`

निर्धारित समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा

Nepal One HD ४ वैशाख २०८२ ८:४१
अर्थ समाचार

काठमाडौं । चार निर्माण कम्पनी र आपूर्तिकर्ता कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमनको कार्यालयले सूचना जारी गरी विभिन्न निकायहरूको सिफारिसको आधारमा चारवटा निर्माण कम्पनी र आपूर्तिकर्तालाई कालोसूचीमा राखिएको जानकारी दिएको हो ।

कार्यालयले बिल्ड ब्रदर्स कन्स्ट्रक्सन प्रालि र त्यसका मुख्य व्यक्ति छिरिङ लामा डोङ र पम्बर लामालाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । त्यसतै, मकवानपुरको हटिया–१ ठेगाना रहेको एस.एम कन्स्ट्रक्सन र त्यसका मुख्य व्यक्ति सहदेव गौतमलाई १ वर्ष ६ महिना कालोसूचीमा राखिएको छ ।

लमजुङको मध्यनेपाल नगरपालिका–४ स्थित राना फर्निचर सःमिल उद्योग र त्यसका मुख्य व्यक्ति सुकु राना मगरलाई १ वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै सल्यानको शारदा नगरपालिका–८ ठेगाना रहेको गौरीगोमा निर्माण सेवा र त्यसका मुख्य व्यक्ति तुफान सिंह बुढाथोकीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कार्यालयले कालोसूचीमा राखिएको अबधीभर ती निर्माण कम्पनी र आपूर्तिकर्ता कुनै पनि खरिद कारबाहीका भाग लिन नसक्ने जनाएको छ।


प्रतिक्रिया