`

चीनद्वारा ल्याटिन अमेरिकामा अमेरिकाको ‘शीत युद्ध मानसिकता’ को आलोचना

बेइजिङ। चीनले शुक्रबार ल्याटिन अमेरिकामा संयुक्त राज्य अमेरिकाको ‘शीतयुद्ध मानसिकता’ को निन्दा गर्दै यस क्षेत्रको भ्रमणका क्रममा विदेशमन्त्री मार्को रुबियोको टिप्पणीमाथि गुनासो गरेको बताएको छ ।

नोभेम्बरमा अमेरिकी चुनाव जितेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले एक शताब्दीअघि वासिङ्टनले निर्माण गरेको र पछि पनामालाई हस्तान्तरण गरिएको पनामा नहर कब्जा गर्न बल प्रयोग गर्ने सम्भावनालाई अस्वीकार गरेको छैन ।

क्यारेबियन सागर र प्रशान्त महासागरलाई जोड्ने यो साँघुरो जलमार्गबाट अमेरिकी कन्टेनर यातायातको करिब ४० प्रतिशत गुज्रन्छ ।

शुल्क भुक्तानी बाहेक वासिङ्टन मुख्यतया विश्व समुद्री व्यापारको पाँच प्रतिशत सम्हाल्ने ८० किलोमिटर (५० माइल) लामो नहरमा चिनियाँ लगानीबारे चिन्तित देखिएको छ ।

पनामा नहरलाई लिएर पछिल्लो विवाद रुबियोको मध्य अमेरिकाको एक हप्ता लामो भ्रमणको अन्त्यमा आएको हो । अमेरिकी शीर्ष कूटनीतिज्ञका रूपमा उनको पहिलो पनामा भ्रमण हो ।

उनले नहरमा चिनियाँ प्रभाव कम गर्न तत्काल परिवर्तन नगरेसम्म पनामाविरुद्ध कारबाही गर्ने धम्की दिएको थियो ।

बेइजिङले शुक्रबार रुबियोको टिप्पणीले ‘चीनलाई अन्यायपूर्ण रूपमा आरोप लगाएको’ र ‘जानाजानी चीन र सन्बन्धित ल्याटिन अमेरिकी देशहरूबीच विवाद सिर्जना गरेको’ बताएको छ । “चीनले अमेरिकी पक्षसमक्ष गम्भीर प्रतिनिधित्व दर्ता गराएको छ’, एक अज्ञात प्रवक्ताले भने ।

पनामाका राष्ट्रपति जोस राउल मुलिनोले बिहीबार पनामाले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) पूर्वाधार कार्यक्रमबाट बाहिरिएको पुष्टि गरेको छ ।

रुबियोले त्यो प्रतिबद्धतालाई द्विपक्षीय सम्बन्धका लागि ‘ठूलो कदम’ भनी स्वागत गरे ।

जवाफमा बेइजिङले ‘बेल्ट एन्ड रोड सहयोगलाई बदनाम गर्न र कमजोर पार्न अमेरिकाले दबाब र जबरजस्ती प्रयोग गर्ने कुराको दृढतापूर्वक विरोध गर्छ’ भनेको छ ।

“यसका उपलब्धिहरूले पनामा जस्ता देशहरूका जनतालाई फाइदा पुर्‍याएका छन्”, विदेश मन्त्रालयका प्रवक्ता लिनले एक ब्रिफिङमा भने ।

बिआरआई एक विशाल पूर्वाधार परियोजना हो । यो चिनियाँ राष्ट्रपति सी जिनपिङको आफ्नो देशको विदेशी प्रभाव विस्तार गर्ने प्रयासको केन्द्रीय स्तम्भ हो ।

पश्चिमी आलोचकहरूले चीनमाथि बिआरआई प्रयोग गरेर विकासशील राष्ट्रहरूलाई असम्भव ऋणमा फसाएर उनीहरूमाथि कूटनीतिक प्रभाव जमाउन वा उनीहरूको सम्पत्ति कब्जा गर्न खोजेको आरोप लगाउँछन् ।

बेइजिङले शुक्रबार ‘नहरमाथि पनामाको सार्वभौमिकताको समर्थन गर्छौं’ भनी जोड दिएको छ । “अमेरिकी पक्षको सम्बन्धित सहयोगमा आक्रमण र हस्तक्षेपले एकपटक फेरि यसको प्रभुत्वशाली प्रकृति उजागर गरेको छ”, विदेश मन्त्रालयले भन्यो ।

भारतको केन्द्रीय बैंकद्वारा सन् २०२० पछि पहिलो पटक ब्याजदर कटौती

नयाँदिल्ली । विश्वको पाँचौँ ठूलो अर्थतन्त्रमा वृद्धिको मन्दीको चिन्ताले मुद्रास्फीति जोखिमलाई उछिनेसँगै भारतको केन्द्रीय बैंकले लगभग पाँच वर्षमा पहिलोपटक शुक्रबार ब्याज दर घटाएको छ ।

भारतीय रिजर्भ बैंक (आरबिआई) ले वाणिज्य बैंकहरूलाई ऋण दिने आधार रेपो दर २५ आधार अङ्कले घटाएर ६.२५ प्रतिशतमा झार्ने बताएको छ ।

विश्वका प्रमुख केन्द्रीय बैंकहरूले गत वर्ष दरमा कटौती गरे । केहीले यसलाई जारी राखे पनि सुस्त मुद्रास्फीतिले भारतलाई त्यसो गर्नबाट रोकेको थियो ।

देशमा खुद्रा मुद्रास्फीति हालै घटेको छ । डिसेम्बरमा चार महिनाको न्यून ५.२२ प्रतिशतमा झरेको छ तर अझै पनि केन्द्रीय बैंकको मध्यम अवधिको चार प्रतिशतको लक्ष्यभन्दा माथि छ । मूल्य दबाब कम हुँदै गएकोले अब वृद्धि बढाउनेमा ध्यान केन्द्रित गर्ने ठाउँ प्रदान गरेको देखिन्छ ।

सुस्त उत्पादन र कमजोर सहरी उपभोगका कारण सेप्टेम्बर त्रैमासिकमा भारतको अर्थतन्त्र अपेक्षाभन्दा धेरै ढिलो विस्तार भएको थियो । गत वर्ष आठ प्रतिशतभन्दा बढी वृद्धि भएकोमा यो आर्थिक वर्षमा कोभिड–१९ महामारी पछिकै सबैभन्दा सुस्त गतिमा विस्तार हुने अनुमान छ ।

आरबिआईका गभर्नर सञ्जय मल्होत्राले आफ्नो पहिलो मौद्रिक नीति समीक्षामा मुद्रास्फीति ‘२०२५–२६ मा थप मध्यम हुने अपेक्षा गरिएको’ र सेप्टेम्बर त्रैमासिकको न्यूनबाट सुधार हुने भए पनि यो गत वर्षको तुलनमा ‘धेरै तल’ रहेको बताए ।

“विद्यमान वृद्धि–मुद्रास्फीति गतिशीलतालाई ध्यानमा राख्दा… हालको समयमा कम प्रतिबन्धात्मक मौद्रिक नीति बढी उपयुक्त छ”, उनले भने ।

मल्होत्राले आफ्ना पूर्ववर्ती शक्तिकान्त दासभन्दा कम कडा दृष्टिकोण अपनाएका छन् । दासले मुद्रास्फीतिसँग लड्न सन् २०२२ मे र सन् २०२३ फेब्रुअरीको बीचमा दरहरू २.५ प्रतिशत अङ्कले बढाएका थिए ।

बैंकले पछिल्लो पटक सन् २०२० मे महिनामा दरहरू घटाएको थियो ।

खाद्य पदार्थको उच्च मूल्य र कमजोर ज्याला वृद्धिबाट पीडित उपभोक्ताहरूको हातमा थप पैसा दिन सरकारले आफ्नो वार्षिक बजेटमा व्यापक आयकर कटौतीको घोषणा गरेको एक हप्ताभन्दा पनि कम समयमा आरबिआईको यो निर्णय आएको छ ।

सेप्टेम्बर त्रैमासिकमा भारतको अर्थतन्त्र ५.४ प्रतिशतले बढेको छ । यो सात त्रैमासिकमा यसको सबैभन्दा खराब प्रदर्शन हो र विश्लेषकहरूको अपेक्षा ६.५ प्रतिशतभन्दा कम हो ।

यो आँकडाले भारतलाई विश्वका सबैभन्दा तीव्र वृद्धि भइरहेका प्रमुख अर्थतन्त्रहरूमध्ये एक बनाए पनि यसले सन् २०२३ र सन् २०२४ को धेरैजसो समयमा देखिएको तीव्र विस्तारको गतिमा मन्दी आएको सङ्केत गर्दछ ।

नेतन्याहुद्वारा ट्रम्पलाई ‘गोल्डेन पेजर’ उपहार प्रदान

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई ह्वाइटहाउसमा भएको भेटमा ‘गोल्डेन पेजर’ उपहार दिएका छन्।

सन् २०२४ को सेप्टेम्बरमा इजरायलले लेबनानी इस्लामिक समूह हिजबुल्लाहविरुद्ध गरेको आक्रमणपछि हिजबुल्लाहविरुद्धको युद्धको टर्निङ प्वाइन्टको प्रतीकका रूपमा यो उपहार प्रदान गरिएको नेतन्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यो रणनीतिक अभियानले इजरायलको शक्ति, प्राविधिक श्रेष्ठता र आफ्ना शत्रुहरूविरुद्ध चातुर्य प्रदर्शन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

लेबनानी अधिकारीहरूका अनुसार इजरायलले एकैदिन एकैचोटि ‘पेजर आक्रमण’ गरी हिजबुल्लाहलाई स्तब्ध बनाएको थियो। आक्रमणमा पेजर र वाकी–टकीमा विस्फोट हुँदा दर्जनौँ लडाकु मारिएका थिए र हजारौँ घाइते भएका थिए।

गत सेप्टेम्बरको अन्त्यतिर इजरायलले हिजबुल्लाहलाई सीमाबाट पछाडि धकेल्ने उद्देश्यले दक्षिणी लेबनानमा स्थलआक्रमण सुरु गरेको थियो। एक वर्षभन्दा बढी समयदेखिको इजरायली बमबारी र दक्षिणी लेबनानमा युद्धको अन्त्य गर्दै नोभेम्बरको अन्त्यमा इजरायल र हिजबुल्लाह युद्धविराम गर्न सहमत भए।

यद्यपि, इजरायली सेना अझै पनि छिमेकी देशका केही भागमा सक्रिय छ।युद्धविराम लागू गर्न तीन महिनाको समयावधि जनवरी २६ मा समाप्त भएको, तर इजरायली सेनाले दक्षिणी लेबनानबाट आफ्नो सेना फिर्ता गरेको छैन।

लेबनानी सेनाले सम्झौतालाई अक्षरशः पालना नगरेको तर्क गर्दै इजरायलले प्रारम्भिक समयसीमा पूरा गर्ने आफ्नो कुनै मनसाय नरहेको स्पष्ट पारेको थियो।उसले त्यहाँ यदाकदा हवाई आक्रमण पनि जारी राखेको छ र अब फेब्रुअरी १८ सम्म सेना फिर्ता गर्ने मिति तोकिएको छ।

एकसाथ तीन चलचित्र प्रदर्शनमा

काठमाडौं । शुक्रबारदेखि एकसाथ तीन चलचित्रको प्रदर्शन सुरु भएको छ । मंसिर र पुसमा निकै कम संख्यामा चलचित्र प्रदर्शन भए पनि माघको अन्तिम सातादेखि आउँदो केही महिना हरेक हप्ता दुईदेखि तीन चलचित्र प्रदर्शन हुने घोषणा गरिएको छ । यसै क्रममा आजदेखि ‘मम्मी’, ‘जुना’ र ‘सारङ्ग’ को प्रदर्शन सुरु भएको छ ।

बाल मनोविज्ञान र मित्रताको कथा देखाइएको चलचित्र ‘सारङ्ग’ लाई प्रशान्त तामाङले निर्देशन गरेका छन् । विद्यालयमा नृत्य प्रशिक्षकका रूपमा समेत कार्य गरिरहेका निर्देशक तामाङले बालबालिकाको कथालाई ठूलो पर्दामा ल्याउँदा त्यसले सकारात्मक प्रभाव छाड्ने बताए ।

