`

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०८०–८१’ पेस गर्ने कार्यसूची रहेको छ ।

सभामा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदनसहितको सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

यस्तै अर्थमन्त्रीले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

ठमेलमा प्रहरी कुटपिटमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ

काठमाडौं । काठमाडौंको ठमेललस्थित सडकमा माघ २४ गते ड्युटीमा रहेका दुईजना प्रहरीलाई कुटपिट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

‘क्विक रेस्पोन्स टीम’ (क्युआरटी) का दुईजना प्रहरीमाथि मध्यरातिे नेकपा एमालेनिकट अनेरास्ववियुका कार्यकर्ताहरूले कुटपिट गरेका थिए । कुटपिटमा संलग्न ताप्लेजुङका २५ वर्षीय दिनेश सिग्देल र दार्चुलाका २६ वर्षीय रमेश फुलारा पक्राउ परेका छन् ।

उनीहरू दुवैजना अमृत साइन्स क्याम्पसका विद्यार्थी हुन् । ६–७ जनाको समूह सडकमा अपशब्द बोल्दै हिँडिरहेका बेला सम्झाउन खोज्दा प्रहरीलाई कुटपिट गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

उनीहरुले ड्यूटीका प्रहरीलाई लडाएर कुटपिटपछि लौरोसमेत फ्याँकिदिएको खुलेको छ । उनीहरुले प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टलाई कुटपिट गरेका प्रहरीले जनाएको छ ।

उनीहरू दुवैजनालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट ५ दिनको म्याद लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

कुटपिटका मुख्य योनजनाकार भनिएका अनेरास्ववियुकै नेता कमल जोशीसहित अझै ५ जना फरार रहेको प्रहरीले जनाएको छ । उनीहरुको कुटपिटबाट घाइते भएका उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

माओवादीले तोक्यो नेताहरुको जिम्मेवारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले पार्टीका नेताहरूको कार्यविभाजन गरेको छ । माघ २१ गते बसेको पदाधिकारी बैठकले पार्टी पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्मको जिम्मेवारी तोकेको हो । आइतबार जारी भएको अन्तरपार्टी निर्देशनअनुसार अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले दुई विभाग आफैसँग राखेका छन् ।

उनले पार्टीको वैचारिक राजनीतिक क्षेत्रको संयोजक र स्कुल विभाग प्रमुखको जिम्मेवारी राखेका हुन् । यस्तै वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ अन्तर्राष्ट्रिय विभाग प्रमुख भएका छन् । यो विभागमा उपाध्यक्ष पम्फा भुसाल र सचिव सुरेन्द्र कार्कीले उपप्रमुखको जिम्मेवारी पाएका छन् ।

उपाध्यक्ष कृष्णबहादुर महरालाई राज्य व्यवस्था मामिला, उपाध्यक्ष अग्निप्रसाद सापकोटालाई मानव संसाधन तथा सामाजिक क्षेत्र, पम्फा भुसाललाई समावेशी तथा सामाजिक न्याय क्षेत्रको जिम्मेवारी तोकिएको छ । यसैगरी महासचिव देवप्रसाद गुरूङले संघीय मामिला क्षेत्रको संयोजकको जिम्मेवारी पाएका छन् ।

उपमहासचिव वर्षमान पुनलाई आर्थिक क्षेत्रको संयोजक तोकिएको छ । अर्का उपमहासचिव जनार्दन शर्माले भने संगठन विभाग प्रमुखको जिम्मेवारी पाएका छन्।

सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीलाई उद्योगमन्त्रीको निर्देशन

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कर्मचारीहरूले सुशासन कायम गर्नमा विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी सङ्गठन, उद्योग, वाणिज्य तथा आपूर्ति विभागीय समितिको १२औँ अधिवेशन उद्घाटन समारोहमा मन्त्री भण्डारीले कर्मचारी सङ्गठनले सुशासन, पारदर्शिता र जबाफदेहिताको पैरवी गर्नुपर्ने बताएका हुन् ।
कर्मचारीहरू आफ्नो जिम्मेवारीमा प्रतिबद्ध र वफादार भए मात्रै देशको अर्थतन्त्र सुधार हुने बताउँदै उनले अनलाइन प्रणालीबाट कार्य सम्पादन गर्नुपर्नेमा जोड दिए ।

सेवाग्राहीले लाइन बसेर सेवा लिने प्रवृत्ति हटाउनुपर्ने मन्त्री भण्डारीको भनाई छ । उनले भने, ‘अब लाइन होइन अनलाइन भनेर बुझ्नुपर्छ, जो कर्मचारीलाई प्रविधिको उच्चतम प्रयोग गरेर अनलाइन प्रणामीमा काम गर्दा अप्ठ्यारो लाग्छ उसले अन्यत्र जानका लागि तयारी गर्नुस् ।’ मन्त्रालय मातहतकै केही निकायका कर्मचारीहरूलाई अटोमेशन प्रणाली चित्त नबुझेकोमा असन्तुष्टि व्यक्त गरे । सरकारले तय गरेको पूर्ण अटोमेशन प्रणाली प्रयोगमा ल्याउन कर्मचारीहरूलाई उनले निर्देशन दिए ।

मन्त्री भण्डारीले केही कर्मचारीहरू आफ्नो व्यक्तिगत लाभका लागि सङ्गठनमा आबद्ध हुने गरेको बताए । उनले भने, ‘ केही कर्मचारीहरू सङ्गठनको मर्म, भावना, मूल्य र मान्यता विपरीत गलत कर्मबाट जोगिनका लागि सङ्गठनको साथ लिने गरेको पाइन्छ, पहिला यो प्रवृत्ति प्रर्ण रूपले हटाउनुस्, त्यसपछि सङ्गठनमा आबद्ध हुनुस् ।’

मन्त्री भण्डारीले कर्मचारीहरूको सङ्गठनलाई धुमिल स्थितिबाट उज्यालो अवस्थामा पुर्याउनका लागि सङ्गठनमा कामगर्न आग्रह गरे । सङ्गठनको अवधारणा, औचित्य, मर्म र भावनालाई अब्बल राख्नुपर्नेमा उनको जोड रहेको छ ।

थ्रीस्टार आहा ! रारा गोल्डकपको सेमिफाइनलमा

गण्डकी । पोखरामा जारी २४ औं आहारारा पोखरा गोल्डकपमा थ्रीस्टार सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार पोखरा रंगशालामा भएको खेलमा थ्रीस्टारले मछिन्द्रलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै अन्तिम ४ मा प्रवेश गरेको हो ।

निर्धारित र थप समयमा खेल गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । जसमा थ्रीस्टारले बाजी मार्यो ।

वैकल्पिक गोलकिपर सरिन जिसीको एक पेनाल्टी बचाएपछि थ्री स्टारले मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै २४औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अब थ्री स्टारले थण्डरबोल्ट नर्थ युनाइटेड र ब्ल्याक बुल्स एसपीबीच हुने अन्तिम क्वाटरफाइनलको विजेतासँग खेल्नेछ ।

पेनाल्टीमा थ्री स्टारका चारै खेलाडीले गोल गरे भने मछिन्द्रका दुई खेलाडीले मात्र गोल गरे । थ्री स्टारका लागि दिपेश घले, फोडे फोफाना, विराज महर्जन र लक्ष्मण रुचालले गोल गरे ।

मछिन्द्रका लागि दिवाकर चौधरी, सनिश श्रेष्ठले गोल गरे भने विशाल घलानको प्रहार बारमा लागेर फर्केयो भने आदित्य शाक्यको प्रहारलाई गोलकिपरले रिकिदिए ।

मछिन्द्र प्रिक्वाटर फाइनलमा विभागीय टोली एपीएफ एफसीलाई हराउँदै क्वाटरफाइनल पुगेको हो भने थ्री स्टारले बाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । थ्रीस्टार ५ पटकको आहारारा गोल्डकपको च्याम्पियन टोली समेत हो । मछिन्द्रले भने अहिलेसम्म पोखरामा उपाधि जित्न सकेको छैन । सोमबार चर्च व्याइज र आर्मीबीच खेल हुनेछ ।

गृहमन्त्री र पाथीभरा केबलकारको आन्दोलनरत पक्षबीच सोमबार वार्ता हुने

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारका बारेमा आन्दोलनरत पक्षसँग सोमबार वार्ता गर्ने भएका छन् ।

नेकपा एमालेका सचिव योगेश भट्टराईले सोमबार साँझ ६ बजे आन्दोलनरत पक्षसँग गृहमन्त्री लेखकले भेटको समय दिएको जानकारी दिएका छन् ।

भट्टराईले आन्दोलनरत पक्षलाई सरकारले तोकेको वार्ता समितिसँग छलफललाई निरन्तरता दिएर वार्तामार्फत समस्याको समाधान गर्न आग्रह गरेका छन् । भट्टराईले भनेका छन्, ‘उहाँहरूले माननीय गृहमन्त्रीज्यू समक्ष भेटेर आफ्ना कुरा राख्न चाहनु भएको र त्यसको समन्वयका लागि मलाई अनुरोध गर्नु भए अनुरूप मैले गृहमन्त्रीज्यूलाई अनुरोध गरें । माननीय गृह मन्त्रीज्यूले भोलि माघ २८ गते साँझ ६ बजे भेटघाटको समय दिनु भएको जानकारी गराउँदछु ।’

आन्दोलनरत पक्ष र सरकारको वार्ता टोलीबीच आइतबार पनि वार्ता भएको थियो । तर आन्देलनरत पक्षले गृहमन्त्रीसँगै वार्ता गर्न खोजेपछि निष्कर्षविहीन भएको थियो ।

कांग्रेस र एमाले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आधार तयार गर्नबाट चुकेः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस र एमाले संविधान संशोधनका लागि नभई सत्ताका लागि एक भएको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा संविधान निगरानी समूह र रणनीतिक तथा सामाजिक–आर्थिक अनुसन्धान संस्था(आइएसएसआर)को संयुक्त आयोजनामा भएको कार्यक्रममा प्रचण्डले दुई दलले संविधान संशोधन नचाहेको बताएका हुन् ।

उनले ६ महिना शासन गरेपछि प्रधानमन्त्रीले २०८७ मा संविधान संशोधन गर्ने भन्नु त्यसैको उदाहरण भएको बताए । प्रचण्डले वृहत् शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग संशोधनकाबारेमा कुनै छलफल नगरेकोमा असन्तुष्टि जनाए ।

उनले अब पश्चगामी दृष्टिकोण राखेर वा २०४७ तिर फर्किएर संविधान संशोधन हुन नसक्ने बताए । उनले भने, ‘कांग्रेस र एमालेले वृहत शान्ति सम्झौता र अन्तरिम संविधान बनाउने पक्षधरसँग कुनै छलफल गरेका छैनन् । पश्चगामी दृष्टिकोण राखेर वा २०४७ तिर फर्किएर संविधान संशोधन हुनै सक्दैन।’

अध्यक्ष प्रचण्डले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको आधार तयार पार्नुपर्नेमा एमाले र कांग्रेस चुकेको बताए ।

उनले जनतामा बढ्दै गएको निराशा र असन्तुष्टिले आन्दोलनको आवश्यकता भएको हो कि भन्ने आफूलाई लाग्न थालेको बताए ।

उनले भने, ‘जनतामा असन्तुष्टि र निराशा बढेको बढ्यै छ । युवामा देखिएको निराशा हेर्दा, दलहरूले संविधान मिचिरहेको देख्दा यो प्रश्न मानिसहरूको मनमा आउँदैछ भन्ने लाग्न थालेको छ ।’

पछाडि फर्कन चाहने सोच भएकाहरू मुलुकमा हावी भइरहेको भन्दै प्रचण्डले संविधानले दिएका अधिकार कार्यान्वयन हुन नदिने अवस्था सिर्जना गरेर असन्तुष्टि बढाइएको बताए ।

घिमिरे बने ‘के वान वर्ल्ड म्याक्स’ च्याम्पियन

काठमाडौँ । ‘हिमचितुवा’ उपनामले चिनिने नेपाली किक बक्सर अविरल घिमिरेले किक बक्सिङ क्षेत्रमा एकपछि अर्को कीर्तिमान बनाउन सफल भएका छन्। ‘के वान प्रोफेसनल किक बक्सिङ’द्वारा जापानको टोकियो सहरस्थित नेशनल योयोगी स्टेडियममा आइतबार आयोजित ‘के वान वर्ल्ड म्याक्स २०२५’ प्रतियोगितामा जापानका बक्सर यसुहितो सिरासुलाई ढाल्दै विजयी भएका छन्।

कात्तिक ११ मा इन्टरनेशनल स्पोर्टस् किक बक्सिङ एशोसिएशनद्वारा जापानको नागोया सहरस्थित नागोया कंग्रेस सेन्टरमा आयोजित ‘इन्टरनेशनल किक बक्सिङ’ (इस्का) प्रतियोगितामा बक्सर घिमिरेले प्रतिद्वन्द्वी फ्रान्सका एन्टोनिन मार्कोनीलाई ढाल्दै ‘वर्ल्ड च्याम्पियन’ भएका थिए।

