि सरकार गम्भीर रहेको बताउँदै स्थानीयस्तरमा भएको विकास निर्माण देख्दा आफू उत्साहित भएको बताइन् ।

वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित

महोत्तरी । पछिल्लो समय जङ्गली वन्यजन्तु गाउँबस्ती वरिपरी नै रमाउन थालेका छन् । पछिल्लो एक दशकपछि गाउँबस्ती छेउछाउमा बँदेलको सङ्ख्या बढ्नेक्रम जारी छ ।

सुरूमा सिकारीको चहलपहल छल्न र आहाराको खोजीमा वन क्षेत्रबाट बस्ती पसेका बँदेल गाउँबस्तीमै रमाएर आफ्नो बासस्थान बिर्सन थालेका छन् । बँदेलका शाखा सन्तान यतै वृद्धि भएपछि बस्ती नजिकका झाडी यिनको नयाँ बासस्थान बनेको स्थानीय बासिन्दाको भनाइ छ ।

“हाम्रो गाउँको पुछारमा दशगजा (नेपाल भारत सीमा) नजिकका झाडीमा बँदेलका तीन÷चार पुस्ता देखिन्छन्,” जलेश्वर–५ चौरिया बस्तीका ७५ वर्षीय रहिमन मण्डल भन्छन्, “यिनलाई किसानले लगाएका बाली आहारा छँदैछ, बस्न झाडी खोज्छन्, अनि किन सम्झुन् वनजङ्गल !” मण्डलले सीमाक्षेत्रका चौरिया, पतैली, मुसरपट्टि र खैरासम्मका आफ्ना वरपरका बस्ती नजिक अब झुण्ड–झुण्डमा बँदेलको स्थायी बसोबास बढेको बताए ।

दक्षिणतर्फ भारतसँग सीमा जोडिने पूर्व मटिहानीदेखि पश्चिमको खैरवनीसम्मको करिब ३९ किलोमिटरसम्म बँदेलको सघन उपस्थिति छ । अझ नदीउकास क्षेत्रका काँसका झाडी भएका ठाउँमा त झन् बढी बँदेल देखिने गरेको खैरवनीका बासिन्दा कौशीलाल यादव बताउँछन् । नेपालतर्फ मात्र नभएर सीमापारिका भारतीय बस्तीमा पनि उल्लेख्य सङ्ख्यामा बँदेल देखिने गरेको यादवको भनाइ छ ।

बर्दिबासबाट १५ किलोमिटर दक्षिणको भङ्गाहा नगरपालिका क्षेत्रका अधिकांश बस्तीमा अहिले बँदेलको आतङ्क छ । उखु नकाटिउन्जेल त्यसैको घारीमा बस्ने बँदेल एक ठाउँको उखु काटिएपछि नजिककै अर्कोतिर बास सारेर बस्ने गरेका भङ्गाहा–४ का सामाजिक कार्यकर्ता ६५ वर्षीय मुकुन्द दाहाल बताउँछन् ।

बँदेलको आतङ्कले घाँसपात गर्न, खेतबारी हेरविचार गर्न र घुमफिरमा निस्कन डरमर्दो भएको दाहालको भनाइ छ । तर पाँचरसात वर्षअघि भर्खर वनबाट बस्ती नजिक आएका बँदेलको जस्तो जङ्गली व्यवहार भने अहिले यस क्षेत्रमा पाइने बँदेलको नरहेको दाहालको अनुभव छ । बँदेलले धेरैजसो ससाना केराका कोथा, कोवी, गहुँ, हरिया तरकारीका बोट उखेलेर खाने गरेको किसानको गुनासो छ । “हामीले यिनको आतङ्कले पछिल्ला ४र५ वर्षयता राम्ररी बाली लिन पाएका छैनौँ,” रामगोपालपुर–२ मोहनपुरका मोहम्मद कादिर हुसैन भन्छन्, “अब त यिनकै लागि बाली लगाएजस्तो भएको छ ।”

बँदेलजस्तै नीलगाई पनि अब जिल्लाका सुदूर दक्षिणी बस्तीसम्म बाक्लै भेटिन्छन् । नीलगाई चाहिँ वनतिर ओहोरदोहोर गरिरहेका अवस्थामा भेटिने गरेको औरही नगरपालिका–४ बैरियाका रामस्नेही यादव बताउँछन् । “बँदेल त यतै स्थायी रूपले बस्न थालेका छन्, नीलगाई भने यता चरेर केही दिनको फरकमा वनतिर आउनेजाने गरिरहेका बुझिन्छ,” यादव भन्छन्, “यद्यपि नीलगाई पनि ठाउँठाउँमा निकै सङ्ख्यामा देखिन्छन् ।” अब बँदेल र नीलगाई वन्यजन्तु नभएर बस्ती वरपर बसोबास गर्ने जन्तुसरह बनेका यादवसहितका सो बस्तीका बासिन्दा बताउँछन् ।

जिल्लाका १५ वटै स्थानीय तहका बस्ती वरपर अहिले बँदेल र नीलगाईको उत्पातले किसान दिक्क भइरहेका छन् । यिनको नियन्त्रणमा सरकारले पहलकदमी नलिएको किसानको दुखेसो छ । “हामी स्थानीय तह, प्रहरी, प्रशासनमा हारगुहार गरेको गरिरहेका छौँ,” बलवा नगरपालिकाको रौजाका मन्सुल कवारी भन्छन्, “तर भरपर्दो कुनै उपाय खोजिएको देखिँदैन ।”

