`

महिला क्रिकेटमा नेदरल्याण्ड्सद्वारा थाइल्याण्ड पराजित

काठमाडौँ । राजधानीमा जारी त्रिकोणात्मक टि–२० सिरिजमा नेदरल्याण्ड्सले थाइल्याण्डलाई एक विकटले पराजित गर्दै विजयी भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान बिहीबार भएको खेलमा थाइल्याण्डले दिएको एक सय १० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर पूरा गरेको हो ।

नेदरल्याण्ड्सको जितमा फेबे मोल्केबरले सर्वाधिक ३२ रन जोडिन् । उनले ४२ बलमा दुई चौका प्रहार गरिन् । त्यस्तै रोबिन रिकेले २१ बलमा एक चौकाको सहयोगमा २० रन बनाइन् । स्टेर कालिसले १२ बलमा १४ रन जोडिन् ।

थाइल्याण्डका लागि थिपाच्चा पुथावोङले चार, ओनिचा कामचोम्फुले तीन र फनिता मायाले दुई विकेट लिएका हुन् । त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको थाइल्याण्डले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय नौ रनको मध्यम योगफल बनाएको थियो । 

थाइल्याण्डका लागि नान्नाफाट चैहान नटआउट रहँदै सर्वाधिक ३६ रन बनाइन् । उनले ४६ बलमा चार चौका र एक छक्का प्रहार गरिन् । चानिदा सुत्थीरुआङ्गले २८ बलमा चार चौकाको सहयोगमा ३२ रन जोडिन् । कप्तान नारुइमोल चाइवाईले २६ बलमा १५ रन जोडिन भने सुवानान खियाओतोले नटआउट रहँदै १० रन जोडिन् । 

नेदरल्याण्ड्सका लागि आइरिस विलिङले तीन र हेटर सिगर्सले दुई विकेट लिइन् । नेदरल्याण्ड्सले यस सिरिजमा थाइल्याण्डलाई पहिलो पटक पराजित गरेको हो ।

यो जितसँगै नेदरल्याण्ड्स र थाइल्याण्ड दुवैको उपाधी जित्ने सम्भावना कायम छ । नेदरल्यान्ड्सले छ खेलमा आठ अङ्क जोडेको छ । पहिलो पराजय ब्यहोरेको थाइल्याण्डको पनि पाँच खेलबाट समान आठ अङ्क छ । 

नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सहभागी टोलीले एकअर्कासँग समान तीन पटक खेल्नेछन् । जसमा अङ्क तालिकाको शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । उक्त सिरिजको अन्तिम खेल भोलि हुनेछ । अन्तिम खेल नेपालले थाइल्याण्डसँग खेल्नेछ । 

पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार निर्माण गर्न सांसदहरुको माग

काठमाडौं ।  राष्ट्रियसभाका सांसदहरूले ताप्लेजुङको पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृति लिएर मात्रै केबलकार स्थापना गर्नुपर्ने माग गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकको शूल्य समयमा सांसद सुरेशकुमार आले मगरले पाथीभरा क्षेत्रमा स्थानीयको स्वीकृतिबिना केबलकार स्थापना गर्न थालिएको भन्दै आपत्ति जनाए ।

उनले भने, “विकास गर्ने विषयमा कोही पनि विरोधी छैन तर आइएलओ १६९ अनुसार कुनै पनि क्षेत्रमा विकासका काम अगाडि बढाउँदै गर्दा स्थानीयको स्वीकृति लिनुपर्ने हुन्छ । स्वीकृति नलिइकन, पाथिभरा क्षेत्रका जनतालाई सरकारले जबरजस्ती धरपकट गर्नुहुँदैन ।” 

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केबलकार निर्माणलाई लिएर उत्पन्न विवादमा सरकारी वार्ता टोली र स्थानीय सङ्घर्ष समितिबीच मङ्गलबार ६ बुँदे सहमति भएको छ ।

यो सहमतिसँगै गत माघ १५ देखि कोशी प्रदेशका ९ जिल्लामा जारी यातायात बन्द स्थगन गरिएको छ । हाललाई केबलकार स्टेसन निर्माण कार्य स्थगन गरी आगामी वार्तामा विस्तृत छलफल गर्न सरकारी पक्ष तयार भएको छ ।

सांसद सोनाम गेल्जेङ शेर्पाले सोलुखुम्बुको उत्तरी क्षेत्रमा रहेको नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन हुँदा जनतालाई सास्ती भइरहेको भन्दै तत्काल कर्मचारीको व्यवस्था गर्नुपर्ने माग गरे ।

“नाम्चे बजारस्थित सीमा प्रशासन शाखा कार्यालय प्रमुख र कर्मचारीविहीन छ, कर्मचारीविहीन हुँदा त्यस क्षेत्रका नागरिकले नागरिकले राष्ट्रिय परिचय पत्र पाउन सकिरहेका छैनन, तत्काल कर्मचारीको व्यवस्था गर्न नेपाल सरकारसँग माग गर्दछु”, उनले भने ।

भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक र शून्य समयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँँदै गृहमन्त्रीले नेहा र सत्येन्द्रबीचको प्रेम सम्बन्धका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै भेद्भावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको बताएका हुन् ।

आफू आबद्ध दल नेपाली कांग्रेस जन्मजातदेखि नै छुवाछुतविरुद्ध रहेको उल्लेख गर्दै उनले अन्तरजातीय विवाहविरुद्ध आफू नरहेको प्रष्ट पारे । “अन्तरजातीय विवाहलाई कानुनले मान्यता दिएको छ, मन्त्रालयले यसलाई अक्षरशः कार्यान्वयन गराउँछ, गृहमन्त्रीबाट अत्याचार भयो भन्नु कपोलकल्पित हो । मन्त्रालयबाट यो विषयलाई प्रष्ट पारिएको छ, पीडितलाई सुरक्षा दिन सरकार लागिरहेको छ । नेहा र सत्येन्द्रको सुरक्षा हुन्छ, त्यसमा सरकार गम्भीर छ”, गृहमन्त्री लेखकले भने ।

तथ्यलाई तोडमोड गरेर समाजलाई विभाजनतर्फ नधकेल्न र त्यस्ता समाचार सामग्री तयार नगर्न पनि उनले सञ्चारमाध्यमसँग अनुरोध गरे । 

कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ?(संसदमा प्रचण्डको सम्बोधनको पूर्णपाठ)

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई जोडेर चर्चामा ल्याइएको नुवाकोट स्थित शेरा दरबारको निष्पक्ष छानबिन सुरु गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले आफूबाट छानबिन सुरु गर्न माग गरेका हुन् । उनले भने, ‘अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई । शेरा दरबारमा संलग्नता देखिन्छ भने मबाटै छानबिन गर्नुहोस् । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौं । म आज सम्मानित रोष्टममा भन्न चाहन्छु, शेरा दरबारमा कतै मेरो संलग्नता छ भने छानबिन गरियोस् । अहिले प्रधानमन्त्रीजीप्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने ? उहाँ यसमा तयार हुनुहुन्छ ? तपाई ढुक्क नहुनुहोला, जनताले निकायलिरहेको छ ।’

यस्तो छ सम्बोधनको पूर्णपाठ

सम्माननीय सभामुख महोदय,
सर्वप्रथम म राष्ट्रनिर्माण र नागरिक सम्प्रभुताका लागि आफ्नो बलिदान दिएका आदरणीय वीर शहीदहरुप्रति श्रद्धासुमन अर्पण गर्दछु । साथै, पटकपटकका क्रान्ति र आन्दोलनहरुका बेपत्ता यौद्धा र घाइते क्रान्तिवीरहरुप्रति आभार प्रकट गर्दछु ।

संसदको यो अधिवेशन विधेयक अधिवेशन मानिन्छ । संसदको गति सुस्त भयो, विधेयकहरु अपेक्षित गतिमा अघि बढेनन् भन्ने गुनासो अब नसुनिने गरी हामी अघि बढौं, मेरो शुभकामना छ । प्रमुख प्रतिपक्षीका रुपमा हामी सम्मानित संसदलाई थप क्रियाशील र परिणामुखी बनाउन प्रतिबद्ध छौं । तर, सरकार नै संसदलाई अपमान गर्ने र छल्ने बाटोमा देखिन्छ । यही अधिवेशन पनि निकै अघि बोलाउनुपर्ने हो, तर बोलाइएन । सिंगो विपक्षले औपचारिक बैठक नै बसेर माग गर्यो । तैपनि, सुनुवाइ भएन । सरकार अधिवेशनबाट मात्र भागेन, षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेशहरु ल्यायो । सार्वभौम संसदको यो तहको उपेक्षाप्रति हाम्रो आपत्ति छ ।

माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक । पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईहरु पनि अब विकासको हाजी हुनुभएको हो ?

रातारात अध्यादेशको चोरबाटोले भन्छ, तपाईहरुको नियत सही छैन । अरु बेला संसदमा दुई तिहाइको घमन्ड सुन्नुपर्ने । बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।

यी अध्यादेशहरु विकासका लागि हुन्थे भने संसदीय समितिमा रहेका विधेयकमा खुला छलफलसँग सरकार किन डरायो ? संसदमा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? सरकार र संसदले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट दश दिनमै पनि विधेयक पारित गर्न सकिन्छ जबकि प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रकृया पार गर्नुपर्छ । देश र जनताका लागि सोचेको भए तपाईहरु संसदसँग डराउनुहुने थिएन । स्वार्थसमूहहरुलाई पोस्नुपर्ने भएकैले तपाईहरुले अध्यादेशको चोरबाटो समाउनुभयो । कार्यपालिकाले नै सबै गर्ने भए किन चाहियो त व्यवस्थापिका ?

सभामुख महोदय,

अहिलेको सरकारी गठबन्धन बन्दै गर्दा मैले यही सम्मानित रोष्टममा उभिएर चिन्ता जाहेर गरेको थिएँ, पहिलो र दोस्रो दलको सरकार कतै प्रतिगमन र निरंकुशतातिर अग्रसर हुने त होइन ? आज त्यो चिन्ता वास्तविकतामा प्रमाणित भएको छ । राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको छ । अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिँदै छ । सम्झाई बुझाई गरेर पठाउन सकिने घटनामा समेत नागरिकलाई हतकडी लगाएर एउटा जिल्लाबाट अर्को जिल्ला दगुराइँदैछ, कडा कडा मुद्दा लगाइँदैछ । यो सत्ताको घमन्ड हो कि जनतासँग डर हो ?

पाथिभरा केवलकारको विवादमा तपाईहरुले सिधै जनतालाई गोली चलाउनुभयो । पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो किन हिँड्दै हुनुहुन्छ ? टिसर्टमा कसैको फोटो देखियो भनेर पनि तपाईहरुले नागरिकलाई नियन्त्रणमा लिनुभयो । सार्वजनिक सेवा प्रवाहमा प्रश्न उठाउनेहरुलाई पनि थुन्नुभयो, मुद्दा चलाउनुभयो । अब त सामाजिक सञ्जाल नियमन विधेयक नै ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमैं नियन्त्रण गर्न खोज्दै हुनुहुन्छ । यो के हो ? नागरिक सम्प्रभुताभन्दा माथि हो तपाईहरु ? संविधानभन्दा माथि हो ? तपाईहरु मालिक र नागरिक दास हो ?

सामाजिक सञ्जाल सञ्चालन, प्रयोग र नियमनका लागि भनेर संसदमा अहिले दर्ता भएको विधेयक आपत्तिजनक छ । सामाजिक सञ्जाल नियमनका नाममा यसले नागरिकको संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको हकमात्र कुण्ठित पार्दैन, प्रेसको स्वतन्त्रता पनि नियन्त्रण गर्छ । यो विधेयकमा नागरिकलाई पाइलैपिच्छे जेल र जरिवनाको तरवार झुन्ड्याइएको छ । अहिल्यै त नागरिकलाई बोलेकै कारण हतकडीमा जिल्ला घुमाइरहेको सरकारले भोलि यस्तो विधेयक पारित भए के गर्ला ?

सभामुख महोदय,

प्रधानमन्त्रीका रुपमा मैले यो सम्मानित संसदमा एउटा परम्परा सुरु गरेको थिएँ, रिपोर्ट कार्डको परम्परा । तर, अहिले संसदमा रिपोर्ट कार्ड होइन, तथ्य होइन, मिथ्या कल्पना र आत्मरति सुनिन थालेको छ । अस्ति हामीले यो संसदमा सुन्यौं, पछिल्ला नौ वर्षमा बुटवल–पाल्पा सडकखण्डमा ४२ पटक सवारी दुर्घटना भएर धेरैको ज्यान गएको समाचार पढेर प्रधानमन्त्रीजीको आङ सिरिङ भयो । उहाँ भावुक हुनुभयो, अनि उहाँले संकल्प गरेर स्वस्थानीकै शैलीमा सिद्धबाबा सुरुङमार्ग बनाउनुभयो । २०७९ माघमा काम सुरु भएको र अहिलेसम्म जम्मा ४०.१८ प्रतिशतको हाराहारीमा प्रगति भएको सिद्धबाबाको जस पनि ६ महिनाअघिका प्रधानमन्त्रीले लिनुपर्ने ? यसले नै भन्दैन र सरकारको प्रस्तुती कति कमजोर छ ?

नारायणघाट सडक खण्डको पनि प्रगति ५३.३ प्रतिशत मात्रै छ । प्रधानमन्त्रीलाई मेरो अनुरोध छ, आफै आफ्नो पीठ थप्थप्याएर आफैले आफूलाई प्रमाणपत्र दिएर आफैले आफूलाई सफल घोषणा गरेर संसद र जनता झुक्याउने दिन अब छैनन् । नियमित कामका स्वाभाविक प्रगतिलाई सरकारको सफलताको रुपमा रंगरोगन गर्नुभन्दा राष्ट्रका दीर्घकालीन आवश्यकताका बारेमा संसदमा छलफल चलाउनुहोस्, हामी साथ दिन्छौं । बनिबनाऊ पूर्वाधारको जस खोसाखोस गर्न छाडेर नयाँ पूर्वाधारका चुनौतीमाथि छलफल सुरु गरौं, हामी सहभागी हुन्छौं । संसदमा मिथ्यांक र आत्मरतिबाट कसैलाई आत्मसन्तोष मिल्ला, तर देशको भलो हुँदैन ।

प्रधानमन्त्रीजी, म सुनाउँछु तपाईलाई तथ्याङ्क । त्यो पनि तपाई मातहतकै निकायहरुबाट प्राप्त । सरकारले चालु वर्षको खर्च र राजश्वको लक्ष्य पुरा गर्न सक्ने छैन । यो विपक्षले लगाएको आरोप होइन, तपाईकै अर्थमन्त्रालयको समीक्षापूर्ण निष्कर्ष हो । छ महिनाअघि २.६ प्रतिशतले घटेको व्यापार घाटा यो सरकारको छ महिने अवधिमा ४.४ प्रतिशतले बढेर ७ सय २३ अर्ब पुगेको छ । छ महिनाअघि २२.२ प्रतिशतले वृद्धि भएको थियो रेमिट्यान्स । अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढे पनि रेमिट्यान्स आप्रवाह भने घटेर ४.१ प्रतिशत पुगेको छ । यसले देखाउँछ, सरकार अनौपचारिक तथा अवैधानिक माध्यमलाई प्रवद्र्धन गर्दै राष्ट्रिय अर्थतन्त्र कमजोर बनाउने दिशामा अग्रसर छ ।

मैले सरकार छोड्दा मुद्रास्फीति ३.५७ प्रतिशत थियो, अहिले बढेर ५.४१ प्रतिशत पुगेको छ । खाद्यान्न मूल्यवृद्धि झन् गम्भीर रूपमा २८.५२ प्रतिशतले बढेर औसतमा ७.६७ प्रतिशत पुगेको छ, जबकि मैले छोड्दा यो दर ४.०४ प्रतिशत मात्र थियो। श्रमिक तथा कामदारले आफ्नो ज्यालामा २.८५ प्रतिशत मात्र वृद्धि पाएका छन्, तर महँगीको दर झण्डै ३० प्रतिशत पुगेको छ । छ महिनाअघि बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा २.६ प्रतिशतले वृद्धि भइरहेको थियो, अहिले घटेर १.२ प्रतिशतमा सीमित भएको छ । मेरो नेतृत्वमा ३ सय ७७ अर्बले बढेको निक्षेप यो सरकार बनेपछि घटेर २ सय ३९ अर्बले मात्र बढेको छ । प्रधानमन्त्रीजीलाई मेरो प्रश्न छ– यो तथ्यांकले वित्तीय प्रणालीप्रति आम नागरिकको विश्वास घटेको देखाउँछ कि बढेको देखाउँछ ?