उक्त सफलतासँगै बक्सर घिमिरे के वान किक बक्सिङमा तीन खेल जित्दै, इस्का र हिट किक बक्सिङ प्रतियोगिताको विश्वविजेता खेलाडी बन्न सफल भएका छन्।

म्याक्सको उपाधि चुमेपछि बक्सर घिमिरेले जितका लागि पिता तथा मुख्य प्रशिक्षक देव घिमिरे, प्रशिक्षण लिइरहेको सिमुरा डोजो, हलसम्म आएर हौसला प्रदान गर्ने नेपाली, कोरियन तथा जापानी खेलप्रेमीलाई धन्यवाद दिएका छन्।

बक्सर घिमिरेले ‘के वान वल्र्ड म्याक्स २०२५’ प्रतियोगितामा जित निकाल्ने क्रममा तेस्रो राउण्डमा प्रतिस्पर्धी सिरासुलाई पराजित गरेका हुन्।

हालसम्म फ्रान्स, जापान, दक्षिण कोरिया, ब्राजिल, बोलिभिया, नेदरल्याण्डस्, थाइल्याण्डलगायत देशका बक्सरलाई पराजित गरिसकेका चर्चित खेलाडी घिमिरेले पुनः अर्को अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली झण्डा फहराउँदै विश्वमा नेपालको पहिचान बनाउन सफल भएका हुन्।

उनी जापानको नागोया सहरमा पिता देव घिमिरेको विशेष प्रशिक्षणमा रहँदै आएका छन्। उनी पिता देव पूर्वअन्तर्राष्ट्रिय किक बक्सर तथा फुल कन्ट्याक करातेका खेलाडी छन्। उनले प्रतियोगितामा भाग लिनुपूर्व थाइल्याण्डको टाइगर मुवाथाइ क्लबमा एक महिनाको विशेष प्रशिक्षण लिएका थिए।

बक्सर घिमिरेका पिता देव सन् २००४ मा कोरियाको सोलमा सम्पन्न ‘के वान प्राफेसलन किक बक्सिङ प्रतियोगिता’ मा करातेतर्फ सहभागी हुने पहिलो दक्षिण एसियाली खेलाडी छन्। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारा बलम्बू निवासी उनको परिवार हाल जापानको नागोया सहरमा बसोबास गर्दै आइरहेको छ।

सगरमाथा संवादको तयारी गर्दै प्रधानमन्त्री

काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमका सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार तयारी बैठक सम्पन्न भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकले संवादको समग्र मार्गदर्शनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको संयोजकत्वमा संवादको कार्यकारी समिति गठन गर्ने विषयमा छलफल भएको छ। यस्तै, कार्यक्रम आयोजनाका लागि कार्यकारी समिति र सचिवलाय गठन गर्ने तयारी भएको छ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडालगायत सहभागी बैठकमा संवादको संयोजनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवालय रहने प्रस्ताव गरिएको छ।

संवाद कार्यक्रमका लागि छिमेकी मुलुक भारत, चीन तथा दक्षिण एसियाली मुलुकका राष्ट्रप्रमुख वा सरकार प्रमुुखसहितलाई विशेष अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी भएको छ।

आयोजना सफल बनाउन राष्ट्रिय र अन्तर्राष्ट्रिय सञ्चारमाध्यमबाट समेत प्रचारप्रसार गराउने तयारी भएको छ। कार्यक्रमबारे सरकारले आजैदेखि ‘सगरमाथा संवाद डटकम’ वेबसाइट सञ्चालनमा ल्याएको छ।

मुख्य कार्यक्रमको तयारीलाई भव्य तुुल्याउन समावेशी प्रतिनिधित्व हुनेगरी महिला तथा बालबालिका, ज्येष्ठ नागरिक, युवा, जनजाति, सीमान्तकृत क्षेत्र र वर्गको सहभागितामा पूर्व कार्यक्रम (प्रि–इभेन्ट) आयोजना गर्ने प्रस्ताव पनि गरिएको छ।

संवादका अवसरमा नेपालको पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्ड, नेपाल उद्योग वाणिज्य महासङ्घलगायत निजी क्षेत्रको सहकार्यमा साइडलाइन इभेन्टहरू तथा प्रदर्शनी गर्ने तय भएको छ। यो अन्तर्राष्ट्रिय संवाद कार्यक्रमले समाजका सबै पक्ष र तिनै तहका सरकारलाई जोड्ने लक्ष्य लिएको छ।

यही माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा प्रधानमन्त्री ओलीले सो संवाद कार्यक्रम काठमाडौँमा गर्ने घोषणा गरेका थिए। सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानवजीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको हो।

राजनीतिमा युवालाई प्रोत्साह गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिनुपर्छः बाबुराम भट्टराई

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का संयोजक डा बाबुराम भट्टराईले महाधिवेशनमार्फत नयाँ शक्तिलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्ने बताएका छन् ।

आइतबार पार्टीको प्रदेश राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उनले देशलाई आर्थिक समृद्धिको दिशामा अगाडि बढाउन नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण जरूरी रहेको खाँचो औँल्याए ।

“महाधिवेशनले नयाँ राजनीतिक शक्तिहरूलाई जोडेर मूल धारमा लैजाने बाटो तय गर्नेछ”, डा भट्टराईले भने, “नयाँ युगमा नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूबीच गोलमेच सम्मेलन र विचार विमर्श हुन जरूरी छ ।”

पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता भट्टराईले वैकल्पिक शक्तिहरूलाई मिलाएर रूपान्तरणकारी राजनीतिक यात्राका लागि नीति, विचार र सङ्गठनसहितको अभियान थालनी गरिने उल्लेख गरे ।

महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक दस्तावेदमा नयाँ युगको नयाँ विचार र वैकल्पिक राजनीतिको औचित्य पुष्टि गर्दै डिजिटल प्रविधि र एआइ प्रविधिसहित आगामी यात्रा तय गर्ने उनको दाबी छ ।

डा भट्टराईको राजनीतिक दस्तावेदमा आर्थिक समृद्धिको मुद्दालाई पहिलो नम्बरमा राखिएको छ । देशको विकास र समृद्धि नहुनाका कारण निरपेक्ष गरिबी, आर्थिक समस्यालाई दस्तावेजले किटान गरेको छ । देशभित्र रोजगारी सिर्जना गर्ने वातावरण बनाउने, युवा पलायन रोक्ने र जनताको सहभागितामा मुलुकको विकास र समृद्धिको यात्रा तय गर्ने दस्तावेजमा भनिएको छ ।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डिपी अर्यालले वैशल्पिक शक्तिहरूको सहकार्यबाट राष्ट्रिय समृद्धिको आकांक्षा पूरा गराउनेतर्फ सबै सक्रिय भएर लाग्नुपर्ने बताए । उनले परम्परागत राजनीतिक अभ्यासमा आमूल परिवर्तन गरी नविनतम नीति र प्रविधिको अवलम्बन गर्दै नयाँ वैकल्पिक राजनीतिक शक्तिको स्थापना जरूरी भएको खाँचो औँल्याए ।

जनमत पार्टीका अध्यक्ष डा सिके राउतले नयाँ वैकल्पिक राजनीतिक शक्तिहरूको ध्रुवीकरणमार्फत देशलाई नयाँ दिशामा अगाडि बढाउन जरूरी भएको बताए । “नयाँ पार्टीका साझा चुनौती भनेको पार्टी स्थापित र विचारको संरक्षण हो, राजनीतिमा युवालाई प्रोत्साह गर्दै नयाँ विचार स्थापित गरेर देशलाई निकास दिन जरूरी छ”, उनले भने ।

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले मुलुकको विकास र आर्थिक समृद्धिका लागि वैकल्पिक शक्तिहरू एकजुट भएर लाग्नुपर्नेमा जोड दिए । उनले वैशल्कि शक्तिलाई मूल धारमा ल्याउनेगरी गोलमेच सम्मेलन गरेर देशको बृहत्तर हितमा सहकार्यको बाटो पहिल्यानुपर्ने बताए ।

यही २९ गतेसम्म हुने महाअधिवेशनमा एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिए । महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने जनाइएको छ । 

अख्तियारद्वारा गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा नागार्जुनका मेयरविरुद्ध अर्को मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पदको दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा नागार्जुन नगरपालिकाका निलम्बित मेयर मोहनबहादुर बस्नेतविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बस्नेमाथि ८ करोड ६९ लाख रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको र त्यो रकम भ्रष्टाचारबाट कमाएको दाबी गर्दै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

कुल २८ करोड ६५ लाख रुपैंयाको सम्पत्ति जोडेका बस्नेतले १९ करोड ९५ लाख रुपैयाँ मात्रै कानुनी रुपमा कमाएका अख्तियारले दाबी गरेको छ । यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ ।

मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । त्यो मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

अध्यादेश संविधानबमोजिम नै आएको होः महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डलाई दोहोरो मापदण्डको मानसिकता त्याग्न आग्रह गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले कांग्रेस र माओवादीको सरकार हुँदा प्राकृतिक हुने कांग्रेस र एमाले हुँदा अप्राकृतिक भन्ने दोहोरो मापदण्डको मानसिकता त्याग्न आग्रह गरेका हुन् ।

उनले ‘प्रतिपक्ष दलका नेताले माघको २४ गते सम्बोधनको क्रममा वर्तमान सरकार संवैधानिक र प्राकृतिक नभएको भन्नुभयो कांग्रेस र माओवादी मिलेर सरकार बनाउँदा कसरी प्राकृतिक थियो । अनि कांग्रेस र एमाले मिल्दा कसरी अप्राकृतिक भयो ? दोहोरो मापदण्डको मानसिकतालाई भत्काउन म आह्वान गर्छु।’

उनले दुई वटा भिन्न दर्शनको सरकार बन्नु गणितीय बाध्यता र परिस्थितिको आवश्यकता भएको बताए । उनले प्रचण्डको अभिव्यक्ति आवेगात्मक अभिव्यक्तिको नमूना रहेको उल्लेख गरे ।

उनले अध्यादेश संविधानबमोजिम नै आएको र विषय तथा परिस्थितिलाई केन्द्रमा राखेर दृष्टिकोणमा राख्दै आएको बताए । उनले अरूले अध्यादेश ल्याउँदा चोरबाटो र आफूले ल्याउँदा मूलबाटो हुन नसक्ने बताए ।

उनले भने, ‘हिजो प्रतिपक्षमा छँदा वर्तमान प्रधानमन्त्री नै प्रधानमन्त्री भएका बेला जुन अध्यादेशका विरूद्ध संवैधानिक परिषद् भत्कने गरी आएको अध्यादेशको कांग्रेसले विरोध गरेको सम्झना छ । कुनै अध्यादेशलाई विरोध नगरेको र शान्त ढंगले सघाएको कुरा देशलाई कमै सम्झना छ ।’

उनले अहिले आएको भूमिसम्बन्धि अध्यादेशका सम्बन्धमा विवादस्पद विषय भए प्रतिस्थापन विधेयकबाट सच्याउने गरी जानुपर्ने बताए ।

महामन्त्री शर्माले सामाजिक सञ्जालसम्बन्धी विधेयकमाथि प्रश्न उठाउँदै अध्यादेश भन्दैमा गलत नहुने र विधेयक भन्दैमा सही नहुने बताए ।

अर्जुन ट्रफीमा धनगढीलाई हराउँदै अत्तरिया फाइनलमा

बैतडी । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ विकेटले हराउँदै अत्तरिया फाइनलमा पुगेको हो । 

जितका लागि एक सय नौ रनको सामान्य लक्ष्य पाएको अत्तरियाले १८ ओभरमा चार विकेट क्षतिमा पूरा गर्यो । अत्तरियाका शङ्कर रानाले अर्धशतकीय पारी खेल्दै ५६ रनमा अविजित रहे । दिपेश कँडेलले २४, भीम सार्कीले १६ र विवेक यादव १२ रनमा नटआउट रहे ।

धनगढीका हिक्मत महराले दुई, ललित राजवंशी र भोजराज भट्टले एक÷एक विकेट हात पारे । यसअघि फाप्ला क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको धनगढीले २० ओभरमा अलआउट हुँदै एक सय आठ रन बनायो । 

धनगढीका मिलन बोहराले २८, अभिषेक पालले २७, दीपेन्द्रसिंह ऐरीले १५, राहुल भण्डारीले १३, लोकेश बमले ११ रन बनाए । अत्तरियाका विकेक यादव र कमल गुप्ताले दुई÷दुई विकेट हात पारे । अत्तरियाले उपाधिका लागि भोलि फ्रेन्ड्स युथ क्लब डडेल्धुरासँग खेल्नेछ । 

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश भएको प्रतियोगिताको विजेताले नगद  १० लाख र उपविजेताले नगद पाँच लाखसहित ट्रफी पाउनेछन् ।

धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै आयोजना गरिएको प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद रु एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही  ५०/५० हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न चुनौतीः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेटको अर्धवार्षिक प्रगतिको नतिजा मिश्रित रहेको बताएका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा ‘आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन’ पेस गर्दै भू–राजनीतिक तनाव तथा अन्य अन्तर्राष्ट्रिय कारणले मूल्यश्रृङ्खला प्रभावित भएको, अपेक्षित रुपमा कर्जा विस्तार हुन नसकेको, निर्माण क्षेत्रमा सुधार आउन नसकेकाले आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने चुनौती देखिएको बताएका हुन् ।

उपप्रधानमन्त्री पौडेलले भने, “यद्यपि, सरकारले अवलम्बन गरेको नीतिगत व्यवस्था तथा सुधारका प्रयासका साथै बाह्य क्षेत्रको सन्तुलन, तरलताको पर्याप्तता तथा न्यून ब्याजदरको सुनिश्चितताले आर्थिक गतिविधि वृद्धि भई यस वर्षको आर्थिक वृद्धिदर लक्ष्यको नजिक हुने अपेक्षा गरिएको छ ।”

उनले सार्वजनिक वित्त व्यवस्थापन प्रणालीमा निरन्तर सुधारको प्रयास, अन्तर्राष्ट्रिय मापदण्डअनुरुप लेखाङ्कन तथा प्रतिवेदन प्रणाली कार्यान्वयनमा रहेकाले वित्त प्रणालीको पारदर्शीता र विश्वसनीयता बढेको बताए ।

समीक्षा अवधिमा समग्र खर्च गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १७ दशमलव ६६ प्रतिशतले बढिरहेको उल्लेख गर्दै अर्थमन्त्रीले आर्थिक वृद्धिको परिचालकका रुपमा रहेको पूँजीगत खर्च आर्थिक वर्षको मध्यसम्म सुस्त रहने विगतको प्रवृत्तिमा भने उल्लेख्य सुधार हुन सकेको बताए ।

अर्थमन्त्री पौडेलले चालु आवमा रू १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख खर्च हुने अनुमान गरिएकामा रू १६ खर्ब ९२ अर्ब ७३ करोड ३५ लाख खर्च हुने संशोधित अनुमान गरिएको जानकारी गराए । यो रकम सुरू विनियोजनको ९० दशमलव ९९ प्रतिशत हो ।

चालुतर्फ रू १० खर्ब २९ अर्ब ३० करोड अर्थात विनियोजनको ९० दशमलव २४ प्रतिशत, पुँजीगततर्फ रू दुई खर्ब ९९ अर्ब ५० करोड ९ लाख अर्थात विनियोजनको ८५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ रू तीन खर्ब ६३ अर्ब ९३ करोड २६ लाख अर्थात विनियोजनको ९९ दशमलव ०९ प्रतिशत खर्च हुने अनुमान गरिएको उनले जानकारी दिए ।

चालु वर्षको अन्त्यसम्ममा नेपाल सरकारको स्रोतबाट (राजस्व र आन्तरिक ऋण) रू १४ खर्ब ७५ अर्ब २६ करोड ८२ लाख, वैदेशिक अनुदानतर्फ रू ३६ अर्ब ६२ करोड ८६ लाख र वैदेशिक ऋणतर्फ रू एक खर्ब ८० अर्ब ८३ करोड ६७ लाख खर्च हुने संशोधित अनुमान छ ।

अर्थमन्त्री पौडेलका अनुसार अर्धवार्षिक समीक्षा अवधिमा प्रदेशलाई रू ३४ अर्ब ८९ करोड २२ लाख र स्थानीय तहलाई रू एक खर्ब ५० अर्ब २६ करोड ८ लाख वित्तीय हस्तान्तरण भएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको बजेटमध्ये समीक्षा अवधिमा प्रदेशतर्फ ३६ दशमलव १७ प्रतिशत र स्थानीय तहमा ४८ दशमलव १० प्रतिशत हस्तान्तरण भएको छ ।

समीक्षा अवधिमा प्रदेश र स्थानीय तहमा गरी कूल अनुदानको ४५ दशमलव २८ प्रतिशत हस्तान्तरण भएको छ । अर्थमन्त्रीका अनुसार समीक्षा अवधिमा मूल्य अभिवृद्धि कर र आन्तरिक उत्पादनबाट सङ्कलन हुने अन्तःशुल्क रकममध्ये प्रदेश र स्थानीय तहलाई १५ प्रतिशतले रू ३२ अर्ब २७ करोड ९० लाखका दरले जम्मा रू ६४ अर्ब ५५ करोड ८० लाख बाँडफाँड गरी पठाइएको छ । जुन गत वर्षको तुलनामा १४ दशमलव १७ प्रतिशतले बढी हो ।

स्थानीयको भावना विपरीत केबलकार निर्माण नगर्न सांसदहरूको माग

काठमाडौं। राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले स्थानीय जनताको भावना विपरीत पाथीभरा क्षेत्रमा केबलकार निर्माण गर्दा समस्या उत्पन्न भएको धारणा राखेका छन् । बैठकको विशेष समयमा उनीहरूले धार्मिकस्थलको परम्परागत विशेषता, प्राकृतिक र सांस्कृतिक महत्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुनेमा जोड दिएका हुन् ।

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद जयन्तीदेवी राईले पाथीभरामा स्थानीय जनताको भावना विपरीत केबलकार निर्माण अघि बढाउँदा समस्या उत्पन्न भएकाले यथाशीघ्र समस्या समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले स्थानीय जनताको चाहना विपरीत केबलकार निर्माण गर्दा त्यहाँको धार्मिकस्थल विरोधस्थलका रूपमा परिणत भएको उल्लेख गरिन् ।

सांसद राईले स्थानीयको चाहना बुझेर सहमतिमा समस्या समाधान गर्न सरकारसँग आग्रह गर्दै धार्मिकस्थलको परम्परा, प्राकृतिक र सांस्कृतिक महत्वलाई मासेर पूर्वाधार निर्माण गर्न नहुने धारणा राखिन् । उनले धार्मिकस्थलमा कङ्क्रिट संरचनाभन्दा पनि समुदायको मागबमोजिम बाटो, खानेपानी, शिक्षा, शौचालय, विश्रामस्थल, स्थानीय उत्पादनको बजारीकरणलगायत कार्य गर्नुपर्ने राज्यको दायित्वबारे सरकारको ध्यानाकर्षण गराइन ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद रेनु चन्दले आदिवासी/जनाजतिको धार्मिक एवं सांस्कृतिक मुन्धुमस्थल पाथीभरा क्षेत्र केबुलकार निर्माणको विषयले केही समयदेखि अशान्त रहेको विषयप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले आन्दोलनरत स्थानीयमाथि प्रशासनले दमन गरेको टिप्पणी गर्दै आन्दोलनका घाइतेको निःशुल्क उपचार र क्षतिपूर्तिका लागि सरकारसँग माग गरिन् ।

सांसद चन्दले पाथीभरा क्षेत्रमा सुरक्षाका नाममा आन्दोलनरत नागरिकमाथि दमन भइरहेको आरोप लगाउँदै उक्त कार्य तत्काल बन्द गर्न आग्रह गरिन् । साथै उनले पाथीभरामा केबलकार निर्माण गर्ने विषय आध्यात्मिक, आर्थिक, पर्यावरणीय र विकासका दृष्टिले समेत उपयुक्त नभएको धारणा राखिन् । यसले स्थानीयको मौलिक अधिकार हनन हुनुका साथै पहिचान, समाजिक तथा परम्परागत मूल्य, मान्यता विनाश हुने जोखिम बढेको उनले बताइन् ।

आजको बैठकमा नेपाली कांग्रेसका सांसद जितजङ्ग बस्नेतले शपथसम्बन्धी ऐन २०७९ को दफा ३ मा रहेको गोपनीयतासम्बन्धी प्रावधानको पालना नभएको बताए । उनले पदमा रहेका बेलाका कतिपय गोप्य विवरण तथा सूचना पदविहीन भएपछि लेख्ने र बोल्ने गरेको पाइएकाले उक्त कानुनको पालना नभएको देखिएको बताए ।

सांसद बस्नेतले विश्वका धेरै देशमा गोप्य सूचना बाहिर ल्याउनेलाई दण्डसजाय गर्ने प्रावधान रहेको बताउँदै नेपालमा पदबाट मुक्त हुने बित्तिकै बढाइचढाइ आत्मवृत्तान्त लेख्ने गरेकोप्रति सदनमार्फत सरकारको ध्यानाकर्षण गराए । नेपालमा पनि शपथसम्बन्धी कानुन प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उनले माग गरे ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट भूकम्प गएको लामो समय भइसक्दा पनि सुरक्षित पुनःस्थापना र राहतको काम पूर्ण नभएको बताउँदै यसमा ढिलाइ हुँदा भूकम्पप्रभावित समस्यामा परेकाप्रति सरकारको ध्यानाकर्षण गराइन् । उनले प्रत्यायोजित विधायन ऐनलगायत नियम तथा कानुन निर्माण गर्दा पर्याप्त रूपमा छलफल गर्नुपर्ने आवश्यकता औँल्याइन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद भुवनबहादुर सुनारले दलित समुदायका युवायुवतीले विवाह गर्दा प्रहरी प्रशासनले दुःख नदिएर सहयोग गर्नुपर्नेमा जोड दिए । उनले सर्लाहीका सतेन्द्र राम र नेहा रौनियारले अन्तरजातीय विवाह गरेकाले प्रशासनबाट दुःख र तनाव पाएको विषयका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराए ।

कांग्रेसका सांसद दुर्गाकुमारी गुरुङले कर्णाली प्रदेश प्राकृतिक र ऐतिहासिक सम्पदा तथा भाषा संस्कृतिले सम्पन्न भए पनि यहाँका जनता सामान्य उपचारबाट पनि वञ्चित हुनुपरेकोे, कुपोषणको शिकार हुनुपरेको, खानेपानी र विद्युत्को पहुँचबाट वञ्चित हुनुपरेकोलगायत समस्याका बारेमा सरकारको ध्यानाकर्षण गराइन् ।

उनले आवश्यक बजेट र कार्यक्रममार्फत कर्णालीका जनताको समस्या समाधान गर्न सरकारसँग आग्रह गरिन् ।

राष्ट्रियसभाअन्तर्गत विधायन व्यवस्थापन समितिका सभापति तुलसाकुमारी दाहालले विगतमा सबै सरकारले अध्यादेश ल्याएर काम गर्ने अभ्यास भएअनुसार संविधानले दिएको अधिकार प्रयोग गरेर वर्तमान सरकारले अध्यादेश ल्याएको बताइन् । उनले वर्तमान सरकारले छिटोछरितो काम गर्न अध्यादेश ल्याउनु महत्त्वपूर्ण विषय भएको भन्दै संविधान कार्यान्वयन गर्न र कतिपय कानुन बनाउन अध्यादेश जरुरी रहेकाले प्रतिपक्षले सकारात्मक सहयोग गर्नुपर्ने धारणा राखिन् ।

सभापति दाहालले देश विकास गर्न र जनताको पक्षमा काम गर्न ठूला दुई दल मिलेर वर्तमान सरकार बनेकाले सरकारको टिप्पणी गर्नुभन्दा सकारात्मक र नतिजामूखी काम गर्न सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिइन् ।

उनले वर्तमान सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन गरेको बताउँदै दुई आयोगमा पदाधिकारी नियुक्ति गर्ने विषयमा सरकारको ध्यानाकर्षण गराइन् ।

आगलागीपछि खानेपानी मन्त्री यादव नयाँ कार्यकक्षमा

काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादव आजदेखि नयाँ कार्यकक्षमा सरेका छन् । शनिबार बिहान खानेपानी मन्त्रालयमा विद्युत् सर्ट भई आगलागी हुँदा उनको कार्यकक्ष जलेर पूर्ण क्षति भएको थियो ।

मन्त्री यादवले अस्थायी रूपमा नयाँ कार्यकक्षबाट कामकाज सुरू गरेकाे उनको स्वकीय सचिवालयले जनाएको छ । खानेपानी मन्त्रालयकै तेस्रो तलाको कोठा नम्बर ४०७ बाट अस्थायी कार्यकक्ष बनाएर सेवा प्रवाहको काम सुरू गरिएको मन्त्री यादवका निजी सचिव एवं उपसचिव भक्तराज जोशीले जानकारी दिए ।

उनले भने, ‘शनिबार आगलागी भएर मन्त्रीज्यूको कार्यकक्षमा पूर्ण रूपमा क्षति पुगेको छ । अहिले मर्मतको कार्य भइरहेकाले अस्थायी रूपमा नयाँ कार्यकक्ष स्थापना गरी सेवा प्रवाह सुरू गरिएको छ ।’

मन्त्रालयमा भएको आगलागीबाट मन्त्रालयका अति आवश्यक एवं महत्त्वपूर्ण कागजातमा कुनै क्षति नभएको जनाएको छ । आगलागीबाट मन्त्री यादवको कार्यकक्षमा भएका दुई वटा टेलिभिजन, एउटा डेस्कटप कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सी, कार्पेट, सिसी क्यामेराको मनिटरलगायत सामग्री नष्ट भएका छन् ।

