`

अन्तर्राष्ट्रिय भेट्रान गोल्डकपको उपाधि विराट भेट्रान ‘ए’ लाई

विराटनगर । चौथो अन्तरराष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विराट भेट्रान ‘ए’ ले उचालेको छ ।

शनिबार सुकुना खेलमैदानमा भएको फाइनल खेलका विराट भेट्रान ‘बी’ लाई १—७ गोलले पराजित गर्दैै आयोजक विराट भेट्रान ‘ए’ ले उपाधि उचालेको हो ।

विजेता टोलीबाट जर्सी नं ११ का खेलाडी कृष्ण शाक्यले खेलको ११, २५ तथा ६३औँ मिनेटमा एक्लै तीन गोल गरेका थिए । साथै जर्सी नं ९ का खेलाडी सुरज प्रधानले खेलको २२, ५१ र ६१ औँ मिनेटमा तीन गोल गरे । यसैगरी सोही टोलीबाट जर्सी नं ७ का खेलाडी डेनी राईले खेलको ३२औँ मिनेटमा अर्को गोल थपे ।

उपविजेतामा सीमित विराट भेट्रान ‘बी’का खेलाडी जर्सी नं १६ का निर्मल तामाङले खेलको ४९औँ मिनेटमा एक गोल गरेर आफ्नो टोलीलाई शून्य गोलबाट जोगाएका थिए ।

खेल अवधिभरि विजेता टोलीले उपविजेतालाई कडा दबाबमा राखेको थियो । खेलमा गोल गर्ने थुप्रै अवसर पाए पनि उपविजेता टोलीले त्यसको सहदुपयोग गर्न सकेन ।

प्रतियोगिताको विजेता टोलीले रु एक लाख तथा उपविजेताले रु ५० हजार नगदका साथमा ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेका छन् । खेलको ‘म्यान अफ दी म्याच’ विजेता टोलीका खेलाडी कृष्ण शाक्य, वेस्ट डिफेन्ड सरोज बस्नेत तथा ‘म्यान अफ सिरिज’ जेनी राई घोषित भए ।

यही माघ १९ गतेदेखि भएको प्रतियोगितामा नेपालका आठ र भारतका दुई गरेर दश भेट्रान टोलीको सहभागिता रहेको थियो ।

गत वर्ष प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपिएफ काठमाडौँले उचालेको थियो । राजारानी फुटबल क्लब धनकुटा उपविजेता बनेको थियो । यसपटकको प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका मुख्य सहयोगी तथा जिल्ला फुटबल सङ्घ मोरङ सहयोगकर्ता रहेको थियो ।

‘मिसेस नोवेल नेपाल २०२५’ को उपाधि सन्ध्या लामिछानेलाई

काठमाडौं । ‘मिसेस नोवेल नेपाल २०२५’ को उपाधि सन्ध्या लामिछानेले जितेकी छन् । शनिबार राजधानीको ज्यापु प्रज्ञा एकेडेमीमा सम्पन्न कार्यक्रममा ‘मिसेस नोवेलको ताजसँगै ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अर्वाड २०२५ टोकीयो जापान’ को लागी इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छिन् ।

प्रमुख निर्णायक रमेश उप्रेतीले सोधेको प्रश्नमा उत्कृष्ट उत्तर दिदै उनले शीर्ष उपाधि जित्न सफल भएकी थिइन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित कार्यक्रममा फस्ट रनर अप सर्वण जोशी एवं सेकेन्ड रनरअप रेखा भट्टराई हुन सफल भएका थिए ।

कार्यक्रममा विविध सव टाइटल अर्वाडहरु समेत वितरण गरिएको थियो जसमा शन्ध्या लामिछाने मोस्ट इन्टिलिजेन्ट, रेखा भट्टराई मोस्ट पपुलर र पब्लिक च्वाइसका साथै मोस्ट एट्राक्टिभ सर्वण जोशी बेस्ट ट्यालेन्ट, कल्पना बिक मोस्ट स्मार्ट, प्रिती खड्का बेस्ट फोटोजेनिक आकांक्षा गजमेर वेष्ट क्याटवाक, शर्मीला थापा मोस्ट डिलिजेन्ट, निर्मला चौधरी मोस्ट चार्मिङ, सीमा ढुंगाना मोस्ट प्यासोनेट र पेशल कुमारी खड्का मोस्ट कन्फिडेन्ट अर्वाड जित्न सफल भएका थिए ।

कार्यक्रमको निर्णायक मण्डलमा नायक एवं चलचित्रकर्मी रमेश उप्रेती, नायक मोडल मनिष राउत, मिस नेपाल आइडल २०१९ एवं भिजे निमा लमु शेर्पा, ब्युटिसियन नेपाल २०२१ सजना खतिवडा र मिसेस हिमालयन नेपाल २०२४ कविता विशुंखे रहेका थिए ।

विवाहित महिलाहरुको क्षमता, प्रतिभा प्रस्फुटन गराइ सामाजिक पहिचान बनाइ महिलाहरुको क्षमता प्रतिभामा बडोत्तरी गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जानकारी गराएको छ।

सोमबारदेखि अन्तर्राष्ट्रिय थ्रीबाईथ्री एनबिसी बास्केटबल च्याम्पियनसिप हुने

काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्रीको आयोजनामा सोमबारबाट अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

शनिबार पत्रकार सम्मेलन गर्दै नेपाल बास्केबल संघले बुधबारसम्म हुने प्रतियोगितामा ३२ टीम सहभागी हुने जानकारी दिएको छ । प्रतियोगितामा नेपालबाट २२ टीम सहभागी हुनेछन् । त्यस्तै, बंगलादेशबाट ४, ३ भारत र १ पाकिस्तानबाट टीम सहभागी हुने बास्केबल संघका महासचिव नरेन्द्र थापाले जानकारी दिए ।

दुई टीमको टुंगो लाग्न बाँकी छ । महासचिव थापाका अनुसार नेपाली टिमले दुई जना विदेशी खेलाडी अनुबन्ध गर्न पाउनेछन् । जसमध्ये १ खेलाडीमात्रै कोर्टमा उत्रने नियम रहेको छ ।

पहिलो संस्करण भब्य आयोजना भएपछि दोस्रो संस्करण आयोजना गरेको संघका अध्यक्ष भीम गुरुङले जानकारी गराए । उनले भने,‘पहिलो संस्करण हामीले निकै भब्य आयोजना गरेका थियौं । पहिलो संस्करण नै राम्रो भएपछि निरन्तरता दियौं । दोस्रोमा झनै राम्रो खेल हुने विश्वास छ ।’

प्रतियोगिताको सबै म्यानेजमेन्टको जिम्मेवारी आइडिया पिक्सेसले गरेको छ । पत्रकार सम्मेलनमा आइडिया पिक्सेलको तर्फबाट पवनराज जोशीको सहभागिता रहेको थियो । थी बाई थ्री का कोर्डिनेटर तथा केन्द्रिय सदस्य शरद बिष्टले प्रतियोगिता सम्पन्न गर्न अनुमानित खर्च १२ देखि १५ लाख लाग्ने बताए ।

संघका अध्यक्ष गुरुङले अन्तर्राष्ट्रिय प्रतियोगिता गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) बाट कुनै सहयोग नभएको बताएका छन् ।

‘हामीले यो सबै खर्च आफ्नो लागत र स्पोन्सरकै सहयोगले गर्दैछौं । राखेपबाट कुनै सहयोग भएको छैन,’ गुरुङले भने, ‘राखेप सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय भन्दा अन्तर्राष्ट्रिय प्रतियोगिता गर्नु भन्नुहुन्छ । तर, हामी अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा आधामात्रै खर्च बेहोर्दिनुस् भनेको छौं । तर, उहाँले दिनुहुन्न ।’

संघले प्रतियोगिताको अन्तिम दिन भारत र पाकिस्तानबीच मैत्रीपूर्ण खेल आयोजना हुने जनाएको छ । ‘हामीले नेपाली भूमि खेलकुदको लागि न्युट्रल भेन्यु हो भन्ने सन्देश दिनको लागि भारत र पाकिस्ताबीच अन्तिम दिन मैत्रीपूर्ण खेल आयोजना गर्दैछौं । यसमा दुबै टोलीको समर्थन रहेको छ ।’

ट्राइयाथलनको सातौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । नेपाल ट्राईयाथलन संघले आफ्नो विधानसम्मत सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरेको छ ।
संघका अध्यक्ष निलेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा अध्यक्ष श्रेष्ठले संघको निर्वाचन पश्चात संघले गरेका कृयाकलाप र समस्याहरुका बारेका साधारण सभामा आफ्ना धारणा राख्नुका साथै संघका गतिविधीलाई सहजतापूर्वक सम्पन्न गर्न के कस्ता कार्य गर्नु पर्ने हो ? त्यसका बारेमा सभामा उपस्थित सदस्यहरु संग समाधानका उपायहरुका बारेमा छलफल गरेका थिए ।

अध्यक्ष श्रेष्ठले आगामी बैशाख १३ र १४ गते (अप्रिल २६ र २७) पोखरामा आयोजना हुने एशिया ट्राइयाथलन कपलाई सफलता प्रदान गर्न केन्द्रीय कार्य समितिलाई एकजुट भएर लाग्न निर्देशन दिएका थिए । यसैगरी चैतमा आयोजना हुने १० औं बृहत राष्ट्रिय खेलकुदको तयारी र तदर्थ समितिमा सिमित प्रदेश संघको गठनलाई तिव्रता प्रदान गर्न निर्देशन दिएका थिए ।

संघका संस्थापक अध्यक्ष तथा मानार्थ अध्यक्ष गणेशमान पुनले संघको आगामी दिनमा आयोजना हुने कार्यक्रमको सफलताका साथै आफ्नो तर्फबाट हुन सक्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । संघका उपाध्यक्ष पूर्वप्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले संघलाई मजबुत बनाउने कार्यमा आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

साधारण सभामा महासचिव युवराज सुनुवारले संघको २०८०/८१ र २०८१/८२ को कृयाकलापलाई समेटेको महासचिवको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कोषाध्यक्ष निरज श्रेष्ठले संघको आर्थिक बर्ष २०८०/८१ को आर्थिक प्रतिवेदन पेश गरेका थिए ।
यस्तै साधारण सभामा उपस्थित कार्य समितिका सदस्यहरुले संघले आगामी दिनमा आयोजना गर्ने कार्यक्रमलाई सफल पार्न र संघलाई मजबुत पार्न आईपर्ने समस्याहरुलाई समाधान गर्न आआफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताए ।

‘शाइन रेसुङ्गा नेशनल टेन के रन’ प्रतियोगिता फागुन ११ गते हुने

बुटवल । ‘शाइन रेसुङ्गा नेशनल टेन के रन’ प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताबारे जानकारी गराएको हो ।

‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रिय स्तरका धावक सहभागी हुने प्रतियोगितामा महिला/पुरुष खुल्ला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ ।

खुल्लातर्फको महिला/पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो ।

खुल्लातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथों हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोंले २ हजार ५ सय रुपैयाँ सहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

इच्छुक सहभागीले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको वेबसाइटमा गएर निशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रिय कार्यालयमा समेत भौतिक रुपमा फारम गरी नाम दर्ता गर्न सक्ने ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन: केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्याउने उद्देश्य अनुरुप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए ।

‘काठमाडौं बाहिर केन्द्रीय कार्यालय राखेर एकमात्र बैंकको सफल रुपमा सञ्चालन गर्दै आएकौ छौं । राष्ट्रिय स्तरको कार्यक्रममार्फत खेलकुद र समाजप्रति उत्तरदायित्व पुरा गर्ने अवसरको रुपमा यसलाई लिएका छौं ।’ पत्रकार सम्मेलनमा उनले भने । सिईओ पौडेलले कार्यक्रमलाई वार्षिक ईभेन्टको रुपमा अघि लैजाने योजना रहेको सुनाएका थिए ।

अध्यादेशमा सघाउन माओवादीलाई एमालेको आग्रह

गुल्मी । नेकपा एमालेले संसदमा अध्यादेश स्वीकृतिका लागि नेकपा माओवादी केन्द्रको सहयोग मागेको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनलाई टेलिफोन गर्न अध्यादेशमा सहयोग गर्न आग्रह गरेका हुन् ।

शनिबार माओवादी केन्द्र गुल्मीको चन्द्रकोट गाउँपालिका अधिवेशनलाई सम्बोधन गर्ने क्रममा उपमहासचिव पुनले एमाले महासचिव पोखरेलले आफूलाई टेलिफोन गरेर सहयोग मागेको जानकारी दिए । तर पुनले आफूले पोखरेलको प्रस्ताव अस्वीकार गरेको बताए ।