अहिलेसम्म समग्र पूँजीगत खर्च जम्मा १६ प्रतिशत छ । यो पनि विपक्षको आरोप वा अनुमान होइन, अर्थमन्त्रालयकै प्रतिवेदन हो । मन्त्रालयहरुले न पुरानो ठेक्काको भुक्तानी दिन सकेका छन् न नयाँ आयोजनाको ठेक्का लगाउन सकेका छन् । भौतिक, शहरी, खानेपानी जस्ता पूर्वाधार निर्माणका मन्त्रालयहरुको प्रगति २० प्रतिशत पनि पुग्न सकेको छैन । सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य ऋणको भार बढ्दै गएको छ, जसले भावी पुस्तालाई दीर्घकालीन ऋण र करको भारी बोझ थपेको छ। तर, प्रधानमन्त्री यसरी संसदमा पेश हुनुहुन्छ कि छ महिनामा नेपाल त युरोपकै छेउछाउ पुगिसक्यो ।

सभामुख महोदय,

प्रधानमन्त्रीका रुपमा मैले अभिव्यक्ति स्वतन्त्रतालाई फौजदारीकरण हुन दिइनँ । मेरो नेतृत्वको सरकारले सामाजिक सञ्जालका प्रयोगकर्तालाई स्वनियम र सञ्चालक कम्पनीलाई जवाफदेहि बनाउनमात्र सैद्धान्तिक स्वीकृति दिएको थियो । अहिले त नागरिक अभिव्यक्तिलाई अपराधको श्रेणीमा राख्ने गरी विधेयक दर्ता भएको छ । खासमा यो विधेयकमा सरकारको नियत प्रकट भएको छ । प्रधानमन्त्री केपी ओलीजी बिरोध त परको कुरा, रचनात्मक आलोचना पनि सहन सक्नुहुन्न । यो पटकपटक प्रमाणित तथ्य हो । उहाँले सक्नुभयो भने सिंगो देशलाई आफ्नो पार्टी नेकपा (एमाले) जस्तै एकदमै प्रश्नमुक्त, एकदमै आलोचनामुक्त र खासमा एकदमै विवेकमुक्त बनाउन चाहनुहुन्छ । त्यसैले उहाँ अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक हक र प्रेस स्वतन्त्रतालाई कुल्चन प्रयत्नरत हुनु म अनौठो मान्दिनँ । यस्तो प्रयास प्रधानमन्त्रीकै रुपमा उहाँले यसअघि पनि पटकपटक गरिसक्नुभएको हो । त्यसैले म उहाँलाई प्रश्न गर्दिनँ । मेरो प्रश्न छ, नेपाली कांग्रेसलाई । के हो यो सामाजिक सञ्जाल नियमन विधेयक ? के हो यसमा नेपाली कांग्रेसको आधिकारिक धारणा ? हिजो त तपाईंहरु यसको विपक्षमा उभिनुभएको थियो । आज कता हुनुहुन्छ ? तपाईहरु सत्ताका लागि मात्रै सहकार्यमा हुनहुन्छ कि राजनीतिक दृष्टिकोणमैं परिवर्तन आइसकेको हो ? कि कांग्रेसलाई पनि ओलीजीलाई जस्तै प्रश्नमुक्त र विवेकमुक्त नेपाल चाहिएको हो ? के हो तपाईहरुको वैचारिकी ?

मैले वैचारिकीको प्रश्न किन उठाएको भने नेपाली कांग्रेस पछिल्ला दिनमा अलि धेरै नै ‘गतिशील’ देखिन थालेको छ । माओवादीसँग गठबन्धनमा हुँदा निर्वाचनपूर्वको गठबन्धन पाप हो भन्ने साथीहरु पनि थिए कांग्रेसमा । कांग्रेस एक्लै लड्छ, अब रुखबाहेक अन्त भोट हाल्दैन भनेर ती साथीहरुले धेरै ताली खाए । पछिल्ला दिनमा एमालेमा अब देशमा जम्मा दुईवटा दल हुने हो र एक्लाएक्लै लडेर स्थायी सरकार बनाउने हो भन्ने विचारक पनि थपिए । देशबाट अब सदाका लागि गठबन्धनको राजनीति अन्त्य भयो भन्दै तपाईहरुले नयाँ सत्तागठबन्धन गर्नुभयो । तर, गत स्थानीय निकायको उपचुनावमा के भयो ? दुई ठूला दलबीच नै गठबन्धन भयो । गठबन्धनमात्र होइन, तपाईहरुले एकअर्कालाई आफ्ना चुनावचिन्ह भाडामा पनि दिनुभयो । एउटा पार्टीको नेता अर्को पार्टीको चिन्हमा पनि चुनाव लड्नुभयो । कांग्रेसमा पहिले सुनिने गठबन्धनविरोधी गनगन र करकर यसपटक कतै सुनिएन । पत्रकार र अरु व्यावसायिक संस्थाका चुनावमा पनि अद्भुत एकताका साथ कांग्रेस र एमालेबीच गठबन्धन भयो । तपाईहरुलाई लागेको थियो, यति भएपछि माओवादी सकिन्छ । सकियो त ? सकिएन बरु लगभग पहिलो पार्टीका रुपमा पुनरोदय भयो ।

अझै पनि गठबन्धनका साथीहरु माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । शहीदका सपना र संकल्पतिर फर्किसक्यौं । तपाईहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं । अस्ति प्रधानमन्त्रीले संसदमा गीत गाउनुभयो– ढलेँ, ढलेँ, ढलेँ….। तपाईहरुबीच विश्वास छ भने दिनदिनै म यति महिनापछि शेरबहादुरजीलाई छाड्छु, भनिरहनुपर्छ ? हरेक ठाउँमा भनिरहनुपर्ने ? के शेरबहादुरजी कान सुन्नुहुन्न ? सुन्नोस्, हामी टिप्न हिँडदैनौं यो सरकार तर यो कुहिएर झर्नेवाला छ । हामीले भनेको त्यो हो ।

त्यसैले, अब हाम्रा डरले तपाईहरुले एकअर्काका कुर्सी मिलाउन पर्दैन । स्थायित्वको गुड्डी हाँकेर बनेको गठबन्धन हो, स्थायित्व होस् । हरेक दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ । हामी सरकार बनाउनेछौं तर आफ्नै सामथ्र्यमा । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।

सभामुख महोदय,

यसबीचमा जारी भएका अध्यादेशहरुका प्रक्रिया मात्र होइन, नियतमा पनि हामीलाई शंका छ । भूमि तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संशोधनका लागि जारी अध्यादेशको नियत के हो ? संशोधित प्रावधानहरूले वास्तविक भूमिहीन, दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले जोतभोग गरिरहेको जग्गाको लालपूर्जा पाउन सहज हुन्छ कि झन् कठिन, जटिल र महंगो हुन्छ ? मध्यवर्ती क्षेत्रको जग्गालाई जग्गा उपलब्ध गराउन नसकिने नकरात्मक सूचीमा राखेर लाखौँ भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीको भूमि अधिकार कुण्ठित गर्न खोजिएको छ । भूमि ऐनमै मध्यवर्ती क्षेत्र नकारात्मक सूचीमा राखिसकेपछि निकुञ्ज ऐन संशोधनको के औचित्य छ ? अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउँदा भूमिको वर्गीकरण र मूल्यांङ्नमा रहेको अवैज्ञानिक प्रणाली सच्चाउने, गरिबहरू, ग्रामीण क्षेत्र र कृषिको प्रयोजनमा भएको जग्गाको थोरै शुल्क तिरे हुने र धनी, सहरी क्षेत्रका र आवासको प्रयोजनका लागि दिने जग्गालाई धैरै शुल्क असुल गर्ने व्यवस्था गर्नुपर्ने हो । तर सरकारले संशोधनमार्फत् ठिक उल्टो गर्न खोजिरहेको छ । बरू यस अध्यादेशका केही व्यवस्थाहरूले गिरीबन्धु टि–स्टेट सहित देशभरका हदबन्दी भन्दा धेरैका जग्गाहरूको किनबेच स्वामित्व हस्तान्तरणलाई कानुनी रूप प्रदान गर्न दुरुपयोग गर्न सकिने आधारहरू प्रदान गर्दछ ।

भूमाफियाहरूको चाहनाअनुरूप किसानको जमिनको भूउपयोग वर्गीकरण मनपरी ढंगले गर्ने र त्यसको परिवर्तन गराउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय धाउनुपर्ने व्यवस्था लागु गर्न खोजिएको छ । किसानहरूको आफ्नो स्वामित्वको जग्गाको सानो टुक्रालाई घडेरीको रूपमा बेच्न पाउने अधिकार कुण्ठित गर्दै गरिब जनता र साना रियल स्टेटहरूलाई ध्वस्त गरेर सबै आवास प्रयोजन र घर–घडेरीको जग्गालाई ठूला रियल स्टेट र भूमाफियाहरूको कब्जामा पु¥याउने वातावरण तयार गर्न खोजिएको छ । एकातिर भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन वन ऐन २०७६ को संशोधन गरिएको भनिँदै आएको छ भने अर्कोतिर प्रधानमन्त्रीको ठाडो निर्देशनमा मुख्य सचिवको अध्यक्षतामा प्रधानमन्त्री कार्यालयमा बैठक राखेर सर्लाही जिल्लाको बागमती नगरपालिकाका हजारौँ सुकुम्बासीले तिसौँ वर्षदेखि जोतभोग र आवाद कमोत गरेको जग्गा खाली गराउने निर्णय गरिएको छ भने नगर प्रमुख, उपप्रमुखसहित ५ जनालाई वन मुद्दामा फसाउन खोजिएको छ । २०७४ सालमा निर्वाचित जनप्रतिनिधिलाई २०७३ सालको घटनामा जोडेर झुठा मुद्दा लगाउन खोजिँदैछ । पार्टी परिवर्तन गरेर आफूसँग आए मुद्दा नचलाउने भनेर धम्क्याउने र लोभ्याउने गरिएको छ । यो हदसम्मको अराजनीतिक षडयन्त्र र जालझेल मान्य हुन्छ ?

विगतमा शिक्षक लगायत विभिन्न आन्दोलनरत पक्षसँग गरिएको सहमति कार्यान्वयन नगर्दा उनीहरु आन्दोलमा उत्रिएका छन् । आवासीय चिकित्सकहरु पीडामा छन्, सरकारले उनीहरुको आन्दोलनलाई गम्भीरतापूर्वक लिएको छैन । मोही किसानको मागलाई सम्बोधन गर्न नयाँ एकीकृत गुठी कानुन तर्जुमा नहुँदा उनीहरुले आन्दोलन सुरु गरेका छन् । भूमिसम्बन्धी समस्या समाधान गर्ने दावी गरेर अध्यादेश ल्याउने सरकारले स्वर्गद्वारी गुठीलगायतका विषय सम्बोधन गर्न सकेन । संविधानको धारा ४० मा प्रत्याभूत गरिएको दलितको हक कार्यान्वयनमा सरकारको चासो छैन, उल्टै अदालती विवाहको प्रमाण हुँदा समेत अन्तर्जातीय विवाह गरेका नागरिकमाथि राज्यका संयन्त्र परिचालन गरेर प्रताडित गर्ने काम भएको छ ।

कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन–२०३२ मा संशोधन गरी व्यापारीहरुले बस्तुको व्यापार गर्दा सयकडा २० प्रतिशत भन्दा बढी मुनाफा लिन नपाउने व्यबस्थालाई खारेज गर्नुभएको छ । यसबाट सुशासन कायम हुन्छ कि मुनाफाखोरहरुलाई खुला छुट पाइन्छ ? सहकारी ऐन–२०७४ लाई अध्यादेशमार्फत संशोधनको नाममा सहकारी अपचलनको समस्यालाई सम्बोधन गर्नुभएको छ कि अन्तरराष्ट्रिय सहकारी एलायन्स को ७ बुँदे सैद्वान्तिक मान्यता र नेपालको क्षेत्राधिकार विभाजनको संबैधानिक व्यबस्था भन्दा विपरित ढंगले ल्याउनुभएको छ ? स्वास्थ्य विमा ऐन–२०७४ को संशोधन विमा ऐनको स्वायत्तता विपरित हुने गरी अघि बढाउनुभएको छ । योगमाया आयुर्वेद विश्वविद्यालय ऐन–२०७९ मा विश्वविद्यालयकै ऐतिहासिक मान्यताभन्दा प्रतिकूल ढंगले संशोधन भएको छ । अध्यादेशहरुमा जनता होइन, स्वार्थ समूहहरुको हित हेरिएको छ ।

सभामुख महोदय,

अहिलेका प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममै ढुक्कले भनिरहनुभएको छ, प्रचण्ड र रविवाला सरकारले हामीलाई थुन्न खोजेपछि यो सरकार बनाउन पर्यो । मेरो नेतृत्वको सरकार ढलेसँगै जनता प्रष्ट थियो, अब खोजिने छैन, त्रिभुवन विश्वविद्यालयको जग्गा । अब रोकिने छ, ललिता निवासको विस्तृत अनुसन्धान र जग्गा फिर्तीको प्रक्रिया । अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।

आज सरकार सामाजिक सञ्जालसँग डराएको छ । ऊ आफ्ना श्रृंखलावद्ध अपराधसँग डराएको भए आज यो अवस्था आउने थिएन । पछिल्ला सात महिनामा सरकारले जनताको केही सुनेन, त्यसैले आज जनता सरकारलाई नसुन्ने ठाउँमा पुग्यो । सरकारले पछिल्ला सात महिनामा जनताको मनमा बस्ने एउटै काम गरेन तर जनताको मन बिझाउने सयौं काम गर्यो । अहिले त्यता विस्तृतमा जाने समय छैन । मेरो नेतृत्वको सरकारले भिआइपी कल्चर भत्काउँदै सुशासन र लोकतन्त्रको सर्भिसिङ सुरु गरेको थियो । त्यसले जनतामा लोकतन्त्रप्रति भरोसा जगाएको थियो । जनतामा भरोसा जगाउने त्यही सर्भिसिङ नै कांग्रेस एमालेका लागि सबैभन्दा ठूलो आतंक भयो र तपाइहरु रातारात एक ठाउँमा उभिनुभयो ।

आज म सरकारलाई सोध्छु, सरकारी जग्गा हिनामिनाका काण्डहरुको छानविन कहाँ पुग्यो ? अनाथ केटाकेटीका जमिनको समेत भ्रष्टाचारमाथि कारवाही कहाँ पुग्यो ? म दिन्छु उत्तर । मिलाइयो । चोख्याइयो । जोगाइयो । म सोध्छु, स्पिनिङ मिलको आइपिओमा नक्कली अडिटको काण्ड के भयो ? उत्तर मै दिन्छु, धितोपत्र बोर्डमैं मिलाइयो । तत्कालीन सेन्चुरी बैंकको अर्वौं क्रृणको दुरुपयोगको छानविन के भयो ? सामसुम पारियो । मिलाइयो, चोख्याइयो, जोगाइयो ।

सत्तापक्षका माननीयहरु, दुःख नमान्नुहोला, तपाईहरुको समर्थन र मतलाई यो सरकारले अपराध होइन, अपराधी धुने डिटर्जेन्ट बनाइरहेको छ । अपराधीलाई चोख्याउने सुनपानी बनाइरहेको छ । अब विचौलियाका आँखा गएका छन् धितोपत्र बोर्डमा । ऐनले नै कल्पना नगरेको निर्देशिका तयार पारेर सरकार नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिने चोर बाटो खोज्दै छ ।

म तपाईहरुलाई यही रोष्टमबाट भन्छु, दूरसञ्चार फ्रिक्वेन्सीजस्तै नयाँ स्कटक एक्सचेन्जको लाइसेन्सलाई पनि राज्यले आफ्नो सम्पत्ति मान्ने वातावरण बन्नुपर्छ । दिनुपर्ने भए कमिशनबाट होइन, खुला प्रतिष्पिर्धाबाट, अझ रकम बढाबढबाट दिनुपर्छ नयाँ लाइसेन्सको अनुमति । त्यसका लागि अहिलेको अवैध प्रक्रिया रद्द हुनुपर्छ ।

सभामुख महोदय,

यसबीचमा विद्युत् प्राधिकरणमा सरकारले जे गर्यो, त्यो हाम्रो राजनीतिक इतिहासमै सरकारमा माफियाहरुको नियन्त्रणको सबैभन्दा नांगो टेस्ट केस् हो । डेडिकेटेट तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेका उद्योगबाट प्रिमियम महसुल असुलीमा मन्त्री र प्रधानमन्त्रीकै तहबाट भएको लज्जास्पद अवरोधबाट के प्रमाणित भयो? माफियाहरुको शक्ति र सरकारको निरीहता स्थापित भयो । विचौलियासँग मिलेर प्रधानमन्त्रीसहितले महसुल असुली रोक्न त्यो सबै गर्नुभयो । जे गर्न सक्नुहन्थ्यो र जे गर्न हुँदैनथ्यो । यसबीचमा के भएन ? प्रधानमन्त्रीले रोस्टमबाटै प्राधिकरणलाई गाली गर्नुभएन कि ? महसुल उठ्ने सुनिश्चितता नभई काटिएको लाइन जोड्न हुँदैन भन्ने बोर्ड सदस्यहरुलाई बर्खास्त गरिएन कि ? विद्युत् नियमन आयोगको दुरुपयोग गरिएन कि ? विद्युत प्राधिकरणभित्रै मन्त्रीको कार्यकक्ष बनाइएन कि ? प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन पटकपटक स्पष्टीकरणसहित दुव्र्यवहार गरिएन कि ? पुनरावलोकनमा जाँदा धरौटी राख्न नपर्ने व्यवस्थाका लागि डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बक्यौता जाँच गर्न अवैध समिति बनाइएन कि ? त्यो अवैध समितिको खर्च व्यहोर्न प्राधिकरणलाई अनावश्यक दवाव दिइएन कि ?

ऊर्जा मन्त्रालयमा अरु पनि यस्ता साहसपूर्ण पौरख भए । मन्त्रिपरिषद्बाट पारित नै नभएको ऊर्जा विकास मार्गचित्रलाई देखाएर सरकारी स्वामित्वका विद्युत उत्पादन कम्पनीहरु कौडीका भाउमा बेचेर कमिसन खान खोजियो । ४ सय ५४ मेगावाटको अर्धजलाशययुक्त किमाथाङ्का अरुण र १९ सय २ मेगावाटको मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाहरु सार्वजनिक–निजी साझेदारी नाममा सिधै सुम्पिन खोजियो । जगदुल्ला हाइड्रोपावरमा पनि १६ अर्बको ठेक्कामा ऊर्जामन्त्री यसैगरी जोडिनुभयो । अरु मन्त्रालयमा पनि यस्ता विकृति छँदैछन् । तर यसमा म मन्त्रीको मात्रै पनि दोष देख्दिनँ । माननीयहरु, मूल नै फोहोर भएपछि शाखाहरु कसरी सफा हुन्छन् ?