सामाजिक सञ्जाल विधेयक राष्ट्रियसभामा पेस

काठमाडौँ । राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस गरे । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए ।

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने आवश्यकता महसुस गरी यही माघ १५ गते राष्ट्रियसभामा उक्त विधेयक दर्ता गराएको थियो । सञ्चारमन्त्री गुरूङले सामाजिक सञ्जालको सही र व्यवस्थित प्रयोग गरी सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जालको ‘प्लेटफर्म’ सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार र जवाफदेही बनाउन उक्त विधेयक अघि बढाइएको स्पष्ट पारे ।

विधेयकमा डिजिटल प्लेटफर्म सञ्चालन गर्न चाहने कम्पनी, फर्म एवं संस्थाले सञ्चालन अनुमति लिनुपर्ने, अनुमतिपत्रको नवीकरण गर्नुपर्ने, प्लेटफर्म सञ्चालनमा रोक लगाउन सक्ने, अनुमतिप्राप्त व्यक्तिले पालना गर्नुपर्ने शर्त, सामाजिक सञ्जाल प्लेटफर्मबाट विषयवस्तु हटाउन निर्देशन दिनसक्ने र सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने सर्त उल्लेख गरिएको छ ।

यस्तै साइबर बुलिङ र स्टकिङ्ग तथा आइडी ह्याक, सेक्सटोर्सन वा एक्सटोर्सन गर्न नहुने, अश्लील, मिथ्या वा भ्रामक विषयवस्तु प्रचारप्रसार तथा डिपफेक भिडियो अपलोड वा प्रचारप्रसार एवं बेनामी वा छद्मभेषी पहिचान बनाउन नहुनेलगायत विषय विधेयकमा समेटिएका छन् ।

विधेयकमा सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी अनुमतिपत्रको अवधि दुई वर्षको हुने र नवीकरण गर्न चाहेमा १५ दिन अगावै नवीकरणका लागि निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ । अनुमतिपत्र प्राप्त व्यक्तिले मुलुकको शान्ति सुरक्षा, अमनचयन, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता, स्वाधिनता, स्वाभिमानतमा खलल पुग्ने वा राष्ट्रहित प्रतिकूलका विषयवस्तु प्रसार गरे वा गराएमा सामाजिक सञ्जाल प्लेटफर्मको अनुमतिपत्र खारेज गर्न सक्ने तथा तोकिएको सर्त पालना नगरेमा सञ्चालनमा रोक लगाउन सक्ने व्यवस्था विधेयकमा गरिएको छ ।

यस्तै सामाजिक सञ्जाल प्रयोकर्ताले कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृश्य, तस्वीरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच, मिथ्या तथा भ्रामक सूचनाको दुष्प्रचार, सूचना तोडमरोड गरी प्रचारप्रसार, प्रचलित कानुनले निषेध गरेको वस्तुको विज्ञापन तथा कारोबार गर्न नपाउने उल्लेख छ । गलत मनसायले सामजिक सञ्जालमा पोष्ट, सेयर, लाइक, रिपोष्ट, लाइभ स्ट्रिमिङ, सब्सक्राइब, कमेन्ट, ट्याग, ह्यासट्याग वा मेन्सन गरेमा सामाजिक सञ्जाल प्रयोगकतालाई रू पाँच लाखसम्म जरिवाना हुनेछ ।

उक्त ऐनको कार्यान्वयनबाट नेपालमा विद्युतीय स्वरूपमा रहेको सूचना सुरक्षा तथा वैयक्तिक विवरणको गोपनियताकोस्तरमा वृद्धि हुने, साइबर सुरक्षाका लागि आवश्यक कानुनी तथा संरचनागत व्यवस्था भई साइबर सुरक्षाको अवस्थामा सुधार हुने तथा सूचना प्रविधिसम्बन्धी व्यवसायहरू व्यवस्थित, नियमित तथा मर्यादित भई यस क्षेत्रमा वैदेशिक लगानी वृद्धि हुने सरकारको भनाइ छ ।

सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नेसम्बन्धी निर्देशिका, २०८० हाल कार्यान्वयनमा रहेको छ । आव २०८०/८१ को बजेटमा समेट सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म र डिजिटल मिडिया प्रयोगलाई व्यवस्थित र मर्यादित बनाइने तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमलाई औपचारिक दायरामा आउन प्रोत्साहन गर्नुका साथै नियमनका लागि कानुनी व्यवस्थामा सुधार गरिनेछ भन्ने उल्लेख छ ।

नेप्सेमा दोहोरो अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आइतबार नेप्से परिसूचक ११ दशमलव ४९ अङ्कले घटेर दुई हजार छ सय ८८ दशमलव ३१ को बिन्दुमा कायम भएको हो ।

आज तीन सय पाँच कम्पनीको एक करोड ५८ लाख ५५ हजार छ सय १० कित्ता सेयर ८४ हजार दुई सय ८० पटक खरिदबिक्री हुँदा रु आठ अर्ब ३९ करोड ८६ लाख ६० हजार छ सय २८ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा वित्त समूह शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव १५, लघुवित्त शून्य दशमलव २५ र व्यापार समूह एक दशमलव ३९ प्रतिशतले बढेको छभने अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै विकास बैंक समूह एक दशमलव ३५ र अन्य समूह एक दशमलव ३० प्रतिशतले घटेको छ ।

बैंकिङ शून्य दशमलव ३५, होटल तथा पर्यटन शून्य दशमलव २४, जलविद्युत् शून्य दशमलव ५०, लगानी शून्य दशमलव ३९, जीवन बिमा शून्य दशमलव ७६, म्युचुुअल फन्ड शून्य दशमलव ३४ र निर्जीवन बिमा शून्य दशमलव ५७ प्रतिशतले घटेको छ ।

सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्य छ दशमलव ५२ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको रु ३१ करोड १६ लाख ८३ लाख तीन सय ९५ बराबरको सेयर खरिदबिक्री भएको छ ।

कारोबार भएका सेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडको चार लाख ७६ हजार सात सय ७७ कित्ता सेयर किनबेच भएको छ ।

एआईमा ‘नियन्त्रणको हानी’ बाट बच्न नियमन गर्न विज्ञको आग्रह

पेरिस । विश्वका नेताहरू पेरिसमा प्रविधिसम्बन्धी शिखर सम्मेलनका लागि भेला भइरहेका बेला विश्वभरका विज्ञहरूले एआईलाई मानव नियन्त्रणबाट बाहिर जान नदिन थप नियमन गर्न आह्वान गरेका छन् ।

भारतसँग सोमबार र मङ्गलबारको सम्मेलनको सह–आयोजना गरिरहेको फ्रान्सले सन् २०२३ मा बेलायतको ब्लेचले पार्क र सन् २०२४ मा कोरियाको राजधानी सियोलमा भएका बैठकहरूमा जस्तै सुरक्षा चिन्तालाई अगाडि र केन्द्रमा राख्नुको साटो सन् २०२५ मा एआई ‘एक्सन’ लाई उजागर गर्ने निर्णय गरेको छ।

सरकार, व्यवसाय र अन्य सेवाग्राहीको लागि एआईको लागि विश्वव्यापी नियमनको पक्षमा बाहिर आउन र बाध्यकारी नियमहरू सेट नगरी स्थिरतामा प्रतिबद्धता जनाउनुपर्ने फ्रान्सको दृष्टिकोण रहेको छ ।

‘हामी जोखिमका बारेमा मात्र कुरा गरेर समय बिताउन चाहँदैनौं। राष्ट्रपति इमानुएल म्याक्रोँका लागि एआई दूत एनी बोवेरोटले भने, ‘त्यहाँ धेरै वास्तविक अवसर र पक्ष पनि छन्।’

अमेरिकास्थित फ्युचर अफ लाइफ इन्स्टिच्युटका प्रमुख म्याक्स टेगमार्कले एएफपीसँग कुरा गर्दै फ्रान्सले कदम चाल्ने मौका गुमाउन नहुने बताएका छन् ।

‘फ्रान्स अन्तर्राष्ट्रिय सहकार्यको एक अद्भुत अग्रणी भएको छ र वास्तवमा बाँकी विश्वको नेतृत्व गर्ने अवसर छ,’ एमआईटीका एक अधिकारीले भने ।

“पेरिस शिखर सम्मेलनमा एआईजन्य चुनौतीको सामना गर्न सडकको धुलो उठाउन ठूलो काँटा दिइएको छ समाधान यसैबाट निकाल्नुपर्छ ।

– ‘सम्झौतालाई खतरामा पार्न सक्छ’ –

टेगमार्कको इन्स्टिच्युटले ग्लोबल रिस्क एन्ड एआई सेफ्टी प्रिपेयर्डनेस (ग्रास्प) नामक प्लेटफर्मको आइतबारको शुभारम्भलाई समर्थन गरेको छ जसको उद्देश्य एआईसँग सम्बन्धित प्रमुख जोखिमहरू र विश्वभर विकसित भइरहेको समाधानहरूको नक्साङ्कन गर्नु हो।

ग्रास्पका संयोजक साइरस होडेसले भने, ‘हामीले यी जोखिमहरूको जवाफको लागि लगभग ३०० उपकरण र प्रविधिहरू पहिचान गरेका छौँ ।’

सर्वेक्षणको नतिजा प्रमुख युरोपेली अर्थव्यवस्था, जापान, दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकासहित लगभग ३० राष्ट्रहरूको समूह ओईसीडी समूह र ‘ग्लोबल पार्टनरशिप अन आर्टिफिसियल इन्टेलिजेन्स (जीपीएआई)’ का सदस्यहरूलाई हस्तान्तरण गरिनेछ । उनीहरू आइतबारदेखि पेरिसमा भेला भई छलफलमा जुटेका हुन् ।

गत साता ९६ जना विज्ञले सङ्कलन गरेको र ३० देश, संयुक्त राष्ट्रसङ्घ, युरोपेली सङ्घ र ओईसीडीको सहयोगमा बिहीबार पहिलो अन्तर्राष्ट्रिय एआई सुरक्षा प्रतिवेदन पनि प्रस्तुत गरिएको थियो ।

कागजातमा उल्लेखित जोखिमहरू परिचितदेखि अनलाइन नक्कली सामग्रीजस्ता अझ बढी खतरनाकसम्म छन् ।

रिपोर्टका संयोजक तथा प्रख्यात कम्प्युटर वैज्ञानिक योशुआ बेन्जियोले एएफपीसँग भने, ‘जैविक आक्रमण वा साइबर आक्रमणजस्ता थप जोखिमका प्रमाणहरू निरन्तर देखा परिरहेका छन्।’

दीर्घकालमा, सन् २०१८ को ट्युरिङ्ग पुरस्कार विजेता बेन्जियोले एआई प्रणालीहरूमा मानवद्वारा सम्भावित ‘नियन्त्रणको हानि’ को डर छ र यो सम्भावित रूपमा ‘बाँच्नको लागि उनीहरूको आफ्नै इच्छा’ द्वारा प्रेरित छ।

‘धेरै मानिसहरूले छ वर्ष पहिल च्याटजिपिटी–४ को स्तरमा भाषामा महारत हासिल गर्नुे ‘विज्ञानको कथा’ हो भन्ने सोचेका थिए तर यो भयो,’ टेगमार्कले ओपनएआईको च्याटबोटलाई उदृत गर्दै भने ।

‘अहिले सबैभन्दा ठूलो समस्या भनेको सत्तामा रहेका धेरै मानिसहरूले अझै पनि एआईजन्य चुनौतिलाई नबुझ्नु हो हामी यसलाई कसरी नियन्त्रण गर्ने भनेर पत्ता लगाउने भन्दा ‘आर्टिफिसियल जनरल इन्टेलिजेन्स (एजिआई)’ निर्माण गर्न लागि परेका छौँ ।’

इजरायलद्वारा वार्ताकारलाई दोहा जान निर्देशन

देइर एल–बलाह, प्यालेष्टिनी भूभाग । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले प्यालेस्टिनी इस्लामिक लडाकू समूह (हमास) युद्धविरामअन्तर्गत सहमति भएको बन्धक र कैदीको पाँचौं समूहको अदलाबदली पूरा भएपछि हमाससँगको युद्धविरामबारे छलफल गर्न वार्ताकारलाई कतार फर्कन आदेश दिएका छन् ।

उनले गाजामा तीन जना बन्दीलाई सुपुर्दगी गरेपछि हमासलाई विस्थापित गर्ने र बाँकी रहेका सबै बन्धकहरूलाई मुक्त गर्ने आफ्नो प्रतिज्ञा दोहोर्याए । उनले लडाकू समूहलाई ‘गैर–मानव’ को रूपमा निन्दा गरेका छन् ।

यसैबीच, शनिबारको अदलाबदलीमा गाजाबाट शनिबार रिहा गरिएका तीन जना इजरायली बन्धकको उपचार गरिरहेको अस्पतालले ओर लेभी र एली शाराबीको स्वास्थ्य अवस्था ‘खराब’ रहेको र ओहद बेन अमीको ‘पोषणको गम्भीर कमीको अवस्था’ रहेको जनाएको छ।