बँदेल, नीलगाईसँगै अब दुम्सी पनि गाउँबस्ती नजिक बाक्लै देखिन थालेका छन् । दुम्सीको बासस्थान पनि उखुघारी र काँसझाडी नै हुने गरेको स्थानीय बासिन्दा बताउँछन् । वनमा अत्यधिक मानव चहलपहल बढ्दै जानु, सिकारीबाट हुेन आक्रमण बढ्नु, पानी र आहाराको कमी हुँदै जानुले वन्यजन्तु गाउँबस्तीतिर आउनेक्रम बढेको पूर्वसहसचिव एवं कृषिविज्ञ स्थानीय भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेलको ठम्याइ छ । 

हिम्मत भए संसद भवन र सिंहदरबार भत्काउन बालेनलाई अमरेश सिंहको चुनौती

काठमाडौँ । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई हिम्मत भए संसद भवन र सिंहदरबार भत्काउन चुनौती दिएका छन् ।

सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद सिंहले काठमाडौं महानगरले कवाडी व्यवसायीमाथि हिटलर शैलीमा दमन गरेको भन्दै हिम्मत भए संसद भवन, सिंहदरबार र शीतल निवास भत्काएर देखाउन चुनौती दिएका हुन् ।

उनले मेयर साह हिटलर शैलीमा चलेको भन्दै आपत्ति जनाए । उनले भने, ‘काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले हिटलरको शैलीमा हिजो माघ २७ गते ११ बजे कवाडीमाथि डोजर चलाएर मजदुरहरूलाई घाइते बनाए । घाइते हुने मजदुरमा मुस्लिम पनि छन्, दलित पनि छन्, मधेसी पनि छन् । त्यो कदम आपत्तिजनक छ ।’

उनले काठमाडौँका मेयरको नाजीवाद शैली नचल्ने बताए । उनले भने, ‘म बालेन साहलाई च्यालेञ्ज गर्छु हिम्मत छ भने संसद् भवन भत्काएर देखाऊ । हिम्मत छ भने सिंहदरबार भत्काएर देखाऊ । हिम्मत छ भने रामशाहपथको सर्वोच्च अदालत भत्काएर देखाऊ । हिम्मत भए बालुवाटार र शीतलनिवास भत्काएर देखाऊ । काठमाडौँका मेयरको नाजीवाद शैली चल्दैन ।’

म्याग्दीमा सुन्तला उत्पादन २५ प्रतिशतले बढ्यो

म्याग्दी । म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन करिब २५ प्रतिशतले वृद्धि भएको छ । सुन्तला म्याग्दीमा बिक्री हुने प्रमुख कृषि उपज हो ।

गत वर्षको तुलनामा यसपाली सुन्तला उत्पादन २४ दशमलव ७० प्रतिशतले वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख सञ्जिव बाँस्तोलाले नयाँ बगैँचा विस्तार, अनुकूल मौसम र रोग कीराको समस्या नियन्त्रण भएकाले सुन्तलाको उत्पादन बढेको बताए ।

“गतवर्ष तीन हजार ६०० मेट्रिकटन सुन्तला उत्पादन भएको म्याग्दीमा यो वर्ष चार हजार ७८१ मेट्रिकटन उत्पादन भएको छ”, उनले भने “म्याग्दीका कृषकले यसवर्ष रु ३३ करोड ४६ लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन् ।”

सरदर प्रतिकिलो रु ७० का दरले सुन्तला बिक्री भएको छ । यसवर्ष प्रतिहेक्टर ११ दशमलव २५ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको केन्द्रका प्रमुख बाँस्तोलाले बताए । गत वर्ष प्रतिहेक्टर आठ दशमलव छ मेट्रिकटनका दरले सुन्तला उत्पादन भएको थियो ।

जिल्लाभर ८१० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती भएकामा ४२५ हेक्टरमा फल लाग्ने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । गतवर्ष रु २४ करोड मूल्य बराबरको सुन्तला बिक्री भएको थियो । कृषि ज्ञान केन्द्रका प्राविधिकहरुले ‘क्रप कटिङ’ विधिबाट सुन्तलाको उत्पादनको अवस्थाको बारेमा उत्पादनको अवस्था पहिचान गरेका हुन् । उत्पादन दिने बोट थपिएको र मौसमले साथ दिएकाले सुन्तला उत्पादन बढेको मङ्गला गाउँपालिका–३ दहका कृष्णलाल सापकोटाले बताए ।

राखु, मरेक, सुर्केमेला, बरंजा, भेडाबारी, अर्मन, रुन्मा, बिम, ओखरबोट, ताकम, घतान, पिप्ले, भगवती, बेग, दोवा, दोसल्ले, घार, भुरुङ तातोपानी, दाना र नारच्याङमा २०० भन्दा बढी सुन्तला बगैँचा छन् ।