सरकारले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी, निजीकरण ऐन–२०५० लाई संशोधन गर्न बनेको अध्यादेश, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी अध्यादेश, सहकारीसम्बन्धी अध्यादेश र भूमिसम्बन्धी अध्यादेश ल्याएको छ ।

सरकारले माघ १८ मा सुरु संसदको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभामा अध्यादेशहरू पेस गरेको थियो । तर बिहीबारको प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकमा अध्यादेश निर्णयार्थ पेस गर्ने तयारी थियो ।

तर राष्ट्रियसभामा सत्तापक्ष अल्पमतमा रहेकोले सरकारले अन्तिम समयमा आएर कार्यसूचीबाटै अध्यादेश निर्णयार्थ पेस गर्ने विषय हटाएको थियो । ६० दिनभित्र संघीय संसदबाट प्रतिस्थापन विधेयक पारित भएर राष्ट्रपतिले अनुमोदन नगरे कानूनी रिक्तता हुन्छ कि भन्ने दबाबमा सरकार छ ।

कार्यक्रममा पुनले वर्तमान व्यवस्थाको हकदार माओवादी रहेको बताए । उनले वर्तमान व्यवस्थामाथि विभिन्न प्रश्न उठिरहेको बेला १० वर्षे माओवादी आन्दोलनले देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्न सफल भएकाले यसको जस माओवादीले लिनुपर्ने बताए ।

उनले भने, ‘माओवादीले १० वर्षसम्म युद्ध गरेर जनताका अधिकार सुनिश्चित गर्यो । हामीले यो एजेण्डा आम नागरिकमाझ स्थापित गर्नुपर्छ ।’ पुनले पार्टी अध्यक्ष दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारका फाइल खोलेकै कारण सत्ताबाहिर हुनुपरेको बताए ।

चर्च ब्याइजलाई हराउँदै एनआरटीलाई बुढासुब्बा गोल्डकपको उपाधि

काठमाडौं । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै न्यूरोड टिम (एनआरटी) क्लबले बुढासुब्बा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार धरान रङ्गशालामा भएको फाइनल खेलमा एनआरटीले चर्च ब्वाइजलाई २–१ गोलले हराउँदै उपाधि जितेको हो ।

एनआरटीका लागि दुवै गोल हर्ने अडुसेट पोकोले गरे । यस्तै चर्च ब्वाइजका अनन्त तापाङले एक गोल गरे । २५औं संस्करणको बुढासुब्बा गोल्डकपको विजेता एनआरटीले १० लाख र उपविजेता चर्च ब्वाइजले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

समाजवादी पार्टीको महाधिवेशन आइतबारदेखि

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)ले  आइतबारदेखि सुरु हुने पहिलो महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा यही माघ २७ देखि २९ गतेसम्म हुने महाअधिवेशनमा  एक हजार पाँच समय प्रतिनिधिले भाग लिने महाधिवेशन व्यवस्थापन समितिका संयोजक हिसिला यमीले जानकारी दिइन् ।

पार्टीद्वारा शनिबार आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पार्टीले राजनीतिक दलभित्रको आन्तरिक लोकतन्त्रलाई बलियो तुल्याउँदै पार्टी सुदृढीकरण, असल राजनीतिक अभ्यास, संविधानको मर्मअनुरुप समावेशी चरित्रको सङ्गठन निर्माणलाई प्राथमिकता दिनेछ । साथै महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने छ । 

नयाँ शक्तिले मुलुकका अग्रगामी, वैकल्पिक र परिवर्तनकारी राजनीतिक शक्तिसँग सहकार्यको सम्भावना रहेको जनाएको छ ।

१८ हजार अफगान शरणार्थी स्वदेश फिर्ता

काबुल ।  गत महिना छिमेकी मुलुक पाकिस्तानबाट १८ हजार भन्दा बढी अफगान शरणार्थी आफ्नो स्वदेश फर्किएका छन् । ती अवैध आप्रवासीहरूमध्ये करिब एक हजार इस्लामवादबाट घर फर्काइएका रिपोर्टमा भनिएको छ ।

सन् २०२३ सेप्टेम्बर १५ देखि आठ लाख २५ हजार ६०० भन्दा बढी अफगानीहरू पाकिस्तान सरकारको गैरकानूनी विदेशी स्वदेश फिर्ता योजनाको कार्यान्वयन पछि फर्केका छन् ।

अफगानिस्तानको कामचलाउ सरकारले विदेशमा रहेका अफगानी आप्रवासीहरूलाई स्वदेश फर्कन र युद्धग्रस्त देशको पुनर्निर्माणमा योगदान दिन आग्रह गरिरहेको छ ।

पाथीभरामा केबलकार निर्माणले कुनै खालको धार्मिक आस्था खलबलाउने काम गर्दैनः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबलकार निर्माणले पाथीभराको धार्मिक आस्थामा कुनैपनि प्रभाव नपारेको बताएका छन् ।

शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पाथीभरा देवी दर्शन केबलकार प्रालिका अध्यक्षसमेत रहेका अध्यक्ष ढकालले पाथीभरा केवलकारको बारेमा एकदमै गलत प्रचार भएको भन्दै यसले पाथीभराको धार्मिक आस्थामा कुनै प्रभाव नपार्ने बताएका हुन् ।

उनले केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम नगरेको बताए । उनले भने, ‘भेटीसँग केबलकारको कुनै सरोकार, नाता नै छैन । यो केबलकारले कुनै पनि खालको धार्मिक आस्था खलबलाउने खालको काम गरेको छैन । यो गलत हो ।’

उनले कुनैपनि ठाउँमा नयाँ कामको सुरुवात गर्न खोज्दा विभिन्न खालको विचारहरु आउनु स्वभाविक भएको भन्दै यसलाई अन्यथा नलिएको पनि बताए ।

उनले भने, ‘केबलकारले नेपाली पर्यटन प्रवद्र्धनमा धेरै सहयोग गर्ने भएको हुनाले नेपालमा सातवटा प्रदेशमा सातवटा पर्यटन पूर्वाधार बनाऔं भनेर यसको सुरुवात गरेका हौं । हिँडेर जान समस्या हुने खालको व्यक्तिहरुलाई सहज हिसाबले जान सकोस भनेर सुरु गरेका हौं ।’

केवलकारले पर्यटन प्रवद्र्धनमा पनि सहयोग गर्ने हुनाले भने पाथीभरामा पनि त्यसको निर्माण गरेको उनको भनाई छ ।

न्यु होराइजनलाई हराउँदै फ्रेन्ड्स क्लब अर्जुन ट्रफीको फाइनलमा

धनगढी । फ्रेन्ड्स क्लब डडेल्धुरा कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । शनिबार भएको पहिलो सेमिफाइनलमा न्यु होराइजन बुटवललाई पाँच विकेटले हराउँदै डडेल्धुरा उपाधि नजिक पुगेको हो ।

डडेल्धुरालाई फाइनलमा पुर्याउन राष्ट्रिय टोलीका सदस्यसमेत रहेका कुशल भुर्तेलले अलरान्ड प्रदर्शन गरे । सेमिफाइनलमा बुटवलले दिएको ८३ रनको लक्ष्य डडेल्धुराले १५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो । डडेल्धुरालाई फाइनलमा पुर्याउन कुशल भुर्तेलले २६ बलमा ४६ रन बनाए ।

उनले छ चौका र दुई छक्का प्रहार गरेका थिए । यस्तै, आयुषमान बमले १६ रन बनाए । बुटवलका प्रिन्स पालले तीन तथा निर्मल गुरुङ र महेश भारले एक–एक विकेट लिए ।

त्यसअघि फाप्ला मैदानमा टस जितेर ब्याटिङ गरेको बुटवल १६१ ओभरमा ८२ रनमा समेटिएको थियो । सेमिफाइनलको अर्को खेल आइतबार हुनेछ । उक्त खेलमा डीसीए धनगढी र सीवाईसी अत्तरिया भिड्नेछन् ।

अब कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गर्नुपर्छः प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि कृषि उत्पादन वृद्धिसँगै कृषिमा आधारित औद्योगिकीकरणको नीति अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् ।

अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र)को केन्द्रीय समितिको शनिबार आयोजित तेस्रो पूर्ण बैठकमा प्रचण्डले स्थानीय तहदेखि नै कृषि उत्पादनमा वृद्धि र औद्योगिकीकरणको बाटो समात्नुपर्ने बताए ।

‘कृषि उत्पादनलाई मुख्य आधार बनाएर स्थानीय तहबाट समाजवादको यात्रा अघि बढाउनुपर्छ’, अध्यक्ष प्रचण्डले भने, ‘स्थानीय उत्पादनको वृद्धि र प्रशोधन तथा साना उद्योगको स्थापनामार्फत रोजगारी बढाउनेतर्फ केन्द्रित हुनुपर्छ ।’

त्यसका लागि आफ्नो पार्टीबाट जितेका स्थानीय सरकारका प्रतिनिधिलाई भेला गरेर समाजवादको अभ्याससम्बन्धी प्रशिक्षणको व्यवस्था गरिएको उनले बताए ।

चालु आर्थिक वर्षको बजेट बनाउँदा आफूहरुले कृषिलाई आधार र सूचना प्रविधिलाई अर्थतन्त्रको मेरुदण्ड मानेर तदनुरुप कार्यक्रम बनाएको तर वर्तमान सरकारले बजेटलाई तोडमोड गरेको आरोप लगाए ।

बैठकमा महासङ्घका अध्यक्ष चित्रबहादुर श्रेष्ठले महासङ्घको वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ माओवादी केन्द्र सचेत छः नारायणकाजी श्रेष्ठ

पाल्पा । नेपाल कम्युनिष्ट (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष एवं पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले हालै जारी गरेका अध्यादेश लोकतन्त्रको भावना विपरीत छन् भन्दै तिनको आलोचना गरेका छन् ।

प्रेस सेन्टर नेपालले तानसेनमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वगृहमन्त्री श्रेष्ठले लोकतान्त्रिक तरिकाबाट अध्यायदेश जारी गरेको आरोप लगाउँदै आफ्नो दल तिनका विरुद्धमा सदनमा उभिने बताएका हुन् ।

राजनीतिक अधिकार प्राप्त भए पनि जनताले अझै पनि आर्थिक, समाजिक अधिकार प्राप्त गर्न नसकेकोे उनको कथन छ ।

विधिको शासन उल्लङ्घन हुन नदिनेतर्फ पनि माओवादी केन्द्र सचेत रहेको पूर्वगृहमन्त्री श्रेष्ठले बताए । केन्द्रले सदन र सडकबाट सशक्त ढङ्गले सरकारको खबरदारी गर्दै आएको बताए ।

सप्तरीमा ७२६ केजी गाँजा बरामद

सप्तरी। सप्तरीको बोदे बरसाइन नगरपालिका–३ स्थित हुलाकी राजमार्गबाट सात सय २६ केजी गाँजा बरामद भएको छ।

बिहुल पुलभन्दा एक सय मिटर पूर्वतर्फ प्र.१–०२–००२ च ५८३८ नम्बरको स्कारपियोबाट आज उक्त परिमाणको गाँजा बरामद भएको हो।

मौवहा मल्हनिया प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक हेमन्त तामाङका अनुसार सवारीसाधनका चालक फरार छन्। निजको खोजी भइरहेको छ।

गत पुस २७ गते पनि बलान बिहुल गाउँंपालिका–१ कमलदाहाबाट ६७० किला तथा मङ्सिर ४ गते जिल्लाको राजगढ गाउँपालिका–४ बेल्ही चपेनाबाट टिपर र चालकसहित एक हजार सात सय १७ किलो गाँजा बरामद भएको थियो।

अलास्कामा बेपत्ता विमानको भग्नावशेष फेला

सान फ्रान्सिस्को । अमेरिकी कोस्ट गार्डले अलास्काको पश्चिमी तटबाट हराइरहेको १० जना सवार विमानको विवरणसँग मिल्दोजुल्दो एउटा दुर्घटनाग्रस्त विमान फेला पारेको बताएको छ ।

उक्त विमान पश्चिमी अलास्काको नोम शहरबाट करिब ५४ किलोमिटर दक्षिणपूर्वमा फेला परेको थियो । जहाजमा रहेका सबै १० जनाको मृत्यु भएको पुष्टि भएको अमेरिकी कोस्ट गार्डले जनाएको छ ।