बदलामा इजरायलले रिहा गरेका १८३ कैदीमध्ये सात जनालाई अस्पताल भर्ना गर्नुपर्ने र जेलमा ’क्रूरता’ र दुव्र्यवहारको निन्दा गरेको प्यालेस्टिनी प्रिजनर्स क्लब एडभोकेसी ग्रुपले जनाएको छ ।

इजरायली हिरासतबाट रिहा भएकामध्ये ४१ जना पश्चिम किनाराको रामल्लाह शहर, चार जना इजरायलको कब्जामा रहेको पूर्वी जेरुसेलम, १३१ जना गाजामा र सात जना इजिप्टमा निर्वासित भएका छन् ।

चलचित्र विकास बोर्डद्वारा ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान

काठमाडौँ । चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ । आज बोर्डले सूचना सार्वजनिक गर्दै निर्माणका लागि इच्छुक कम्पनीले आगामी ३० दिनभित्र ‘इ–बिडिङ’मार्फत आवेदन दिन सक्ने जनाएको छ ।

बोर्डका अध्यक्ष दिनेश डिसीले धेरै वर्षदेखि देखिएको चलचित्रकर्मीको सपना छिट्टै पूरा हुने जानकारी दिए ।

उनले भने, “नेपाली चलचित्र छायाङ्कनका लागि यो नेपालीकै भव्य स्टुडियो बन्ने छ । यो परियोजनाले स्वदेशी चलचित्र उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढङ्गको सुटिङस्थल प्रदान गर्नेछ, त्यसकारण यो सम्पूर्ण चलचित्रकर्मीको पर्खाइको एक सपना हो ।”

बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयनमा जान सकेको थिएन । स्टुडियोको शिलान्यास दुई महिनाभित्रै गर्ने योजना रहेको अध्यक्ष डिसीले बताए ।

“मैले बोर्डमा अध्यक्षका रुपमा पद सम्हालेदेखि नै गरिरहेको कार्यले अहिले मूर्तरुप पाउँदै छ, स्टुडियोसँगै अहिले आवश्यक रहेको नयाँ चलचित्र नीति पनि छिट्टै पाउने छौँ”, अध्यक्ष डिसीले भने ।

उनले २०८२ साल वैशाख १ गतेदेखि ‘रियल टाइम बक्स अफिस’ लागू गर्ने तयारी भइरहेको जानकारी दिए । यसले चलचित्र भवनमा भएको व्यापार छिटोभन्दा छोटो चलचित्र निर्मातासम्म पुर्याउन मद्दत गर्छ । 

देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

दमौली (तनहुँ) । तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ ।

विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय शिवराज पौडेलले बताए । एकै पटकमा सयौँले पुल तर्दा पिङझैँ हल्लने गरेको उनले बताए । उनले भने, “अब यो पुलको विकल्प खोज्नुपर्ने बेला आएको छ ।”

देवघाट जान हाल उक्त झोलुङ्गे पुलबाहेक ठिमुरा, दासढुङ्गा र नवलपुर जोड्ने हर्दीमा पक्की पुल सञ्चालनमा छ । तर देवघाट जाने अधिकांश भक्तजनले चितवनको आपँटारी हुँदै यही पुल प्रयोग गर्छन् ।

देवघाट गाउँपालिका–५ का अधिकांशले चितवनको भरतपुर आउन सबैभन्दा छोटो दूरीको रुपमा सो पुल प्रयोग गर्दै आएका छन् । पुलबाट दैनिक सयौँ मोटरसाइकल वारपार गरिँदै आएको छ ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले उक्त पुल मर्मतसम्भार गरेर मात्र नहुने अवस्थामा पुगेको बताए । यहाँ पक्की पुलकै आवश्यकता देखिएको उनले बताए । उनले भने, “गाउँपालिकाको स्रोत साधनले सम्भव छैन । प्रदेश सरकार र सङ्घीय सरकारले पहलकदमी लिनुपर्छ ।” 

रुम्सी होमस्टेमा आन्तरिक पर्यटकको रोजाइमा

तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित रुम्सी होमस्टे (घरबास) मा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ । अर्गानिक खाना, प्राकृतिक सौन्दर्यता र ग्रामीण जीवनशैलीका कारण यहाँ आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

यहाँ आउने पर्यटकलाई अर्गानिक खाना, लोकल कुखुराको परिकार, मगर जातिको नृत्यबाट स्वागत गर्ने प्रचलन रहेको छ । होमस्टे सञ्चालक समितिका अध्यक्ष सन्तोष रानामगरले यहाँ आउने पाहुनाहरू ग्रामीण परिवेश, पारिवारिक वातावरण र स्थानीय परिकारबाट प्रभावित हुने गरेका बताए । उनका अनुसार दमौलीबाट गाडीमा एक घण्टाको दूरीमा रहेको यो गाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै गएको छ।


गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरेको थियो । यहाँ घरबास स्थापन गरी सञ्चालनमा ल्याउन प्रदेश सरकारले रु ६५ लाख र व्यास नगरपालिकाले रु ३५ लाख लगानी गरेका छन् । परियोजनाअन्तर्गत एक सय १० घरधुरीमा पर्यटन प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको छ भने ३० घरधुरीमा होमस्टे पूर्वाधार विकास गरिएको अध्यक्ष रानामगरले जानकारी दिए ।

व्यास–१४ वडाध्यक्ष काजीमान श्रेष्ठले पछिल्लो समय यो ठाउँ आन्तरिक पर्यटकको गन्तव्यस्थलका रूपमा विकास हुन थालेको बताए । उनले भने, ‘ग्रामीण परिवेशमा रमाउन चाहनेहरू यहाँ आएर आनन्दित हुनुनहुन्छ।’ मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रममार्फत् रुम्सी गाउँलाई नमूना गाउँ घोषणा गरी पर्यटन प्रवद्र्धन गरिएको व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । यसलाई नमूना बस्तीको रूपमा विकास गर्न गाउँको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको संरक्षण गरिने उनले बताए ।

उनले भने, ‘पर्यटन तथा कृषिका गतिविधिका माध्यमबाट आर्थिक विकासका साथै सामाजिक सद्भाव अभिवृद्धि गर्दै रुम्सीलाई सुन्दर, शान्त, समृद्ध एवं सुरक्षित पर्यटकीय गन्तव्य बनाउने लक्ष्य छ ।’ रुम्सी होमस्टे पुग्नुभएका दमौलीका सविन लामिछानेले यहाँका होमस्टे सञ्चालकको स्वागत, अर्गानिक खाना, प्राकृतिक सौन्दर्यले आनन्दित तुल्याएको उल्लेख गरे । यहाँ थप पर्यटन प्रवर्द्धन गर्दै स्थानीय सरकारले रोजगारीका अवसर सिर्जना गर्दै जानुपर्नेमा उनले जोड दिए ।

डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती

ढोरपाटन (बागलुङ) । जिल्लाको ढोरपाटन नगरपालिका–५ पाखापानी भौगोलिक रूपमा विकट मानिन्छ । विकटताका कारण पर्याप्त सेवासुविधा गाउँमा पुग्न सकेको छैन । युवापुस्ता विदेश पालयन भएका छन् भने अधिकांश गाउँमा बस्ने सुविधाको खोजीमा बजार झरिरहेका छन् ।

गाउँलेको रोजाइमा बजार परिरहेको अवस्थामा यहाँका मानसिङ पुनले भने अवसर खोज्दै डेढ करोड लगानीमा व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । उनी पेसाले स्वास्थ्यकर्मी हुन् । दिउँसोको समय नागरिकको उपचारमा खटिने उनी फुर्सदको समय बारीमा काम गर्छन् ।

“सँगैका साथी कोही जापान र कोरिया, कोही खाडी मुलुक भएका छन् । युवापुस्ता नहुँदा सुनसान बन्दै गएको गाउँमा विसं २०७३ देखि व्यावसायिक कृषि कर्म गर्दै आएको छु”, पुनले भने । ‘स्वरोजगार बहुउद्देश्यीय कृषि पशुफार्म’ सञ्चालन गरी सम्भावना खोज्दै आएका छन् ।

आठ वर्ष अघि सुरु गरेको व्यवसाय अहिले विस्तार हुँदै गएको उनको भनाइ छ । पुनले गाउँको बाँझो जमिनलाई सदुपयोग गरी व्यावसायिक रूपमा किबी, केरा, सुन्तला, कागती र टिमुरखेती गर्दै आएको बताए । साथै ५० बढी बाख्रा पालन गरेको बताउँदै उनले बारीमा पुग्दा लटरम्म फलेका फलफूलले धेरैलाई आकर्षित गर्ने प्रतिक्रिया आउने गरेको बताए ।

“एक सय ८० रोपनी क्षेत्रफलमा लगाएको फलफूलमध्ये केहीले उत्पादन दिन थालेका छन्, केही हुर्किँदै छन् । केही वर्ष अघि वनमाराले ढाकेको बारीमा अहिले फलफूल उत्पादन हुँदा गाउँले नै दङ्ग छन्”, पुनले भने । गाउँमा स्वरोजगार बनेर जनताको सेवा गर्ने सोच बनाएका उनी पाँच वर्षदेखि ढोरपाटन–८ स्थित सेराबाङ आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रमुखका रूपमा कार्यरत छन् ।

फुर्सदको समयमा बारीमा काम गर्ने उनले कृषि फार्ममा हालसम्म डेढ करोड बढी लगानी गरेको जानकारी दिए । उनलाई विदेशबाट फर्किएका दाई हिमालकुमार पुन र भिनाजु विक्रिम घर्तीमगरले साथ दिइरहेका छन् ।

सुरुमा १५ लाखबाट सुरु गरेको व्यवसाय अहिले राम्रो हुँदै गएपछि बर्सेनि आम्दानी पनि बढ्दै गएको पुनले बताए । यसवर्ष फलफूल तथा बाख्रा बिक्री गरेर सात लाख आम्दानी भएको जनाउँदै उनले वार्षिक ५० लाख आम्दानी गर्ने लक्ष्य राखेको उल्लेख गरे ।

“अहिले सुरुवाती चरणमा छौँ, आम्दानी जति लगानी भइरहेको छ, बाख्रापालनबाट सुरु गरेको व्यवसाय अहिले फलफूल खेतीलाई जोड दिएका छौँ । म जनताको उपचारमा व्यस्त भइराख्ने हुँदा दाइ र भिनाजु विदेशबाट फर्किएर यहाँ काम गर्न थाल्नुभएको छ, उहाँहरूले थप हौसला दिँदा लगानी बढाइरहेको छु”, पुनले भने, “लगानी अनुसारको प्रतिफल आउला भन्ने अपेक्षासहित गाउँमा केही गरौँ भन्ने उद्देश्यले कृषि कर्ममा लागेको हुँ ।”

पुनले केही वर्ष अघि ६० लाखको जग्गा किनेर फलफूखेती विस्तार गरेको जानकारी दिए । हालसम्म कृषि ज्ञान केन्द्र बागलुङबाट एक लाख १३ हजार, ढोरपाटन नगरपालिकाबाट एक लाख ८८ हजार अनुदान प्राप्त भएको बताउँदै उनले स्वदेशमा केही गर्न चाहाने युवालाई राज्यले पनि सोही अनुसारको सहयोग गर्नुपर्नेमा जोड दिए । गाउँमा खानेपानी र सिँचाइ अभाव हुँदा गाउँले बसाइँसराइ गर्न बाध्य भएका उनको भनाइ छ ।

आफूले ठूलो लगानी गरेर फलफूल खेती गरे पनि सिँचाइ अभावमा बिरुवा सुक्दा लाखौँको नोक्सानीसमेत व्यहोर्नु परेको पुनले गुनासो पोखे । गाउँ नजिक पानीको मुहान नभएकाले टाढाबाट ल्याउनका लागि लाखौँ रुकम आवश्यक पर्ने उनले उल्लेख गरे । पुनले विदेश पलायन हुने युवालाई स्वदेशमा पनि मेहनत गरे प्रशस्त आम्दानी गर्न सकिने सुझाव दिए ।

तरुण कप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने

म्याग्दी । म्याग्दी जिल्लाको दरबाङ र नारच्याङमा नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको आयोजनामा तरुण कप भलिबल प्रतियोगिता– २०८१ हुने भएको छ ।

म्याग्दी क्षेत्र ‘ख’ अन्तर वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता आगामी फागुन ७, ८ र ९ गते मालिका गाउँपालिका–६ दरबाङमा र म्याग्दी क्षेत्र ‘क’ अन्तर्गत वडा क्षेत्रीय पुरुष भलिबल प्रतियोगिता एवं अन्तरपालिका जिल्लास्तरीय महिला भलिबल प्रतियोगिता फागुन १४, १५ र १६ गते अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा हुने आयोजकले जनाएको छ ।