जिल्ला सदरमुकाम बेनीका साथै राजधानी काठमाडौँ, पोखरा, मुग्लिन लगायतका बजारमा सुन्तला बिक्री हुने गरेको छ । यातायात सुविधा भएकाले व्यापारी सुन्तला किन्न गाडी लिएर बगैँचामै आउने गरेका छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय तहको कृषि शाखाले सुन्तलाका बिरुवा वितरण, प्राविधिक तालिम, बगैँचा व्यवस्थापन, साना सिँचाइ र बजारीकरणमा सहयोग गर्दै आएका छन् । यसवर्ष ४०० रोपनीमा सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन र थप ४० रोपनीमा खेती विस्तार गर्ने कार्यक्रम रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जापानसँगको आपसी हितलाई नेपालले उच्च महत्त्व दिँदै आएको छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा मन्त्री भण्डारीले नवनियुक्त राजदूतका रूपमा तोरुको स्वागत गर्दै नेपालले सदैव जापानसँगको आपसी हितका सम्बन्ध र सहयोगलाई उच्च महत्त्व दिइआएको बताए ।

“भूकम्पलगायत प्राकृतिक विपत्तिमा जापानी जनता, सरकार, गैरसरकारी संस्था, विश्वविद्यालयबाट प्राप्त सहयोगप्रति हामी आभारी छौँ, नेपालको सामाजिक तथा आर्थिक विकासका लागि जापान लामो समयदेखि एक महत्वपूर्ण तथा विश्वासिलो विकास साझेदारका रुपमा रहेको छ”, मन्त्री भण्डारीले भने, “हामी औद्योगिक विकास, निर्यात प्रतिस्पर्धी क्षमता विकास, कृषि, जलविद्युत्, पूर्वाधार विकासलगायत धेरै क्षेत्रमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहन्छौँ ।”

उनले मानव संसाधन विकासमा जापानले सन् २०१६ देखि जापान विकास छात्रवृत्ति (जेडिएस) योजनाअन्तर्गत विभिन्न क्षेत्रमा नेपालका सरकारी अधिकारीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्दै आएकामा जापान सरकारप्रति आभार प्रकट गरे । उनले भने, “नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा सुरुङ प्रविधिको सुरुवात गर्ने नेपालको प्रमुख कार्यक्रममा जापान नजिकको विकास साझेदार भएकामा खुसी व्यक्त गर्दछु ।”

जापान नेपालको एक महत्वपूर्ण व्यापार साझेदार तथा नेपाली वस्तुको महत्वपूर्ण गन्तव्यका रुपमा रहँदै आएको उल्लेख गर्दै उनले जापानले अति कम विकसित मुलुकलाई दिएको सामान्य ग्राह्यता प्रणालीको सुविधाबाट नेपाल पनि लाभान्वित भइराखेको बताए ।

“नेपालमा वैदेशिक लगानी प्राप्त भइरहेका मुलुकमध्ये जापान पनि एक रहेको छ, नेपालमा सूचना प्रविधि, जलविद्युत्, पर्यटन, कृषिमा आधारित उद्योगजस्ता क्षेत्रमा लगानीको प्रशस्त अवसर तथा सम्भावना रहेका छन्, नेपाल सरकारले लगानीमैत्री तथा व्यावसायिक वातावरण प्रवद्र्धन गर्न नीतिगत तथा कानुनी सुधारलाई निरन्तरता दिइरहेको विषयसमेत म महामहिममार्फत सम्पूर्ण जापानी लगानीकर्तालाई जानकारी गराउन चाहन्छु”, मन्त्री भण्डारीले भने ।

जापानीहरुका लागि नेपाल महत्वपूर्ण गन्तव्य भइरहेको र नेपालमा जापानी पर्यटकको अलग्गै प्रतिष्ठा रहेको उल्लेख गर्दै उनले जापानी नागरिकलाई नेपाल भ्रमणका लागि थप प्रोत्साहित गर्न आग्रह गरे ।

राजदूत तोरुले नेपाल र जापानबीच आगामी सन् २०२६ मा कुटनैतिक सम्बन्धका ७० वर्ष पूरा हुने उल्लेख गर्दै भविश्यका दिनमा पनि दुई देशबीचमा सम्बन्ध झन प्रगाढ हुँदै जाने बताए । प्राकृतिक प्रकोप तथा विपद्मा दुई देशबीच आपसी सहयोग आदानप्रदान भएको स्मरण गर्दै उनले आगामी दिनमा पनि जलवायु परिवर्तन एवं विपद्जन्य अवस्थामा सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

तोरुले नेपाली जनताको मौलिकता अनुसार जापान सरकारले नेपालमा उद्योग स्थापनामा सघाउने बताए । साथै उनले नेपाली वस्तुको जापानी बजारमा राम्रो माग रहेको उल्लेख गर्दै नेपाली उत्पादनको गुणस्तर र परिणाममा ध्यान दिए बजार विस्तारमा कुनै समस्या नहुने बताए । उनले नेपाली वस्तुको जापान निर्यातमा जापान सरकारबाट आवश्यक सहयोगको प्रतिबद्धता जनाए ।

टेबल भएपछि संसदबाट छलफलसहित अध्यादेश पास हुन्छन्ः महामन्त्री थापा

चितवन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको महाधिवेशन २०८४ सालको आम निर्वाचनअघि नै हुने बताएका छन् ।