‘चलचित्रमा एउटा परिवारमा हुने आपसी कलहले बालबालिकामा पार्ने असर, बाल्यकालमा जोडिने मित्रता र सामाजिक उत्तरदायित्वलाई चलचित्रमा समेटेका छौं’, निर्देशक तामाङले भने ।

यस चलचित्रमा उत्पल झा, ऋचा शर्मा, आदित्य कार्की, सम्राट थापा, सुरज तमु, समीरमणि दीक्षितलगायत कलाकारले अभिनय गरेका छन् । आजदेखि नै प्रदर्शन सुरु भएको चलचित्र ‘मम्मी’ निरन्तरभन्दा फरक ‘हरर साइकोलोजिकल–थ्रिलर’ विधामा तयार गरिएको निर्देशक समर निरौलाले जानकारी दिए ।

‘नियमित बनिरहेका चलचित्रभन्दा फरक प्रयास गरेका छौँ । मैले केही चलचित्र र टेली शृङ्खलामा काम गर्दा नै सोचेको विषयलाई चलचित्रमा समेटेको छु । यो विषय नेपाली चलचित्र हेर्ने दर्शकका लागि नयाँ हुनेछ’, उनले भने ।

चलचित्रमा प्रियङ्का कार्की, सुलक्षण भारती, दीया मास्के, समीप निरौला, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गीत विष्ट, घनश्याम जोशीलगायतका कलाकारले अभिनय गरेका छन् । प्रदर्शन भइरहेको तेस्रो चलचित्र ‘जुनाः एक व्यथा’ को निर्माण बालविवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले गरिएको निर्देशक जीवन सेञ्चुरीले बताए ।

उनले भने, ‘चलचित्रको विषय हाम्रो गाउँ समाजमा देखिएकै घटनाक्रम हो । हामीले देखाएको कथा हेरेर थोरै भए पनि सुसूचित हुनुभयो भने हामी सफल हुनेछौँ । उमेर नपुग्दै विवाह भएकी चेलीले भोग्ने कथा नै चलचित्रको विषय हो ।’ दीपकप्रसाद घिमिरेले निर्माण गरेएको चलचित्रमा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारले अभिनय गरेका छन् ।

बगरखेतीले फेरिँदै फाँटाका किसानको जीवन

–भुपेन्द्र विक, बर्दिया । बर्दियास्थित राजापुर र कैलालीको टीकापुर सीमामा पर्ने कर्णाली नदीका कारण बर्सेनि आसपासको खेतीयोग्य जमिन बगरमा परिणत हुँदै आएको छ । यसरी बगरमा परिणत भएको क्षेत्रमा अहिले पनि बालुवा नै बालुवा थुप्रिएका देखिन्छन् । धेरैजसो बगर उपयोगविहीन छ ।

राजापुरसँग जोडिएको कैलालीको टीकापुर–८ फाँटाका किसानहरूले भने त्यही बगरलाई पसिना सिञ्चित गरी जीविकोपार्जनका लागि उपयोग गरिरहेका छन् । ३ वर्षअघिसम्म मरुभूमिझैं देखिने यो क्षेत्र अचेल यहाँका किसानका लागि आम्दानीको स्रोत बनेको छ ।

हिजो बालुवा नै बालुवा देखिने यो बगरमा अचेल मौसमअनुसार तरकारी खेती गरी किसानले आम्दानी गरिरहेका छन् । यो बगरमा अचेल कहिले लौका, काँक्रा, तरबुजा त कहिले प्याज फल्छन्, जसले किसानको जीवनशैली फेरिँदै गएको छ ।

विसं २०६४ को बाढीले यहाँका किसानको खेतीयोग्य जमिन कटान गरी क्षति पुर्‍याएकामा त्यसयता त्यो क्रम निरन्तर जारी छ । यहाँका धेरैजसो किसानको सबै खेती बगाएपछि आर्थिक उपार्जनको कुनै उपाय थिएन । पछिल्ला समय कर्णाली नदीले कैलालीतर्फको धार परिवर्तन गर्दै बर्दियातर्फ मोडिएपछि त्यही बगरमा खेती गरेर ती किसानले आफ्नो गर्जो टारिरहेका छन् । ३ वर्षदेखि यहाँ बगरखेती हुँदै आएको छ ।

स्थानीय सोहदी चौधरीले भने पहिलो पटक यस वर्षदेखि बगरखेती सुरु गर्नुभएको छ । छोरी सेती चौधरीले प्रेरित गरेपछि उनी यसतर्फ आकर्षित भएकी हुन् । छोरी सेतीले गत वर्ष घरअगाडिको खाली बगरमा नौ किलोग्राम प्याज रोपेर चार क्विन्टल उत्पादन गर्न सफल भएपछि आमाले पनि उत्साहित हुँदै १५ केजी प्याजको बीउ रोप्ने आँट गरेको सोहदीले बताए ।

‘छोरीले राम्रो कमाई गरेपछि मैले पनि हिम्मत जुटाएँ । पहिलो पटक बगरमा खेती गर्दैछु, हेरौँ राम्रै होला भन्ने अपेक्षा छ’, उनले खुसी हुँदै भनिन् । यहाँ ३ वर्षअघि खेती गर्ने किसानमध्ये एक थिए शाहीबहादुर चौधरी ।

बगरखेतीबाट मनग्य आम्दानी हुन थालेपछि उहाँको सम्पूर्ण परिवार यसै कार्यमा लागेको छ । ‘ती वर्षअघि यो बगरमा हामीले नै पहिलोपटक खेती गरेका थियौँ । राम्रो कमाई हुन थालेपछि अहिले मेरो सातजनाको परिवार यही खेतीमा लागेका छौँ । हाम्रो प्रगति देखेर पछिल्लो समय यस क्षेत्रका अन्य किसान पनि आकर्षित हुँदै गएका छन्’, चौधरीले भने।

उनले यसपटक आफूले ३० क्विन्टल प्याज फलाउने लक्ष्यसहित खेती गरेको बताए। बडघर अजय चौधरीका अनुसार यहाँ सोहदी, सेती र शाहीबहादुर मात्र नभई ५४ परिवार किसानहरूले हाल बगरखेती गरिरहेका छन् । ‘पहिले उहाँहरूले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरहनु भएको थियो । पछिल्लो ३ वर्षयता भने उहाँहरूले बगरखेती गर्न थाल्नु भएको छ । सबै जनाले राम्रो आम्दानी गरिरहनु भएको छ’, उनले भने ।

किसान मीना चौधरीले आफूहरूले मौसमअनुसार लौका, काँक्रा, तरबुजा र प्याजखेती गरिरहेको बताइन् । उनले उत्पादित सामग्री बिक्रीका लागि किसानलाई कुनै समस्या नभएको सुनाइन् ।

‘हामीलाई बजारको कुनै चिन्ता छैन, उत्पादन गरे पुग्छ । नेपालगञ्ज, राजापुर, लम्की र टीकापुरसम्मका व्यापारीहरू गाडी लिएर आफै खरिद गर्न आउँछन्’, चौधरीले भनिन्, ‘व्यापारीहरू नै यही आएर राम्रो मूल्य दिएपछि धेरै सहज भएको छ । उत्पादन गरेको सामग्री कसरी बेच्ने होला भनेर चिन्ता नहुने भएपछि खेतीमै ध्यान दिए पुग्छ ।’

बजारको समस्या नभए पनि यहाँका किसानलाई सिँचाइको समस्या भने टड्कारो छ । यो समस्या समाधान भएमा आफूहरूले थप ऊर्जासहित काम गर्ने बताउँछिन्, रतरानी चौधरी । ‘नदीछेउमै घर छ, जमिनका नाममा यही बगर हो । पछिल्लो यही बगरमा पसिना चुहाएर जीविको चलाइरहेका छौँ तर सिँचाइको समस्याले निकै चुनौती छ । कति दिनसम्म बाल्टीमा पानी बोकेर सिँचाइ गर्नु’, उनले दुःखेसो पोखिन्, ‘उसै त बालुवामा धेरै पानी चाहिने, बाल्टिको पानी त बालुवाले एकै छिनमा सोस्छ । प्याज र तरकारी खेतीमा धेरै पानी चाहिने भएकाले सरकारले सिँचाइको व्यवस्था गरिदिए सहज हुन्थ्यो ।’

स्थानीय पार्वती चौधरी पनि सिँचाइ व्यवस्थाका लागि सहयोग गर्न स्थानीय सरकार र सरोकारवालालाई आग्रह गर्छिन् । ‘सिँचाइको राम्रो व्यवस्था भए, हामी अझ धेरै खेती गरेर राम्रो आम्दानी गर्न सक्थ्यौँ । प्रत्यक्ष रूपमा हामीलाई फाइदा भए पनि यसको लाभ त अरूलाई पनि हुन्थ्यो नि !’, उनले भनिन् ।

बगरखेतीले फाँटाका किसानहरूको जीवनमा नयाँ उत्साह ल्याएको छ । किसानहरूले बगरमा पसिना सिञ्चन गरी राम्रो आम्दानी गरिरहेका छन् । यसले किसानको आर्थिक स्थिति सुधारका साथै ग्रामीण अर्थतन्त्रलाई पनि गतिशील बनाएको छ । यदि सिँचाइको उचित प्रबन्ध हुने हो भने यस कार्यले फाँटा गाउँ र समुदायको समृद्धिमा थप टेवा पुर्‍याउने अपेक्षा गरिएको छ । 

विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं ।  उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले ‘विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गरेका छन्।

सभापति खानले नेपालमा विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन तथा व्यवस्थित गर्न सरकारले यो विधेयक प्रस्तुत गरेको बताए।

विधेयकमा मुलुकमा रोजगारी सिर्जना, वस्तु तथा सेवाको सहज आपूर्ति, निर्यात प्रवर्द्धनलगायतका क्षेत्रमा विद्युतीय व्यापार अति आवश्यक भइसकेकाले यसलाई नियमन तथा अनुगमनका लागि तत्काल कानुन बन्न आवश्यक रहेको उल्लेख छ।

सूचना प्रविधिको माध्यमबाट हुने वस्तु वा सेवाको व्यापारिक कारोबारलाई नियमन गरी व्यवस्थित र विश्वसनीय बनाउन विधेयकमा विभिन्न व्यवस्था गरिएको छ।

कानुनबमोजिम दर्ता भई वस्तु वा सेवाको व्यापार गर्न अनुमति प्राप्त गरेको कुनै व्यक्ति, फार्म, कम्पनी वा संस्थाले यस ऐनको अधीनमा रही विद्युतीय व्यापार गर्न सक्नेछन्।

तोकिएको मितिमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सांसदहरुको सुझाव

काठमाडौँ । आगामी चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदैछ । दुई वर्षअघि पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताबाट १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर २ देखि ९ गतेसम्म कर्णालीमा आयोजना गरिने घोषणा गरिएको थियो तर तोकिएको मितिमा खेलकुद भएन । त्यसपछि आगामी चैत २३ देखि ३० गतेसम्म प्रतियोगिता आयोजना गर्नेगरी मिति सारिएको थियो ।

सारिएको मितिमा पनि प्रतियोगिता सञ्चालन हुनेमा पनि अन्योल देखिएको भन्दै चिन्ता व्यक्त हुने गरेको छ । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा सांसदहरूले पनि यस्तै आशङ्का व्यक्त गर्दै समयमै प्रतियोगिता हुने अवस्था बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

आज सिंहदरबार बसेको समिति बैठकमा सांसदहरूले तोकिएको मितिमै खेलकुद प्रतियोगिता सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा सांसद देवेन्द्र पौडेलले प्रतियोगिता तोकिएको समयमै सम्पन्न गर्ने गरी तयारी तीव्र गतिमा अगाडि बढाउन आग्रह गरे ।

“प्रतियोगिता जसरी पनि तोकिएको समयमा गरिनुपर्छ । अब धेरै दिन छैन, अझै ढिला गरियो भने तयारी पुग्दैन । त्यसैले छुट्याइएको बजेटलाई कार्यान्वयन गरी खेलकुद सञ्चालन हुने सुनिश्चितता गरिनुपर्छ”, उनले भने ।

सांसद छविलाल विश्वकर्माले समयमै प्रतियोगिता सञ्चालन गर्न सरोकारवाला पक्षहरू जिम्मेवार हुनुपर्ने बताए । उनले तोकिएको मितिमै प्रतियोगिता सञ्चालन गर्न युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अर्थ मन्त्रालय गम्भीर बन्नुपर्नेमा जोड दिए । सांसद रेखा शर्माले सरोकार भएका निकायबीच समन्वयको अभाव हुँदा खेलकुद प्रतियोगिता समयमै सञ्चालन हुनेमा आशङ्का उब्जिएको बताइन् ।