तरुणदल म्याग्दीका  अध्यक्ष श्रीप्रसाद रोका मगरले तरुण कप–२०८१ को तयारीलाई तीव्र पारिएको जानकारी दिए ।

दुवै प्रतियोगिताको पुरुष विधातर्फका विजेताले एक लाख ११ हजार एक सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उनले बताए । उपविजेताले  ६६ हजार ६६६ ट्रफी मेडल र प्रमाण पत्र पाउने आयोजकले जनाएको छ  । 

त्यसैगरी महिला भलिबल विधाका विजेताले ७७ हजार सात सय ७७ र उपविजेताले  ४४ हजार ४४४ ट्रफी मेडलका साथमा प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । 

 १५ लाख ५० हजार बढी खर्च अनुमान गरिएको छ । आयोजनाबाट खर्च कटाएर आम्दानी भएको रकमले दुर्गम क्षेत्रलाई लक्षित गरेर शिक्षा ,स्वास्थ्यलगायत क्षेत्रमा खर्च गर्ने तरुणदल म्याग्दीले जनाएको छ ।

नेपाली नागरिकता त्याग्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूको माग

काठमाडौं ।  सुगौली सन्धि र सम्झौताअनुसार भर्ती भएका गोर्खाहरूले आफू तथा आफ्ना परिवारहरू आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग गरेका छन्।

नेपालमा पहिलोपटक आयोजना गरिएको गोर्खाज् इन्टेक १९८५ को ४० औँ वार्षिकोत्सवका अवसरमा उनीहरुले आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गर्न गोर्खाहरूले माग गरेका हुन्।

सो अवसरमा संस्थाका संस्थापक अध्यक्ष एवं समारोहका मुख्य संयोजक शेरबहादुर सुनारले नेपाल सरकारले ब्रिटिस गोर्खा सैनिकहरू र हाम्रा परिवारलाई गैरआवासीय नागरिक नबनाउन आग्रह गरे।

उनले भने, ‘बेलायत र नेपाल सरकारबीच दुईपक्षीय सम्झौता गरी हाम्रो भावनाको कदर गर्दै आजीवन नेपाली नागरिकता त्याग गर्नुपर्ने विभेदको अन्त्य गरियोस्।’

अध्यक्ष लालबहादुर लिम्बूले ‘मातृभूमिप्रतिको माया र गोर्खाहरूलाई मातृभूमि आउन प्रेरित गर्न वार्षिकोत्सव मातृभूमिमा नै आयोजना गरिएको बताए।

सो अवसरमा संस्थाको उपाध्यक्ष प्रमिला राई, महासचिव विजय गुरुङ, पूर्वअध्यक्ष नारायण भण्डारीलगायतले पनि नेपाल–बेलायतबीच सम्बन्ध विस्तारमा गोर्खाज्को महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । सो अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिनुको साथै सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।

ब्रिटिस सरकारले सन् २००४ देखि गोर्खा सैनिक र तिनका परिवारलाई आवासीय सुविधा दिँदै आएको छ । गोर्खा सैनिक भर्तीको इतिहास २१० वर्ष पुगेको छ।

सन् १९४७ मा भएको नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सुगौली सन्धिका आधारमा बेलायतले हरेक वर्ष सेनामा नेपाली युवालाई भर्ती गर्दै आएको छ। यहीअन्तर्गत सन् १९८५ मा एकैपटक भर्ती भएका चार सय ८२ जना गोर्खाज्हरुले त्यसको स्मरणमा हरेक वर्ष वार्षिकोत्सव मनाउने गर्दछन्।

अध्यादेश पारित गर्न गणपूरक सङ्ख्या गन्ने बेला आइसकेको छैनः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश संसद्बाट पारित हुने वा नहुने विषयमा अहिले टिप्पणी गर्ने बेला भइनसकेको बताएका छन् ।


आइतबार सङ्घीय संसद् भवन परिसरमा अध्यादेश सम्बन्धमा सोधिएको प्रश्नबारे सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्रीले अहिले संसद्को गणपूरक सङ्ख्या गन्ने बेला आइनसकेको बताएका हुन् ।
     
संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सरकारले विभिन्न मितिमा छवटा अध्यादेश जारी गरेको थियो । संसद् नियमावली अनुसार संसद् बैठक सुरु भएपछि अध्यादेशहरू पेस गर्नुपर्ने प्रावधान छ ।

आवासीय चिकित्सकलाई सरकारी सरह भत्ता दिने सरकारको निर्णय निजी मेडिकल कलेजलाई अमान्य

काठमाडौँ । निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता दिने निर्णयमा निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था ‘एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपाल’ले अस्वीकार गरेको छ ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी आठौं तहका मेडिकल अधिकृत सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।

आयोगको निर्णयमा असहमति जनाउँदै निजी मेडिकल तथा डेन्टल कलेजहरुको संस्था एसोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेन्टल कलेज अफ नेपालले विज्ञप्ति जारी गरी असहमति जनाएको हो ।

एसोसिएशनका अध्यक्ष प्राडा ज्ञानेन्द्रमान कार्कीद्वारा जारी विज्ञप्तिमा शुक्रबार बसेको चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेका निर्णयमा आफ्नो तर्फबाट ‘नोट अफ डिसेन्ट’ समेत रहेको जानकारी त्यहीबेला दिइएको बताएका छन् ।

स्रोत सुनिश्चित नभइ स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न नसक्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। विज्ञप्तिमा भनिएको छ , ‘स्नातकोत्तर तहका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सक्ने स्रोत सुनिश्चित नभई आठौं तह बराबरको निर्वाह भत्ता सहित स्नातकोत्तर अध्यापन गराउन नसकिने विषय पुन स्मरण गराउन चाहन्छौँ।’

आतिशीद्वारा दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा

नयाँदिल्ली । विधानसभा चुनावमा आफ्नो पार्टीको पराजयपछि आतिशीले आइतबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएकी छन् ।

आम आदमी पार्टी (आप) की नेत्रीले आइतबार राज निवासमा उपराज्यपाल भिके सक्सेनालाई आफ्नो राजीनामा बुझाएकी हुन् ।

त्रिचालीस वर्षीया आतिशी गत सेप्टेम्बरदेखि दिल्लीको मुख्यमन्त्री थिइन् । अरविन्द केजरीवालले आफ्नो पदबाट राजीनामा दिएको केही दिनपछि उनी शीर्ष पदमा पुगेकी थिइन् ।

उनी सुष्मा स्वराज र शीला दीक्षितपछि दिल्लीको तेस्रो महिला मुख्यमन्त्री बनेकी थिइन् ।

दिल्ली विधानसभा चुनावमा आप (आम आदमी पार्टी) ले ठूलो झट्का बेहोरेको छ । आपले आफ्नो पहिलेको ६२ सिटको तुलनामा मात्र २२ सिट मात्र जित्न सकेको छ ।

आम आदमी पार्टीलाई सत्ताच्यूत गरेर २७ वर्षपछि राष्ट्रिय राजधानीमा सत्तामा फर्किएको भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली चुनावमा ऐतिहासिक जनादेश प्राप्त गरेको छ ।

तथापि आतिशीले कडा प्रतिस्पर्धापछि कालकाजी सिट कायम राखिन् र भाजपाका रमेश बिधुडीलाई तीन हजार ५२१ मतको अन्तरले पराजित गरिन् ।

आफ्नो व्यक्तिगत विजयलाई स्वीकार्दै, आतिशीले दिल्ली विधानसभा चुनावमा आपको हार स्वीकार गरिन् र भाजपाविरुद्ध लडाइँ जारी राख्ने प्रतिबद्धता जनाइन् ।

विशेष गरी पूर्व मुख्यमन्त्री अरविन्द केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदियासहित पार्टीका धेरै शीर्ष नेताले आफ्नो निर्वाचन क्षेत्रहरू गुमाएको बेला कालकाजी निर्वाचन क्षेत्रमा आतिशीको जित आपका लागि विशेष छ ।

भाजपाका परवेश वर्मा नयाँदिल्ली सिटमा पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालमाथि चार हजार मतभन्दा बढीको निर्णायक जितसहित विधानसभा चुनावमा विशाल विजेताको रूपमा उदाए ।

राष्ट्रिय राजधानीमा आफ्नो पुनरागमनको आशा गरेको कांग्रेस फेरि कुनै पनि सिट जित्न असफल भयो ।

भारतको छत्तीसगढमा सुरक्षाकर्मीसँगको भिडन्तमा १२ माओवादीको मृत्यु

छत्तीसगढ । भारतको छत्तीसगढको बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रको जङ्गलमा सुरक्षा बलसँग भएको मुठभेडमा कम्तीमा १२ जना नक्सलवादी (माओवादी) मारिएका अधिकारीहरूले आइतबार बताएका छन् ।

बस्तर प्रहरी अधिकारीहरूका अनुसार आइतबार बिहान जङ्गलमा मुठभेड भएको थियो ।

‘बिजापुर जिल्लाको नेसनल पार्क क्षेत्रमा भएको मुठभेडमा १२ जना नक्सलवादी मारिएका छन्’, उनीहरूले भने, ‘मुठभेडमा दुई जवानको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  त्यस क्षेत्रमा खोजी अभियान जारी छ ।’

मेक्सिकोमा बस दुर्घटना, कम्तीमा ३० जनाको मृत्यु

मेक्सिको सिटी । मेक्सिकोको दक्षिणी क्षेत्रमा बस र ट्रक एकआपसमा ठोकिँदा कम्तीमा ३० जनाको मृत्यु भएको पत्यक्षदर्शीले बताएका छन्।

स्थानीय अधिकारीले अहिलेसम्म मृतक सङ्ख्या पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक गरेका छैनन्।

स्थानीय समयअनुसार शनिबार बिहान रिसोर्टहरूको सहर क्यानकुन र ताबास्को राज्यको बीचमा यात्रा गरिरहेको एउटा बस एस्कार्सेगा शहरमा ट्रकसँग ठोकिएर दुर्घटना भएको हो।

अधिकारीहरुले नौ जना घाइते भएको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् भने स्थानीय सञ्चारमाध्यमले कम्तीमा ३० जनाको मृत्यु भएको समाचारमा जनाएका छन्।

एस्कारसेगा रहेको क्याम्पेचे राज्यकी प्रशासन प्रमुख एलिसा हर्नान्डेजले भने,‘हामीसँग मृत्यु हुनेको आधिकारिक सङ्ख्या अझै प्राप्त भइसकेको छैन । मृतकको शरीर क्षतविक्षत भएकोले तिनीहरूलाई सङ्कलन गरी पहिचान गर्ने कमाम भइरहेको छ।’

ताबास्को राज्यका गभर्नर जाभियर मेले सामाजिक सञ्जाल एक्समा भनेका छन् ,‘यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा भयानक दुर्घटना भएको छ र यस दुःखद् क्षणमा हामी मृतकका परिवा्जनमा समवेदना प्रकट गर्दछौँ।’

‘हामी दुर्घटनापछिको आवश्यकता अनुसार सङ्घीय र क्याम्पेचे अधिकारीहरूसँग समन्वय गरिरहेका छौँ,’ उनले भने।

साँझसम्ममा ताबास्को राज्यको महान्यायाधिवक्ताको कार्यालयले विज्ञप्ति जारी गर्दै क्याम्पेचेका अधिकारीहरू र फरेन्सिक विज्ञान निर्देशनालयसँग मिलेर ‘पीडितहरूको पहिचान गर्न सहज हुने आनुवंशिक परीक्षण’ गर्न काम गरिरहेको बताएको छ।

‘प्रभावित परिवारप्रति हाम्रो समवेदना छ,’ विज्ञप्तिमा भनिएको छ। बस सञ्चालन गर्ने कम्पनीले अनुसन्धानका लागि अधिकारीहरूसँग पनि सहकार्य गरिरहेको जनाएको छ।

‘हामीले आफ्ना प्रिय सहकर्मी, सेवाग्राही र साथीहरू गुमाएका छौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कठिन समयमा हामी उनीहरूको प्रशासनसँगको ऐक्यबद्धता र समझदारीको कदर गर्दछौँ।’ 

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समिति गठन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ मूल समारोह समिति गठन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय , सिंहदरबारमा आज भएको बैठकमा गृह मन्त्रालयको प्रस्तावबमोजिम मूल समारोह समिति, विभिन्न उपसमिति गठन र विभिन्न कार्यक्रमहरुको प्रस्ताव छलफलसहित पारित गरी भव्यताका दिवस साथ मनाउने निर्णय भएको हो ।

प्रधानमन्त्रीको अध्यक्षतामा गठित मूल समारोह समितिमा उपप्रधानमन्त्रीहरू, मन्त्रीहरू एवं राज्यमन्त्रीहरू, काठमाडौँ महानगरपालिकाका प्रमुख, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, ललितपुर महाहनगरपालिकाका प्रमुख, नेपाल सरकारका सचिव तथा विशिष्ट श्रेणीका राजपत्राङ्कित अधिकृतहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, काठमाडौँ उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।