अहिले जनता सरकारसँग दुःखी भए पनि विचौलिया र स्वार्थ समूहहरु खुसी छन् । तर, स्वार्थसमूहले बुझे हुन्छ, सरकारलाई किनेर तपाईहरुले पाएको उन्मुक्ति स्थायी हुनेछैन । तपाईहरुले कब्जा गरेका राज्यका स्रोत र संशाधन सधैंका लागि हुने छैनन् । म आज यही रोस्टमबाट चुनौतीका साथ भन्छु– यी फाइलहरु फेरि खोलिनेछन् । जनताको शक्ति लिएर हामी फेरि खोल्नेछौं यी अपराधका फाइल । फेरि सुरु गर्नेछौं लोकतन्त्रको सर्भिसिङ र सुशासन । फेरि भत्काउनेछौं, विचौलिया र राजनीतिक नेतृत्वको गठजोड ।

सभामुख महोदय,

मेरो नेतृत्वको सरकारले जगाएका सबै आशा यो सरकारले समाप्त पार्यो । विश्वविद्यालयहरूमा निकै पछि निकै ठूलो दुःखले लागू गरिएको मेरिटोक्रेसी प्रधानमन्त्री आफैंले अत्यन्त भद्दा तरिकाले भत्काउनुभयो । नेपालमा आर्थिक विकासको नयाँ चरण सुरू भएको घोषणासहित पाँच उद्देश्य, पाँच प्राथमिकता, आर्थिक सुधारका पाँच रणनीति र पाँच रूपान्तरणकारी क्षेत्रका कार्यक्रमसहितको बजेट करिबकरिब दिशाहीन बनाइयो । राष्ट्रिय अर्थतन्त्रको सम्भाव्यता विश्लेषणका आधारमा आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्र पहिचान गरी उच्च दरको आर्थिक वृद्धि हासिल गर्ने बजेटको प्रतिवद्धता, एकीकृत आर्थिक करिडोर विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको निर्माणको प्रतिवद्धताबाट पनि सरकार विचलित भयो ।
दुई वर्षअघि म प्रधानमन्त्री हुँदै गर्दा अनियमितता, भ्रष्टाचार र सम्पत्ति शुद्धिकरणमा कमजोर भन्दै देश फाइनान्सियल एक्सन टास्कफोर्सको नकारात्मक सूचिमा पर्दै थियो । मेरो नेतृत्वको सरकारले तत्काल कानूनी र संरचनात्मक व्यवस्था मात्र गरेन, त्यसको कडाईका साथ पालना गरायो । विना भेदभाव भ्रष्टाचारका फाइल खोल्न थालियो, वित्तीय अपराधीलाई कानूनी दायरामा ल्याउन थालियो । सम्पत्ति शुद्धीकरणका क्रियाकलापलाई नियन्त्रण गर्न थालेपछि देश तत्काल नकारात्मक सूचिबाट जोगियो । तर सरकार ढलेपछि फेरि अनियमितता र संस्थागत भ्रष्टाचारले संरक्षण पाउन थाले । त्यो पनि सरकारको शीरबाटै । अवैध आर्थिक गतिविधिहरु बढे । बिगतमा गरिएका सुधारका कदमबाट टेक्निकल कम्प्लायन्स पूरा भए पनि वर्तमान सरकारले त्यसको कार्यान्वयन पक्षमा वेवास्ता गर्यो । परिणामस्वरुप आज देश एफ्एटीएफ्को ग्रे लिष्टमा पर्ने खतरा छ । देशको अर्थतन्त्रलाई अझ संकटतिर धकल्ने सरकारको यो कृयाकलापलाई सदनले रोक्नुपर्छ ।

स्रोतसाधनको अधिकतम लाभका पूर्वाधार होइन, भ्यूटावरहरु रोजाइ भए, ऋण थपियो तर त्यसको प्रतिफल आएन । विगतका हस्तक्षेपहरुबाट शोधनान्तर बचत, उच्च विदेशी मुद्राको सञ्चिति, बैंकिङ क्षेत्रमा तरलताको प्रचूरता, ब्याजदरमा कमी, नियन्त्रणभित्रै रहेको मूल्यवृद्धी जस्ता सकारात्मक नतिजा आएका थिए । तर, पछिल्ला छ महिनाको अवधिमा सरकारको सुस्त गति र अकर्मण्यताको कारण पूंजिगत खर्च दयनीय अवस्थामा पुग्यो । अवाञ्छित गतिविधिले प्रश्रय पाउँदा पुँजी पलायन बढ्न थाल्यो ।

सभामुख महोदय,

मैले मेरो कार्यकालमा अत्यन्तै मेहनतका साथ छिमेकीहरूसँगको सम्बन्ध ऐतिहासिकरूपमै अघि बढाएको थिएँ । भारतसँग नेपालको रणनीतिक विकासका क्षेत्रमा कैयन महत्वपूर्ण समझदारि भएका थिए । चीन भ्रमणका क्रममा बिआरआइ लगायत द्विपक्षीय हितमा महत्वपूर्ण सहमति भएको थियो । अल्पविकसित राष्ट्रहरूको नेतृत्व गर्दै जलवायु परिवर्तन लगायतका एजेण्डामा नेपालले संयुक्त राष्ट्रसंघ र अन्य मञ्चहरूमा नेपालको नेतृत्वदायी भूमिका स्थापित भएको थियो । तर अहिलेको सरकारले नेपालको हित अनुरूप कुटनीतिक क्षेत्रमा भूमिका खेल्न सकेन । राष्ट्रिय स्वार्थका आधारमा विश्वमञ्चमा नेपालको दरिलो उपस्थिति बनाउनुको साटो सरकार आफ्नो स्वार्थमा परराष्ट्र सम्बन्ध ध्वस्त बनाउन पुग्यो । विपिन जोशीको रिहाइका लागि प्रधानमन्त्रीकै तहबाट पहल हुनुपथ्र्यो, त्यो भएन । बदलिएको विश्व परिस्थितिमा मध्यपूर्वलगायतका देशमा नेपालीहरूमाथि आइपर्ने समस्या र उनीहरुको संरक्षण गर्ने तत्परता सरकारले देखाउन सकेन । सामन्ती शोषणको अवशेषका रूपमा रहेको मिटरब्याजलाई कानूूनतः अपराध घोषणा गरिएको थियो । जिल्लास्तरमा नै संयन्त्रमार्फत सयौं पीडितका समस्या हल हुँदै थिए । अहिले अचानक रोकियो । लघुवित्त क्षेत्रका समस्या फेरि बल्झाइदै छ । सहकारी पीडितहरुको माग र पीडा सम्बोधन गर्नुको साटो सरकारले सहकारी ठगहरुलाई नै उन्मुक्ति दिने गरी सहकारी अध्यादेश ल्याइएको छ ।

मैले नेतृत्व गरेको सरकारले यो आर्थिक वर्षमा पाँच लाख भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीहरूको व्यवस्थापनको पूर्ण तयारीसहित बजेटको व्यवस्था गरेको थियो । अहिले तिनको व्यवस्थापनको वहाना बनाएर भूमाफियाका स्वार्थ पूरा गर्न अध्यादेश नै ल्याइएको छ । म सोध्न चाहन्छु, बैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान सीप र पुँजीमार्फत उद्यमशीलता प्रवद्र्धन गर्ने रिटर्नी उद्यमशीलता कार्यक्रम के भयो ? राष्ट्रिय रोजगार बैंकका लागि सुनिश्चित गरिएको बजेट के भयो ? कम्तीमा एक लाख स्वउद्यमलाई समर्थन गर्ने तयारी के भयो ? युगौंदेखि जातीय विभेद सहेर आत्मसम्मानको सङ्घर्ष गर्दै आएका दलित समुदायको समग्र आर्थिक रूपान्तरण र संविधानप्रदत्त अधिकार अनुभूतिजन्य तहमा कार्यान्वयनमा ल्याउन विशेष प्रकृतिको दलित विकास प्राधिकरण स्थापनाको निर्णय भएको थियो । त्यो किन स्थापना भएन ? दलित समुदायको सिप र पेशा आधुनिकीकरण गरी रोजगारी सुनिश्चित गर्न सिल्पी उद्यमशीलता कार्यक्रम बजेटमार्फत सुनिश्चित गरिएको थियो । त्यो किन कार्यान्वयन भएन ? शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको काम किन रोकियो ? के भूमिहीन, दलित, महिला, श्रमिक, घाइते र अपांगका कार्यक्रम च्यातेर तपाईहरुले प्रचण्डसँग लिइरहनुभएको हो प्रतिशोध?

हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालिन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ । त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ । तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन । यो कागजको खोस्टो सरह भयो भनेर उहाँहरुले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ। संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरासुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरित छैन र ? यसले एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेश्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई जोडदार आग्रह पनि गर्छु र खबरदारी पनि गर्दछु । अहिले संविधान कार्यान्वयनको गति प्रभावित भएको छ किनकि संघलाई प्रदेशका अधिकारको कुनै मतलव छैन । सङ्घीयताको सबलीकरण त सरकारको प्राथमिकतामै छैन । अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना केवल भाषणमा सीमित छ । भ्रष्टाचार नियन्त्रण त प्रधानमन्त्रीले भन्न पनि नछाड्ने र जनता हाँस्न पनि नछाड्ने विषय भएको छ । सायद प्रधानमन्त्रीलाई यो हेक्का छैन होला ।

प्रधानमन्त्रीजी बेलाबेला संसदको दुईतिहाइ सम्झाउनुहुन्छ र बलियो सरकारको घमण्ड गर्नुुहुन्छ । व्यवहारमा कति बलियो छ त यो सरकार ? बाढीपहिरोमा देखिन्न, बलियो सरकार । प्राकृतिक विपत्तिमा देखिन्न, भूकम्पमा देखिन्न । नागरिक सेवा र सुशासनमा देखिन्न । शिक्षा, स्वास्थ्य र रोजगारीमा देखिन्नँ । गएको वर्षामा टिनको छानोमाथि उभिएको एउटा परिवारले काठमाडौंको मुटुमा चार घण्टासम्म उद्धार पाएन । हेलिकोप्टरको भिजिबिलिटी पुगेन भनेर टक्टकिने कोशिस भयो । भिजिबिलिटी त हेलिकोप्टरको होइन, सरकारको नपुगेको हो । उद्धार कार्यमा मात्रै होइन, अहिले पुननिर्माणमा पनि सरकारको काम पुगेको छैन । विपी लोकमार्गमा जनताले अहिले निकै पीडा भोगिरहेका छैनन् । यो लोकमार्ग आगामी वर्षातभित्रै पुनर्निर्माण गरिसक्नुपर्ने छ ।

सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ । हिजो उहाँलाई प्रधानमन्त्री बनाउन अफर गरेकाहरु आज न्यायपालिकालाई धम्क्याएर भए पनि फसाइछाड्ने षड्यन्त्रमा छन् । त्यसका लागि सिंगो राज्यको दुरुपयोग भएको छ । म सम्माननीय सभामुखलाई पनि निवेदन गर्दछु, अदालतले धरौटीमा छाडिसकेपछि संसदबाट रवि लामिछानेको निलम्बन कति संवैधानिक र कति न्यायपूर्ण छ ? यसको समीक्षा गरियोस् । राजनीतिक प्रतिशोध र पूर्वाग्रहबाट सम्पत्ति शुद्धीकरणको आरोप लाग्ने र त्यसबाट सांसद पद निलम्बन हुने हो भने भोलि यसको कुन तहसम्मको दुरुपयोग हुनसक्छ ?

सहकारी ठगीमा सरकारको मापदन्ड अन्यायपूर्ण मात्र छैन, पूरै गलत छ । सत्ताका मान्छे घरमै बसेर फरार हुन पाउँछन् । अन्तिम दिन अदालतमा हाजिर हुन पाउँछन् । त्यही दिन पेशी पाउँछन्, वयान दिन पाउँछन् । सरकारी वकिलले त्यही दिन टुंग्याउँछन् अनि त्यही दिन फैसला आएर आरोपी घर जान्छ । उता रोजगारीका लागि दलाललाई पैसा बुझाउने सोझा निर्दोष जनतामाथि मुद्दा चल्छ, तर मानव तस्करीमा सिधै जोडिएको मन्त्रीलाई मुद्दा नचलाएर उन्मुक्ति दिइन्छ । अहिले त तपाईहरु बलियो भएकाले बहादुरी गर्यौं पनि भन्नुहोला तर यसलाई जनताले गहिरो गरी नियालिरहेको छ । एकातिर प्रतिपक्षी पार्टीका सभापतिमाथि संगठित अपराधको समेत मुद्दा किन थपिएन भनेर महान्यायाधिवक्ता कार्यालयमार्फत जिल्ला सरकारी वकिलको सरुवा अनि छानविन गरिन्छ । अर्कोतर्फ त्यहिदिन सरकारी जग्गा भ्रष्टाचारमा आरोपित सत्तारुढ सांसदमाथि मुद्दा नचलाउने निर्णय सरकारी वकिल कार्यालयले गर्छ । सत्ताको यो तहको दुरुपयोग र मत्स्यन्यायले हामीलाई कहाँ पुर्याउँला ?

सरकार र गठबन्धनका लागि कानुनका फरकफरक मापदण्ड छन्, फरकफरक व्याख्या छन् । राजस्व छलीमा विशेष र सर्वोच्च अदालतले दोषी ठहर गरेर केही अर्ब नै जरिवाना तिराएको अनि ललिता निवास प्रकरणमा सरकारी अनुसन्धानमा रहेको व्यक्तिलाई दायाँ राखेर एउटा पार्टीको अध्यक्ष र यो मुलुकको प्रधानमन्त्री ढुक्कले आफ्नो पार्टी कार्यालयको भूमिपूजन गर्छन । कर छली प्रमाणित भएको र अहिले पनि सरकारी अनुसन्धानमा रहेको व्यक्तिले अर्को अर्ब खर्चेर त्यो कार्यालय बनाइदिने, नैतिक छ ? कानुनी छ ?
उता, सहकारी अपचलनमा सिधै संलग्न नभए पनि कम्पनीमा सहकारीको रकम आएकै कारण अर्को एउटा पार्टीको अध्यक्ष महिनौं हिरासतमा राखिन्छ, उसलाई सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलाइन्छ । यदि दोस्रो नेतालाई संगठित अपराधी मान्ने हो भने पहिलो नेता त्यो अपराधबाट कसरी जोगिन सक्छ ? कर छली र ललिता निवास प्रकरणबाट आएको पैसाले केन्द्रीय कार्यालय बनाइरहेको पार्टी संगठित अपराधको मतियार हो कि होइन ? यो सदनले गम्भीर रुपले विचार गर्नुपर्ने विषय ठान्छु म । भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक र अख्तियार ऐन संशोधनमा प्रधानमन्त्रीको ठाडो हस्तक्षेप नीतिगत भ्रष्टाचार हो कि होइन ?

अहिले यो बीचमा प्रधानमन्त्रीजीमा थुप्रै प्रश्न उठेका छन् । तपाईहरुलाई थाहै छ, यसवीचमा म सुदूर पूर्व झापादेखि सुदूर पश्चिम कन्चनपुरसम्म पुगेँ । सातै प्रदेशका कार्यकर्ता र जनतासँग अन्तक्र्रिया गरेँ । सत्ता पक्षका नेता कार्यकर्ताहरुले पनि मसित धेरै नै संवाद गर्नुभएको छ र अपेक्षा राख्नुभएको छ । यसबीचमा बन्द कोठामा होइन, ठूल्ठूला सभाहरुमा ठूलाठूला अन्तरसंवाद भए । म आज दावीका साथ भन्न सक्छु, जनताको मनोविज्ञान मैले अरु नेताका तुलनामा बढी बुझेको छु भन्ने मेरो दाबी छ । सातै प्रदेशको निष्कर्ष के छ त ? तपाईहरुले जसरी शासन चलाउँदै हुनुहुन्छ, त्यसले जनतामा एकदमै वितृष्णा थपेको छ । स्वार्थसमूहहरुप्रति तपाईहरुको वफादारी देखेर जनता उकुसमुकुस भएको छ । विचौलियासँगको सरकारको सम्बन्ध देखेर जनता विचलित भएको छ । मलाई डर छ, तपाईंहरुप्रतिको आक्रोश कतै व्यवस्थाप्रतिको आक्रोशमा नबदलियोस् । दोष तपाइको हो, व्यवस्थाको होइन ।

सभामुख महोदय,

अहिले नुवाकोटको शेरा दरबार चर्चामा ल्याइएको छ । प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मले त्यसमा विशेष चासो दिएको मलाई थाहा छ । कतै न कतै त्यसमा प्रचण्डलाई जोड्न सकिन्छ कि, जोड्न नसके पनि प्रचण्डलाई बदनाम गर्न सकिन्छ कि भनेर सरकारले धेरै मिहिनेत गरिरहेको छ । प्रधानमन्त्रीजी आफै लागेको मलाई थाहा छ । सरकार खोजिरहेको छ, एउटै पनि अपराध गरेन त पुष्पकमल दाहाल प्रचण्डले ? म आज वाइडबडीको कुरा गर्दिनँ । गिरिबन्धु, यति र ओम्नीको पनि चर्चा गर्दिनँ । तर, सबै नेता उस्तै हुन् भन्ने भाषा मन्जुर छैन मलाई । शेरा दरबारमा संलग्नता देखिन्छ भने मबाटै छानविन गर्नुहोस् । म यही रोस्टमबाट भन्छु, शेरा दरबारमा मेरो नाम जोडिन्छ भने छानविन सुरु गरौं र मबाट सुरु गरौं । म आज सम्मानित रोष्टममा भन्न चाहन्छु, शेरा दरबारमा कतै मेरो संलग्नता छ भने छानविन गरियोस् । अहिले प्रधानमन्त्रीजीप्रति थुप्रै प्रश्न उठेका छन्, यसमा उहाँ छानविनका लागि तयार हुने कि नहुने ? उहाँ यसमा तयार हुनुहुन्छ ? तपाई ढुक्क नहुनुहोला, जनताले निकायलिरहेको छ ।