सांसदहरूले आपसी समन्वयविना खेल अगाडि बढ्न नसक्ने बताउँदै समयमै प्रतियोगिता नभए सरकारको जिम्मेवारीमाथि समेत प्रश्न उठ्ने धारणा राखेका थिए । उनीहरूले तोकिएको समयमै प्रतियोगिता सञ्चालन हुने वातावरण बनाउन आग्रह गरे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवमा टङ्कलाल घिसिङले समयमै प्रतियोगिता सम्पन्न गर्ने विषयमा चुनौती देखिएको बताए । उनले गत मङ्सिर २१ गते बसेको राखेपको बैठकले प्रस्ताव गरेको ६० करोड बजेट खर्चको मापदण्ड र उपशीर्षकगत रूपले बाँडफाँट गर्ने निर्णयलाई अर्थ मन्त्रालयले स्वीकृत नगर्दा समस्या देखिएको बताए ।

उनले स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको सोसम्बन्धी फाइल दुई महिनाभन्दा बढी समय हुँदा पनि स्वीकृत नहुँदा समस्या देखिएको उल्लेख गरे ।

अर्थ मन्त्रालयका सहसचिव एवं प्रवक्ता महेश भट्टराईले प्रतियोगिताका लागि मागबमोजिमको बजेट विनियोजन भएको बताए । उनले प्रतियोगिताका लागि बजेट निर्माणका क्रममा बजेट बाँडफाँटको शीर्षकअनुसार तय नभएपछि एकमुष्ट राखिएको बताए । युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का प्रतिनिधिहरूबीच छलफल भइरहेको बताए ।

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालय र राखेपबीच समन्वयको अभावका कारण काम कारबाही असहज बनेको बताए । उनले समस्या समाधानका लागि काम भइरहेको बताए । “राखेप र मन्त्रालयबीच द्वन्द्व थियो । १५ महिनासम्म बैठक नबस्ने, आपसी समन्वय नहुने अवस्था थियो । मैले त तीन÷चार महिना द्वन्द्व मिलाउन पुलको काम गरेँ । अहिले विस्तारै कामकारबाही सहज बनिरहेको छ”, उनले भने ।

मन्त्री चौधरीले प्रतियोगिता समयमै सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताउँदै त्यसका लागि ‘फास्ट ट्र्याक’मा काम गरिने बताए ।

महिला टी–ट्वान्टी श्रृङ्खलाको उपाधि थाइल्याण्डलाई

काठमाडौँ ।  महिला टी–ट्वान्टी श्रृङ्खलाको थाइल्याण्डले जितेको छ । अन्तिम खेलमा नेपाललाई सात विकेटले पराजित गरेसँगै थाइल्याण्डले उपाधि चुमेको हो ।

थाइल्याण्ड श्रृङ्खलामा खेलेका ६ खेलमध्ये पाँचमा जित तथा एकमा हार बेहोर्दै १० अङ्कका साथ शीर्ष स्थानमा रह्यो । यस्तै  नेदरल्याण्ड्स ६ खेलमा चारमा जित तथा दुईमा हार बेहोर्दै आठ अङ्कका साथ दोस्रो स्थानमा रह्यो । नेपाल भने प्रतियोगितामा अङ्कबिहीन रह्यो । नेपाल आफ्ना सबै ६ खेलमा पराजित रह्यो ।  

नेपालले आफ्नो अन्तिम खेलमा थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको थियो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी थिइन् ।

नेपालले निर्धाति २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् । 

बलिङतर्फ थाइल्याण्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् । 

बयासी रनको विजयी लक्ष्य थाइल्याण्डले १७ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । थाइल्याण्डका लागि कप्तान नारुइमोल चाइवाईले अविजित २७, नान्नापत खोन्चरोएन्कले २३ तथा नाट्टाया बुचाथमले ११ रन बनाइन् । बलिङतर्फ नेपालका लागि कप्तान इन्दु बर्माले दुई तथा पुजा महतोले एक विकेट लिइन् । 

नेपाल यसअघि नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो । 

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री  केपी शर्मा ओलीका अध्यक्षतामा शुक्रबार भएको चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह) को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको आयोगको बैठकमा यसअघि सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक ४८ हजार ७०० रुपैयाँ) कायम गर्नुपर्ने निर्णय भएको हो । अन्य  विषयमा थप छलफल गरी छिट्टै आयोगको बैठकबाट निर्णय लिने निष्कर्ष निकालिएको छ ।

बैठकले सम्बन्धित कलेजमा २ वर्ष अध्ययन र कामकोे सम्झौता गर्न नमान्ने विद्यार्थीसँग वार्षिक २३ लाख शुल्क लिने विषयमा पनि छलफल भएको छ ।

हाल निजी मेडिकल कलेजले मासिक  २० हजार निर्वाह भत्ता दिँदै आएका छन् । पोष्ट ग्राजुएट तहका विद्यार्थीले समान सुविधाका लागि आन्दोलन जारी राखेको र आयोगका परीक्षासमेत प्रभावित हुने स्थितिमा प्रधानमन्त्री ओलीको अग्रसरतामा समस्या समाधानको पहल भएको हो ।

बैठकमा निजी मेडिकल कलेज एसोसिएनका अध्यक्ष प्रा डा ज्ञानेन्द्रमान सिंह कार्कीले कार्यविधि बनेपछि निर्णय गर्न आग्रह गरेका थिए । तर आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली र सहअध्यक्षद्वय स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आवासीय चिकित्सकको समान सुविधाको प्रतिबद्धताबाट पछि हट्न नसकिने स्पष्ट गरेका थिए ।

चिकित्सा शिक्षाको एकीकृत नियमन, अनुुगमन, प्रवेश परीक्षा सञ्चालन, शिक्षण संस्थालाई दिइने विद्यार्थी सिट सङ्ख्या र शिक्षण शुल्क निर्धारणसम्बन्धी कार्यहरु गर्दै आएको आयोगको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ मा आवश्यक संशोधनको प्रक्रिया थाल्ने विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बेलायती अधिराजकुमार र अधिराजकुमारीद्वारा पोखरामा परेड अवलोकन

गण्डकी । संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी डचेस सोफीले आज पोखरास्थित ब्रिटिस क्याम्पमा आयोजित कार्यक्रममा बेलायती सेनामा औपचारिक रुपमा सामेल भएका दुई सय ७४ नेपाली युवाले प्रस्तुत गरेको परेड अवलोकन गरेका छन् ।

नेपालको भ्रमणमा रहेका बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले वार्षिक प्रमाणीकरण परेड अवलोकनसँगै उनीहरूका परिवारजनलाई प्रत्यक्ष भेटी विभिन्न जानकारी लिएका थिए ।

समारोहमा अधिराजकुमार एड्वर्डले भने, “अब तपाईं गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३ हजार भन्दा बढीमध्ये केवल दुई सय ७४ नयाँ गोर्खामध्ये तपाइ एक हुनुहुन्छ । यो तपाईंको जीवनको सबैभन्दा ठूलो चुनौतीमध्ये एक रहेको छ । तपाईं आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्नसक्ने अवस्थामा हुनुहुन्छ ।”

समारोहमा नेपालका लागि बेलायती राजदूत रोब फेन, गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइलगायतले भर्ती भएका नयाँ सैनिकको प्रमाणीकरणको अवलोकन गरेका थिए । परेडका अवसरमा ३८ राज्याभिषेक पदक र दुई दीर्घ सेवा तथा असल आचरण पदक पनि प्रदान गरिएको थियो ।

सफल हुने दुई सय ७४ प्रशिक्षार्थी एक वर्षको छनोट प्रक्रियापछि बेलायती सेनामा सामेल हुँदैछन् । उनीहरू बेलायतको क्याटरिकमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुने कार्यक्रममा जानकारी दिइयो ।

पोखरामा बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले गोर्खा वेल्फेयर ट्रस्ट (जिडब्लुटी) एरिया वेल्फेयर केन्द्र (एडब्लुसी)मार्फत बेलायती सेनामा काम गरेकालाई नेपालमा कसरी साथसहयोग उपलब्ध गराइएको छ, भन्ने कुराको पनि प्रत्यक्ष अवलोकन गरे ।

उनीहरूले जिडब्लुटीको आवासीय गृहले गरिरहेको काम अवलोकन गरेका थिए । यहाँ २० जना सबैभन्दा कमजोर अवस्थामा रहेका भूतपूर्व गोर्खा सैनिक तथा उनीहरूका विधवाहरूलाई आवास र अन्य सहयोग उपलब्ध गराइएको छ ।

बेलायती अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफी नेपालमा कदुरी कृषि सहायता सङ्घ (केएएए) को कामको बारेमा पनि जानकारी लिएका थिए । आवासीय गृहको भ्रमणका क्रममा अधिराजकुमार एड्वर्ड र अधिराजकुमारी सोफीले १०४ वर्षीया आशाकुमारी तामाङलाई भेटे ।

तामाङका स्वर्गीय श्रीमान्ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफल्समा आवद्ध भई सेवा गरेका थिए । आशा कुमारी सन् २०११ देखि सो आवासीय गृहमा बस्दै आएकी छिन् । कार्यक्रममा उनले बेलायती सेनामा छनोट भएका सैनिकहरूसँग सामूहिक तस्बिर पनि खिचाएका थिए ।

गोर्खा वेल्फेयर ट्रस्ट भूपु गोर्खा सैनिक, उनीहरूका परिवार र समुदायलाई सहयोग गर्न समर्पित अग्रणी परोपकारी संस्था हो । यसको स्थापना सन् १९६९ मा कल्याणकारी पेन्सनधारीहरू (एमओडी पेन्सनका लागि योग्य हुनु अगावै बेलायती सेना छोडेका)लाई आर्थिक सहायता प्रदान गर्नका लागि भएको थियो । ट्रस्टले नेपालभर उल्लेखनीय प्रभाव पारेको र प्रत्येक वर्ष वभिन्न कार्यमा खर्च समेत गर्दै आएको बताइएको छ । रासस

लुम्बिनी प्रदेशसभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा

लुम्बिनी ।  लुम्बिनी प्रदेशसभाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रदेशसभा बैठकमा विशेष सम्बोधनका लागि निमन्त्रणा गरेको छ ।

आगामी फागुन ५ गते सोमबार बस्ने प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि शुक्रबार प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरिएको प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जानकारी दिए ।

सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री आचार्यमार्फत प्रधानमन्त्री ओलीलाई विशेष सम्बोधनका लागि निमन्त्रणा गरेका हुन् । लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम प्रधानमन्त्रीलाई निमन्त्रणा गरिएको छ ।

प्रधानमन्त्री ओलीले फागुन ५ गते प्रदेशसभाको बैठकलाई बिशेष सम्बोधनपछि दाङको घोराहीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने र ६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको सिनेट बैठकमा सहभागी हुने कार्यक्रम तय भएको मुख्यमन्त्री आचार्यले बताए ।

वर्षामा सवारी संचालन हुने गरी वीपी राजमार्ग अस्थायी रूपमा पुनर्निर्माण गर्न सांसद दाहालको माग

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले गत असोज दोस्रो साता आएको बाढीपहिरो पीडितका लागि राहत, पुनःस्थापना तथा पुनःनिर्माणका काममा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा सांसद दाहालले बिपी राजमार्ग अहिलेसम्म पनि पुनःनिर्माण सुरु हुन नसकेको भन्दै तत्काल बजेटको व्यवस्था गरी काम थाल्न आग्रह गरेका हुन् ।

उनले बाढी गएको लामो समयसम्म पनि पुनर्निर्माण र राहतका लागि सङ्घीय सरकारको उपस्थिति नभएको भन्दै आवश्यक बजेटको व्यवस्था गरेर राजमार्ग पुनर्निर्माण गर्न माग गरे ।

उनले भने, ‘असोजमा गएको बाढीबाट क्षतिग्रस्त भएको वीपी राजमार्ग पुनर्निर्माण र पीडितलाई राहत दिने काममा सङ्घीय सरकारको उपस्थिति देखिएन । वीपी राजमार्गको पुनर्निर्माण नै सुरु भएन । त्यतिमात्र होइन, त्यहाँ चलेका अवैध क्रसरका कारण रोशीमा पानी भन्दा बढी लेदो बग्छ ।’ उनले सभामुखमार्फत अवैध क्रसरमा रोक लगाइदिन रुलिङको माग गरे ।