यसैगरी, सम्बन्धित निकाय र पक्षको सहभागिता हुने गरी प्रचारप्रसार, मञ्च सजावट, ग्राउण्ड कवाज तथा व्यायम व्यवस्थापन, सांस्कृतिक झाँकी व्यवस्थापन, सांस्कृतिक विविधता प्रदर्शन व्यवस्थापन उपसमिति गठन गरिएको छ । यसैगरी सातै प्रदेशमा मुख्यमन्त्रीका अध्यक्षतामा प्रदेशस्तरीय समारोह समिति गठन गरी विभिन्न कार्यक्रम गरी दिवस मनाउने निर्णय भएको छ ।

२००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा प्रत्येक फागुन ७ गते यो दिवस मनाउने गरिन्छ । यस वर्ष फागुन ६, ७ र ८ गते तीन दिनसम्म नेपाल र विदेशस्थित नेपाल राजदूतावास, कूटनीतिक नियोग एवं वाणिज्य दूतावासहरूमा समेत दीपावली गर्ने तथा फागुन ७ गते नेपाली सैनिक मञ्च, टुँडिखेलमा मूल कार्यक्रम आयोजना हुनेछ ।

बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनतामाथि दमन गर्ने, नाङ्गो र हेपाहा खालको प्रवृत्ति देखाउने निरङ्कुशतन्त्र र प्रतिगमनलाई नेपाली जनताको बलिदानी सङ्घर्षले परास्त गरेको ऐतिहासिक दिनलाई जनस्तरमा समेत मनाउन आग्रह गरे ।

‘यो दिवसलाई केवल माथिको आदेश–निर्देशका भरमा मनाउने औपचारिक दिवस मनाउनु हुँदैन । यसलाई जनताको कार्यक्रम बनाउने गरी तयारी गर्नुपर्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकका लागि यो सबैभन्दा ठूलो परिवर्तन ल्याउने दिने हो । यहाँ हिंसालाई जनयुद्ध दिवस भन्न रुचाउनेहरू छन् तर त्यत्रो परिवर्तनलाई मान्न नरुचाउने तत्वहरू छँदैछन् । प्रजातन्त्र दिवसलाई नमान्ने कुरा लोकतान्त्रिक हुन सक्दैन । यस दिवसलाई भव्यताका साथ मनाउनुपर्छ ।’

‘हामी गलत कसरी भइयो ?’

काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीको नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

आइतबार सामाजिक संजालमार्फत न्यौपानेले प्रचण्डको भनाईप्रति आपत्ति जनाएका हुन् । शनिबार अखिल क्रान्तिकारीको २३औं सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई शनिबार काठमाडौंमा शपथ गराउँदै प्रचण्डले सम्मेलनले विद्यार्थी नहुने तर, विद्यार्थी नेता भइरहने अभ्यासको अन्त्य भएको बताएका थिए ।

प्रचण्डले भनेका थिए, ‘उमेर हद र नेतृत्व दुवैमा निर्वाचनबाट नै टुंगो लगाउनुपर्छ भनेर दृढतापूर्वक लागेर पार्टीले प्रत्यक्ष हस्तक्षेप नगरेर विद्यार्थीकै मतबाट टुंगो लगाउनु महत्त्वपूर्ण अभ्यास हो । अहिले आएको परिणामले मिलेर अघि बढ्ने र संगठनलाई एकताबद्ध बनाउने वातावरण बनेको छ ।’

यस्तो छ लेखनाथ न्यौपानेको भनाई

कमरेड प्रचण्डले हिजो हामी ४/५ जना साथीहरूको नामै लिएर विद्यार्थी नहुने तर विद्यार्थी नेता भइरहने समस्या थियो, अब हल भयो भन्नुभयो । उहाँले सार्वजनिक कार्यक्रममा बोलेको हुनाले यसबारे सार्वजनिक रुपमै केही भन्नुपर्ने भयो ।

१) कानुनी रुपमा अहिले प्रयोगमा आएको ३२ वर्षे उमेरहदभन्दा अगाडि नै अध्यक्षको जिम्मा पाइसकेको अवस्था हो, ३२ वर्ष वरिपरिमा त दोस्रो कार्यकालको जिम्मा शुरुवात भइसकेको थियो र विश्वविद्यालय पढेरै आएको हो हामीहरु ।

२) पहिलोपटक अध्यक्ष बन्ने निर्णय ०५९ को अन्त्यतिर सम्पन्न पार्टीको रोल्पा बैठकले गरेको थियो, त्यतिबेला म मकवानपुरको चुरे क्षेत्रतिर पार्टी काममा थिए । फलानोलाई अध्यक्ष बनाउनु पर्याे वा फलानोलाई बनाउन हुँदैन भन्ने न हाम्रो संस्कृति थियो, न हामीलाई त्यो मौका नै । अध्यक्ष बनाको उहाँहरुले नै होला ? दोस्रो पटक अध्यक्ष हुँदा पनि मै दोहोरिन्छु भनेर कहिल्यै कसैलाई भनिएन, खुल्ला परिवेशमा स्थापित नेतृत्व आवश्यक भनेर उहाँहरुले नै निर्णय गर्नुभएको हो । गज्जब त के भने तेस्रो पटक पनि तपाईं नै अध्यक्ष बन्नुपर्याे भन्ने उहाँको जोड थियो । योग्य साथीहरू धेरै तल जाममा परिरहनुभएको छ । मैले गर्ने योगदान गरिसकै । पुनः त्यही जिम्मा लिंदा योगदानको निरन्तरता वा ओरालो परिणाम मात्र हुन्छ । यसले विद्यार्थी आन्दोलन र विद्यार्थी साथीहरूलाई राम्रो पर्दैन । त्यसकारण यो हुनै सक्दैन भन्नै मै हुँ ।

३) जनयुद्धको समयमा शहरीया आन्दोलन जोखिमको विषय थियो, जसमा विद्यार्थी संगठन अग्रभागीय मोर्चा भन्ने पार्टी लाइन पार्टीले नै बनाको होला अर्काेतिर क्याम्पस क्याम्पसबाट पुर्णकालीन कार्यकर्ता उत्पादन गरेर सैन्य मोर्चामा पठाउनु पर्ने योजना । यसअन्तर्गत कैयौं साथीहरू सहिद–वेपत्ता बन्नुभयो । हामी दर्जनौ पटक हिरासत, यातना, अपाङ्गता र लामो जेलजीवन बिताएर आएको इतिहास । पार्टीको निर्णय/आदेशप्रति न प्रश्न उठाइयो, न इन्कार नै । हामी गलत कसरी भइयो ?

४) एउटा विषय दावाकासाथ भन्न सकिन्छ कि शैक्षिक आन्दोलन, संगठन परिचालन एवं यसले जनयुद्ध र त्यसपछिको परिवेशमा त्यतिबेलाको विद्यार्थी आन्दोलनले पुर्याएको योगदान र निर्माण गरेको मानक सामान्य थिएन, विशिष्ट थियो ।

५) टाउको दुखेको ओखती नाइटोमा लगाएर समस्या हल हुँदैन है अध्यक्ष कमरेड !

मनाङको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेन

मनाङ । जिल्लाको चामे गाउँपालिका–१ तिमाङ जङ्गलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण हुन सकेको छैन । यही माघ १८ गते बेलुकीदेखि लागेको डढेलो जटिल भूगोलका नियन्त्रण गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तिमाङ जङ्गलमा लागेको डढेलो जटिल भौगोलिक संरचनाका कारण नियन्त्रणमा लिन नसकिएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । उनका अनुसार डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ ।

उनले भने, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जङ्गलमा खटिनुभएको छ, तर हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।” डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जङ्गलमा रहेका भेडा, च्याङ्ग्रा, याक, चौरीका चरन क्षेत्र नष्ट भएका उनले बताए ।

“आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ”, प्रजिअ आचार्यले भने, “साथै राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको बासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।” जानसक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहनुभएको उनले जानकारी दिए ।

कठिन तथा जोखिम भिरमा आगलागी भएकाले डढेलो नियन्त्रणमा समस्या भएको उनले बताए । अन्यत्र आगो नफैलिओस् भनेर सुरक्षित गर्ने काम भने गरिसकेको भन्दै बस्तीमा आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख ढकबहादुर भुजेलले हिउँ पर्ने स्थानमा हिउँ नपर्नु, सुक्खा हुनुलगायत कारणले आगलागी भएको भन्दै सुख्खा बढी भएकाले आगो नियन्त्रणमा लिन नसकिएको बताए । उनले भने, “संरक्षण क्षेत्रमा प्रत्येक वर्ष आगलागी हुने गरेको छ । सुक्खायाम, हिउँ नपर्नु, वनजङ्गलमा रहेका सुकेका ठुटालगायत कारणले आगो लाग्ने गरेको हो ।”

भुजेलका अनुसार राष्ट्रिय वन क्षेत्रमा यसरी लामो समय आगलागी हुँदा बासस्थान बनाएर बसेका पशुपन्छी अन्यत्र सर्ने गरेका छन् । यसरी प्रत्येक वर्ष वन्यजन्तु तथा पशुपन्छीको बासस्थान मासिँदै गएपछि यहाँका लोपोन्मुख वन्यजन्तु पूर्ण रूपमा लोप हुनसक्ने उनले बताए । उनका अनुसार आगलागीबाट जङ्गलमा भएका सल्लाको काठ, धुपीजस्ता बहुमूल्य तथा औषधीय जडीबुटीको विनास हुनेसक्ने अनुमान गर्न सकिन्छ ।

जङ्गलमा भएका झिजा, पातपतिङ्गरले गर्दा आगो बढ्न सक्ने जोखिम यथावत रहेको प्रमुख भुजेलले बताए । उनले भने, “सुक्खयाम र हुरीबतास चल्ने मौसमका कारण आगो नियन्त्रणमा लिन कठिन भएको छ ।” तत्काल जङ्गलमा आगलागी नियन्त्रण गर्न नसके यसको क्षेत्रफल बढ्ने उनको भनाइ छ । उनका अनुसार जङ्गलमा भएका वनआलु, लौडसल्ला, जटामसी, पाँचऔँले, गुची च्याउलगायत जडीबुटी डढेलोले नष्ट हुने थालेका छन् ।

आगलागीका कारण चराचुरुङ्गी, वन्यजन्तुको बासस्थानमा प्रभाव पार्नुका साथै चराचुरुङ्गी, वन्यजन्तु तथा याकचौँरीका चरन क्षेत्र नास हुन थालेको कार्यालय प्रमुख भुजेलले बताए । यस वर्षको मङ्सिरयता ताल, आइसलेक, पिसाङ भिर आगलागी भएको कार्यालयले जनाएको छ ।

विसं २०७७ मङ्सिर २ गतेदेखि लागेको आगो दुई महिनापछि मात्रै नियन्त्रण आएको थियो । उक्त आगलागीका कारण मनाङको एक हजार दुई सय हेक्टर क्षेत्रफल वनजङ्गल नष्ट भएको थियो । तिमाङ जङ्गलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ ।

किसानलाई सुन्तला खेतीमा प्रोत्साहन गर्दै कृषि ज्ञानकेन्द्र

भोजपुर । यस वर्ष भोजपुर जिल्लाबाट ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको छ । चार हजार दुई सय मेट्रिकटन सुन्तला निर्यात हुँदा सो बराबर रकम जिल्ला भित्रिएको कृषि ज्ञानकेन्द्र भोजपुरले जनाएको छ ।

यहाँ नौ सय ५० हेक्टरमा सुन्तलाखेती विस्तार गरिएको भए पनि सात सय ९० हेक्टरमा लगाएको सुन्तलाले उत्पादन दिने गरेको कृषि ज्ञानकेन्द्रका प्रमुख मुकेशकुमार यादवले जानकारी दिए । हालसम्म जिल्लाबाट रु ३५ करोड २८ लाख बराबरको सुन्तला निर्यात भएको तथ्याङ्क रहेको प्रमुख यादवले बताए ।

“जिल्लाबाट यस वर्ष ३५ करोड बढीको सुन्तला निर्यात भएको छ”, प्रमुख यादवले भने, “यहाँको सात सय ९० हेक्टर क्षेत्रमा विस्तार भएको सुन्तलाले उत्पादन दिने गरेको छ । आगामी दिनमा यहाँबाट निर्यात हुने सुन्तलाको परिमाण अझ बढ्ने देखिन्छ ।” किसानलाई सुन्तलाखेतीमा प्रोत्साहन गर्न कार्यालयले आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ ।

किसानलाई सुन्तलामा लाग्ने रोग, किराका बारेमा जानकारी दिन स्थलगत रुपमा अभ्यासमूलक तालिम सञ्चालनसँगै आवश्यक उपकरण हस्तान्तरणलगायत काम गर्दै आएको प्रमुख यादवको भनाइ छ । सुन्तलाखेती यहाँका किसानको राम्रो आम्दानीको स्रोत रहेको उनको भनाइ छ ।