म अलिकति संविधान संशोधनबारे पनि बोल्न चाहन्छु । यो सरकार बन्दै गर्दा चारैतिर संविधान संशोधनको गानाबजाना थियो । के के संशोधन हुन्छ, कसरी संशोधन हुन्छ, कहाँ संशोधन हुन्छ, पूरा व्याख्या र विश्लेषण थियो । अहिले लोडसेडिग भयो कि के भयो, त्यो फिल्म धेरै चलेको देख्दिनँ । प्रधानमन्त्री ओलीजीले पार्टीकै औपचारिक कार्यक्रममा दोहर्याइदोहोर्याइ संविधान संशोधन ०८७ सालमा हुन्छ भनेको सुनेँ । आज म विशेष गरी नेपाली कांग्रेसका साथीहरुलाई सोध्न चाहन्छु, अब म संविधान संशोधनबारे म बोलौं कि नबोलौं ? हिजो दुई प्रतिस्पर्धी दल मिले भन्ने समाचार लज्जापूर्ण हुन्छ भनेर तपाईहरुले त्यसलाई संविधान संशोधनको सैद्धान्तिक जामा लगाइलिनुभएको छ भनेर मैले यही रोष्टमबाट भनेको थिएँ, जुन अहिले पुष्टि भएको छ ।
कांग्रेस र एमालेका केही नेताले यसबीचमा अब देश दुई दलीय बनाइन्छ भनेर अलि धेरै नै ग्यारेन्टी गरेको सुनियो । म ती नेताहरुलाई सोध्छु, आज देश बहुदलीय भएको तपाईहरुको दया मायाले हो ? तपाईको करुणाले बनेको हो नेकपा (माओवादी केन्द्र) ? तपाईले दयाले खोलिदिएको हो कुनै बेलाको मधेशी जनअधिकार फोरम ? तपाईहरुले बक्सिस् दिएर आएको हो, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ सिट ? तपाईले चाहेर बनेको हो, सिके राउतजीले नेतृत्व गरेको जनमत पार्टी ? तपाईहरु चाहनुहुन्थ्यो त यो संसदमा नागरिक उन्मुक्ति पार्टीको उपस्थिति ? हामीहरु देशका मालिक हौं भन्ने ग्रन्थीबाट निस्कनोस् साथीहरु । छब्बीस महिनाअघिको निर्वाचनको मतादेशमै पनि आत्ममुग्ध नहुनोस् । यसरी नै सरकार चलाउँदै जानुभयो, यसरी नै जनताबाट अलग्गिदै जानुभयो भने अहिलेकै थ्रेसहोल्ड तपाईहरुलाई नै धेरै हुँदैछ, अरुको चिन्ता नगर्नोस् । आफ्नै पार्टीबाट कार्यकर्ता पलायनका पछिल्ला बहिखाता हेर्नोस् र घमन्डबाट ब्युँझनोस् । कुनै बेला सोह्र वर्षमा पन्ध्र सरकार बनाएर कीर्तिमान कायम गरेका तपाईहरुले समानुपातिक प्रतिनिधित्व प्रणाली र समावेशीतालाई संशोधन गर्न त परेको कुरा, छुन पनि सक्नुहुन्न । यो मेरो खुला चुनौती भयो ।
सभामुख महोदय,
मैले यो चुनौती राष्ट्रिय सभामा माओवादीको पोजिसनका कारणले दिएको होइन । दलित, महिला, मधेशी, आदिवासी, जनजाति, थारुलगायत उपेक्षित, उत्पीडित वर्गले पाएको अहिलेको अधिकार नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना पार्टीहरुका स्थापना दिवसमा उपहार दिएका होइनन् । अहिलेको सम्मानपूर्ण समानुपातिक प्रतिनिधित्व र समावेशिता उत्पीडित वर्गले आफ्नै रगत बगाएर ल्याएको हो। सीमान्त वर्गको आत्मसम्मान र प्रतिनिधित्व खोस्न अब सम्भव छैन । भोलि माओवादीको एकै सिट मात्र बाँकी नरहे पनि तपाईहरु अब पुरानो ठाउँमा फर्किन सक्नुहुनेछैन । हिजो माओवादीले जगायो होला तर अब उत्पीडित वर्ग र वर्ण आफ्नो लडाइ आफै लड्न सक्ने भइसकेको छ । तपाईहरु पहिला आ–आफ्नै पार्टीभित्रका सरोकारवाला सम्हालेर देखाउनोस् अनि हामीसँग कुरा गर्नुहोला । दलहरुबीच आजसम्मका ऐतिहासिक र युगान्तकारी सहमतिहरु मिचेर संविधान संशोधनका नाममा राष्ट्रलाई नचाहिने द्वन्द्वतिर लैजाने चेष्टा नगर्नोस् ।
संघीय लोकतान्त्रिक गणतन्त्र तपाईहरुका लागि राजनीतिक सम्झौता होला, माओवादीका लागि त आफ्नै रगतले जन्माएको सन्तान हो । समानुपातिक समावेशिता तपाईहरुले शान्तिका लागि स्वीकार गर्नुभएको होला, माओवादीका लागि त्यो आफ्नै रगतले लेखेको संकल्प हो । एउटा अभिभावकका रुपमा आफ्नो सन्तानको रक्षा कसरी गर्नुपर्छ हामीलाई थाहा छ । त्यसैले संविधान संशोधन नै गर्ने हो भने महिलालाई ५० प्रतिशत, जनसंख्या र विशेषधिकारका आधारमा दलितलगायतको प्रतिनिधित्व हुने गरी पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔं । प्रत्य क्ष निर्वाचित कार्यकारी प्रणालीमा जाऔं । यसमा छलफल गर्न तपाईहरु तयार हुनुहुन्छ ?

सभामुख महोदय,

हुन त सरकारमाथिका हाम्रा रचनात्मक आलोचनालाई एक थरी साथीहरु सत्ताबाट बाहिरिनुको छटपटी भनेर सामान्यीकरण गर्न खोज्नुहुन्छ । जनताको आवाजलाई पनि सोसल मिडियाको विकृति भनेर पन्छिन सजिलो होला तर सत्तारुढ पार्टीहरुकै बैठकमा व्यक्त हुन थालेका असन्तोषलाई के भन्नुहुन्छ तपाईहरु ? सरकारको प्रतिरक्षा गर्न दिनदिनै औपचारिक आदेश दिँदा पनि किन छैन माननीयहरुसँग मनोवल ? किनकि, सरकार अहंकारपूर्ण तर गलत बाटोतिर गइरहेको छ । संख्याको उन्माद र शक्तिको दुरुपयोगमा रमाइरहेको छ । अलिकति पनि लज्जाबोध नगरी स्वार्थसमूहहरुको, अझ माफियाहरुको सेवामा लागिरहेको छ । यसले जनतामा सरकारमात्र होइन, समग्र प्रणालीमाथि नै असन्तोष जगाइरहेको छ ।

पछिल्ला सात महिनामा जनताको आक्रोश ज्यामितीय रुपमा बढेको छ । सरकारको यो तहको कमजोरी प्रतिपक्षी नेताका रुपमा मेरो सन्तोषको विषय हुनुपर्ने हो, तर म चिन्तित छु । म सरकारलाई यही रोष्टमबाट भन्न चाहन्छु, जनताका बीचमा अब सरकारको कुनै क्रेडिबिलिटी बाँकी छैन, कुनै विश्वास बाँकी छैन । जनताप्रति सरकारको हदैसम्म गैरजिम्मेवारी तर विचौलिया र स्वार्थसमूहको खुला तरफदारीले देश आक्रोशित छ । सत्तापक्षका मान्छेलाई कानुन मिच्न होइन, कानुन नै खान दिएको देखेर देश विचलित छ। उद्योगीबाट विजुलीको अर्वौं बक्यौता उठाउनै नखाजेको तर भुँइमान्छेका घरको लाइन काटेको देखेर देश रन्थनिएको छ । त्यो आवेग र आक्रोश आज सामाजिक सञ्जालमा सीमित छ, तर मलाई चिन्ता छ, भोलि त्यो सडकमा पोखिन सक्छ । यही सत्य स्वीकार गरेर सरकार सुध्रियो हो भने हामी सहयोग गर्न तयार छौं । यो राजनीतिक आलोचना मात्र होइन, समस्या समाधानका लागि दिएको औषधिको रुपमा लिइयोस् । मेरो शुभेच्छा छ। धन्यवाद ।

शेयर बजार ११ अंकले घट्यो

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से ११.६४ अङ्कले घटेर २ हजार ६ सय ९९.८१ विन्दुमा झरेको छ ।

आज फाइनान्स बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक र अन्य समूहको शेयर १ प्रतिशतभन्दा धेरैले ओरालो लागेको छ । आज उपकार लघुवित्त वित्तीय संस्था र कर्पाेरेट विकास बैंक समूहको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटेको दिन अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । आज ३१५ वटा कम्पनीका १ करोड ८६ लाख कित्ता शेयर ९ अर्ब २४ करोड रुपैयाँमा किनबेच भएको छ ।

राष्ट्रियसभा बैठकमा पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक पेस

काठमाडौँ । राष्ट्रियसभाको बिहीबारको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले  पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक–२०८१ पेस गरेका छन् ।

उनले सामुद्रिक कानुनीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभइ भूपरिवेष्ठित मुलुककोसमेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ लागू भए पश्चात दर्जनौं अन्तर्राष्ट्रिय महासन्धि लागू भइसकेको बताए ।

ती महासन्धिका प्रावधान उक्त ऐनले नसमेट्ने हुँदा नेपाली ध्वजाबाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको उनले उल्लेख गरे ।

उनले समुद्रमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनका अतिरक्त  कैयौं नेपाली विभिन्न मुलुकका पानीजहाजमा काम गर्दै आएको अवस्थामा ती नेपालीलाई नाविक किताब, नाविक परिचयपत्रलगायत ती कामदारको तालिम, स्वास्थ्य परीक्षण लगायतका विषय समेट्न आवश्यक देखिएको तथा नेपालभित्रकै विभिन्न नदी तथा तालमा विभिन्न क्षमताका जलयानहरु सञ्चालनमा आइरहेको अवस्थामा ती जलयानको दर्ता तथा नियमनको व्यवस्था गर्दै आन्तरिक जलयातायातलाई प्रवद्र्धन गर्न आवश्यक देखिएकाले विधेयक पेस गरिएकोे बताए ।

भूकम्प र बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणको कामको जानकारी दिन महामन्त्री थापाको माग

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जाजरकोटको भूकम्प र असोजमा गएको बाढीका बारेमा गरिएका काम र स्रोत जुटाउने विषयमा भइरहेका कामबारे सरकारसँग जवाफ माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा थापाले जाजरकोटका भूकम्पबाट ९२ हजारभन्दा बढी घर पुननिर्माण गर्नुपर्ने आँकलन गरिए पनि कतिपयले दोस्रो किस्ता पाउन नसकेको भन्दै स्रोत जुटाउने विषयमा भइरहेका कामबारे जवाफ माग गरेका हुन् ।

उनले भने, ‘हामी सुन्न पनि चाहन्छौँ र छलफलमा भाग लिन पनि चाहन्छौं । पुननिर्माण धेरै परको कुरा, दोस्रो किस्ता पनि कतिपय परिवारले पाएका छैनन्। उदेकलाग्दो कुरा त क्षतिको विस्तृत लेखाजोखा (डीडीए) भर्खर मात्रै भएको छ ।’

उनले असोजको बाढीमा बगेका र भत्केका घरहरूको अस्थायी आवासका निम्ति मंसिर मसान्तभित्र अनुदान दिने राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले निर्णय गरे पनि कतिपयले पहिलो किस्ताको अनुदान नै नपाएको बताए ।

बहुमतको दुरुपयोग गर्न खोजे प्रतिवाद गर्ने प्रचण्डको चेतावनी

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न खोज्ने प्रतिरोध गर्ने चेतनावी दिएका छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु सत्ताको खेलमा नरहेको र बहुमतको दुरुपयोग गर्न खोजे त्यसको प्रतिवाद गर्ने बताएका हुन् ।

उनले भने, ‘माओवादीबाट सत्ताको खेल तलमाथि होला कि भनेर डराइरहेको देख्छु म । सम्मानित संसदमै म फेरि एकपटक दोहर्याउँछु, हामी अब सत्ताको खेलमा छैनौं । तपाईंहरु देखिरहनुभएको छ, हामी त जनतातिर फर्किसक्यौं । शहीदका सपना र संकल्पतिर फर्किसक्यौं । तपाईंहरुका संगतले थोरै मैलिएका थियौं, धुलिएका थियौं । आधारभूत वर्गबाट थोरै टाढिएका थियौं । त्यो धुलो र मैलो टक्टक्याएर हामी फेरि गरीब, सीमान्त वर्ग र वर्णतिर फर्किसक्यौं ।’

उनले अब बिपक्षीको डरले एकअर्काका कुर्सी मिलाउन नलाग्न पनि आग्रह गरे । उनले भने, ‘ हरेक दिन दिन गनेर आलोपालोको घोषणा गरिरहनुपर्ने गरी विश्वासको यति धेरै संकट राम्रो देखिएन । हामीसँग डराएर हरेक दिन सत्ता हस्तान्तरणको राग गाइरहन पर्दैन, यति दिनमा धरोधर्म छाड्छु भनेर कसम खाइरहन पर्दैन । तपाईंहरूमा आपसमा साँच्चै विश्वास भएको भए । हरेक ठाउँमा समयमै छाड्छु भनिरहनुपर्ने । के शेरबहादुरजीले सुन्नु हुन्न र ? शेरबहादुरजीको कान र आँखा तगडा छन् । धेरै पटक भन्न पर्दैन । म प्रधानमन्त्रीजीलाई भन्न चाहन्छु ।  ०८४ सम्ममात्र किन, त्यो पछि पनि सँगै जानोस्, मेरो शुभकामना छ । सरकारको खेलमा हामी छैनौं तर, अहिले जसरी नै संसदको बहुमतको दुरुपयोग गरेर माफियालाई देश बेच्न हिडिरहनुभयो भने हामी प्रतिरोध गर्छौं ।’

अध्यादेशमा स्वार्थ समूहको हित हेरिएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले जारी गरेका अध्यादेशको विरोध गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सरकार संसद अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्को अध्यादेशहरु ल्याएको बताएका हुन् । उनले संसद नबोलाएर अध्यादेश जारी गर्नु सही नियत नभएको बताए ।

उनले भने, ‘माघ ८ गते संसदको बैठक आव्हान गरिएको छ तर जम्मा ६ दिनअघि दर्जनौं ऐन संशोधन गर्ने गरी पाँचपाँचवटा अध्यादेश ल्याइएको छ । पछिल्ला पैंतीस वर्षमा नेपाली कांग्रेसले १२ पटक प्रधानमन्त्री चलाएछ । नेकपा एमालेले सात पटक, पैंतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईंहरु पनि अब विकासको हाजी हुनुभएको हो ?’

उनले कांग्रेस एमालेलाई संसदमा दुई तिहाइको घमन्ड नगर्न चेतावनी दिए । उनले भने, ‘बलियो सरकारको अहंकार सुन्नुपर्ने । अनि शासनचाहिँ अध्यादेशहरुबाट चलाउने ? यो सार्वभौम संसदको अपमान र अवहेलना हो । यो केवल हामी विपक्षसँग सरकारको डरमात्र होइन, आफूलाई समर्थन गरेका सत्तापक्षका माननीयहरुमाथि समेत सरकारको अविश्वास हो ।’

रविको सांसद पद फुकुवा गर्न रास्वपा सांसद साहको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा रास्वपाका सांसद असीम साहले सभापति लामिछानेको सांसद पद निलम्बन फुकुवाको माग गरेका हुन् ।

उनले लामिछानेलाई पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य भएको जिकिर गरे । उनले भने, ‘रवि लामिछानेलाई संसद पदबाट निलम्बन गर्नु पूर्ण गैरकानुनी कार्य रहेको छ । संसद कुनै व्यक्तिको, कुनै दल विशेषको वा सत्ताधारीको निजी अखडा होइन । हामी सुसंस्कृतिक राजनीतिमा विश्वास गर्छौँ । संसदीय मर्यादालाई ध्वस्त पार्ने काम बदर गरियोस् र रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गरियोस् ।’

सामाजिक सञ्जालसम्बन्धि विधेयकमा राज्यले युवाको आवाज सुन्नुपर्छः सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धि विधेयकमा युवाको विरोध भएकाले संवादबाट समाधान खोज्न आग्रह गरेकी छन् ।

बिहीबारको प्रतिनिधिसभाको बैठकमा सांसद श्रेष्ठले युवाहरुको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडेन्टिटी कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरुले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ।’

उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई दबाउन नहुने बताइन् । उनले दुईतिहाइको दम्भ प्रयोग गरेर विधेयक अगाडि बढाउन खोजेको भन्दै आपत्ति जनाइन् ।

भोजपुरमा ‘ग्रेटर मुन्दुम’ पदमार्गको काम सुरु

भोजपुर। भोजपुरमा ग्रेटर मुन्दुम पदमार्ग विस्तारको काम अघि बढेको छ । सुनसरीको कोशी टप्पु, उदयपुरको बेलका नगरपालिको मैनामैनी, भोजपुर हतुवागढीको माईबेनी हसनपुर हुँदै सेल्मे, तावाभञ्याङसम्म पदमार्ग जोड्ने लक्ष्यका साथ ‘ग्रेटर मुन्दुम ट्रेल’को काम सुरु भएको हो ।

यो ट्रेलको काम सुरु भएको भोजपुरको हतुवागढी, आमचोक र रामप्रसाद राई गाउँपालिकाको अन्तरपालिका बैठक बसेर थप योजना निर्माण गरिएको छ । तीन वटा नै स्थानीय तहका अध्यक्षको उपस्थितिमा पदमार्ग उपभोक्ता र निर्माण समितिलाई अभिमुखीकरण कार्यक्रमसमेत गरिएको छ ।

परियोजनाका कर्मचारी तथा स्थानीय पालिकाका इञ्जिनीयरहरुले उपभोक्ता समितिलाई काम कसरी गुणस्तरीय ढङ्गले गर्ने भन्ने विषयमा सहजीकरण गरेका हुन् ।