सोमबार चितवनको भरतपुरमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले कानुन र पार्टीको विधानले व्यवस्था गरेअनुसार चार वर्षमा महाधिवेशन हुने बताए । 

उनले भने, ‘हामीले तोकिएको समयमा महाधिवेशन गर्नका लागि आगामी चैतभित्र पार्टीको क्रियाशिल सदस्यता टुङ्ग्याउने गरी काम गरेका छौँ, तल्लो तहका साथीहरुले त्यसलाई सहयोग गर्नुपर्यो ।’

विधानले एक वर्ष समय थप गर्नसक्ने व्यवस्था गरेको भए पनि दुई–तीन महिना तलमाथि भए पनि एक वर्ष पूरै नथपिने उनले बताए । 

‘नेपाली कांग्रेसको विधानअनुसार २०८२ सालको मङ्सिर/पुसमा चार वर्षको कार्यकाल सकिन्छ, हाम्रो प्रयास चार वर्षभित्र महाधिवेशन गर्ने थियो र अहिले पनि छ, तर पार्टीको सदस्यता वितरण र अन्य कुरा हेर्दै गर्दा ठ्याक्कै त्यही तिथिमितिभित्र हामी भ्याउँछौँ नै भनेर सम्पूर्ण रुपमा दाबी गर्ने अवस्था छैन’, उनले भने, “एक वर्षका लागि म्याद थपको सुविधा रहन्छ, सभापतिसँग बसेर सल्लाह गरिरहेका छौँ, जति समय आवश्यक पर्छ त्यति समय अघि बढाऔँ ।’

पार्टीको महाधिवेशन २०८४ निर्वाचनअघि जति महाधिवेशन अघि तान्न सक्यो त्यति हितकर हुने उनको भनाइ थियो ।

फरक प्रसङ्गमा बोल्दै उनले सरकारले ल्याएको अध्यादेश एक–दुई दिनमा संसदमा टेबल हुने बताए । टेबल भएपछि संसदबाट छलफलसहित पास हुने उनको भनाइ थियो ।

सरकारले सामाजिक सञ्जाल नियमनको विषयमा ल्याएको विधेयक आएको जसरी कानुन नबन्ने उनले स्पष्ट पारे । यो विधेयकमा धेरै समस्या रहेको भन्दै उनले  विधेयक नसच्याइ, परिमार्जन नभइ र संशोधन बिना पारित नहुने उनले बताए ।

निप्पोन स्टीलद्वारा यूएस स्टीलमा लगानी गर्ने

टोकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निप्पोन स्टिलले अमेरिकी स्टिलमा अल्पसङ्ख्यक सेयर लिन दिने सङ्केत गरेपछि जापान सरकारका उच्च प्रवक्ताले अमेरिकी स्टिलमा लगानी गर्ने प्रयासमा ‘साहसिक प्रस्ताव’ प्रस्तुत गर्ने बताएका छन्।

अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै गत महिना पद छोड्नुभन्दा केही समयअघि १४ अर्ब ९० करोड अमेरिकी डलरको सम्झौता रोकेका थिए ।

शुक्रबार ह्वाइट हाउसमा इशिबालाई भेटेका ट्रम्पले ती कम्पनीहरूले ‘खरिदभन्दा पनि लगानीतर्फ सोच्न’ आग्रह गरेका थिए ।

सन् २०२४ को राष्ट्रपतीय निर्बाचन अभियानका क्रममा अधिग्रहण प्रस्तावको चर्को आलोचना गरेका राष्ट्रपति ट्रम्पले आइतबार कम्पनीमा ‘लगानी’ गर्न अनुमति दिने बताएका हुन् ।

“युएस स्टिलमा कसैको पनि बहुमत हुन सक्दैन। उनीहरूले अन्य कम्पनीहरू किन्न सक्छन् तर यूएस स्टील होइन,” ट्रम्पले पत्रकार सम्मेलनमा भने ।

उनले भने, “लगानी गर्ने र कम्पनी नै किन्ने कुरा फरक हो । उनीहरूलाई यसमा लगानी गर्न अनुमति दिइएको छ ।”

उनले आफ्नो टोलीले निप्पोन स्टीलका अधिकारीहरूसँग ‘मध्यस्थता गर्न’ सहयोग गर्ने बताए ।

सोमबार जापानको मन्त्री परिषद्का मुख्यमन्त्री योशिमासा ह्याशीले नियमित पत्रकार सम्मेलनमा भने, “हामीले बुझेका छौं कि निप्पोन स्टिलले युयस स्टिललाई अधिग्रहणको लागि मात्र हेरिरहेको छैन।”

हयाशीले भने, “जापानले यो एक ‘साहसिक प्रस्ताव’बारे विचार गर्दैछ किनकि यो हामीले विगतमा सम्झौताका लागि तयार भएको भन्दा बिल्कुलै फरक छ । यसले संयुक्त राज्य अमेरिका र बाँकी विश्वले चाहेका उत्कृष्ट उत्पादनहरू उत्पादन गर्नेछ र अमेरिका र जापान दुवैको हित र जीतकोे स्थिति सिर्जना गर्नेछ।”

मुख्यमन्त्री हयाशीले प्रस्तावबारे विस्तृत विवरण भने दिएका छैनन् । निप्पोन स्टिलले ट्रम्पको भनाइबारे तत्काल प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ ।