खराब मौसम र कम भिजिबिलिटीका बीच एक घण्टा लामो खोज अभियानपछि भग्नावशेष फेला परेको थियो । बेरिङ एयरद्वारा सञ्चालित टर्बोप्रप सेस्ना कारभान बिहीबार दिउँसो बेपत्ता भएको अलास्काको सार्वजनिक सुरक्षा विभागले जनाएको छ ।

शुक्रबार स्थानीय समय अनुसार बिहान ९ बजे नोम स्वयंसेवी फायर डिपार्टमेन्टले जहाजमा रहेका सबैका परिवारलाई सूचित गरिएको बताएको छ ।

उत्तर कोरियाली फौज कुर्स्क क्षेत्रको अग्रमोर्चामा

बीबीसी । मस्कोका तर्फबाट लडिरहेका उत्तर कोरियाली फौज रुसको पश्चिमी कुस्र्क क्षेत्रको अग्रमोर्चाबाट फर्किएको युक्रेनी राष्ट्रपतिले जनाएका छन् ।

गत महिना ठूलो सङ्ख्यामा हताहत भएसँगै उनीहरू त्यहाँबाट फिर्ता गएका विवरण आएका थिए । शुक्रबार एक भिडियो सम्बोधनमा भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले ‘उत्तर कोरियाली सैनिकहरू फिर्ता ल्याएको’ र उनीहरूले खासगरी अधीनस्थ युक्रेनी भूभागमा ‘नयाँ हमला’ गरिरहेको जनाएका छन् ।

उनले सयौँ रुसी र उत्तर कोरियाली’ सैनिकहरू मारिएको बताए । जनवरीमा पश्चिमा अधिकारीहरूले बीबीसीलाई उत्तर कोरियाले पठाएका ११ हजारमध्ये कम्तीमा एक हजार जना सैनिकहरू पछिल्लो तीन महिनामा मारिएको जनाएका थिए ।

त्यसबारे उत्तर कोरिया र रुसले कुनै प्रतिक्रिया जनाएका छैनन् । शुक्रबार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आउँदो साता राष्ट्रपति जेलेन्स्कीसँग भेट र राष्ट्रपति पुटिनसँग संवादको सम्भावना रहेको जनाएका छन् ‘म युद्ध अन्त्य भएको देख्न चाहन्छु,’ ट्रम्पले भनेका छन् ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२२ को फेब्रुअरीमा युक्रेनमा पूर्ण स्तरको हमला सुरु गरेका थिए। उक्त लडाइँले दुवैतर्फ ठूलो क्षति पुर्याएको छ ।

गत साता कुस्र्कमा लडिरहेको युक्रेनी विशेष फौजले आफूहरूले पछिल्लो २१ दिनमा त्यहाँ कुनै उत्तर कोरियाली फौज नदेखेको जनाएको थियो । उनीहरूका एकजना प्रवक्ताले त्यहाँ ठूलो क्षति बेहोरेपछि उनीहरू फर्किएको हुनसक्ने बताएका थिए ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जङ–अनबीच पछिल्ला समयमा द्विपक्षीय सम्बन्ध गहिरिएको छ। दुई देशबीच सुरक्षा तथा रक्षा सन्धिमा समेत हस्ताक्षर भएको छ ।

हमासद्वारा थप तीन इजरायली बन्धक रिहा

बीबीसी । प्यालेस्टिनी समूह हमासले शनिबार गाजा स्ट्रीपबाट थप तीन जना इजरायली बन्धक मुक्त गरेको छ । युद्धविराम लागु भएपछिको पाँचौँ पटकमा छाडिएका उनीहरू सबै सर्वसाधारण मानिसहरू हुन् ।

मुक्त भएका एली शराबी, ओहाद बेन अमी र अर लेभी सन् २०२३ को अक्टोबर ७ मा हमासले गरेको हमलाका बेला बन्धक बनाएर गाजा पुर्याइएका थिए ।

युद्धविराम सम्झौता अनुसार इजरायलले त्यसको बदलामा कैयौँ प्यालेस्टिनी बन्दीहरूलाई छाड्नेछ। हमासका अनुसार शनिवार थप १८३ जना प्यालेस्टिनीहरू छुट्नेछन् ।

बन्धक मुक्त गर्नुअघि डेर अल–बलाहमा हमास लडाकुहरू जम्मा भएका थिए। त्यहाँ ती तीनजना बन्धकहरू रेडक्रसलाई बुझाएको थियो । गाजामा बन्धकहरू मुक्त गरिँदैगर्दा इजरेलको तेलअभिभस्थित होस्टेज स्क्वायरमा मानिसहरू जम्मा भएर उक्त प्रक्रिया हेरेका थिए ।

जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता यससँगै २१ जना बन्धकहरू र ३८३ जना प्यालेस्टिनी बन्दीहरू रिहा भएका छन् । अबको तीन सातामा सकिने युद्धविरामको पहिलो चरणको अन्त्यसम्ममा झण्डै ३३ जना बन्धक र १,९०० प्यालेस्टिनीहरू छाडिनेछन् ।

इजरायलले ३३ मध्ये आठजनाको मृत्यु भएको जनाएको छ । एली शराबी ५२ वर्षका छन् । उनी आफ्ना भाइसँगै बन्धक बनाइए तापनि भाइको भने यसबीचमा मृत्यु भएको पुष्टि गरिएको छ । उक्त हमलामा उनकी श्रीमती र दुई जना छोरीहरू मारिएका थिए ।

ओहान बेन अमी ५६ वर्षका छन्। उनीसँगै बन्धक बनाइएकी उनकी श्रीमतीलाई पछि हमासले मुक्त गरेको थियो । ओर लेभी ३४ वर्षका छन्।

हमलाका बेला उनी नोभा फेस्टिभलबाट आफ्नी श्रीमतीसहित भागेका थिए। उनकी श्रीमतीको बम हमलाबाट बच्न बनाइएको आश्रय स्थलमा शव फेला पारिएको थियो।

उनीहरू दुवै जना त्यहाँ लुक्न पुगेका थिए । सम्झौता अनुसार शनिबार नै इजरेलले छाड्नेको सूचीमा ७० जनाभन्दा धेरै आजीवन वा लामो समयको कैद अवधि झेल्नेहरू छन्। अन्य युद्धका बेला पक्राउ गरिएका गाजाबासीहरू छन् ।

बाँझो जग्गामा सामूहिक आलुखेती

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीका ३३ घर किसानले बाँझो जग्गामा सामूहिक आलुखेती सुरु गरेका छन्। स्थानीय मिलीजुली कृषक समूहले आहालटारको ६० रोपनी बाँझो जग्गामा सामूहिक आलुखेती सुरु गरेका हुन्।

‘ १५ हजारमा जग्गा भाडामा लिइएको छ’, मिलीजुली कृषक समूहका अध्यक्ष गजेन्द्र राईले भने, ‘सामूहिक आलुखेती गर्न सङ्घीय सरकारले रु १५ लाख बजेट उपलब्ध गराएको छ । यो वर्ष कम्तीमा एक सय मुरी आलुको बीउ रोप्ने योजना बनाएका छौँ ।’ हालसम्म ८० मुरी आलुको बीउ रोपिसकिएको उनले जानकारी दिए।

एक सिजनमा सरदर ५० हजार किलो आलु फलाउने लक्ष्य लिइएको सो वडाका वडाध्यक्ष मिलन राईले बताए। प्रतिमुरी रु चार हजारका दरले खरिद गरिएको भोटाङ्गे, नाम्जुङ्गे र धराने जातको आलु रोपिएको हो । आलुखेतीमा प्रतिट्र्याक्टर रु छ हजारका दरले खरिद गरिएको गाईभैँसीको मल प्रयोग गरिएको छ ।

गाउँपालिकालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आलु खेती सुरु गरिएको गाउँपालिका प्रमुख लोकेन्द्र राईले जानकारी दिए। ‘पहिलो चरणमा सङ्घीय सरकारबाट प्राप्त बजेटबाट सामूहिक खेती सुरु गरिएको छ । आगामी दिनमा गाउँपालिकाले बजेट विनियोजन गरेर सामूहिक आलुखेतीलाई निरन्तरता दिने योजना छ’, उनले भने, ‘यहाँ उत्पादित आलु भण्डारणका लागि यसै वर्ष भवन निर्माण गर्ने योजना छ । उत्पादित आलु भण्डारण गरेर बिक्री वितरण गर्न गाउँपालिकाले सहयोग गर्छ ।’

सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई समयानुकूल बनाउन सरकार क्रियाशील रहेको बताएका छन् ।

शनिबार भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु पेभिलियन’को उद्घाटन कार्यक्रममा उनले स्रोत र साधनको अधिकतम उपयोग गरी दुवै सुरक्षा निकायलाई प्रतिस्पर्धी बनाउन सरकार क्रियाशील रहेको बताए ।

दुवै निकायका निम्ति आवश्यक कानुन तयार गर्न गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गराएको उनले बताए।

“नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ”, उनले भने, “यस्तै संघसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका लागि संसद् पुगेका छन् । बाँकी विधेयक यसै चालु अधिवेशनमा पुर्‍याउँछौँ ।”

नेपाल प्रहरी ऐनसम्बन्धी विधेयकमा सेवा प्रवेश र सेवा निवृत्तको कुरा सुनिश्चित गरेको गृहमन्त्रीले बताए । साथै उनले प्रहरीबाट आवश्यक सुझाव आए प्रहरीसम्बन्धी विधेयकलाई संशोधन गरेर जाने स्थान पनि रहेको बताए। विधेयकका कमीकमजोरी संसद्मा सच्याउन सकिने भन्दै उनले चित्तनबुझेका विषयमा सकारात्मक दृष्टिकोणबाट बहस हुनुपर्नेमा जोड दिए ।

दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरेर प्रमाण र तथ्य आधारित न्यायसङ्गत अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् ।


भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लब परिसरमा निर्मित ‘द ब्लु  पेभिलियन’को शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशमा विधिको शासन तथा शान्ति सुरक्षा कायम गर्ने काममा दृढताका साथ अघि बढ्न निर्देशन दिएका हुन् ।


‘तपाईंहरु जनताको अपेक्षाअनुसार चल्नुपर्छ । जनताले प्रहरीबाट निष्पक्ष र असल व्यवहारको अपेक्षा गरेका छन् । त्यसैले तपाईंहरु संविधान र कानुनबमोजिम देश र जनताको हितलाई केन्द्रमा राखेर काम गर्नुस्’, प्रधानमन्त्री ओलीले भने, ‘कुनै तस्कर, भ्रष्ट र ठगहरुमाथि निर्धक्क भएर अनुसन्धान गर्नुस् । मुलुकमा शान्ति सुव्यवस्था कायमका साथै राष्ट्रिय हित र एकतालाई ध्यान दिएर अझ प्रभावकारी रुपमा काम गर्नुस् ।’


प्रधानमन्त्री ओलीले नेपाल प्रहरीलाई सबै प्रहरीको घरका रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए । 


विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरे भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे । 


सोही कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रधानमन्त्री ओलीमार्फत प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा  ७४ लाखको चेक हस्तान्तरण गरे ।


गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीको ऐन संशोधनको विधेयक संसद्मा पेस भएको र यसमा आउने रचनात्मक सुझावलाई परिमार्जनमा समावेश गरेर चाँडो पारित गरिने प्रतिबद्धता व्यक्त गरे ।

नेपाल–कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल

काठमाडौँ । कम्बोडिया अधिराज्यका लागि नेपालका गैरआवासीय राजदूत धनबहादुर ओलीले नोम पेन्हस्थित शान्ति दरबारमा त्यहाँका प्रधानमन्त्री सम्देच मोह बोर्भोर थिपाडेई हुन मानेतलाई भेटेर नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल गरेका छन् ।

ब्याङककस्थित नेपाली राजदूतावासका अनुसार शुक्रबार भएको भेटमा कम्बोडिया प्रधानमन्त्रीले दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकामा सन्तुष्टि व्यक्त गर्दै व्यापार, लगानी र पर्यटन क्षेत्रमा द्विपक्षीय संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए ।

राजदूत ओलीले प्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली जनताका तर्फबाट कम्बोडियाका प्रधानमन्त्रीको व्यक्तिगत सुख,सुस्वास्थ्यका साथै कम्बोडियाका जनताको उत्तरोत्तर प्रगतिको कामना गरेको दूतावासले आज जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।

त्यसअघि राजदूत ओलीले धर्म तथा संस्कृतिमन्त्री चाय बोरिन, विदेश सचिव युएन खेङ, परराष्ट्र तथा अन्तर्राष्ट्रिय सहयोग मन्त्रालय,एसिया प्रशान्त विभागका महानिर्देशक छाय मकारालाई बेग्लाबेग्लै भेटेर द्विपक्षीय सम्बन्ध र आपसी लाभका विभिन्न पक्षमा विचारविमर्श गरेका थिए ।