उनले भने, ‘वीपी राजमार्गको पुनर्निर्माणमा १० अर्ब बजेट लाग्ने अनुमान छ तर ५० करोड रकम विनियोजन गरेर अस्थायी रूपमा पुनर्निर्माण गर्न सकिन्छ । त्यसो गरियो भने दशौँ हजार गाडी आवतजावत गर्न सक्छन् ।’

मन्त्री भण्डारी द्वारा नवलपरासी स्थित औद्योगिक गतिविधिहरूको अवलोकन

काठ्माण्डौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केहि विषेश परियोजनाहरूको उद्घाटन गरेका छन् ।

आज उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन् । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रा.लि. मा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै स्वच्छ र नविकरणीय ऊर्जाको प्रवद्र्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको बताए ।

यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने बताए ।

मन्त्री भण्डारीले सम्बृद्धि स्टिल प्याक्ट्रीको अवलोकन गरे । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जना सम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्री को अवलोकन गर्दै औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरे । छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योग सम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवघता व्यक्त गरे । उद्योगमैत्री नीति बनाउने बताउदै उनले आगामी वजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे।

यसैगरी उनले लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गरेका छन् । उनले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए । उनले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे ।

महिला टी–ट्वान्टी श्रृङ्खला : नेपालले थाइल्याण्डलाई दियो ८२ रनको लक्ष्य

काठमाडौँ । महिला टी–ट्वान्टी श्रृङ्खलाको अन्तिम खेलमा नेपालले थाइल्याण्डलाई जितका लागि ८२ रनको लक्ष्य दिएको छ । 

कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितरे पहिला ब्याटिङ रोजेकी हुन् । नेपालले निर्धाति २० ओभरमा सात विकेट गुमाएर ८१ रन बनायो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, राजमती ऐरीले अविजित ११ तथा कप्तान इन्दु बर्माले १० रन बनाइन् । 

बलिङतर्फ थाइल्याण्डकी ओनिचा कामचोम्फुले तीन तथा चानिदा सुत्थीरुआंग, नाट्टाया बुचाथम र सुलेपोर्न लाओमीले समान एक एक विकेट लिइन् । थाइल्याण्डले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । 

नेपाल यसअघि खेलेका पााचवटै खेलमा पराजित भएको छ । यसअघि नेपाल नेदरल्याण्डससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग चार विकेट र पाँच रनले पराजित भएको थियो ।

थाइल्याण्ड भने यसअघि खेलेका पाँच खेलमध्ये चारमा जित निकाल्दै अङ्क तालिकाको शीर्ष स्थानमा छ । यसअघि थाइल्याण्डले नेदरल्याण्ड्सलाई आठ विकेट र १७ रनले हराएको थियो । यस्तै थाइल्याण्ड पछिल्लो खेलमा भने नेदरल्याण्ड्ससँग एक विकेटले पराजित भएको थियो ।

आज नेपाली टोलीमा कप्तान इन्दु बर्मासहित बिन्दु रावल, सम्झना खड्का, एलिशाकुमारी यादव, पुजा महतो, रुविना क्षेत्री, कविता जोशी, राजमती ऐरी, मनिषा उपाध्याय, सिता राना मगर र रचना चौधरी छन् । राजमतीले प्रतियोगितामा आजको खेलबाट डेब्यू गरेकी हुन् ।

विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसदका अध्यक्षलाई पत्र

काठमाडौँ । सभामुख देवराज घिमिरेले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको शिघ्र रिहाइका लागि अरब संसदका अध्यक्ष महामहिम मोहम्मद अहमद अल–यमाहीलाई पत्र लेखेका छन् ।

सभामुख घिमिरेले शुक्रबार अरब संसदका अध्यक्षलाई पत्र लेख्दै विपिनको शिघ्र रिहाइका लागि विशेष पहल गरिदिन अनुरोध गरेका हुन् ।

सभामुखले पत्रमा भनेका छन्, ‘नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धलाई ध्यानमा राख्दै म तपाईंलाई अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्दी बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको यथाशीघ्र रिहाइका लागि पहल र सहयोगका लागि अनुरोध गर्दछु ।’

पत्रमा सभामुख घिमिरेले नेपाल र अरब लिगबीचको सौहार्दपूर्ण सम्बन्धको स्मरण गर्दै विपिन जोशीलाई सकुशल स्वदेश फर्काउन अरब लिगले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

हमासले २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि जोशीलाई बन्दी बनाएको थियो । जोशीको रिहाइका लागि सरकारले कूटनीतिक पहल गरिरहेको छ ।

सभामुख घिमिरेले नेपाल सार्क, बिमस्टेकजस्ता क्षेत्रीय तथा उपक्षेत्रीय संरचनाहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको स्मरण गराउँदै नेपाल र अरब लिगबीच थप सहकार्यको आवश्यकमा जोड दिएका छन् ।

बिहीबार राति परराष्ट्रमन्त्री डा. आरजु राणाले पनि इरानी विदेशमन्त्रीलाई टेलिफोन गरी विपिनको रिहाइका लागि पहल गर्न आग्रह गरेकी थिइन् ।

जवाफमा इरानी विदेशमन्त्रीले आफूले यसबारेमा हमासका प्रतिनिधिसँग कुरा गर्ने बताएका छन् । विपिनको रिहाइका लागि सरकारले कुटनीतिक पहल गरिरहे पनि उनको रिहाइ भने भएको छैन ।

स्वर्गद्वारी गुठी पीडितको माग सम्बोधन गर्न सरकारसँग सांसदहरुको माग 

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा सांसदहरुले स्वर्गद्वारी गुठी पीडितका जायज माग सम्बोधन गर्न संसद्मार्फत् सरकारको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबारको बैठकको आकस्मिक समयमा सांसद रेखा शर्माले गुठीसम्बन्धी कानुन बन्न नसक्दा नागरिक  समस्यामा परेका उल्लेख गर्दै माइतीघरमा आन्दोलनरत स्वर्गद्वारी गुठी पीडितका माग सम्बोधन गर्न सरकारसँग माग गरिन् ।

सांसद अशोककुमार चौधरीलेले स्वर्गद्वारी गुठीका मोही किसानका माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराए  । 

सांसद मेटमणी चौधरीले एक हप्ता भइसक्दा पनि गुठी पीडितका कुरा सरकारले नसुनेको र आन्दोलनरत पीडित बिरामी पर्न थालेको बताए ।

सांसद नागिना यादवले काठमाडौँ महानगरपालिकाले कवाडी व्यवसायीलाई अनावश्यक दुःख दिएको आरोप लगाइन् । कानुन बमोजिम दर्ता भएका व्यवसायीको जीउधनको सुरक्षाको समेत उनले माग गरिन् ।

सांसद छविलाल विश्वकर्मा र प्रभु साहले भारतमा चलिरहेको महाकुम्भ मेलामा भागदौडमा परि केही नेपाली नागरिकले ज्यान गुमाएका तथा हराइरहेको विषयमा सरकारले सोधखोज गर्नुपर्ने बताए । 

सांसद अम्मरबहादुर रायमाझीले यही माघ २४ गते कमलपोखरीस्थित सानदार मःमः हाउसमा आगलागी हुँदा ११ कामदार घाइते भएको उल्लेख गर्दै उक्त घटनाको अनुसन्धान र घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरे । 

रवि लामिछानेको निलम्बन फुकुवा गर्न रास्वपाका कार्यबाहक सभापति अर्यालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यबाहक सभापति डीपी अर्यालले पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले प्रतिशोध साँधेको आरोप लगाएका छन् ।

शुक्रबारको प्रतिनिधिसभा बैठकमा अर्यालले सरकारले पार्टी सभापतिमाथि प्रतिशोध साँधेकोमा सार्वभौम संसदले त्यसलाई समर्थन जनाएको आफूहरुलाई महसुस भएको बताएका हुन् ।

उनले भने,‘रास्पपा सभापति रवि लामिछानेमाथि सरकारले त प्रतिशोध त साँध्यो साँध्यो, तर सार्वभौम संसदले सरकारको रवैयालाई समर्थन गरेको महसुस भइरहेको छ । संसदले त्यस्तो नगरोस् । चौथो ठूलो दलको सभापतिमाथि सरकारले गरेका प्रतिशोधको मूल्य चुकाउनुपर्नेछ ।’

उनले थुनामा नरहेको अवस्थामा सांसद पद निलम्बन नहुने भएकाले उहाँको निलम्बन फुकुवा गर्न सभामुखलाई आग्रह गरेका छन् ।

चलचित्र विकास बोर्डले मधेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने

काठमाडौँ । चलचित्र विकास बोर्डले मधेश प्रदेशमा पटकथा लेखन तालिम सञ्चालन गर्ने भएको छ । आगामी फागुन १३ देखि १५ गतेसम्म प्रदेश राजधानी जनकपुरमा सञ्चालन हुने सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका २० जना युवाको सहभागिता रहनेछ ।

समावेशी सिद्धान्तका आधारमा मधेश प्रदेशका आठ जिल्लाबाट प्रशिक्षार्थी छनोटका लागि बोर्डले बिहीबार सात दिनको म्याद दिई आवेदन आह्वान गरेको छ । आवेदन फाराम बोर्डको ‘वेबसाइट’ www.flim.gov.np बाट ‘डाउनलोड’ गरी ‘इमेल’ ठेगाना [email protected] मा पठाउन सकिनेछ ।

युवा चलचित्रकर्मीहरूलाई पटकथा लेखनसम्बन्धी सैद्धान्तिक एवं व्यावहारिक ज्ञान तथा सीप प्रदान गरी मधेशको मौलिक एवं यथार्थपरक कथा उजागर गर्न तालिम सञ्चालन गर्न लागिएको बोर्डका अध्यक्ष दिनेश डिसीले जानकारी दिए ।

उनका अनुसार मधेशको चलचित्रकर्मलाई राष्ट्रिय मूलधारसँग जोड्ने, मातृभाषा चलचित्रको प्रवर्द्धन तथा चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धि गर्ने लक्ष्यसहित बोर्डले मधेशमा विशेष अभियान सञ्चालनको तयारी गरेको छ । यसै अभियानअन्तर्गत पटकथा लेखन ताालिम सञ्चालन गर्न लागिएको अध्यक्ष डिसीले बताए ।

तालिम संयोजक एवं बोर्ड सदस्य केएल बुढाथोकीले तालिमका क्रममा प्रशिक्षार्थीबाट तयार पारिएका उत्कृष्ट पाँच पटकथालाई बोर्डका माध्ययमबाट प्रस्तुतीकरणका लागि पहल गर्ने बताए । 

झापामा युवतीसँग होटलमा बसेका युवकको मृत्यु भएपछि दुईजना पक्राउ

झापा । झापाको एक होटलमा युवा मृत फेला परेका छन् । बिर्तामोडस्थित एभरेष्ट होटल एण्ड लजमा बसेका हल्दिबारी गाउँपालिका–१ गोलधाप घर भएका ३० वर्षीय सागर बेस्रा मृत भेटिएका हुन् ।

घटनामा युवकसँगै बसेकी सुनसरीको धरान उपमहानगरपालिका–१५ की २३ वर्षीया मुना विक र होटल सञ्चालक बिर्तामोड–५ की ४८ वर्षीया यामकुमारी उप्रेतीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । गएराति खाना खाएर उनीहरु सँगै सुतेका थिए ।

मुनाले प्रहरीमा दिएको बयानअनुसार सागर राति कोठाभित्र बाथरुमको ढोकाको छेउमा लडेर बेहोस भएका थिए । त्यसपछि उनलाई युवती र होटल सञ्चालक महिलाले उपचारका लागि अस्पताल पुर्याएका थिए ।

चिकित्सकले जाँच गर्दा उनको पहिल्यै मृत्यु भइसकेको पाइएको प्रहरीले जनाएको छ । युवती र होटल सञ्चालकको बयानमा शङ्का लागेकोले नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सन् २०२५ मा माल्दिभ्सले २३ लाख पर्यटक भित्राउने

कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले सन् २०२५ मा माल्दिभ्समा २३ लाख पर्यटक भित्र्याउने लक्ष्य सरकारले लिएको बताएका छन् । उनले लक्ष्य हासिल गर्न व्यापकरूपमा काम भइरहेको बताए ।