जनवरीमा दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा कम माग आएसँगै गत महिनाको बेरोजगारीको दाबीमा कमी आएको सरकारी तथ्याङ्कले सोमबार देखाएको छ ।

रोजगार तथा श्रम मन्त्रालयका अनुसार गत वर्षको सोही महिनाको तुलनामा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या ७.९ प्रतिशतले घटेर जनवरीमा रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या एक लाख ८६ हजार पुगेको छ ।

गत वर्ष रोजगारीका लागि नयाँ आवेदन दिनेको सङ्ख्या अक्टोबरमा १२.४ प्रतिशत, नोभेम्बरमा २.२ प्रतिशत र डिसेम्बरमा ९.० प्रतिशतले वृद्धि भएको थियो ।

व्यावसायिक, स्वास्थ्य तथा कल्याण र सार्वजनिक प्रशासन क्षेत्रमा आवेदकहरूको कमी आएको तर निर्माण उद्योगमा यो दरमा सामान्य वृद्धि भएको छ ।

दक्षिण कोरियामा बेरोजगारहरूलाई रोजगारी खोज्न मद्दत गर्न सरकारले सहयोग प्रदान गर्छ र यो राज्यको रोजगार बिमा कोषद्वारा वित्त पोषित छ ।

जनवरीमा रोजगारीको लाभ प्राप्त गर्नेहरूको सङ्ख्या कुल छ लाख रहेको थियो र यो अघिल्लो वर्षको तुलनामा २.३ प्रतिशतले कम हो ।

रोजगारीको खोजीमा रहेका व्यक्तिहरूको कुल भुक्तानी ३.८ प्रतिशतले बढेर ९७४.७ बिलियन वोन (६७०.१ मिलियन अमेरिकी डलर) पुगेको छ ।

प्रहरीमाथि कुटपिट गरेको आरोपमा तनहुँमा चार युवा पक्राउ

तनहुँ । तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीयस्थल मानङकोटमा एक प्रहरी जवानलाई कुटपिट गरिएको छ । अस्थायी प्रहरी चौकी मानुङकोटमा कार्यरत प्रहरी सुनिल कार्कीमाथि कुटपिट भएको हो ।

कुटपिट घटनामा संलग्न चार युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा व्यास–४ निवासी रोशन गुरुङ, जेम्स गुरुङ, सुजल गुरुङ र व्यास–१ निवासी सुदीप विक रहेको प्रहरीले जनाएको छ । शनिबार राति २ बजेको समयमा मानुङकोटमा झडप भएपछि सुरक्षाका लागि खटिएका प्रहरीमाथि हातपात भएको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए ।

उनीहरुविरुद्व आइतबार अभद्र व्यवहार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

संसदबाट अध्यादेश स्वीकृत हुँदैनः अध्यक्ष प्रचण्ड

जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार संविधान नै खारेज गर्न लागि परेको आरोप लगाएका छन् ।

सोमबार जनकपुरधाममा संचारकर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको संविधान नै खारेज गर्न उद्दत रहेको आरोप लगाएका हुन् ।

उनले भने, ‘हामीले अनेकौपटक भनिनै सकेका छौं । उहाँले त आन्दोलन परिवर्तन सबै बर्बाद होस्, संविधान नै खारेज गर्न चाहने हो नि त हाम्रो अहिलेको प्रधानमन्त्री त ।’

अध्यक्ष प्रचण्डले यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि त्यही भएको दाबी गरे ।

उनले आफूले मधेसी जनताको माग बमोजिम दुईपटक संविधान संशोधनको प्रस्ताव लैजाँदा रोक्ने पनि वर्तमान प्रधानमन्त्री ओली नै रहेको बताए । ‘मैले मधेसी जनताका लागि दुईपटक संसदमा संविधान संशोधनको प्रस्ताव लगेको हो । तर, केपी ओली त्यस्ता नेता हुन् जसले रोके’, उनले भने ।

प्रचण्डले जनता समाजवादी पार्टी नेपाल मन्त्री र सरकारको लोभमा अध्यादेशको पक्षमा नजाने र अध्यादेश स्वीकृत नहुने दाबी समेत गरे ।

प्रचण्ड महोत्तरीको बर्दिबास नगरपालिका– ३ मा रहेको आधारशिला (कम्युन)को २२ औं वार्षिकोत्सवलाई सम्बोधन गर्न पुगेका छन् ।

आधारशिला माओवादी नेता–कार्यकर्ताको सामूहिक वसोवाससहितको संस्था हो । माओवादी उपमहासचिव गिरिराजमणि पोखरेल नेतृत्वको यो संस्थामा एक दर्जन भन्दा धेरै परिवारको सामूहिक बसोबास छ ।

वार्षिकोत्सवको अवसरमा हुन लागेको वैचारिक तथा सांस्कृतिक समारोहलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको आधारशिलाले जनाएको छ ।

आजै जनकपुरमा हुने माओवादीको मधेस प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकलाई पनि प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँ कायम

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक लाख ६९ हजार छ सय रुपैयाँ तोकिएको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अघिल्लो दिन प्रतितोला एक लाख ६८ हजार दुई सयमा कारोबार भएको सुन सोमबार प्रतितोला एक हजार चार सय रुपैयाँले बढेको हो ।