चीनले सन् २०२५ ‘ग्लोबल डेभलपर सम्मेलन’ आयोजना गर्ने

शाघांई । चीनमा सन् २०२५ को ‘ग्लोबल डेभलपर सम्मेलन’ फेब्रुअरी २१ देखि २३ सम्म आयोजना हुने भएको छ । सम्मेलनमा विश्वभरका १०० विकासकर्ता समुदायलाई एकै ठाउँमा ल्याउने अपेक्षा गरिएको साघांई एआई उद्योग संघ(एसएआईए) ले जनाएको छ ।

उक्त सम्मेलन एआई मोडल, कम्प्युटिङ पावर र सफ्टवेयर प्लेटफर्महरू सहित अत्याधुनिक प्रविधिहरूमा केन्द्रित हुनेछ ।

सम्मेलनमा सहभागी विकासकर्ता समुदायले हार्डवेयर विकास, क्लाउड कम्प्युटिङ, बिग डाटा, इन्टरनेट अफ थिङ्ग्स, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स, ब्लकचेन र मेटाभर्स जस्ता विविध क्षेत्रहरूको प्रतिनिधित्व गर्नेछन् ।

हगिङ फेस, माइक्रोसफ्ट डेभलपर कम्युनिटी, अलिबाबाको मोडलस्कोप कम्युनिटी र हुवावेई कम्युनिटी जस्ता विश्वका अग्रणी समुदायहरूले कार्यक्रमभर विभिन्न आकर्षक गतिविधिहरू आयोजना गर्नेछन् ।

एसएआईएका अनुसार डिपसीक टोलीले पनि सम्मेलनमा भाग लिनेछ । सम्मेलनले विकासकर्ताहरूलाई उद्योग विशेषज्ञसँग जोडिने र विचारहरू आदानप्रदान गर्ने मौका दिनेछ ।

एसएआईए महासचिव झोङ जुनहाउका अनुसार द्रुत प्राविधिक विकासको गतिलाई कायम राख्न सम्मेलन यस वर्षबाट सुरु हुने वार्षिकबाट द्विवार्षिक कार्यक्रममा परिवर्तन हुनेछ । अर्को सत्र शरद ऋतुको लागि तय गरिएको छ ।

टर्कीमा बन्दीपुर भ्रमण वर्षको प्रचार

दमौली । तनहुँको बन्दीपुरका पर्यटन व्यवसायीले विदेशमा ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ को प्रचारप्रसार गरेका छन् । टर्कीको इस्तानबुलमा आयोजित ‘एक्जिविसन एण्ड ट्रेड शो’ कार्यक्रममा बन्दीपुरका पर्यटन व्यवसायीले बन्दीपुर भ्रमण वर्ष २०२५ बारे प्रचारप्रसार गरेका हुन् । 

पर्यटन व्यवसायी आशुतोष प्रधान र हरि लामिछानेले उक्त कार्यक्रममा सहभागिता जनाउँदै बन्दीपुर भ्रमण वर्ष र बन्दीपुरको पर्यटन सम्भावनाबारे जानकारी गराए । बन्दीपुरको इतिहास, संस्कृति, प्राकृतिक सौन्दर्य र साहसिक पर्यटनका बारेमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गरिएको प्रधानले बताए ।

बन्दीपुरमा हाल वार्षिक एक लाख पर्यटक आउने गरेका छन् । उक्त सङ्ख्यालाई दोब्बर बनाउँदै पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित भ्रमण वर्ष सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । 

गाउँपालिकाभित्रका सबै वडामा रहेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार गरिने उनले बताए । उनले भने, “विशेष संरक्षित क्षेत्र तथा पौराणिक सहरका रुपमा रहेको बन्दीपुर बजारलाई थप आकर्षक बनाउन पौराणिकता झल्किने खालका कार्यक्रम सञ्चालन हुनेछ ।”

भ्रमण वर्षका क्रममा बन्दीपुर–छिम्केश्वरी–मनकामना–गोरखा मन्दिर–लिगलिगकोट–भानु जन्मस्थल हुँदै पुनःबन्दीपुर आउने दुई दिनको प्याकेज बनाइएको छ ।

प्रतिपक्षको भूमिकालाई माओवादीले अवसरका रूपमा लिन्छः सचिव शाक्य

गलकोट (बागलुङ) । नेकपा (माओवादी केन्द्र)का सचिव हितमान शाक्यले प्रतिपक्षको भूमिकालाई माओवादी केन्द्रले अवसरका रूपमा लिएको बताएका छन् ।

उनले माओवादी रूपान्तरणका लागि जनता केन्द्रित कार्यक्रम सञ्चालन गरेको जानकारी दिए। सत्तामा हुँदाका कमीकमजोरीलाई आत्मालोचना गर्दै जनतासामु घरदैलो र खबरदारी सभा गरिरहेको उनले बताए ।

प्रेस सेन्टर बागलुङले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बागमती प्रदेश इञ्चार्जसमेत रहेका नेता शाक्यले जनताका समस्या बुझेर माओवादी केन्द्र आगामी निर्वाचनमा सहभागी हुने बताए ।

संविधान संशोधनको कदमलाई पुनः विचार गर्दै प्रतिगमन हुने ढङ्गले संशोधन गर्न नहुने उनले बताए। शासकीय र निर्वाचन प्रणाली परिवर्तन गर्न नसके भ्रष्टाचार नरोकिने बताउँदै खर्चिलो निर्वाचनको अन्त्य गर्न आवश्यक रहेको उनको भनाइ छ ।

खानेपानीमन्त्रीको कार्यकक्षमा भएको आगलागीबाट पचास लाख बराबरको क्षति

काठमाडौँ । खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी हुँदा करिब ५० लाख बराबरको क्षति भएको छ ।

खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा भएको आगलागीमा दुईवटा टेलिभिजन, एउटा डेस्कटप, कम्प्युटर, पानी तताउने मेसिन, टेबल, सोफा, कुर्सीहरू, कार्पेट, क्लोज सर्किट क्यामेराको मनिटरलगायत सामग्री जलेका छन् ।

मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीका अनुसार मन्त्रीको कार्यकक्षमा ४० देखि ५० लाखसम्मको क्षति भएको छ । यद्यपि क्षतिको वास्तविक विवरण प्राप्त भएको छैन । आगलागीको कारण पनि यकिन भएको छैन । प्रहरीले अनुसन्धान गरिरहेको छ । आगलागीबाट मन्त्रालयका कागजातमा भने क्षति नभएको छैन ।

आगलागीबाट मन्त्री यादवको कार्यकक्षसहित तीनवटा कोठामा क्षति भएको छ । खानेपानी मन्त्रालयको भवनमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पनि छ ।

प्रदेशहरुको बजेट खर्च निराशाजनक, ६ महिनामा १६ प्रतिशत मात्र खर्च

काठमाडौँ । चालु आर्थिक वर्षको छ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ । सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६ दशमलव १८ प्रतिशत मात्रै छ । कूल दुई खर्ब ७८ अर्ब ६९ करोड २४ लाखको बजेट ल्याएका प्रदेश सरकारले गत पुस मसान्तसम्ममा रू ४५ अर्ब नौ करोड ३८ लाख बराबर मात्रै खर्च गरेका हुन् ।

मधेस प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ । चालु आवका लागि कूल रू ४३ अर्ब ८९ करोड २२ लाखको बजेट ल्याएको मधेस प्रदेशले पुस मसान्तसम्ममा रू दुई अर्ब ४६ करोड दुई लाख मात्रै खर्च गरेको छ । यो वार्षिक विनियोजनको पाँच दशमलव ६१ प्रतिशत हो ।

पुँजीगत शीर्षकमा रू २७ अर्ब ८९ करोड छुट्याएको मधेस प्रदेशले उक्त विनियोजनको एक प्रतिशत मात्रै खर्च गरेको छ ।

सुदूरपश्चिम प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १४ दशमलव ८२ प्रतिशत मात्रै खर्च गरेको छ । कूल रू ३१ अर्ब ६२ करोड १९ लाखको बजेट ल्याएको सुदूरपश्चिमले पुस मसान्तसम्ममा रू चार अर्ब ६८ करोड ७० लाख खर्च गरेको छ ।

त्यसैगरी कर्णाली प्रदेशले १५ दशमलव १४ प्रतिशत खर्च गरेको छ । चालु आवका लागि रू ३१ अर्ब ४१ करोडको बजेट ल्याएको कर्णालीले पुस मसान्तसम्ममा रू चार अर्ब ७५ करोड ४७ लाख खर्च गरेको छ । लुम्बिनी प्रदेशले कूल रू ३८ अर्ब ९७ करोडको वार्षिक बजेट ल्याएको थियो । लुम्बिनीले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १९ दशमलव ३६ प्रतिशत अर्थात् रू सात अर्ब ५३ करोड ६१ लाख बराबर खर्च गरेको छ ।

गत पुस मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च वार्षिक विनियोजनको १९ दशमलव ३६ प्रतिशत छ । कूल रू ३२ अर्ब ९७ करोड ८६ लाखको वार्षिक बजेट ल्याएको गण्डकी प्रदेशले पुस मसान्तसम्ममा रू छ अर्ब ३८ करोड ४७ लाख खर्च गरेको हो ।

प्रदेशगत रूपमा चालु आवका लागि बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको थियो । कूल रू ६४ अर्ब ५४ करोड चार लाख बराबरको वार्षिक बजेट ल्याएको बागमती प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १६ दशमलव २७ प्रतिशत अर्थात् रू १० अर्ब ५० करोड २९ लाख बराबर मात्रै खर्च भएको छ ।

तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ । पुस मसान्तसम्ममा कोशी प्रदेशले २४ दशमलव ८५ प्रतिशत बजेट खर्च गरेको छ । चालु आवका लागि कोशी प्रदेशले रू ३५ अर्ब २७ करोड ९३ लाखको बजेट ल्याएकोमा रू आठ अर्ब ७६ करोड ८२ लाख बराबर खर्च गरेको छ ।

मधेस र लुम्बिनीबाहेक सबै प्रदेशले चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए । तर कुनै पनि प्रदेशले यो शीर्षकको बजेट खर्च गर्न सकेका छैनन् । वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ ।

विश्व खाद्य मूल्यमा गिरावट

रोम । मुख्यतया चिनी, तेल र मासुको मूल्यमा आएको कमीका कारण जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घटेको संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) ले जनाएको छ ।

नयाँ वर्षको पहिलो मासिक प्रतिवेदनमा एफएओले आफ्नो व्यापक खाद्य मूल्य सूचकाङ्क जनवरीमा एक महिना अघिको तुलनामा १ दशमलव ६ प्रतिशतले घटेको जनाएको छ ।

जनवरीमा पाँचमध्ये तीन उप–सूचकाङ्कमा गिरावट आएको तथ्याङ्कले देखाएको छ । यसैबीच, ब्राजिल र भारतलगायत प्रमुख चिनी उत्पादक देशहरूमा राम्रो फसलका कारण चिनीको मूल्य अक्टोबर सन् २०२२ यताकै न्यूनस्तरमा ६ दशमलव ८ प्रतिशतले झरेको छ ।

तरकारी तेलको मूल्य ५ दशमलव ६ प्रतिशतले घटेको एफएओले जनाएको छ । मागमा आएको गिरावटले पाम तेलको मूल्य पनि तल झरेको छ । यद्यपि, दुग्धजन्य पदार्थको मूल्यमा उल्लेख्य वृद्धि भएको छ ।

पूर्ण समानुपातिक संसद्का लागि संविधान संशोधन गर्नुपर्छः उपमहासचिव शर्मा(अन्तरवार्ता)

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माले राज्यको पुनः संरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिने बताएका छन् । उनले संविधानमा भएका अधिकारलाई कटौती गर्न र मुलुकलाई पछाडि फर्काउनका लागि गरिने संशोधन आफ्नो पार्टीलाई स्वीकार्य नभएको बताए । ।

“माओवादीले संविधान संशोधनयोग्य विषय हो भन्दै आइरहेको छ । संविधान संशोधन नै गर्न नपाइने, ढुङ्गामा लेखिएको अक्षर होइन”, पार्टीको धारणा स्पष्ट पार्दै शर्माले भने, “तर संशोधन अग्रगमनमा जान, जनताका अधिकारलाई सुदृढ गर्न, राज्य प्रणालीलाई थप व्यवस्थित गर्न हुनुपर्छ ।”

तत्कालीन नेकपा (माओवादी)ले सञ्चालन गरेको जनयुद्धमा जनमुक्ति सेनाको डिभिजन कमाण्डर, सेना समायोजन विशेष समिति सदस्य, शान्ति प्रक्रियायता शान्ति तथा पुनर्निर्माण, ऊर्जा जलस्रोत तथा सिँचाइ, गृह र अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका शर्मा रुकुम पश्चिमबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । शर्मासँग ‘सांसदसँग रासस संवाद’का लागि राससका सहसम्पादक हरि लामिछाने र समाचारदाता अशोक घिमिरेले लिएको अन्तर्वार्ताको सम्पादित अंश ।

–पछिल्लो राजनीतिक अवस्थालाई कसरी हेरिरहनुभएको छ ?