यो पदमार्गले किरातहरूको आस्थाको केन्द्रका रूपमा रहेको खुवालुङ क्षेत्र नसमेटिएका कारण धनकुटा, उदयपुर र भोजपुरका सात स्थानीय तहहरूको अन्तरपालिका बैठक बसेर सो क्षेत्र हुँदै पदमार्ग विस्तारको विषयमा छलफल गर्ने तयारी भइरहेको हतुवागढीका अध्यक्ष प्रेमकुमार राईले बताए ।

कोशी प्रदेश सरकारको पर्यटन मन्त्रालय, पदमार्गमा आधारित पर्यटन विकास परियोजना, धनकुटाका सहिदभूमि र साँगुरीगढी गाउँपालिका, उदयपुरको बेलका नगरपालिका, भोजपुरको हतुवागढी तथा आमचोक र रामप्रसादराई गाउँपालिकाबीच छलफल गरेर खुवालुङ क्षेत्र हुँदै पदमार्ग विस्तार गर्ने योजना रहेको अध्यक्ष राईको भनाइ छ ।

‘हामीले भोजपुरमा तीन स्थानीय तहको अन्तरपालिका बैठक सम्पन्न गरेका छौँ’, अध्यक्ष राईले भने, ‘सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुर हुँदै भोजपुरसम्म विस्तार हुन लागेको ग्रेटर मुन्दुम पदमार्गमा खुवालुङ क्षेत्र छुटेको अवस्था छ, यहाँ महत्त्वपूर्ण खुवालुङ क्षेत्रलाई समेट्न तीन जिल्लाका सात स्थानीय तह र सरोकारवाला पक्षसँग छलफल गर्ने तयारीमा छौँ ।’

चार वर्षसम्म निर्माण हुने ग्रेटर मुन्दुम पदमार्ग निर्माणमा स्वीस सरकारको ५५ प्रतिशत, प्रदेश सरकारको १९ प्रतिशत, स्थानीय सरकारको १८ प्रतिशत र सङ्घ सरकारको आठ प्रतिशत लागत साझेदारी हुने अध्यक्ष राईले जानकारी दिए । पहिलो आर्थिक वर्ष २०८१-८२ मा हतुवागढी–९ हसनपुर, आमचोक–२ यूँ र रामप्रसाद राई–६ बैकुण्ठेमा पदमार्ग निर्माणको काम सुरुआत भएको अध्यक्ष राईको भनाइ छ ।

निर्माण हुन लागेको ग्रेटर मुन्दुम ट्रेलको रुटमा ऐतिहासिक खुवालुङ क्षेत्र छुटेकाले यसलाई पनि समेट्नका लागि पहल गरिने रामप्रसाद राई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले बताए। रामप्रसाद राईमा पहिलो चरणमा रु ३० लाख लागतमा पदमार्ग निर्माणको काम सुरु भएकोसमेत उनले जानकारी दिए। सोही रकम बराबरमा हतुवागढी र आमचोक गाउँपालिकामा पनि पदमार्ग निर्माणको काम सुरु भएको अध्यक्ष राईको भनाइ छ ।

ग्रेटर मुन्दुम पदमार्ग सुनसरीको कोशी टप्पुबाट सुरु भएर उदयपुरको मैनामैनी हुँदै भोजपुर हुतुवागढीको माइबेँनी, शिला सुत्केरी, सङ्खामचुली, आमचोक गाउँपालिकाको बयाङ, यूँ, रामप्रसाद राईको वडा नं ६ थामडाँडा, गोल्मे भिर, सुच्चागुफा नागँछाँगा, वडा नं २ को पाप्माखामगढी, बतासे र वडा नं १ ओख्रेबाट टेम्केमैयुङ–९ को कपासे भञ्याङसम्म विस्तार हुने रामप्रसाद राई–६ का वडाध्यक्ष एकराज आचर्यले बताए।

तावा भञ्याङमा यसअघि निर्माण भएको मुन्दुम पदमार्गसँग जोडिएपछि भोजपुरको सबैभन्दा अग्लो स्थान साल्पासिलिचुङसम्म पुग्दा यो पदमार्गको लम्बाइ करिब १६८ किलोमिटर हुने जनाइएको छ । पदमार्गमा आधारित पर्यटन विकास परियोजना विराटनगरअन्तर्गत काम भइरहेको छ । यो कार्यक्रम विसं २०८१ बाट २०८५ सम्म सञ्चालन हुने जनाइएको छ ।

चार वर्षका लागि स्वीस सरकार र प्रदेश सरकारबीच सम्झौता भएको छ । पुनः स्थानीय सरकार र प्रदेश सरकारबीच पनि सम्झौता भएर काम अघि बढेको हो ।

अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले ल्याएका ६ वटा अध्यादेश आज सदनमा निर्णयार्थ पेस नहुने भएका छन् । जनता समाजवादी पार्टी नेपालले निर्णय नदिएपछि सरकार अध्यादेश निर्णयार्थ पेस गर्ने निर्णयबाट पछि हटेको हो ।

बिहीबार बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सरकाले अध्यादेशलाई लिएर सहमति जुटाउने प्रयास भइरहेको बताएको छ । बैठकमा सरकारले अझै सहमतिको पहल भइरहेकाले अध्यादेशसम्बन्धी प्रस्तावलाई कार्यसूचीमा नराख्न आग्रह गरेको थियो ।

कानुनमन्त्री अजय चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाललाई भेटेर अध्यादेश निर्णयार्थ पेस गर्ने कार्यसूची बिहीबारका लागि नराख्न आग्रह गरेका छन् ।

त्यसपछि आजको बैठकमा अध्यादेश पेश नगर्ने गरी अन्तिम कार्यसूची तयार गरिएको हो । ती अध्यादेश अस्वीकृत गर्न प्रतिनिधिसभामा प्रतिपक्षी दलका सांसदहरूले ५० र राष्ट्रिय सभामा १६ वटा अस्वीकृत प्रस्ताव दर्ता गरेका थिए ।

पहिलो आइभिएफ कङ्गारु भ्रुण उत्पादन गरेको अस्ट्रेलियाको दाबी

सिड्नी । अस्ट्रेलियामा आधारित वैज्ञानिकहरूले बिहीबार इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) मार्फत विश्वको पहिलो कङ्गारु भ्रुण उत्पादन गरेको बताएका छन् । यसलाई उनीहरूले खतरामा परेका मार्सुपियलहरू बचाउने दिशामा महत्त्वपूर्ण कदमका रूपमा प्रशंसा गरेका छन् ।

क्विन्सल्याण्ड विश्वविद्यालयको नेतृत्वमा रहेको टोलीले भविष्यमा दुर्लभ मार्सुपियलहरूका लागि आइभिएफ प्रयोग गर्ने लक्ष्यका साथ यो प्रविधि पूर्वी खैरो कङ्गारुहरूमा प्रयोग गरेको बतायो । यिनीहरूको सङ्ख्या लाखौँमा छ ।

“अस्ट्रेलिया विश्वकै सबैभन्दा विविध मार्सुपियल जीवजन्तुहरूको घर हो तर यहाँ स्तनपायी विलुप्त हुने दर पनि सबैभन्दा बढी छ”, प्रमुख अनुसन्धानकर्ता आन्द्रेस गाम्बिनीले विज्ञप्तिमा भनेका छन्, “हाम्रो अन्तिम लक्ष्य कोआला, तास्मानियन डेभिल, उत्तरी रौँ भएको नाकवाला वोम्ब्याट र लिडबिटर पोसम जस्ता लोपोन्मुख मार्सुपियल प्रजातिहरूको संरक्षणमा सहयोग गर्नु हो ।”

वैज्ञानिकहरूले एकल शुक्राणुलाई सिधै परिपक्व अण्डामा प्रवेश गराउने प्रविधिद्वारा भ्रुणहरू उत्पादन गरे ।

“पूर्वी खैरो कङ्गारुहरूको सङ्ख्या धेरै भएकाले हामीले घरेलु जनावर र मानिसहरूमा पहिले नै प्रयोग गरिएका भ्रुण प्रविधिहरूलाई अनुकूल बनाउने मोडेलका रूपमा प्रयोग गर्न तिनका अण्डा र शुक्राणु सङ्कलन गर्यौँ”, गाम्बिनीले भने, “हामी अहिले मार्सुपियल अण्डा र शुक्राणु सङ्कलन, संवर्धन र संरक्षण गर्ने प्रविधिहरू परिष्कृत गर्दैछौँ ।”

उचित सहकार्य, कोष र प्राविधिक प्रगतिका साथ एक दशकभित्र आइभिएफ–सहायता प्राप्त मार्सुपियल जन्म सम्भव हुनसक्ने अनुसन्धानकर्ताले बताएका छन् । 

अस्ट्रेलियामा कङ्गारुको कूल सङ्ख्या तीन करोडदेखि छ करोडबीचमा उतारचढाव हुन्छ र जनसङ्ख्या नियन्त्रणका लागि तिनीहरूलाई प्रायः मारिन्छ ।

यी जनावरहरूको ‘वृद्धि र पतन’ जनसङ्ख्या चक्र हुन्छ । जब राम्रो वर्षा मौसमपछि चारा प्रशस्त हुन्छ तिनीहरूको सङ्ख्या करोडौँले बढ्न सक्छ । तर केही अन्य मार्सुपियल जनसङ्ख्या धेरै नै जोखिममा छन् ।

उदाहरणका लागि २० हजारदेखि ५० हजार तास्मानियन डेभिलहरू मात्र जङ्गली अवस्थामा बाँचेका छन् भन्ने अनुमान गरिएको छ । यिनीहरू सन् १९९० को दशकको मध्यतिर रहस्यमय अनुहारको ट्युमर रोग पहिलो पटक देखा पर्नुअघि एक लाख ५० हजारसम्म थिए ।

कङ्गारु आइभिएफ अनुसन्धान प्रजनन, प्रजनन क्षमता र विकास नामक सहकर्मी–समीक्षित जर्नलमा प्रकाशित भएको छ ।

मेलामार्फत लोक संस्कृतिको संरक्षण 

पाल्पा । कला, संस्कृति मानव जीवनका सिकाइ भएकाले यहाँ लोक संस्कृति संरक्षण गर्न थालिएको छ । कला, संस्कृति संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले रामपुर महोत्सव तथा व्यापार मेलाको आयोजना गरी लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने अवसर प्रदान गरिएको हो ।

व्यक्तिभित्र लुकेर रहेका कला, संस्कृतिलाई उजार गर्न रामपुर मेलाले एउटा अवसर सिर्जना गरेको स्थानीय बताउँछन् । यही माघ १५ गतेदेखि सुरु भई २७ गतेसम्म सञ्चालन हुने ‘चौँथो रामपुर महोत्सव तथा व्यापार मेला’मा लोकदोहोरी प्रतियोगितामार्फत लुकेर रहेका प्रतिभालाई अवसर प्रदान गरिएको हो । 

लोकदोहोरी प्रतियोगिताको उपाधि नमस्ते होटल पाल्पाको समूहले हात पारेको छ । दोहोरीको अन्तिम प्रतिस्पर्धामा राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान पाल्पालाई पछि पार्दै नमस्ते होटेलले उपाधि जित्दै नगद  ५१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ । 

नमस्ते होटलको तर्फबाट दिपेन्द्र पौडेल र सीता भण्डारीले प्रतियोगितामा सहभागी भई प्रतिस्पर्धामार्फत उपाधि हात पारेको दोहोरी गीत प्रतियोगिताका संयोजक एवं राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान केन्द्रिय अध्यक्ष नारायण खनाल ‘लेकाली’ ले जानकारी दिए । 

उपविजेता समूह बनेको राष्ट्रिय लोक तथा गीत प्रतिष्ठानले नगद ३१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेको छ । यस समूहमा सुमन थापा र सीमा सारुले प्रतिनिधित्व गरेका थिए ।

पृथ्वी टेलिभिजन रामपुर र होटल श्रीनगर रामपुरले समान अङ्क प्राप्त गर्दै तृतीय स्थान ओगट्दै प्रतिसमूह नगद २१ हजार एक सय ११ र प्रमाणपत्र प्राप्त गरेका छन् । पृथ्वी टेलिभिजनको तर्फबाट तोयानाथ विक र विपना खनाल तथा श्रीनगर होटलबाट विष्णु आजात र भुवन अधिकारीले प्रतिनिधित्व गर्नुभएको थियो । प्रतियोगितामा आठ समूहको सहभागिता थियो । 

राष्ट्रिय लोक तथा गीत प्रतिष्ठान स्याङ्जाका सुदीप सापकोटा उत्कृष्ट गायक र चापाकोटका मनिषा पोखरेल उत्कृष्ट गायिका घोषित भएका छन् । लोकदोहोरीका नयाँ प्रतिभाहरूको खोजी, प्रतिभा प्रस्फुटन र मौलिकताको संरक्षण गर्न प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

लोकदोहोरी गीतको मौलिकतालाई जोगाउन र प्रवद्र्धन गर्न प्रतियोगितात्मक कार्याक्रम आयोजना गरिएको रामपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष भोजेन्द्रप्रकाश ढकालले बताए । 

अध्यादेशका पक्षमा उभिन आफ्ना सांसदलाई कांग्रेसको ‘ह्वीप’

काठमाडौं । नेपाली कांग्रेसले सरकारले ल्याएका अध्यादेशहरूको पक्षमा उभिन सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले संघीय संसद्को दुवै सदनका सदस्यहरूलाई मोबाइल फोनमा ‘म्यासेज’ गरेर अध्यादेशहरूको पक्षमा उभिन ‘ह्वीप’ लगाएका हुन् ।

कांग्रेस प्रमुख सचेतकले सांसदहरुलाई पठाएको म्यासेजमा भनिएको छ, ‘आज २४ गते १ बजे बस्ने संसद्को बैठकमा अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने हुँदा बैठकको अन्तिम समयसम्म उपस्थित रहन यो व्हिप जारी गरिन्छ ।’

सरकारले ल्याएका ६ वटा अध्यादेश आजको संघीय संसदका दुवै सदनको बैठकमा निर्णयार्थ पेस हुँदैछन् ।

मानसिक स्वास्थमा भोजनको प्रभाव

-डा. अरुणा उप्रेती

चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार “सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।”

सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजनले मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्छ । त्यसैगरी विभिन्न फलफूलजस्तै सुन्तला, जुनार, अम्बा, विभिन्न प्रकारको बेरीहरु जस्तै (काफल, एैसेँलु, स्ट्रबेरी जस्ता) फलफूलमा शरीरमा एन्टिअक्सिडेन्ट (बढौती हुने प्रक्रिया न्यूनीकरण गर्ने) तत्व, रेशादार हुन्छन् । यी तत्वहरुले मानसिक स्वास्थ्य सबल राख्न भूमिका खेल्छन् ।

त्यसैगरी तरकारी जस्तो ब्रोकाउली, काउली, मुला आदिजस्ता तरकारी पनि महत्वपूर्ण मानिन्छन् । गाढा हरियो पात, रङ्गिन तरकारी जस्तैः फर्सी, चुकन्दर, रातो बन्दा आदिमा पर्याप्त मात्रामा फाइटोकेमिकल (एक रसायन जुन मस्तिष्कको लागि उपयोगी) हुन्छ । मानसिक स्वास्थ्यमा सकरात्मक असर पार्छ । स्वस्थकर खानाको चर्चा गर्दा वैज्ञानिकले महत्वपूर्ण कुरा शुरुवात भएको छ । मानसिक स्वास्थ्य समस्या भएर आएका बिरामीलाई ओखर, विभिन्न बियाँ (आलस, तिल, फर्सीको बियाँ) र रङ्गिन दलहन र कालो दाल, रातो दाल मुगे प्रयोग गर्ने सल्लाह दिइन्छ ।

डा शर्माको भनाइले स्पष्ट हुन्छ कि प्रायःमानसिक स्वास्थ्य सबल राख्न पनि त्यस्ता भोजनले भूमिका खेल्छन जुन भोजनले मुटु, कलेजो, पाचन प्रणाली स्वस्थ राख्छ । विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेका छन् । डा शर्माको भनाइअनुसार “मस्तिष्कको लागि भिटामिन ‘बी’ १२, भिटामिन ‘डी’ आदि पनि महत्वपूर्ण छन् । भिटामिन ‘बी’ १२ को धेरै कमी भए बिर्सने रोगको जस्तै लक्षण देखा पर्ने सम्भावना हुन्छ । “चरुवा कुखुराको अण्डा, ताजा पानीका माछा, चरुवा जनावरको मासुको सेवन मस्तिष्क स्वस्थ राख्न उपयुक्त हुन्छ । हुन त कति स्वास्थ्यकर्मीले भिटामिन ‘बी’ १२ शाकाहारी भोजनमा पाइन्न भन्ने ठान्छन् । तर वनस्पतिजन्य भोजन जस्तैः चिज, पनिर, दही, मोहीले शरीरमा भिटामीन ‘बी’ १२ पुग्छ” भन्ने डा शर्माको अनुभव छ । “मष्तिस्कका कोषिकाहरु नष्ट भएपछि पुनर्जीवित हुँदैनन्, त्यसैले नष्ट हुने प्रकिृया न्यूनीकरण गर्न सकेसम्म स्वास्थ्यका भोजनमा ध्यान दिनुपर्छ ।”