सन् २०२५ का लागि माल्दिभ्सको एकसदनीय विधायिका निकाय ‘पिपुल्स मजलिस’को पहिलो अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै मुइज्जुले सन् २०२४ माल्दिभ्सले पहिलो पटक २० लाख पर्यटक भित्राएको र सन् २०२३ को तुलनामा पर्यटकको सङ्ख्यामा ९ प्रतिशतले वृद्धि भएको बताए । सन् २०२४ मालदिभ्सका लागि पर्यटनका हिसावले ऐतिहासिक वर्ष भएको र सन् २०२५ मा यसलाई व्यापकता दिइने बताए ।

सन् २०२५ को पर्यटन लक्ष्य पूरा गर्न सरकारले लगानी प्रोत्साहन र अन्य लाभहरू प्रदान गरेर पहिले पर्यटक पुर्याउन नसकिएका टापूमा रिसोर्टहरू बनाउने र तिनलाई सुन्दर पर्यटकीय आकर्षण बनाउने बताए ।

पर्यटक आगमन बढाउन सरकारले राष्ट्रिय वायुसेवा निगमको अन्तर्राष्ट्रिय रुटलाई थप गन्तव्यमा विस्तार गर्न लागेको उनले बताए ।

राष्ट्रपति मुइज्जुले पर्यटक आकर्षणका लागि यसै अक्टोबरमा थप वाइडबडी विमान खरिद गरिने र माल्दिभ्सबाट युरोपेली गन्तव्यमा सिधा उडान गरी युरोपेली पाहुनाको आवागमनलाई सहज बनाइने पनि बताए ।

कालीकोटमा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

कालीकोट । कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

नरहरिनाथ–८ लालु गाउँबाट फर्किने क्रममा बिहीबार राति कर्णाली प्रदेश ००१ क ०८२० नम्बरको ट्रक दुर्घटना हुँदा नरहरिनाथ–५ रुप्साका ४५ वर्षीय गङ्ग देउवाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । 

घाइते देउवालाई प्रहरीले भीरबाट निकालेर उपचारका लागि सदरमुकाम मान्म लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो । ट्रक चालक हाम फालेर बाँच्न सफल भएका छन् ।

सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली  बजारमा सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला एक लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै, चाँदीको मूल्य प्रतितोला  पाँच रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९८५ रुपैयाँमा किनबेच हुनेछ ।

दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता

वासिङटन । अमेरिकाको उत्तरपश्चिमी राज्य अलास्कामा बिहीबार १० जना यात्रु बोकेको एउटा सानो व्यावसायिक विमान बेपत्ता भएको छ । विमान दुर्घटना भएको आशङ्का गरिएको छ ।

अलास्का राज्य प्रहरीका अनुसार नौ जना यात्रु र एक जना पाइलट सवार बेरिंग एयर क्याराभान अलास्काको स्थानीय समय अनुसार अपराह्न ४ बजे उनालाक्लिटबाट नोमतर्फ उडेको विमान वेपत्ता भएको हो ।

यी दुई शहरहरू नोर्टन साउण्डमा एक अर्काबाट लगभग १४६ माइल (२३५ किलोमिटर) को दूरीमा अवस्थित छन्।

खोजी तथा उद्धारकर्मीहरूले विमानको अन्तिम जानकारी प्राप्त गर्न काम गरिरहेको अधिकारीहरूले विज्ञप्तिमा बताएका छन्।

हराएको यो विमान संयुक्त राज्य अमेरिकामा हालै भएको उड्डयन विपत्तिको पछिल्लो घटना हो।

गत जनवरी ३० मा राजधानी वासिङ्टनमा अमेरिकी सेनाको हेलिकप्टरसँग यात्रुबाहक विमान ठोक्किँदा विमानमा सवार सबै ६७ यात्रुको मृत्यु भएको थियो ।

फिलाडेल्फियाको व्यस्त इलाकामा अर्को एक मेडिकल विमान दुर्घटना हुँदा सात जनाको मृत्यु हुनुका साथै १९ जना घाइते भएका थिए।

अमेरिकी सांसदहरूद्वारा सरकारी उपकरणहरूमा डिपसिक प्रतिबन्ध गर्न विधेयक पेश

वासिङ्टन । अमेरिकी सांसदहरूले बिहीबार चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स प्रोग्राम डिपसिकलाई प्रयोगकर्ताको डाटा सुरक्षाको चिन्तालाई लिएर सरकारी उपकरणहरूमा प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक पेस गरेका छन् ।

न्युजर्सीका डेमोक्रेटिक प्रतिनिधि जोश गोट्टहाइमरले इलिनोइसका रिपब्लिकन डारिन लाहुडसँग मिलेर यो विधेयक पेश गरेको हो । विधेकमा ‘अमेरिकी राष्ट्रिय सुरक्षामा खतरनाक खतरा’ को उल्लेख गर्दै डिपसिक र चिनियाँ सरकारबीच ‘प्रत्यक्ष सम्बन्ध’ को चेतावनी दिइएको छ ।

यो विधेयक अमेरिकी साइबर सुरक्षा कम्पनी फेरुट सेक्युरिटीको बुधबारको प्रतिवेदन पछि आएको हो । प्रतिवेदनले एआई मोडेलमा प्रयोगकर्ता डाटा राज्य–स्वामित्वको दूरसञ्चार कम्पनी चाइना मोबाइलमा पठाउन सक्ने लुकेको कोड भेटिएको बताएको थियो ।

चिनियाँ स्टार्टअप डिपसिकले गत महिना कम लागतको, उच्च गुणस्तरको च्याटबट लन्च गरेर विश्वव्यापी एआई उद्योगलाई चकित पारेको थियो । यसले प्रविधि विकासका लागि चलिरहेको प्रतिस्पर्धामा संयुक्त राज्य अमेरिका र अन्य देशहरूको अग्रतालाई हल्लाएको थियो ।

“चिनियाँ कम्युनिस्ट पार्टी (सिसिपी) ले हाम्रो राष्ट्रिय सुरक्षालाई कमजोर पार्न, हानिकारक दुष्प्रचार फैलाउन र अमेरिकीहरूको डाटा सङ्कलन गर्न आफ्नो पहुँचमा भएको कुनै पनि साधनको दुरुपयोग गर्ने कुरा प्रष्ट पारेको छ”, गोट्टहाइमरले एक वक्तव्यमा भने ।

डिपसिकलाई ‘सिसिपी–सम्बद्ध कम्पनी’ भन्दै लाहुडले भने, “कुनै पनि परिस्थितिमा यसलाई संवेदनशील सरकारी वा व्यक्तिगत डाटा प्राप्त गर्न अनुमति दिन सकिँदैन ।”

दक्षिण कोरियाली मन्त्रालय र प्रहरीले डिपसिकको कम्प्युटरमा पहुँच रोकेको भन्दै कम्पनीले प्रयोगकर्ताको जानकारी कसरी व्यवस्थापन गर्ने भन्ने बारे डाटा वाचडग अनुरोधको जवाफ नदिएपछि प्रतिनिधि सभामा यो विधेयक आएको हो ।

अस्ट्रेलियाले पनि सुरक्षा एजेन्सीहरूको सल्लाहमा सबै सरकारी उपकरणहरूबाट डिपसिकलाई प्रतिबन्ध लगाएको छ भने फ्रान्स र इटालीले डिपसिकको डाटा अभ्यासको बारेमा चिन्ता व्यक्त गरेका छन् । 

रुबियोले फेब्रुअरीको मध्यमा इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पको टिप्पणीको पृष्ठभूमिमा यस महिना मध्यपूर्वको आफ्नो पहिलो भ्रमण गर्ने विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

रुबियोले म्युनिख सुरक्षा सम्मेलनमा भाग लिने र त्यसपछि फेब्रुअरी १३–१८ सम्म इजरायल, संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबको भ्रमण गर्ने अधिकारीले बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको भेटपछि ट्रम्पले युद्धग्रस्त गाजा पट्टीमा अमेरिकी सेना पठाउने र त्यहाँका २० लाख मानिसलाई हटाउने सुझाव दिँदा मंगलबार विश्वका धेरै जसोलाई आश्चर्यचकित पारेका थिए ।

रुबियोले पछि ट्रम्पले हमासको अभूतपूर्व आक्रमणको प्रतिक्रियामा इजरायलको अथक आक्रमणपछि संयुक्त राज्य अमेरिकाले क्षेत्रको पुनर्निर्माणलाई आर्थिक सहयोग गर्दा अस्थायी स्थानान्तरणको कुरा गरिरहेको बताए।

डोमिनिकन गणतन्त्रको भ्रमणमा बिहीबारको सुरुमा बोल्दै रुबियोले ट्रम्पले गाजालाई समर्थन गर्न ‘आर्थिक र प्राविधिक क्षमता दुवै भएका’ खाडी अरब राष्ट्रहरूतर्फ सङ्केत गरिएका देशहरूबाट खोजिरहेको सुझाव दिए ।

“मलाई लाग्छ राष्ट्रपति ट्रम्पले गएर त्यो समाधानको हिस्सा बन्ने प्रस्ताव राख्नुभएको छ र यदि कुनै अन्य देश अगाडि बढ्न र आफैँ गर्न इच्छुक छ भने, त्यो राम्रो हुनेछ”, रुबियोले भने, “तर कसैले पनि त्यो गर्न हतार गरिरहेको देखिँदैन र त्यो हुनैपर्छ ।”

रुबियोले जारी राख्ने गाजाको भविष्यका बारेमा ट्रम्पले कुराकानी सुरु गरेको विदेश विभागका वरिष्ठ अधिकारीले बताए । “तपाईँले यसका बारेमा गम्भीरतापूर्वक कुरा गर्नुपर्छ”, अधिकारीले भने ।

अर्थतन्त्र लयमा ल्याउन अध्यादेशः उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले काम गर्नेहरूलाई हावादारी गफ गर्नेहरूसँग तुलना गर्न नमिल्ने बताएका छन् ।

शुक्रबार आफ्नै निर्वाचन क्षेत्र काठमाडौं १ अन्तर्गत पर्ने काठमाडौं महानगरपालिका वडा नम्बर २९ को वडा भवन उदघटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘संविधान जारी गरेको कुरा यो केही होइन भनेर भन्छन् । के गर्दा ठुलो कुरा हुने यहाँ ? काम गर्नुहरूलाई त्यसै हावादारी गफ गर्नेहरूसँग तुलना गरेर हुन्छ ?’ उनले भने, ‘तपाईं हामीले होहल्ला गर्ने पछाडिको नियत के हो ? त्यो पनि बुझ्नुपर्याे नि । होहल्ला गर्नेको पृष्ठभूमि कसैले नबुझ्ने । विदेशमा कति हजार डलर कमाइरहेको छोडेर आको भनेर भन्छन् । छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? त्यो पनि बुझ्नुपर्याे नि ।’

उपप्रधानमन्त्री सिंहले राजनीति गर्न चरित्र नचाहिने हो भन्दै प्रश्न पनि गरे । उनले राजनीतिमा लागेर सेवा गर्ने र ठगी खानेहरूको ठण्डा दिमागले लेखाजोखा गर्न पनि आग्रह गरे ।

त्यस्तै उनले नागरिकको सरकार स्थीर होस् भन्ने चाहनाअनुसार कांग्रेस एमाले मिलेर सरकार बनेको र अर्थतन्त्र चलायमान बनाउँदै लयमा ल्याउनका लागि अध्यादेश ल्याइएको पनि प्रष्ट पारे ।

त्यस्तै, फरक सन्दर्भमा उनले सार्वजनिक जग्गा जनताको लागि हुनुपर्ने र स्थानीयले उपभोग गर्न पाउनुपर्ने बताए । सरकारले त्यसका लागि काम गरिरहेको भन्दै नागरिकतहबाट सरकारलाई साथ दिन पनि सिंहले आग्रह गरे ।

हामी कहाँ चुक्यौं ? यो प्रश्न आफैंलाई पटक-पटक सोध्नुपर्छ

डा. युवराज संग्रौला ।
हरेक स्वतन्त्र देशको आफनो राज्य प्रणाली हुन्छ । यो राज्य प्रणालीले सेवा गर्ने नागरिक हुन्छन् । र, नागरिक बस्ने जमिन हुन्छ जसलाई देश भनिन्छ । यो देशका नागरिकको राज्यले आफ्नै स्वाधीन निर्णयबाट आफ्नो देशको सुरक्षा, नागरिकको समृद्धि र आफ्नो मौलिकता जोगायो भने त्यो देशलाई स्वतन्त्र राज्य–राष्ट्र ( पश्चिमी राजनीतिक दर्शनमा रास्ट्र राज्य) भनिन्छ। यो सोझो दर्शनको पानसबाट हामी कहाँ चुक्यौं ? हामीले यो प्रश्न आफैंलाई पटक पटक सोध्नुपर्छ।