सामान्यतः व्यक्तिगत राजनीतिक जीवन सामान्य रुपमा चलिरहेको छ । तर देशको आजको आवश्यकता, जनताको चाहना र राजनीतिले गर्नुपर्ने काम भइरहेको देख्दिन । सरकारहरु हामीले बनाइराखेका त छौँ । सरकारहरु बन्ने र फेरिने क्रम पनि जारी छ । पछिल्लो पटक दुई ठूला राजनीतिक दलको बलियो गठबन्धन सरकार बनेको छ । तर पनि यो सरकारले कति काम गरेर जनतालाई सन्तुष्ट गर्न सक्यो भनेर अहिले पनि प्रश्न उठिरहेको छ । सरकारका कामकारबाही निरन्तरतामा त छ, तर देशको यथार्थता, आवश्यकता र जनताको जीवन बदल्ने गरी के–के भइरहेको छ भनेर हेर्यो भने निराशा मात्र देखिन्छ । मुख्यतः स्वास्थ्य, शिक्षा र रोजगारीका क्षेत्रमा जनतामा असन्तुष्टि छ । देशभित्रै रोजगारी सिर्जना, शिक्षामा आमुल सुधार, सरल र सहज स्वास्थ्य सेवा सुनिश्चित गर्न सकिएको छैन । जनताको आकाङ्क्षा र अपेक्षाअनुसार जनजीविकाका सवालहरु प्रभावकारी रुपमा सम्बोधन हुन नसक्दा राजनीतिक परिवर्तनसँगै हाम्रो जीवनमा के परिवर्तन भयो भनेर आमजनताले प्रश्न उठाइरहेका छन् । यसको जवाफ राजनीतिले दिनुपर्ने हो, तर हाम्रो राजनीति त सरकार बनाउने र ढाल्ने तथा सरकारको आलोचना र समर्थन गर्ने होडबाजीमा सीमित छ ।

–राजनीतिले जनजीविकाको सबाल सम्बोधन गर्न नसक्नुका कारण के रहेछ ?

मुलभूतरुपमा राजनीति अन्तै अल्झिरहेको छ । सेवाप्रवाह भनेजस्तो हुन सकिरहेको छैन । समग्र राज्य पुनः संरचना हुनुपथ्र्यो । नयाँ योजना, कार्यशैली र संरचना हुनुपथ्र्यो । हामीले राजनीतिक परिवर्तन गरेपनि देशमा पुरानै राज्य संयन्त्रले निरन्तरता भयो । हाम्रो काम गर्ने तौरतरिका पुरानै छ । बजेट बनायो, त्यसलाई खर्च गर्ने अवस्था हुँदैन, कर्मचारीतन्त्रमा सबै कुरा अल्झन्छ । राजनीतिक नेतृत्व पनि कर्मचारीतन्त्रले के भन्छ त्यसमै लाग्छ । राजनीतिले कमान्ड गरिरहेको अवस्था छैन । अहिले झण्डै दुईतिहाइको सरकार छ, तर कमाण्ड गरेको छ त ? पूँजीगत खर्च र सेवाप्रवाहको अवस्था हेर्दा आशातित प्रगति देखिँदैन । राज्य प्रणालीलाई सुधार गर्ने, त्यसलाई बलियो बनाउने र जनताप्रति उत्तरदायी बनाउने पक्षमा कहिनकहीँ कमजोरी छ ।

–व्यवस्था बदल्ने भनेर तत्कालीन नेकपा (माओवादी)को नेतृत्वमा दशवर्षे जनयुद्ध भयो । त्यसको जगमा मुलुक जनआन्दोलन हुँदै गणतन्त्र, सङ्घीयता र नयाँ संविधानसम्म आइपुग्दा जनताको अवस्था किन बदलिन सकेन ?

मुलुकमा सामन्तवादको अन्त्य भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना हुनु आफैँमा ठूलो उपलब्धि हो । जनतन्त्रका सवालमा संविधानमा अधिकारहरु पनि लेखिए । केही सम्बोधन गर्न बाँकी भए पनि जनताको मौलिक अधिकारको दृष्टिले धेरै विषय समेटिएका छन् । तर लेखिएका कुराहरुको व्यावहारिक कार्यान्वयन हुन सकेन । मौलिक हक कार्यान्वयन गर्न राज्यका संयन्त्र बलियो हुनुपथ्र्यो । ती जनताप्रति उत्तरदायी र सुशासनयुक्त हुनुपथ्र्यो । राजनीतिक पार्टीहरु सरकार निर्माण गर्ने र ढाल्नेमै बढी केन्द्रित हुँदा धेरै अहम् मुद्दाहरु ओझेलमा परे । जनता यसबाट अलगथलग रहे । राज्यको समग्र प्रणालीबाट जनता प्राथमिकतामा परेनन् ।

–संविधान संशोधन गरेर मुलुकलाई राजनीतिक स्थिरता दिने सहमतिका साथ नेपाली कांग्रेस र नेकपा (एमाले) अघि बढिरहेका छन् । संविधान संशोधनमा माओवादीको धारणा के हो ?

माओवादीले विगतदेखि नै संविधान संशोधनयोग्य हुन्छ भन्दै आइरहेको छ । संविधान संशोधन नै गर्न नपाइने, ढुङ्गामा लेखिएको अक्षर होइन । तर संशोधन अग्रगमनमा जान, जनताका अधिकारलाई सुदृढ गर्न, राज्य प्रणालीलाई थप व्यवस्थित गर्न हुनुपर्छ । समानुपातिक, समावेशीलगायतका जनताका अधिकार खोस्ने गरी होइन कि, अझ यसलाई समृद्ध बनाएर देशलाई प्रगतिका बाटोमा लैजानका लागि गरिने संशोधनको माओवादी विरोधी होइन । राज्यको पुनःसंरचना, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय शासकीय स्वरुप र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न सकिन्छ । तर संविधानमा अहिले भएका अधिकारलाई कटौती गर्न र मुलुकलाई पछाडि फर्काउनका लागि गरिने संशोधन हुन दिँदैनौँ ।

–संसद्को हिउँदे अधिवेशन प्रारम्भ भइसकेको छ, हिउँदे अधिवेशनलाई विधेयक अधिवेशन पनि भनिन्छ । संविधान जारी भएको झण्डै दशक पुग्न लागिसक्यो । संविधान र सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुन अझै निर्माण हुन सकिरहेका छैनन्, आफूलाई व्यवस्था परिवर्तनको प्रमुख संवाहक मान्ने माओवादीले उक्त व्यवस्थालाई सुदृढ बनाउन आवश्यक कानुन निर्माणमा कस्तो भूमिका खेल्छ ?

संविधान कार्यान्वयनसँग सम्बन्धित कतिपय कानुन जारी भएर पनि कार्यान्वयनमा आउन सकेका छैनन् । कतिपय कानुन बन्न बाँकी नै छन् । जस्तो सङ्घीय निजामती, शिक्षा र प्रहरीलगायत महत्वपूर्ण ऐन बन्न बाँकी छ । ती ऐन शीघ्र जारी गर्ने सन्दर्भमा सरकारले सदनमा ल्याउने कानुनलाई संविधानको मर्म र देशको आवश्यकताअनुसार निर्माण गर्नेमा माओवादीको सक्रिय सहभागिता हुन्छ । त्यसलाई थप व्यवस्थित र जनउत्तरदायी बनाउन हामीले आफ्नो ठाउँबाट मिहेनत गर्छौँ । तर, यहाँ एउटा विषय छ, यसैसँग जोडिएको । अहिले केही अध्यादेशहरु आएका छन् । सरकारले अध्यादेश ल्याउन पाउँछ । अध्यादेशमा सबै नराम्रा कुरा छन् भन्ने पनि होइन, राम्रा कुरा पनि छन् । ती प्रावधानले कतिपय क्षेत्रमा राम्रो गर्छ भन्ने पनि छ । तर त्यसभित्र घुसाइएर आएका कतिपय प्रावधान छन्, त्यसले प्रश्नहरु उठाएका छन् । हामी त्यस्ता प्रश्नहरुको स्पष्टताका लागि सरकारसँग आग्रह गर्छौँ र नियत गलत भएका ठाउँमा प्रतिवाद पनि गर्छौँ । संसद्ले बहुमतबाट निर्णय गर्न पाउँछ, तर आम जनभावनालाई ठेस पुग्ने गरी गर्न पाइँदैन । प्रमुख प्रतिपक्षीको हैसियतले माओवादीले जनभावनालाई जोडदाररुपमा संसद र सडकमा उठाउँछ ।

–तत्कालीन विद्रोही माओवादी र राज्यबीच विस्तृत शान्ति सम्झौता भएको १८ वर्ष नाघिसकेको छ । अझै पनि शान्ति प्रक्रियाका महत्वपूर्ण काम थाँती छन् । शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुग्न कहाँ समस्या भइरहेको छ ?

सम्मानित सर्वोच्च अदालतले सङ्क्रणकालीन न्यायसम्बन्धी कानुन निर्माण गर्नू भनेर आदेश गरिसकेपछि पनि संसदबाट कानुन निर्माण गर्न लामो समय लाग्यो । कानुन अनुसार पहिला बनेका आयोगहरुले केही काम थालनी गरे, तर पूर्णता पाउन सकेन । १८ वर्ष लगाएर ठूलो मिहेनतका साथ हामीले कानुन निर्माण गरेका छौँ । दलहरुबीचको कार्यदलमा गहन छलफल गरेर टुङ्गोमा पुग्यौँ । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित आयोगको पदाधिकारी छनोट गर्ने सर्च कमिटीले आफ्नो ढङ्गले काम अघि बढायो । सरकारमा सहभागी दलको प्रस्ताव माओवादीले स्वीकार गरेको पनि हो । तर त्यो सर्च कमिटीले पदाधिकारी छनौट नै गर्न नसकी विघटन भयो । यसले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नेतर्फ गम्भीर क्षति पुर्याएको छ । शान्ति प्रक्रिया माओवादी पार्टीको मात्रै विषय होइन । यो राष्ट्रको इज्जत, प्रतिष्ठासँग जोडिएको विषय हो । द्वन्द्वपीडित महिला, घाइते तथा सहिद र बेपत्ता परिवारको अवस्था दर्दनाक छ । छिटोभन्दा छिटो शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउनुपर्छ भनेर माओवादीले पटकपटक आवाज उठाइरहेको छ । तर यो अघि बढ्न सकिरहेको छैन । सदनमा हामी यसबारेमा पनि बहस गर्नेछौँ र छिटो अघि बढाउन सरकारलाई दबाब पनि दिनेछौँ ।

–यहाँले अर्थ मन्त्रालयका जिम्मेवारी पनि सम्हालिसक्नुभएको छ । मुलुकको आर्थिक अवस्थालाई कसरी नियाल्नुहुन्छ । के मुलुकको अर्थतन्त्रलाई सुधार गर्न हामी चुकेकै हौँ ?

देशको विशेषताका आधारमा विकासको आफ्नो मोडालिटी तयार गर्नुभन्दा अरुको देखासिखीमा हामी लाग्यौँ । राष्ट्रिय प्राकृतिक साधनस्रोतलाई महत्व दिएर बढीभन्दा बढी उपभोग गर्नुपर्नेमा हामी अन्यन्त्रै अल्झियौँ । अर्थतन्त्रको बोक्रे कुरा गर्यौँ । हामीले जमिन, जङ्गल, जनशक्ति, पानी र खानीको कुरा गरेनौँ । यसको सदुपयोग गर्नतर्फ नलागेर युवालाई विदेश पठाउनेतिर बढी जोड दियौँ । उत्पादनमुखी अर्थतन्त्रको विकास गर्न लागेनौँ । स्वदेशमै रोजगारी सृजना गर्ने, आम्दानी वृद्धि गर्नेतर्फ ध्यान दिएनौँ । आर्थिक समुन्नतिका लागि पहिलो अर्थतन्त्रको मोडल नै बदल्नुपर्छ । आत्मनिर्भरता पक्षमा नगई युवालाई विदेश पठाउने र विप्रेषणमा रमाउने प्रक्रिया जब सुरु भयो, त्यसले गडबड गरिरहेको छ । अहिले हामी उल्टो बाटोमा छौँ, यसलाई नसुल्टाएसम्म अर्थतन्त्रको सुधारका कुरा बेकार छ । समग्र आर्थिक पुनःसंरचना र मोडल परिवर्तन गरेर आमजनताको तागतमा सबै साधनस्रोतको उपयोग नगरिकन अर्थतन्त्र माथि उठ्दैन ।

–जाजरकोट, रुकुम सहित पश्चिम नेपालमा भूकम्पले गरेको क्षति ठूलो छ । भूकम्प पीडितहरु अहिले पनि पालमै बसिरहेका छन् । उनीहरुका लागि यहाँले के गरिरहनु भएको छ ?