“पछिल्लो समय भोजपुरका किसान सुन्तलाखेतीतर्फ आकर्षित भएका छन्”, उनले भने, “सुन्तलाखेतीमा जुटेका किसानलाई आवश्यक तालिमसँगै प्रविधिक सहयोग पनि गर्दै आएका छौँ । बर्सेनी यहाँ खेती विस्तारको क्षेत्र बढी रहेको अवस्था छ ।”

जिल्लाका सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने गरेको छ । बढीमात्रामा सुन्तला उत्पादन हुने भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र टेम्केमैयुङ गाउँपालिकामा सुन्तला पकेट क्षेत्र विस्तार गरिएको छ ।

विगतमा स्थानीय बजारमा मात्र बिक्री हुने सुन्तला सडकको पहुँच विस्तारसँगै बाहिरको जिल्लामा पुग्न थालेपछि किसानले राम्रो मूल्य पाउने गरेका छन् । यहाँ उत्पादन भएको सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौँलगायत सहरमा जाने गरेको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

भोजपुरमा गत वर्ष  २९ करोड बराबरको सुन्तला निर्यात भएको कार्यालयको भनाइ छ । गत वर्षको तुलना यो वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको कार्यालयले जनाएको छ ।

शंकर पोखरेलको जिकिरः अध्यादेशमा सहयोग गर्नका लागि वर्षमानजीलाई फोन गरेको होइन

काठमाडौं । नेकपा एमालेमा महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग अध्यादेशमा सहयोग माग्ने उद्देश्यले फोन नगरेको जिकिर गरेका छन् ।

आइबार सामाजिक संजालमार्फत पोखरेलले यस्तो बताएका हुन् । शनिबार गुल्मीमा आयोजित एक कार्यक्रममा उपमहासचिव पुनले अध्यादेशमा सहयोग गर्न एमाले महासचिव पोखरेलले आफूलाई टेलिफोन गरेको बताएका थिए ।

यस्तो छ महासचिव पोखरेलको भनाई

वर्षमानजीसँगको फोनको कुरा
नेताहरुका वीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो । पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसंग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिदैन ।

उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुनेकुरा हो । जहाँसम्म उहाँसंग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । म संग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ । तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिन ।

वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फÞत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुदै पनि आएको छ । जस्तो संक्रमण कालिन न्यायको विषयमा । जहासम्म वर्षमानजीलाई फोन गरेकै कारणले बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारबाजी वचकनापन बाहेक केही होइन । त्यस प्रकारको विचारप्रति सहानुभूति मात्र प्रकट गर्न सकिन्छ ।

जहाँसम्म राजनीतिक ध्रुविकरणका सन्दर्भमा त्यसप्रति नेकपा(एमाले)को नीति स्पष्ट छ । विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अव पुनः त्यही काम गर्नु उचित हुदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको वाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।

जहाँसम्म राजनीतिक स्थायित्वका लागि बलिया दलहरुको निर्माण गर्नु पर्दछ भन्ने विचारको उद्देश्य साना राजनीतिक दलहरुलाई सम्वैधानिक र कानूनी रुपमा निषेध गर्नु होइन र त्यसो गरिने पनि छैन । बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक धुविकरणको वाटोवाट हासिल गरिने विषय हो । अहिलेको हंग पार्लियामेन्ट भित्रको धेरै दलसँगको सहकार्यले त्यसको औचित्य खण्डित हुँदैन । बरु त्यसको महत्वलाई वर्तमान घटनाक्रमले झनै पुष्टि गरेको छ ।

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकको रोजाइमा

खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ ।

तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर पर्खाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए ।

“उकालो र उरालो भू-भागमा सोही सामग्री प्रयोग गरेर सिँढी निर्माण गरिएको छ । समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ”, उनले भने, “पदमार्गमा दुई मिटर चौडाइको पर्खाल निर्माण गरिएको छ । किरात ऐतिहासिकस्थल तुवाचुङ-जायजुममा निर्माणाधीन पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।”

समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको तुवाचुङ–जायजुम भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ ।

आकाश खुलेका दिन उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली शृङ्खलाहरु टलक्क चाँदी झैँ टल्किएको देखिन्छ । हिमाल, पहाड र तराईसम्मको दृश्य अवलोकन गर्न सकिने यस ऐतिहासिक एवं पर्यटकीय स्थलमा निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बनाएको हो ।

तयामा र खियामाले तान बुनेको यो ऐतिहासिक स्थलमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम ९तान० प्रत्यक्ष रुपमा देख्न सकिन्छ । किरात मुन्दुमी मिथकअनुसार, तुवाचुङ–जायजुममा तयामा र खियामा (दिदीबहिनी)ले कपडा बुन्ने गर्दथे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् ।

तुवाचुङ–जायजुममा किरात आदिम पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीभन्दा केही माथि पर्ने तुवाचुङ-जायजुममा मिनी ग्रेटवालसँगै, मञ्जुश्री गुफा जाने पदमार्ग, बसाहागुफा अगाडि माङ्खिम घर निर्माणलका लागि सङ्घीय सरकारको लगानीमा रु पाँच करोड ८२ लाखमा ठेक्का लागेको थियो ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकैपर्ने मञ्जुश्री पदमार्ग निर्माणसँगै तुवाचुङ मिनी ग्रेटवाल निर्माण भइसकेको छ । संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीले हाल तुवाचुङ-जायजुम प्रवेशद्वारमा रु ६० लाख लगानीमा दुईतले (दुईपाङ्ग्रे सवारीसाधनलाई भूइँतलामा तथा चारपाङ्ग्रे सवारीसाधनलाई माथिल्लो तलामा राख्नेगरी) पार्किङस्थल निर्माण गरिरहेको छ ।

तुवाचुङ–जायजुम ऐतिहासिकस्थल भएकाले निर्माणाधीन तुवाचुङ मिनी ग्रेटवालमा सिमेन्टको कङ्क्रिट प्रयोग नगरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिएका छन् ।

“ऐतिहासिकस्थललाई थप व्यवस्थित र आकर्षित बनाएर पर्यटक भित्र्याउने योजनासहित तुवाचुङ मिनी ग्रेटवालको अवधारणा अघि सारिएको हो”, उनले भने, “आगामी दिनमा तयामा र खियामाले तान बुन्दै गरेको स्थानलाई भौतिकीकरण गर्ने, तान बुन्दै गरेको प्रतिमा राख्ने, पर्यटकका लागि चिया तथा कफी खाने पार्क घर निर्माण गर्ने योजना नगरपालिकाको छ । क्रमशः उक्त क्षेत्रमा किरात समुदायको भान्छामा पाउने सबै खाद्यवस्तु उपलब्ध गराउने योजना छ ।”

तयामा र खियामाले तान बुन्दै गरेको प्रतिमा निर्माणका लागि रु ३० लाख तथा गार्डेन (बगैँचा)सहितको किरात सांस्कृतिक घर निर्माणका लागि रु २५ लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । प्रतिमा र सांस्कृतिक घरसमेत यसै वर्षभित्र निर्माण गरिने नगरप्रमुख राईले जानकारी दिएका छन् ।

मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने तुवाचुङ–जायजुममा उँधौली र उँभौलीका अवसरमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको छ । तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायत किरात समुदाय आउने गरेका छन् ।

सरकारले निर्धारण गरेको एक सय वटा गन्तव्यअन्तर्गत मन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तुवाचुङ–जायजुमको जमिन भिरालो हुँदा विशेष गरी साकेला नाँच्ने समयमा जोखिम हुने भएकाले ढुङ्गाको पर्खाल लगाएर पदमार्ग निर्माण गरिएको हो ।

क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको भूकम्प

बीबीसी । क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि आसपासका धेरै देशहरूमा सुनामीको चेतावनी दिएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

अधिकारीहरूका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल (३२.१ किलोमिटर) उत्तर र केम्यान टापुहरूबाट १३० माइल दक्षिण–पश्चिममा रहेको छ । कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरस, निकारागुआ र क्युबाको तट लगायतका क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले सुरुमा पोर्टो रिको र युएस भर्जिन टापुहरूका लागि सम्भावित खतराहरूको लागि सुनामीको चेतावनी दिइएपनि ४५ मिनेटपछि चेतावनी रद्द गरिएको छ ।

केन्द्रले त्यसक्षेत्रका बासिन्दालाई सतर्क रहन भने आग्रह गरेको छ । तर, केम्यान टापुको सरकारले त्यहाँका बासिन्दाहरूलाई सुनामीको खतरा रहेको चेतावनी दिइएको छ ।

आम आदमीलाई हराउँदै भाजपा २७ वर्षपछि नयाँ दिल्लीमा सत्तामा, काङ्ग्रेसको प्रतिनिधित्व शून्य

नयाँदिल्ली । भारतीय जनता पार्टी (भाजपा) ले शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टीलाई सत्ताच्युत गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री अरविन्द केजरीवालसहित आम आदमी पार्टी (आप) का कैयौँ शीर्ष नेताले आफ्नो गढबाट हार बेहोरेका छन्।

भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको गठबन्धनले महाराष्ट्रको चुनावमा विजय हासिल गरेको र पार्टीले हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाईभन्दा बढी सीटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका छन् ।

शनिबार साझसम्म भाजपाले दिल्लीमा ७० सिटमध्ये ४५ सिट जितेको छ भने तीन सिटमा अग्रता लिएको छ । आम आदमी पार्टीले २१ सिट जितेको छ भने एक सिटमा अग्रता लिएको छ ।

सङ्घीय राजधानी दिल्लीमा आफ्नो पुनरुत्थानको आशामा रहेको काङ्ग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको काङ्ग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ ।

सुशासन’को विजयः मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनता पार्टी (भाजपा) को विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताएका छन् ।

उनले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताए । प्रधानमन्त्री मोदीले भने, “जनशक्ति सर्वोपरि छ ! विकासको जित हुन्छ, सुशासनको जित हुन्छ ।”

आपद्वारा हार स्वीकार

दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गर्नुभएको छ भने आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठकले चुनाव हारेका छन् ।

आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिएका छन् । “केजरीवालले एक्समा पोस्ट गरिएको भिडियोमा भनिएको छ, “जनताको जनादेशलाई हामी अत्यन्त नम्रताका साथ स्वीकार गर्दछौं । म भाजपालाई यो जितको लागि बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले ती सबै वाचाहरू पूरा गर्नेछन् जसका लागि जनताले उनीहरूलाई मतदान गरेका छन् ।”

उनले भने,“विगत १० वर्षमा हामीले स्वास्थ्य, शिक्षा, पूर्वाधारका क्षेत्रमा धेरै काम गरेका छौं । हामी रचनात्मक प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्ने छैनौं, जनताको बीचमा रहेर जनताको सेवा गरिरहनेछौं । ’हामी सत्ताका लागि राजनीतिमा आएका होइनौं, राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रुपमा लिएका छौं ।”

एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सिचुवानमा पहिरोमा परी कम्तीमा ३० वेपत्ता, करिब २०० जना विस्थापित

छेन्दु । चीनको सिचुआन प्रान्तमा शनिबार गएको पहिरोमा १० घर पुरिँदा ३० जनाभन्दा बढी बेपत्ता भएका छन् । पहिरोस्थलबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

यिबिन शहरको जुनलियन काउन्टीमा रहेको जिनपिङ गाउँमा बिहान ११ः५० बजे पहिरो गएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

चिनियाँ समाचार संस्था सीसीटीभीले स्थानीय अधिकारीलाई उदृत गरी लेखेको समाचारमा भनिएको छ, “पहिरोले करिब १० वटा घर पुरेको छ भने ३० जनाभन्दा बढी हराइरहेका छन् । पहिरोको जोखिम रहेको पहिरो वरपरको क्षेत्रबाट करिब २०० जनालाई सुरक्षित स्थानमा सारिएको छ।”

घटनास्थलमा रहेका उद्धारकर्तालाई उदृत  गर्दै सरकारी प्रसारकले भनेको छ, “समाचार तयार पार्दासम्म पहिरो अझै नरोकिएकोले पहिरो क्षेत्रमा नजान स्थानीय सर्वसाधारणलाई निर्देशन दिइएको छ ।”

चीनका राष्ट्रपति सी चिनफिङले अधिकारीहरूलाई ‘हराइरहेका व्यक्तिहरूको खोजी र उद्धार गर्न, हताहतहरू कम गर्न र त्यसपछिको स्थितिलाई उचित तरिकाले व्यवस्थापन गर्न’ निर्देशन दिएका छन् ।

राष्ट्रिय आपतकालीन व्यवस्थापन मन्त्रालयले एक अनलाइन पोस्टमा दुई जना पहिरोबाट सकुशल उद्धार गरिएको उल्लेख गरेको छ ।

आपतकालिन प्रतिक्रिया टोलीहरू जीवित व्यक्तिहरूको खोजीमा घटनास्थलमा पुगी काम गरिरहेको बताइएको छ। अधिकारीहरूले उद्धार र राहत प्रयासलाई सहयोग गर्न तीन करोड युआन (४१ लाख अमेरिकी डलर) पनि विनियोजन गरिएको बताएका छन् ।