विगत केही वर्षदेखि पोषण र मानसिक स्वस्थ अनेक अनुसन्धान भइरहेको र मानसिक रोग विज्ञले मानसिक रूपमा स्वस्थ रहन व्यायाम, निद्रा, सामाजिक सक्रियातालाई पनि महत्वपूर्ण ठान्छन् । मानसिक समस्या भएर विभिन्न औषधि सेवन गर्दा त्यसबाट हुने ‘साइडइफेक्ट’ न्यूनीकरण गर्न पनि पौष्टिक भोजनको जरुरत पर्दछ । कुनै औषधिले कब्जियत गराए पर्याप्त मात्रामा सुप, पानी वा मोही पिउने र विभिन्न थरिका साग, फलफूलजस्ता रेशादार तत्व बढी भएका भोजनको प्रयोग गर्नुपर्छ । त्यसैगरी अनिद्राको कारणले मस्तिष्क र पाचन प्रणालीमा समस्या हुनसक्ने भएकाले यो बेलामा पनि भोजन र जीवनशैलीसम्बन्धी परामर्श दिइन्छ । सुत्ने बेला तातो दूध र बेसारको सेवन गर्ने, रातिको समयमा धेरै क्यालोरी र बोसोजन्य वस्तु आदि नखाने सल्लाह दिइन्छ । पाचन अङ्ग आन्द्रा र आन्द्रामा भएका सुक्ष्म किटाणुले पाचन प्रणालीलाई मजबुत गराउनेछ भने हालै वैज्ञानिक अनुसन्धानले देखाएको छ ।

मानसिक स्वास्थ्यसँग भोजन जोडिएको छ भन्ने तथ्य त केही चिकित्सकले अगाडिदेखि भन्दै आए पनि यो कुरा आम मानिसले बुझ्न अझै बाँकी छ । पेटभित्रको अङ्गको फरकफरक सञ्चालन प्रकृया छ । आकाश गङ्गामा खर्बांै तारा रहे जस्तो पेटभित्र पनि खर्बौं किटाणु छन् । जीवाणु, ढुसी आदि शरीरको विभिन्न भाग (आन्द्र) भूुँडीको साथै फोक्सो आदिमा अवस्थित रहन्छन् । यिनको उपस्थितिले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा भूमिका खेल्न सक्नेबारे अनुसन्धान भइरहेको छ ।

आधुनिक चिकित्सा विज्ञानले भन्छ, ‘धेरैजसो शारीरिक रोगको जरो पेटमा हुन्छ ।’ आयुर्वेद विज्ञानले पनि पेटको समस्या परेपछि विभिन्न रोग उब्जिन्ने उल्लेख गरेको छ । अहिलेको वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ कि ‘पेटको स्वास्थ्यले मानसिक स्वास्थ्यमा पनि असर पर्छ । सजिलो बुझ्ने भाषामा बुझ्ने हो भने मानसिकरूपमा सबल हुन स्वस्थकर भोजन चाहिन्छ । मानसिक रोगीलाई केबल पेटको स्वास्थ्य राम्रो पारेर मात्रै उपचार गर्न सकिन्छ भन्ने होइन । मानसिक तनाव, डिप्रेसन, छारेरोग, उन्माद हुँदा औषधिको जरुरत पर्छ नै । कतिलाई त लामो समय औषधि जरुरत पर्छ । तर मानसिक रोग लागेका मानिसलाई औषधिको साथै स्वस्थ भोजनको पनि जरुरत पर्छ भन्ने चाहिँ पक्कै हो । जस्तो छारेरोग लागेको मानिसले जाँड रक्सी त छुनै हुँदैन ।

हाम्रो पेट स्वस्थ भयो भने अर्थात् स्वस्थ खाना खायौँ भने मानसिक स्वास्थ्यको उपचार पनि ठूलो भूमिको खेल्छ । पेट र सम्बन्ध दुईबीचको प्रगाढ सम्बन्ध छ । यतिसम्म कि पेटलाई त दोस्रो मस्तिष्क नै मानिएको छ । यो स्पष्ट छ कि पेटमा रहेको खर्बौँ जीवाणुको स्वास्थ्य पनि हाम्रो भोजनमा नै निर्भर रहन्छ । अनि तीनै जीवाणुले र किटाणुले हाम्रो मस्तिष्क भावना उत्तार चढावमा भूमिका खेल्छ । सरकारको स्वास्थ्यको कार्यक्रममा मानसिक रोगको उपचार र मानसिक स्वास्थ्य अति कम प्राथमिकतामा पर्छ । किनभने जो यो समस्याबाट पीडित छ उसले आफूलाई भएको समस्याको बारेमा बोल्न सक्दो आवाज उठाउन सक्दैन । जसलाई यो समस्या परेको छैन, उसले मानसिक रोगीप्रति हेर्ने दृष्टिकोण सकारात्मक रहेको पाइँदैन ।

शरीर स्वस्थ रह्यो भने मन स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ भन्ने भनाइ पनि छ । विज्ञले भन्नुहुन्छ पेटको स्वास्थ्यसँग छ सम्बन्ध अहिले विभिन्न बिर्सिने रोग, पार्किन्सको समस्याले मानसिक समस्यामा पनि भूमिका खेल्छ । सेराटोनिन नामको तत्व पेटमा ८० प्रतिशत उत्पन्न हुन्छ । सेराटोनिनले मानव मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति जगाउँछ । तर मस्तिष्कमा सेराटोनिनको कमि भएपछि उदास हुने समस्या उत्पन्न हुन्छ । जुन तत्व पेटमा उत्पन्न भएर मस्तिष्कको कार्यलाई नियन्त्रण गर्छ । त्यसैले पेट स्वस्थ राख्न भोजन निन्द्रा, व्यायामको कुराले महत्व राख्दछ । रेशादार पदार्थ भएको भोजनको उपयोग गर्दा मनको स्वास्थ्य सबल राख्न पनि मद्दत गर्छ ।

विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार कुुनै पनि समाजमा १५ प्रतिशत मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित हुन्छन् र दुई प्रतिशत मानिसमा अति कडा खालका मानसिक समस्या रहेको छ । यस अर्थमा नेपालमा पनि झण्डै ४० लाख मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित छन् र झण्डै छ लाख मानिसमा कडा किसिमको मानसिक समस्या रहेको छ । यस्ता मानसिक समस्यामध्ये सुस्त मनस्थिति, विभिन्न किसिमका लागूऔषधिहरु प्रयोग गरेर विक्षिप्त भएका मानिस, विभिन्न किसिमका सामाजिक समस्या परेर मानसिक अपराध र डिप्रेसन, प्रसवपछि मानसिक समस्या परेका आदि व्यक्ति पनि पर्छन् । अहिलेको बदलिँदो सामाजिक अवस्थाले गर्दा बढ्दै गरेका मानसिक समस्या अझ थपिएका छन् । विश्व स्वास्थ्यको तथ्याङ्कलाई हेर्ने हो भने संसारभरमा मानिसलाई सबभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक रोग नै छ । त्यसमा पनि डिप्रेशन (मानसिक अवस्था) दोस्रो स्थानमा छ । बढ्दो मानसिक रोगको समस्याको दिगो समाधानका लागि समयमै औषधोपचार गर्नुको साथै उचित खानपानमा पनि ध्यान दिन आवश्यक छ । यसबारेमा जनस्तरमै चेतना अभिवृद्धि हर्नुपर्ने देखिन्छ ।

(लेखक जनस्वास्थ्य तथा पोषणविद् हुनुहुन्छ)

एकसय ‘अवैध’भारतीय आप्रवासी अमेरिकाबाट देश निकाला

बीबीसी । गैरकानुनी रूपमा संयुक्त राज्य अमेरिका प्रवेश गरेको आरोपमा देशनिकाला गरिएका झन्डै १०० भारतीय बोकेको एउटा सैन्य विमान भारतको पन्जाब राज्यमा अवतरण गरेको छ ।

मङ्गलबार टेक्सस राज्यबाट उडेको उक्त विमान अमृतसर पुगेको छ । त्यहाँ उनीहरूको अध्यागमन प्रक्रिया अगाडि बढाइएको भारतीय अधिकारीहरूले जनाएका छन् ।

डोनल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकामा रहेका भारतीयहरूलाई पहिलो पटक यसरी देशनिकाला गरिएको हो ।

भारतबाहेक ब्रजिल, ग्वाटेमाला, पेरु र होन्डुरसका नागरिकहरूलाई पनि यसरी सैन्य विमानमा राखेर निकाला गरिएको थियो। डोनल्ड ट्रम्पले कोलम्बियाका अवैध आप्रवासीहरूलाई सेनाको विमानमार्फत् उनीहरूको देश फर्काउने घोषणा सुरुमा गरेका थिए।

तर कोलम्बियाका राष्ट्रपतिले त्यसको चर्को विरोध गरेका थिए । उनले आफ्नो देशका नागरिकको ‘गरिमा’ कायम राख्न आफूले चाहेको धारणा राखेका थिए। त्यसपछि कोलम्बियाको वायुसेनाका दुई विमान अमेरिका गएका थिए र उनीहरू अवैध आप्रवासीहरूलाई लिएर फर्किएका थिए ।

त्यसअघि ब्राजिलका अवैध आप्रवासीहरूलाई फिर्ता लिएर जान लागेको अमेरिकी सेनाको एउटा विमानका केही तस्बिरहरू सार्वजनिक भएका थिए। त्यसमा मानिसहरूलाई हत्कडी र पैतालामा पनि सिक्री लगाइएको देखिएको थियो ।

सैन्य विमानहरू प्रयोग गरेर आप्रवासीहरूलाई उनीहरूका देशमा पुर्याउनु थप खर्चिलो हुने जनाइएको छ । तस्बिर सार्वजनिक भएपछि ट्रम्प प्रशासनको निन्दा भएको थियो। त्यसपछि डोनल्ड ट्रम्पले अमेरिकी सेनालाई प्रयोग गरेर अवैध आप्रवासीहरूलाई उनीहरूकै देश फर्काउने काम गरिरहेका छन् ।

अहिले अमेरिकी सेनाका विमानको प्रयोग गरेर भारतीय आप्रवासीहरूलाई देशनिकाला गरिएको हो । अमेरिकामा गैरकानुनी रूपमा आफ्नो मुलुक प्रवेश गरेको ठानिएका झन्डै १८ हजार भारतीय नागरिकको पहिचान गरेको बताइन्छ ।

डोनल्ड ट्रम्पले जनवरी २० मा राष्ट्रपति पदको शपथ लिएपछि कैयौँ कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन् । उनले देशको सीमाको रक्षाको अधिकार अमेरिकी सेनालाई दिएका छन्।

अमेरिकाद्वारा पनामा नहरमा निःशुल्क आवागमनको दाबी

वासिङटन डिसी । राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा दबाबपछि संयुक्त राज्य अमेरिकाले आफ्ना सरकारी जहाजहरू पनामा नहरमा निःशुल्क यात्रा गर्नसक्ने बताएको छ । तर जलमार्गका अधिकारीहरूले तुरुन्तै यसको खण्डन गरेका छन् ।

“अमेरिकी सरकारी जहाजहरूले अब शुल्क बिना पनामा नहर पार गर्न सक्छन्, यसबाट अमेरिकी सरकारलाई एक वर्षमा लाखौँ डलर बचत हुनेछ”, विदेश मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा पोस्ट गरेको छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सङ्केत गरेको प्रतिज्ञाहरूको यो पहिलो सार्वजनिक घोषणा थियो । उनले पनामाले आइतबार आफ्नो वार्ताका क्रममा सहुलियत प्रस्ताव गरेको बताएका थिए ।

एटलान्टिक र प्रशान्त महासागरबीचको महत्त्वपूर्ण लिङ्क यस नहर सञ्चालन गर्ने निकाय पनामा नहर प्राधिकरणले कुनै सम्झौता नभएको बताएको छ ।

“नहर पारगमनका लागि शुल्क र अन्य दस्तुर तोक्न अधिकार प्राप्त पनामा नहर प्राधिकरणले तिनमा कुनै समायोजन नगरेको जानकारी गराउँछ”, एजेन्सीले विज्ञप्तिमा भनेको छ ।

प्राधिकरणले अमेरिकी अधिकारीहरूसँग संवाद गर्न अझै तयार रहेको बताएको छ ।

विदेशमन्त्री रुबियोले पनामालाई संयुक्त राज्य अमेरिकाले महत्त्वपूर्ण जलमार्गको रक्षा गर्ने स्थितिमा रहेर पनि यसको प्रयोगका लागि शुल्क तिर्नु पर्ने अवस्था अनुचित रहेको बताएका थिए ।

अमेरिकी सरकारी जहाजहरू – जो मुख्यतया नौसेनाका हुन्छन् – नहर भएर जाने जहाजहरूको सानो हिस्सा मात्र हुन् ।

विमानवाहक जहाजहरू नहर भएर जान अति ठूला हुन्छन् र तिनले म्यागेलनको जलडमरूमध्य हुँदै दक्षिण अमेरिका वरिपरिको लामो यात्रा गर्नुपर्छ ।

– ट्रम्पको दबाब –

संयुक्त राज्य अमेरिका र पनामाले नहरबारे छलफल गर्न शुक्रबार नयाँ वार्ता गर्ने कार्यक्रम छ ।

नोभेम्बरमा अमेरिकी चुनाव जितेयता ट्रम्पले नहर कब्जा गर्न बल प्रयोग गर्ने विकल्पलाई अस्वीकार गरेका छैनन्। पनामा नहरबाट अमेरिकी कन्टेनर यातायातको ४० प्रतिशत गुज्रन्छ ।

ट्रम्प र रुबियोले नहरका दुवै किनारमा रहेका बन्दरगाहहरू सहित चिनियाँ लगानीबारे गुनासो गरेका छन् र सङ्कटको बेला बेइजिङले संयुक्त राज्य अमेरिकाका लागि जलमार्ग बन्द गर्नसक्ने चेतावनी दिएको छ ।

पनामाले चीनलाई नहर सञ्चालनमा भूमिका दिइएको भन्ने ट्रम्पका बारम्बारका आरोपहरूको जोडदार खण्डन गरेको छ ।

तर पनामा अमेरिकी चिन्तालाई सम्बोधन गर्न पनि अघि बढेको छ ।  रुबियोसँगको वार्तापछि राष्ट्रपति जोस राउल मुलिनोले पानामाले बेइजिङसँग हस्ताक्षर गरिएको पूर्वाधार निर्माण कार्यक्रम बेल्ट एन्ड रोड इनिसिएटिभमा सदस्यता नवीकरण नगर्ने बताए ।


रुबियोले सोमबार पत्रकारहरूलाई मुलिनोसँगको वार्ता ‘सम्मानजनक’ रहेको र भ्रमणले ‘हाम्रा चिन्ताहरूलाई कम गर्ने सम्भावित राम्रा कुराहरू हासिल गर्न लागेको’ बताएका थिए ।


यद्यपि ट्रम्पले आफू अझै पनि ‘खुसी नभएको’ बताएपनि उनले पनामा ‘केही कुराहरूमा सहमत भएको’ स्वीकार गरे ।

आफ्नो शपथ ग्रहण सम्बोधनमा ट्रम्पले संयुक्त राज्य अमेरिकाले नहरलाई ‘फिर्ता लिने’ बताएका थिए । यो नहर एक शताब्दीभन्दा पहिले वासिङ्टनले अफ्रो–क्यारिबियन श्रमको प्रयोग गरी निर्माण गरेको र सन् १९९९ को अन्त्यमा पनामालाई फिर्ता गरेको थियो ।


मुलिनोले नहर वरिपरिका दुई प्रमुख बन्दरगाहहरू सञ्चालन गर्ने हङकङस्थित सीके हचिसन होल्डिङ्सको सहायक कम्पनी पनामा पोट्र्स कम्पनीको लेखापरीक्षण गर्न पनि आदेश दिएका छन् ।


कम्पनीलाई सन् १९९७ मा सहुलियत दिइएको थियो । यसलाई सन् २०२१ मा २५ वर्षका लागि बढाइएको थियो । 

ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

मेक्सिको । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् ।

मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्‍याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो ।

यो घटना ट्रम्पले मेक्सिकोमाथि कठोर भन्सार लगाउने कुरालाई कम्तीमा एक महिनाका लागि स्थगित गर्ने घोषणा गरेपछिको अशान्त हप्तापछि आएको हो । बदलामा मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण गर्न र फेन्टानिल तस्करीविरुद्ध कारबाही गर्न देशको नेशनल गार्ड पठाउने वाचा गरे ।

गत वर्ष आप्रवासनको स्तर र फेन्टानिलको मात्रा उल्लेखनीय रूपमा घटेको भए पनि ट्रम्पले सीमामा आपत्काल घोषणा गरेका छन् । अमेरिकाले बदलामा मेक्सिकोमा कार्टेल हिंसालाई बढावा दिन अमेरिकी हतियारहरूको तस्करी रोक्न थप काम गर्ने बताएको छ । यो हिंसा आपराधिक समूहहरूले लाभदायक आप्रवासी तस्करी उद्योगको नियन्त्रणका लागि लड्दै गर्दा देशका अन्य भागहरूमा फैलिएको छ ।

मङ्गलबार ती सेनामध्ये पहिलो समूह सरकारी विमानहरूबाट बाहिर निस्केर सीमावर्ती सहरहरूमा आइपुग्यो । बुधबार गस्तीमा रहेका गार्ड सदस्यहरूले उनीहरू नयाँ बलको हिस्सा भएको पुष्टि गरे ।

“सीमामा स्थायी निगरानी हुनेछ”, सहरमा तैनाथीको नेतृत्व गर्दै गरेका नेसनल गार्डका नेताहरूमध्ये एक जोसे लुइस सान्तोस इजाले पहिलो सैनिक समूहको आगमनमा मिडियालाई भने, “यो अभियान मुख्यतया मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लागूपदार्थ तस्करी, मुख्यतया फेन्टानिल रोक्नका लागि हो ।”

सरकारी आँकडा अनुसार सिउडाड जुआरेजमा कम्तीमा एक हजार छ सय ५० सैनिक पठाइने अपेक्षा गरिएको छ । यसलाई देशको सीमा सुदृढीकरणको सबैभन्दा ठूलो प्राप्तकर्ताहरू मध्ये एक बनाएको छ । तिजुआना पछि दोस्रो, जहाँ एक हजार नौ सय ४९ सैनिक पठाइने योजना छ ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोको ल्याटिन अमेरिका भ्रमणका क्रममा मेक्सिको सरकारको विज्ञप्ति अनुसार शीर्ष अमेरिकी कूटनीतिज्ञले सैन्य बल पठाएकामा मेक्सिको सरकारलाई धन्यवाद दिए । विदेशमन्त्रीको भ्रमणमा आप्रवासन मुख्य एजेन्डामा थियो ।