भूकम्पको कुरा गर्दा, पश्चिम नेपालमा भूकम्प गएको जानकारी पाउनेबित्तिकै म त्यसतर्फ केन्द्रित भएँ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बिहानै भूकम्पको केन्द्रबिन्दुमा लैजान मैले नै प्रयत्न गरेँ । त्यहाँ गएर राहत र उद्धार राम्रो भयो । त्यसपछि पीडितका लागि अस्थायी आवास निर्माण गर्ने कुरा आयो, त्यसमा सिङ्गो देशभरका स्वयम्सेवक आउनुभयो । म पनि जनतासँगै खटिएँ । पुनःनिर्माणका लागि अघिल्लो सरकारले प्रतिपरिवार रु पाँच लाख दिने गरेको निर्णय कार्यान्वयन हुन पाएन । भूकम्प गएको वर्षदिन बितिसक्यो, अझै पुनःनिर्माणका काम भएको छैन । यतातर्फ सरकारको ध्यान जानुपर्छ । छिटोभन्दा छिटो पुनःनिर्माण नगरी जनतालाई सेवा दिन सकिँदैन । भूकम्पपीडितको पीडामा मलम लगानुपर्छ भनेर म हरेक दिन सिंहदरबार धाइरहेको छु ।

–विगतमा यहाँले महत्वपूर्ण मन्त्रालयहरुको जिम्मेवारी सम्हाल्नुभयो । त्यसलाई कसरी सम्झनुहुन्छ ?

अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्दा गरिबी निवारण गरी आत्मनिर्भर अर्थतन्त्रको विकास गर्ने मोडल बनाउन खोजेको हो । शिक्षालाई सीप र उत्पादनसँग जोड्ने र औद्योगिक आत्मनिर्भरको अवस्था सिर्जना गर्ने नीति देश र जनताप्रति केन्द्रित थियो । मेरो नीतिले कहाँकहाँ हल्लायो, कसलाई नाफाघाटा भयो मैले हिसाब गरिनँ । मैले देशको नाफाघाटालाई हेरेँ । उच्च शिक्षा अध्ययन गरेकाले अनिवार्य एउटा सीप सिक्ने, सूचना प्रविधिका क्षेत्रमा कर मिनाहा, स्टार्टअपलाई प्राथमिकता, भौतिक पूर्वाधारको समानुपातिक विकासको नीति अघि सारेको थिएँ । ती योजनाले राजनीतिक र आर्थिक क्षेत्रमा कम्पन गर्यो भन्ने लाग्छ । त्यतिबेला सबैकुरा मेरा विरुद्धमा आयो, अब अहिलेको अर्थतन्त्र कहाँ छ ? आज यहाँसम्म आइपुग्दा त सबैलाई महसुस भइरहेको छ कि मैले गरेको ठिक कि बेठिक भनेर । देशलाई आत्मनिर्भर बनाउने कुरा मैले गरेँ, त्यो राष्ट्र र जनताको पक्षमा थियो ।

मैले ऊर्जा मन्त्रालयमा जिम्मेवारी पाउँदै गर्दा मुलुकमा चर्को लोडसेडिङ थियो । मैले लोडसेडिङ अन्त्य गर्छु भनी प्रतिबद्धता व्यक्त गरेँ । ढल्केवर सवस्टेसन अलपत्र थियो, तीन सिफ्टमा काम गराएँ । नेपाल विद्युत् प्राधिकरण घाटामा थियो, आजको दिनदेख नाफामा लैजानुपर्छ भनेर त्यहाँभित्रको भ्रष्टाचार र बिजुली चोरेर बेच्ने प्रवृत्तिको अन्त्य गरेँ । यसबाट लोडसेडिङ अन्त्य भयो । जिम्मा पाएको ठाउँमा आफ्नो तागतले भ्याएसम्म इमान्दारितापूर्वक काम गर्ने हो । व्यक्तिगत स्वार्थ र फाइदा हेर्ने होइन ।

–पार्टीभित्र तपाइँ नेतृत्वका सवालमा बेलाबखत विवादमा आइरहनु हुन्छ । पार्टी संगठनलाई सुदृढ बनाउन के गर्दै हुनुहुन्छ ?

अब पार्टीमा हिजोको अवस्थाबाट आजको अवस्थामा आइपुग्नुमा जिम्मेवार को त ? पार्टीका नेता जिम्मेवार हुने होला नि त ? मुख्य नेता मुख्य, अरु नेता त्यहीअनुसार हुँदै जाने होला त क्यारे । हामीले कमजोरी गर्यौँ भनेर महसुस गर्नु परेन ? हिजोको वर्ग, दलित, महिला मधेसी, आदिवासी जनजाति, गरिबलाई दिएका आश्वासन पूरा गर्न लाग्यौँ कि कता लाग्यौँ भनेर आज प्रश्न उठिरहेको छ । हो त्यो प्रश्नको जवाफ दिनुपर्छ । हामी विचलित भयौँ भनेर मैले पार्टीभित्र प्रश्न उठाएको हो । त्यसका लागि पार्टीभित्र छलफल हुनुपर्छ । अबको बाटो के हुने भनेर पार्टीमा वैचारिक वहस, विधि र प्रणाली चाहिन्छ । यो पार्टी निर्माणको उद्देश्य र पार्टीलाई बलियो बनाउने विषयमा केन्द्रित भएर लामो छलफल भयो । केन्द्रीय समितिसम्म आइपुग्दा मैले राखेको धारणा नै केन्द्रीय समितिको एजेन्डा बन्यो ।

मैले उठाएका बहस, पार्टीभित्र सुधार गर्ने र पार्टीलाई लोकतान्त्रिक गर्ने बहस, विद्यार्थी सङ्गठन विषयसम्म आइपुग्दा निर्वाचन गरेर त्यसलाई स्थापित गर्ने बहसले पार्टीलाई लोकप्रिय बनाउनेतर्फ नयाँ लहर आएको छ । पार्टीका नेताको सम्पत्ति छानबिन गर्ने कुरा अघि बढाएपछि जनतामा विस्तारै विश्वास जागेको छ । अब फेरि नढाँटीकन, जनतालाई छलछाम नगरी गर्यो भने माओवादी फेरि सशक्त भएर आउने देखिन्छ । मैले अघि सारेको एजेण्डाअनुसार पार्टी केन्द्रमा निर्णय भएका छन् ।

–पार्टीभित्र पनि उमेर हद लगाउनुपर्छ यहाँको दृष्टिकोण हो ?

विद्यार्थी सहित पार्टीका सबै मोर्चामा उमेर हद लगाउने, निर्वाचित गर्ने र अवधि तोक्ने कुरा हुन्छ । कुन उपयुक्त हुने हो, अवधि गर्ने कि, उमेर हद लगाउने कि, निर्वाचन प्रक्रियाबाट हल गर्ने कि ? निर्वाचन हुँदा त कति वर्षसम्मले लड्न पाइन्न भन्ने पनि नहुन सक्छ नि । त्यसैकारण मैले यही भन्ने भएन तर महाधिवेशनमा जाँदा यी विषय निचोडमा पुगिन्छ ।

–यहाँले पार्टीभित्र उमेर हद र प्रतिस्पर्धाको कुरा गरिरहँदा पार्टी नेतृत्व लिनका लागि पूर्वयोजना बनाइरहेको भन्ने टिप्पणी छ नि ?

हैन, नेतृत्व लिने भनेर योजना बनाएर केही पनि गरेको होइन । माओवादी पार्टी हिजो के थियो ? आज कहाँ छ ? यो कुराको समीक्षा गरेको हो मैले । हिजो माओवादीको लहर आज किन घट्यो ? किन हामीले निर्वाचन क्षेत्रको रक्षा गर्न सकेनौँ ? भन्नैपर्छ, जनताका समस्या हामीले सुनेनौँ । त्यसैले जनताका समस्या हल गर्ने, हामीले जुन वर्गको प्रतिनिधित्व गर्ने भन्छौँ, त्यसको समस्या हल गर्न सक्ने हैसियत माओवादीसँग हुनुपर्यो नि । त्यो हैसियत राख्न सक्ने पार्टी बनाउन सक्नुपर्छ भन्ने बहस हो यो । त्यो बहस गर्दा आरोप लगाउने भन्ला नेतृत्व गर्नलाई यति गर्यो भनेर । म पार्टी नेतृत्व लिन्छु र लिन्न भनेर हुने होइन, त्यो त परिस्थिति, आन्दोलन र संयोगले हुने कुरा हो । नेतृत्वको अभिलाषा गरेर बहस गरेको होइन, पार्टीभित्र सुधार आन्दोलनको कुरा गरेको हो । पार्टीलाई बलियो बनाएर संविधान र जनअधिकारको रक्षा गर्ने हो ।

कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषिमन्त्रीको आग्रह

मध्यविन्दु(नवलपरासी) । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि बालीमा धेरै विषादी प्रयोग नगर्न कृषकलाई आग्रह गरेका छन् ।

शनिबार बिहान नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका-१५ गोडारमा कृषकले गरेको सामूहिक प्याजखेतीको अवलोकन गर्ने क्रममा मन्त्री अधिकारीले सो आग्रह गरेका हुन् । “कृषि बालीमा धेरै विषादी प्रयोग नगरौँ, धेरै विषादी प्रयोग गर्दा आफू पनि रोगी भइन्छ”, उनले भने, “आफैँले प्रयोग गरेको विषादीले आफैँलाई रोग पनि लाग्छ, आफू पनि निरोगी बन्नुपर्‍यो ।”

केही कृषकहरूमा धेरै आम्दानी होस्, एकै पटक आम्दानी होस् र यही वर्ष आम्दानी होस् भन्ने आसमा आवश्यकताभन्दा धेरै विषादी प्रयोग गर्दा धेरै समस्या सृजना हुने गरेको मन्त्री अधिकारीले बताए । विषादी नियन्त्रणका लागि कृषि मन्त्रालयले अभियान नै सञ्चालन गर्ने मनस्थितिमा रहेको मन्त्री अधिकारीले जानकारी दिए ।

“हामीले सम्पूर्ण कृषकलाई आग्रह गरिरहेका छौँ, यही काम गरेर पुष्ट हुनका लागि त निरोगी पनि हुन पर्‍यो, धेरै विषादी प्रयोग गर्दा काम गर्ने कृषक र उपभोक्ता दुवैलाई असर गर्ने हुँदा अब यसलाई रोकौँ”, उनले भने ।

कृषकले गरेको कामको व्यवस्थापनका लागि मन्त्रालयबाट गर्न सकिने सहयोगका लागि आफू तयार रहेको मन्त्री अधिकारीले बताए। कृषकले केही आम्दानी हुने आसमा गरेको खेतीबाट नाफा नै हुन्छ भन्ने नरहेकाले घाटामा जाँदा सरकारले हेर्छ है भन्ने विश्वास दिलाउन लागिपरेको उनको दाबी छ ।

“अहिले धेरै कृषकहरू सन्तुष्ट हुनुहुन्छ तर कतिपय ठाउँमा रोगका कारणले, रासायनिक मल नपाएका कारणले असन्तुष्ट हुनुहुन्छ”, उनले भने, “हामी त्यसको सुधार गर्न लागि परेका छौँ ।”

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा २५ वटा समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइ नवलपुरका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गरिएको छ ।

टर्कीमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु

अंकारा ।  टर्कीको राजधानी अङ्कारामा विषाक्त मदिरा सेवनबाट कूल ३३ जनाको मृत्यु भएको छ भने अन्य २० जना अस्पतालमा उपचाररत रहेको बताएका छन्।