१. विगत ६ महिनामा मैले देशका विभिन्न जिल्लाका बस्तीमा पुगेर नागरिकहरुसँग कुरा गरें र हेरें । जंगलमाथि अतिक्रमण भएको छ । जमिन बाटो र घडेरीका नाममा डोजरबाट रक्ताम्मे भएको छ। बाटाहरु बाढी र पहिरोले क्षतविक्षत भएका छन् । बाटोको धुलोले फलफुलका बोटबिरुवा धुस्रा भएका छन् । पानीका मुहानहरु सुकेका छन् । जंगलमा रुखहरु मरेका छन् । प्रकृति ध्वस्त भएको छ । अर्थात् राज्य प्रणालीले नागरिकको सेवा गर्न छोडेको छ।

२. ठाउँठाँउमा बजार बढेका छन् । त्यहाँ पिउने सेवा दिने रेस्टुरेन्ट कति छन् कति ! ट्रकहरुले बियर र रक्सी लान्छन् । जताततै बोतलका पहाड खडा भएका छन् । तर उताबाट ट्रक रितै फर्कन्छन् । उता गाउँगाउँमा ट्याक्टरले रुखका मुढा बाटामा ल्याएर खसाल्छन् । यी मुढा कौडिका दाममा भारत जान्छन् प्लाइउडका लागि । तर घर खेती बाँझा छन् । उत्पादन छैन । थोरै उद्यमीले गरेको उत्पादन बिक्दैन, बजारमा सबै भारतीय र चिनियाँ माल छन् । बारीमा बाँदरले बाली सखाप पार्छन् । बाँदरको प्रकोप रोक्न प्रान्तका मन्त्री र मेयरहरु विदेश भ्रमणमा जाँदारहेछन् । सबै पार्टी मिलेर जाने मान्छे छान्दा रहेछन् । यता नेपालीले पाउने कृषि अनुदान खाने बाँदर दलहरुमा हुँदा रहेछन् । अनुदान जति मिलाएर पार्टीका कार्यकर्ताले लाँदारहेछन् । किसानका वस्तुमा बिचौलिया जातका बाँदर लागेका रहेछन् । दलतन्त्रको शासनमा मानिस राज्यप्रणाली होइन बाँ दरको राज्य चल्दो रहेछ। जंगलमा डोजर, बारीमा बाँदर, छोराछोरी अष्ट्रेलियामा, राजनीतिक दलमा बाँदर र बजारमा पनि बाँदर ।

३. जताततै ठुलठुला गेट । पहरा र गुफामा ढलानका खुट्किला र फलामका रेलिङ्ग र बीच बीचमा सेल्फी हान्ने प्रेमको चिन्ह । ग्रेटवाल, सिमेन्टका जनावारका मूर्ति । तर स्वास्थ चौकी बन्द।

४. मालपोत ब्यस्त छ ओइलानी दर्ता गर्न । नगरपालिका ब्यस्त छ विदेशबाट ५,००० विरुवा ल्याएर एक एक थान किसानलाई बाँड्न । बिल भौचर छन् अतः लेखा परीक्षण राम्रो भएको छ। कतै उद्योग छैनन् । उत्पादन छैन । रैथाने गाइभैंसी बाख्रा भेडा केही छैनन् ।

५. जताततै पर्यटनको नाम सुनिन्छ । स्थानीय सरकार उत्पादन होइन पर्यटनका लागि काम गर्छ। जहाँ थुम्को छ त्यहाँ टावर बनाउँछ । जहाँ गुफा छ त्यहाँ डोजरले खनेर बाटो पुर्यांउँछ । आम्दानी केही छैन, कर पनि उठ्दैन ।

हाम्रो विकासको ढाँचा हो यो । अझ गम्भीर समस्या छन् ।

१. विदेशी सहायताको दुब्र्यसनबाट इबोला सल्केका मान्छेहरु विदेशी सहयोग लिन्छन् । शिक्षामा मात्र २०० मिलियन डलर (६० मिलियन चैं अमेरि काको मात्रै जो अहिले रोकिएछ) आएछ । तर यो वर्ष १ लाख पन्ध्र हजार विद्यार्थी विदेश गए। कृषिमा अमेरिकाको मात्रै २५ मिलियन डलर रहेछ । तर बारी सबै बाँझा छन् । २ खर्ब जतिको त खाद्यान्न भारतबाट आएछ। एक लाखका बाख्रा बाँड्ने एनजिओले २३ लाख खर्च गरेछ। पश्चिमी सहयोगको अनुदान पाउने ३०० जति कम्युनिष्ट एनजिओ रहेछन् । बाख्रालाई थुम्बा लगाएपछि के पाठा जन्मिन्थे त ! एनजिओहरु गाउँगाउँमा महिला, पुरुष, राइ लिम्बू, बाहुन, क्षेत्री सबै बेग्लै जातका नस्ल हुन् भन्दा रहेछन् । अतः कोही छिमेकी छैनन् अब खाली विरोधी मात्रै ।

२. हाम्रो ऋण २६ खर्ब जति पुगेछ ।

३. हाम्रो आम्दानीको ९४% प्रतिशत उपभोगमा सकिँदोरहेछ ।

४. उद्योगहरु सकिन थालेछन् किनकि ती सबै संसदमा पुगेछन् ।

५. सडकमा घृणाको संस्कृति मौलाएको छ । राजनीति चटक बनेको छ। राजनीति चटक बनेछ ।
हाम्रो ७० वर्ष त ‘गोरुलाई गाई मानेर सकिएछ।’ गोरु ब्याएन किनकी गोरु ब्याउँदैन।

किन भयो यस्तो ? किनकी राजनीति र व्यापारको विवाह भयो र ‘उनीहरुबाट भ्रष्टाचार नामको सन्तान जन्मियो।’ त्यो सन्तान विदेशीले पालेर दुब्र्यसनी बनाइदिए । यो दुव्र्यसनले ती बेहुला बेहुलीलाई लट्ठ बनायो । तब बारी, घर, मन्दिर, स्कुल सबै ठाउँमा बाँदर पसे । त्यसैले जंगलमा चिउरी रोपेर बाँदर जंगल पठाउँ । अर्था्त कालो चस्मा लगाएर होइन दुर्बिन लिएर हेरौं ।

कैलालीमा आमा-छोरी झुण्डिएको अवस्थामा मृत फेला

धनगढी । कैलालीको गोदावरीमा आमा छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा आमा छोरी झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्रसिंह बोहराले आमा २३ वर्षीया मीरा कामी र उनकी दुई वर्षकी छोरी प्रिन्सी आफ्नै कोठामा झुण्डिएको अवस्थामा बिहीबार साँझ फेला परेका जानकारी दिए । मीराका श्रीमान् र ससुरा रोजगारीका क्रममा भारतमा रहेको बताइएको छ ।

विपिन जोशीको रिहाइका लागि सहयोग गर्न इरानका विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको टेलिफोन वार्ता

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले हमासको नियन्त्रणमा रहेका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको रिहाइका लागि इरानका विदेश मन्त्री सैयद अब्बास अरघचीसँग टेलिफोन कुराकानी गरेकी छन् ।

बिहीबार अबेर राति परराष्ट्रमन्त्री राणाले विपिनको रिहाइका लागि पहल गरिदिन इरानका विदेश मन्त्री सैयदसँग टेलिफोनमा कुराकानी गरेको बताएकी छन् ।

त्यसक्रममा इरानका विदेश मन्त्री सैयदले हमासको आगामी बैठकमा विपिनको रिहाइका विषयमा छलफल गर्ने प्रतिवद्धता जनाएको मन्त्री राणाले जनाएकी छन् । मन्त्री राणाले सकारात्मक पहल र प्रतिवद्धताका लागि इरानका विदेश मन्त्रीलाई धन्यवाद दिएकी छन् ।

विपिनलाई हमासले सन् २०२३ अक्टोबर ७ मा इजरायलको अलमिम किवुजबाट बन्धक बनाई गाजा क्षेत्र लगेको थियो । त्यसमध्ये दुई पटक भएको युद्धविराममा १ सय ५ जना रिहा भइसकेका छन् भने ८ जनालाई इजराइली सेनाले उद्धार गरेको थियो ।

बन्धकमध्ये ३४ जनाको शव गाजा क्षेत्रमा भेटिइसकेको छ । इजरायलका अनुसार विपिनसहित ९६ जना अझै हमासको नियन्त्रणमा छन् । उनीहरुको रिहाइका लागि पहल भइरहेको बताइएको छ ।

डडेल्धुरा अर्जुन ट्रफीको सेमिफाइनलमा

कैलाली । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत घोडाघोडी–११ सुखडले फ्रेन्ड्स युथ क्लब डडेल्धुरालाई एक विकेटले पराजित गरेको छ ।

समूह ‘ए’ को लिग चरणको अन्तिम खेलमा सुखडसँग पराजित भए पनि डडेल्धुरा  अङ्कतालिकाको शीर्षस्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको हो । तीन खेल खेलेको डडेल्धुराको दुईमा जितका साथ चार अङ्क छ । समान तीन खेलबाट चार अङ्क जोडेको डिसिए धनगढी रनरेटको आधारमा पछि छ ।

प्रतियोगिताबाट बाहिरिसकेको सुखडले बिहीबार सान्त्वना जित निकाल्यो । डडेल्धुराले जितका लागि दिएको १२५ रनको लक्ष्य सुखडले १९.४ ओभरमा नौ विकेटको क्षतिमा भेट्टायो ।

जसमा  आयुव चन्दले ३३, योगेश भाटले २० तथा कप्तान शेर मल्ल र टेक रावतले २०/२० रनको योगदान दिए । बलिङतर्फ डडेल्धुराका हेमन्त धामीले तीन, अभिषेश गौतमले दुई तथा कुशल भुर्तेल, गजेन्द्र बोहरा र कैलाश ऐरले एक/एक विकेट लिए ।

यसअघि फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको डडेल्धुराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १२४ रन बनायो । उसका लागि विनोद भण्डारीले अर्धशतकीय पारि खेल्दै ५६ रन जोडे ।

यस्तै, कुशल भुर्तेलले १३, आयुशमान बमले ११ र गजेन्द्र बोहराले १० रन बनाए । बलिङतर्फ सुखडका लागि ‘म्यान अफ दी म्याच’ समेत भएका नरेन साउदले चार विकेट लिए ।

अर्जुन खड्काको सम्झनामा आयोजना गरिएको प्रतियोगिताको विजेताले रु १० लाख र उपविजेताले रु पाँच लाखसहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई रु एक लाख तथा उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदीयमान खेलाडीले जनही रु ५०/५० हजार पाउनेछन् ।

सुपर माछा खोला जलविद्युत् आयोजनाका लागि ऋण लगानी सम्झौतामा हस्ताक्षर

काठमाडौँ । गोरखाको धार्चे गाउँपालिका–४ लाप्राकमा निर्माण हुने ४ दशमलव ६ मेगावाट क्षमताको सुपर माछा खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वाणिज्य बैङ्कले ऋण लगानी गर्ने भएको छ ।

बिहीबार आयोजित कार्यक्रममा बुढीगण्डकी हाइड्रोपावर प्रालिका अध्यक्ष खगेन्द्र न्यौपाने र राष्ट्रिय वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे ।

कूल ९६ करोड ३८ लाख ३० हजार लागत अनुमान गरिएको आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपूँजी लगानी हुने कम्पनीका प्रबन्ध निर्देशक कृष्णप्रसाद घिमिरेले जानकारी दिए ।

प्रवद्र्धक कम्पनीका अनुसार वाणिज्य बैङ्कले ६७ करोड ४६ लाख ८० हजार लगानी गर्नेछ । बाँकी २८ करोड ९१ लख ५० हजार स्वपूँजी लगानी हुनेछ ।

करिब १८ महिनामा सम्पन्न गर्ने लक्ष्य लिइएको सो आयोजनाबाट वार्षिक २७ दशमलव ३७९ गिगावट आवर विद्युत् उत्पादन हुनेछ । वर्षायाममा १८ दशमलव ६२१ गिगावट आवर र हिउँदमा ८ दशमलव ७५ गिगावाट आवर बिजुली उत्पादन हुने कम्पनीले जनाएको छ ।