सेनबामको वार्तालाई पर्यवेक्षकहरूले नवनिर्वाचित मेक्सिकाली नेताको चतुर राजनीतिक चालको रूपमा हेरेका थिए । धेरैले पहिले नै उनको पूर्ववर्ती र सहयोगी, पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर जस्तै प्रभावकारी ढङ्गले ट्रम्पको राष्ट्रपति कार्यकालमा काम गर्न सक्षम हुनेमा आशङ्का गरेका थिए ।

राज्य र ऋणको कुरा

-शंकर पोखरेल
नेपालमा केही वर्षदेखि सरकारी ऋणको विषयमा बहस सुरु भएको छ । नेपाललाई ऋणको पासोमा डुबाएको आरोप लाग्ने गरेको छ । आय र व्ययका बीचमा सन्तुलनकायम गर्न आन्तरिक र वाह्य ऋण लिने प्रचलन सबैतिर हुन्छ । तर त्यसको सदुपयोग कि दुरुपयोग भन्ने विषय मुख्य कुरा हो । ऋण नै लिनु हुँदैन भन्नु नेपाललाई सदैव पछि धकेल्ने कोसिस हो । यो प्रकारको चिन्तन विकास विरोधी हो । अझ आफूलाई विकासको हिमायती र योजनाकारका रुपमा चित्रण गर्नेहरुले नै ऋणको त्रास सिर्जना गर्नु त झनै उदेक लाग्दो कुरा हो ।

अमेरिका कुल गार्हस्थ उत्पादनको १२५ प्रतिशत माथिको सरकारी ऋण भएको मुलुकमा पर्दछ । जापानमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको २३६ प्रतिशत भन्दा माथि छ । जबकी नेपालमा सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४० प्रतिशतको हाराहारीमा मात्र छ । तर नेपाल ऋणमा डुब्यो । केपी ओलीले मुलुकलाई ऋणको पासोमा डुबाए भनेर हल्ला गरिँदैछ । तर नेपाल दक्षिण एशियामै कम सरकारी ऋण भएको मुलुक पर्दछ ।

तर नेपालको भन्दा कयौं गुणा बढी सरकारी ऋण भएका मुलुकहरुमा नेपालमा जस्तो सरकार ऋणमा डुब्यो भनेर हल्ला गरेको सुनिँदैन । तीव्र विकास र ठूला पूर्वाधार निर्माणका लागि सरकारले ऋण लिएर श्रोत जुटाउनु स्वभाविक नै मानिन्छ । तर त्यस्ता आयोजनाहरु मुलुकको अर्थतन्त्रको विकास र प्रतिफल दिने खालको भने हुनुपर्दछ ।

झाडी फाडेर सुन्तला बगान

म्याग्दी । कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्ले पुगेका बेनीका ब्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैचा बनाउने सोच आयो ।

बेनीमा पोल्ट्रि र घरजग्गा ब्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।

“बुढेशकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिए,” उनले भने, “काम गर्दा गर्दै सुन्तला बगैचा पो भयो ।”

रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाईसराई गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैचाले स्याहार पाउन छाडेको थियो । पाखोबारी झाडीमा परिणत भएको थियो ।

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफुल, तरकारी तथा कृषि फार्ममा पुराना एक सय ५० बोट सुन्तलाले मलजल, स्याहार सुसार पाएपछि उत्पादन दिन थालेका छन् । थप सात बिरुवा बगानमा हुर्किरहेका छन् ।

पाखोबारीलाई घेराबार गर्ने, गह बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिद सहित फार्ममा तीन करोड ५० लाख लगानी भएको श्रेष्ठले बताए ।

“यसपाली १५ लाखको सुन्तला बिक्री भयो,” उनले भने, “कृषिबाट यति राम्रो कमाई होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुदो रहेछ भन्ने मैले महशुस र अनुभव गरे । थप चार रोपनीको बगैचा किनेर फार्म विस्तार गरेको छु ।”

दिवंगत हजुरबुवा सुर्यनारायण श्रेष्ठको जीवनबाट प्रभावित भएर कृषि ब्यवसायमा जोडिएको विकासले बताए । उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ ।

सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए । काठमाडौंको बल्खुका ब्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए ।

घरजग्गा ब्यापार छाडेर कृषि ब्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको ब्यापार गर्ने जलेश्वर पोल्ट्रि फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन् ।

अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढीरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि ब्यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बनेका छन् ।

दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती शुरु गरेपछि गाउँ छाडेर गएकाहरु फर्किएर सुन्तला खेती गर्न थालेका बताए ।

“उहाँ (विकास)ले बाँझीएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,” पाइजाले भने, “गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रबिधि भित्राउनुभएको छ । उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गरेका छन् ।”

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए । विकासको सुन्तला बगैचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा ब्यवसायीहरु आउने गरेका छन् । 

बगैचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ । बगैचाको बिच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ ।

समुन्द्रि सतहदेखि एक हजार पाँच सय मिटरको उचाईमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।

यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताए । गत वर्ष ८० लाखको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली एक करोड ८० लाख मूल्य बराबरको सुन्तला फलेको उनले बताए ।

‘भद्रपुर झापा गोल्डकप’ फागुन ७ देखि हुने

झापा । मेची रङ्गशालामा आगामी फागुन ७ गतेदेखि अन्तरराष्ट्रियस्तरको ‘भद्रपुर झापा गोल्डकप’ प्रतियोगिता हुने भएको छ ।

फागुन १६ गतेसम्म हुने प्रतियोगिताको विजेतालाई नगद  १३ लाख र उपविजेतालाई  सात लाख प्रदान गरिने भद्रपुर झापा गोल्डकप आयोजक समितिका अध्यक्ष दीपेश ढकालले बताए ।

प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स, झापा ११, मुलुकका अन्य विभागीयसहित पाँच वटा ‘ए’ डिभिजन क्लब तथा भारत, भुटान र बङ्गलादेशका क्लब सहभागी हुने उनले जानकारी दिए ।

रङ्गशालामा करिब २० हजार दर्शक बस्न सक्ने गरी स्थायी प्यारापिट मर्मत तथा रङरोगन कार्य धमाधम भइरहेको छ । बाँसको अस्थायी प्यारापिट निर्माण पनि अन्तिम चरणमा पुगेको छ ।

रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीका किसान चिन्तित

म्याग्दी । रोगले केराको बोट सुक्न थालेपछि म्याग्दीमा केराखेती गरिरहेका किसान चिन्तित भएका छन् । जिल्लाको बेनी नगरपालिका, रघुगङ्गाा र मङ्गला गाउँपालिकाका विभिन्न गाउँका केराबारीमा रोग लागेको हो ।

पसाउने बेलाको हजारी केराका बोट नै सुक्न थालेका मङ्गला गाउँपालिका–३ का किसान टेकबहादुर खड्काले भने, “के भएर यस्तो भएको हो पत्ता लाउनै सकिएको छैन, खडेरीले खाएको जस्तो बोट सुकेका छन्, गुबो झरेको छ,कोसा पसाएको छैन ।” उनले चार रोपनीमा केराखेती गरेका छन् ।

त्यसैगरी, विगत पाँच वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका–२ बगरफाँटका खिमबहादुर कार्कीले पनि केरामा नयाँ किसिमको रोग देखिएको बताए । “छ वर्षदेखि केराखेती गरिरहेको छु, अहिलेको जस्तो बोट नै सुकेको मैले देखेको थिइन”, उनले भने । कृषि प्राविधिकहरुले पनि रोग पहिचान गर्न नसकेको उनले बताए ।

जिल्लाका खबरा, बगरफाँट, राखु, अर्मन, पीपलबोटलगायतका ठाउँका कृषकले केरा खेतीबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले केराको बोटै सुक्ने रोग देखिएपछि आम्दानी घट्ने भएको छ ।

विगत १४ वर्षदेखि केराखेती गर्दै आएका बेनी नगरपालिका–२ खबराका चन्द्रबहादुर कार्कीले केराखेतीमा उत्पन्न समस्याले यो वर्ष आफ्नो घरव्यवहार चलाउन अति कठिन हुने दुःखेसो गरे ।

एकल चेपाङ महिलालाई बाख्रा वितरण

चितवन।  इच्छाकामना गाउँपालिका वडा नम्बर–१ का १० जना सीमान्तकृत चेपाङ समुदायका एकल महिलालाई सपना भिलेज सोसियल इम्प्याक्टले आयआर्जनका लागि बाख्रा वितरण गरेको छ ।

सशक्तीकरण परियोजनामार्फत हरेकलाई बुधबार उपहारस्वरूप बाख्रा प्रदान गरिएको हो ।

सीमान्तकृत चेपाङ समुदायका एकल महिलाको जीवनस्तर उकास्न तथा आयमूलक कार्यक्रम सञ्चालन गरिरहेको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीका अनुसार सोही परियोजनामार्फत गत वर्ष पनि १६ जना महिलालाई जनही चार वटा बाख्रा वितरण गरिएको थियो ।

सप्तरीमा कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

राजविराज । कर्तव्य ज्यान मुद्दामा एक फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई सप्तरी प्रहरीले २० वर्षपछि पक्राउ गरेको हो । पक्राउ पर्नेमा सप्तरीको महादेवा गाउँपालिकाका उमेश रजक छन् ।

उनी २०६१ माघ १ गते गणेशी रजकको कुटपिट गरी हत्यापछि फरार भएका थिए । उनलाई माघ २२ गते पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका छन् । कमलपोखरीसिथ्त सानदार मःम पसलमा ग्यास सिलिण्डर विष्फोट हुँदा ११ जना घाइते भएका हुन् ।

उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले विष्फोटमा परी ११ जना घाइते भएका जानकारी दिएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

युक्रेनी सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार

काठमाडौँ । विगत नौ महिनादेखि युक्रेनीको सेनाको कब्जामा रहेका दुई जना नेपालीको उद्धार गरिएको छ ।

नयाँ दिल्लीस्थित एक एजुकेसन कन्सल्टेन्सीमार्फत तीन महिनाको विद्यार्थी भिसामा युक्रेन पुगेका तेह्रथुमका २९ वर्षीय फुर्वा शेर्पा र दोलखाका ३९ वर्षीय शेर साम्बो शेर्पा गत मे महिनादेखि युक्रेनको मिकोलाइटस्थित एमसीसी डिटेन्सन केन्द्रमा रहेका थिए ।

उनीहरूलाई बुधबार युक्रेनी सेनाले माल्दोवामा लगेर छोडी दिएकोमा गैरआवासीय नेपाली संघको सहयोगमा शुक्रवार दिउँसो काठमाडौँ ल्याउन लागिएको गैरआवासीय नेपाली संघका अध्यक्ष बद्री केसीले जानकारी दिए ।

उनीहरूको उद्धारको लागि जर्मनीका लागि नेपाली राजदूत डा शैल रुपाखेती र नियोग उपप्रमुख सागर फुयाँल लगायतले महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

यस्तै, उद्धारको लागि गैरआवासीय नेपाली संघको तर्फबाट आइसीसी सदस्य चिरन शर्मा, संघको केन्द्रीय कार्यालयका प्रमुख कार्यकारी अधिकृत राजेन्द्रकुमार राउत र सचिवालयका कर्मचारीले समन्वयन गरेको केसीले बताए ।

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । आज संसदका दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे सुरु हुनेछ भने राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुनेछ ।

आजको बैठकमा सरकारले ल्याएका अध्यादेशहरू प्रस्तुत हुने संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

त्यसअघि सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत हुनेछ । त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यो अध्यादेश प्रस्तुत गर्ने छन् । यसैगरी अध्यादेशहरू अस्वीकृत गरियोस् भन्ने सूचना प्रस्तुत हुने र त्यसपछि अध्यादेश प्रस्तुत हुने कार्यसूची तय गरिएको छ ।

त्यस्तै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदको बैठकमा बजेटको अर्धवार्षिक समीक्षा पेस गर्ने कार्यसूची छ ।आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसे तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारले हालै जारी गरेका ६ वटा अध्यादेश आज निर्णयार्थ प्रस्तुत गर्नु अघि अध्यक्ष प्रचण्डले सम्बोधन गर्न लागेका हुन् ।

संसदको हिउँदे अधिवेशन सुरु भएको माघ १८ गते अन्य दलका शीर्ष नेताहरूले सम्बोधन गरे पनि प्रचण्डले सम्बोधन गरेका थिएनन् ।

आफ्नो जन्मदिनमा मानव सेवा आश्रममा आचार्यले खुवाए निःशुल्क भोजन

काठमाडौं । नेपाल बाल संगठनका केन्द्रीय सदस्य भुवन आचार्यले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम काठमाडौंमा आश्रितलाई निःशुल्क भोजन खुवाएका छन् । आचार्यले बुधबार आफ्नो जन्मदिनमा आश्रमको रानीवन सेवा केन्द्रमा बिहान निःशुल्क भोजन गराएका हुन् ।

औषधि व्यवसायी समेत रहेका आचार्यले आफ्नो जन्मदिनमा हरेक वर्ष मानवसेवा आश्रममा निःशुल्क भोजन खुवाउँदै आएका छन् । त्यस्तै उनले देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दै आएका छन् ।

सार्वजनिक खर्चलाई मितव्ययी बनाउन सरकारले जारी गर्यो नयाँ मापदण्ड

काठमाडौं । सरकारले सार्वजनिक खर्चलाई मितव्ययी र प्रभावकारी बनाउन नयाँ मापदण्ड जारी गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ‘सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउनेसम्बन्धी मापदण्ड, २०८१’ स्वीकृत गर्ने निर्णय गरेको हो ।

उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलको प्रस्तावमा सरकारले नयाँ मापदण्ड जारी गरेसँगै सार्वजनिक खर्चमा मितव्ययिता र पारदर्शिता बढ्ने अपेक्षा गरिएको छ । नयाँ मापदण्ड जारी भएसँगै यसअघि लागू रहेको सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने मापदण्ड २०७८ भने खारेज गरिएको छ ।

नयाँ मापदण्ड अनुसार सेवा सुविधा, सवारी साधन खरिद, गोष्ठी, सेमिनार र आतिथ्य खर्च, भत्ता जस्ता शीर्षकमा खर्च कटौती हुने भएको छ। यस्तै, जिन्सी खरिददेखि इन्धन प्रयोग, घर भाडा, हेलिकप्टर प्रयोग, कार्यक्रम आयोजना लगायतका विषयमा पनि कडाइ गरिएको छ।

https://drive.google.com/file/d/1b1DZoZFM4IKsKM9z59sB0QIbFou2Pns2/preview

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ ।

प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार तीन जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको हो ।

आक्रमणको आरोपमा पक्राउ परेका दोलखाको तामाकोसी गाउँपालिका १ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका ५ टिकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका ४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ती गाउँपालिका ४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सितादेवी राईविरुद्ध मुद्दा दर्ता भएको हो ।

त्रिपाठीमाथि रवि लामिछानेका समर्थकले माघ २ गते जिल्ला अदालतको गेट बाहिर त्रिपाठीमाथि आक्रमण गरेका थिए । जैसी राष्ट्रिय स्वतन्त्र पार्टीको हुम्ला जिल्लाका उपसभापति हुन्।

अध्यादेशकाबारेमा पार्टीमा औपचारिक निर्णय भएको छैनः अध्यक्ष यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले अध्यादेशको बारेमा पार्टीको औपचारिक निर्णय भइनसकेको बताएको छ ।

बुधबार साँझ अध्यक्ष उपेन्द्र यादवको सचिवालयले अध्यादेशको पक्षमा उभिने वा विपक्षमा उभिने औपचारिक कुनै निर्णय नभएको बताएका हो ।

सचिवालयले भनेको छ, ‘सबै कुरा अहिले छलफलको क्रममा छ । अध्यादेश अध्ययन कार्यदलले भोलि बिहान ९ बजे प्रतिवेदन बुझाउँछ। त्यसपछि ११ बजे बस्ने संसदीय दलको बैठकले यसबारे औपचारिक निर्णय लिन्छ। ’आलोचनात्मक समर्थनसहित जसपा नेपाल अध्यादेशको पक्षमा उभिने’ शीर्षकमा केही मिडिया र सामाजिक सञ्जालमा आएका समाचार तथ्यहीन र भ्रामक हुन्। जसपा नेपाल यस्ता भ्रमपूर्ण समाचारको खण्डन गर्दछ।’

गुनासो नआउने गरी काम गर्न राष्ट्रिय किताबखानाका कर्मचारीलाई शिक्षामन्त्रीको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले बुधबार राष्ट्रिय किताबखाना (शिक्षक) को आकस्मिक अनुगमन गरेकी छन् ।

अनुगमनका क्रममा मन्त्री भट्टराईले निवृत्तिभरण प्रमाणपत्र बनाउने प्रक्रिया, अभिलेख व्यवस्थापन तथा सेवाग्राहीसँग कार्यसम्पादनको प्रवाहका बारेमा जानकारी लिएकी थिइन् ।

अनुगमनका क्रममा सेवाग्राहीहरूसँग पनि उनले सेवाको प्रभावकारिताबारे चासो राखेकी थिइन् । अनुगमनपश्चात मन्त्री भट्टराईले राष्ट्रिय किताबखानाको कामकाबारेमा बेलावेलामा गुनासाहरू सुनिइरहने हुनाले आइन्दा गुनासा नआउने किसिमले काम गर्न निर्देशन दिइन् ।

शिक्षकहरूले पेश गरेको सिटरोलको समयमै सक्न र सिटरोल तथा निवृत्तिभरण र सम्पत्ती विवरणका अभिलेखहरूको भण्डारणका लागि तत्काल कार्ययोजना तयार गरी मन्त्रालयमा पेश गर्न निर्देशन दिइन् ।

अनुगमनका क्रममा राष्ट्रिय किताबखाना (शिक्षक) का उपमहानिर्देशक युवराज पौडेलले किताबखानाबाट हुने गरेका कामकारबाही र प्रक्रियाका बारेमा जानकारी गराएका थिए ।