टर्कीमा अवैध उत्पादित मदिराबाट हुने विषाक्तता सामान्य छ। यहाँ सरकारले मदिरामा कर बढाएपछि निजी उत्पादन तीव्र रूपमा बढेको छ।

राज्य सञ्चालित एनादोलु समाचार एजेन्सीका अनुसार मादक पेय पदार्थ आपूर्ति गरेको आशङ्कामा ३२ जनालाई हिरासतमा लिइएको छ।

अङ्कारा प्रान्तीय गभर्नरको कार्यालयले मङ्गलबार विषाक्त रक्सीको प्रयोगको विरुद्धमा सार्वजनिक चेतावनी जारी गरेको थियो।

अन्य शहरहरूमा पनि यस्तै घटनाहरू दर्ता गरिएको छ। इस्तानबुलमा जनवरीमा विषाक्त रक्सीको कारण कम्तिमा ९० जनालाई अस्पतालमा भर्ना गरिएको थियो, जसमा ३८ जनाको मृत्यु भएको थियो।

अधिकांश मृत्यु मिथेनोल विषाक्तताको कारणले हुन्छ। टर्कीका अधिकारीहरूले विषाक्त मदिराको उत्पादन र बिक्रीमा कडाइ गर्न प्रयासहरू तीव्र पारेका छन्। साथै, अधिकारीहरूले जनतालाई इजाजत नभएका पेय पदार्थहरूबाट बच्न आग्रह गरेका छन्।

काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयलाई स्मार्ट बोर्ड उपलब्ध गराउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयको शिक्षण क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यले ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने भएको छ।

कामपाको शिक्षा विभागले सार्वजनिक खरिद प्रक्रियामार्फत प्राप्त गरेका बोर्डहरू सूचना प्रविधि विभागबाट बोलपत्रको प्रावधानसम्बन्धी प्राविधिक जाँच गराएर विद्यालयमा वितरण गर्ने भएको हो। तीन सय १३ थान बोर्ड खरिद गरिएको कामपाले जनाएको छ।

शिक्षा समितिका संयोजक एवं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बिहीबार बसेको समितिको बैठकले सामुदायिक विद्यालयलाई ‘स्मार्ट एलइडी बोर्ड’ उपलब्ध गराउने निर्णय गरेसँगै बोर्ड खरिद गरिएको कामपाले जनाएको छ।

बैठकले आधारभूत तह (कक्षा–८) उत्तीर्ण परीक्षा समितिका सदस्य मनोनयन गरेको छ। कामपाको विद्यालय शिक्षा नियमावली, २०७४ को नियम ३६ (२) मा आधारभूत शिक्षा उत्तीर्ण परीक्षाको सञ्चालन र व्यवस्थापन गर्नका लागि शिक्षा अधिकारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेको छ।

सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूमध्ये एक जना, स्थायी शिक्षकहरुमध्ये आधारभूत र माध्यमिक तहबाट एक जना पर्नेगरी दुई जना सदस्य शिक्षा समितिले मनोनयन गर्ने व्यवस्था छ। सोहीअनुसार बाल व्यवसायी माध्यमिक विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुंगाना, कुलेश्वर माध्यमिक विद्यालयका माध्यमिक तहका गणित शिक्षक मञ्जु मगराती र विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरका निम्न माध्यमिक तहका नेपाली शिक्षक विष्णुहरि अधिकारी मनोनीत भएका छन्।

यस्तै संस्थागत विद्यालयका शिक्षकमध्ये ज्ञानमन्दिर माध्यमिक विद्यालयका शिक्षक रविन बस्नेत र अभिषेक ज्ञान मन्दिर माध्यमिक विद्यालयका शिक्षक श्याम योञ्जन मनोनयन भएका छन्। समितिको सदस्य सचिवमा विभागबाट परीक्षा हेर्ने अधिकृत रहनेछन्।

समितिले सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाको संयोजकत्वमा संस्थागत विद्यालय वर्गीकरण तथा शुल्क प्रस्ताव समिति गठन गरेको छ। शिक्षा समितिका सदस्य एवं वडाध्यक्ष चिनीकाजी महर्जन, दिनेश महर्जन र विनोदकुमार राजभण्डारी समितिको सल्लाहकार छन्।

आयोगका सहायक विज्ञ सस्मित पोखरेल, शिक्षा अधिकृत रुक्मिला इटनी, अभिभावक संघको अध्यक्ष वा सदस्य वा त्यस्तो संघ नभएमा अभिभावकमध्ये दुई जना मनोनीत, महानगरपालिका स्तरीय प्याब्सन, एनप्याब्सन, शिक्षा विभागको इञ्जिनियर समितिको सदस्य छन्। समितिको सदस्य सचिवको काम शिक्षा विभागका प्रमुखले गर्ने कामपाले जनाएको छ।

मापदण्डका आधारमा विद्यालयको वर्गीकरणको प्रारुप तयार पार्ने, शुल्कसम्बन्धी सिफारिस तयार पार्ने, शुल्कबमोजिम सेवासम्बन्धी अवस्था अध्ययन गरेर शिक्षा समितिमा पेस गर्ने दायित्व समितिलाई दिइएको छ। समितिले अभिभावकको भूमिका पहिचान गर्ने, विश्लेषण गर्नेलगायत काम गर्ने जनाएको छ।

युक्रेनी सेनाको कब्जामा रहेका दुई युवा उद्धारपछि स्वदेश फिर्ता

काठमाडौं । दलालको प्रलोभनमा परी युक्रेन पुगेर विगत ९ महिनादेखि युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपाली स्वदेश फर्केका छन् ।

नयाँ दिल्लीस्थित एक एजुकेशन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखा घर भएका ३९ वर्षीय शेर साम्बो शेर्पा शुक्रबार नेपाल फर्केका हुन् । उनीहरु गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा थिए ।

उनीहरुलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडीदिएको छ। गैरआवासीय नेपाली संघको सहयोगमा उनीहरू टर्किस एयरलाइन्सको जहाजमार्फत माल्दोवाबाट शुक्रवार दिउँसो काठमाडौँ आएका हुन् ।

उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँलले सक्रिय भूमिका खेलेका थिए ।

यस्तै, उनीहरूको उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट नेतृत्वदायी भूमिका निर्वाह गर्ने आइसीसी सदस्य चिरन शर्मा र संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र सचिवालयका कर्मचारीलाई गैरआवासीय नेपाली संघले धन्यवाद दिएको छ ।

संकटालाई हराउँदै थन्डरबोल्टस् आहा ! रारा गोल्डकपको क्वाटरफाइनलमा

पोखरा । पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा ३ पटकको विजेता संकटा क्लबलाई पराजित गर्दै पाहुना टोली थन्डरबोल्टस् नर्थ युनाइटेड सिक्किम क्वाटरफाइनल प्रवेश गरेको छ ।

शुक्रबार पोखरा रंगशालामा भएको खेलमा सिक्किमको थन्डरबोल्ट्स युनाइटेडले संकटालाई ३–१ गोलले हरायो । खेलको १७ औं मिनेटम गोल गर्दै संकटाले अग्रता लिएको थियो । संकटाका लागि मनिष पौडेलले पासाङ लामाको पास सदुपयोग गोल गरे । संकटाको खुसी लामो समय टिकेन ।

खेलको ३४ औं मिनेटमा थण्डरबोल्टले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । पहिलो पटक आहारारा पोखरा गोल्डकपमा खेल्न आएको थन्डरले ७७ औं मिनेटमा थन्डरका करन राईले व्यक्तिगत एक गोल गर्दै खेललाई २–१ को सहज स्थितिमा ल्याए । उनले आन्द्रेको क्रशमा बक्सबाट गोल गरेका हुन् ।

थन्डरका आदर्श तामाङले खेलको ८४ औं मिनेटमा व्यक्तिगत पहिलो र टिमका लागि तेस्रो गोल गरे । उनले मैदानको सेन्टरभागबाट गोल गर्दै थन्डरबोल्टलाई ३–१ को अग्रता दिलाए ।

थन्डरले माघ २९ गते ब्याक बुल्स फुटबल क्लब उक्जुबेकिस्तान सगँ खेल्ने छ । शनिबार खेल नेपाल पुलिस क्लब र ब्रिगेट व्याइज क्लब युकेबीच हुनेछ ।

खोकनाको समस्या समाधान गरेर द्रुतमार्गको काम अघि बढाइने

काठमाडौँ । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनामा चुनौतीका रूपमा देखिएको खोकना इलाकाको जग्गा अधिग्रहणसम्बन्धी समस्यालाई विकल्प तयार गरी अवरुद्ध काम अघि बढाइने भएको छ ।


खोकनाको समस्याका कारण द्रुतमार्गको सुरु बिन्दु निर्धारण र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले उक्त खण्डको खरिद तथा निर्माण प्रभावित भइरहेको छ । द्रुतमार्गको शून्य किमीदेखि छ दशमलव पाँच किमीसम्मको खरिद तथा निर्माण सुरु हुन सकेको छैन ।


समस्या समाधानका लागि रक्षामन्त्रीको संयोजकत्वमा जग्गा अधिग्रहणसम्बन्धी विवाद समाधान समिति तथा अन्य उपसमिति गठन गरी कार्य अघि बढाइएको रक्षा मन्त्रालयले जनाएको छ । 


प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, रक्षामन्त्री मानवीर राई, प्रधानमन्त्रीका आर्थिक मामिला सल्लाहकार डा युवराज खतिवडा, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायत उच्चाधिकारीको सहभागितामा खोकनाको समस्या तथा आयोजनाको प्रगतिबारे छलफल गरेका थिए ।


रक्षामन्त्री राईले द्रुतमार्गको प्रभावकारी कार्यान्वयनका लागि सरोकार भएका सबैसँग समन्वय गरी लक्ष्यअनुसार प्रगति हासिल गर्न निर्देशन दिएका छन् ।


मन्त्रालयको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा शुक्रबार यस्तो र्दिेशन दिएका हुन् ।


मन्त्री राईले आफूसहितको टोलीले गत पुस २२ गते खोकना–बुङ्मती इलाकाको स्थलगत अनुगमन गरेको जानकारी गराउँदै खोकनाको समस्या समाधान गर्न विभिन्न विकल्प निकाल्ने गरी योजनाबद्ध रूपमा काम भइरहेको उल्लेख गरे ।


उनले यसबाहेक अन्य सडक आयोजना निर्माण, सैनिक सामग्री खरिद, चुरे संरक्षण, विपद् उद्दारलगायत कार्यमा लक्ष्यअनुसार प्रगति भएकामा प्रशंसा गरे ।


कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले भएका प्रगतिको मूल्याङ्कन गर्दै खोकनाको समस्यालाई यथाशीघ्र समाधान गर्नुपर्ने सुझाव दिए ।


आयोजना निर्माणमा आयोगकातर्फबाट हुने सहयोग सधैँ रहने प्रतिबद्धता व्यक्त गर्दै उहाँले कुनै एक समस्यालाई देखाएर अन्य स्थानको काममा ढिलाइ गर्न नहुने धारणा राखे ।


मन्त्रालयका सचिव रामेश्वर दङ्गालले चालु आर्थिक वर्षको ६ महिनामा टेण्डरसहितका कार्य गर्नुपरेकाले अपेक्षानुसार काम भएको नदेखिए पनि बाँकी अवधिमा लक्ष्यानुसार काम हुने प्रतिबद्धता व्यक्त गरे । उनले अन्य आयोजनाका जस्तै समस्याहरू द्रुतमार्गमा पनि देखिनु दुःखद् पक्ष भएको उल्लेख गरे ।


प्रधानसेनापति अशोकराज सिग्देलले गत असोज ११ र १२ गते भएको अत्यधिक वर्षाका कारण दु्रतमार्ग आयोजनाका पहुँचमार्गलगायत विभिन्न संरचनामा क्षति भई कार्य प्रभावित भएको अवगत गराए ।


उनले वर्षाका कारण वाग्मती नदीको बहावसहित भौगालिक परिवर्तन भएकाले केही संरचनाको नयाँ भौगर्भिक अध्ययन तथा पुनःडिजाइन गर्नुपर्ने अवस्थाका बारेमा जानकारी गराए ।


कूल ७० दशमलव ९७ किलोमिटर लम्बाइको द्रुतमार्ग २०८३ साल चैतसम्म सम्पन्न गर्नुपर्ने लक्ष्य छ । आयोजनाको प्रस्थान बिन्दु ललितपुरको खोकना र अन्तिम बिन्दु बाराको निजगढ रहेको छ । आयोजनाको हालसम्म समष्टिगत भौतिक प्रगति ३७ दशमलव ६० र वित्तीय प्रगति ३९ दशमलव ५६ प्रतिशत रहेको आयोजना कार्यालयले जनाएको छ ।