आयोजना र नेपाल विद्युत् प्राधिकरणबीच गत असार २१ गते विद्युत् खरिदबिक्री सम्झौता भएको थियो । आयोजनाबाट उत्पादित विद्युत् विकास हाइड्रोपावरमा स्विचिङ गरी धादिङको सल्यानटार सवस्टेसनमा जोडिने छ ।

ऋण लगानी सम्झौता पश्चात कम्पनीका अध्यक्ष न्यौपानेले नेपालको विकासका लागि जलविद्युत क्षेत्रमा लगानी बढाएर लैजानुपर्ने आवश्यकता बोध गरी आयोजना निर्माण गर्न लागिएको बताए । उनले लगानीकर्ता डुब्न नदिने र समयमै पर्याप्त प्रतिफल दिने प्रतिबद्धता व्यक्त गरे ।

वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत खनालले निजी क्षेत्रले ऊर्जा क्षेत्रमा फड्को मार्नुपर्नेमा जोड दिँदै राबा बैङ्कले सुरुवातदेखि नै जलविद्युत क्षेत्रमा लगानी गर्दै आइरहेको बताए । उनले वित्तीय अनुशासनमा रहेर निर्धारित अवधिमा आयोजना सम्पन्न गर्न कम्पनी सफल हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले मुलुकमा लागनीमैत्री वातावरण बनाउन, स्वदेशी लगानीकर्तालाई उत्साही बनाउन आफ्नो तर्फबाट सधैँ सहयोग रहने विश्वास दिलाए ।

जलविद्युत् क्षेत्रमा अनुभव हासिल गरिसकेको सो समूहले ४ दशमलव ५५ मेगावाट क्षमताको विकास हाइड्रोपावर जलविद्युत् आयोजना निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ । यसैवर्ष थप २२ मेगावाट क्षमताको जल्दीगाढ जलविद्युत् आयोजना निर्माण गर्ने कम्पनीले जनाएको छ ।

मकुना मृत्यु छानबिन गर्न सरकारद्वारा समिति गठन

काठमाडौँ । सरकारले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कुमरोजमा भएको जङ्गली हात्ती (मकुना)को मृत्यु प्रकरणमा छानबिन समिति गठन गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेलले वन मन्त्रालयका सहसचिव बुद्धिसागर पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

छानबिन समितिमा वन विभाग, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, नेपाली सेनाका एक÷एकजना प्रतिनिधि तथा चितवनका एकजना पशु चिकित्सक सदस्य रहेको महानिर्देशक कँडेलले बताए । “आज वनमन्त्रीकै उपस्थितिमा भएको बैठकले उक्त समिति गठन गरेको हो, वन्यजन्तु संरक्षणका लागि कस्ता उपाय अपनाउन सकिन्छ ? भन्ने विषयमा समेत राय सुझाव समेटेर प्रतिवेदन दिने छ”, महानिर्देशक कँडेलले भने ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार बुधबार कुमरोज सामुदायिक वनको लामिताल क्षेत्रमा हात्तीलाई ‘स्विपिङ’ गर्दै निकुञ्जतिर पठाउने क्रममा निकुञ्जका हात्ती र मानिसलाई समेत आक्रमण गर्न थालेपछि सुरक्षार्थ खटिएको नेपाली सेनाले आत्मरक्षाका लागि गोली चलाउँदा मकुनाको मृत्यु भएको जानकारी दिएको छ ।

निकुञ्जले बिहीबार सार्वजनिक गरेको विज्ञप्तिमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २१ मा भएको व्यवस्थाबमोजिम आत्मरक्षाका लागि टोलीले दुई राउन्ड ‘वार्निङ’ (चेतावनी) स्वरुप हवाई फायर गरिएको र भाग्नुको सट्टा थप आक्रामक बन्दै सानो हात्ती खगेन्द्रप्रसादतर्फ आउँदा त्यहाँ सवार रेन्जर श्याम तामाङ भुइँमा खसेकाले उनको सुरक्षा गर्न अत्यन्तै कठिन भएपछि गोली चलाउनु परेको उल्लेख गरेको छ ।

५४ लाख रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवन जिल्ला अदालतले मागेको धरौटी बुझाएर रिहा भएका छन् ।

चितवन जिल्ला अदालतले सहकारी ठगी कसूरमा बिहीबार ५४ लाख रुपैयाँ धरौटी मागेको थियो । उनी बैंक ग्यारेन्टी बुझाएर बिहीबार साँझ रिहा भएका हुन् । साहारा चितवन सहकारीको ठगी मुद्दामा न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश गरेको थियो ।

यसअघि कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतले पनि उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए । चितवन अदालतले पनि रवि सहकारी ठगीको कसूरमा संलग्न नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेको आदेशमा उल्लेख गरेको छ ।

पार्टीको विधि र पद्धतिबाहिर अभिव्यक्ति नदिन नेता कार्यकर्तालाई एकीकृत समाजवादीको निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीको विधि र पद्धतिबाहिर गएर सामाजिक सञ्जालमा टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । 

पार्टीका केही जिम्मेवार नेताकार्यकर्ताहरुले पार्टी अनुशासनलाई नजरअन्दाज गरेर सामाजिक सञ्जाल तथा मिडियाहरूमा जथाभावी अभिव्यक्ति दिन थालेपछि त्यस्तो निर्देशन दिइएको हो ।

जनताप्रति भ्रमसिर्जना हुनेगरी छिटफुट रुपमा काम भइरहेकाले यस्ता क्रियाकलाप रोक्न तथा पार्टीका अनुशासित र स्वाभिमानी नेता कार्यकर्ताहरुप्रति जनविश्वास कायम राख्न निर्देशन दिइएको केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले जानकारी दिए ।

पार्टी केन्द्रीय नेताहरुको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरुप्रति आफ्ना सुझाव, टिप्पणी वा फरक मतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न उनले आग्रह गरे ।

विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिने अर्जेन्टिनाको घोषणा

ब्युनस आयस । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट बाहिरिने घोषणा गरेको छ । अर्जेन्टिनाका राष्ट्रपतिका प्रवक्ता म्यानुएल एडोर्नीले निर्णयको घोषणा गरेको सिएनएनले जनाएको छ ।

“राष्ट्रपति (जेभियर) मिलेईले (विदेश मन्त्री) गेरार्डो वर्थेनलाई विश्व स्वास्थ्य सङ्गठनमा अर्जेन्टिनाको सहभागिता फिर्ता लिन निर्देशन दिनुभयो”, एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै एडोर्नीले भने, “हामी अर्जेन्टिनीहरू कुनै अन्तर्राष्ट्रिय सङ्गठनलाई हाम्रो सार्वभौमिकतामा हस्तक्षेप गर्न दिनेछैनौँ, विशेष गरी हाम्रो स्वास्थ्यमा ।”

एडोर्नीले अर्जेन्टिनाको निर्णयलाई ‘स्वास्थ्य व्यवस्थापनसम्बन्धी गहिरो मतभेदहरू, विशेष गरी महामारीको समयमा… जसले हामीलाई मानव इतिहासको सबैभन्दा लामो लकडाउन र केही राज्यहरूको राजनीतिक प्रभावको सामना गर्न स्वतन्त्रताको कमीमा पुर्‍यायो’ भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओबाट अमेरिकालाई फिर्ता लिने घोषणा गर्दै कार्यकारी आदेशमा हस्ताक्षर गरेको केही हप्तापछि यो घोषणा आएको हो ।

पछि जारी गरिएको वक्तव्यमा अर्जेन्टिनाका राष्ट्रपति कार्यालयले डब्लुएचओलाई कोभिड–१९ महामारीको समयमा ‘(अन्तहीन क्वारेन्टाइनलाई बढावा दिएर)’ आर्थिक क्षति पुर्‍याएको आरोप लगाएको छ ।

वक्तव्यमा भनिएको छ, “अन्तर्राष्ट्रिय समुदायबाट यो पुनर्विचार गर्न जरुरी छ कि किन सबैले वित्त पोषण गरेका अन्तर्राष्ट्रिय सङ्गठनहरू अस्तित्वमा छन्, जसले आफू सिर्जना गरिएका उद्देश्यहरू पूरा गर्दैनन्, अन्तर्राष्ट्रिय राजनीतिमा संलग्न हुन्छन् र सदस्य देशहरूभन्दा माथि आफूलाई थोप्न खोज्छन् ।”

डब्लुएचओले अर्जेन्टिनामा काम गर्छ । तथापि एडोर्नीले अर्जेन्टिनाले स्वास्थ्य व्यवस्थापनका लागि डब्लुएचओबाट वित्तीय सहयोग प्राप्त नगरेको बताए । उनले भने, “त्यसैले यो कदमले… देशका लागि कोषको नोक्सानी प्रतिनिधित्व गर्दैन न त सेवाहरूको गुणस्तरलाई प्रभावित गर्छ ।”

उनले डब्लुएचओबाट अर्जेन्टिनाको फिर्तीले अर्जेन्टिनाको हितमा ‘नीतिहरू कार्यान्वयन गर्न बढी लचिलोपन’ र ‘स्रोतहरूको अधिक उपलब्धता’ दिने दाबी गरे । उनले भने, “यसले स्वास्थ्य मामिलामा पनि सार्वभौमिकता भएको देशतर्फको हाम्रो मार्गलाई पुनः पुष्टि गर्दछ ।”

यसअघि जनवरीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो दिन विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट संयुक्त राज्यलाई फिर्ता लिने योजना घोषणा गरेको थियो ।

मिलेईद्वारा वैचारिक सहयोगीको रूपमा लिइएका ट्रम्पले जनवरीको कार्यकारी आदेशमा डब्लुएचओको आलोचना गर्दै ‘चीनको वुहानबाट उत्पन्न भएको कोभिड–१९ महामारी र अन्य विश्वव्यापी स्वास्थ्य सङ्कटहरूको कुव्यवस्थापन, तत्काल आवश्यक सुधारहरू अपनाउन असफल भएको र डब्लुएचओका सदस्य राष्ट्रहरूको अनुपयुक्त राजनीतिक प्रभावबाट स्वतन्त्रता प्रदर्शन गर्न नसक्नु’ विश्व स्वास्थ्य निकायबाट अमेरिकाको फिर्ताको कारणहरू थिए भनेको थियो ।

डब्लुएचओले संयुक्त राज्य अमेरिकाको विश्वव्यापी स्वास्थ्य एजेन्सीबाट बाहिरिने घोषणामा खेद व्यक्त गरेको छ र अमेरिकीहरूसहित विश्वभरिका मानिसहरूको स्वास्थ्य र सुरक्षाको रक्षामा डब्लुएचओको महत्त्वलाई जोड दिएको छ ।

यद्यपि एजेन्सीले संयुक्त राज्य अमेरिकाले आफ्नो निर्णयमा पुनर्विचार गर्ने आशा गरेको छ र विश्वभरका लाखौँ मानिसहरूको स्वास्थ्य र कल्याणका लागि अमेरिका र निकायबीचको साझेदारी कायम राख्न ‘रचनात्मक संवाद’ मा संलग्न हुन तत्पर रहेको बताएको छ ।

गाजाबाट ‘स्वैच्छिक’ प्रस्थानको योजना बनाउन इजरायली रक्षामन्त्रीको सेनालाई आदेश

जेरुसेलम । इजरायली रक्षामन्त्री इजरायल काट्जले बिहीबार सेनालाई प्यालेस्टिनीहरूलाई गाजा छोड्न दिने योजना तयार गर्न आदेश दिएको बताएका छन् ।

“मैले आइडिएफ (सेना) लाई गाजाका बासिन्दाहरूलाई स्वेच्छिक प्रस्थान गर्न सक्षम बनाउने योजना तयार गर्न निर्देशन दिएको छु”, उनले एक विज्ञप्तिमा भने ।

उनले सेनालाई ‘कुनै पनि गाजाका बासिन्दालाई स्वीकार गर्न इच्छुक कुनै पनि देशमा जान चाहने जो कोहीलाई पनि त्यसो गर्न दिने’ तयारी गर्न भनेको स्पष्ट पारे ।

“यस योजनामा भूमि नाकाहरू मार्फत बाहिरिने विकल्पहरूका साथै समुद्र र हवाई मार्गबाट प्रस्थानका लागि विशेष व्यवस्थाहरू समावेश हुनेछन्”, काट्जले भने ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘गाजा पट्टी कब्जा गर्ने’ योजना जारी गरेपछि यो टिप्पणी आएको हो । ट्रम्पको उक्त टिप्पणीले विश्व नेताहरूको आलोचना र उनको प्रशासनद्वारा ती टिप्पणीहरूलाई फिर्ता लिने प्रयासहरू निम्त्याएको थियो ।