त्यस्तै सोमबारका लागि चाँदीको कारोबार मूल्य प्रतितोला एक हजार नौ सय ७५ रुपैयाँ तोकिएको छ । आइतबार सोही परिमाण चाँदी एक हजार नौ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

नेपालमा सुन तथा चाँदीको मूल्य अन्तर्राष्ट्रिय बजारमा हुने कारोबार मूल्यका आधारमा घटबढ हुने गरेको छ । हाल अन्तराष्ट्रिय बजारमा सुन प्रतिऔँस दुई हजार आठ सय ७९ अमेरिकन डलर आसपास कारोबार भइ रहेको छ ।

यो सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था छैनः पूर्वप्रधानमन्त्री खनाल

विराटनगर । नेकपा (एकीकृत समाजवादी) का सम्मानित झलनाथ खनालले आफ्नो पार्टीका तर्फबाट ल्याइएका नीति तथा कार्यक्रम देश र जनताका पक्षमा रहेको बताएका छन् ।

विराटनगरमा सोमबार बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले अन्य पार्टीका भन्दा एकीकृत समाजवादीको नीति तथा कार्यक्रम राम्रो रहेको दाबी गरे ।

खनालले वर्तमान सरकार ढालेर अर्को जनमुखी सरकार निर्माण हुने अवस्था नरहेको स्पष्ट गरे । उनले भने, “वामपन्थीहरु अब टाउको गनेर होइन, नीति तथा कार्यक्रमको आधारमा मिल्नुपर्छ, देश र जनताका पक्षमा देखिने गरी काम गर्नुपर्छ ।”

खनालले दिगो विकाससहित समृद्धिको दिशामा मुलुकलाई लैजानका लागि आधुनिक कृषि प्रणाली र उद्योग क्षेत्रलाई प्राथमिकता दिनुपर्ने खाँचो औँल्याए ।

वर्तमान संविधानको सिंहावलोकन गर्नुपर्ने समय आएको उल्लेख गर्दै उनले सम्झौताका आधारमा ल्याइएको वर्तमान संविधानमा भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने बताए।

सार्वजनिक सेवा प्रवाह र विकास निर्माणलाई अनुसन्धान कार्यले हतोत्साही नबनाओस् भन्नेतर्फ सचेत छौंः प्रमुख आयुक्त राई

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सुशासन प्रवद्र्धन गरी भ्रष्टाचार नियन्त्रण गर्न आयोगले विविध रणनीतिका साथ सकारात्मक पहलकदमी लिइएको बताएका छन् ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसका अवसरमा सोमबार आयोजित समारोहलाई सम्बोधन गर्दै प्रमुख आयुक्त राईले सार्वजनिक सेवा प्रवाह र विकास निर्माणलाई अनुसन्धान कार्यले हतोत्साही नबनाओस् भन्नेतर्फ सचेत रहँदै अनुसन्धान पद्धतिमा निरन्तर सुधार गरिरहेको स्पष्ट पारे ।

प्रमुख आयुक्त राईले सूचना प्रविधिको उपयोग गरी सार्वजनिक सेवा प्रवाहलाई थप अनुमानयोग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकरको प्रयास भए पनि यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमनलगायत सङ्घीय कार्यालयको सेवा प्रवाह जनअपेक्षाअनुरूप प्रभावकारी हुन नसकेको बताए ।

“प्रदेश र स्थानीय सरकारबाट प्रदान गरिने सेवा झन् जटिल र खर्चिलो हुन गई जनताले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था छ”, उनले भने, “नागरिकलाई सरल र सहज सेवा दिनका लागि थप सुधारका उपाय अवलम्बन गर्न आवश्यक देखिएको छ ।”

प्रमुख आयुक्त राईले सार्वजनिक स्रोत र राज्य शक्तिको प्रयोग गर्ने पदाधिकारीमा सदाचार संस्कृतिको विकास गर्न सचेतना, प्रचारप्रसार र सहकार्यको रणनीतिसमेत आयोगले अवलम्बन गरेको बताए ।

सुशासन स्थापनाका लागि हरेक नागरिक परिवर्तनको संवाह र सरकार नेतृत्वकर्ता हो भन्दै उनले नागरिक तहबाट आएको चासोलाई सम्बोधन गरी सशुासनको अवस्था सुधार गर्न सरकारको अगुवाइमा नै विशेष अभियान सञ्चालन गर्न आवश्यक रहेको बताए । 

प्रमुख आयुक्त राईले पारस्पिरिक कानुनी सहायता ऐन र सुपुर्दगी ऐनजस्ता महत्त्वपूर्ण कानुन कार्यान्वयन भए पनि सम्बन्धित मुलुकसँग द्विपक्षीय सम्झौता हुन नसक्दा मुलुक बाहिर हुने गरेको भ्रष्टाचारसम्बन्धी लेनदेनका विषयमा पारस्पारिक कानुनी सहायतामार्फत आवश्यक तथ्य सङ्कलन गर्न समस्या देखिएकाले आयोगको अनुसन्धान कार्यमा कठिनाइ आइपरेको बताए ।