कार्यक्रममा मन्त्रालयअन्तर्गतका द्रुतमार्गसहित करिडोर तथा अन्य सडक आयोजना, राष्ट्रपति चुरे तराई मधेस संरक्षण कार्यक्रम, बङ्करबाट ब्यारेकसम्म कार्यक्रम, राष्ट्रिय सेवा दल, राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय, विपद् व्यवस्थापनलगायत आयोजना र कार्यक्रमका लक्ष्य तथा प्रगतिबारेमा जानकारी गराइएको थियो ।

नेपाली एकल महिलाको मुद्दा राष्ट्रसङ्घीय ‘सिड’ कमिटीमा प्रवेश

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धिसम्बन्धी ‘सिड’ कमिटीको बैठकमा नेपाली एकल महिलाको न्यायसम्बन्धी विषयले प्रवेश पाएको छ ।

स्विटजरल्यान्डको जेनेभामा सम्पन्न ‘सिड’ कमिटीको ९०औँ बैठकमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा लिली थापाले सो विषय प्रवेश गराएकी हुन् ।

उनले सीमान्तकृत समुदायका महिलाको न्यायमा पहुँच पु-याउन चुनौती रहेको उल्लेख गर्दै सो महासन्धिमा भएका प्रावधानलाई कार्यान्वयन गरी थप प्रगति हासिल गर्न नेपाल सरकारसँगसमेत आग्रह गरिन् ।

आयोगकी सदस्य डा. थापाले नेपालमा महिला अधिकारको प्रवद्र्धनमा भएको प्रगतिलाई सकारात्मक मूल्याङ्कन गर्दै कानुनी संरचनामा अझै सुधार आवश्यक रहेको धारणा व्यक्त गरिन् ।

आमाको नामबाट नागरिकता प्राप्त गर्न अझै जटिलता रहेको जनाउँदै विधवा महिलाको सामाजिक न्यायको संवैधानिक हक प्राप्तिमा चुनौती रहेको र एकल महिला सुरक्षाकोष स्थानीयकरण तथा कार्यान्वयन हुन नसकेकाले अधिकांश एकल महिला सुरक्षाकोषबाट सहयोग लिन वञ्चित भएको विषयवस्तु उजागर गरी विश्व समुदायको ध्यानाकर्षण गरको उनले जानकारी दिइन् ।

यसैगरी, एकल महिला सुरक्षाकोषको यथाशीघ्र कार्यान्वयनका लागि राज्य गम्भीर हुनुपर्ने विषय बैठकसहित मुलुकका विभिन्न जातजाति, क्षेत्र, वर्ग, लिङ्गलगायतका क्षेत्रमा हुने गरेका सबै प्रकारका विभेद अन्त्यका लागि व्यवस्था गरिएका संवैधानिक प्रतिबद्धतालाई व्यवहारमा लागू गर्नुपर्ने मुद्दा उठाइको उनले बताइन् ।

एकल महिला समूहले करिब तीन दशकदेखि नेपालमा एकल महिलाको हकअधिकार, न्याय, सहभागिता अभिवृद्धि, लैङ्गिक समानता, मानवअधिकार, शान्ति तथा न्याय र मानवीय सहयोगको क्षेत्रमा काम गर्दै आएको मानव अधिकारका लागि महिला, एकल महिला समूहद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्र निर्माण र विकास मूल खम्बा हुनुपर्ने बताएका छन्।

अरूणोदय माध्यामिक विद्यालयको ६०औँ स्थापना दिवसका अवसरमा शुक्रबार आयोजित ‘अरूणोदय स्मारिक लोर्कापण’ कार्यक्रममा अबको शिक्षा राष्ट्रलाई आर्थिकरूपमा समृद्ध बनाई विकास गर्ने खालको हुनुपर्ने बताइन्।

‘शिक्षालाई देशको विकास र राष्ट्रिय आवश्यकतासँग जोड्न जरूरी छ, शिक्षालाई मुलुक विकासको खम्बा बनाउनुपर्छ,’ पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘सरकार स्थिर छ, यो बेलामा शिक्षा प्रणालीमा आमूल परिर्वतन गर्न जरूरी छ, जसले रोजगारीको खोजीमा भौतारिका युवालाई रोजगार दिन सकोस्।’

नेपाली शिक्षाको देशको माटो, स्रोतसाधनको अधिकतम प्रयोग गर्ने खालको हुनुपर्ने र शिक्षामा अधिकत सूचना प्रविधिको प्रयोग गरी उत्पादनमा जोड्नुपर्ने उनको भनाइ थियो।

अहिले नयाँ पुस्तालाई देशमा राख्नै कठिन भएको र विगतमा खचाखच हुने विद्यालय आजभोलि सुनसान हुने परिस्थिति देखा परेको उल्लेख गर्दै पूर्व राष्ट्रपति भण्डारीले भनिन्, ‘समय परिर्वतन भएको छ, आन्तरिक बसाइँसराइ पनि बढ्दो छ, सूचना प्रविधिको अधिक विकास भएको छ, यो सबै हेरेर शिक्षा प्रणालीमा सुधार गर्नुपर्छ।’

कार्यक्रममा अरूणोदय माध्यामिक विद्यालयमा पढी राष्ट्रको विभिन्न ओहोदामा रहेर काम गर्ने व्यक्तित्वहरू नेपाल सरकारका सचिव लोकराज पराजुली, फ्रान्सका लागि पूर्व नेपाली राजदूत दीपक अधिकारी, पूर्व अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल, उपसचिव योगेश पराजुलीलगायतलाई अरूणोदय गौरव सम्मान गरिएको थियो।

कार्यक्रममा पूर्व राष्ट्रपति भण्डारीले अरूणोदय स्मारिक लोर्कापण–२०८१ को लोकार्पण गरेकी थिइन्। उक्त स्मारिकामा विद्यालयको स्थापना कालदेखि हालसम्मको इतिहास समेटिएको विद्यालयका प्रधानाध्यापक माधवप्रसाद पराजुलीले जानकारी दिए।

चितुवाको आक्रमणबाट बर्दियामा एक महिलाको मृत्यु

बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । शुक्रबार चितुवाको आक्रमणबाट बाख्रा चराउन गएकी बर्दियाको मधुवन नगरपालिका–७ की जुनाकुमारी लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई नेपाल–भारत सीमा क्षेत्रमा बाख्रा चराउन गएका बेला चितुवाले आक्रमण गरेको थियो । स्थानीयले देखेर होहल्ला गरेपछि चितुवा भागेको थियो ।

तर घाइते भएकी लामिछानेको जिल्ला अस्पताल गुलरिया पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रधानमन्त्री र मुख्यमन्त्रीहरूबीच भर्चुअल बैठक : समस्या पहिचान गरेर समाधान गर्छौं: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सेवा प्रवाह, सुशासन, समग्र प्रगति, विद्यमान चुनौती र सङ्घीय सरकारले गर्नुपर्ने सहजीकरणका विषयमा आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल बैठक गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ‘एक्सन रूम’ बाट शुक्रबार प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरूसँग पहिलो पटक यसप्रकारको संवाद गरेका हुन् ।

करिब साढे दुई घण्टा भएको छलफलमा प्रधानमन्त्रीले प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्लाएक्लै छलफल गर्नुपर्ने आवश्यकता देखिएको बताउँदै आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारी जुट्दा थप छलफल गर्दै जाने विश्वास दिलाए ।

प्रधानमन्त्री ओलीले सकेसम्म प्रदेशमै पुगेर र कतिपय प्रदेशसभामा पनि पुगेर राष्ट्र निर्माणबारे केन्द्र र प्रदेशका सोचबारे विमर्श गर्ने र समस्याको पहिचान गरी कार्यान्वयनको ‘एक्सन’ मा जाने जानकारी दिए ।

उनले अहिलेको सूचना र प्रविधिको जमानामा यसको उपयोग गरी जिल्ला तह र आयोजनागत रूपमा मुख्यमन्त्रीहरूले यस्ता छलफल गर्न सकिने सुझाव दिए ।

प्रधानमन्त्री ओलीले आफू पहिला प्रधानमन्त्री हुँदा सिंहदरबारस्थित कार्यालयमा एक्सन रूमबाट देशभरका निर्माणाधीन आयोजनाबारे अनुगमन र छलफल गर्न थालेको स्मरण गराउँदै यस कक्षको उपयोगलाई बढाउँदै जाने बताए ।

प्रधानमन्त्री ओलीले माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई)मा ४८ प्रतिशत विद्यार्थी मात्रै उतीर्ण हुने अवस्था सुधार्न आफूले केही युवाको सहयोगमा अनलाइन माध्यमबाट मुख्य विषयमा अतिरिक्त कक्षा सञ्चालनको आरम्भ गराएको बताउँदै यसमा ५७ हजार विद्यार्थी सहभागी जानकारी गराए ।

आगामी वर्षदेखि यसैवर्षदेखि यसप्रकारको तयारी गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले विकासको आधारका रूपमा शिक्षालाई लिनुपर्नेमा जोड दिए ।

उनले डिजिटल नेपालतर्फ आफूहरू अघि बढेकाले स्वास्थ्यलगायत अन्य क्षेत्रमा पनि सूचना र प्रविधिको उपयोग गरेर जनतालाई लाभ दिन सकिने बताए ।

संवादमा मुख्यमन्त्रीहरूले यस प्रकारको छलफलमा राखिएकामा आभार व्यक्त गर्दै आफ्ना सरकारले चालु आर्थिक वर्षको हालसम्म हासिल गरेका भौतिक र वित्तीय प्रगति, विद्यमान चुनौती र समस्या समाधानका उपायबारे अवगत गराएका थिए ।

उनीहरूले बहुवर्षीय ठेक्का लागेका कार्यक्रमहरूमा बजेटको निरन्तरतासहित अनुदान रकम वृद्धि हुनुपर्ने, आयोजना सञ्चालनका लागि रूख कटान र जग्गा प्राप्तिमा सहजता हुनुपर्ने, विपद् व्यवस्थापनमा बजेट थपिनुपर्ने, जनशक्ति व्यवस्थापन, भन्सारमा हुने चोरी–निकासी नियन्त्रण गर्नुपर्ने, गण्डकीलाई पर्यटकको केन्द्रका रूपमा विकास गर्न निर्माणाधीन सडक विस्तार छिटो सम्पन्न गर्नुपर्ने, पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि मुअब्जा विवाद टुङ्ग्याउनुपर्ने, कार्यविस्तृतीकरण पुनःविचार गर्नुपर्ने, प्रदेशमा पर्यटक र आम्दानी वृद्धिका लागि सहजीकरण गरिनुपर्नेलगायत सुझाव दिएका थिए ।

सरकारका मुख्यसचिव एकनारायण अर्यालले मुख्यमन्त्रीहरूले उठाएका समस्याका विषय सङ्घीय मन्त्रिपरिषद्को बैठक र सरकारका सचिवहरूको बैठकमा छलफलको विषय बनाइ सम्बोधन गरिने बताए ।

मदन राईलाई साढे २ वर्ष कैद, एक लाख जरिवाना र डेढ लाख रुपैयाँ क्षतिपूर्तिको सजाय

खोटाङ । बालयौन दुरुपयोगको अभियोगमा मदन राईलाई अदालतले साढे २ वर्ष कैद सजाय सुनाएको छ । खोटाङका जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले गत बिहीबार राईलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि शुक्रबार पेशी तोकेको थियो ।

शुक्रबार अदालतले उनलाई साढे २ वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना र डेढ लाख रुपैयाँ पीडितलाई क्षतिपूर्ति भराउन फैसलामा सुनाएको हो ।

उनीविरुद्ध २०८० जेठ २१ गते उनीविरुद्ध बालयौन दुरुपयोगको अभियोगमा मुद्दा दर्ता भएको थियो । त्यतिबेला उनी ४ लाख धरौटीमा रिहा भएका थिए ।

राईले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेशनमै अध्ययन गरेकी बालिकाले उनीविरुद्ध बालयौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन् ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमणका दुई आरोपी धरौटीमा रिहा, एकजना जेल चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका तीन जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले उनीहरूलाई एक एक लाख धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै ललितकुमार केसी र शीतल राई जनही १/१ लाख धरौटी बुझाएर छुटेका छन् भने महानन्द जैसी भने धरौटी बुझाउन नसक्दा कारागार चलान भएका छन् ।

उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग कसुरमा मुद्दा दर्ता भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेटबाहिर त्रिपाठीमाथि आक्रमण गरेका थिए।