गाजालाई कब्जा गर्ने र प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको प्रस्ताव हमासद्वारा अस्वीकार

गाजासिटी । प्यालेस्टिनी सशस्त्र समूह हमासले बुधबार राष्ट्रपति डोनाल्ड ट्रम्पको आश्चर्यजनक प्रस्तावको विरोध गरेको छ। संयुक्त राज्य अमेरिकाले गाजा पट्टीको नियन्त्रण लिने र त्यहाँका मानिसहरूलाई उनीहरूले छोड्न चाहे पनि वा नचाहे पनि अन्य देशमा पुनर्वास गर्ने ट्रम्पको प्रस्ताव छ।

ट्रम्पले ह्वाइट हाउसमा वार्ताका लागि आएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको संयुक्त पत्रकार सम्मेलनमा उक्त घोषणा गरेका हुन्।

बीस लाखभन्दा बढी प्यालेस्टिनीलाई कसरी बाहिर निकाल्ने वा गाजालाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा विवरण नभएको प्रस्तावमा, ट्रम्पले नफुटेका बम र भग्नावशेष हटाएर र आर्थिक पुनर्विकास गरेर युद्धबाट क्षतिग्रस्त क्षेत्रलाई ‘अविश्वसनीय’ बनाउने बताए।

“अमेरिकाले गाजा पट्टी नियन्त्रणमा लिनेछ र हामी यससँग काम पनि गर्नेछौँ, हामी यसको स्वामित्व लिनेछौँ”, ट्रम्पले भने।

उहाँले इजिप्ट र जोर्डन दुवै सरकारले यो विचारलाई स्पष्ट रूपमा अस्वीकार गरे पनि मध्यपूर्वमा ‘सर्वोच्च नेतृत्व’ बाट समर्थन भएको र ती दुई मुलुकलाई गाजावासीहरूलाई लिन दबाब बढाएको बताए।

संयुक्त राज्य अमेरिकाद्वारा ‘दीर्घकालीन स्वामित्व’ को सुझाव दिँदै ट्रम्पले उनको विचारले यसलाई ‘मध्य पूर्वको रिभेरा बनाउनेछ। यो केही यस्तो हुन सक्छ जुन अति भव्य हुन सक्छ’ भने।

सन् २००७ मा गाजाको एकल नियन्त्रण कब्जा गर्ने हमासले प्रस्तावलाई अस्वीकार गर्दै यसलाई ‘जातीय’ विचार भन्यो।

“अमेरिकी जातीय दृष्टिकोण हाम्रा मानिसहरूलाई विस्थापित गर्ने र हाम्रो मुद्दालाई समाप्त पार्ने इजरायली अति दक्षिणपन्थी स्थितिसँग मेल खान्छ”, हमास प्रवक्ता अब्देल लतिफ अल–कानोउले एक वक्तव्यमा भने।

गाजाको धेरै भाग हमासको सन् २०२३ अक्टोबरको इजरायलमाथिको आक्रमणले प्रेरित १५ महिने युद्धमा तहसनहस भएको थियो र ट्रम्पले गत महिना लागू भएको युद्धविराम सम्झौता गर्न श्रेय लिएका छन्।

हमासले लिएका बन्धकहरूलाई घर ल्याउने र यसको क्षमतालाई कुल्चिने प्रतिज्ञा गर्नुभएका नेतन्याहुले ट्रम्पको योजनाले ‘इतिहास परिवर्तन’ गर्न सक्ने र ‘ध्यान दिन लायक’ भएको बताए।

नेतन्याहु ट्रम्पको सत्तामा फर्केपछि ह्वाइट हाउसमा भ्रमण गर्ने पहिलो विदेशी नेता थिए जसलाई युद्धविरामको दोस्रो चरण सुरक्षित गर्ने वार्ताको रूपमा प्रस्तुत गरिएको थियो।

– दयनीय अवस्था –

तर यो छिट्टै एउटा आश्चर्यजनक प्रस्तावको खुलासामा परिणत भयो जसले यदि कार्यान्वयन गरिएमा मध्यपूर्वको अनुहारलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ।

गाजा भ्रमणको पनि कुरा गर्नुभएका ट्रम्पले यो प्यालेस्टिनीहरूका लागि पुनर्निर्माण नगरिने सङ्केत गर्नुभयो।

“यो त्यही मानिसहरूद्वारा पुनर्निर्माण र कब्जाको प्रक्रियाबाट जानु हुँदैन जो‍… त्यहाँ बसेका छन् र मरेका छन् र त्यहाँ दयनीय जीवन बिताएका छन्”, उनले भने।

प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले पनि प्रस्तावलाई अस्वीकार गरेका छन्। “राष्ट्रपति महमुद अब्बास र प्यालेस्टिनी नेतृत्वले गाजा पट्टी कब्जा गर्न र प्यालेस्टिनीहरूलाई उनीहरूको मातृभूमि बाहिर विस्थापित गर्ने आह्वानलाई कडा अस्वीकृति व्यक्त गरे”, अब्बासको कार्यालयले एक विज्ञप्तिमा भन्यो, “वैध प्यालेस्टिनी अधिकारहरू वार्ताको योग्य छैनन्।”

गाजाका प्यालेस्टिनीहरूले पनि ट्रम्पको पुनर्वास विचारको विरोध गरेका छन्। दक्षिणी सहर रफाहका बासिन्दा ३४ वर्षीय हातेम आजमले भन्नुभयो, “ट्रम्पले गाजालाई फोहोरको थुप्रो सम्झनुहुन्छ – पटक्कै होइन।”

प्यालेस्टिनीहरूका लागि उनीहरूलाई गाजाबाट बाहिर निकाल्ने कुनै पनि प्रयासले अरब विश्वले ‘नकबा’ वा विनाश भन्ने सन् १९४८ मा इजरायलको निर्माणको क्रममा प्यालेस्टिनीहरूको सामूहिक विस्थापनको अँध्यारो स्मृतिलाई जगाउनेछ।

कसरी नियन्त्रण लिने भन्ने विवरणमा अस्पष्ट भए पनि ट्रम्पले ‘आवश्यक परेमा’ पृथ्वीको सबैभन्दा अस्थिर स्थानहरू मध्ये एकमा अमेरिकी सैनिक तैनाथ गर्नु पर्न सक्छ भन्ने सङ्केत गरे।

ट्रम्पको छेउमा रहेको पोडियममा उभिएर नेतन्याहुले ट्रम्पलाई इजरायलको ‘सबैभन्दा ठूलो मित्र’ को रूपमा प्रशंसा गर्नुभयो र उहाँको ‘सङ्कुचित दायराभन्दा बाहिर गएर सोच्ने इच्छा’ को प्रशंसा गरे।

विगतमा दुवैको तनावपूर्ण सम्बन्ध थियो तर पूर्व राष्ट्रपति जो बाइडेनसँगको सम्बन्ध गाजामा मृत्युको सङ्ख्यालाई लिएर तनावपूर्ण भएपछि नेतन्याहुले रिपब्लिकनको सत्तामा फर्कने कुरालाई स्वीकार गर्नुभएको छ।

– युद्ध जित्नु –

इजरायली प्रधानमन्त्रीले हमाससँग, वा लेबनानको हिजबुल्लाह र इरान लगायत क्षेत्रका अन्य शत्रुहरूसँग पुनः युद्धको सम्भावनालाई अस्वीकार गर्नुभएन।

“हामी युद्ध जितेर युद्ध समाप्त गर्नेछौँ”, हमासले लिएका सबै बन्धकहरूको सुरक्षित फिर्तीको प्रतिज्ञा गर्दै उनले भने।

उनले क्षेत्रीय प्रतिद्वन्द्वी साउदी अरेबियासँग सम्बन्ध सामान्य बनाउने सम्झौता ‘हुन गइरहेको छ’ भन्ने विश्वास व्यक्त गर्नुभयो।

तर ट्रम्पले आफ्नो प्रस्ताव सार्वजनिक गरेपछि साउदी अरेबियाले प्यालेस्टिनी राज्य स्थापना नभएसम्म इजरायलसँग औपचारिक सम्बन्ध नराख्ने बताएको छ। ट्रम्पको गाजा प्रस्तावले कडा विरोधको सामना गर्नुपर्ने देखिन्छ।

इजिप्ट, जोर्डन र युद्धविराम मध्यस्थकर्ता कतार सबैले गाजाबाट प्यालेस्टिनीहरूलाई सार्ने ट्रम्पको सुझावलाई अस्वीकार गरेका छन्।

टर्कीका विदेशमन्त्री हकान फिदानले प्यालेस्टिनीलाई स्थानान्तरण गर्ने कुरा ‘न त हामीले न त क्षेत्रले स्वीकार गर्न सक्ने’ कुरा भएको बताए।

चीनले पनि यस प्रस्तावको विरोध गरेको छ। त्यहाँका विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले भने, “चीनले सधैँ प्यालेस्टिनीमाथि प्यालेस्टिनी शासन गाजाको युद्धपछिको शासनको आधारभूत सिद्धान्त हो भन्ने मान्यता राखेको छ र हामी गाजाका बासिन्दाको जबरजस्ती स्थानान्तरणको विरोध गर्छौं।”

गाजा युद्ध सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको थियो। उक्त आक्रमणमा इजरायली आधिकारिक आँकडाका आधारमा एएफपीको गणनाअनुसार अधिकांश सर्वसाधारणसहित एक हजार दुई सय १० जनाको मृत्यु भएको थियो।

इजरायलको जवाफी कारबाहीमा हमास नियन्त्रित क्षेत्रको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अधिकांश नागरिकसहित कम्तीमा ४७ हजार पाँच सय १८ जनाको मृत्यु भएको छ। संयुक्त राष्ट्रसङ्घले यी आँकडालाई विश्वसनीय मान्छ।

अमेरिकाद्वारा निष्कासित भारतीय आप्रवासी फिर्ता

अमृतसर। संयुक्त राज्य अमेरिकाबाट निष्कासित सयभन्दा बढी भारतीय आप्रवासी बोकेको अमेरिकी वायुसेनाको विमान बुधबार भारत आइपुगेको स्थानीय मिडियाले जनाएको छ ।

ट्रम्पको जनवरी २० को उद्घाटनपछि हजारौँ कागजातविहीन आप्रवासीहरू पक्राउ परेका छन् । तिनमा केही अपराधका आरोपीहरू पनि छन् ।

उत्तरी सहर अमृतसरका एएफपी फोटोग्राफरले अमेरिकी सैन्य विमान अवतरण गरेको देखेका थिए र भारतीय मिडियाले रिपोर्ट गरेअनुसार यसमा एक सय चार जना भारतीय आप्रवासी थिए ।

ट्रम्पको आप्रवासन सुधारसम्बन्धी कार्यकारी आदेशहरूले एक करोड १० लाख कागजातविहीन आप्रवासीलाई प्रभाव पार्ने अनुमान गरिएको छ ।

नयाँदिल्ली र वासिङ्टन दुवैले निर्वासनका बारेमा विशेष टिप्पणी गरेका छैनन् ।

तर भारतमा रहेको अमेरिकी दूतावासका प्रवक्ताले वासिङ्टनले ‘आफ्नो सीमालाई कडाइका साथ लागु गरिरहेको, आप्रवासन कानूनलाई कडा बनाएको र अवैध आप्रवासीहरूलाई हटाएको’ बताए ।

“विशेषगरी सङ्गठित अपराधका अन्य रूपहरूसँग जोडिएको हुनाले नयाँदिल्ली गैरकानूनी आप्रवासनको विरोधमा दृढ छ”, भारतको विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले गत हप्ता भनेका थिए, “भारत–अमेरिका आप्रवासन र गतिशीलता सहयोगको हिस्साका रूपमा, दुवै पक्ष गैरकानूनी आप्रवासनलाई रोक्ने प्रक्रियामा संलग्न छन्, साथै भारतबाट अमेरिकामा कानूनी आप्रवासनका लागि थप मार्गहरू सिर्जना गर्दैछन ।”

भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र हो र विश्वकै उच्च कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धि दर छ तर पनि लाखौँ नागरिक विदेशमा राम्रो अवसरको खोजीमा हरेक वर्ष देश छोड्छन् ।

यसको प्रवासी समुदाय विश्वभर फैलिएको छ तर अमेरिका अझै पनि रोजाइको गन्तव्य हो ।

अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को तथ्याङ्क अनुसार सन् २०१८–२०२३ को बीचमा पाँच हजारभन्दा बढी भारतीयलाई देशबाट निर्वासित गरिएको थियो ।

अमेरिकी राष्ट्रपति र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सन् २०१७ देखि २०२१ सम्म ट्रम्प ह्वाइट हाउसमा हुँदा न्यानो सम्बन्ध थियो । आलोचकहरूले उनीहरू दुवैलाई अधिनायकवादी प्रवृत्तिको आरोप लगाउँछन् ।

मोदीले अर्को हप्ता वासिङ्टन भ्रमण गर्ने सम्भावना रहेको र त्यहाँ उनले ट्रम्पलाई भेट्ने अपेक्षा गरिएको भारतीय मिडियाले व्यापक रूपमा रिपोर्ट गरेका छन् । 

रवि लामिछाने चितवन प्रहरीको हिरासतमा

चितवन । चितवनको सहारा बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन मुद्दामा थुनछेक बहस नसकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई न्यायिक हिरासत पठाइएको छ ।

बुधबार जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलाशले थुनछेक बहस नसकिँदासम्म उनलाई हिरासतमा राख्न आदेश गरेको हो ।

रविसहित मंगलबार जिल्ला अदालत चितवनमा १५ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसपछि बयानका लागि रवि बुधबार अदालतमा उपस्थित भएका थिए ।

रवि कास्की, काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका थिए । रुपन्देहीमा भने थुनछेक बहस नसकिँदा अदालतले आफन्तको जिम्मा लगाएको थियो ।

तर चितवनमा भने हिरासतमा पठाउने आदेश भएको छ । चितवनमा रविलाई सहारा सहकारीको १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगेर अपचलन गरेको अभियोग छ।

सिरहामा महशुल नबुझाउनेको लाइन काट्दै प्राधिकरण

सिरहा । सिरहाको धनगढीमाई नगरपालिकाले यहाँका किसानले प्रयोग गरेका कृषि मिटरको विद्युत महशुल समयमा नबुझाउँदा नेपाल विद्युत प्राधिकरणले लाइन काट्न सुरु गरेको छ। गहुँ सिंचाई गर्ने मुख्य समयमा कृषि मिटरको लाइने काटिएछि किसान समस्यामा परेका छन्।

नगरपालिकाले दुई वर्षअघिदेखि नगरका किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएको थियो। तर, लामो समयदेखि पालिकाले महशुल नतिरेपछि बाध्य भएर ठूला मिटरको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण लहान वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए।

उनले भने,“हामीले अहिले तीनओटा ठुला कृषि मिटरको लाइन काटेका छौँ। नगरको सम्पूर्ण कृषि मिटरको बाँकी बक्यौता करोड भन्दा माथि छ। महशुल उठाउनको लागि लाइन काट्नुको विकल्प हामीसँग छैन।”

सिंचाई मिटरको लाईन काटिँदा वडा नं। ८ का सयौं किसान मर्कामा परेका छन्। “किसानले लगाएको गहुँमा सिंचाई गर्नु पर्ने समयमा विद्युतको लाईन काटियो। अहिले सिंचाइँ गर्न समस्या भईरहेको छ”, स्थानीय किसान योगेश सिंहले भने,“नगरपालिकाले विद्युतको महशुल तिर्न सक्दैन भने जिम्मा लिनु हुन्न थियो। विनाकारण किसानले दुःख पाईरहेका छन्।”

उनले यहाँ रहेको सामुहिक कृषि सिंचाई मिटरको रु दुई हजार दुई सय महशुल पुगेपछि प्राधिकरणले लाईन काटेको जानकारी दिए।

उनले भने,“पालिकाले जिम्मा नलिएको भए हामी नियमित रुपमा महशुल बुझाउँथ्यौं। अहिले २२ हजार महशुलमात्र हैन, त्यसमा लाग्ने जरिवाना र पुनः जडान खर्च समेत किसानले बेहोर्नु पर्ने अवस्था आयो।” एउटै मोटरले यस क्षेत्रका ५० विगहाभन्दा धेरै जमिन सिंचाई गर्दै आइरहेका उनले जानकारी दिए।

समयमा विद्युतको महशुल नबुझाउँझा किसानमात्र हैन पालिका पनि आर्थिक मारमा परेको नगर कृषि संयोजन समितिका संयोजक समेत रहेका वडा नम्वर १ का अध्यक्ष सूर्यनारायण यादवले बताए। “पालिकाले किसानको विद्युत महशुल तिर्ने जिम्मा लिएपछि समयमा तिर्नु पर्ने हो। समयमा महशुल नतिर्दा जरिवाना बेहोर्नु पर्ने अवस्था भएको छ। त्यसोहुँदा नगरले विनियोजन गरेको बजेटभन्दा महशुल रकम धेरै उठेकोले शुल्क बुझाउन समस्या भएको हो।”

अध्यक्ष यादवले पालिकाले चालु आर्थिक वर्षमा कृषि विद्युत महशुल बुझाउन ४५ लाख विनियोजन गरेको छ। उनकाअनुसार अघिल्लो आर्थिक वर्षमा पालिकाले २० लाख रुपैयाँ विद्युत प्राधिकरणमा बुझाएको थियो।

विनियोजित बजेट र उठेको महशुल रकमको तालमेल नमिल्दा समस्या भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद गुरुङ्गले बताए।

उनले भने,“नगरसभाले योजना बनाएर मात्र भएन, त्यसमा कति बजेट विनियोजन भएको छ भन्ने मुख्य कुरा हुन्छ। बजेट र भुक्तानी गर्नुपर्ने महशुलको तालमेल मिलिरहेको छैन। आजै बस्ने कार्यपालिका बैठकमा यस विषयमा छलफल गरी निकास निस्कन्छ।”