उनले सम्बद्ध मुलुकसँग पारस्परिक कानुनी सम्झौता गरी सम्पत्ति शुद्धीकरण निवारणमा सकारले शीघ्र पलहदमी लिने विश्वास व्यक्त गरे । 

सत्ता र शक्ति प्राप्तिको अनावश्यक मोहले मानिसलाई भ्रष्टाचारतर्फ लैजान्छः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा समेत जटिलता थपिएको बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ स्थापना दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भ्रष्टाचारका प्रकृति र स्वरुप जसरी परिवर्तन भइरहेको छ त्यस अनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकिकरण गर्नुपर्ने बताए ।

उनले सत्ता र शक्ति प्राप्तिको अनावश्यक मोहले जिम्मेवारीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ लैजाने बताए । उनले भने, ’सूचना प्रविधिको तीव्र विकास र प्रयोगसँगै भ्रष्टाचारका तरिका र प्रवृत्तिमा समेत जटिलता थपिएको छ । भ्रष्टाचारका प्रकृति र स्वरुप जसरी परिवर्तन भइरहेको छ, त्यसअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्दै आधुनिकिकरण गर्दै जानुपर्छ ।’

राष्ट्रपति पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने बताए । सुशासनप्रतिको उच्च आकांक्षालाई पूरा गर्दै देशको हित र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता र पारदर्शितालाई मूलमन्त्र बनाएर काम गर्नुपर्ने उनको भनाई छ ।

राष्ट्रपति पौडेलले भने, ‘भ्रष्टाचारसम्बन्धी विधेयकहरू लामो समयसम्म किनारा नलाग्दा पनि केही समस्या आएको गुनासो आइरहेको भन्दै ‘यसमा सम्बद्ध पक्षको म ध्यानाकर्षण गराउन चाहन्छु । भ्रष्टाचार नियन्त्रणसम्बन्धी अन्तराष्ट्रिय महासन्धीको नेपाल पनि पक्षधर मुलुक भएकाले त्यसमा उल्लेखित प्रावधान अनुरुप हाम्रा कानुन र संयन्त्र परिमार्जन गर्न आवश्यक छ भन्ने पनि मलाई लाग्दछ ।’

सुशासन, सामाजिक न्याय र समृद्धिको अवधारणालाई मूर्तरुप दिन सबै प्रकारका भ्रष्टाचारलाई छानबिनको दायरामा ल्याउनुपर्ने भन्दै आयोगले शक्ति र पद हुँदैमा जोकोही कानुनी जवाफदेहीताबाट मुक्त हुँदैन भन्ने विश्वास आम नागरिकमा जागृत गराउन सक्नुपर्ने बताए ।

खुवा बिक्री गरेर मासिक एकलाख आम्दानी

मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन् । उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ ।

खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गर्थे। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनी बताउँछन् ।

खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले आजभोलि दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन् । उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुने गर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका उनले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानीसमेत गरेका छन् ।

उनले भने, “ खुवाको लागि भैँसीको दूध आवश्यक पर्छ सोहीअनुरूप किसानलाई रु दश लाख लगानी गरिसकेको छु ।”

परम्पराभन्दा आधुनिकता तर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् । खुवाको हब बन्दै गएको चुच्चे खोलामा हेर्दा पनि आकर्षण तरिकाको पसल उनको छ । पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोही अनुरूप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उनको भनाइ छ ।

खुवा पेसा सममालेदेखि उनले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएकोसमेत बताए । खुवासँगै खाजा नास्ता लगायतबाट मासिक रु दश लाखको कारोबार हुने गरेको श्रेष्ठले बताए । मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ । आफूसँगै परिवारलाई पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए ।

खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रो, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए । कान्तिलोक पथ भएर हिँडने यात्री र खुवाको पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आर्कष्ण गर्ने गरेको छ । खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन् ।

अमेरिकी सामानमा चीनको जवाफी आयात शुल्क लागु

बीबीसी । चीनले वाशिङटनका पछिल्ला निर्णयको जवाफमा केही अमेरिकी सामानहरूमा तोकेको आयात कर सोमबारदेखि लागु भएको छ । विश्वका दुई ठूला अर्थतन्त्रबीच व्यापार युद्ध बढ्दै गएको र अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कैयौँ देशहरूमा आयात शुल्क लगाउने धम्की दिइरहँदा बेइजिङको निर्णय कार्यान्वयनमा आएको हो । बेइजिङले फेब्रुअरी ४ मा यस्तो योजना घोषणा गरेको थियो।

अमेरिकाले सबै चिनियाँ उत्पादनहरूमा १० प्रतिशतले नयाँ आयात शुल्क लागु भएको केही मिनेटमै चीनले त्यस्तो घोषणा गरेको थियो । ट्रम्पले आइतबार सबै स्टील र एल्यूमिनिअममा अमेरिकामा २५ प्रतिशत आयात शुल्क लगाउने बताएका छन् जसको पूर्ण घोषणा सोमबार हुँदैछ ।

सुपर बोल प्रतियोगिता हेर्न जाने क्रममा एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै उनले अन्य राष्ट्रहरूमा उनीहरूलेजस्तै आयात शुल्क लगाउने योजना रहेको बताए । अमेरिकी सामानमा लगाइने चीनको पछिल्लो आयात शुल्कमा अमेरिकी कोइला र लिक्विफाइड प्राकृतिक ग्यास उत्पादनका आयातमा १५ प्रतिशत सीमा कर समावेश छ ।

त्यसबाहेक अमेरिकी कच्चा तेल, कृषि मसिनरी र ठूला इन्जीनका कारहरूमा पनि १० प्रतिशत आयात शुल्क छ ।

गत साता चिनियाँ अधिकारीहरूले प्रविधि कम्पनी गुगलको एकाधिकार विरुद्धको एक अनुसन्धान सुरु गरेका छन् । त्यसैगरी डिजाइनर ब्रान्ड केल्भिन क्लाइन र टमी हिलफिगरको अमेरिकी स्वामित्व कम्पनी पीभीएसलाई समेत बेइजिङको कथित ‘अविश्वसनीय वस्तु’ सूचीमा समावेश गरिएको छ ।

चीनले २५ वटा दुर्लभ धातु निर्यातमा नियन्त्रण गरेको छ। ती मध्येका केही कैयौँ विद्युतीय उत्पादन र सैन्य उपकरणका लागि अहम् मानिने सामग्री हुन्।

ट्रम्पले सप्ताहन्तमा अमेरिकाले गर्ने स्टील तथा एल्यूमिनिअम आयातमा २५ प्रतिशत कर लगाउने योजनाको घोषणा गरेका थिए । त्यसको केही दिनअघि उनले क्यानडा र मेक्सिकोसँग ती देशका सबै सामानमा २५ प्रतिशत आयात शुल्क लगाउने घोषणाबाट पछि हटेका थिए।

कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, दुई जना पक्राउ

धनगढी । कैलालीमा १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकाकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार गरेको आरोपमा सोही गाउँपालिकाका ४४ वर्षीय गोपाल बिक र १६ वर्षीय किशोरलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार घटना २६ माघको हो । उनले माघ २७ गते आफ्नी बहिनीमाथि सामूहिक बलात्कार भएको भन्दै पीडितकी दिदीले प्रहरीलाई खबर गरेको जानकारी दिए ।

गोपाल बिकले मासु पकाएर ल्याइदिन भन्दै बोलाएपछि बालिका मासु लिएर बिकको पसलमा पुगेकी थिइन् । सोही क्रममा उनीहरूलाई पसलको कोठामा लगेर बलात्कार गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

१२ वर्षपछि नगदेशमा पुलिकिसी जात्रा 

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ नगदेशमा १२ वर्षपछि आइतबार साँझ सुरु भएको ऐतिहासिक पुलिकिसी जात्रा  सम्पन्न भएको छ ।

हरेक वर्ष भीमाद्वादशीको दिन मनाइने स्वस्थानी व्रत कथामा आधारित पुलुकिसी जात्रा आर्थिक अभावलगायत विभिन्न कारणले रोकिएकोमा स्थानीयको अगुवाइमा १२ वर्षपछि यसवर्ष सुरु गरेको स्थानीय विनोद कोजूले जानकारी दिए  ।

जात्रा नगदेशको लाछिटोलस्थित सिद्धिगणेश मन्दिर प्राङ्गणबाट सुरू भई वाननी, छ्वास, ध्वाकसि, त्वागा, न्यागाचालगायतका टोलमा परिक्रमा गरि  मनाइएको हो । श्री स्वस्थानी व्रत कथा अनुसार हात्तीले राजकुमारको रुपमा ब्राम्हणपुत्र नवराजलाई छान्ने कथालाई यस पुलुकिसी जात्राले जीवन्त दिँदै आएको उनले बताए ।

यसवर्ष समितिले स्थानीय एलिस बाडेलाई राजकुमारको रुपम प्रस्तुत गर्दै हात्तीमा (पुलुकिसी)मा सवार गराई टोलटोलमा पुर्याइ जात्रा चलाइएको हो । राजकुमार बन्नेले सबैलाई भोज खुवाउनुपर्ने परम्परा रहेको र भोज खुवाउँदा धरै खर्च हुने भएपछि जात्रा रोकिएको स्थानीयको भनाइ छ ।

यसवर्ष समितिको छलफलबाट एलिसलाई राजकुमारको रुपमा प्रस्तुत गरिएको हो । जात्रा सुरु हुनु अगाडि आइतबार साँझ नगदेशको लाय्कुस्थित सिद्धि गणेश मन्दिर परिसरमा  स्थानीयलाई भोज खवाएर पछि पुलुकिसी जात्रा सुरु भएको थियो ।

राजकुमार छनोट भएको खुसियालीमा भोजभतेर गर्दै नगदेशवासीले यो जात्रा मनाउने गरेको स्थानीयको भनाइ छ । यसपर्व मनाउनेक्रममा सुयोग्य बरबधुको मनोकाक्षा राख्दै युवापिँढीहरुले पनि व्रत बस्ने परम्परा रहेको छ ।

नगदेश लाय्कु दरबार समितिका सदस्य भाइजन बाडेले काठमाडौँ र भक्तपुर नगरमा पुलुकिसी जात्रा इन्द्रजात्राको सन्दर्भमा मनउने गरिए पनि नगदेशमा भने स्वस्थानी व्रत कथामा आधारित रहेर यो जात्रा मनाउने गरिन्छ ।