काट्जले ‘गाजाको ठूलो जनसङ्ख्यालाई विश्वभरका विभिन्न स्थानहरूमा पुनस्र्थापित गर्न सक्ने ट्रम्पको साहसी योजनालाई’ स्वागत गरेको बताए ।

यो योजनाले छोड्न चाहने गाजावासीहरूलाई ‘आश्रयदाता देशहरूमा उत्कृष्ट रूपमा एकीकृत हुन र साथै निःशस्त्रीकृत, खतरामुक्त गाजाको पुनर्निर्माण कार्यक्रमहरूको प्रगतिलाई सहज बनाउन’ मद्दत गर्नसक्ने उनले बताए ।

इजरायलका अति दक्षिणपन्थी अर्थमन्त्री बेजलेल स्मोट्रिचले काट्जको कदमको प्रशंसा गरेका छन् ।

“आप्रवासन योजनामा हाम्रो भूमिकाको कार्यान्वयनका लागि तयारी गर्न र गाजालाई प्राप्त गर्ने देशहरूमा प्रस्थान गर्न सजिलो बनाउन (इजरायली सेना) लाई निर्देशन दिने रक्षामन्त्रीको निर्णयलाई म स्वागत गर्दछु”, स्मोट्रिचले विज्ञप्तिमा भने । 

बङ्गलादेशका प्रदर्शनकारीद्वारा अपदस्थ नेतासँग सम्बन्धित भवनहरू ध्वस्त

ढाका । विद्यार्थीहरूले पदच्युत पूर्व नेता शेख हसिनाका पिताको सङ्ग्रहालय भत्काउन सुरु गरेको केही घण्टापछि सयौँ बंगलादेशी प्रदर्शनकारीहरूले बिहीबार हसिनासँग सम्बन्धित भवनहरू भत्काएका छन् ।

हसिनाका दिवङ्गत पिता एवं बङ्गलादेशका प्रथम राष्ट्रपति शेख मुजिबुर रहमानको घर र सङ्ग्रहालयमा गत वर्ष विद्यार्थी नेतृत्वको क्रान्तिको क्रममा आगो लगाइएको थियो । उक्त क्रान्तिले हसिनाको १५ वर्षको निरङ्कुश शासनको अन्त्य गरेको थियो ।

हसिनाले अगस्ट ५ मा हेलिकोप्टरबाट पुरानो मित्रराष्ट्र भारततर्फ उडान भरेको ठिक छ महिनापछि बुधबार राति हथौडा र धातुका डन्डा बोकेको भीडले राजधानी ढाकाको भवनको पर्खालहरू भत्काउन थाल्यो ।

नरसंहारको मुद्दामा ढाकामा मुद्दाको सामना गर्न पक्राउ पुर्जीको अवज्ञा गरिहरेकी ७७ वर्षीया हसिना निर्वासनबाट फेसबुक प्रसारणमा देखा पर्ने रिपोर्टहरूको प्रतिक्रियामा विरोध प्रदर्शन भड्किएको थियो । बिहीबार बिहान बाँकी रहेको आगोले कालो पारेका पर्खालहरू भत्काउन डिगरहरू प्रयोग गरिँदै थियो ।

प्रदर्शनकारीहरूले हसिनाका दिवङ्गत पतिको ढाकाको घरमा भएको आगलागीसहित हसिनासँग सम्बन्धित देशभरका अन्य घरहरूमा पनि तोडफोड र आगो लगाइदिए ।

सबैभन्दा ठूलो बङ्गाली दैनिक प्रथम आलोले खुल्ना सहरमा हसिनाको परिवारको स्वामित्वमा रहेको भवन ध्वस्त पार्न भीडले सरकारी स्वामित्वको उत्खनन यन्त्र प्रयोग गरेको रिपोर्ट गरेको छ ।

तोडफोड गरिएका घरहरू

पश्चिमी सहर कुष्टियामा प्रदर्शनकारीहरूले हसिनाको अवामी लिग पार्टीका नेता महबुबुल आलम हनिफको घरमा तोडफोड गरेका छन् । चट्टगाँवमा प्रदर्शनकारीहरूले मसाल जुलुस निकाले र शेख मुजिबुर रहमानको भित्ते चित्र तोडफोड गरे ।

अन्तरिम सरकारले आक्रमणको लहरबारे कुनै औपचारिक टिप्पणी गरेको छैन र सुरक्षा बलहरूले प्रदर्शनकारीहरूलाई भवनहरूमा आक्रमण गर्न दिएर हेरिरहे ।

छिमेकका एक निजी सुरक्षा गार्डले परिवारहरूले भरिएका नजिकैका भवनहरूमा आगो फैलिने डरले उनले फायर सर्भिसलाई एक दर्जनभन्दा बढी पटक फोन गरेको बताए ।

“हामीले आफैँले बिजुलीको लाइन काटिदिएका छौँ”, जमाल उद्दीनले भने, “स्थिति कहिले सामान्य हुनेछ मलाई थाहा छैन ।” रहमानको पूर्व निवास नजिक बस्ने एक पसलेले अराजकताप्रति चिन्ता व्यक्त गरे । “यो तोडफोड राम्रो सङ्केत होइन”, बोलेकोमा प्रतिशोधको डरले नाम नखुलाउन अनुरोध गर्दै उनले भने ।

काठमाडौँ विश्वविद्यालयको विवाद अन्त्य नगरिए शैक्षिक गुणस्तरमा असर पर्नसक्ने

काठमाडौँ । काठमाडौँ विश्वविद्यालयभित्र देखिएका विवादलाई समाधान गर्दै संस्थागत विकास र सुशासन कायम गर्न नसकिए विश्वविद्यालयको छविमा नकारात्मक असर पर्नेबारे चिन्ता व्यक्त गरिएको छ ।

शिक्षा पत्रकार समाजले बिहीबार आयोजना गरेको अन्तरक्रियामा वक्ताहरूले विश्वस्तरीय मानकको सूचीमा पुर्याउन विश्वविद्यालयलाई अनुसन्धान र सीपमूलक शिक्षालाई जोड दिँदै समुदायसँगको सम्बन्ध सुमधुर तुल्याउनुपर्ने आवश्यक औँल्याइएका छन् ।

विश्वविद्यालयका कार्यवाहक उपकुलपति प्रा डा अच्युत वाग्लेले संस्थागत विकास र सुशासनका क्षेत्रमा केही चुनौती भए पनि आफूूले रजिष्ट्रार हुँदा सुशासन कायम गर्न सक्दो भूमिका निर्वाह गरेको बताए । उनले ३५ वर्षसम्म मानव स्रोत कसरी निर्धारण गर्ने भन्ने आधार निर्धारण नहुँदा विश्वविद्यालय र धुलिखेल अस्पतालका नेतृत्वबीचको मनमुटाव भएकाले विवाद बाहिर आएको उल्लेख गरे ।

प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको पहलमा गत यही माघ ४ गते बसेको विश्वविद्यालयको सभाले ती दुई संस्थाबीच पुनः सहकार्य जारी राख्नेसम्बन्धी सहजीकरण समितिको सुझावसहितकोे प्रतिवेदनलाई अनुमोदन गरेको थियो ।

विश्वविद्यालयको रिक्त उपकुलपति चयनका लागि संस्थापक उपकुलपति प्रा डा सुरेशराज शर्माको संयोजकत्वमा रहेको खोज तथा सिफारिस समितिले छनोटको मापदण्ड परिमार्जन गरी अनुसन्धान कार्यलाई कम अङ्कभार दिइएको तथा समितिका पदाधिकारीको नातेदार आवेदक भए पनि सिफारिसको निर्णयमा बस्न मिल्ने गराइएपछि विवाद बढेको थियो ।

सो विश्वविद्यालयका उपकुुलपति प्रा डा भोला थापाको कार्यकाल यही माघ ६ गते सकिएको थियो । कार्यकाल सकिए पनि थापालाई निरन्तरता दिन सिफारिस समितिले कुलपतिसमक्ष सिफारिस गरेको विषय पनि विवादमा आएको थियो ।

कार्यक्रममा शिक्षाविद् एवं सो विश्वविद्यालयको स्कुल अफ एजुकेसनका डिन प्रा डा बालचन्द्र लुइँटेलले विश्वविद्यालयभित्रका समस्या नियन्त्रण गर्नै नसक्ने गरी बिग्रिनसकेको जिकिर गर्दै समुदायलाई साथमा लिएर अघि बढ्न सकेमा विद्यार्थीको आकर्षण बढुने बताए ।

शिक्षाविद् प्रा डा मनप्रसाद वाग्लेले खोज तथा सिफारिस समिति पुरानै ‘लिगेसी’को निरन्तता भएको बताए । उनले सिफारिस समितिले उपकुलपति छनोटको मूल्याङ्कन गर्ने कार्यविधिमा अनुसन्धानलाई बढी अङ्कभार दिने व्यवस्था संशोधन गरेकामा चिन्ता व्यक्त गरे ।

धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जुले समयको माग र सीपमूलक शिक्षामा विश्वविद्यालयले ध्यान दिन र स्थानीयवासीसँग समन्वय बढाउन आग्रह गरे ।

सिफारिस समितिले उपकुलपति पदमा गरेको पहिलोपटक सूचना जारी गर्दा १७ जनाको आवेदन परेको थियो । त्यसमा चिकित्सा क्षेत्रका उम्मेदवार आवेदन गर्न नमिल्ने खालको कार्यविधि बनाइएको भन्दै कुलपतिसमक्ष निवेदन दिएपछि उनको आग्रहमा समितिले यही माघ १८ मा दोस्रोपटक आवेदनका लागि सूचना प्रकाशन गरेको छ ।

रविलाई ५४ लाख धरौटीमा रिहा गर्न जिल्ला अदालत चितवनको आदेश

चितवन । जिल्ला अदालत चितवनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

साहारा चितवन सहकारीको ठगी मुद्दामा बिहीबार न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको अदालतका स्रेस्तेदार विष्णुप्रसाद आचार्यले जानकारी दिए । ठगी मुद्दा दर्ता भएपछि बयान दिन लामिछाने बुधबार अदालत उपस्थित भएका थिए ।

उनको थुनछेक बहस नसकिएपछि बुधबार अदालतले प्रहरीको जिम्मा लगाएको थियो । यसअघि कास्की, काठमाडौं र रुपन्देही अदालतले पनि उनलाई धरौटीमा छाड्न आदेश दिएका थिए ।

महिला क्रिकेटमा नेदरल्याण्ड्सद्वारा थाइल्याण्ड पराजित

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक विकटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहीबार भएको खेलमा थाइल्याण्डले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।

नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले ४२ बलमा दुई चौका प्रहार गरिन् । त्यस्तै रोबिन रिकेले २१ बलमा एक चौकाको सहयोगमा २० रन बनाइन् । स्टेर कालिसले १२ बलमा १४ रन जोडिन् ।

थाइल्याण्डका लागि थिपाच्चा पुथावोङले चार, ओनिचा कामचोम्फुले तीन र फनिता मायाले दुई विकेट लिएका हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रनको मध्यम योगफल बनाएको थियो । 

थाइल्याण्डका लागि नान्नाफाट चैहान नटआउट रहँदै सर्वाधिक ३६ रन बनाइन् । उनले ४६ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । चानिदा सुत्थीरुआङ्गले २८ बलमा चार चौकाको सहयोगमा ३२ रन जोडिन् । कप्तान नारुइमोल चाइवाईले २६ बलमा १५ रन जोडिन भने सुवानान खियाओतोले नटआउट रहँदै १० रन जोडिन् । 

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले तीन र हेटर सिगर्सले दुई विकेट लिइन् । नेदरल्याण्ड्सले यस सिरिजमा थाइल्याण्डलाई पहिलो पटक पराजित गरेको हो ।

यो जितसँगै नेदरल्याण्ड्स र थाइल्याण्ड दुवैको उपाधी जित्ने सम्भावना कायम छ । नेदरल्यान्ड्सले छ खेलमा आठ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको थाइल्याण्डको पनि पाँच खेलबाट समान आठ अङ्क छ । 

नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । जसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । उक्त सिरिजको अन्तिम खेल भोलि हुनेछ । अन्तिम खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ ।